विकासन्युज

एशियन लाइफको ८.१६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको माघ १२ गते बसको बैठकले ८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब १५ करोड रुपैयाँको ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद गरी कूल ८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

प्राइम बैंकमा पूर्व र वर्तमान सीईओको लगानी, उमेश श्रेष्ठ सबैभन्दा ठूला सेयरधनी

काठमाडौं । प्राइम कमर्सियल बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण दास मानन्धर र हालका सीईओ संजीव मानन्धरको पनि लगानी रहेको छ । बैंकका अनुसार पूर्व सीईओ नारायण दास मानन्धरको ४ लाख ८ हजार ४९१ कित्ता र सीईओ संजीव मानन्धरको ६ लाख १६ हजार ८६६ कित्ता सेयर स्वामित्व रहेको छ । साथै, बैंकमा १९ जना व्यक्ति तथा कम्पनीको ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेको छ । जसमध्ये सबैभन्दा बढी सेयर स्वामित्व उमेश श्रेष्ठको छ । श्रेष्ठको २.४६ प्रतिशत अर्थात् ४७ लाख ७३ हजार १३७ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, विनोद चन्द्र बरालको १.०६ प्रतिशत अर्थात् २० लाख ५१ हजार १४९ कित्ता, कृष्ण पुरीको १.०३ प्रतिशत अर्थात् १९ लाख ९६ हजार २४८ कित्ता, कर्मचारी सञ्चय कोषको १ प्रतिशत अर्थात् १९ लाख ४७ हजार ४३४ कित्ता, विक्रम पाण्डेको ०.८७ प्रतिशत अर्थात् १६ लाख ७९ हजार ९८८ कित्ता, सुशिल मित्तलको ०.७३ प्रतिशत अर्थात् १४ लाख ११ हजार ५११ कित्ता सेयर स्वामित्व छ । यस्तै, सुन्दर नारायण जोशीको ०.७१ प्रतिशत अर्थात् १३ लाख ७५ हजार ३८३, शैलजा बर्जाचार्यको ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६३८ कित्ता, श्याम बहादुर श्रेष्ठको ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६३७ कित्ता, स्वेता मास्केको ०.६९ प्रतिशत अर्थात् १३ लाख २९ हजार ४८८ कित्ता, नरेन्द्र बर्जाचार्यको ०.६८ प्रतिशत अर्थात् १३ लाख २० हजार ३८० कित्ता, मनोहर दास मोलको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२१ कित्ता सेयर स्वामित्व छ । यस्तै, सनेन्द्र बर्जाचार्यको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२० कित्ता, महेश राज कर्णिकारको ०.५६ प्रतिशत अर्थात् १० लाख ८८ हजार १८० कित्ता, नरेशलाल श्रेष्ठको ०.५३ प्रतिशत अर्थात् १० लाख ३० हजार ४८ कित्ता, महेन्द्र रत्न शाक्यको ०.५२ प्रतिशत अर्थात् १० लाख २ हजार ३७५ कित्ता, राजेश श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ९ लाख ९० हजार ८४७ कित्ता, चिरन्जिवी दवाको ०.५१ प्रतिशत अर्थात् ९ लाख ८२ हजार २०२ कित्ता र सन्तोष नारायण श्रेष्ठको ०.५० प्रतिशत अर्थात् ९ लाख ७३ हजार २२० कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, बैंकको अध्यक्ष राजेन्द्र दास श्रेष्ठको ३ लाख ४२ हजार ६३९ कित्ता, सञ्चालकहरू उदय मोहन श्रेष्ठको ८ लाख ९४ हजार कित्ता, नरेन्द्र बज्राचार्यको १३ लाख २० हजार ३८१ कित्ता, डा. गजेन्द्र बिष्टको १९ हजार १५९ कित्ता, प्रचण्ड मान श्रेष्ठको १ हजार ८६५ कित्ता, मनोज पौडेलको १ हजार ८६५ कित्ता सेयर स्वामित्व छ ।

स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औँ सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए । स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने मैले विश्वास लिएको छु ।” प्रतिष्ठानले आम जनसमुदायलाई पुर्‍याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लैजाने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे । अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधिहरू थप गरी आफ्ना सेवालाई नागरिकको आवश्यकताअनुसार विस्तार गर्दै लगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट सङ्क्रमितहरूको परीक्षण र उपचारमा उल्लेख्य योगदान पुर्‍याएको स्मरण गरे । प्रधानमन्त्रीले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धानलाई प्रवर्द्धन गरी मुलुकको लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन पनि त्यत्तिकै आवश्यक रहेको उल्लेख गर्दै त्यसतर्फ लाग्न प्रतिष्ठानलाई निर्देशन दिए । रासस

६ महिनामा औद्योगिक क्षेत्रमा एक खर्ब छब्बिस अर्ब लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा २११ स्वदेशी उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार छ महिनामा सानाठुला र मझौला गरी २११ उद्योग दर्ता भएका हुन् । ती उद्योगमा एक खर्ब २६ अर्ब रुपियाँ लगानी प्रतिबद्धता जनाएको छ । सरकारले चालु आवमा कुल ३६५ वटा नयाँ उद्योग दर्ता हुने लक्ष्य राखेको छ । दर्ता भएका उद्योगमा २८ वटा ठुला उद्योग, १६ वटा मझौला उद्योग र १६७ वटा साना उद्योग छन् । चालु आर्थिक वर्षमा ठुला उद्योग ८०, मझौला ८५ र साना दुई सय वटा उद्योग दर्ता गर्ने लक्ष्य छ । छ महिनामा सबैभन्दा धेरै साना उद्योग दर्ता भएको विभागको तथ्याङ्कले देखाएको छ । चालु आवको पहिलो छ महिनामा उद्योग दर्ताको सङ्ख्या गत आवको यसै महिनाको तुलनामा वृद्धि भए पनि लगानी प्रतिबद्धतामा भने कमी आएको छ । विभागको तथ्याङ्क अनुसार गत आव २०७९/८० को पहिलो छ महिनामा १४५ उद्योग दर्ता भएका थिए । जसको कुल प्रस्तावित लगानी एक खर्ब ३९ अर्ब रुपियाँ रहेको थियो । यस वर्ष पुसमा मात्र कुल ३२ उद्योग दर्ता भएका छन् । यसमा १२ अर्ब ३१ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यस वर्ष दर्ता भएका उद्योगले कुल १३ हजार ६७० रोजगारी सिर्जनाको लक्ष्य राखेका छन् । पुसमा मात्र दर्ता भएका उद्योगले दुई हजार १८१ रोजगारी सिर्जनाको लक्ष्य राखिएको छ । यस्तै चालु आवको पहिलो छ महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भने २२ अर्ब ३३ करोड रुपियाँ बराबरको स्वीकृति भएको छ । यो वर्ष कुल ३८ अर्ब विदेशी लगानी भित्र्याउने लक्ष्य रहेको छ । पुसमा मात्र एक अर्ब ७३ करोड रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको छ । छ महिनामा विदेशी लगानीका २२६ वटा उद्योग दर्ता भएका छन् । पुस महिनामा मात्र २७ वटा उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । यी उद्योगले १२ हजार १६७ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । विदेशी लगानी प्रतिबद्धता सबैभन्दा धेरै पर्यटन, सेवामूलक र ऊर्जा क्षेत्रमा रहेको विभागले जनाएको छ । यसैबिच चालु आवको साउनदेखि नै मुलुकमा भित्रिने विदेशी लगानीमा सुधार हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत साउनदेखि मङ्सिरसम्म तीन अर्ब ९२ करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ । गत वर्ष सो अवधिमा ६० करोड ५९ लाख रुपियाँ भित्रिएको थियो । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । गोरखापत्रबाट ।

आइएमई लाइफको दोस्रो त्रैमासमा खुद नाफा २३ करोड, २ अर्ब १० करोड बीमाशुल्क आर्जन

काठमाडौं  । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म कम्पनीको खुद नाफा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिसम्मको तुलनामा ९६.१४ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले ११ करोड ९६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १२.३३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.२० प्रतिशत बढी हो । कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३५ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ११.७४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७७.२७ रुपैयाँ रहेको छ ।

मेट लाइफ ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स‘ बाट सम्मानित

काठमाडौं । मेट लाइफ नेपाल २०२३ को एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स इन्स्योरेन्स विधामा सम्मानित भएको छ । यस अवार्डले मेटलाइफको उत्कृष्ट व्यावसायिकता र सामाजिक उत्तरदायित्वका साथै ग्राहक र समुदायका विकासशील आवश्यकताहरू अनुरूप नवीन र रचनात्मक समाधानहरूको लागि निरन्तर प्रतिबद्धतालाई प्रतिनिधित्व गर्ने कम्पनीको भनाई छ । मेट लाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले व्यक्तिगत रूपमा अवार्ड ग्रहण गर्ने क्रममा भने, ‘यो सम्मानले हाम्रो कर्मचारी तथा अभिकर्ता टोलीको जोश र समर्पणलाई झल्काउँछ र तृप्ति र आशावादी भावना जगाउँछ । यसले हाम्रो आफ्नै मापदण्डहरू पार गर्ने, निरन्तर रूपमा आविष्कार गर्ने र बीमा क्षेत्रमा अझ ठूलो प्रभाव पार्ने हाम्रो दृढ संकल्पलाई प्रेरणा दिन्छ ।’ कर्पोरेट उत्कृष्टताका लागि एचआरएम नेपाल अवार्ड २०२१ मा एचआरएम नेपालद्वारा स्थापना गरिएको र ग्रोथ सेलरहरूको स्वायत्त सहायक संस्था कर्पोरेट क्लब नेपालद्वारा आयोजना गरिएको हो । यस अवार्ड समारोह सकारात्मक परिवर्तन गर्ने उत्कृष्ट व्यक्तिगत र संस्थागत योगदानहरू लाई मान्यता दिने वार्षिक कार्यक्रम हो । यस समारोहमा बिविन्न क्षेत्रका विशेषज्ञहरु र सरकारी प्रतिनिधिहरू उपस्थित हुन्छन् । मेट लाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।

‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा

काठमाडौं । सुजल फुड्सले आफ्नो उत्पादन ‘चोकोफन बिगफन’ नयाँ प्याकमा बजारमा ल्याएको छ । चोकोफन बिगफन मा चकलेटले भरिएको क्रिस्पि, क्रन्ची वेफर ४ तहहरु छन् । त्यसमाथी भ्यानिला स्ट्राइप्सको स्वाद रहेको कम्पनीले जनाएको छ । आकर्षक चम्किलो रातो र सुनौलो रङमा आएको चोकोफन बिगफन अब नयाँ प्याकेजिङ आकर्षित रहेको कम्पनीले जनाएको छ । स्वाद र नयाँ प्याकेजिङले अहिलेको उपभोक्ताको रुचाई र प्राथमिकतालाई सम्बोधन गर्नेछ । नयाँ प्याकमा बिगफनको लोगोलाई अझै प्रस्ट र आकर्षक रुपमा देखाएको छ । चोकोफन बिगफन १५ ग्राम मात्र १० रुपैयाँमा जार र प्याकेटमा उपलब्ध छ । चोकोफन बिगफनको नयाँ प्याकको बजार प्रबर्धन ‘हृयाप्पी न्यू इयर प्याक टु यू’ भन्ने नाराका साथ बजारमा ल्याएको हो । सुजल फुड्सले विगत ५० वर्षदेखि बबलगम, ललिपप, टफी, क्यान्डीलगायत बिक्रि वितरण गर्दै आएको छ । कम्पनीको लोकप्रिय ब्राण्डमा चोकोफन, क्रेभ, रसिलो, फ्रेशो, क्यान्डीम्यान, फ्रेसडेन्टलगायत छन् ।

एनआइबिएल स्टेबल फन्डमा ७ करोड ८५ लाख कित्ता सेयरका लागि आवेदन

काठमाडौं । एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाख भन्दा बढी कित्ता सेयरका लागि आवेदन परेको छ । एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत ‘एनआईबिएल स्टेबल फण्ड’मा उक्त आवेदन परेको हो । बन्दमुखी योजनाको १ अर्ब रकम बराबरको १० करोड इकाईहरू प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरमा माघ २ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भैरहेको छ । उक्त निष्काशनमा शुक्रबार दिउँसो साढे १२ बजेसम्ममा ३५ हजार ३३५ जना आवेदकले ७ करोड ८५ लाख ८१ हजार ५२० इकाई खरिदका लागि आवेदन दिएका हुन् । त्यसमध्ये ३ हजार ८५७ जना आवेदन मार्फत सेयर खरिदका लागि माग भएको १ करोड ३० लाख ६० हजार ८७० इकाईहरु रद्द भएका छन् । यस निष्काशन तथा बिक्री माघ २ देखि छिटोमा माघ ५ गतेसम्मका लागि खुल्ला गरिएकोमा उक्त अवधिभर माग बमोजिम आवेदन प्राप्त नभएकाले यहि माघ १६ गतेसम्मका लागि आवेदन मिति थप गरिएको छ ।