काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिबीच सहकार्य र एकता ढिलो भए मुलुकले ठूलो राजनीतिक दुर्घटना बेहोर्नुपर्ने चेतावनी दिएका छन् । उनले तत्काल पार्टी एकता नभए पनि सहकार्य भने अब ढिला गर्न नहुने बताएका छन् ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले वामपन्थी शक्तिहरूबीचको एकता समयको आवश्यकता भएको बताए ।
'मिल्न जति ढिला गर्यो, दुर्घटना त्यति नै चाँडो हुन्छ। सहकार्य ढिला गर्ने नियत पनि दुर्घटना हुन सक्छ,' उनले भने ।
उनले २०७४ सालमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकतालाई स्मरण गर्दै जनताले दुई तिहाइ बहुमत दिएर त्यसलाई अनुमोदन गरेको उल्लेख गरे । यद्यपि, उनले हतारमा गरिने एकताले पछि पश्चातापको अवस्था पनि आउन सक्ने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने बताए।
'२०७४ मा हामी मिलेकै हो। जनताले दुई तिहाइ मत दिएर अनुमोदन पनि गरेका हुन् । तर, हतारमा एकता गर्ने र फुर्सदमा पश्चाताप गर्नुपर्ने अवस्था पनि आउनु हुँदैन', उनले भने ।
प्रचण्डले अहिले देश विभिन्न प्रकारका संकटको सामना गरिरहेको उल्लेख गर्दै ती चुनौतीहरूको सामना गर्न सबै प्रगतिशील र वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
'राष्ट्रका अगाडि आएका संकटविरुद्ध मिलेर अगाडि बढ्नुपर्छ । हिजो पनि मिलेर सफलता प्राप्त गरेका थियौँ, आज पनि मिलेरै सफलता हासिल गर्न सक्छौँ । त्यसका लागि अनुकूल वातावरण बनाउन सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ,' उनले भने ।
उनले आफूले तत्काल पार्टी एकताको प्रस्ताव नगरेको स्पष्ट पार्दै सहकार्यबाट प्रक्रिया सुरु गरेर क्रमशः एकताको दिशामा जानुपर्ने धारणा राखे ।
'मैले आजै पार्टी एकता गर्नुपर्छ भनेको होइन। तर सहकार्य आज, भोलि वा जुनसुकै बेला पनि सुरु गर्न सकिन्छ । सहकार्यबाट सुरु गरौँ, त्यसपछि एकताको विकल्पतर्फ जानुपर्छ,' उनले भने ।
प्रचण्डले वामपन्थी शक्तिको एकतामात्र नभई मधेशी, थारू, जनजाति तथा अन्य राजनीतिक शक्तिबीच पनि कार्यगत सहकार्य आवश्यक रहेको बताए । विगतमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी दलहरूसँग विभिन्न मुद्दामा सहकार्य भएको स्मरण गर्दै उनले अहिले पनि साझा राष्ट्रिय मुद्दामा सबै शक्ति एक ठाउँमा आउनुपर्ने धारणा व्यक्त गरे ।
'मैले वाम एकताको मात्रै कुरा गरेको होइन । मधेशी, थारू, जनजातिलगायत सबै राजनीतिक शक्तिहरू साझा राष्ट्रिय एजेन्डामा एक ठाउँमा उभिनुपर्छ । विगतमा नेपाली कांग्रेस, एमाले र मधेशी दलसँग पनि सहकार्य गरेका थियौँ। अब ती शक्तिहरू पनि कार्यगत एकतामा सहभागी हुनुपर्छ,' उनले भने ।
राजनीतिमा परिस्थितिअनुसार सोच र रणनीति परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै प्रचण्डले परिवर्तनलाई स्वीकार गर्न नसक्ने नेतृत्वले सफलताको नेतृत्व गर्न नसक्ने बताए ।
'निरन्तरतामा क्रमभंग गरिराख्नुपर्छ। क्रममै बसिरह्यो भने कतै पनि पुगिँदैन। परिस्थिति फेरिएको छ। म नभएको भए जनयुद्ध हुँदैनथ्यो, अहिले फेरि सहकार्य र एकताको कुरा गरिरहेका छौँ । परिस्थितिअनुसार आफ्नो विचार परिवर्तन गर्न सक्नुपर्छ,' उनले भने ।
उनले वर्तमान राष्ट्रिय चुनौतीहरूको सामना गर्न वैचारिक मतभेदभन्दा माथि उठेर साझा राष्ट्रिय हितका आधारमा राजनीतिक सहकार्य विस्तार गर्नु नै आजको आवश्यकता भएको बताए ।