नक्कली सवारी दर्ता किताब बनाउने पक्राउ
काठमाडौं । लिखत कीर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई हाल काठमाडौं बौद्ध बस्ने ४२ वर्षीय डिबी भन्ने दीलबहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनका अनुसार केही व्यक्तिहरुले लिखत कीर्ते गरी सवारी दर्ता किताबलगायतका कागजात तयार गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले दीलबहादुरलाई काठमाडौंको कालीमाटी र आइतसिंहलाई मनोहरा नगरपालिका–१ बम्ह्रखेलबाट पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट बाग्मती प्रदेश ०१–०२५ च २७५९ नम्बरको कारको ब्लुबुक एक थान, विभिन्न नम्बरका कारका सवारी दर्ता प्रमाणपत्र चार थान, कार पाँच वटा, विभिन्न सरकारी कार्यालयका छाप चार थान र मोबाइल दुई थान बरामद गरी लिखत कीर्तेसम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको प्रक्रिया सुरु भएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए । रासस
ब्रिटिश काउन्सिल आईईएलटीएस प्राइज २०२३ को विजेता घोषणा
काठमाडौं । ब्रिटिश काउन्सिलले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियागिता ‘आईईएलटीएस प्राइज २०२३’ का विजेताहरूको नाम घोषणा गरेको छ । आफ्नो शैक्षिक सपनालाई वास्तविकतामा बदल्न चाहने महत्वाकांक्षी युवा पुस्ताहरूलाई मद्दत गर्न यस प्रतिस्पर्धामार्फत काउन्सिलले विश्वभरका अंग्रेजी भाषामा पढाइ हुने विश्वविद्यालयमा आईईएलटीएसका परीक्षार्थीहरूलाई विश्वविद्यालयको ५ हजार डलर (८ लाख ४० हजार नेरू)सम्मको ट्युशन शुल्कमा टेवा दिनेछ । यो वर्षको प्रतिस्पर्धा चीन, जापान, हङकङ, इन्डोनेशिया, कोरिया, मलेशिया, फिलिपिन्स, सिंगापुर ताइवान, थाइल्यान्ड, भियतनाम, बंगलादेश पाकिस्तान, नेपाल र श्रीलंकाबाट आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीका लागि खुला गरिएको थियो । प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत तीन जना विजेताहरूको नाम चयन गरिएको छ । यो वर्षका लागि नेपालका विजेताका नाम यस प्रकार रहेको छ : रिजु अधिकारी – प्रथम पुरस्कार जीबीपी ५ हजार (नेरू ८ लाख ४० हजार) उज्ज्वल भेटुवाल – द्वितीय पुरस्कार जीबीपी २ हजार (नेरू ३ लाख ३६ हजार) रिशिका शाह – तृतीय पुरस्कार जीबीपी १ हजार (नेरू १ लाख ६८ हजार) यसबाहेक पनि ब्रिटिश काउन्सिलमा दर्ता भएर सन् २०२३ को सेप्टेम्बर १ देखि नोभेम्बर ३० को बीचमा आईईएलटीएसको परीक्षा दिएका परीक्षार्थीहरूमध्ये केही भाग्यशाली विजेताहरूले आईईएलटीएस उपहार पाएका छन् । हरेक हप्ता एक जना भाग्यशाली विजेताले जीबेएल चार्ज ५ जितिरहेका छन् । मासिक विजेताले सेप्टेम्बर र अक्टोबरमा एप्पल म्याक पाएका थिए । दुई जना भाग्यशाली विजेतालाई आफूले रोजेको गन्तव्यका लागि कतार एयरवेजको एकतर्फी टिकट पनि दिइएको थियो । विजेताहरूको नाम लक्की ड्रमार्फत छान्ने गरिएको छ । यसको घोषणा ब्रिटिश काउन्सिलको सामाजिक सञ्जाल च्यानलमार्फत गर्ने गरिन्छ । ‘६० वर्षभन्दा बढी समयदेखि हामी नेपालमा छौं, हामीले यहाँको शिक्षामा भइरहेका सुधारलाई टेवा दिँदै युवा नेपालीलाई उनीहरूको पूर्ण सम्भावना हासिलका अवसर सृजना गरिरहेका छौं र अन्ततः नेपालको आर्थिक विकास तथा समृद्धिमा योगदान समेत दिइरहेका छौं । हाम्रो आईईएलटीएस प्राइज र आईईएलटीएस उपहार अभियानका विजेताहरूलाई हार्दिक बधाई छ । आईईएलटीएस प्राइजले तपाईंलाई तपाईंको सपना पूरा गर्न र शैक्षिक लक्ष्य हासिलमा मद्दत गर्छ भन्ने आशा मैले लिएको छुँ,’ ब्रिटिश काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडगलले भनिन् ।
लुम्बिनी विकास बैंकका ग्राहकलाई बयोधा अस्पतालमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । लुम्बिनी विकास बैंक र बयोधा अस्पताल बिच सम्झौता भएको छ । लुम्बिनी विकास बैंकले बल्खु, काठमाडौंमा अवस्थित बयोधा अस्पताल सँग विभिन्न किसिमका स्वास्थ्य उपचार सुविधाहरुमा १० प्रतिशत देखि १५ प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ । उत्त सम्झौता अनुसार बैंकका कर्मचारी एवम् डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ताहरुलाई स्वास्थ्य उपचार सुविधाहरुमा १० प्रतिशत देखि १५ प्रतिशत सम्म छुट प्रदान गरिने भएको छ । उक्त सुविधा बयोधा अस्पतालको बल्खु, काठमाडौं स्थित मुख्य कार्यालय बाट प्राप्त गर्न सकिने छ । सम्झौतामा उल्लेख भए अनुसार अस्पतालको जनरल हेल्थ तथा महिला हेल्थको प्याथोलोजी र परामर्श सेवाको प्याकेज विशेष छुटमा उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका मुख्य प्रबन्धक दिपक खनाल र अस्पतालको तर्फबाट मेडिकल डाइरेक्टर डाक्टर अरबिन्द कुमार साहले हस्ताक्षर गरे । लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।
कामना सेवा विकास बैंक र सेयरप्रो सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी सेयरप्रो सेक्युरिटिज सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि-आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् । उक्त सेवा मार्फत् आफ्ना ग्राहकले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो । काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।
बङ्गलादेशको वैदेशिक मुद्रा सञ्चिति २० अर्ब अमेरिकी डलर पुग्यो
काठमाडौं । दुई वैश्विक ऋणदाताको ऋण केन्द्रीय बैंकको खातामा जम्मा भएपछि बङ्गलादेशको विदेशी मुद्रा भण्डार २० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । यसबाट लामो समयदेखि विदेशी मुद्राको सञ्चितिमा भएको गिरावट रोकिएको छ । बङ्गलादेश बैंकका कार्यकारी अधिकृत तथा प्रवक्ता मोहम्मद मेजबुल हकले आइतबार पत्रकारहरूसँग ६८ करोड ९० लाख डलर अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) र ४० करोड डलर एसियाली विकास बैंक (एडिबी) बाट आएको जानकारी दिए । उनका अनुसार वैश्विक ऋणदाताबाट केन्द्रीय बैंकको खातामा एक अर्ब नौ करोड डलर ऋण प्राप्त हुनुअघि बिहीबार मुलुकको वैदेशिक मुद्रा सञ्चिति १९ अर्ब १७ करोड डलर थियो । विश्वव्यापीरूपमा आयात लागतमा उल्लेख्य वृद्धि हुनुका साथै विप्रेषण र निर्यातबाट हुने आम्दानी अपेक्षाकृत कम हुँदा विदेशी मुद्रा सञ्चिति घट्ने क्रम जारी छ । बङ्गलादेशको सबैभन्दा उच्च वैदेशिक मुद्रा सञ्चिति सन् २०२१ मा ४८ अर्ब डलर थियो । यद्यपि अन्तर्राष्ट्रिय उथलपुथलका कारण २०२२ को सुरुआतदेखि नै सञ्चितिको दर घट्दै गएको देखिन्छ । खुम्चिँदै गएको वैदेशिक मुद्रा सञ्चिति बढाउनका लागि केन्द्रीय बैंकले गत वर्ष धेरै उपाय अवलम्बन गरेको थियो । बैंक अन्तर्राष्ट्रिय कारोबारमा चिनियाँ युआनको प्रयोगसहित वैकल्पिक मुद्रा व्यवस्थामनमा लागेको छ । यद्यपि केन्द्रीय बैंकका अधिकारीहरूले वर्तमान सञ्चितिसँगै बङ्गलादेश करिब चार महिनाको आयातको भुक्तानी गर्ने स्थितिमा रहेको बताएका छन् । बङ्गलादेशजस्तो बढ्दो अर्थतन्त्रका लागि छ महिनाको आयात भुक्तानी बराबर वैदेशिक मुद्रा सञ्चिति पर्याप्त मानिन्छ । रासस
बीमा दाबी भुक्तानी पाउन धाउँदा बीमा रकमभन्दा बढी खर्च हुने अवस्थाको अन्त्य गर्नुपर्छ : मुख्यमन्त्री कार्की
काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा आज कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमा क्षेत्रको विकास तथा बीमाको दायरा विस्तारका लागि कानूनी र नीतिगत व्यवस्थाका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । मुख्यमन्त्री कार्कीले भने, ‘बीमा कम्पनीहरूले लोभलालच देखाएर वा प्रभावित पारेर बीमा गर्नु भएन, बीमा दाबी भुक्तानी पाउन धाउँदा धाउँदा बीमा रकमभन्दा बढी खर्च हुने अवस्थाको अन्त्य गर्नुपर्यो, स्वतःस्फूर्त रूपले बीमा गर्न पाउने अवस्था सिर्जना गर्नुपर्यो ।’ मुख्यमन्त्री कार्कीले किसानले बीमा दाबी नपाउने तर ठूला बीमितले भने सजिलै पाउने अवस्थाले बीमाप्रतिको विश्वास नबढ्ने उल्लेख गर्दै विदेशको नक्कल नगरी देशको भौगोलिक अवस्था तथा नागरिकको आवश्यकता आधारमा बीमालेख ल्याउन र बीमालेखमा ‘वा, तर’ जस्ता शब्द प्रयोग नगरी यथार्थ वाक्याङ्श राखी सबैले बुझ्ने सरल भाषामा बीमालेख ल्याउन सुझाव दिए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरीबी न्यूनीकरणमा बीमाबाट समेत योगदान पुग्ने भएकाले सरकारले बीमालाई गरीबी न्यूनीकरणको प्रमुख रणनीतिसँग जोड्नुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष सिलवालले भने, ‘बीमा अन्तर्राष्ट्रिय सिद्धान्तका आधारमा चल्छ, बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ, बाहिर आए जस्तो दाबी भुक्तानीमा समस्या छैन, बीमा कम्पनीहरूबाट ७० प्रतिशतभन्दा बढीको दाबी भुक्तानी भइसकेको तथ्याङ्क छ ।’ देशको भौगोलिक आवश्यकताका आधारमा बीमालेख ल्याउन सहयोग गर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘सरकारले सबै दायित्व लिन सक्दैन, बीमा मार्फत थोरै रकममा दायित्व हस्तान्तरण गर्न सकिन्छ, प्रदेश सरकारको पनि यसतर्फ ध्यान जानुप¥यो, प्रदेश बीमा नीति ल्याउनुपर्यो, बीमा नीति तर्जूमामा सहयोग गर्न प्राधिकरण तयार छ ।’ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमाको महत्व, बीमा बजारको विद्यमान अवस्था, बीमाको विकास एवम् दायर विस्तारमा प्रदेश सरकारको भूमिका लगायतका विषयमा प्रस्तुती गरेका थिए । कार्यक्रममा कोशी प्रदेशका मन्त्री, प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिवहरू, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक, प्रदेशस्थित विभिन्न सरकारी निकायका पदाधिकारीहरू, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, सानिमा जीआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
ग्लोबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ : कार्डको प्रयोग बिनै पेमेन्ट गर्न सकिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुरुवात गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ग्लोेबल आइएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरेको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेप्सका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्युआर स्क्यान गरी प्रथम कारोबारसहित उक्त सेवाको संयुक्तरुपमा शुभारम्भ गरेका हुन् । उक्त प्रविधिमार्फत बैंकका भिजा कार्डवाहक ग्राहकहरुले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोवल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत कुनैपनि पेमेन्ट गर्न सक्नेछन् । भिजा स्क्यान टु पे एउटा कार्ड–देखि–व्यापारी भुक्तानी सेवा हो । जहाँ कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ । कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका लेनदेन बैंकिङ बिक्री र व्यापारका प्रमुख प्रकाश पौडेलले यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोशेढुङ्गा सावित हुने बताए । उनले प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि बढ्दै जाने आशा व्यक्त गरे । अब ग्लोबल आइएमई बैंकका भिजा कार्डवाहक ग्राहकहरुले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत कुनैपनि पेमेन्ट गर्न सक्नेछन् ।
पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए । उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन । यस्तै सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ । चाँदीसमेत रिफाइन गरिएको छैन । गत वर्षको भदौ ७ देखि गएको मङ्सिर १६ गतेसम्म मन्दिरमा सङ्कलित उक्त रिफाइन नगरी तौल भएको सुन, चाँदी रिफाइन गर्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यसअघि दुई वर्षको अवधिमा सङ्कलित सुन चाँदीको विवरण यकीन भएको थियो । उक्त विवरणअनुसार २०७७ साल भदौ १८ देखि २०७९ भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल रहेको छ । दुवैपटक तौल गरिएको सुन बिक्री गरिएको छैन । यसपटक सङ्कलित सुन रिफाइन पछि लिलाम बिक्री हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । यस्तै पाथीभरामा सङ्कलन भएको भेटी रकमसमेत गणना भइरहेको छ । मन्दिरबाट जम्मा गरेर क्षेत्र विकास समितिको भण्डारमा राखिएका नोट मिलाउने काम भइरहेको कार्यकारी निर्देशक हाङ्बाङले बताए । अपुग कर्मचारी थप गरेर लामो समयदेखि थुप्रिएका नोट मिलाउने र गणना गर्ने कार्य भइरहेको उनको भनाइ छ । रासस