देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अन्तिम चरणमा छ । आयोगबाट स्वीकृत कार्य तालिकाअनुसार व्यवस्थापकीय कार्य तालिकाबद्ध र तोकिएको समयमा सञ्चालित छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भई ७७ वटै जिल्लामा पुगेको छ । केही सामग्री भने जिल्लामै व्यवस्थापन हुनेछ । निर्वाचन अधिकृतको कार्यालयबाट भने मतदान अधिकृतको जिम्मामा सबै सामग्री पठाइने आयोगले जनाएको छ । स्वीकृत कार्यक्रमअनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम यही फागुन ३ गतेदेखि जारी छ । मतदाता शिक्षा फागुन १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा निरन्तर सञ्चालन हुने जनाइएको छ । निर्वाचन आचारसंहिता अनुगमन एवं परिपालनामा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरूले सक्रिय रुपमा कार्यसम्पादन गर्दै आएका छन् । यही फागुन ४ गतेदेखि राजनीतिक दलहरूले चुनावको मुख्य प्रचारप्रसारका गतिविधि सुरुवात गरेका छन् । प्रचारप्रसारलाई प्रचलित कानुन र आचारसंहिताको अधीनमा रही शिष्ट र मर्यादित बनाउन आयोगबाट राजनीतिक दल र उम्मेदवारहरूलाई निर्देशन भइसकेको छ ।
किम जोंग उनले उत्तर कोरियाको परमाणु शक्तिबारे अमेरिकासँग के भने ?
काठमाडौं । उत्तर कोरियाका शासक किम जोंग उनले आफ्नो देशको परमाणु हतियार कार्यक्रमलाई अझ विस्तार गर्ने र यसको सञ्चालन दायरा बढाउने इशारा व्यक्त गरेका छन् । एक सन्देशमा उनले अमेरिकालाई उत्तर कोरियाको परमाणु शक्तिलाई स्वीकार गर्न आग्रह गरेका छन् । अमेरिकाले उत्तर कोरियाका परमाणु हतियारहरू कायम रहने तथ्य स्वीकार गरे उत्तर कोरिया र अमेरिका आपसी सम्बन्ध सुधार गर्न सकिने किमको भनाइ छ । यो अभिव्यक्ति राजधानी प्योङयाङमा आयोजित वर्कर्स पार्टी अफ कोरियाको पाँच वर्षमा हुने सम्मेलनमा आएको हो । यसलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रिलमा चीन भ्रमणअघि सम्भावित वार्ताको संकेतका रूपमा हेरिएको छ । यद्यपि किमले दक्षिण कोरियासँग सम्बन्ध सुधार्ने कुनै पनि आशा अस्वीकार गर्दै त्यसलाई उत्तर कोरियाको ‘सबैभन्दा दुश्मन देश’ बताएका छन् । उनले अमेरिकासँगको सम्बन्धको भविष्य पूर्ण रूपमा अमेरिकाको रवैयामा निर्भर रहने पनि बताएका छन् ।
किम जोंग उनले उत्तर कोरियाको परमाणु शक्तिबारे अमेरिकासँग के भने ?
काठमाडौं । उत्तर कोरियाका शासक किम जोंग उनले आफ्नो देशको परमाणु हतियार कार्यक्रमलाई अझ विस्तार गर्ने र यसको सञ्चालन दायरा बढाउने इशारा व्यक्त गरेका छन् । एक सन्देशमा उनले अमेरिकालाई उत्तर कोरियाको परमाणु शक्तिलाई स्वीकार गर्न आग्रह गरेका छन् । अमेरिकाले उत्तर कोरियाका परमाणु हतियारहरू कायम रहने तथ्य स्वीकार गरे उत्तर कोरिया र अमेरिका आपसी सम्बन्ध सुधार गर्न सकिने किमको भनाइ छ । यो अभिव्यक्ति राजधानी प्योङयाङमा आयोजित वर्कर्स पार्टी अफ कोरियाको पाँच वर्षमा हुने सम्मेलनमा आएको हो । यसलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रिलमा चीन भ्रमणअघि सम्भावित वार्ताको संकेतका रूपमा हेरिएको छ । यद्यपि किमले दक्षिण कोरियासँग सम्बन्ध सुधार्ने कुनै पनि आशा अस्वीकार गर्दै त्यसलाई उत्तर कोरियाको ‘सबैभन्दा दुश्मन देश’ बताएका छन् । उनले अमेरिकासँगको सम्बन्धको भविष्य पूर्ण रूपमा अमेरिकाको रवैयामा निर्भर रहने पनि बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४८ राहदानीसहित महिला पक्राउ
काठमाडौं । ४८ थान राहदानी बोकेर दिल्ली जान लागेकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ घर भएकी ४५ वर्षीया तारा चन्द चौधरी रहेकी छन् । उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सुरक्षा कार्यालयले विमानस्थल परिसरबाटै नियन्त्रणमा लिएको हो । चौधरी भुटान एयरलायन्सको बी३ ७७३ नम्बरको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेकी थिइन् । उनको झोलाबाट विभिन्न व्यक्तिका ४८ थान राहदानी बरामद भएपछि नियन्त्रणमा लिइएको हो । थप अनुसन्धानका लागि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको प्रहरीले जनाएकाे छ।
जापानमा जन्मदर लगातार घट्दै, जनसङ्ख्या संकट गहिरिँदै
काठमाडौं । जापानमा सन् २०२५ मा जन्मेको शिशुको सङ्ख्या लगातार दशौँ वर्ष घटेको तथ्याङ्क सार्वजनिक भएको छ, जसले देशको घट्दो जनसङ्ख्या र श्रम सङ्कटलाई थप गम्भीर बनाएको छ । प्रारम्भिक स्वास्थ्य मन्त्रालयको विवरणअनुसार गत वर्ष सात लाख पाँच हजार ८०९ शिशु जन्मिएका छन् । यो सन् २०२४ को तुलनामा २.१ प्रतिशत कम हो । यस तथ्याङ्कमा जापानभित्र जापानी नागरिकबाट जन्मिएका शिशु, विदेशी नागरिकका सन्तान र विदेशमा जन्मिएका जापानी शिशुहरू सबै समेटिएका छन् । विश्वको चौथो ठूलो अर्थतन्त्र मानिने जापानमा विश्वकै न्यूनतम जन्मदरमध्ये एक रहेको छ र कुल जनसङ्ख्या निरन्तर घटिरहेको छ । घट्दो जन्मदरका कारण श्रम अभाव, सामाजिक सुरक्षा खर्चमा वृद्धि र कर तिर्ने कामदारको सङ्ख्या घट्ने समस्या तीव्र बन्दै गएको छ । यसले जापानको सार्वजनिक ऋणलाई थप दबाब दिएको छ, जुन प्रमुख अर्थतन्त्रहरूमध्ये सबैभन्दा उच्च अनुपातमा रहेको बताइन्छ । देशकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइचीसहित अघिल्ला नेताहरूले जन्मदर बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्, तर ठोस उपलब्धि सीमित रहेको देखिएको छ । गत हप्ता संसद्मा बोल्दै ताकाइचीले घट्दो जन्मदर र सङ्कुचित जनसङ्ख्यालाई ‘शान्त आपतकाल’ को संज्ञा दिँदै यसले देशको जीवनशक्तिलाई बिस्तारै कमजोर पार्ने बताएका थिए । फेब्रुअरी ८ मा सम्पन्न चुनावमा ताकाइची नेतृत्वको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले दुई तिहाइ बहुमत हासिल गरेको छ । यद्यपि जनसङ्ख्या सङ्कट समाधानका लागि आप्रवासन विस्तार उपयोगी हुन सक्ने विश्लेषण भइरहे पनि ‘जापानी पहिलो’ नारा अघि सारेको सान्सितो पार्टीको दबाबका कारण सरकारले आप्रवासनमा कडा नीति अपनाउने सङ्केत दिएको छ । रासस
एमाले महासचिव पोखरेलले गरे पाँच संकल्प सार्वजनिक
काठमाडौं । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले आफू निर्वाचित भएमा पाँचवर्ष भित्र गर्ने पाँच संकल्प सार्वजनिक गरेका छन् । उनले आर्थिक, शैक्षिक, स्वास्थ्य, प्रविधि र सुशासनका पाँच क्षेत्रमा रूपान्तरण ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । पोखरेलले ‘पाँच वर्षमा पाँच क्रान्ति’ शीर्षकको संकल्प आज यहाँ सार्वजनिक गर्नुभयो । उक्त संकल्पमा रोजगारी सिर्जना, सडक, सिँचाइ र उद्योग विस्तारमार्फत आर्थिक तथा पूर्वाधार क्रान्ति अघि बढाउने योजना प्रस्तुत गरेका छन् । गुणस्तरीय शिक्षा र सीपमूलक कार्यक्रमसँगै डिजिटल शिक्षाको विस्तारलाई प्राथमिकता दिने उनको संकल्पमा उल्लेख छ । स्वास्थ्य सेवामा सहज र गुणस्तरीय उपचार, आधुनिक उपकरणसहितका अस्पताल र गाउँगाउँमा विशेष स्वास्थ्य सेवा उपलब्ध गराउने संकल्पमा भनिएको छ । पोखरेलले आफ्ना संकल्प सार्वजनिक गर्दै दाङलाई आर्थिक, सामाजिक र प्रशासनिक दृष्टिले नमूना जिल्लाको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उनले अब दाङ जिल्लाको जनप्रतिनिधिका रूपमा राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गर्न चाहेको बताए ।
अमेरिकी शुल्कको असर : एस्टन मार्टिनले २० प्रतिशतसम्म रोजगारी कटौती गर्ने
काठमाडौं । बेलायती विलासी कार निर्माता एस्टन मार्टिनले अमेरिकी आयात शुल्क र चीनमा कमजोर मागको प्रभावबाट उकासिने प्रयासस्वरूप आफ्नो कार्यबल २० प्रतिशतसम्म घटाउने भएको छ । कम्पनीले बुधबार दिएको जानकारीअनुसार करिब ३ हजार कर्मचारी रहेको कुल कार्यबलबाट गरिने यो कटौतीले वार्षिक रूपमा करिब ४० मिलियन पाउन्ड (झन्डै ५४ मिलियन डलर) बचत गराउने अपेक्षा गरिएको छ । कम्पनीले रोजगारी कटौती कहिले लागू गरिने भन्ने स्पष्ट पारेको छैन, तर अधिकांश बचत चालु वर्षमै देखिने जनाएको छ । यो कटौतीमा गत वर्ष घोषणा गरिएको ५ प्रतिशत कमी पनि समावेश छ । एस्टन मार्टिनले विद्युतीय सवारी साधन प्रविधिमा लगानी ढिलाइ गर्दै पाँच वर्षे पुँजीगत खर्च योजना २ अर्ब पाउन्डबाट घटाएर १.७ अर्ब पाउन्डमा झारेको छ । प्रारम्भिक कारोबारमा लगातार नौ सत्रको गिरावटपछि एस्टन मार्टिनका सेयर झन्डै ५ प्रतिशतले बढेका छन् । जेम्स बण्डले चलाउने कार ब्रान्डका रूपमा परिचित एस्टन मार्टिन नगद प्रवाह सुदृढ गर्न र १.३८ अर्ब पाउन्ड ऋण व्यवस्थापन गर्न संघर्षरत रहेको छ । यद्यपि क्यानाडाली अर्बपति तथा अध्यक्ष लरेन्स स्ट्रोलबाट पूँजी प्रवाह र विभिन्न सम्झौतामार्फत कम्पनीले सहयोग पाउँदै आएको छ । कम्पनीका अनुसार अमेरिकी शुल्क ‘अत्यन्त विघटनकारी’ साबित भएका छन् भने विश्वकै सबैभन्दा ठूलो अटो बजार चीनमा माग ‘निक्कै सुस्त’ रहेको छ । एस्टन मार्टिनले २०२६ मा थप नगद बहिर्गमन हुने अपेक्षा गरे पनि वित्तीय प्रदर्शनमा ‘उल्लेखनीय सुधार’ आउने प्रक्षेपण गरेको छ । कम्पनीले उच्च ३० प्रतिशत दायरामा ग्रस मार्जिन र समायोजित ब्याज तथा करअघिको आम्दानी (ईबीआईटी) ब्रेक–इभन नजिक पुर्याउने लक्ष्य राखेको छ, जसमा नयाँ भलहला हाइब्रिड सुपरकारका करिब ५०० डेलिभरीले टेवा दिने अपेक्षा गरिएको छ । कम्पनीले २०२५ मा २५९.२ मिलियन पाउन्ड सञ्चालन घाटा बेहोरेको जनाएको छ । वित्तीय सुधार प्रयासअन्तर्गत कम्पनीले गत साता आफ्नो एस्टन मार्टिन फर्मुला वन टीमको स्थायी ब्रान्डिङ अधिकार ५० मिलियन पाउन्डमा बिक्री गर्ने सम्झौता गरेको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औँ वर्षमा प्रवेश, डिजिटल रूपान्तरणमा जोड
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औँ वर्षमा प्रवेश गरेको छ । चार दशक लामो यात्रामा बैंकले ग्राहक, सेयरधनी, नियामक निकाय, साझेदार संस्था तथा सम्पूर्ण कर्मचारीहरूको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको जनाएको छ । यस अवसरमा बैंक परिवारले हार्दिक आभार व्यक्त गरेको छ । ४०औँ वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकको सफल यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै ग्राहक अनुभवलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक अग्रसर रहने बताए । ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारासहित बैंकले ग्राहक सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवा प्रस्तुत गरिरहने जानकारी उनले दिए । वार्षिकोत्सवको अवसर पारेर बैंकले विगत आठ वर्षदेखि वित्तीय साक्षरतामा आधारित चित्रपुस्तक प्रकाशन गर्दै आएको जनाएको छ । यस वर्ष बैंकले आफ्नो आठौँ संस्करण ‘३ आर सुन्दर संसार’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरेको छ । पुस्तकमा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोत संरक्षण र ग्लोबल वार्मिङजस्ता विषयलाई सरल, रोचक र ज्ञानवर्धक शैलीमा प्रस्तुत गरिएको बैंकले जनाएको छ । वातावरणमा भइरहेको तीव्र परिवर्तनले स्वास्थ्य, भविष्य र पृथ्वीलाई गम्भीर चुनौती दिइरहेको सन्दर्भमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बालबालिकामा चेतना अभिवृद्धि गर्न पुस्तक प्रकाशन गरिएको हो । यसैबीच, वार्षिकोत्सव दिवसका अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ । कार्यक्रममा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो ।