हिमालयन लघुवित्तले पुस २५ गते डाक्यो १२औँ साधारणसभा
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको पुस २ गते बसेको बैठकले १२औं वार्षिक साधारणसभा पुस २५ गते त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । लघुवित्तको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्नेछ । साथै, संस्थापक सेयरधनीहरुकोतर्फबाट प्रतिनिधित्व गरेका सञ्चालकहरुको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ । लघुवित्तले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस ६ गते सेयरधनी बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा पुस १६ गतेभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरु मात्रै साधारणसभामा सहभागी हुन सक्ने छन् ।
कुवेतबाट धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै
काठमाडौं । इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किइन् । गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर कुवेती नागरिकको घरमा काम गर्दै गर्दा उनले कसैको गर्भ बोकिन् । त्यसपछि उनी आफूलाई उद्धार गर्न भन्दै त्यहाँ कार्यरत समाजसेवी घनश्याम थापा मगरको साथ पुगिन् । समाजसेवी थापाको आवश्यक सहयोगपश्चात् कागजात बनाई ४ महिनाअघि उनी नेपाल फर्किन सफल भइन् । ‘त्यो बहिनी नेपाल गएको ४ महिना भइसक्यो, उसलाई गर्भ बोकाउने केटा अझै फरार छ,’ उनले भने, ‘अझै २ जना नेपाली चेली गर्भ बोकेर बसेका छन्, उनीहरू पनि उद्धारको पर्खाइमा छन् । उनीहरू गैरकानुनी रूपमै कुवेत माभुल्लामा लिभिङमा बस्दै आएका छन्, माभुल्लाको एकै भवनमा बस्ने तीन जना नेपाली चेली गर्भवती भएका हुन् । ६ तलामा बस्ने एक जनालाई भने नेपाल पठाइसकेका छौं, बाँकी दुई जना ४ /५ तलामा बस्छन्, पीडितले पटकपटक मसँग नेपाल जान सहयोग गरिदिन आग्रह गरे तापनि म त्यहाँ पुगेको छैन ड्युटीको व्यस्तताले गर्दा ।’ अहिले गर्भवती भई नेपाल फर्काउन सहयोग माग्ने दुई जना चेलीलाई पनि आवश्यक कागजात बनाई सहयोग गर्ने उनको भनाइ छ । वार्षिक रूपमा अनुमानित २५ देखि ३० जना नेपाली चेली गर्भवती भएर नेपाल फर्काइदिनु भन्दै सहयोग माग्न आउने गरेको तथ्यांक रहेको उनले बताए । पछिल्लो समय गैरकानुनी रूपमा कुवेत पुगेका नेपाली चेली मन मिल्दा लिभिङ टुगेदरमा बस्ने र मन नमिलेपछि गर्भ बोकाएर केटाहरू भाग्ने हुँदा धेरै चेलीले उद्धारका लागि हारगुहार गर्ने गरेका छन् । उता, यूएईमा पनि गर्भवती भई धेरै चेलीहरू समस्यामा पर्ने गरेको गैरआवासीय नेपाली संघ ९एनआरएनए० यूएईका उपाध्यक्ष तथा राहत उद्धार संयोजक भीम मल्ल ठकुरीले बताए । उनले भने, ‘न त उनीहरूसँग कुनै भिजा छ, न त कुनै विवाह दर्ता छ, माया प्रेमपछि सँगै बस्ने गर्छन्, समस्या भएपछि केटाहरू भाग्ने गरेको पाइएको छ ।’ उनले बच्चा जन्म दिएर भाग्ने र महिला अलपत्र पर्ने धेरै केसहरू आएको बताए । ‘त्यसैले क्षणभरको रमाइलोभन्दा आफ्नो जिन्दगी सोच्न र सँगै बस्ने गर्नुभन्दा पहिला त्यो मान्छे कहाँको हो, कस्तो हो बुझेर मात्र संगत गर्न म अनुरोध गर्न चाहन्छु,’ ठकुरीले भने । उनले बस्नै परेको खण्डमा नेपालको गाउँपालिका वा नगरपालिकाबाट सिंगल लेटर मगाएर यूएईको कोर्टमा गएर विवाह दर्ता गरी बच्चा जन्माउन पनि अनुरोध गरे । यो सामाचार राजधानी दैनिकमा छ ।
हकप्रद सेयर र मर्जर प्रस्ताव पारित गर्न सगरमाथा जलविद्युतले डाक्यो साधारणसभा
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पुस २५ ते काठमाडौंमा अपरान्ह १ बजे तेस्रो साधारणसभा बोलाएको हो । कम्पनीको सभाले हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, कुनै उपयुक्त जलविद्युतसँग मर्जर तथा एक्विजिशनका लागि सञ्चालक समितिलाई अख्त्यिारी प्रदान गर्नेछ । सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । यस्तै, संस्थागत सुसाशन सम्बन्धी प्रतिवेदन र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ । कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेप्सेमा पुस ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी हुन पाउने छन् ।
मर्जरपछि प्रभु महालक्ष्मी लाइफको सेयर सूचीकृत
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । साविकको प्रभु लाइफ र सूचीकृत नभएको महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा मर्जभएपछि बनेको प्रभु महालक्ष्मीको ४ करोड २९ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर सोमबार अर्थात पुस २ गते सूचीकृत भएको हो । यससँगै अब उक्त सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । दुई कम्पनी एक बराबर एकको अनुपातमा एक आपसमा मर्ज भएका थिए । मर्जरको प्रकृयामा गएपछि नेप्सेले कम्पनीको सेयर दोश्रो बजारमा रोक्का गरिदिएको थियो ।
नागरिक स्टक डिलरमार्फत किनबेच भएको सेयर सेटलमेन्टको भुक्तानी अब इसेवाबाट
काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवामार्फत नागरिक स्टक डिलरबाट किनबेच भएको सेयर सेटलमेन्टको भुक्तानी हुने भएको छ । जसको लागि इसेवा र नागरिक स्टक डिलबीच सम्झौता भएको छ । उक्त अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल प्रधानले हस्ताक्षर गरेका छन् । साथै नागरिक स्टक डिलर मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ । यस सम्झौताले लगानीकर्ताहरुलाई नागरिक स्टक डिलरबाट गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
सिंहदरबारबाटै नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको निरीक्षण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ-बुटवल सडकखण्ड र मुग्लिन-पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गरेका छन् । सोमबार दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन दुई सडकखण्डका बारेमा जानकारी लिए । निरीक्षणपछि प्रधानमन्त्रीले भने, ‘हाम्रा परियोजना भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्नेगरी कामको प्रगति भएन । यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन । यसतर्फ हाम्रो भूमिका गुणात्मकरूपले बढाउनुपर्छ ।’ गिटी, बालुवा ढुङ्गा, विद्युत्का सानातिना समस्या सरकारले शीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘फिल्डका कार्यालयले समयमै सम्बन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुपर्यो । समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ । दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ ।’ परियोजनाहरू निर्धारित लक्ष्यअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले तोकिएको समयमा नै आयोजना सम्पन्न गर्न निर्देशन दिए । विविध कारण देखाएर निर्माणमा विलम्ब भयो भन्न नपाइने उनको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘यी दुई परियोजना अत्यन्तै महत्त्वपूर्ण छन् । समयमै सकिनुपर्छ, म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु ।’ अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट कसैलाई नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘राष्ट्रिय गौरवका योजनामा काम दुई सिफ्टमा गराउनुपर्छ । यसका लागि गम्भीर गृहकार्य गरौं । यो काम गर्ने अन्तिम अवसर हो । सबैले एकपटक सदुपयोग गरौं ।’ रासस
भृकुटीमण्डपस्थित खुल्ला बजारका समस्या समाधान गर्न मन्त्री आचार्यको निर्देशन
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपस्थित खुल्ला बजारको समस्या तत्काल समाधान गरिने जानकारी दिएका छन् । ‘भृकुटीमण्डप हाताभित्र अवस्थित खुल्ला बजारको ३२औँ स्थापना दिवस’ का अवसरमा काठमाडौं निम्न व्यापारी सङ्घद्वारा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले खुल्ला बजारभित्रका समस्या तत्काल समाधान गर्न सङ्घ र समाज कल्याण परिषद्लाई निर्देशन गरे । ‘प्लास्टिकको छानालाई टिनको छानामा परिवर्तन गर्न लागि पहल भइरहेको छ’, उनले भने, ‘शौचालय, खानेपानी, ढल निकासलगायत यस क्षेत्रका समस्या समाधान गर्न सरकारले बजेट बिनियोजन गरेको छ ।’ सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले प्लास्टिकको छानामुनि व्यापार गर्न जोखिम रहेको बताए । ‘परिषद्लाई टिनको छाना लगाउन पहल गर्न पटक पटक अनुरोध गरेको तर अझै पनि छानामुनिको कष्टप्रद व्यापारी, ग्राहकले भोगिरहेका छन् । विगतदेखिका यी समस्या समाधानमा समन्वयात्मक पहल आवश्यक रहेको छ,’ उनले भने । समाज कल्याण परिषद्, भृकुटीमण्डप व्यवस्थापन विभागका प्रमुख दीपेन्द्र पन्तले शौचालय, खानेपानीलगायत समस्या समाधान गर्नेतर्फ विभाग अग्रसर रहेको बताए । सङ्घ उपाध्यक्ष गोविन्द पौडेलले निम्न आय भएका मानिसको रोजाइमा रहेको भृकुटीमण्डप खुल्ला बजारमा दैनिक ४०-४५ हजार मानिस किनमेल गर्न आउने गरेको दाबी गरे । समाज कल्याण परिषद्का सदस्यसचिव मनोजकुमार भट्टले व्यवस्थित पार्किङको काम सुरु भइसकेको जानकारी दिँदै भृकुटीमण्डप खुल्ला बजारको उचित व्यवस्थापनका लागि पहल गर्ने बताए । समाज कल्याण परिषद्का नाममा रहेको जग्गामा भृकुटीमण्डपका व्यापारीहरुले व्यापार गर्दै आएका छन् । सङ्घले स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७० जना बढीले रक्तदान गरेको आयोजकले जनाएका छन् । रासस
माछापुच्छ्रे बैंक, नेप्स र सिटीटेकले गेटपे सञ्चालन गर्ने, गरे सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंक, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स (नेप्स) र सिटीटेकले यूनाइफाइड मर्चेन्ट म्यानेजमेन्ट सिस्टम (एकीकृत व्यापार व्यवस्थापन प्रणाली) गेटपे सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेका छन् । तीन वटै संस्थाले पुस २ गते सोमबार संयुक्त रुपमा सम्झौता गरेका हुन् । सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका हुन् । नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक प्रणाली सञ्चालनमा आइसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र सञ्जालहरुलाई बैंक र व्यापारीहरुले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन् । सम्झौताले व्यापारीहरुको हाल भुक्तानी उपकरण तथा सञ्जालसँग अलगअलग रजिष्ट्रेशन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्ममार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ । यसका साथै हाल प्रचलनमा आइरहेका सबै भुक्तानी उपकरणहरु तथा सञ्जालहरुलाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीहरुलाई सेवा लिन र दिन सहज हुनेछ भने कारोबारी र कारोबारसँग सम्बन्धित महत्वपूर्ण डाटाहरुको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरुमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेशन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरुलाई बैंकहरुले अझ परिष्कृत सेवाहरु प्रदान गर्न सहज हुने लगायतका विशेषता गेट पे मा रहेका छन् । सम्झौतापछि तीनै पक्षले सकेसम्म चाँडो यसलाई प्रयोगमा ल्याउने र नेपाली भुक्तानी जगतमा नयाँ आयामको रुपमा थपिने दाबी गरेका छन् ।