सिंहदरबारबाटै नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको निरीक्षण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ-बुटवल सडकखण्ड र मुग्लिन-पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गरेका छन् । सोमबार दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन दुई सडकखण्डका बारेमा जानकारी लिए । निरीक्षणपछि प्रधानमन्त्रीले भने, ‘हाम्रा परियोजना भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्नेगरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मकरूपले बढाउनुपर्छ ।’ गिटी, बालुवा ढुङ्गा, विद्युत्का सानातिना समस्या सरकारले शीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुपर्यो । समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ । दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ ।’ परियोजनाहरू निर्धारित लक्ष्यअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न निर्देशन दिए । विविध कारण देखाएर निर्माणमा विलम्ब भयो भन्न नपाइने उनको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘यी दुई परियोजना अत्यन्तै महत्त्वपूर्ण छन् । समयमै सकिनुपर्छ, म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु ।’ अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट कसैलाई नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ । यसका लागि गम्भीर गृहकार्य गरौं । यो काम गर्ने अन्तिम अवसर हो । सबैले एकपटक सदुपयोग गरौं ।’ रासस
भृकुटीमण्डपस्थित खुल्ला बजारका समस्या समाधान गर्न मन्त्री आचार्यको निर्देशन
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपस्थित खुल्ला बजारको समस्या तत्काल समाधान गरिने जानकारी दिएका छन् । ‘भृकुटीमण्डप हाताभित्र अवस्थित खुल्ला बजारको ३२औँ स्थापना दिवस’ का अवसरमा काठमाडौं निम्न व्यापारी सङ्घद्वारा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुल्ला बजारभित्रका समस्या तत्काल समाधान गर्न सङ्घ र समाज कल्याण परिषद्लाई निर्देशन गरे । ‘प्लास्टिकको छानालाई टिनको छानामा परिवर्तन गर्न लागि पहल भइरहेको छ’, उनले भने, ‘शौचालय, खानेपानी, ढल निकासलगायत यस क्षेत्रका समस्या समाधान गर्न सरकारले बजेट बिनियोजन गरेको छ ।’ सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले प्लास्टिकको छानामुनि व्यापार गर्न जोखिम रहेको बताए । ‘परिषद्लाई टिनको छाना लगाउन पहल गर्न पटक पटक अनुरोध गरेको तर अझै पनि छानामुनिको कष्टप्रद व्यापारी, ग्राहकले भोगिरहेका छन् । विगतदेखिका यी समस्या समाधानमा समन्वयात्मक पहल आवश्यक रहेको छ,’ उनले भने । समाज कल्याण परिषद्, भृकुटीमण्डप व्यवस्थापन विभागका प्रमुख दीपेन्द्र पन्तले शौचालय, खानेपानीलगायत समस्या समाधान गर्नेतर्फ विभाग अग्रसर रहेको बताए । सङ्घ उपाध्यक्ष गोविन्द पौडेलले निम्न आय भएका मानिसको रोजाइमा रहेको भृकुटीमण्डप खुल्ला बजारमा दैनिक ४०-४५ हजार मानिस किनमेल गर्न आउने गरेको दाबी गरे । समाज कल्याण परिषद्का सदस्यसचिव मनोजकुमार भट्टले व्यवस्थित पार्किङको काम सुरु भइसकेको जानकारी दिँदै भृकुटीमण्डप खुल्ला बजारको उचित व्यवस्थापनका लागि पहल गर्ने बताए । समाज कल्याण परिषद्का नाममा रहेको जग्गामा भृकुटीमण्डपका व्यापारीहरुले व्यापार गर्दै आएका छन् । सङ्घले स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७० जना बढीले रक्तदान गरेको आयोजकले जनाएका छन् । रासस
माछापुच्छ्रे बैंक, नेप्स र सिटीटेकले गेटपे सञ्चालन गर्ने, गरे सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंक, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स (नेप्स) र सिटीटेकले यूनाइफाइड मर्चेन्ट म्यानेजमेन्ट सिस्टम (एकीकृत व्यापार व्यवस्थापन प्रणाली) गेटपे सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेका छन् । तीन वटै संस्थाले पुस २ गते सोमबार संयुक्त रुपमा सम्झौता गरेका हुन् । सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका हुन् । नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक प्रणाली सञ्चालनमा आइसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र सञ्जालहरुलाई बैंक र व्यापारीहरुले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन् । सम्झौताले व्यापारीहरुको हाल भुक्तानी उपकरण तथा सञ्जालसँग अलगअलग रजिष्ट्रेशन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्ममार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ । यसका साथै हाल प्रचलनमा आइरहेका सबै भुक्तानी उपकरणहरु तथा सञ्जालहरुलाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीहरुलाई सेवा लिन र दिन सहज हुनेछ भने कारोबारी र कारोबारसँग सम्बन्धित महत्वपूर्ण डाटाहरुको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरुमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेशन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरुलाई बैंकहरुले अझ परिष्कृत सेवाहरु प्रदान गर्न सहज हुने लगायतका विशेषता गेट पे मा रहेका छन् । सम्झौतापछि तीनै पक्षले सकेसम्म चाँडो यसलाई प्रयोगमा ल्याउने र नेपाली भुक्तानी जगतमा नयाँ आयामको रुपमा थपिने दाबी गरेका छन् ।
नयाँ लोक देउडा गीत ‘जौमास’ सार्वजनिक
काठमाडौं । सुदूरपश्चिममा चाँडपर्वमा मनाइने लोककथाहरूको सँगालोमा आधारित नयाँ लोक देउडा गीत ‘जौमास’ सार्वजनिक भएको छ । सरोज खड्काको शब्द र देवेन्द्र खड्काको लय संगीतमा रहेको ‘जौमास’ गीतमा देबेन्द्र खड्का र संगीता थापाको स्वर रहेको छ । यो गीत ‘माँझ आँगन’ युट्युव च्यानलमा सार्वजनिक भएको हो । सरोज खड्काले निर्देशन गरेको गीतमा स्थानीय सस्कृतीको प्रबन्धन गरिएको छ । केटा र कटि बिचको प्रेम देखाएको यो गीत अहिले प्रशंसा बटुलिरहेको छ । सुदूरपश्चिमको अछाम जिल्लामा छायाकंन गरिएको यो गीतले स्थानीय कुरालाई देखाएको छ भने सस्कृतीको जगेर्ना गर्ने उद्देश्यले यो गीत तयार पारिएको गायक देवेन्द्र खड्काले बताएका छन् । अछाम जिल्लामा जन्मेका देवेन्द्र खड्का आर आर क्याम्पसमा स्नातक गरेर अहिले कलानीधिमा संगित सिकिरहेका छन् ।
आतंकवादी दाउद इब्राहिमको सम्पत्ति कति छ ?
एजेन्सी । सन् १९९३–मुम्बई बम विस्फोट र २६–११ आतंकवादी हमलाका मास्टरमाइन्ड ६७ वर्षीय डन दाउद इब्राहिम फेरि एकपटक चर्चामा आएका छन् । कराँचीमा दाउदलाई विष खुवाइएको खबर आएको छ । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको छ । त्यहाँ उनको अवस्था गम्भीर छ । तर, यो खबरको पुष्टि भने भइसकेको छैन । दाउद ३० वर्षदेखि पाकिस्तानमा लुकेर बसेका छन् र त्यहीँबाट उनी विश्वभरि आफ्नो अवैध व्यापार चलाइरहेका छन् । दाउदको अवैध व्यापार विश्वका धेरै देशमा फैलिएको छ, जसका कारण उनले अर्बौं रुपैयाँको सम्पत्ति कमाएका छन् । कतिपय रिपोर्टका अनुसार उनकी श्रीमती मेहजबीन र भाइ अनीस मिलेर दाउदको बिजनेस चलाउँछन् । द गार्डियनको रिपोर्टअनुसार सन् १९८० र १९९० को दशकको सुरुमा दाउदले वेश्यावृत्ति, जुवा र लागुऔषध कारोबारमार्फत अर्बौं रुपैयाँको कालो व्यापार गरेका थिए । अहिले दाउदलाई विश्वव्यापी आतंकवादी संगठन डी कम्पनीको प्रमुख मानिन्छ । कति छ दाउद सम्पत्ति ? फोर्ब्सका अनुसार दाउद इब्राहिम अहिलेसम्मकै सबैभन्दा धनी ग्याङ्गस्टरमध्ये एक हुन् । २०१५ मा फोर्ब्सले दाउदको कुल सम्पत्ति ६ अर्ब ७० करोड अमेरिकी डलर (लगभग ६ खर्ब ६६ अर्ब भारु) रहेको अनुमान गरेको थियो। मिडिया रिपोर्टका अनुसार दाउदको पाकिस्तानी सहरमा ३ वटा आलिशान घर पनि छन् । दाउद कराँचीको डी–१३, ब्लक–४, क्लिफ्टनमा रहेको ६ हजार वर्गफिटमा फैलिएको आलिशान बंगलामा बस्ने दाबी गरिएको छ । यहाँ कराँचीको नो–ट्रेस जोन हो र यसलाई पाकिस्तानी रेन्जर्सले कडा सुरक्षा दिएको छ। धेरै सहरहरूमा सम्पत्ति दाउदको देशका धेरै सहरमा करोडौंको सम्पत्ति रहेको विश्वास गरिन्छ । दाउदको नाममा एउटा होटल (दाउद इब्राहिम होटल) पनि छ, जुन अहिले जफत गरिएको छ । मुम्बई र अन्य सहरहरूमा दाउदको धेरै सम्पत्ति जफत गरिएको छ । दाउदको दुबईमा पनि धेरै सम्पत्ति छ । दाउदसँग मुम्बईमा हुन्डाई एक्सेन्ट सेडान कार पनि थियो, जुन सरकारले जफत गरेको छ। आईपीएल म्याच फिक्सिङबाट पनि कमाएका थिए पैसा दाउद इब्राहिमलाई क्रिकेट हेर्न निकै मनपर्थ्यो । म्याच हेर्नका साथै सट्टेबाजी पनि गर्थे । पछि म्याच फिक्सिङमा उनको नाम बाहिर आयो । यसबाहेक, दाउद टूजी स्पेक्ट्रमलगायत धेरै घोटालामा संलग्न छन् । सन् १९९३ को मुम्बई बम विस्फोट गराउनुबाहेक दाउदको ओसामा बिन लादेन र प्रतिबन्धित आतंकवादी संगठन अल कायदाका अयमान अल जवाहिरीसँग पनि घनिष्ठ सम्बन्ध थियो। दाउदलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को आइएस र अल–कायदा प्रतिबन्ध समितिले विश्वव्यापी आतंकवादी घोषणा गरेको छ । बेलायतमा ४५ करोड डलरको सम्पत्ति दाउद इब्राहिमको युरोप, अफ्रिका र दक्षिण एसियाका एक दर्जनभन्दा बढी देशमा सम्पत्ति छ। बेलायतमा मात्रै उनको ४५ करोड अमेरिकी डलरबराबरको सम्पत्ति छ । दाउदले विश्वका विभिन्न देशमा ५० भन्दा बढी व्यवसायमा लगानी गरेको बताइएको छ । दाउदको व्यापार भारत, पाकिस्तान, बेलायत, जर्मनी, टर्की, फ्रान्स, स्पेन, मोरक्को, साइप्रस, संयुक्त अरब इमिरेट्स, दक्षिण अफ्रिका, श्रीलंका, नेपाल, थाइल्याण्ड, मलेसिया र सिंगापुरसम्म फैलिएको छ।
झन्झटमुक्त बनाउने ग्लोबल आइएमई बैंकको ‘भिजा स्क्यान टू पे’
काठमाडौं । यदि तपाईं भिजा कार्ड प्रयोग गर्नुहुन्छ ? कार्ड प्रयोग गरेर कारोबार गर्नुहुन्छ ? र, कहिलेकाहीँ कार्ड घरमै छुटेर वा हराएर कारोबार गर्नबाट वञ्चित हुनुभएको छ ? अब झन्झटमुक्त हुनुस्, ग्लोबल आइएमई बैंकले ‘भिजा स्क्यान टू पे’ ल्याएको छ । ग्लोबल आइएमई बैंकले भिजा कार्डबिना नै स्क्यान गरी कारोबार गर्न सकिने सुविधासहितको प्रडक्ट ल्याएको हो । बैंकले ग्लोबल स्मार्ट प्लस मोबाइल एपबाटै भिजा कार्डको प्रयोग गरी कारोबार गर्ने प्रणालीको सुरुवात गरेको हो । संसारका अन्य देशहरूमा विगत ४/५ वर्षदेखि भिजा स्क्यान टू पे प्रडक्टको प्रयोग हुँदै आएको छ । ग्लोबल आइएमई बैंकले पनि त्यहि बेला नै नेपालमा पनि प्रयोगमा ल्याउने अभ्यास गरेको थियो । तर, विभिन्न कारणले साढे २ वर्षपछि उक्त प्रडक्ट लञ्च गर्याे । ठूलो मेहेनत र प्रयासपछि नेपाली बैंकिङमा पहिलोपटक भिजा स्क्यान टू पे प्रडक्ट ल्याएको ट्रान्जिक्सन बैंकिङ प्रमुख प्रकाश पौडेल बताउँछन् । अब मोबाइल एपमा फिजिकल भिजा कार्ड अपडेट हुने र सोही भिजा कार्डको माध्यमबाट कारोबार गर्न सकिने उनको भनाइ छ । अब फिजिकल कार्ड बोक्नु पर्ने झण्झट र कार्ड बिना नै स्क्यान गरेर भुक्तानी गर्न मिल्ने उनले बताए । ‘विगत साढे दुई बर्षदेखिको अथक मेहनत पछि नेपाली बैंकिङमा पहिलोपटक यो प्रडक्ट ल्यायौं, अब प्लास्टिकको भिजा कार्डलाई भर्चुअलको माध्यमबाट कारोबार गर्न सकिन्छ, सधैं कार्ड बोक्नु पर्ने झन्झट हट्यो,’ उनले भने । भिजा स्क्यान टू पे प्रडक्टले बैंकको कारोबारलाई मात्रै नभई देशको भुक्तानी प्रणालीमा समेत टेवा पुर्याउनेछ । फिजिकल कार्ड स्वाइप र चलाउनु पर्ने बाध्यताको अन्त्य हुँदा कारोबार समेत पारदर्शी हुने पौडेलले बताए । पछिल्लो समय क्यूआरको माध्यमबाट कारोबार गर्नेको संख्या उच्च छ । सोही मासलाई मध्येनजर गर्दै ग्लोबल आइएमई बैंकले आफ्नो भिजा कार्डलाई भर्चुअल बनाएको उनको भनाइ छ । ‘यदि भिजा कार्ड घरमै छुट्यो, बिर्सियो, हरायो भने चिन्ता लिनु पर्दैन किनकी उक्त भिर्जा कार्ड बैंकको ग्लोबल स्मार्ट प्लस मोबाइल एपमा अपडेट हुन्छ, कार्ड घरमै बिर्सेर वा हराए पनि मोबाइल एपबाटै भिजा कार्ड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ,’ उनले भने । साथै, फिजिकल कार्ड हुँदा चोरी हुने वा स्क्यामिङ हुने सम्भावना बढी छ । तर, डिजिटलमा फड्को मारेसँगै कार्ड कपी, चोरी, स्क्यामिङबाट पनि मुक्त हुने उनले बताए । साथै, सबै ठगीलाई कम गर्न बैंकले आफ्नो प्रणालीलाई निगरानीमा राखेको उनको भनाइ छ । बैंकको भिजा कार्ड प्रयोग गरिरहेका ग्राहकहरूको मोबाइल एपमा उक्त कार्ड अटोमेटि अपडेट हुने उनले बताए । बैंकमा गएर अपडेट गराउनु पर्ने बाध्यता पनि नरहेको उनको भनाइ छ । ‘भिजा कार्ड प्रयोग गरिराख्नु भएका ग्राहकहरूको मोबाइल एपमा अटोमेटिक अपडेट हुन्छ, यसलाई सूचारु गर्न बैंकमा आउनु पर्दैन, आजदेखि नै उहाँहरूको एपमा अपडेट भइसकेको छ,’ उनले भने । हाल यस प्रडक्टलाई स्वदेशमा मात्रै कार्यान्वयनमा ल्याएको भएपनि आगामी दिनमा विदेशमा समेत विस्तार गर्ने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्क कम्पनी भिजासँग सहकार्य गरेको हुँदा छिट्टै क्रस ब्रोर्डर गर्ने उनको भनाइ छ । डिजिटल बैंकिङमा सधैं अग्रणी भूमिका निर्वाह गर्दै आएको ग्लोबल आइएमई बैंकले आफ्ना सबै सेवालाई डिजिटल बनाइरहेको छ । यसअघि पनि थुप्रै डिजिटल प्रडक्ट ल्याइसकेको बैंकले ‘इनोभेसन’मा सधैं मेहेनत गर्ने उनको भनाइ छ । भिजा स्क्यान टू पेमा ग्लोबल आएमईले लिड गरेको भएपनि आगामी दिनमा अन्य बैंकहरूले ल्याउन सक्नेछन् । ‘सामाजिक सञ्जालबाटै बैंकिङ गर्न, स्मार्ट फोन नहुँदा पनि डिजिटल बैंकिङ अभ्यास गर्न सुरु गर्याैं, मिस्डकल बैंकिङ कारोबार गर्न सिकायौं, कर्जा लिन बैंकमा नआउनु पर्ने गरी सेवा दियौं, डेबिट कार्डमा फोटो राखेर सेवा दियौं,’ उनले भने, ‘संसारमा भुक्तानी प्रणालीमा नयाँ–नयाँ प्रडक्ट आउँदा नगदरहित समाजको परिकल्पनालाई यस प्रडक्टले पनि टेवा पुर्याउने छ ।’ साथै, बैंकले ‘इनोभेसन’मा अग्रणी भूमिका खेलेको हुँदा आगामी दिनमा ग्राहकमैत्री सेवा बनाउन भुक्तानी र डिजिटलमा समय सापेक्षा सेवा विस्तार गर्ने उनको भनाइ छ । ग्लोबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ स् कार्डको प्रयोग बिनै पेमेन्ट गर्न सकिने
साढे १६ लाख बढीले भरे हिमालयन रि इन्स्योरेन्सको सेयर
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा साढे १६ लाख बढीले आवेदन दिएका छन् । आईपीओको बिक्री खुला भएको अन्तिम दिनसम्ममा १६ लाख ६० हजार २२ जनाले सेयर भरेका छन् । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी)को अनुसार अन्तिम दिन अर्थात सोमबार ५ बजेसम्ममा साढे १६ लाख बढीले ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँ बराबरको आवेदन दिएका छन् । आवेदकहरुले कूल ३ करोड २२ लाख १५ हजार ७० कित्ता सेयर माग गरेका छन् । जुन कम्पनीले माग गरेको भन्दा बढी हो । कम्पनीले सर्वसाधारणबाट २ करोड ४९ लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर बिक्री गरेको हो । दोस्रो चरणमा कम्पनीले २ प्रतिशत अर्थात् ६ लाख कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।
नक्कली सवारी दर्ता किताब बनाउने पक्राउ
काठमाडौं । लिखत कीर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई हाल काठमाडौं बौद्ध बस्ने ४२ वर्षीय डिबी भन्ने दीलबहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनका अनुसार केही व्यक्तिहरुले लिखत कीर्ते गरी सवारी दर्ता किताबलगायतका कागजात तयार गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले दीलबहादुरलाई काठमाडौंको कालीमाटी र आइतसिंहलाई मनोहरा नगरपालिका–१ बम्ह्रखेलबाट पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट बाग्मती प्रदेश ०१–०२५ च २७५९ नम्बरको कारको ब्लुबुक एक थान, विभिन्न नम्बरका कारका सवारी दर्ता प्रमाणपत्र चार थान, कार पाँच वटा, विभिन्न सरकारी कार्यालयका छाप चार थान र मोबाइल दुई थान बरामद गरी लिखत कीर्तेसम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको प्रक्रिया सुरु भएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए । रासस