काठमाडौं । विद्यालयको करोडौं रुपैयाँ हिनामिना गरेको तथा सम्पत्ति दुरुपयोग गरेको आरोपमा कर्मा छेरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-६, गणेशचोकबाट उनलाई नियन्त्रणमा लिएको हो ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार शेर्पाविरुद्ध ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार टुङ्गरम इन्टरनेसनल एकेडेमी प्रालिका तर्फबाट अख्तियारप्राप्त रामचन्द्र बहाला श्रेष्ठले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो ।
शेर्पाले विद्यालयको कार्यकारी प्रमुखका रूपमा एकल हस्ताक्षरबाट बैंक खाता सञ्चालन गर्ने जिम्मेवारी सम्हालेका बेला आफ्नो पदको दुरुपयोग गर्दै विद्यालयको सम्पत्ति र रकम विभिन्न प्रपञ्चमार्फत हिनामिना गरेको आरोप छ ।
सीआईबीका अनुसार उनले डर, त्रास र अनुचित प्रभाव प्रयोग गरी विद्यालयको करिब ८ करोड ७८ लाख ३० हजार ८०२ रुपैयाँ हिनामिना गरेको, भक्तपुरको दधिकोटस्थित विद्यालयको करिब २९ रोपनीभन्दा बढी जग्गा आफू सम्बद्ध कम्पनीहरूलाई बिक्री गरेको तथा विद्यालयका लागि छुट्याइएको रकमबाट व्यक्तिगत तथा आफू सम्बद्ध कम्पनीका नाममा जग्गा र सवारीसाधन खरिद गरी संस्थालाई ठूलो आर्थिक नोक्सानी पुर्याएको आरोप लगाइएको छ ।
सीआईबीले शेर्पालाई पक्राउ गरी ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्ति तथा आर्थिक कारोबारबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ ।
