इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारजन भन्छन् : मन भुलाउनै गाह्रो भयो
भजनी (कैलाली) । दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो । श्रीमान गुमाएको पीडाले उनकी श्रीमती मञ्जु अझै थला परेकी छन् । छ वर्षकी छोरी र १६ महिनाको छोराको भविष्यको चिन्ताले उनलाई सधैँ छटपटी हुन्छ । ‘एउटा घटना जुन नहुनु थियो त्यो भयो । त्यसलाई बिर्सनका लागि निकै प्रयास गर्दा सकिरहेकी छैन’, मञ्जुले भनिन्, ‘छोराछोरीको भविष्यको चिन्ताले सताउँछ । बुबा खै भनेर छोरीले सोध्दा जवाफ दिन सक्दिँन ।’ आफ्नो क्षमताअनुसारको रोजगारी पाएको भए छोराछोरीको भविष्यका बारेमा हुने चिन्ता कम हुने उनले भनिन् । ‘राज्यले क्षमताअनुसारको रोजगारी दिएको भए मन भुलाउने बाटो हुन्थ्यो । त्यो घटना बिर्सने आधार बन्थ्यो’, मञ्जु भन्छिन्, ‘रकम पाएर र सान्त्वनाले मन भुलाउन गाह्रो छ । छोराछोरीको शिक्षा तथा रोजगारीका लागि सरकारसँग आश गरेकी छु ।’ इजरायल घटनामै सुनसरीका राजेश स्वर्णकारको पनि ज्यान गयो । उनको परिवारलाई पनि पीडा भुलाउन मश्किल भएको छ । ‘खाइनखाइ गरेर बुढेसकालको सहारा होला भनेर छोरा पढाए, छोरो सधैँका लागि बिदा भएर गयो । अब बुढेसकालको सहारा कहाँ गएर खोजौँ ?’, राजेशकी आमा कैलाशदेवी स्वर्णकार भन्छिन्, ‘राज्यले परिवारको एउटा सदस्यलाई रोजगारी दिएको भए हाम्रा लागि ठूलो राहत हुन्थ्यो । पीडा भुलाउने बाटो बन्थ्यो ।’ चार वर्षको उमेरमा बुबा गुमाएका दार्चुलाका दिपेशराज विष्टको लालनपालन कान्छी आमा जयन्ती विष्टले गरिन् । जागिरको सिलसिलामा दिपेशकी आमाले बाहिर हुँदा कहिल्यै उनलाई बुबाआमाको अभाव महसुस हुन नदिएकी जयन्तीले विगतबारे बोल्नै सकिनन् । ‘म कान्छी आमा भए पनि आमाको अभाव हुन नदिएर हुर्काएको दिपेश कहिल्यै नफर्कने भयो’, जयन्ती भन्छिन्, ‘इजरायलमा ज्यान गुमाएका १० जनाको सम्झनामा सुदूरपश्चिम विश्वविद्यालयले उद्यान निर्माण गरोस् । त्यहाँ उनीहरूको सालिक बन्ने अपेक्षा छ ।’ इजरायलमै ज्यान गुमाएका डोटीका राजन फुलाराका काका टीका १० विद्यार्थीको सम्झनामा क्याम्पसले उद्यान निर्माण गरेर सालिक निर्माण गर्नुपर्ने बताउँछन् । ‘परिवारका सदस्यको शिक्षा र रोजगारीको ग्यारेन्टी गरे राहत मिल्थ्यो ।’ हमासको कब्जामा रहेका विपिन जोशीको सकुसल उद्धार गर्न उनले सरकारसँग माग गरिन् । फुलाराले सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा राजनको नाममा अक्षयकोष निर्माण गर्ने बताए । राजनको स्मृतिमा एक लाख ५१ हजार एक सय ५१ को अक्षयकोष निर्माण गर्ने उनको योजना छ । राजनले अध्ययन गरेका अन्य दुई विद्यालयमा पनि राजन फुलारा स्मृति अक्षयकोष निर्माण गरिने फुलारा बताउँछन् । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेश घर भएका सात विद्यार्थीका परिवारलाई प्रतिपरिवार दुई लाख सहयोग गरेको छ । त्यसैगरी नेकपा (एमाले) सम्बद्ध प्रवासी नेपाली मञ्च तथा महिला सशक्तीकरण अभियानले पनि मृतकका परिवारलाई आर्थिक सहयोग गरेको छ । प्रवासी नेपाली मञ्चका केन्द्रीय सचिवालय सदस्य डा विमला भण्डारीको पहलमा प्रतिपरिवार एक लाख ४० हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । सोही घटनामा घाइते भएका चार जनालाई ४० हजार रुपैयाँका दरले उपचार खर्च सहयोग गरिएको उनले बताइन् । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका उपप्राध्यापक सन्तोष उपाध्यायले क्याम्पसले दश विद्यार्थीको स्मृतिमा उद्यान निर्माण गर्ने निर्णय गरिसकेको बताए । ‘क्याम्पसले उद्यान निर्माणको प्रक्रिया अगाडि बढाएको छ’, उनी भन्छन् । ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका दश विद्यार्थीको हमासको आक्रमणमा परेर गत असोज २० गते ज्यान गएको थियो । रासस
आजको मौसम : चिसो बढ्ने, तत्काल पानी नपर्ने
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । बिहान बेलुका मौसम धुम्म भइरहे पनि तत्काललाई वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बांकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । शुक्रबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भ–भागमा मौसम सामान्यतया सफा रहनेछ । शनिबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हलुका हिमपातको सम्भावना छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हलुका हिमपातको सम्भावना छ । देशभरी चिसो भने बढ्दै गएको छ । चिसोबाट हुनसक्ने असरबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।
दोसल्लेमा बिजुलीको नाङ्गो तार हटाउन थालियो
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुन्तलाका बगैँचाभित्र रहेको विद्युत् वितरण लाइनको नाङ्गो तार हटाउन थालिएको छ । सुन्तलाको बगैँचाभित्र रहेको विद्युत्को नाङ्गो तारका कारण दुर्घटनाको जोखिम बढेको थियो । नाङ्गो तारका कारण किसान बगैँचामा पस्न डराउने गरेका थिए । नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले सुन्तला बगैँचाभित्र रहेको नाङ्गो तार हटाउन थालेको दोसल्लेका बासिन्दासमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले जानकारी दिए । उनका अनुसार नाङ्गो तार हटाएर राखिने एबिसी केबुल तारसहित मजदुर र प्राविधिकको टोली बुधबार दोसल्ले पुगेको छ । ‘सुन्तलाको हाँगाले नाङ्गो तार छोएकाले बगैँचाभित्र पस्न जोखिम थियो’, उनले भने। नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रमार्फत तत्कालै तार हटाउने काम सुुरु भएको हो । प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख प्रताप बरालले दोसल्लेमा एक किलोमिटरभन्दा बढी वितरण लाइनको नाङ्गो तार हटाएर एबिसी केबुल राख्न थालिएको बताए । बयालिस परिवार बस्दै आएको दोसल्लेमा पूरै गाउँमा सुन्तलाखेती गरिएको छ । नौ हजार सुन्तलाका बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको वितरण लाइनको नाङ्गो तारले हाँगा छुन थालेको थियो । ‘सुन्तलाको बोटले बिजुलीको वितरण लाइनको तार छोएकाले बगैँचामा जाँदा करेन्टको झट्का आउँछ’, दोसल्ले व्यावसायिक सुन्तला कृषक समूहका अध्यक्ष प्रेम पाइजाले भने, ‘तारमा छोइएर सुन्तलाका बोट मर्न थालेका छन् । रहेका बोटका सुन्तलाको दाना टिप्न, गोडमेल र मलजलका लागि बगैँचामा पस्न डर छ ।’ सुन्तलाको बोट हुर्कदै गएपछि हाँगाले नाङ्गो तार छोएर जोखिम बढेको हो । चार सय भोल्टको विद्युत् प्रवाह हुने नाङ्गो तारले छोइएर सुन्तलाका बोट मर्न थालेका छन् । गोडमेल गर्दा र सुन्तलाको फल टिप्दा करेन्ट लाग्ने जोखिम रहेको स्थानीय बेगबहादुर पाइजाले बताए । स्थानीयवासीले विद्युतीय दुर्घटनाको जोखिम न्यूनीकरणका लागि नाङ्गो तार हटाएर एबिसी केबुल भएको कालो तार जडान गर्ने व्यवस्था गर्न माग गर्दैआएका थिए । अन्नपूर्णको दोवा, बेनी नगरपालिकाको बास्कुनालगायत ठाउँमा बस्ती र बगैँचामाथि रहेको विद्युत्को तार व्यवस्थापन गर्न आवश्यक रहेको स्थानीयले बताएका छन् । रासस
हवाई सुरक्षा व्यवस्थित तुल्याएर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाइ क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो। प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्रीले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत कालोसूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताए । प्रधानमन्त्रीले भने, ‘मैले युरोपेली युनियनका प्रतिनिधिहरूसँग पनि यस विषयमा कुराकानी गरेको छु। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणका पदाधिकारीहरूसँग पनि पटकपटक छलफल गरेको छु। हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको छविमाथि प्रश्न उठ्न सक्छ। त्यसैले म गम्भीर छु।’ ‘यसपटक हवाई सुरक्षामा केही सुधार भएको छ। त्यसको आधारमा इयुको कालोसूचिबाट हट्छौँ कि भन्ने विश्वास थियो’, प्रधानमन्त्रीले भने, ‘तर हाम्रो सुधार पर्याप्त भएन, थप सुधारका निम्ति काम गर्नुपर्ने परिस्थिति देखिएको छ। तपाईंहरूले दिएका सुझाव महत्त्वपूर्ण छन्, नियामक निकायहरूसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हुनेछ।’
जथाभावी फोहर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित
ढोरपाटन । बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ-बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ। दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ। यही कारणले दैनिक फोहर पनि बढ्दै गएको छ । बजारबाट निस्कने फोहर ढोरपाटन नगरपालिका–३ बाघखोरस्थित तमानखोलामा फाल्ने गरिएको छ । एक दशकअघि बुर्तिबाङ बजार सानो थियो । फोहर पनि थोरै निस्कन्थ्यो । सबै फोहर स्थानीयले खोला किनारमा फाल्ने गरेका थिए। र त्यही जलाउने गरेका थिए । तर अहिले बजारबाट निस्कने फोहर व्यवस्थापनमा समस्या भएको छ । नगरपालिकाले छ वर्षदेखि तमानखोला किनारमा बुर्तिबाङ बजारको फोहर फाल्दै आएको छ । बजारको फोहर फाल्ने ठाउँ साँघुरो हुँदा त्यो सबै तमानखोलामा पुग्ने गरेको छ। खोलाले बगाएर फोहर पुनः बजारसम्म पुर्याउँछ। फोहरले तमानखोला प्रदूषित बनेको छ । तमानखोला भएर बगेको फोहर बुर्तिबाङ बजार हुँदै भूजीखोला र सेराफेदीँमा आएर निसीखोलामा मिसिएर बडिगाडमा बग्ने गरेको छ । देशकै नमूना सहर भनिए पनि फोहर व्यवस्थापनमा नगरपालिका र नयाँ सहर आयोजना चुकेको छ । आर्थिक वर्ष २०६७/६८ मा नयाँ सहर घोषणा गरेर कामको थालनी गरे पनि अहिलेसम्म बुर्तिबाङ फोहर व्यवस्थापनका लागि पूर्वधार निर्माण हुन सकेका छैनन् । खोलामा बग्ने फोहरका कारण जलचर जीवलाई असर पुगेको छ । फोहरकै कारण बडिगाड खोलामा माछा पाउने क्रम घट्दै गएको जलारीहरु बताउँछन् । हाल फोहर व्यवस्थापन गरेको बाघखोर तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका–३ र ४ को विभिन्न गाउँमा पुग्ने सडक छेउमै पर्छ। सडक छेउमा रहेको ‘डम्पिङसाइड’ का कारण यात्रुलाई समस्या भएको छ । बुर्तिबाङ बजारको फोहर नगरपालिकाको गाडीले दैनिक यही ल्याएर फ्याक्ने गर्छ। कुहिने तथा नकुहिने सबै फोहर एकै ठाउँ फालिँदै आइएको छ । खोला छेउमा फोहर व्यवस्थापन अव्यवस्थित रहेको ढोरपाटन–३ का मीनबहादुर घर्तीले बताए । बजारबाटै गाडीले फोहर सडक भरी खसाल्दै ल्याउने र जथाभावीरुपमा फाल्दा त्यसको गन्धले समस्या भएको उनको भनाइ छ। वर्षौंदेखि बजारको फोहर व्यवस्थापनमा नयाँ सहर आयोजना र नगरपालिकाले चासो नदिँदा बाघखोर क्षेत्र र अन्य खोला प्रदूषित बन्दै गएका घर्ती बताउँछन् । हिउँदमा दुर्गन्ध कम भए पनि बर्खाको समय फोहरको गन्धले यात्रा गर्नै कठिन हुने उनको भनाइ छ । बुर्तिबाङ बजारमा घर थपिने क्रम बढ्दो छ । जनघनत्व बढ्दै गएको छ । तर बजारको फोहर व्यवस्थापन भने हुन सकेको छैन। सबै फोहर खोलाले बगाएर जताततै पुर्याउँछ। ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फोहर व्यवस्थापनका लागि जग्गा नपाउँदा समस्या भएको बताए । आयोजना कार्यालयसँग सहकार्य गरेर जग्गा खोज्ने काम भइरहेको उनको भनाइ छ । जग्गा व्यवस्थापन हुनासाथ बजारको फोहर व्यवस्थान हुने उपप्रमुख कायतको विश्वास छ । रासस
रास्वपाको वडा अधिवेशन आजदेखि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो । सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘निर्वानपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ । औपचारिक रुपमा अधिवेशन आजदेखि सुरु भएको छ’, उनले भने, ‘सात प्रदेशमा सात वडामा वडा अधिवेशन आजै सक्छौँ । हामीले निरन्तररुपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाएका छौँ ।’ रास्वपाले भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा महानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगङ्गा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा आज वडा अधिवेशन गर्दैछ । सातै प्रदेशका ती वडामा रास्वपाका केन्द्रीय प्रतिनिधि सहभागी हुँदैछन् । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ र केन्द्रीय सदस्य विजय जैरु विभिन्न वडामा केन्द्रीय प्रतिनिधि रहेका छन् । ‘जलेश्वर बैठकबाट पार्टीको वैचारिक धार स्पष्ट गरेका छौँ । यसलाई स्थानीय तहसम्म पु¥याउने मुख्य एजेण्डा हो’, प्रमुख सचेतक परियारले भने । सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने बताए । उनले भने, ‘११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरेका छौँ । चार जनामध्ये पनि एक जना अनिवार्यरुपमा दलित महिलाको व्यवस्था गरिएको छ । छ जना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ ।
एनआईसी एशियाले सेयर बेच्दै, खरिद गर्नेले साना किसानको लाभांश र हकप्रद पाउने
काठमाडौं । एनआईसी एशिया बैंकले साना किसान विकास लघुवित्तमा रहेको सेयर बिक्री गर्ने भएको छ । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको झण्डै ४ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले लघुवित्तमा रहेको ३ लाख ९२ हजार ६५० कित्ता संस्थापक सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखेको हो । उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३४८ रुपैयाँ तोकिएको छ । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । ईच्छुक संस्थापकले खरीद गर्न चाहेको प्रतिकित्ता मूल्य उल्लेख गरी आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ भित्र निवेदन दिन आग्रह गरेको छ । साथै, उक्त सेयर खरिद गर्ने लगानीकर्ताले लघुवित्तले घोषणा गर्ने हकप्रद सेयर र लाभांश समेत प्राप्त गर्नेछन् ।
प्राविधिक गडबडी देखिएपछि टेस्लाले अमेरिकाबाट २० लाख गाडी लियो फिर्ता
काठमाडौं । इलन मस्कको विद्युतीय गाडी निर्माता कम्पनी टेस्ला इंकले प्राविधिक गडबडीका कारण २० लाख सवारी साधन फिर्ता लिएको छ । मस्कको कम्पनीले फिर्ता बोलाएका गाडीमा सन् २०१५ देखि अमेरिकामा अटोपाइलट सुविधा सक्रिय भएका मोडलहरू समावेश छन् । अमेरिकी अटो नियामकका अनुसार अटोपाइलट प्रणालीमा भएको गडबडी सच्याउन ती विद्युतीय सवारीसाधन फिर्ता लिइएको हो । सेल्फ-ड्राइभ मोड सक्रिय हुँदा यो प्रणालीले सडक र ट्राफिक अवस्थाबारे चालकलाई सचेत गराउन काम गर्छ । अटोपाइलट प्रविधिले गाडीको वरपरको ट्राफिक मूल्यांकन गर्न क्यामेरा र सेन्सरहरू प्रयोग गर्छ । यसले सवारीलाई सुरक्षित लेनमा राख्नका लागि सडकमा लेन मार्किङको अनुगमन गर्छ । यद्यपि, आलोचकहरूले सुरुदेखि नै टेस्लाको अटोपाइलट प्रणालीका धेरै कमजोरीहरूलाई औंल्याउँदै आएका थिए । अटोपाइलट प्रणाली असफलताले धेरै दुर्घटना टेस्लाको अटोपाइलट प्रणाली विवादास्पद छ र यसले धेरै दुर्घटनाहरू निम्त्याएको छ । अमेरिकाको नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन (एनएचटीएसए) ले त्यस्ता दुर्घटनाहरूको अनुसन्धान सुरु गरेको झन्डै दुई वर्ष भइसकेको छ । सेल्फ-ड्राइभ मोड सक्रिय हुँदा चालकलाई सचेत गराउन अटोपाइलट प्रणालीले प्रयोग गर्ने कार्यहरू राम्ररी काम नगर्दा दुर्घटना हुने सम्भावना रहने एनएचटीएसएले अनुसन्धानको क्रममा पत्ता लगाएको हो । टेस्लाले समस्या समाधान गर्ने कम्पनीले फिर्ता लिएका विद्युतीय सवारीसाधनहरूमा थप नियन्त्रण निर्देशनहरू थप्ने छ । यसका साथै यसले सफ्टवेयर ओभर द एयर (ओटीए) लाई पनि अपडेट गर्ने छ, जसले गर्दा चालकले गाडी चलाउँदा बढी ध्यान दिन सक्नेछन् । यसका लागि कम्पनीले ग्राहकबाट कुनै शुल्क लिने छैन । कम्पनीले यो वर्ष तेस्रोपटक आफ्ना कार फिर्ता गरेको हो । यसअघि अक्टोबर २०२३ मा टेस्ला मोडेल एक्सका ५४ हजार ६ सय ७६ यूनिट फिर्ता लिइएको थियो । यो समस्या समाधान गर्न टेस्लाले सफ्टवेयर अपडेट जारी गर्यो, जुन निः शुल्क थियो। यसअघि अगस्टमा कम्पनीले टेस्लाको नयाँ मोडेल ३ र मोडेल वाईका २ लाख ८० हजार युनिट स्टेयरिङ कन्ट्रोल र पावर स्टेयरिङमा क्षति पुगेको कारण फिर्ता लिएको थियो । त्यो अनुसन्धानपछि टेस्लाले स्वीकार गरेको छ कि ‘प्रणालीको नियन्त्रणहरू चालकको दुरुपयोग रोक्न पर्याप्त नहुन सक्छ ।’ ‘स्वचालित प्रविधिले सुरक्षा सुधार गर्नका लागि ठूलो प्रतिज्ञा राख्छ तर जब यो जिम्मेवारीपूर्वक प्रयोग गरिन्छ,’ एनएचटीएसएका एक अधिकारीले भने, ‘यो सफ्टवेयर अद्यावधिक भएपछि निगरानी जारी राख्छ।’ टेस्लाका एक पूर्वकर्मचारीले बीबीसीलाई यो प्रविधि सुरक्षित नभएको विश्वास गरेको एक हप्तापछि घटना बाहिर आएको हो। टेस्लाका ती पूर्वकर्मचारी लुकास क्रुप्सकीले ह्विस्टलब्लोअर्सलाई मान्यता दिने ब्लुप्रिन्ट पुरस्कार जितेपछि बीबीसीलाई भने, ‘मलाई लाग्दैन कि हार्डवेयर र सफ्टवेयर तयार छ। यसले हामी सबैलाई असर गर्छ किनभने हामी अनिवार्यरूपमा सार्वजनिक सडकमा प्रयोग गरिरहेका छौं ।’ फिर्ताको समाचारमा प्रतिक्रिया दिँदै क्रुप्सकीले यो कदम सही दिशामा भए पनि यो समस्या अमेरिकामा मात्र नभएको बताए । ‘हार्डवेयर अमेरिका, चीन आदि सबै देशमा कुदिरहेका टेस्लामा समान छ,’ उनले भने । बीबीसी