विकासन्युज

पृथ्वी पाँडे, कैलाश सिरोहिया, प्रदिपजङ्ग पाण्डे र सुमित अग्रवाल बने व्यावसायिक साझेदार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा हाइप्रोफाइल व्यवसायीको लगानी देखिएको छ । कम्पनीमा विभिन्न उद्योगी व्यवसायी, बैंकर तथा सञ्चार माध्यम उद्यमीको पनि लगानी देखिएको हो । कम्पनीमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षदेखि वित्तीय संस्था र बीमा कम्पनीको नेतृत्व गरिरहेका व्यक्तिको पनि लगानी देखिएको छ । कम्पनीमा कान्तिपुर पब्लिकेशन प्रालि र सुमित कुमार अग्रवाल सबैभन्दा ठूला सेयरधनी हुन् । यी दुई लगानीकर्ताको समान लगानी रहेको छ । कान्तिपुर पब्लिकेशनको ७.४३ प्रतिशत अर्थात् १९ लाख ५० हजार कित्ता र सुमित कुमार अग्रवालको ७.४३ प्रतिशत अर्थात् १९ लाख ५० हजार कित्ता सेयर स्वामित्व छ । यस्तै, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका कम्पनीका सञ्चालक समितिका अध्यक्ष प्रदीप जङ्ग पाण्डेको ५.२४ प्रतिशत अर्थात् १३ लाख ७५ हजार कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, विकास जे.बि. राणाको ५.१४ प्रतिशत अर्थात् १३ लाख ५० हजार कित्ता, सुष्मा राणाको ५.१४ प्रतिशत अर्थात् १३ लाख ५० हजार कित्ता, यति वल्र्ड इन्भेष्टमेन्ट प्रालिको ५.१४ प्रतिशत अर्थात् १३ लाख ५० हजार कित्ता सेयर स्वामित्व छ । यस्तै, एयर डाइनेस्टी हेली सर्भिसेज प्रालिको ३.०६ प्रतिशत अर्थात् ८ लाख २ हजार कित्ता, ज्योति प्रकाश पाण्डेको २.२९ प्रतिशत अर्थात् ६ लाख कित्ता, ललित अग्रवालको २.२९ प्रतिशत अर्थात् ६ लाख कित्ता, उर्मिला पाण्डेको २.२९ प्रतिशत अर्थात् ६ लाख कित्ता, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत अर्थात् ५ दाख २५ हजार कित्ता सेयर स्वामित्व रहेको कम्पनीले जनाएको छ । यस्तै, राम अग्रवालको १.८९ प्रतिशत अर्थात् ४ लाख ९५ हजार कित्ता, गुडविल फाइनान्सको १.७१ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता, प्रिमियर वायर प्रालिको १.७१ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता, अनुजा लक्ष्मी धितालको १.३७ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता, क्याबिनेट श्रेष्ठको १.३७ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता, सुजन बैद्य (श्रेष्ठ)को १.३७ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्त सेयर स्वामित्व रहेको छ । यस्तै, सन्दिप पाख्रिन लामाको १.२९ प्रतिशत अर्थात् ३ लाख ३७ हजार ५ सय कित्ता, सौगात पाख्रिन लामाको १.२९ प्रतिशत अर्थात् ३ लाख ३७ हजार ५ सय कित्ता, पृथ्वि बहादुर पाँडेको १.२३ प्रतिशत अर्थात् ३ लाख २२ हजार ५ सय कित्ता, शिखर इन्स्योरेन्सको १.२३ प्रतिशत अर्थात् ३ लाख २२ हजार ५ सय कित्ता र हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेडको १.१४ प्रतिशत अर्थात् ३ लाख कित्ता सेयर स्वामित्व रहेको कम्पनीको भनाइ छ ।

आर्थिक मन्दीले चितवनमा एक सय ४० उद्योग बन्द

चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो । कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ वटा सेवामूलक उद्योग बन्द भएका छन् । सोही समयमा ४० वटा उद्योगले नामसारी गरेका छन् । खरिदबिक्रीपछि नाम सारी गरिएको उनले बताए । ११ वटा उद्योगले ठाउँसारी गरेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई सय ५८ वटा उद्योग दर्ता भएका छन् । साना उद्योगतर्फ ती फर्महरु दर्ता भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र भएको पाइएको उनले बताए । सोही समयमा व्यावसायिक फर्महरु एक सय ८१ वटाको लगत कट्टा गरिएको छ । १३ वटाको नामसारी र २२ वटाको ठाउँसारी गरिएको उनले जानकारी दिए । व्यावसायिक फर्मतर्फ दुई सय ७३ वटा नयाँ दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा व्यवसाय बन्द गर्नेको सङ्ख्या चार सय ३४ रहेको थियो । यस्तै ३८ वटाले ठाउँसारी गरेका थिए । गत आर्थिक वर्ष २०७९/८० मा दुई सय ६९ वटा उद्योग बन्द भएका थिए । उनका अनुसार गत आर्थिक वर्षमा आठ सय ५९ वटा उद्योग दर्ता भएका थिए । सो वर्ष नामसारीका लागि ६३ वटा उद्योगका सञ्चालकहरुले निवेदन दिएका थिए भने ३४ वटाले स्थान परिवर्तन गरेका थिए । वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको उनले बताए । उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरुको सङ्ख्या उच्च रहेको उनले बताए । उनले भने, ‘पाँच लाखसम्मको उद्योग वा व्यापारिक फर्महरु पालिकामा दर्ता हुने यहाँ बन्द गराएको पाइन्छ ।’ आर्थिक मन्दी, कोरोना असरका कारण समेत साना उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उनले बताए । कार्यालयमा दर्ता हुन आउने उद्योगहरु अधिकांश महिलाका नाममा दर्ता हुने गरेका छन् । राजस्वमा ५० प्रतिशत छुट हुने भएकाले महिलाका नाममा दर्ता गर्नेहरुको सङ्ख्या बढेको खनालले जानकारी दिए । चालु आर्थिक वर्षमा एक सय ३३ जना महिला उद्यमीले उद्योग दर्ता गराउँदा पुरुषका नाममा एक सय ११ वटा दर्ता भएका छन् । रासस

नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई लक्षित गरी रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता, नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख प्रविधि अधिकृत सूनन्द मलहोत्रा, प्रमूख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्यालका साथै इसेवाका इनोभेसन एण्ड अपरेशन म्यानेजर सूमित भण्डारीको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेश कूमार पंडा तथा इसेवा मनि ट्रान्सफरका प्रमूख कार्यकारी अधिकृत अजेश कोइरालाको संयुक्त हस्ताक्षरबीच सम्पन्न भएको छ । सर्वसाधारण ग्राहकहरुले नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखाहरु र इसेवाका विभिन्न एजेन्टहरु मार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् ।

स्वरोजगार लघुवित्तको लाभांश घोषणा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । माघ १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ७.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले बोनस ७ प्रतिशत र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

३ खर्ब डलरको ऋणी चीनकै ठूलो घरजग्गा कम्पनी एभरग्रान्ड बन्द गर्न अदालतको आदेश

काठमाडौं । कोरोना भाइरस महामारीपछि चीनको अर्थतन्त्रमा आएको मन्दी अन्त्य हुनुको सट्टा बढ्दै गएको छ । विशेषगरी चीनको रियल इस्टेट क्षेत्रले धेरै नै कठिनाइ सामना गर्नुपरेको छ । चीनको सबैभन्दा ठूलो घरजग्गा कम्पनी अब बन्द हुने अवस्थामा छ । उक्त कम्पनीलाई बिक्री गर्न आदेश दिइएको छ । चीनको रियल इस्टेट संकट यति गम्भीर बन्दै गएको छ कि यसले सबैभन्दा ठूलो घरजग्गा कम्पनी एभरग्रान्डलाई घेरेको छ । एजेन्सी हङकङको अदालतले एभरग्रान्डलाई खारेज गर्न आदेश दिएको हो । अदालतको आदेशपछि एभरग्रान्ड र यसका सूचीकृत सहायक कम्पनीको सेयर कारोबारमा प्रतिबन्ध लगाइएको छ । रोयटर्सका अनुसार चीनको घरजग्गा कम्पनी एभरग्रान्ड विश्वको सबैभन्दा धेरै ऋण बोकेको घरजग्गा कम्पनी हो । जसको ३ खर्ब अमेरिकी डलरभन्दा बढी ऋण छ । ऋण तिर्न नसकेपछि कम्पनीले कानुनी प्रक्रियाका लागि आवेदन दिएको थियो । अब हङकङको एक अदालतले ऋणमा डुबेको घरजग्गा कम्पनी एभरग्रान्डलाई बन्द गर्न आदेश दिएको छ । एभरग्रान्डको दुई वर्षअघि नै नगद सकिएको थियो । कम्पनीले सन् २०२१ मा नै डिफल्ट घोषणा गरेपछि अब बन्द गर्न निर्देशन दिइएको हो । अदालतले कम्पनीको सम्पत्ति बेचेर ऋण असुल गर्न आदेश दिएको छ । भारी ऋणको बोझले दबिएको कम्पनीलाई ऋण तिर्नका लागि फुल प्रुफ योजना पेस गर्न भनिएको थियो तर कम्पनीले १८ महिनामा कुनै समाधान दिन नसकेपछि अब कम्पनीको सम्पत्ति बेचेर ३ खर्ब डलर असुली गर्ने आदेश दिइएको छ । एजेन्सी

शहीदहरूको सपना साक्षी राखेर एकजुट भई काम गर्ने बेला आइसक्यो : उपप्रमुख डङ्गोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शहीदहरूको सपना साक्षी राखी एकजुट भएर काम गर्ने बेला आइसकेको बताएकी छिन् । आज काठमाडौंमा शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले शहीदले देखेको सपना र त्यसलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि अहिले सबैका बीचमा साझा सङ्कल्प चाहिएको बताइन् । उनले जनताका चाहनाबमोजिम सेवा सुविधा उपलब्ध गराउन स्वतन्त्रता र सँगसँगै समता र समुचित उपभोग गर्न शहीदहरूको सपना साक्षी राखेर एकजुट भएर काम गर्ने बेला आइसकेको बताइन् । उनले समृद्धिको मूल आधार भनेको आर्थिक विकास र रोजगारी रहेको भन्दै यसलाई सार्थक बनाउनका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्र र अधिकार भित्र रहेर काम गरिरहेको स्पष्ट पारिन् । उनले नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक, उत्थान र सँगसँगै स्वास्थ्य शिक्षामा पहुँच तथा समावेशी एवं पहुँचयुक्त विकासमा प्रतिबद्ध रहेको बताइन् । उनले महानगरवासीको मुहारमा खुसी र सुखका अनुभूति ल्याउन निरन्तर रूपमा प्रयासरत रहेको जिकिर गरिन् । ‘शहीदहरुको बलिदानको जगमा टेकेर आज हामी जसरी सबै जनाले शासन, स्वतन्त्रता र स्वाधिनताको उपयोग गरिरहेका छौँ । समृद्धिको मुल आधार भनेको आर्थिक विकास र रोजगारी हो । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तहगत रुपमा नै सरकारहरुलाई नागरिकको मुहारमा खुशी ल्याउने कर्ममा लाग्नुपर्ने आजको यो सभाको पनि उद्देश्य र अर्थ हो । यसैबाट शहीदले देखेका सम्पूर्ण सपनाहरु पूरा हुनेछन्’, उनले भनिन् । उपप्रमुख डङ्गोलले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तहगत रूपमा नै सरकारहरूलाई नागरिकको मुहारमा खुसी ल्याउने कर्ममा लाग्नुपर्ने आजको उद्देश्य रहेको बताइन् । यसबाट नै शहीदले देखेका सम्पूर्ण सपनाहरू पूरा हुने विश्वास व्यक्त गरिन् ।

भारतको विदेशी मुद्रा सञ्चिति घट्यो

काठमाडौं । भारतको केन्द्रिय बैंकको पछिल्लो तथ्याङ्कअनुसार जनवरी १९ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.७९४ बिलियन अमेरिकी डलरले घटेर ६१६.१४३ बिलियन डलरमा पुगेको छ । सबैभन्दा ठूलो विदेशी मुद्रा कम्पोनेन्ट भनिने विदेशी मुद्रा सम्पती २ अर्ब ६५३ करोड डलर घटेर ५४५.८५ अर्ब डलर पुगेको तथ्यांकले देखाएको छ । जनवरी १२ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति १ अर्ब ६३४ बिलियन डलर बढेर ६१८.९३७ बिलियन डलर पुगेको थियो । वर्ष २०२३ मा भारतको विदेशी मुद्रा सञ्चितिमा झन्डै ५८ अर्ब डलर थपिएको थियो भने २०२२ मा देशको विदेशी मुद्रा सञ्चिति ७१ अर्ब डलरले घटेको थियो ।

खोटाङमा वैदेशिक रोजगारका समस्या बढ्दै, ४६ युवा ठगिए

खोटाङ । वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् । उनीहरुले विसं २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी)का खोटाङ संयोजक सन्तोष राईले  रु एक करोड पाँच लाख १३ हजार ठगी गरेको उजुरी परेको जानकारी दिए । ‘वैदेशिक रोजगारीमा पठाउने बहनामा ठगीमा परेको जनाउँदै चालु आर्थिक वर्षमात्रै १५ जनाले उजुरी दिएका छन् । पीडितको उजुरीमा रु २३ लाख ४० हजार पाँच सय ठगी भएको उल्लेख छ’, उनले भने, ‘विदेश जाने नाममा म्यानपावर र एजेन्टलाई पैसा दिए पनि लामो समयसम्म विदेश नपठाएपछि र पैसा फिर्ता नदिएपछि पीडित आप्रवासी स्रोत केन्द्रमा आइपुग्ने गरेका छन् । सुरक्षित आप्रवासन कार्यक्रमको सहजीकरणमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र वैदेशिक रोजगार विभागको पहलमा हालसम्म म्यानपावर र एजेन्टबाट रु १० लाख ६८ हजार रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गराइसकिएको छ ।’ चालु आव स्रोत केन्द्र दिक्तेलमा परेका उजुरीमध्ये जिल्ला प्रहरी कार्यालय खोटाङले रु एक लाख ५० हजार सम्बन्धित व्यक्तिलाई फिर्ता गराइसकेको संयोजक राईले जानकारी दिए । वैदेशिक रोजगारीका सिलसिलाका रकम फिर्ता लिनका लागि एजेन्ट र म्यानपावर धाउँदाधाउँदा हैरान भएका पीडितले अन्तिम विकल्पका रूपमा आप्रवासी स्रोत केन्द्रलाई गुहार्ने गरेको जनाइएको छ । वैदेशिक रोजगारसम्बन्धी ठगीमा परेका पीडितसँग आवश्यक प्रमाण नहुनु, ठगी गर्ने अधिकांश जिल्ला बाहिरका हुनुजस्ता कारणले पीडित न्यायबाट बञ्चित भएको स्रोत केन्द्रले जनाएको छ । वैदेशिक रोजगारका क्रममा गरिने आर्थिक कारोबार सकेसम्म बैंकिंङ माध्यमबाट गरी प्रयोजनमा वैदेशिक रोजगार उल्लेख गरियो भने ठगिएको पैसा फिर्ता लिन सजिलो हुने संयोजक राईले जानकारी दिए । ठगीका नयाँनयाँ शैली प्रयोग हुन थालेको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । ‘पछिल्लो समय नयाँनयाँ तरिका र प्रक्रियाबाट वैदेशिक रोजगारसम्बन्धी तथा विभिन्न बहानाम ठगीका घटना हुन थालेका छन् । ठगीका घटनालाई न्यूनीकरण गर्न हामीले पनि नागरिकलाई सचेत गराइरहेका छौँ’, उनले भने, ‘घटना भइसकेपछि मात्र प्रहरीमा जानकारी आउँछ । पीडितसँग आवश्यक प्रमाण नहुँदा समस्या हुने गरेको छ । यसप्रति सचेत हुन आवश्यक छ ।’ खोटाङ सबैभन्दा बढी वैदेशिक रोजगारमा जानेको सूचीमा पर्छ । वैदेशिक रोजगारमा जानेको सङ्ख्या बढेसँगै जिल्लामा वैदेशिक रोजगारका समस्या पनि बढ्दै गएको पाइएको हो । आव २०८०/८१ को पछिल्लो पाँच महिना (मङ्सिरसम्म) मा खोटाङबाट तीन हजार तीन सय ४१ युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यसमा महिला तीन सय २२ रहेको श्रोत केन्द्रले जानकारी दिएको छ । दश स्थानीय तह रहेको खोटाङबाट गत वर्ष नौ हजार आठ सय छजना युवाले श्रम स्वीकृति लिएको पाइएको छ । यसमा आठ सय ३१ महिला छन् । रासस