मेची बगरमा काँसघारी फाँडेर युवाले फलाए ८६ लाखको आलु
झापा । दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले ८६ लाख रुपैयाँको आलु फलाएका छन् । मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष एक सय आठ बिघा जग्गा लिजमा लिएर नेपाली बाबु स्मार्ट कृषि फार्म सञ्चालन गरेका थिए । फार्मको ११ बिघा जग्गामा पहिलो बालीको रुपमा आलु उत्पादन भएको हो । आधुनिक प्रविधिबाट रु ४५ लाख लगानीमा आलु खेती गरेको सञ्चालक खनालले जानकारी दिए । उनका अनुसार हाल एक कट्ठा जमिनमा लगभग ११ क्विन्टलका दरले आलु उत्पादन भएको छ । आलु खन्ने, रोप्ने, गोड्ने र सिँचाइका लागि ४५ जना श्रमिकले दैनिक रोजगारी पाइरहेका छन् । फार्ममा उत्पादित पहिलो यामको सेतो आलु खन्ने र बिक्री गर्ने काम धमाधम भइरहेको छ । एघार बिघामा दुई हजार तीन सय ३२ क्विन्टल आलु फलेको र विर्तामोडलगायत झापाका विभिन्न बजारबाट खेतमै आउने व्यापारीले प्रतिक्विन्टल रु तीन हजार सात सयका दरले आलु किनेर लैजाने गरेको खनालले जानकारी दिए । आलु व्यापारीले फार्मबाट प्रतिकेजी रु ३७ का दरले लैजाने गरेको उक्त आलु हाल खुद्रा बजारमा प्रतिकेजी रु ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ । रासायनिक तथा कीटनाशक विषादीको प्रयोग नगरी अर्गानिक प्रविधिबाट खेती गरिएको हुँदा आलुले राम्रो बजार पाएको सञ्चालकको भनाइ छ । गत वर्ष भारतको मणिपुरबाट आएर झापामा जग्गा किनेका एक प्रवासी नेपालीसँग लीला खनालको भेट भएको थियो । ती प्रवासी नेपालीले आफूले मणिपुरमा आलु फलाएर बेचेको पैसाले जग्गा किनेको खनाललाई बताएका थिए । आलु बेचेर जग्गा जोड्ने कुराले आलु खेती गर्ने प्रेरणा मिलेको खनालले बताए । त्यसपछि आलु खेतीको सम्भाव्यताबारे मणिपुर, आसाम र पञ्जाबसम्म पुगेर खनालले अध्ययन अवलोकन गरेका थिए । खनाल पाँच वर्ष कोरियामा वैदेशिक रोजगारीमा जानुभएको थियो । विदेशबाट फर्केपछि उनी परम्परागत कृषि कर्मसँगै घडेरी व्यवसायमा लागेका थिए । अब पूर्णकालीन कृषि व्यवसायमा लाग्ने उनको सोच छ । आलुले राम्रो उत्पादनसँगै नाफा दिएपछि फार्मका अर्का सञ्चालक हरि नेपाल उत्साहित छन् । ‘पहिलोपटक लगाएको आलुमै सोचेभन्दा राम्रो आम्दानी भयो’, उनले भने, ‘आउँदो साल अहिलेको तुलनामा दोब्बर जग्गामा आलु खेती गर्ने सोच बनाएका छौँ । अरु बाली पनि आशलाग्दो रुपमा फष्टाइरहेको छ ।’ उनी पनि विगतमा तीन वर्ष मलेसियामा वैदेशिक रोजगारी गरेर फर्किएका हुन् । विदेशमा रहँदा उनले मलेसियाको कृषि फार्मको अध्ययन गरेका थिए । विदेशबाट फर्केपछि मेचीनगरमा अमृत डेरी स्थापना गरेका उनले बिगत चार वर्षदेखि आफूलाई कृषि व्यवसायमा केन्द्रित गरेका छन् । विदेशबाट फर्केका र कृषिमै केही नयाँ काम गरौँ भन्ने सोच बोकेका खनाल र नेपालले यसै वर्ष साझेदारीमा मेचीनगरको वडा नं १० र १५ मा जग्गा लिजमा लिएर ठूलो मात्रामा तरकारी खेती सुरु गरेका हुन् । ‘अहिले आलु फलेको ठाउँ मेची नदीको काँसघारी रहेको बगर जग्गा हो’, फार्ममा सञ्चालक नेपालले भने, ‘स्थानीय विद्यालय र केही किसानको स्वामित्वको जग्गा भएकाले उनीहरुसँग सम्झौता गरेर लिजमा जग्गा लिँदा यहाँ बाली उत्पादन होला भनेर कसैले पत्याएका थिएनन् ।’ काँसघारी फँडानी गरेर ट्र्याक्टरले बाँझो फुटाएको उक्त जग्गा सीमानाको दशगजामै जोडिएको छ । कतिपय जग्गामा बर्खामा खोलाको भेल पस्ने त्रास छ । काँसघारीलाई उर्बर जमिनमा परिणत गर्न निकै मिहेनत र लगानी खर्च भएको नेपालले बताए । फार्मका कृषि प्राविधिक विमल तामाङले बगरको मिश्रित दोमट माटोमा उर्बरा शक्ति धेरै हुने भएकाले आलुखेतीका लागि उक्त जग्गा चयन गरिएको बताए । उनले फार्ममा गोबर र तोरीको पिनालाई मलको रुपमा अत्यधिक प्रयोग गरिएको जानकारी दिए । फार्मले स्थानीय कालिका प्राथमिक विद्यालयको ८६ बिघा र स्थानीयवासीको २२ बिघा गरी एक सय आठ बिघा जग्गा लिजमा लिएको हो । सोमध्ये ११ बिघामा आलु खेती र अढाइ बिघा जग्गामा फर्सी खेती गरिएको छ । अन्य जमिनमा लौका, टमाटर, फूलकोपीलगायतका तरकारी लगाइएको छ । बर्सातको समयमा मेची नदीमा आउने बाढीले पुर्याउन सक्ने क्षति फार्मको सबैभन्दा ठूलो चुनौती हो । स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट फार्मले हालसम्म कुनै अनुदान लिएको छैन । नदीमा तटबन्धन र फार्मसम्म विद्युतीय प्रसारण लाइन पुर्याइदिन स्थानीय सरकारसँग आग्रह गरिएको सञ्चालक खनालले बताए । रासस
इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न, ७८२ जना विद्यार्थी दीक्षित
काठमाडौं । कमलपोखरी स्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी ( अनर्स) कम्प्युटर नेटवर्किङ र आईटी सेक्युरिटी, बीएससी (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन र बीएससी ( अनर्स) मल्टिमिडिया टेक्नोलोजी का ७१० जना विद्यार्थी सहभागी भएका थिए भने स्नातकोत्तर तह अन्तर्गत एमएससी आईटी र एप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दीक्षित भएका थिए । समारोहमा बिजनेस विषयमा स्नातक तह गर्ने १४५ र आइटी तह पुरा गर्ने ५६५ विद्यार्थी गरी कुल ७८२ विद्यार्थी दीक्षित भएका थिए । वार्षिक दीक्षान्त समारोह, स्नातक कक्षाको शैक्षिक उत्कृष्टता मनाउने दुई दिने भव्य कार्यक्रम भएको कलेजको भनाइ छ । यस वर्ष लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट छात्रवृत्तिको लागि दुई उत्कृष्ट विद्यार्थी सन्देश तिम्सिना र आशिष आचार्यलाई छात्रवृत्ति प्रधान गरिएको पनि कलेजले जनाएको छ । साथै आइएनजी छात्रवृत्तिका लागि रोदन महर्जन र मोहम्मद तौसिफ रेजा सम्मानित भएका थिए । वार्षिक स्नातक समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसिपका प्रमुख डा. वेन्डी ब्लोइसी र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका प्रो भाइस चान्सलर, नोना म्याकडफल लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । आइएनजीका संस्थापक तथा अध्यक्ष बुढाथोकीले प्रत्येक स्नातकलाई व्यक्तिगत रूपमा बधाई दिँदै उनीहरूको लगनशीलता र समर्पणको प्रशंसा गरे। डा. ब्लोइसी साथै प्रोफेसर म्याकडफलले यस अवसरमा आईएनजी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबिचको दिगो साझेदारीलाई प्रकाश पार्दै विद्यार्थी र कलेजको उल्लेखनीय उपलब्धिको प्रशंसा गरेको कलेजले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
कञ्चनपुरको दोदा पुल : आठ वर्षमा तीन पिलर मात्रै ठडिए
बेदकोट । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की पुल निर्माणको सम्झौता भएको थियो । त्यसपछि पटक–पटक म्याद थप हुँदा पनि अहिलेसम्म पुल निर्माणले गति लिन सकेको छैन । तीन पिलर पनि मापदण्ड विपरित निर्माण गरिएको पाइएपछि पुलको डिजाइन नै फेरिएको छ । ‘पुलको कामले गति लिएको छैन । निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दैआएका छौँ’, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले भने । विसं २०७८ साउनमा पुलको नयाँ डिजाइन तयार गरिएको थियो । विभिन्न बहाना बनाएर निर्माण कम्पनीले निर्माणको काम अघि नबढाएको इन्जिनियर सिग्देलको आरोप छ । उक्त पक्की पुलको लागत रु २४ करोड ५२ लाख रहेको छ । ‘हालसम्म रु १२ करोड भुक्तानी भइसकेको छ’, उनले भने । पुल निर्माणले गति नलिँदा स्थानीय निराश बनेका छन् ‘ ‘लामो समय बितिसक्दा पनि पुल निर्माण भएन । अब त पुल बन्नेमा आशंका हुन थालेको छ’, लालझाडी–४ का कृष्ण राना भन्छन् । वर्षौँदेखि देखतभुली–पर्सिया जोड्ने पक्की पुल निर्माण नहुँदा लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन् । पक्की पुल निर्माण नहुँदा स्थानीयले शुल्क तिरेर काठको अस्थायी पुल प्रयोग गर्दैआएका छन् । ‘नदी तर्न काठको पुल प्रयोग गर्दै आएका छौँ”, लालझाडी–५ का धोके रानाले भने, ‘बर्खामा नदी ओहोरदोहोर गर्न सकिँदैन ।’ स्थानीयले काठको पुल प्रयोग गरेबापत साइकलको रु १० र मोटरसाइकलको रु २० शुल्क तिर्ने गरेका छन् । बर्खामा बाढी आउने हुनाले निर्माण गरिएको काठको अस्थायी पुल हटाउने गरिएको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीका मङ्गलबहादुर चौधरीले बताए । ‘वर्षात्मा काठको पुलबाट आवतजावत गर्न सकिँदैन । बाढीले बगाउने हुनाले हटाउँछौँ’, उनले भने, ‘त्यसपछि ट्युबको सहायताले जोखिम मोलेर नदी वारपार गर्नुपर्छ ।’ रासस
चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो
वीरगञ्ज । पर्सामा चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका हुन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । दुधेबालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र निमोनियाको समस्याबाट पीडित भएका छन् । पछिल्लो केही दिनयतादेखि बढेको चिसोका कारण अस्पतालमा बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिए । रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी दैनिक ३० देखि ४० जनासम्म उपचारका लागि अस्पताल आउने गरेको उनले बताए । अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले शय्याको अभाव भएको र भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको डा. सिंहकाे भनाइ छ ।
प्रभु महालक्ष्मी लाइफको लक इनमा रहेको सेयर खुला हुने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लक इनमा रहेको सेयर खुला हुने भएको छ । कम्पनीको लक इनमा रहेको सेयर पुस ९ गतेदेखि खुला हुने भएको हो । इन्स्योरेन्सको ३ करोड १ लाख १ हजार ७० कित्ता संस्थापक सेयर र २ लाख ५५ हजार ३६ कित्ताको लक इनको समय समाप्त हुने भएकाले सेयर खुला हुने कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डको गत मंसिर २५ गतेको निर्देशन बमोजिम कम्पनीले संस्थापक तथा सर्वसाधारण (कर्मचारी)को स्वामित्वमा रहेको सेयरको लक इन खुला बारे जानकारी गराएको हो । कम्पनीका अनुसार ३ करोड ६३ लाख ७२ हजार कित्ता सेयर संस्थापक र ३ लाख २८ हजार ९९८ कित्ता सेयर सर्वसाधारण समूहको लक इनमा रहेको छ ।
लोक सेवा आयोगले माग्यो २७३ कर्मचारी
काठमाडौं । लोक सेवा आयोगले विभिन्न कार्यालयका लागि राजपत्रांकित तृतीय श्रेणी पदमा २७३ कर्मचारी मागेको छ । बुधबार सूचना प्रकाशित गरी आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवामा कर्मचारी मागेको हो । आयोगले खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन मागेको हो । आयोगले राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी मागेको हो । इच्छुक योग्यता पुगेका व्यक्तिहरूले पुस १७ गतेसम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।
६ अर्ब खर्चिएर ६० हजारलाई रोजगारी दिने सरकारको तयारी
काठमाडौं । मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा सरकारले रोजगारी सिर्जना गर्न करिब ६ अर्ब रूपैयाँ खर्चिने भएको छ । सामुदायिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा करिब ६० हजार बेरोजगारलाई रोजगारी दिन लागेको हो । विगतमा सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम विवादमा आइरहेको अवस्थामा सरकारले स्थानीय तहमार्फत बेरोजगारलाई विकास निर्माणका काममा लगाउन लागेको हो । स्थानीय तहमा विकास निर्माणका योजनामा रोजगारी सृजना गर्न लागिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव शोभा पोखरेलले बताइन् । सरकारले करिब ८६ हजारलाई रोजगारी सृजना गर्ने लक्ष्य राखेको भए पनि ६० हजारलाई मात्र रोजगारी दिने उनले बताइन् । ‘बेरोजगारलाई ज्यालाबापत न्यूनतम पारिश्रमिक दिन्छौं,’ पोखरेलले भनिन्, ‘प्रतिदिन ६ सय ६८ रूपैयाँ दिनको ज्याला पाउँछन् ।’ एक जनाले १ सय दिनसम्म काम पाउने पोखरेलले जानकारी गराइन्। ‘स्थानीय तहमा सूचीकृत भएका बेरोजगारले काम पाउँछन्,’ उनले भनिन्, ‘स्थानीय सरकारले योजना छनोट गरेर काम लगाउँछ ।’ विगतमा प्रधानमन्त्री रोजगार कार्यक्रममा झार उखेलेर कार्यकर्तालाई पैसा बाँड्ने काम भएको भन्दै आलोचना भएको थियो। विगतका कमजोरीलाई सच्याएर अधिकतम काममा लगाई पूर्वाधार विकासमा सघाउ पुग्ने गरी योजना बनाएको उनको दाबी छ । ‘स्थानीय तहले आयोजना छनोट गरेर काममा लगाउँछ,’ पोखरेलले भनिन्, ‘एक छाक खान पनि धौधौ हुनेले अवसर पाउँछन् ।’ नयाँसहित पुराना आयोजनाको मर्मतसम्भारमा काम लगाउने योजना छ । यो कार्यक्रम ७ सय ५३ वटै स्थानीय तहमा कार्यान्वयन हुनेछ । १८ देखि ५९ वर्षभित्रका बेरोजगारलाई न्यूनतम रोजगारी दिने भन्दै सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरु गरेको थियो । बेरोजगार व्यक्तिलाई एक सय दिनको न्यूनकार्यक्रमको कार्यविधिले स्थानीय तहका सडकको नियमित मर्मतसम्भार, स्थानीय तहभित्रका बस्ती, स्वास्थ्य चौकी, विद्यालय, आर्थिक केन्द्र, हाटबजार, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल जोड्ने सडक निर्माण तथा मर्मतसम्भार गर्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी, कुलो, पैनी वा पोखरीको मर्मतसम्भार तथा स्तरोन्नति, पोखरी तथा पानीको मूल संरक्षण, सार्वजनिक स्थलमा फलफूल बगैंचा निर्माण, कृषि तथा पशुपक्षी उत्पादनको भण्डारण तथा बिक्री वितरणमा आवश्यक पर्ने शीत भण्डार, हाटबजार, तरकारी संकलन केन्द्रको निर्माण तथा मर्मतसम्भारको काम पनि गर्न सकिने पनि व्यवस्था छ । त्यसैगरी, विद्यालय भवन तथा विद्यालयपरिसरमा शौचालय, खेल मैदान, कम्पाउन्ड, बगैंचालगायत पूर्वाधार निर्माण, विस्तार तथा मर्मतसम्भार, सार्वजनिक खेलकुद मैदान निर्माण, विस्तार तथा मर्मतसम्भार, वृक्षरोपण तथा फलफूलका बिरुवा रोप्ने तथा संरक्षण, जलाधार संरक्षण तथा भूक्षय रोकथामलगायत काममा पनि स्थानीय तहले कामदार परिचालन गर्न सक्छन्। यो समाचार नागरिक दैनिकमा छ ।
भिजिट भिसामा मानव तस्करी, भिसासहित सबै कागजपत्र नक्कली
फाइल फोटो काठमाडौं । नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा र्पुयाएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विदेश जाने नेपालीले प्रयोग गरेका कागजपत्र अनुसन्धान गर्ने क्रममा फर्जी कागजपत्र बनाउने काठमाडौँका ६ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिएको हो । अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेकामा अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल, होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोजकुमार यादव, एचआर टुर्स एन्ड ट्राभल्सका रामप्रसाद भण्डारी, स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली र मञ्जरी ट्राभल्सका भक्तबहादुर थापा छन् । उनीहरूले भिजिट भिसामा जाने यात्रुको भिसा र अन्य कागजपत्र नक्कली तयार गरी अध्यागमनका कर्मचारीको मिलेमतोमा विदेश पठाउने गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले सोही गिरोहमा संलग्न एसिई कन्सल्टेन्सीका सञ्चालक अनिष अमात्य, प्रगति विद्याश्रम कन्सल्टेन्सीका सञ्चालक गोपाल रिजाल, निप्पोन कन्सल्टेन्सीका सञ्चालक पशुपति मैनाली, एस। टु अबरोड कन्सल्टेन्सीका सञ्चालक सागर चापागाईं, एडभान्स म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । नक्कली कागजपत्रमार्फत भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा प्रहरीले नेपाल वायु सेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई पनि पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीको नेतृत्वको प्रहरी टोलीले यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म २१ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । भिजिट भिसामा प्रयोग भएका कागपत्र तथा भिसासमेत नक्कली रहेको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शङ्कास्पद कागजपत्र र पासपोर्ट बरामद गरी अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेपछि प्रहरी नायब उपरीक्षक पन्थी नेतृत्वको प्रहरी टोलीले विशेष अप्रेसनसहित अनुसन्धान अगाडि बढाएको हो । पन्थीका अनुसार विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त भएका झन्डै एक हजार दुई सय थान पासपोर्टबाहकका अधिकांश कागजपत्र नक्कली रहेको पाइएको छ । यस प्रकरणमा अध्यागमन विभागका कर्मचारीको समेत मिलेमतो देखिएपछि प्रहरीले त्यसबारे समेत अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।