वाम एकतामा जोड
काठमाडौं । चार पूर्वप्रधानमन्त्रीले वामपन्थी शक्तिबीच एकता, सहकार्य र आत्मसमीक्षाको आवश्यकता औंल्याएका छन् । उनीहरूले वर्तमान राजनीतिक चुनौती, प्रतिगमनको जोखिम, कम्युनिस्ट आन्दोलनको कमजोर अवस्था तथा राष्ट्रिय संकटको सामना गर्न वामपन्थी शक्तिहरूबीच कार्यगत सहकार्य हुँदै दिगो एकतामा पुग्नुपर्नेमा जोड दिएका हुन् । जननेता मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा सहभागी हुँदै उनीहरुले बामपन्थी शक्तिहरुबीच एकता गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका हुन् । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वाम एकता दिगो हुनुपर्नेमा जोड दिँदै एकतापछि पुनः विभाजन हुन नहुने बताए । नेपाली कांग्रेस विभाजित भइसकेको टिप्पणी गर्दै उनले वामपन्थी शक्तिले त्यही गल्ती दोहो¥याउन नहुने धारणा राखे । ‘कांग्रेस त फुटिसक्यो । एकता गर्दा ठूलो मिहिनेत गर्नुपर्छ, तर विभाजित हुन सजिलै हुन्छ । त्यसैले हामी मिल्यौं भने फेरि फुट्नु हुँदैन,’ उनले भने । ओलीले एमाले अहिले पनि एकताबद्ध रहेको र पछिल्लो निर्वाचनको परिणाम अस्थायी धक्का मात्र भएको दाबी गरे । ‘हामी लडेका छौं, तर मरेका छैनौं । फेरि उठ्छौं र प्रक्रियावादीहरूसँग लडेर पराजित गर्छौं,’ उनले भने । उनले अहिलेको मुख्य चुनौती प्रतिगमनलाई पराजित गर्नु रहेको उल्लेख गर्दै त्यसका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिबीच कार्यगत एकता आवश्यक रहेको बताए । केपी शर्मा ओली । विश्वभर अस्थिरतावादी, हिंसात्मक र लोकप्रियतावादी प्रवृत्ति बढिरहेको उल्लेख गर्दै उनले यस्ता शक्तिले लोकतान्त्रिक र वाम आन्दोलनलाई कमजोर बनाउन खोजेको आरोप लगाए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ समाजवाद निर्माणको आधार भएको उल्लेख गर्दै सत्ता होइन, जनताको समृद्धिका लागि राजनीति गर्नुपर्ने बताए । ओलीले देशलाई कमजोर पार्ने गरी ‘जेनजी आन्दोलन’ भएको दाबी गर्दै त्यस्तो आन्दोलन लोकतान्त्रिक आन्दोलन हुन नसक्ने बताए । एमालेलाई योजनाबद्ध रूपमा बदनाम गरिएको, झुटा प्रचार, भ्रष्टाचारका आरोप र चरित्रहत्यामार्फत कमजोर बनाइएको उनको भनाइ थियो । निर्वाचन प्रक्रिया पनि प्रतिकूल अवस्थामा गराइएको आरोप लगाउँदै उनले वैचारिक रूपमा नजिक रहेका शक्तिबीच सहकार्य अपरिहार्य भएको बताए । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी शक्तिबीच सहकार्य र एकता ढिलो भए मुलुकले ठूलो राजनीतिक दुर्घटना बेहोर्नुपर्ने चेतावनी दिए । ‘मिल्न जति ढिला ग¥यो, दुर्घटना त्यति नै चाँडो हुन्छ । सहकार्य ढिला गर्ने नियत पनि दुर्घटना हुन सक्छ,’ उनले भने । २०७४ सालमा एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई जनताले दुईतिहाइ मत दिएर अनुमोदन गरेको स्मरण गर्दै उनले अहिले पनि राष्ट्रिय संकटको सामना गर्न वाम शक्तिहरू मिल्नुपर्ने बताए । तत्काल पार्टी एकता नभए पनि सहकार्यबाट प्रक्रिया सुरु गर्नुपर्नेमा उनको जोड थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ । प्रचण्डले वाम एकतासँगै मधेशी, थारू, जनजाति तथा अन्य राजनीतिक शक्तिहरूसँग समेत साझा राष्ट्रिय एजेन्डामा सहकार्य गर्नुपर्ने बताए । परिस्थितिअनुसार राजनीतिक रणनीति परिवर्तन गर्न सक्नुपर्ने उल्लेख गर्दै उनले वैचारिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय हितका आधारमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राखे । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालले भावनात्मक र सिद्धान्तनिष्ठ वाम एकताको आवश्यकता औंल्याउँदै कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न सबै कम्युनिस्ट शक्तिले आत्मसमीक्षा गर्नुपर्ने बताए । ‘अब भावनाका रूपमा वाम एकता हुनुपर्छ । सिद्धान्तनिष्ठ एकता हुनुपर्छ । जो अगाडि बढ्दैन, ऊ छुट्छ,’ उनले भने । माधवकुमार नेपाल । नेपालले जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसक्नु, व्यक्तिवाद, भ्रष्टाचार र वैचारिक विचलनका कारण कम्युनिस्ट आन्दोलन कमजोर बनेको उल्लेख गर्दै सबै कम्युनिस्ट दलले इमान्दारितापूर्वक आत्ममन्थन गर्नुपर्ने बताए । उनले भने, ‘हामी कहाँ चुक्यौँ, कहाँ गल्ती ग¥यौँ ? विचार, सिद्धान्त, व्यक्तिवाद वा भ्रष्टाचारमध्ये के कारणले आन्दोलन कमजोर भयो भन्ने समीक्षा गर्नुपर्छ,’ भन्दै विचार, व्यवहार र संगठनमा सुधार गरेर मात्रै कम्युनिस्ट आन्दोलनले जनविश्वास पुनः प्राप्त गर्न सक्ने बताए । यस्तै, पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले एमाले र नेकपाबीच चुनावअघि नै कार्यगत एकता भएको भए वामपन्थीहरूले प्रतिनिधिसभामा करिब एक सय सिट जित्ने दाबी गरे । ‘करिब एक सय सिट वामपन्थीको हुन्थ्यो । आज यो अवस्था आउने थिएन । देशको परिस्थिति बेग्लै हुन्थ्यो । हामी इतिहास र जनताले माग गरेका कुरा अनुरूप अघि बढ्न सक्यौं कि सकेनौं भन्ने आत्मसमीक्षा गर्ने घडी हो,’ उनले भने । खनालले कम्युनिस्ट आन्दोलन कमजोर हुनुका कारणको समीक्षा गर्दै आगामी दिनमा साझा रणनीति र कार्यगत एकतामार्फत अघि बढ्नुपर्नेमा जोड दिए । झलनाथ खनाल । चारै पूर्वप्रधानमन्त्रीले फरक–फरक कोणबाट धारणा राखे पनि उनीहरूको साझा निष्कर्ष भने वर्तमान राजनीतिक चुनौतीको सामना गर्न वामपन्थी शक्तिबीच सहकार्य, आत्मसमीक्षा र दिगो एकताको विकल्प नरहेको भन्नेमा केन्द्रित रहेको थियो ।
कांग्रेस फुटिसक्यो, हामी मिल्यौं भने फेरि फुट्नु हुँदैन : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी शक्तिबीच हुने सम्भावित एकता दिगो हुनुपर्नेमा जोड दिएका छन् । उनले नेपाली कांग्रेस विभाजित भइसकेको टिप्पणी गर्दै वामपन्थी शक्तिले एकता गरेपछि फेरि विभाजन हुन नहुने बताएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले एकता गर्नभन्दा त्यसलाई जोगाएर लैजान अझ बढी जिम्मेवारी आवश्यक पर्ने बताए । ‘कांग्रेस त फुटिसक्यो । एकता गर्दा ठूलो मिहिनेत गर्नुपर्छ । तर, विभाजित हुन सजिलै हुन्छ । त्यसैले हामी मिल्यौं भने फेरि फुट्नु हुँदैन,’ उनले भने । ओलीले नेकपा एमाले अहिले पनि एकताबद्ध रहेको दाबी गर्दै पछिल्लो निर्वाचनको परिणामलाई पराजय नभई अस्थायी धक्का मात्र भएको बताए । ‘नेकपा एमाले एकताबद्ध छ । अहिले चुनावमा धक्का खाएका छौं । यो धक्का हो, तर हामी समाप्त भएका छैनौं,’ उनले भने । उनले एमाले पुनः सशक्त रूपमा उदाउने विश्वास व्यक्त गर्दै राजनीतिक प्रतिस्पर्धामा आफ्नो पार्टीले पुनः सफलता हासिल गर्ने दाबी गरे । ‘हामी लडेका छौं, तर मरेका छैनौं । फेरि उठ्छौं हामी र फेरि उठेर प्रक्रियावादीहरूसँग लड्छौं र पराजित गर्छौं,’ उनले भने । ओलीले वामपन्थी आन्दोलनलाई बलियो बनाउन संगठनात्मक एकता, वैचारिक स्पष्टता र दीर्घकालीन सहकार्य आवश्यक रहेको उल्लेख गर्दै एकतापछि विभाजन दोहोरिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’
गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पारेका छन् । प्रदेशसभाको आजको बैठकमा बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रदेश सरकारले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याइएको बताए । ‘स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन’, उनले भने । तलब वृद्धि र महँगी भत्ताका कारण चालु खर्चतर्फको बजेट बढाउनुपरेको मुख्यमन्त्री पाण्डेले बताए। नागरिकका माग र आवश्यकतालाई बजेटमा अधिकतम रूपमा सम्बोधन गर्ने प्रयत्न गरिएको उनको भनाइ छ । प्रदेश सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको जनाउँदै उनले आगमी दिनमा पनि प्रशासनिक खर्च कटौती र मितव्ययिता कायम गरिने बताए । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनलगायत विविध कारणले चालु आवमा प्रदेश सरकारको कार्यप्रगति अपेक्षित रूपमा हुन नसकेको उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालनका लागि सङ्घ सरकारसँग समन्वय गरिने बताए । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्र्तराष्ट्रिय उडान सञ्चालनका लागि प्रदेश सरकारले पहल गरिरहेको उनको भनाइ छ । बजेटमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूबाट प्राप्त सुझाव, सल्लाह र जिज्ञासालाई प्रदेश सरकारले आत्मसात गर्ने मुख्यमन्त्री पाण्डेले बताए । आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले यही असार ५ गते प्रदेशसभामा प्रस्तुत गरेको आगामी आवको सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि समग्र बजेटबारे मुख्यमन्त्री पाण्डेले आफ्नो भनाइ राखेका हुन् । आजको बैठकको विशेष समयमा पूर्वमुख्यमन्त्री एवं नेकपा ९एमाले० संसदीय दलका नेता खगराज अधिकारीले जननेता मदन भण्डारीको व्यक्तित्वबारे चर्चा गरेका थिए । बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचन र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले सम्बन्धित मन्त्रालयको विनियोजन शीर्षकमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नमा जवाफ प्रस्तुत गरेका थिए । गण्डकी प्रदेश सरकारले यही असार १ गते रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको थियो ।
‘देशलाई सिध्याउने गरी जेनजी आन्दोलन भयो, अब बामपन्थी र लोकतान्त्रिक शक्तिबीच एकता हुनुपर्छ’
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिगमनलाई पराजित गर्न वामपन्थी र लोकतान्त्रिक शक्तिबीच कार्यगत एकता अपरिहार्य भएको बताएका छन् । उनले देशलाई अस्थिरतातर्फ धकेल्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले अहिलेको प्रमुख कार्य प्रतिगमनलाई परास्त गर्नु रहेको बताए । ‘यतिबेला प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो । त्यसका लागि वामपन्थी र लोकतान्त्रिक शक्तिबीच कार्यगत एकता हुनुपर्छ,’ उनले भने । ओलीले विश्वभर अस्थिरतावादी, हिंसात्मक र लोकप्रियतावादी प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै त्यस्ता शक्तिहरूले वामपन्थी र लोकतान्त्रिक आन्दोलनलाई कमजोर पार्न खोजिरहेको दाबी गरे । उनले एमालेका नीति र सिद्धान्त सही रहेको दाबी गर्दै बदलिँदो समयअनुसार राजनीतिक तथा आर्थिक नीतिलाई थप परिष्कृत गर्दै अघि बढाउने पक्षमा रहेको बताए । ‘हाम्रा नीतिहरू सही छन् । हामी नीतिका लागि मात्रै एकता र सहकार्यको कुरा गरेका होइनौं । राजनीतिक र आर्थिक विषयवस्तुलाई समसामयिक ढंगले थप परिष्कृत गर्दै अगाडि बढाउन खोजेका हौं । ‘समृद्ध नेपाल, सुखी नेपाली’ समाजवाद निर्माणकै मार्ग हो,’ उनले भने । ‘पदका लागि सरकारमा पुग्ने होइन, जनताको खुसीका लागि काम गर्ने हो । हामीले त्यही किसिमले काम गरेका थियौं,’ उनले भने । उनले पछिल्ला वर्षहरूमा वामपन्थी आन्दोलन मात्र नभई लोकतान्त्रिक आन्दोलनसमेत कमजोर बनाउने प्रयास भएको दाबी गरे । ‘देशलाई नै सिध्याउने गरी जेनजी आन्दोलन भयो । यो लोकतान्त्रिक आन्दोलन हुनै सक्दैन । त्यस्तो आन्दोलनका माध्यमबाट लोकतान्त्रिक सरकार हटाउन पाइँदैन । तर, नेपालमा त्यस्तो भयो,’ उनले भने । ओलीले एमालेमाथि लगाइएका आरोपहरूको पनि प्रतिवाद गर्दै पार्टी अयोग्य भएका कारण नभई योजनाबद्ध रूपमा झुटा प्रचार, भ्रष्टाचारका आरोप, चरित्रहत्या र जनतामा घृणा फैलाउने अभियानका कारण कमजोर बनाइएको दाबी गरे । ‘हामीले देश कमजोर पार्यौं भन्ने भाष्य गलत हो । केही कमजोरी अवश्य भए, तर हामी अयोग्य भएर होइन, झुटा प्रचार गरेर, भ्रष्टाचारका आरोप लगाएर बदनाम गरियो, जनतामा घृणा पैदा गरियो र चरित्रहत्या गरियो,’ उनले भने । निर्वाचन प्रक्रियाप्रति पनि असन्तुष्टि जनाउँदै ओलीले परिणामको पूर्वानुमान गरिएकै अवस्थामा प्रतिकूल परिस्थितिमा निर्वाचन गरिएको आरोप लगाए । एमालेले त्यतिबेला निर्वाचन स्थगित गर्नुपर्ने धारणा राखे पनि अन्य दललाई त्यसमा सहमत गराउन नसकेको उनको भनाइ छ । ‘यो निर्वाचन वामपन्थी र लोकतान्त्रिक शक्तिका लागि अनुकूल छैन भनेर एमालेले भनेको थियो । यसलाई स्थगित गरौं भनेका थियौं, तर हामी अरूलाई विश्वस्त बनाउन सकेनौं । एमालेका लागि भीरको बाटो र अरूका लागि हाइवे हो भन्ने सोच थियो, तर अहिले सबै एउटै बाटोमा आएका छन्,’ उनले भने । ओलीले मुलुकको लोकतान्त्रिक प्रणाली, राजनीतिक स्थायित्व र विकासका लागि वैचारिक रूपमा नजिक रहेका शक्तिबीच सहकार्य र साझा अभियान आवश्यक रहेकोमा जोड दिए ।
त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम पुन : सञ्चालन
काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनः सञ्चालन गर्ने भएको छ । गत माघ १ गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले यही असार १५ गतेदेखि पुनः सेवा सुरु गर्न लगेको हो । अस्पतालका कार्यकारी निर्देशक डा सुभाशप्रसाद आचार्यका अनुसार हाल बहिरङ्ग सेवा (ओपिडी)मा सो सेवा सञ्चालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ । स्वास्थ्य बिमा कार्यक्रममार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो । उनका अनुसार अस्पतालले बिहान ७ बजेदेखि देखि ११ बजे र दिउँसो १ बजेदेखि साढे २ बजेसम्म बीमा टिकट बिरामीलाई उपलब्ध गराइने छ । केही दिन अघि मात्र बोर्डले अस्पताललाई स्वास्थ्य बिमाबाट उपचार गरेवापतको भुक्तानी उपलब्ध गराएको थियो । अस्पतालले विसं २०७७ बाट नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा सञ्चालन गरेको थियो ।
मधेस प्रदेशमा रोपाइँको चटारो, पर्याप्त वर्षापछि किसान उत्साहित
जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका–४ का श्याम यादवलाई यति बेला धान रोपाइँ गर्न चटारो छ । पर्याप्त वर्षापछि उहाँलाई धमाधम धान रोपाइँको चटारो भएको हो । अघिल्ला वर्षमा थोरै वर्षा हुँदा ढिला गरी धान रोपाइँ गर्दै आएका यादव यस वर्ष समयमै पर्याप्त वर्षा भएपछि धमाधन धान रोपाइँ गर्न व्यस्त भएका हुन् । ‘पोहर परार साल साउन भदौ महिनातिर वर्षा भएको थियो, त्यसैले सोचेको जस्तो धान रोपाइँ गर्न सकेका थिएनौँ,’ यादव भन्छन्, ‘यसवर्ष असारको पहिलो हप्तादेखि नै पर्याप्त वर्षा भयो, त्यसैले धान रोपाइँ गर्न भ्याइ नभ्याई छ ।’ हालसम्म करिब तीन बिगाह जग्गामा धान रोपाइँ गरिसके, अबको केही दिनमै रोपाइँ सकिने उनको भनाइ छ । यस्तै धनुषाको सहिद नगरनगरपालिका–६ का रामकिसुन साहलाई पनि रोपाइँ गर्न चटारो छ । अघिल्ला वर्ष बर्सात्को अभावमा धेरै जग्गा बाँझो छोडेका साहले यसवर्ष असारको दोश्रो सातामै अधिकांश खेतमा धान रोपाइँ गरिसकेको बताउँछन् । धनुषाको यादव र साह मात्र होइनन्, मधेश प्रदेशका अधिकांश जिल्लाका किसान धान रोपाइँ व्यस्त छन् । लामो समयसम्म पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि पछिल्ला दिनमा निरन्तर पानी परेपछि किसान खेतमा व्यस्त भएका छन् । कतै ब्याड निकालिँदै छ त कतै धान रोप्ने काम भइरहेको छ । असार लागेसँगै मधेश प्रदेशमा धमाधम रोपाइँ भइरहेका छन् । धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लाका किसानले रोपाइँमा व्यस्त छन् । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार दोस्रो सातासम्ममा मधेश प्रदेशमा कुल क्षेत्रफलको ४ दशमलव ३६ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ । सबैभन्दा बढी महोत्तरीमा ८ दशमलव १७ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ भने सबैभन्दा कम पर्सा र रौतहटमा शून्य प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । जिल्लागत हिसाबले महोत्तरीमा ४० हजार हेक्टर खेतीयोग्ग जग्गामध्ये तीन हजार २६६ हेक्टरमा धान रोपाइँ भएको मन्त्रालयका सूचना अधिकारी अजय ज्ञवालीले जानकारी दिए । सप्तरीमा ६८ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार ४०० हेक्टर, बारामा ४५ हजार १०० हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार २५० हेक्टर, धनुषामा ४३ हजार ७०० हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार ५९ हेक्टर, सिरहामा ५४ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये दुई हजार ७०० हेक्टर र सर्लाहीमा ४२ हजार ६९५ हेक्टर खेतीयोग्य जग्गामध्ये एक हजार ३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको सूचना अधिकारी ज्ञवालीले बताए । कृषि प्राविधिकका अनुसार असार महिनाभित्र धान रोपाइँ सम्पन्न गर्न सके उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । पर्याप्त चिस्यान भएपछि खेत तयारी, बीउ उखेल्ने र रोपाइँको काम एकै साथ भइरहेको छ । यसवर्ष किसानले उन्नत जातका धानका बीउ प्रयोगसँगै रासायनिक तथा प्राङ्गारिक मलको उचित व्यवस्थापनमा ध्यान दिएका छन् । यद्यपि केही स्थानमा मलको उपलब्धता र सिँचाइ पूर्वाधार अझै चुनौतीका रूपमा रहेको सप्तरीको बोदे बसाइका किसान अजयकुमार यादव बताउँछन् । धान नेपालको प्रमुख खाद्यान्न बालीमध्ये एक हो । मधेस प्रदेश देशकै प्रमुख धान उत्पादन क्षेत्र भएकाले यहाँको उत्पादनले राष्ट्रिय खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पु¥याउने गरेको छ । समयमै पर्याप्त वर्षा भई रोपाइँ सम्पन्न भए उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ । यसैबीच किसान धमाधम रोपाइँमा व्यस्त हुँदा मधेस प्रदेश सरकारले प्रदेशका स्थानीय तहलाई वर्षे धानबालीलाई लक्षित बफर रासायनिक मलको बाँडफाँट गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुसार रासायनिक मल युरिया र डिएपी कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङलाई वितरणका लागि स्थानीय तहअनुसार बाँडफाँट गरेको हो । प्रदेशको आठवटै जिल्लाको १३६ वटै स्थानीय तहका लागि सात हजार ३२८ मेट्रिकटन युरिया र छ हजार ६१० मेट्रिकटन डिएपी मल बाँडफाँड गरिएको मन्त्रालयका सूचना अधिकारी ज्ञवालीले बताए । उनका अनुसार सप्तरीको स्थानीय तहका लागि ९७५ मेट्रिकटन युरिया र एक हजार ३५ मेट्रिकटन डिएपी, सिरहाका लागि एक हजार ७२ मेट्रिकटन युरिया र एक हजार १३७ मेट्रिकटन डिएपी, धनुषाका लागि ९२६ मेट्रिकटन युरिया र ७७८ मेट्रिकटन डिएपी, महोत्तरीका लागि ८८० मेट्रिकटन युरिया र ७४० मेट्रिक टन डिएपी छुट्टयाएको छ । सर्लाहीका लागि एक हजार ९३ मेट्रिकटन युरिया र ९१९ मेट्रिकटन डिएपी, रौतहटका लागि ८७५ मेट्रिकटन युरिया र ७३६ मेट्रिकटन डिएपी, बाराका लागि ८१९ मेट्रिकटन युरिया र ६८९ मेट्रिक टन डिएपी र पर्साका लागि ६८७ मेट्रिक टन युरिया र ५७८ मेट्रिकटन डिएपी बाँडफाँड गरिएको मन्त्रालयका सूचना अधिकारी ज्ञवालीले जानकारी दिए ।
तत्काल बाम एकता गरिएन भने ठूलो दुर्घटना हुन सक्छ : प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिबीच सहकार्य र एकता ढिलो भए मुलुकले ठूलो राजनीतिक दुर्घटना बेहोर्नुपर्ने चेतावनी दिएका छन् । उनले तत्काल पार्टी एकता नभए पनि सहकार्य भने अब ढिला गर्न नहुने बताएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले वामपन्थी शक्तिहरूबीचको एकता समयको आवश्यकता भएको बताए । 'मिल्न जति ढिला गर्यो, दुर्घटना त्यति नै चाँडो हुन्छ। सहकार्य ढिला गर्ने नियत पनि दुर्घटना हुन सक्छ,' उनले भने । उनले २०७४ सालमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई स्मरण गर्दै जनताले दुई तिहाइ बहुमत दिएर त्यसलाई अनुमोदन गरेको उल्लेख गरे । यद्यपि, उनले हतारमा गरिने एकताले पछि पश्चातापको अवस्था पनि आउन सक्ने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने बताए। '२०७४ मा हामी मिलेकै हो। जनताले दुई तिहाइ मत दिएर अनुमोदन पनि गरेका हुन् । तर, हतारमा एकता गर्ने र फुर्सदमा पश्चाताप गर्नुपर्ने अवस्था पनि आउनु हुँदैन', उनले भने । प्रचण्डले अहिले देश विभिन्न प्रकारका संकटको सामना गरिरहेको उल्लेख गर्दै ती चुनौतीहरूको सामना गर्न सबै प्रगतिशील र वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए । 'राष्ट्रका अगाडि आएका संकटविरुद्ध मिलेर अगाडि बढ्नुपर्छ । हिजो पनि मिलेर सफलता प्राप्त गरेका थियौँ, आज पनि मिलेरै सफलता हासिल गर्न सक्छौँ । त्यसका लागि अनुकूल वातावरण बनाउन सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ,' उनले भने । उनले आफूले तत्काल पार्टी एकताको प्रस्ताव नगरेको स्पष्ट पार्दै सहकार्यबाट प्रक्रिया सुरु गरेर क्रमशः एकताको दिशामा जानुपर्ने धारणा राखे । 'मैले आजै पार्टी एकता गर्नुपर्छ भनेको होइन। तर सहकार्य आज, भोलि वा जुनसुकै बेला पनि सुरु गर्न सकिन्छ । सहकार्यबाट सुरु गरौँ, त्यसपछि एकताको विकल्पतर्फ जानुपर्छ,' उनले भने । प्रचण्डले वामपन्थी शक्तिको एकतामात्र नभई मधेशी, थारू, जनजाति तथा अन्य राजनीतिक शक्तिबीच पनि कार्यगत सहकार्य आवश्यक रहेको बताए । विगतमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी दलहरूसँग विभिन्न मुद्दामा सहकार्य भएको स्मरण गर्दै उनले अहिले पनि साझा राष्ट्रिय मुद्दामा सबै शक्ति एक ठाउँमा आउनुपर्ने धारणा व्यक्त गरे । 'मैले वाम एकताको मात्रै कुरा गरेको होइन । मधेशी, थारू, जनजातिलगायत सबै राजनीतिक शक्तिहरू साझा राष्ट्रिय एजेन्डामा एक ठाउँमा उभिनुपर्छ । विगतमा नेपाली कांग्रेस, एमाले र मधेशी दलसँग पनि सहकार्य गरेका थियौँ। अब ती शक्तिहरू पनि कार्यगत एकतामा सहभागी हुनुपर्छ,' उनले भने । राजनीतिमा परिस्थितिअनुसार सोच र रणनीति परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै प्रचण्डले परिवर्तनलाई स्वीकार गर्न नसक्ने नेतृत्वले सफलताको नेतृत्व गर्न नसक्ने बताए । 'निरन्तरतामा क्रमभंग गरिराख्नुपर्छ। क्रममै बसिरह्यो भने कतै पनि पुगिँदैन। परिस्थिति फेरिएको छ। म नभएको भए जनयुद्ध हुँदैनथ्यो, अहिले फेरि सहकार्य र एकताको कुरा गरिरहेका छौँ । परिस्थितिअनुसार आफ्नो विचार परिवर्तन गर्न सक्नुपर्छ,' उनले भने । उनले वर्तमान राष्ट्रिय चुनौतीहरूको सामना गर्न वैचारिक मतभेदभन्दा माथि उठेर साझा राष्ट्रिय हितका आधारमा राजनीतिक सहकार्य विस्तार गर्नु नै आजको आवश्यकता भएको बताए ।
'अब भावनाका रूपमा वाम एकता हुनुपर्छ, जो अगाडि बढ्दैन छुट्छ'
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले अब वामपन्थी शक्तिबीच भावनात्मक र सिद्धान्तनिष्ठ एकताको आवश्यकता रहेको बताएका छन् । उनले समयको मागअनुसार एकताका लागि अगाडि बढ्न नसक्ने शक्ति स्वतः पछाडि पर्ने चेतावनी पनि दिएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेपालले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन सबै कम्युनिस्ट शक्तिले आत्मसमीक्षा गर्दै साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने बताए । ‘अब भावनाका रूपमा वाम एकता हुनुपर्छ । सिद्धान्तनिष्ठ एकता हुनुपर्छ । कम्युनिस्ट आन्दोलनलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने धारणासहित अगाडि बढ्नुपर्छ । जो अगाडि बढ्दैन, ऊ छुट्छ,’ उनले भने । उनले आफू मदन भण्डारीसँग लामो समयसम्म काम गरेको स्मरण गर्दै उनको कार्यशैली र सोचको साक्षी अझै जीवित रहेको बताए । ‘जिउँदा साक्षी म पनि छु । मदन भण्डारीले पार्टीलाई कसरी अघि बढाउनुभयो, समस्यालाई कसरी बुझ्नुभयो र समाधान खोज्नुभयो भन्ने कुरा मैले नजिकबाट देखेको छु,’ उनले भने । माधव नेपालले नेपालका कम्युनिस्ट दलहरू अहिले कमजोर बन्नुको कारण खोजेर गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए । जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसक्नु, व्यक्तिवादी प्रवृत्ति, भ्रष्टाचार र वैचारिक विचलनका कारण कम्युनिस्ट आन्दोलन कमजोर बनेको उनको भनाइ छ । ‘हामीले जनताको बदलिँदो मनोविज्ञान बुझ्न सकेनौँ कि ? हामीभित्र के–के विकृति आए ? यसको आत्मसमीक्षा गरौँ,’ उनले भने, ‘यो एउटा पार्टीको मात्रै विषय होइन । नेपालका सबै कम्युनिस्ट घटकले आत्ममन्थन गर्नुपर्छ । त्यसो गर्न सके मात्रै कम्युनिस्टहरूलाई एकताबद्ध गर्न सकिन्छ ।’ उनले आत्मकेन्द्रित सोच र ‘मै हुँ’ भन्ने प्रवृत्ति अन्त्य नगरेसम्म कम्युनिस्ट आन्दोलनले अपेक्षित सफलता हासिल गर्न नसक्ने बताए । ‘हामी कहाँ चुक्यौँ ? कहाँ गल्ती गर्यौं ? यो उचाइमा पुगेको कम्युनिस्ट आन्दोलन आज किन कमजोर भयो ? यसको समीक्षा गर्नुपर्छ,’ उनले भने, ‘विचार, सिद्धान्त, व्यक्तिवाद, भ्रष्टाचार वा अन्य के कारणले यस्तो अवस्था आयो भन्ने इमान्दारितापूर्वक मूल्यांकन हुनुपर्छ ।’ उनले कम्युनिस्ट आन्दोलनलाई पुनः जनविश्वासको केन्द्र बनाउन विचार, व्यवहार र संगठन तीनै पक्षमा सुधार गर्दै सिद्धान्तमा आधारित एकतामार्फत अघि बढ्नुपर्नेमा जोड दिए ।