विकासन्युज

दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं । सरकारले दूरसञ्चार प्राधिरकणमा अध्यक्ष नियुक्तिका लागि सरकारले दरखास्त आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक सूचना प्रकाशन गर्दै अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो । ३० वर्ष पुरा भई ६५ बर्ष ननाघेका व्यक्तिले ७ दिन अर्थात् माघ २१ गतेभित्र आवेदन पेश गर्नु पर्नेछ । मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव भएको, तर सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौँ तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव प्राप्त व्यक्तिले आवेदन दिन सक्ने छन् । उम्मेदवारले पेश गरेको व्यावसायीक कार्ययोजना, त्यसको प्रस्तुतिकरण र अन्तरवार्ता, शैक्षिक योग्यता र अनुभवको मुल्यांकन गरि नियुक्तिका लागि सिफारिस गरिने सूचनामा उल्लेख छ । पुरुषोत्तम खनालले राजीनामा दिएपछि अध्यक्ष पद रिक्त रहेको छ । खनाल २०७६ साल साउन ९ गतेदेखि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयका सचिव कृष्ण बहादुर राउतको संयोजकत्वमा समिति गठन गरिने भएको छ । प्राधिकरणका सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको विम्मेवारी दिइएको छ ।

‘नो ड्याम’ को सट्टामा ‘हाई ड्याम’, नागमती बाँधको औचित्यमा वन मन्त्रालयकै प्रश्न

काठमाडौं । नागमती बाँध निर्माणका लागि प्राकृतिक रूपमा बनाउन सकिने ‘नो ड्याम’ विकल्पलाई अस्वीकार गर्दै ‘हाई ड्याम’ बाँधलाई नै प्रमुख विकल्पका रूपमा प्रस्तुत गरिएको पाइएको छ । कम जोखिम मोलेर बनाउन सकिने बाँध बढी जोखिम मोलेर बनाउन खोजिएको कुरा वन तथा वातावरण मन्त्रालयले गराएको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)मा उल्लेख छ । नागमती बाँध आयोजनाले प्रतिवेदन मन्त्रालयमा दिएलगत्तै मन्त्रालयले गत वर्ष भदौ १८ गते सूचना प्रकाशन गरी सार्वजनिक रूपमा सुझाव माग गरेको थियो । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ मा बन्ने सो बाँधले संरक्षित क्षेत्रका रूपमा रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको ६५.३०४ हेक्टर जमिन ओगट्छ भने ०.२९५ हेक्टर निजी जग्गा पर्ने देखिएको जनाइएको छ । तल पिँधमा सात मिटर चौडाइ रहने गरी ९४.५ मिटर अग्लो र ५५४ मिटर चौडाइको बाँध निर्माण हुने प्रस्तावित प्रतिवेदनमा उल्लेख छ । वातावरण संरक्षण नियमावलीलाई टेकेर वन तथा वातावरण मन्त्रालयले सो आयोजनाको औचित्यमाथि नै प्रश्न उठाएको छ । मन्त्रालयले सोको जवाफ संशोधित प्रतिवेदनमा चित्त बुझ्ने गरी दिन भनेको छ । प्रतिवेदनका सवालमा सुझाव समितिको बैठकले झन्डै ४५ बुँदामा विभिन्न प्रश्नको उत्तर माग गरेको छ । मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले सुझाव सामेल गरेर संशोधन प्रतिवेदन आएपछि त्यो पारित गर्ने नगर्ने भन्नेबारे पुनः छलफल हुने बताउनुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका पालामा तीन वर्षअघि एसियाली विकास बैङ्कसँग सम्झौता गरेपछि आयोजनाको काम अगाडि बढेको हो । प्रस्तावित इआइए प्रतिवेदन हेर्नेबित्तिकै वन मन्त्रालयले आयोजनाको उद्देश्यमाथि नै प्रश्न उठाएको हो । बागमतीमा ४५० लिटर प्रतिसेकेन्ड पानी फाल्नकै लागि त्यति ठुलो ऋणमा पोखरी बनाउनुपर्ने वा नपर्ने प्रश्न समितिको बैठकमा उठेको छ । ऋणको मामिलामा सरकारले आयोजनाको औचित्य तथा आर्थिक अध्ययन सरकारले गर्नुपर्ने सुझाव दिइने भएको छ । सोधिएको प्रश्नमा चित्तबुझ्दो जवाफ नआएमा सो विषयमा अझ विस्तृत सुझाव माग गर्ने तयारी मन्त्रालयले गरेको छ । वातावरण प्रभाव मूल्याङ्कन शाखा अधिकृत मधु घिमिरेले बाँध फुट्दा आउने जोखिमबारे दीर्घकालीन र अल्पकालीन समाधानका उपाय प्रस्ट उल्लेख नगरिएको बताए । उनका अनुसार अर्को विषय भनेको नागमती बाँध संरक्षित क्षेत्रको कोर एरिया उजाड बनाउने गरी बन्दै छ । त्यसलाई वन मन्त्रालयले निकै संवेदनशील रूपमा लिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

दा अफगानिस्तान बैंकले स्थानीय मुद्रालाई स्थिर बनाउन साढे १ करोड अमेरिकी डलर लिलामी गर्ने

काठमाडौं । अफगानस्तानको केन्द्रीय बैंक दा अफगानिस्तान बैंकले आइतबार राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न १ करोड ६० लाख अमेरिकी डलर लिलामी गर्ने निर्णय गरेको छ । बैंकले शनिबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार अफगानिस्तानको मुद्रा, विदेशी मुद्राहरू, विशेष गरी अमेरिकी डलरको तुलनामा पछिल्ला दुई हप्ताहरूमा निकै खस्किरहेको छ । गत साता १ अमेरिकी डलरको विनिमयदर ६९.९ अफगानी थियो भने शनिबार स्थानीय विनिमय बजारमा ७३.४ अफगानी पुगेको थियो । विगत केही महिनाहरूमा, केन्द्रीय बैंकले विदेशी मुद्राको तुलनामा अफगानीको अवमूल्यनलाई रोक्नका लागि देशको विनिमय बजारहरूमा लाखौं अमेरिकी डलर प्रवेश गराएको छ । एजेन्सी

यौन दुर्व्यवहारको अभियोगमा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पलाई साढे ८ करोड डलर जरिवाना

काठमाडौं । न्यूयोर्कको अदालतले अमेरिकी पूर्व राष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्ति बापत ८ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ । क्यारोलले मानहानीको लागि क्षतिपूर्ति स्वरूप एक करोड डलरभन्दा बढी माग गरेकी थिइन् । फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपील गर्ने बताएका छन् । तीन घण्टाभन्दा केही कम समयको सुनुवाईपछि अदालतले आफ्नो निर्णय सुनाएको हो । यस मुद्दामा शुरूमा अदालतमा उपस्थित भएका ट्रम्पले बीचमा मुद्दाबारे आक्रामक धारणा सार्वजनिक गरेका थिए तर पछि अन्तिम बहसको लागि अदालती सुनुवाईमा सहभागी भएका थिए । क्षतिपूर्ति र दण्डात्मक क्षतिको स्तर अदालतका क्लर्कले पढ्दा उनी अदालतभन्दा बाहिर (अन्यत्रै) थिए । क्यारोलले भनेकी छन्, ‘यो हरेक महिलाका लागि ठूलो जित हो, जो आफूमाथि आक्रमण भएका समय उठ्नलाई हौसला हुनेछ । महिलालाई तल झार्ने कोसिस गर्ने हरेक धम्कीविरूद्धको यो ठूलो हार हो ।’ न्यायाधीशले आफ्नो गोपनीयताको रक्षा गर्न प्रोत्साहित गरेपछि नौ जना पुरुष र महिलाहरू अदालतबाट बाहिर निस्कँदा एक न्यायाधीश क्यारोललाई हेरी मुस्कुराएका देखिएको थियो । ट्रम्पले क्यारोलको बारेमा सार्वजनिक टिप्पणीमा दुर्भावनापूर्ण कार्य गरेको क्षतिपूर्तिस्वरूप ७३ लाख डलर र प्रतिष्ठामाथिको क्षतिका लागि एक करोड १० लाख ठलर र दण्डात्मक क्षतिपूर्तिको रूपमा छ करोड ५० लाख डलर जरिवाना तोकेको छ । एजेन्सी

ब्याज अझै घट्छ, सेयर बजारमा सुधार हुन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले राजनीतिक परिवर्तन पछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाल मार्केटिङ एशोसियनले शनिबार आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. महतले अर्थतन्त्र विस्तारै लयमा फर्किएकाले अब पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । ‘देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ, हामीले धेरै राजनीतिक आरोह–अवरोह पार गरिसक्यौं, राजनीतिक पूर्वाधार तयार पारिसक्यौं, अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ, यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं’ मन्त्री डा महतले भने, ‘हाम्रो आर्थिक सूचाङ्क सकारात्मक छन् । मूल्यवृद्धि नियन्त्रणमा छ । ब्याजदर घटिरहेको छ, अझैं घट्छ, सेयर बजारमा सुधार भइरहेको छ, आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको छ ।’ मुलुकलाई आर्थिक गति दिनका लागि स्पष्ट मार्गचित्र बन्दै गएको अर्थमन्त्री महतको दावी छ । अर्थतन्त्रमा शिथिलता देखिएका कारण बजार चलायमान हुन नसक्दा उपभोक्ता तथा निजी क्षेत्रको घट्दै गएको आत्मविश्वास अहिले सुधार हुँदै गएको पनि उनको भनाइ छ । ‘अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नु पर्ने छ, त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ, अहिलेसम्म हामीले धेरै नकारात्मक कुरा गर्यौं, यसले गर्दा हामी आत्मविश्वास कमजोर बन्यो, यथार्थ विषयवस्तुलाई नकारात्मक सन्देशले बल पुग्यो’, मन्त्री डा महतले भने, ‘सकारात्मक सन्देश प्रवाहसँगै हाम्रो व्यापार व्यवसायमा आत्मविश्वास बढ्छ । उपभोक्ताको आत्मविश्वास बढ्छ । उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार व्यवसाय बढ्ने हो । व्यापार व्यवसायमा चलपहल हुनेवित्तिकै लगानी वृद्धि हुन्छ । यसले आर्थिक गतिविधि बढाउँछ ।’ नेपालको विशिष्ट पहिचान बोकेका वस्तु र सेवाको पर्याप्त बजारीकरण हुन नसकेको पनि अर्थमन्त्री महतले बताए । वस्तु तथा सेवाको उत्पादन, बजारीकरण र खपतसँग जोडिएका सबै पक्ष मिलेर नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई बढावा दिन जरुरी रहेको उनले उल्लेख गरे । विशिष्ट खालका वस्तु तथा सेवा उत्पादन गरेर विश्वका विभिन्न देशले आफ्नो पहिचान स्थापित गरेकोमा नेपालले पनि त्यसबाट लाभ लिनसक्नुपर्ने उनको भनाइ छ । ‘नेपालमा युनिक उत्पादन गरेर संसारभरि बजारीकरण गर्न सकिन्छ, उपभोक्ताले जहिले पनि अरुभन्दा फरक रुचाउँछन्, नेपालको सकारात्मक पक्ष भनेको विशिष्ट खालका वस्तुको उत्पादन हो, हाम्रो संस्कार, संस्कृति, जनजाति, वन्यजन्तु र सामाजिक एकता यहाँको विशिष्ट पहिचान हो”, अर्थमन्त्री महतल भने ।

ओलीले चीनका उपमन्त्रीसँग भने : म सरकारमा हुँदा भएका सहमति कार्यान्वयन गरिदिनुस्

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानबीच शिष्टाचार भेट भएको छ । ललितलपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा शनिबार भएको भेटमा उहाँहरुबीच नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्धलाई राम्रो बनाउनुपर्दछ भन्ने विषयमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष ओलीले विगतमा चिनियाँ कम्युनिष्ट पार्टीसँग एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयन गर्न आग्रह गरे । उपमन्त्री सुन हायानले पनि दई देशबीच उच्च राजनीतिक तहमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको एमाले विदेश विभाग प्रमुख भट्टराईले बताए । उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् ।

प्रधानमन्त्री प्रचण्ड भन्छन् : माओवादी घटकबीच एकता आवश्यक देखियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा शनिबार सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपील गरे । ‘देशभरका माओवादी आन्दोलनका सबै कित्ताका सहकर्मीलाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु,’ विभाजित भएर लक्ष्यमा पुग्न नसिकनेतर्फ सङ्केत गर्दै उनले भने । जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले कुनै न कुनै रूपमा सम्बोधन गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनयुद्धका घाइतेको पुनः वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । ‘कतिपय अझै घाइतेका रूपमा सूचीकृत हुन छुटेको भन्ने छ, उहाँहरूलाई घाइतेको सूचीमा समावेश गरिन्छ”, अध्यक्ष दाहालले भने, ‘सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेको छ, त्यसलाई सिङ्गो पार्टी पङ्क्तिले आत्मबोध गर्नुपर्छ ।” प्रतिष्ठानका संरक्षकसमेत रहेका अध्यक्ष दाहालले प्रतिष्ठानले सञ्चालन गरेको विद्यालयको पहिचान हुने गरी राज्यले जिम्मामा लिने विश्वास दिलाए । सदनमा पेस भएको विद्यालय शिक्षा विधेयकले पनि त्यस्ता विद्यालयलाई समेट्ने उनको भनाइ थियो । माओवादी पार्टी तथा आफ्नो नेतृत्वले गरेका सकारात्मक कामलाई जनतासमक्ष पु¥याउन आग्रह गर्दै उनले सरकारले थालनी गरेको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका कामले जनतामा आशा जगाउन सफल भएको बताए । शान्ति प्रक्रियाका बाँकी काम चाँडै सम्पन्न गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुङ्गिने विश्वास व्यक्त गरे ।

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका नेपाली आप्रवासीहरुलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । कतारको दोहामा आयोजित ‘नेपाल विजनेश एशोसिएसन कतार’को सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषि जस्ता क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन् । अध्यक्ष ढकालले भने, ‘नेपालमा पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषि जस्ता क्षेत्रहरुमा लगानीको प्रचुर सम्भावना रहेको छ । त्यसैगरी, नवीकरणीय ऊर्जा, पर्यटन तथा आतिथ्य, पूर्वाधारको विकास, शहरीकरण, सूचना प्रविधिको क्षेत्रमा कतारले गरेका विकासको अनुभव नेपालमा प्रयोग गर्न सकिन्छ । नेपालमा लगानी गरी मुनाफा लिने अवसरबाट भरपुर फाइदा लिनुहोस् ।’ अध्यक्ष ढकालले कतारको आर्थिक वृद्धि र विकासमा नेपाली श्रमिकहरुको योगदान रहेको बताउँदै ती श्रमिकहरुलाई सीपयुक्त बनाउन नेपालमा प्राविधिक विद्यालय स्थापना गर्न कतारस्थित आवासीय नेपालीहरूलाई आग्रह पनि गरे । गैरआवासीय नेपालीका लागि पछिल्लो पटक नेपाल सरकारले गरेको नागरिकको प्रावधानले पनि विश्वमा छरिएर रहेका नेपालीलाई अब नेपालमा लगानीका लागि प्रोत्साहित गर्नुपर्ने उनको तर्क थियो । अध्यक्ष ढकालले भने, ‘आफ्नो लगानीको भविष्य के होला भन्ने पनि यहाँहरुको मनमा थियो होला, तर अब नागरिकताको यो नयाँ कानुनी प्रावधानले नेपालमा लगानी गरी व्यवसाय गर्न सहज र सुरक्षित बनाएको छ भन्ने मलाई लागेको छ ।’ नेपालमा वैदेशिक लगानी भित्र्यान आउँदो वैशाखमा नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा नेपाल सरकारले लगानी सम्मेलन गर्न गइरहेकाले नेपालमा लगानीको राम्रो वातावरण सिर्जना गरी आफूले पनि लगानी गर्न र कतारका लगानीकर्ताहरुलाई पनि यसका लागि प्रेरित गर्न उनको आग्रह थियो । सरकारले धेरै कानुनी अड्चनहरु सुधार गरी लगानीमैत्रि वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको र सोही अनुरुप काम पनि भइरहेको बताए । अध्यक्ष ढकालले केही वर्षभित्र नेपाल एलडीसीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने बताउँदै यसले नेपालको अर्थतन्त्रमा धेरै सम्भावनाहरु सिर्जना हुने र अर्थतन्त्रलाई विविधीकरण गर्न कतार एक प्रमुख साझेदार बन्न सक्ने बताए । अध्यक्ष ढकालले नेपालको भूराजनीतिक परिस्थिति, विश्वका दुई उदीयमान अर्थतन्त्र भारत र चीनसँगको व्यापारिक सम्भावनाको सदुपयोग गर्न कतारमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गरे । भारतसँग हालै भएको उर्जासम्बन्धी उच्तस्तरीय सम्झौता सकारात्मक रहेको र यसबाट हाम्रो देशमा हाइड्रोपावरमा हुने लगानी र उर्जा व्यापारको मार्ग प्रसस्त भएको पनि उनले बताए ।