राहुघाट जलविद्युत आयोजना निर्माण छिटो सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत प्राधिकरणले म्याग्दीमा निर्माण गर्दैगरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणलाई गति दिन निर्देशन दिएका छन् । उनले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माणाधीन आयोजनाको विद्युतगृह निरीक्षण गर्दै आयोजना चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिए । मन्त्री बस्नेतसहित संविधानसभा सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले उक्त आयोजनाको निरीक्षण गरेका हुन् । त्यस अवसरमा आयोजनाका अधिकारी, परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिले मन्त्री बस्नेतलाई आगामी २५ महिनाभित्र आयोजना निर्माण सम्पन्न हुने जानकारी गराएका थिए । राहुघाट जलविद्युत् आयोजना निर्माणमा भएको ढिलाइले समग्र देशलाई नै नोक्सानी भएको उल्लेख गर्दै मन्त्री बस्नेतले नदीजन्य निर्माण सामग्रीको सहज आपूर्तिका लागि वैकल्पिक स्रोत खोज्नुपर्नेमा जोड दिए । ‘वैकल्पिक स्रोत पहिचान गरी आयोजनालाई नदीजन्य निर्माण सामग्रीको अभाव हुन नदिन सहजीकरण हुन्छ,’ उनले भने, ‘कार्ययोजनाअनुसार आयोजना सञ्चालन हुने गरी आयोजना, निर्माण कम्पनी र परामर्शदाताले काम गर्नुहोस् ।’ आयोजना प्रवर्द्धक प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको राहुघाट जलविद्युत आयोजनाबाट सन् २०२५ मार्च महिनाभित्र विद्युत उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको जानकारी दिए । ‘६ दशमलव २ सय किलोमिटर सुरुङमध्ये अब ७ सय मिटरमात्र खन्न बाँकी छ । बाँध र विद्युतगृह निर्माणको काम पनि ५० प्रतिशतभन्दा बढी सकिएको छ,’ उनले भने । निर्माण कम्पनी जयप्रकाश एसोसिएट्सका आयोजना व्यवस्थापक हरिश अग्रवालले नदीजन्य निर्माण सामग्रीको अभाव आयोजना निर्माणका लागि चुनौती बनेको बताए । सर्वोच्च अदालतको २०७८ असारको आदेशका कारण कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न नपाउँदा नदीजन्य निर्माण सामग्रीको अभाव भएको उनको भनाइ थियो । ठेक्का सम्झौतामा कालीगण्डकीको नदीजन्य सामग्री प्रयोग गर्ने उल्लेख भएको र कालीगण्डकीबाट सामग्री नपाउँदा समस्या भएको आयोजना व्यवस्थापक अग्रवालले बताए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले राहुघाटलगायत कालीगण्डकी र सहायक नदीबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न २ सय २० केभी क्षमताको कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण भइसकेको बताए । भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा २०६६ सालमा सो आयोजना निर्माण अघि बढाइएको हो । कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो निर्माण कम्पनी आइभिआरसीएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत आयोजना निर्माण अघि बढाइएको थियो । पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट २०७० सालमा निर्माण सकिनुपर्ने थियो । विसं २०७४ मङ्सिरमा ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको भारतको सिभिल ठेकेदार जयप्रकाश एसोसिएटस् (जेपी) ले पनि निर्धारित समयभित्र आयोजना निर्माण सम्पन्न गर्न सकेन् । ४५ महिनाको ठेक्का सम्झौताको म्याद भएको आयोजना सन् २०२३ जनवरीदेखि सञ्चालन गर्ने लक्ष्य थियो । कोरोना महामारी र विपद्का कारण निर्माण कम्पनीले लक्ष्यअनुसार काम गर्न नसकेका कारण सन् २०२४ अक्टोबरसम्म ठेक्का सम्झौताको म्याद थप गरिएको छ । पुरानो निर्माण कम्पनी आइभीआरसीएलले ८ वर्षमा १० प्रतिशत काम गरेको थियो । विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न सुरु गरेको सिभिल ठेकेदार जेपीले हालसम्म पिप्लेमा ६१ मिटर गहिरो सर्चसाफ्ट, तीन सय २९ मिटर बटम प्रेसर साफ्ट, ६ सय ५४ मिटर लामो चारवटै अडित (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) र १ सय ९६ मिटर ठाडो सुरुङ निर्माण सकेको छ । अडिट–१ बाट बाँधतर्फ जाने ७५ मिटर लामो सुरुङ जोडिएको छ । ६ दशमलव २ सय ७० किलोमिटर लामो सुरुङमध्ये हालसम्म ५ हजार ५ सय ७० मिटर निर्माण सकिएको छ । ७ सय मिटर सुरुङ खन्न बाँकी छ । बाँध निर्माणस्थलमा अडिट–१, अँधेरीखोलामा अडिट–२, पिप्लेमा अडिट–३ र तिल्केनी चौरमा अडिट नं ४ खन्ने कार्य सम्पन्न गरी ती अडिटबाट सुरुङ निर्माणलाई तीव्रता दिएको आयोजनाले जनाएको छ । रघुगङ्गा–४ दग्नाम र ५ नं वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशतभन्दा बढी सकिएको आयोजनाका व्यवस्थापक राज विष्टले बताए । तिल्केनीचौरमा विद्युतगृहको संरचना निर्माण तीव्रताका साथ भइरहेको छ । घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एउटा ट्रस प्रविधिको पक्की पुल निर्माण गरी विद्युतगृह र बाँधलाई सिधा सडकले जोडिएको छ । यसअघिका दुई वर्ष बुग्लको पहिराका कारण बर्खायामको चार महिना बाँध निर्माणको काम रोकिएको थियो । यस वर्ष बर्खायाममा पनि बाँध, सुरुङ र विद्युतगृह निर्माणले निरन्तरता पाएको थियो । आयोजनाले सन् २०२३ जनवरी ३१ देखि वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २ सय २० केभी (डबल सर्किट) क्षमताका दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो) को चार टावर निर्माण गरिएका छन् । रासस
‘दिगोपन र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास अपरिहार्य’
काठमाडौं । विज्ञहरूले नेपालको जलविद्युत विकासका लागि दिगोपनता र स्थायित्व मापदण्डसहितको जलविद्युत विकास अपरिहार्य रहेको बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) द्वारा आयोजित कार्यक्रममा देश, समुदाय र भविष्यको ऊर्जा विकासको लागि दिगोपनता र स्थायित्व महत्वपूर्ण भएको बताए । जलविद्युत दिगोपनताको मापदण्डले विश्वबाट जलवायु र कार्बन कोषसहित विदेशी लगानी आकर्षित गर्न सकिने बताउँदै यसले जलविद्युतको विकासको क्रममा वातावरण, सामाजिक र शुशासन (इसीजी) को पक्षलाई बलियो बनाउने बताए । इप्पान अध्यक्ष गणेश कार्कीले समुदाय र वातावरणको भलाईका लागि जलविद्युतको दिगोपनामा ध्यान दिनुपर्ने बताएका छन् । नेपाल, क्यानडा, ब्राजिललगायत केही देशका केही जलविद्युत आयोजनाले यसअघि नै स्वर्ण प्रमाणपत्र (गोल्ड सर्टिफिकेट) लिएको पनि कार्कीले बताए । ‘केही निजी जलविद्युत कम्पनीहरुले दिगोपनको मापदण्ड पूरा गरेको सर्टिफिकेट लिइसकेका छन् भने केही प्रक्रियामा छन्’ कार्कीले भने, ‘एफडिआई आकर्षित गर्न पनि जलविद्युतको दिगोपनाका मापदण्ड पूरा गर्नु आवश्यक छ ।’ कार्यक्रमा अध्यक्ष कार्कीले जलविद्युतको दिगोपनाका लागि सरकार, अन्तर्राष्ट्रिय र निजी क्षेत्रसँगसँगै हिड्नुपर्ने बताउँदै इप्पान साझा दृष्टिकोणका साथ अघि बढ्न तयार रहेको बताए । कार्यशालालालाई सम्बोधन गर्दै बिजबेलका संस्थापक तथा अन्तर्राष्ट्रिय जलविद्युत संघ (आईएचए) का उपाध्यक्ष सुशील पोखरेलले नेपालबाट ३ आयोजनाले स्ट्याण्डर्ड सर्टिफिकेट पाइसकेको भन्दै अब यसलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने बताए । यसरी सर्टिफाइड भएका आयोजनाहरु अन्तर्राष्ट्रिय संस्थाहरुबाट सस्तो दरका फण्ड पाउन योग्य हुने भन्दै पोखरेलले नेपाली जलविद्युत आयोजनाहरू अब कसरी अघि बढ्ने भन्ने विषयमा प्रस्तुतीकरण पनि दिएका थिए । हाइड्रोपावर सस्टेनेबिलिटी एलाइन्स (एचएसए) का डेपुटी कार्यकारी निर्देशक एलियन किलाजिनले जलवायु परिवर्तनको बँदलिदो अवस्थामा सस्टेनेबिलिटी स्टयान्डर्डमा जानु अनिवार्य जस्तै भइसकेको बताए । उक्त कार्यक्रममा इप्पानका प्रतिनिधि, स्वदेशी तथा विदेशी जलविद्युत प्रवर्द्धक, विषय विज्ञ, वातावरण विज्ञ, सरकारी अधिकारीहरु लगायत १५० जनाको सहभागिता रहेको थियो ।
‘गाउँ आएको बाटो’ को प्रदर्शन मिति तोकियो
काठमाडौं । विश्वप्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएर पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को नेपालमा प्रदर्शन गर्ने समय तय गरिएको छ । उक्त चलचित्र नेपालमा २०८१ जेठ १८ गते चलचित्र भवनमा प्रदर्शन गरिने निर्माण पक्षले घोषणा गरेको छ । दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवलगायतमा समेत प्रदर्शनी गरिएको ‘गाउँ आएको बाटो’को नवीन सुब्बाले निर्देशन गरेका हुन् । राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको उक्त चलचित्रमा गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको निर्देशक सुब्बाले जानकारी दिए । निर्देशक सुब्बाले निर्देशनको सुरुआत गरेको पहिलो चलचित्र ‘खाङ्ग्री’ नै पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा पुगेको थियो । यसअघि उनीद्वारा निर्देशित ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायत चलचित्र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएका थिए । ‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् । महेश राई र निर्देशक सुब्बाले लेखेको उक्त चलचित्रको छायांकन जोस हेरम, सम्पादन क्वान पुन लिउङले तथा हेडी लिले संगीत भरेका छन् । नेपाली चलचित्रमा भारतीय कलाकार नेपाली चलचित्र ‘देव वाणी’मा अभिनय गर्न भारतीय अभिनेता ह्यारी जोश नेपाल आएका छन् । नकारात्मक भूमिकामा रुचाइएका अभिनेता जोशले ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता सफल तथा चर्चित बलिउड चलचित्रमा अभिनय गरेका छन् । ६ दिनको छायांकन तालिका तय गरेर अभिनेता जोश नेपाल आएको उक्त चलचित्रका निर्देशक बाबु साहेब बलामीले जानकारी दिए । बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीमा अभिनेता जोशले ६ दिन छायांकन गरेसँगै चलचित्रको सम्पादनको कार्य सुरु हुने निर्देशक बलामीले बताए । ‘उहाँ नेपाली चलचित्रमा अभिनय गर्ने कुराले हर्षित हुनुहुन्छ । आफ्नो भूमिका बुझेर अभिनय गर्नुका साथै समय मिल्दा काठमाडौंमा घुमघाम गरिरहनुभएको छ,’ निर्देशक बलामीले भने, ‘चलचित्र हिन्दी भाषामा समेत प्रदर्शन गरिने हुँदा उहाँलाई अभिनयका लागि अनुरोध गरेका हौँ । सामाजिक कथामा आधारित भए पनि प्रेमभाव र द्वन्द्वको मिश्रण दर्शकले चलचित्रमा पाउनुहुनेछ ।’ सिमरा र वीरगञ्ज क्षेत्रमा छायांकन गरिएको चलचित्र‘देव वाणी’मा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, घनश्याम गिरी, रवीन्द्र झा, नन्दु श्रीवास्तव, मौसम पौडेल, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिनालगायत कलाकारले अभिनय गरेका छन् । अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्मस् प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको चलचित्र ‘देव वाणी’मा निराजन मेहता मन्जिलले कथा लेखन, श्री श्रेष्ठले द्वन्द्व निर्देशन, हरिबहादुर घलेले छायांकन, रामजी लामिछाने र तेञ्जु योञ्जनले नृत्य निर्देशन, मनोहर सुनामले संगीत सिर्जना तथा बन्दे प्रसादले सम्पादन गरेका छन् ।
४ वर्षपछि सौराहामा हात्ती महोत्सवको तयारी
चितवन । कोरोना महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी गरिएको छ । आगामी पुस १० देखि १४ गतेसम्म अङ्ग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो । हात्ती तथा पर्यटन महोत्सवका संयोजक ओमप्रकाश पाण्डेका अनुसार लामो समयदेखि रोकिएको महोत्सव यसपटकदेखि नयाँ ढङ्गले गर्न लागिएको छ । महोत्सवका लागि सरोकारवालासँग छलफल सुरु गरिएको छ । हात्तीमैत्री गतिविधि मात्रै सञ्चालन गरेर अघिल्ला महोत्सवभन्दा यसपटक फरक बनाउन खोजिएको उनले बताए । पहिला गरिँदै आएको छावाको फुटबल, पोलो, हात्ती दौडजस्ता गतिविधिले हात्तीलाई दुःख हुने गरेको गुनासो बढेपछि यस वर्ष त्यस्ता गतिविधि नगर्ने उनको भनाइ छ । यसपटक हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता मात्रै गर्ने योजनामा आयोजक रहेको क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलियाले बताए । योसँगै डुङ्गा दौड, पर्यटकीय गोष्ठी र सेमिनार गरिनेछ । हात्ती महोत्सवको मुख्य आकर्षण भनेको हात्ती सुन्दरी प्रतियोगिता भएको भन्दै उनले हात्तीको सरसफाइ, स्वास्थ्य र सजावटको मूल्याङ्कन गरी हात्तीलाई सुन्दरीको उपाधि दिइनेछ । महोत्सवमा हात्तीलाई बिदा दिएर एक दिन उसलाई मनपर्ने परिकार खुवाइनेछ । यसपटक ३० निजीसहित ४० हात्ती वनभोजमा सहभागी गराइने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । हात्तीको संरक्षण प्राथमिकतामा राखिएको भन्दै उनले हात्तीको स्याहार, स्वास्थ्यसहितको कार्यक्रम अहिलेको मुख्य आकर्षण हुने बताए । यसपटक चित्रसारीको चौरमा महोत्सव गर्न लागिएको हो । यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएको थियो । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतका अवलोकन गर्ने बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । यहाँ आउने पर्यटकलाई नयाँ स्वादको मनोरञ्जन प्रदान गर्न हात्ती महोत्सव गरिँदै आएको सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेले बताए । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिने महोत्सवले स्वदेशीसँगै विदेशी पर्यटकलाई थप आकर्षित गर्ने उनको भनाइ छ ।
प्रेमिकालाई दिन फूल नभेटेपछि सुरु भएको फूल पसल भयो अर्बौंको
काठमाडाैं । विकास गुटगुटिया त्यस्ता व्यक्ति हुन् जसले आफ्नो प्रेमिकालाई दिनका लागि बजारमा फूल भेट्टाउन सकेनन् । त्यसैले उनले फूलको व्यवसाय सुरु गरे । यो व्यवसाय यति फस्टायो कि आज उनको कम्पनीको कारोबार करोडौंको छ । गुटगुटियाले मात्र ५ हजार रुपैयाँबाट फूल व्यवसाय सुरु गरेका हुन् । तर, उनको मिहिनेत र लगनशीलताको फल हो कि दिन दुई गुणा र रात चौगुणाले व्यापार बढेको हो । अब उनी आफ्नो कम्पनीलाई ५ अर्बको लक्ष्यमा लैजान चाहन्छन् । दिल्लीको बजारमा फूल पाएनन् व्यवसाय सुरु गर्ने सबैको बेग्लाबेग्लै कथा हुन्छ । मानिसहरूले कतैबाट प्रेरणा लिएरमात्र स्टार्टअप सुरु गर्छन्। तर, विकास गुटगुटियाको कथा भने रोचक छ । उनले यो सन् १९९४ अघिको कथा भएको बताए । उनी आफ्नी प्रेमिकालाई फूल दिन चाहन्थे। तर, उनले दिल्लीको बजारमा मनपर्ने फूल वा गुच्छा भेट्न सकेनन् । विकासले फुटपाथका फूलहरू ओइलाएको देखे । त्यहीँबाट उनलाई फूलको व्यवसाय गर्ने सोच आयो । ५ हजार रुपैयाँबाट फूल व्यवसाय सुरु विकासले फूल पसल खोल्ने सोच बनाए । उनले १९९४ मा फूल तथा उपहार केन्द्र खोलेका थिए । उनले जम्मा ५ हजार रुपैयाँबाट व्यवसाय सुरु गरेका हुन् । बिस्तारै काम अगाडि बढ्दै थियो, उनले सँगै सहकार्य गर्नका लागि साथी भेट्टाए । ती साथीले उनको व्यवसायमा साढे २ लाख रुपैयाँ लगानी गरेका छन् । लगानी प्राप्त हुनासाथ विकासको व्यापारमा नयाँ ऊर्जा थपियो । उनले आफ्नो व्यवसाय विस्तार गरे । उनले दिल्लीको साउथ एक्स्टेन्सनमा मात्रै २ सय वर्गफिटको ठाउँमा चारजनासँग पहिलो फर्न्स एन पेटल्स स्टोर खोलेका थिए । फुटपाथका सस्ता फूलसँग प्रतिस्पर्धा गर्न सजिलो थिएन फुटपाथमा बेचिने सस्तो फूलसँग प्रतिस्पर्धा गरेर दबदबा तोड्न सहज नभएको विकासले बताए । विकासले निकै मिहिनेत गरेर ग्राहकहरू जुटाएका थिए । उनले एयरकन्डिसनवाला पसल खोले। त्यहाँ फूलहरू धेरै समय ताजा रहन्थ्यो। साथै, उनले साधारण फूललाई मात्र नभई गुच्छा र मालालाई पनि डिजाइनर लुक दिए । जसका कारण उनलाई कर्पोरेट क्षेत्रबाट पनि अर्डर आउन थाल्यो । धेरै देशमा शाखा विस्तार यसपछि विकासले आफ्नै वेबसाइट सुरु गरे । यहाँ उनले फूल, गुच्छा र डिजाइनर मालाका लागि ठूलो अर्डर प्राप्त गर्न थाले । तर, २००९ मा उनले करिब २५ करोड रुपैयाँ घाटा बेहोरेका थिए । हारबाट विकासले धेरै पाठ सिके । बिस्तारै उनको व्यापार २ अर्बको भयो । आज उनको कम्पनीको विश्वका धेरै देशमा शाखा छन् । एजेन्सीकाे सहयाेगमा
कर्णाली प्रतिष्ठानमा स्नातकोत्तर तहको जनस्वास्थ्य पढाइ हुने
कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षा स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसी संकाय डाक्टरी पढाइ हुने भएको छ । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८०/८१ का लागि यही मङ्सिर १९ गते शैक्षिक कार्यक्रमको सिट बाँडफाँट गरेपछि प्रतिष्ठानमा पनि स्नातकोत्तर तहको जनस्वास्थ्य तथा फार्मेसीतर्फको चिकित्सा शिक्षाको अध्ययन–अध्यापन हुने भएको हो । यसका लागि चिकित्सा शिक्षा सेवा आयोगले ११ सिट निर्धारण गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिए । उनका अनुसार बाँडफाँट गरिएका सिटमध्ये आठ खुला, दुई सरकारी र एक विदेशी गरी प्रतिष्ठानलाई ११ सिट निर्धारण गरिएको छ । प्रतिष्ठानले मास्टर अफ पब्लिक हेल्थ कार्यक्रमको पब्लिक हेल्थ (जनस्वास्थ्य) विषयमा जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजिपी एण्ड इएम) र अर्थोपेडिक एक–एक, पेडियाट्रिक्समा दुई, जनस्वास्थ्यमा पाँच र क्लिनिकल फार्मेसीमा दुई सिट प्राप्त गरेको छ । ‘लामो समयको प्रयासपछि प्रतिष्ठानले जनस्वास्थ्यतर्फ एमडी÷एमएस जनशक्तिको अध्ययन–अध्यापन गर्ने अवसर पाएको छ,’ उपकुलपति रावलले भने, ‘हिमाली जिल्लाका नागरिकका लागि यो ठूलो उपलब्धि हो ।’ चिकित्सा शिक्षाको स्नातकोत्तर तहको जनस्वास्थ्य विषयमा हुने डाक्टर पढाइ प्रतिष्ठान र हिमाली जिल्लाका लागि कोसेढुंगा सावित हुने उनको भनाइ थियो । प्रतिष्ठानले यसअघि पनि स्नातकोत्तर तहको जिपी, अर्थोपेडिक, मेडिसिन, एनेस्थेसिया र पेडियाट्रिक्स जनशक्तिको पढाइ सञ्चालन गरेको थियो ।
कोप–२८ सम्मेलन उपलब्धिमूलक भयो : मन्त्री महतो
काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ नेपालको लागि उपलब्धिमूलक भएको बताएका छन् । सम्मेलनमा नेपालको बारेमा चर्चा भएको पनि मन्त्री महतोको भनाइ छ । कोप–२८ मा सहभागी भएर मन्त्री महतो आज (शनिबार) स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् । मन्त्री महतोले सम्मेलनमा नेपालको सरकारी तथा गैरसरकारी प्रतिनिधिहरूको एकैस्वर रहेको र यसपटक नेपालले आफ्ना एजेन्डा जोडदाररूपमा उठाएको बताए । उनले भने, ‘यसपटक हामी वानडोर विन्डोज सिस्टमबाट प्रस्तुत भएका थियौं ।’ मन्त्री महतोले कोप–२८ को पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेले नेपाल भ्रमण गरेको र नेपाललाई उच्च प्राथमिकतामा राखेकोले यसपटक सम्मेलनमा नेपाललाई उच्च प्राथमिकता दिइएको पनि दाबी गरे । मन्त्री महतोले यसपटकको सम्मेलनमा नेपालको आफ्नै पेभेलियन भएकोले क्लाइमेट चेञ्जका बारेमा प्रभावकारी रूपमा छलफल तथा अन्तर्क्रिया गरिएको जनाए। उनकाअनुसार उक्त पेभेलियनमा नेपालका प्रतिनिधिहरू बिहानदेखि बेलुकासम्म व्यस्त भएका थिए ।