भेनेजुएला भूकम्प: मृतकको संख्या ५८९ पुग्यो, घाइते २९८०

काठमाडौं । भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबारको भूकम्पबाट मृत्यु भएकाको संख्या ५८९ पुगेको र २ हजार ९८० जना घाइते भएको बताएकी छन् । 

रोड्रिगेजले भूकम्पबाट सबैभन्दा बढी पीडित क्षेत्रमध्ये एक ला गुएरालाई नियन्त्रणमा लिन सेनालाई आदेश पनि दिएका छन् । बीबीसीका अनुसार अस्पतालहरू घाइतेले भरिएका छन् ।  

संयुक्त राष्ट्रसंघले घटनास्थलमा १ हजारभन्दा बढी अन्तर्राष्ट्रिय खोज तथा उद्धारकर्मी खटाइएको बताएको छ । संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा भनेका छन्, ‘म भेनेजुएलाका मानिसहरूलाई मद्दत आउँदै छ भन्ने जानकारी गराउन चाहन्छु । ’

स्थानीय समयअनुसार बुधबार साँझ भेनेजुएलामा सुरुमा ७.२ म्याग्निच्युड र यसको केही सेकेन्डपछि अझ शक्तिशाली ७.५ म्याग्निच्युडको भूकम्प गएका थिए । 

भूकम्प गएलगत्तै अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत रहेको अनुमान गरेको थियो । 

स्थानीय सञ्चारमाध्यमका अनुसार मृतकको संख्या अझै बढ्ने सम्भावना छ ।

Share News