विकासन्युज

गरिमा विकास बैंकले घटायो ब्याजदर, आजदेखि लागू हुने

काठमाडौं । गरिमा विकास बैंकले ब्याजदर घटाएको छ । बैंकले आज मंसिर २७ गतेदेखि लागू हुनेगरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतम ६.४० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । रेमिट्यान्स खातामा भने ७.४० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ४.७५ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो भने रेमिट्यान्स बचत खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.४० प्रतिशतसम्म र ब्यक्तिगततर्फ ९.४० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ भने रेमिट्यान्स मुद्दतीमा १०.४० प्रतिशत तोकेको छ । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.७५ प्रतिशत र ब्यक्तिगततर्फ ९.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो भने रेमिट्यान्स मुद्दती खातामा १०.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

विकास बैंक पनि ब्याजदर घटाउँदै, सांग्रिला डेभलपमेन्ट बैंकले घटायो ब्याजदर

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूले धमाधम ब्याजदर घटाउँदै आएका छन् । वाणिज्य बैंकहरूले उच्च रहेको ब्याजदर निरन्तर घटाउँदै आएकोमा विकास बैंकहरूले समेत ब्याजदर घटाउन थालेका छन् । यसअघि विभिन्न ४ वटा वाणिज्य बैंकले ब्याजदर घटाइसकेकोमा सांग्रिला डेभलपमेन्ट बैंकले पनि ब्याजदर घटाउने निर्णय गरेको हो । बैंकले आज मंसिर २७ गतेदेखि नै लागू हुनेगरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.८० प्रतिशतदेखि अधिकतम ६.८० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । सुनौलो रेमिट्यान्स खातामा भने ७.८० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ५.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो भने सुनौलो बचत खातामा ८.६० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.५५ प्रतिशतसम्म र ब्यक्तिगततर्फ ९.५५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसअघि मंसिरमा बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ८.६० प्रतिशत र ब्यक्तिगततर्फ १०.६० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो भने रेमिट्यान्स मुद्दती खातामा ११.६० प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आज मंसिर २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरि बाँडफाँटपश्चात् सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले २ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गतेसम्म लगानीकर्ताहरूले खरिद गर्न सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत् खरिद आवेदन दिन सक्नेछन् ।

यूनिलिभर नेपालको इतिहासकै सर्वाधिक लाभांश पारित, नाफा पौने दुई अर्ब बढी

काठमाडौं । युनिलिभर नेपालको प्रस्तावित १५८० प्रतिशत लाभांश पारित भएको छ । मंसिर २६ गते सम्पन्न कम्पनीको ३०औं वार्षिक साधारण सभाले कम्पनीको इतिहासकै सर्वाधिक लाभांश पारित गरेको हो । उक्त सभा कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा होटल याक एण्ड यतीमा सम्पन्न भएको छ । कम्पनीले कर पछिको नाफा एक अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ । जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । कम्पनीले नेपालमा आफ्नो ३० औं वार्षिकोत्सव ‘हरेक घरमा, हरेक मनमा’ भन्ने नाराका साथ मनाइरहेको छ । जसले नेपालका हरेक नेपालीको घरमा उनीहरुको ब्राण्ड र उत्पादनको फराकिलो दायरा हुनुलाई प्रतिबिम्बित गर्दछ । कम्पनीका अध्यक्ष देव बाजपेइले आगामी वर्षका लागि भौगोलिक, खरीद, मानव पूँजी, प्रविधि, समावेशीता र स्थायित्वमा देखा परेका व्यवधानहरु हटाउँदै अगाडी बढ्ने प्रशस्त अवसरहरु रहेका बताएका छन् । सोही समारोहमा कम्पनीका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको १५४.२ करोडबाट बढेर यो वर्ष १८३.४ करोड पुगेको बताएका छन् । जुन गत १० वर्षयताकै सबैभन्दा धेरै हो । प्रबन्ध निर्देशक मुखर्जीले कम्पनीको ब्यालेन्स सिट न्यून लगानीको कारण मजबुत र बलियो संचालन पूँजीको प्रवाह रहेकोले गत वर्ष बजारमा समस्या हुँदा पनि यसलाई कुनै असर नपरेको दावी गरे । युनिलिभर नेपालको ८५ प्रतिशत सेयर संस्थापक सेयरधनीहरुको रहेको छ भने बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणहरुको रहेको छ ।

गाउँमा समृद्धि ल्याउन लिम्चुङबुङ गाउँपालिकाको पर्यटन महाअभियान

काठमाडौं । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले गाउँ समृद्ध बनाउने उद्देश्यका साथ महाअभियान चलाएको छ । लिम्चुङबुङ गाउँपालिका अथाह पर्यटनको सम्भावना बोकेको स्थान भएकाले पर्यटन प्रवर्द्धन गरेरै गाउँ समृद्ध बनाउने उद्देश्यले गाउँलाई प्राथमिकतामा राखेर ‘एउटै पुस्तामा गाउँ समृद्ध बनाउने लिम्चुङबुङको सपना’ नारासहित महाअभियान सञ्चालन गरिएको हो । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले  गाउँपालिकको समृद्धिका लागि सबैभन्दा पहिला मदन भण्डारी हाइ–वेबाट गाउँपालिकासम्म पक्की सडकको निर्माण गर्न केन्द्रित रहेको बताएका छन् । लिम्चुङबुङ गाउँपालिका अथाह पर्यटनको सम्भावना बोकेको स्थान भएको र यहाँबाट सगरमाथासहित ६ वटा ८ हजार मिटर अग्ला मनोरम हिमाल आँखा अघिल्तिरबाट हेर्न सकिने अध्यक्ष राईको भनाइ छ । यस क्षेत्रमा रहेका प्राकृतिक स्रोतको भरपूर उपयोग गर्न प्रकृति, संस्कृति र कृषिलाई बेच्नमात्र सके पनि यस क्षेत्रका बासिन्दाले राम्रो लाभ लिने सकिने बताइएको छ । लिम्चुङबुङ गाउँपालिकाका पर्यटन सल्लाहकार एवं उद्यमी रामसुन्दर बके गाउँपालिकाको पर्यटन प्रवर्द्धन गर्न सके स्थानीय कृषिजन्य उपजले राम्रो बजार पाउनुका साथै स्थानीयस्तरमा समेत रोजगारी सिर्जना हुने बताउँछन् । ‘युवालाई आफ्नै स्थानमा रोजगारीको सिर्जना गर्न सक्ने प्रमुख माध्यम भनेको पर्यटन क्षेत्र हो,’ उनले भने, ‘गाउँका युवालाई वैदेशिक रोजगारीमा जान रोक्नका लागि पनि गाउँपालिकाले यो महाअभियान चलाउन लागेको हो ।’ पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकामा होम–स्टे सञ्चालन गर्ने तयारी रहेका बके नेपालमा रहेका ७ सय होमस्टेलाई ७ लाख बनाउने योजनाका साथ अगाडि बढेको बताउँछन् । उनी भन्छन्, ‘७ सय हाेम-स्टेलाई ७ लाख पुर्यायौं भने ७ लाखले देशमै रोजगारी पाउँछन् ।’ गाउँपालिकामा रहेको एभरेष्ट भ्यूटावरबाट आँखैअघि सेताम्मे हिमाल, पहाडलगायत तराईका फाँटहरूको मनोहर दृश्य अवलोकन गर्न सकिने भएकाले एकपटक लिम्चुङबुङ गाउँपालिका भ्रमण गर्न पनि बकेले आग्रह गरेका छन् ।

शैक्षिक सुधारका कार्यक्रम गर्दै महानगर, केयुसँग गर्यो सम्झौता

काठमाडौं । सामुदायिक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले काठमाडौं विश्वविद्यालय (केयु)सँग सम्झौता गरेको छ । महानगरपालिकाले चालु आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना अन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ लाई दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य भएको महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले बताए । विभागका प्रमुख कोइराला र विश्वविद्यालयको शिक्षा विभागका डीन प्रा. डा. बालचन्द्र लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताबमोजिम महानगरपालिकाले गत वैशाखदेखि लागु गरेको शिक्षामा सिप, पुस्तकरहित शुक्रबार तथा बाल सञ्जाल गठन तथा सशक्तीकरण, शिक्षक विद्यार्थीको प्रविधिमैत्री सीप विकास कार्यक्रम, शिक्षण सुधार, प्रारम्भिक वाल विकास कक्षाको स्तरोन्नतिमा सहकार्य हुनेछ । हाल महानगरपालिकाले ८९ सामुदायिक विद्यालयमा दुई हजार २०२ जना शिक्षकले अध्यापन गराउँछन् । विभागका प्रमुख कोइरालाले सामुदायिक शिक्षाको स्तर उकास्दै संस्थागत विद्यालयमा पनि कार्यक्रम क्रमशः कार्यान्वयन गरिने बताए । महानगरपालिकाले ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यान्वयन गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य बढाउन सञ्चारमन्त्रीको जोड

काठमाडौं. । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड दिएकी छिन् । भारतीय दूतावास, नेपाल राष्ट्र बैंक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाद्वारा संयुक्तरुपमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रविधिका क्षेत्रमा सहकार्यका लागि दुवै मुलुकका अधिकारीलाई आग्रह गरिन् । “प्रविधिको विकास र प्रयोगमा सहकार्य गरौँ, यसको प्रयोगबाट समुन्नत राष्ट्र बनाऔं”, सरकारका प्रवक्ताको समेत जिम्मेवारी सम्हालेकी मन्त्री शर्माले भनिन् । सूचना प्रविधिको उच्चतम प्रयोगमा भारतको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि भारतीय सहयोगले निरन्तरता पाउने अपेक्षा गरिन् । मुलुकको समग्र विकासका लागि सरकारले सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री शर्माले सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढाइएको जानकारी दिइन् । नेपाल डिजिटल रुपान्तरणमा तीव्ररुपमा अघि बढिरहेको जानकारी दिँदै उनले छिमेकी भारतले प्रविधिका क्षेत्रमा गरेको विकास र प्रयोग नेपालका लागि पनि महत्वपूर्ण भएको बताइन् । सूचना प्रविधिलाई सरकारले महत्वपूर्ण साधनका रुपमा लिएको उल्लेख गर्दै उनले प्रत्येक सार्वजनिक निकायले प्रविधिका माध्यमबाट सेवा प्रवाह गर्न सुरु गरिसकेका जानकारी दिइन् । “त्यसको परिणामस्वरुप सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको छ, विद्युतीय माध्यमबाट पनि सेवा प्रवाह भइरहेको छ”, उनले भनिन् । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विकासोन्मुख मुलुकमा प्रविधिको प्रयोग महत्वपूर्ण हुने उल्लेख गर्दै प्रविधिको प्रयोगका सम्बन्धमा नेपालसँग सहकार्य गर्न भारत तयार रहेको बताए । भारत र नेपालबीच सदियौँदेखि घनिष्ठ एवं मित्रवत् सम्बन्ध रहेको चर्चा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भएका द्विपक्षीय सम्झौता कार्यान्वयनको चरणमा रहेका बताए । भारतको डिजिटल सार्वजनिक पूर्वाधार केन्द्रका सहअध्यक्ष प्रमोद बर्माले डिजिटल सार्वजनिक पूर्वाधारको विकास र प्रयोगमा भारत निकै अगाडि रहेको जानकारी दिँदै प्रविधिको सदुपयोगबाट समृद्धि हासिल गर्न सकिने बताए। प्रतिनिधिसभा सदस्य स्वर्णीम वाग्लेले नेपालबाट विश्वबजारमा सूचना प्रविधिको बिक्री हुन थाल्नु उत्साहप्रद रहेको भन्दै युवा पुस्ता विदेशिने क्रम जारी रहेको अवस्थामा सूचना प्रविधिको क्षेत्रले स्वदेशमा नै रोजगारीका अवसर उपलब्ध गराउने सम्भावना बढाएको बताए ।

हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आईपीओ ल्याउन बाटो खुला

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ ल्याउन बाटो खुला भएको छ । कम्पनीले प्रिमियममा ल्याउन लागेको आईपीओ रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी नभएसँगै कम्पनीलाई उक्त बाटो खुला भएको हो । मंगलबार भएको सुनुवाईले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । यससँगै अब कम्पनीले भोलि अर्थात मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओको बिक्री खुला गर्न लागेको हो । जसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् ।