‘हामीलाई भोजपुर सदरमुकाम भएर यात्रा गर्न धेरै लामो दूरी हुन्छ’, प्रधानले भने, ‘जेटबोट सञ्चालनमा आएपछि कम समयमा यात्रा गर्न सकेका छौँ । बिरामी हुँदा चाँडो उपचार लिनसक्ने वातावरण बनेको छ । यसले दक्षिणी क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।’
जेटबोट सञ्चालनले भोजपुर, धनकुटा र सुनसरीलाई पूर्वी तराईसँग जोडेको गाउँपालिकाले जनाएको छ । जलयात्रालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ पर्यटन पूर्वाधारको विकासमा पालिका जुटेको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । जेटबोट सञ्चालन भएसँगे हतुवागढी क्षेत्रबाट तराईका जिल्लासँगको दूरी छोटो पर्ने भएकाले यहाँको विकासमा टेवा पुग्ने उनको भनाइ थियो ।
अध्यक्ष राईले भने, ‘दुई ठूला नदीमा पुल निर्माण गर्न ढिलाइ हुँदा सवारीसाधनको आवतजावतमा समस्या भएको थियो । जलयात्रालाई पर्यटनसँग जोडेर विकासमा जुटेका छौँ ।’ उनका अनुसार सवारीसाधन सञ्चालनका लागि भोजपुर र उदयपुरलाई जोड्ने चुहारको दूधकोशी र भोजपुर तथा धनकुटालाई जोड्ने सुनवालुवामा पुल नहुँदा स्थानीयलाई समस्या हुँदै आएको छ । यी दुवै नदीमा पुल बनाउने कामको थालनी गरिएको भए पनि निर्माणमा भने ढिलाइ भइरहेको छ ।
यहाँका नदीमा पुल बनेपछि हतुवागढीबाट धरान, इटहरी, विराटनगरलगायत तराईका ठूला सहर करिब ६०/६५ किमीको दूरीमा मात्र रहने भएकाले पर्यटकको आवागमन बढ्ने अध्यक्ष राईले बताए । उनका अनुसार हतुवागढीबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, मकालु तथा कञ्चनजङ्घालगायत हिमाल र तराईका फाँटको अवलोकन गर्न सकिने भएकाले पर्यटनको राम्रो सम्भावना छ ।
गर्मीयाममा तराईबाट गर्मी छल्न, चिसो हावापानीमा रमाउन, मनमोहक दृष्यको दृष्यावलोकन गर्न तथा नयाँ पर्यटकीयस्थलको भ्रमण गर्न चाहनेका लागि यो स्थान महत्वपूर्ण गन्तव्य बन्ने अध्यक्ष राईले बताए । उनका अनुसार गाउँपालिकाले गौरवको आयोजनाका रुपमा घोडेटार बजार-गढी-सङ्खामचुली जोर आहाल-दिमालुङ्ग पार्क जोड्ने पैदलमार्गको निर्माण भइरहेको छ ।
योसँगै विशेष गरेर किरात समुदाय आस्थाको केन्द्र खुवालुङ्गलाई शुभारम्भ प्रस्थान बिन्दुका रुपमा विकास गरी समुद्र सतहबाट एक सय ५३ मिटर उचाइ मात्र रहेको भोजपुरको सबैभन्दा होचो भूभाग माइबेनीलाई समेट्दै गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रको बृहत्तर विकास गर्ने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष राईले जानकारी दिए । रासस