कृषि विकास बैंकले साम्बालाई गर्यो १० लाख रुपैयाँ सहयोग
काठमाडौं । कृषि विकास बैंकले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई घुँडाको जटिल शल्यक्रिया तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । फुटबल खेल्ने क्रममा लागेको गम्भीर चोटपछि शल्यक्रिया र लामो पुनःस्थापना प्रक्रियाका लागि साम्बाले सार्वजनिक रूपमा आर्थिक सहयोगको अपिल गरेकी थिइन् । सोही अपिलअनुसार बैंकले मंगलबार सहयोगस्वरूप उक्त रकम हस्तान्तरण गरेको जनाएको छ । बैंकका अनुसार ब्रान्ड एम्बेसडरसमेत रहेकी साम्बाको उपचार तथा पुनःस्थापनामा उक्त सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । साथै, साम्बाको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दै चाँडै नै नेपाली जर्सीमा मैदानमा फर्किएको देख्न पाइने अपेक्षा व्यक्त गरिएको छ । कृषि विकास बैंकले खेलकुद क्षेत्रको प्रवर्द्धन र राष्ट्रिय खेलाडीहरूको मनोबल अभिवृद्धिमा निरन्तर साथ दिँदै आएको उल्लेख गरेको छ ।
भिभो वाई ३१डि सार्वजनिक, मूल्य २९ हजार ४९९ रुपैयाँबाट सुरु
काठमाडौं । भिभोले अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्री क्षमतासहितको नयाँ स्मार्टफोन ‘भिभो वाई ३१डि’ नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समय टिक्ने ब्याट्री, भरपर्दो टिकाउपन र सहज प्रदर्शनलाई प्राथमिकता दिने प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको यो स्मार्टफोनले दैनिक प्रयोगमा शक्तिशाली र स्थिर अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । यस फोनको प्रमुख विशेषता ७२०० एमएएच क्षमताको ‘ब्लुभोल्ट ब्याट्री’ हो, जसलाई ४४ वाट ‘फ्ल्यास चार्ज’ प्रविधिले सहयोग गरेको छ । कम्पनीका अनुसार २५ आयामी सुरक्षा संरक्षण र ६ वर्षे ब्याट्री स्वास्थ्य सुविधासहितको यस ब्याट्रीले १६०० पटक चार्ज गरिसकेपछि पनि कम्तीमा ८० प्रतिशत क्षमता कायम राख्नेछ । डिभाइसलाई वास्तविक जीवनका चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको छ । यसमा आईपी ६८ र आईपी ६९ धुलो तथा पानी प्रतिरोध क्षमता, एसजीएस ५–स्टार ड्रप रेसिस्टेन्स प्रमाणीकरण, मिलिट्री–ग्रेड ड्रप प्रोटेक्सन तथा टाइटन ग्लास जस्ता सुरक्षात्मक विशेषता समावेश छन् । ‘वन–ट्याप वाटर एन्ड डस्ट इजेक्सन’ र ‘वेट–ह्यान्ड टच’ जस्ता सुविधाले भिजेको हातले समेत सहज सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ । स्मार्टफोन स्न्यापड्रागन ६एस जेन २ (फोरजी) प्रोसेसरद्वारा सञ्चालित छ, जसले कम ऊर्जा खपतमा पनि स्थिर र कुशल प्रदर्शन दिने बताइएको छ । ओरिजिनओएस ६ मा आधारित यस फोनमा ‘ओरिजिन आइल्याण्ड’, एआई–सञ्चालित ‘एआई सुपरलिंक’ र ‘एआई क्याप्सन’ जस्ता सुविधा समावेश छन्, जसले उत्पादकत्व, सिर्जनात्मकता र कनेक्टिभिटीलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । भिभो वाई ३१डि ‘फेदर गोल्ड’ र ‘स्टारलाइट ग्रे’ गरी दुई रंगमा उपलब्ध हुनेछ । यो स्मार्टफोन दाराज तथा नेपालभरका आधिकारिक खुद्रा पसलहरूमा पाइनेछ । यसको मूल्य ६ जीबी + १२८ जीबी भेरियन्टका लागि २९ हजार ४९९ रुपैयाँ, ८ जीबी + १२८ जीबी भेरियन्टका लागि ३३ हजार ९९९ रुपैयाँ र ८ जीबी + २५६ जीबी भेरियन्टका लागि ३८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
भायानेटले साम्बाको उपचारका लागि ५ लाख सहयोग गर्ने
काठमाडौं । नेपाली महिला फुटबलकी अग्रणी खेलाडी तथा देशको गौरव सावित्रा भण्डारी (साम्बा) यतिबेला आफ्नो खेल जीवनको कठिन मोडमा छिन् । मैदानमा देशको झण्डा उँचो राख्दै उत्कृष्ट प्रदर्शन गर्दै आएकी साम्बा घुँडाको गम्भीर चोटका कारण हाल मैदान बाहिर छिन् । यस चुनौतीपूर्ण घडीमा इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले आफ्नी ब्रान्ड एम्बेसडर साम्बाको उपचार तथा पुनरागमनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । साम्बाको शल्यक्रिया तथा त्यसपछिको करिब आठ महिना लामो पुनर्स्थापना (रिह्याब) प्रक्रियाका लागि पर्याप्त स्रोत आवश्यक पर्ने जनाइएको छ । ‘थाकेको हो, हारेको छैन’ भन्ने साम्बाको अदम्य आत्मबललाई सम्मान गर्दै कम्पनीले उनलाई पुनः मैदानमा फर्काउन सानो योगदान स्वरूप उक्त सहयोग घोषणा गरेको जनाएको छ । साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भायानेटले विज्ञप्तिमा उल्लेख गरेको छ, 'देशको गहना साम्बाको रिकभरीको हरेक पाइलामा हामी साथमै रहनेछौँ । उहाँ चाँडै निको भएर मैदानमा फर्कनुहुनेछ र देशलाई पुनः गौरवान्वित बनाउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।' कम्पनीले ब्रान्ड एम्बेसडरप्रति देखाएको तत्परताले कठिन परिस्थितिमा पनि प्रयोगकर्ता र सरोकारवालासँग अटुट सम्बन्ध तथा भरपर्दो कनेक्सन कायम राख्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको जनाएको छ ।
सुन्तला किलोको १७० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, बन्दा (तराई) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ४५, काउली तराई प्रतिकिलो रु ३५, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ७० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ६०, तिते करेला प्रतिकिलो रु १८०, घिरौँला प्रतिकिलो रु १५०, लौका प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५५, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ३५, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु ३००, रातो बन्दा प्रतिकिलो रु ८०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ४०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २६०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, सुन्तला (भारतीय) प्रतिकिलो रु १७०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १४५, काँक्रो (लोकल) प्रतिकिलो रु १२०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ७०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु १००, रुख कटहर प्रतिकिलो रु ११०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १८०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो प्रतिकिलो रु १८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १४०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ४०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १५०, छ्यापी हरियो प्रतिकिलो रु १२०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।
मर्स्याङ्दी जलविद्युतको मर्मत सम्भार धमाधम, फागुन २२ गतेदेखि सुचारु गर्ने
काठमाडौं । तनहुँको आँबुखैरेनीमा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँध, सुरुङ, पावरहाउस लगायतका संरचना मर्मत सम्भार कार्य धमाधम भइरहेको छ । ६९ मेगावाट क्षमताको सो जलविद्युत केन्द्रबाट अहिले विद्युत् उत्पादन ठप्प भएको सो केन्द्रले जनाएको छ । गत फागुन २ गतेदेखि २२ दिनसम्मका लागि विद्युत् उत्पादन बन्द गरी मर्मत कार्य अघि बढाइएको केन्द्रका कर्मचारी शैलेन्द्र भट्टले जानकारी दिए । कालीगण्डकी लगायतका विभिन्न आयोजनाबाट मिस्त्री, मजदुर झिकाएर मर्मत कार्य थालिएको हो । उनले भने, ‘बाँधमा बालुवा थुप्रिएका कारण सफा गर्न र गेट भत्किने अवस्थामा पुगिसकेकाले निर्माण कार्य थालिएको हो ।’ सुरुङ र अन्य संरचनाहरूको मर्मत सम्भार गर्नुपर्ने भएको थियो । उनले भने, ‘कार्यालयबाट पूर्व सूचना दिएर आउँदो २२ गतेसम्म उत्पादन बन्द गरिएको हो ।’ फागुन २२ गतेदेखि सो आयोजनाको विद्युत् उत्पादन सुचारु गर्ने योजना रहेको सो केन्द्रले जनाएको छ । वि.सं २०४२ देखि सञ्चालन गरिएको मर्स्याङ्दी जलविद्युत आयोजनाको तीन टर्वाइनबाट ६९ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।
कालिन्चोक हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज फागुन १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका १३ लाख ७५ हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । आयोजना प्रभावितलाई छुट्याएको सेयरमा दोलखाको बिगु नगरपालिका-८, कालिन्चोक गाउँपालिका-१ र २ का स्थानीयले आवेदन दिन सक्नेछन् । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८२ हजार ५०० कित्ता सेयर श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई बिक्री गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा चैत १३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा फागुन १७ गते र ढिलोमा फागुन फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै कालिन्चोक हाइड्रोपावर, बिगु गाउँपालिका–८, नेपाल बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सिङगटी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
आ बाट आमाको कमाइ ११ करोड २४ लाख रूपैयाँ, कुन चलचित्रको कमाइ कति ?
काठमाडौं । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको ‘सिनेपा एटदरेट बक्सअफिस’ ले प्रदर्शनरत नेपाली चलचित्रको गएको फागुन ९ गतेसम्मको कारोबारसम्बन्धी विवरण सोमबार सार्वजनिक गरेको हो । गत माघ १६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘आ बाट आमा’ ले ११ करोड २४ लाख ६ हजार ९६९ रुपैयाँ कमाइ गरेको छ । मनोरञ्जनसँगै देश परिवर्तनको विषयलाई उठान गरेको उक्त चलचित्रका लागि कूल ४ लाख २३ हजार १११ टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारले अभिनय गरेका छन् । चन्द्र पन्तले निर्देशन गरेको उक्त चलचित्रमा अभिमन्यू निरवीले संवाद लेखन, गम्भीर विष्टले नृत्य निर्देशन र कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले सङ्गीत सिर्जना गरेका छन् । गत माघ २३ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘कुमारी’ ले ६३ लाख २४ हजार ७१ रुपैयाँ कमाइ गरेको छ । दिनेश राउतको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कूल १९ हजार ३७९ टिकट बिक्री भएका छन् । अविशेक खड्का र आकृतीराज भण्डारी लगायतको अभिनय रहेको चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेन । जेनजीको प्रेम कथा भनिएको चलचित्रले दर्शक समीक्षा राम्रो पाउन नसक्दा त्यसको असर व्यापारमा परेको देखिएको छ । गत माघ २३ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘रमिताको पिरती’ ले २५ लाख ५५ हजार ८३ रुपैयाँ कमाइ गरेको छ । नवनिर्देशक सुदीप्ता अधिकारीको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कूल ७ हजार ८०३ टिकट बिक्री भएका छन् । आना शर्मा, धीरज मगर, विनय श्रेष्ठ, समीर श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको उक्त चलचित्रले दर्शक समीक्षा राम्रो प्राप्त गरेता पनि व्यापार भने राम्रो गर्न सकेको छैन । माघ २३ मा प्रदर्शन भएका दुवै चलचित्रको व्यापार निकै न्यून भएको छ । गत फागुन १ गतेदेखि प्रदर्शन भएका तीन चलचित्र ‘श्री बुकुरो’, ‘शिवांशः च्याप्टर १’ र ‘बिगुल’ ले अपेक्षाकृत व्यापार गर्न नसकेपछि प्रदर्शन स्थगित गरिसकेका छन् । सुदीप भूपाल सिंहले निर्देशन गरेको चलचित्र ‘श्री बुकुरो’ ले २ लाख ७२ हजार ९३० रुपैयाँ कमाइ गरेको छ । यसले पहिलो सातामा गरेको यो निकै न्यून व्यापार हो । अभिनेत्री लक्ष्मी गिरी, आशिर्वाद क्षेत्री, निकिता आचार्य, राजन इशान, उत्तम केसी, रोशनी कार्कीलगायतका कलाकारले अभिनय गर्नुभएको उक्त चलचित्रका लागि कूल ८०५ टिकट बिक्री भएका छन् । फागुन १ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘शिवांश’ ले २ लाख ६१ हजार ७५० रुपैयाँ कमाइ गरेको छ । सन्तोषकुमार आत्रेयले निर्देशन गरेको उक्त चलचित्रका लागि कूल ७८७ टिकट बिक्री भएका छन् । चलचित्र अभिनेता प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुषा न्यौपाने, विकास जोशी, प्रदीपकुमार चौधरी, सविर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय छ । अञ्जान केसीले कथा लेखेको चलचित्रको पटकथा बारत लिम्बूको रहेको छ । फागुन १ गतेदेखि नै प्रदर्शन भएको चलचित्र ‘विगुलले’ ले ८ लाख ९७ हजार ४१० रुपैयाँ कमाइ गरेको छ । रमेश कोइरालाको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कूल २ हजार ६०९ टिकट बिक्री भएका छन् । चलचित्र बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, सरोज खनाल लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक हरेक सोमबार गर्दै आएको छ ।
भारतसँग जोडिएका कञ्चनपुर र बैतडीका सबै सीमा नाका बन्द हुने
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कञ्चनपुर र बैतडीका सबै सीमा नाका बन्द गरिने भएका छन् । सम्बन्धित जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचनलाई लक्षित गर्दै फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीवार राति १२ बजेसम्म भारतसँग सीमा जोडिएका सम्पूर्ण सीमा नाका बन्द रहने छन् । फागुन २० गते राति १२ बजेदेखि एम्बुलेन्स, ट्राफिक, दमकल, दूरसञ्चार, शव वाहन, अस्पताल सेवा, विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा तथा नम्बर प्लेटमा सिडी उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा मतदान कार्य नसकिएसम्मका लागि रोक लगाइनेछ । निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन उक्त निर्णय गरिएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले बताए । बैतडीको ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका (बिओपी)मार्फत सुरक्षा निगरानी बढाएको बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए । जिल्लाको तल्लोसोराड क्षेत्रमा महाकाली नदीका विभिन्न घाटहरुमा डुङ्गामार्फत वारपार गर्ने गरिएकाले चुनावका बेला ती सबै घाटहरूबाट आवतजावत बन्द गरिने थापाकाे भनाइ छ ।