विकासन्युज

सदनको एकवर्षे उपलब्धिबाट सन्तुष्ट हुन सकिएन : सांसद बैरागी

गण्डकी । नेकपा (एमाले)का नेता दामोदर पौडेल ‘बैरागी’ले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैको काम आफूले गर्न खोजेको आरोप लगाएका छन् । उनले भने, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आ–आफ्नैखाले जिम्मेवारी रहन्छन् । ती निकायबीच शक्ति सन्तुलन हुनुपर्छ, चौथो अङ्गका रूपमा सञ्चार जगत्लाई हेरिन्छ । तर सरकारले सबै क्षेत्रको काम मै गर्छुु भनेझैँ गरी अघि बढेको देखिन्छ ।’ न्याय क्षेत्रमा हस्तक्षेप गर्ने र राष्ट्रपतिलाई विवादमा ल्याउने काम वर्तमान सरकारले गरेको आरोप लगाउँदै नेता बैरागीले सरकारका गतिविधि र सदनको एक वर्षको उपलब्धिबाट आफू सन्तुष्ट नभएको प्रतिक्रिया दिए। ‘सांसदसँग रासस संवाद’मा उनले न्यायालयको फैसलाको भावनाविरुद्ध जघन्य अपराधमा संलग्न कैदीको रिहाइलगायत कतिपय विषय र घटनामा कार्यपालिकाले ‘ओभरटेक’ गरेको आफूलाई अनुभूति भएको प्रतिक्रिया दिए । कास्की क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने बैरागी नेपाली कम्युनिष्ट आन्दोलनमा विद्यार्थीकालदेखि नै सक्रिय र पार्टीको तल्लो तहबाटै राजनीतिमा सक्रिय भएका थिए ।  विसं २०२३ मा कास्की सल्ल्यान गाउँमा जन्मिनुभएका उहाँ २०३९ मा नेकपा (माले)मार्फत कम्युनिष्ट पार्टीमा आबद्ध भए । उनी २०४५ देखि २०५५ सम्म नेपाल टे«ड युनियन महासङ्घमा संलग्न भए । विसं २०५५ देखि २०७६ सम्म नेकपा (एमाले)मा पूर्णकालीन सदस्य बैरागीले विसं २०७० देखि कास्की जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हालेका हुन् । प्रतिनिधिसभा सदस्यको जिम्मेवारी बैरागीका लागि नयाँ अनुभव  हो । संसद्को एकवर्षे कार्यकालयमा सामान्य एक–दुईवटा मात्र विधेयक पारित भएको  जनाउँदै उनले नयाँ विधेयक नआएको र संशोधनका लागि आएका विधेयक पनि पारित नभएका बताए । विधेयक ल्याउनुपूर्व सरकारले सरोकारवालासँग पर्याप्त छलफल गर्न आवश्यक रहेको बताउँदै सांसद बैरागीले सरोकारवालासँग आवश्यक छलफल र बहस गरी ल्याएको विधेयकलाई समृद्ध तुल्याउन सकेमात्र गुणस्तरीय कानुन निर्माण हुने विश्वास व्यक्त गरे । ‘पुरानो कानुन संशोधन गर्न सकिन्छ कि अथवा नयाँ कानुन नै जरुरी हो भन्नेबारेमा पनि  पर्याप्त छलफल हुनुपर्ने देखिन्छ, तर यसरी बहस र विचारविमर्श गरेको भने देखिँदैन’, उनले भने । सङ्घीय संसद्मा सचिवालयमा दर्ता भई परिपक्व भएपछि सदनमा टेबल हुने विधेयक  सैद्धान्तिक छलफलपछि विषयगत समितिमा पठाइने र त्यहाँ सशोधन र दफावार छलफलको प्रक्रियाका आधारमा अघि बढ्ने प्रक्रियागत जानकारी सांसद पौडेलले दिए । संविधानले राष्ट्रिय अखण्डता, गणतन्त्र, समावेशिता, सङ्घीयता, बहुदलीयता, बहुलवादी खुला समाजको कुरा गरेको उल्लेख गर्दै नेता बैरागीले अहिले सडक र सदनमा देखिएका संविधानविरोधी गतिविधिलाई सरकारले बेवास्ता गरेको आरोप लगाए । समावेशितामाथि हस्तक्षेप गर्न खोजिएको बताउँदै उनले भने ‘राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका बेला उठेको आवाजलाई गम्भीरताका साथ सम्बोधन हुनुपथ्र्यो, त्यो किन भएन ।’ कानुन कार्यान्वयन कानुनसम्मत नियमन गर्ने विषयमा सरकार गम्भीर नदेखिएको बताउँदै उनले टिकटक बन्द गर्नुअघि सूचना र सञ्चार क्षेत्रलाई नियमन गर्ने कानुुन बनाउनपर्नेमा सरकारले त्यसमा कमजोरी गरेको आरोप लगाए । सरकारले केही नेपाल ऐन संशोधन गर्ने नाममा भूमि, जलस्रोत, गृहलगायत विषय संशोधन गर्दै आएको बताउँदै नेता बैरागीले यस्ता महत्त्वपूर्ण विषयमा कानुन निर्माण गोलमटोल ढङ्गबाट गरिनुहुन्न भन्ने आफ्नो मान्यता रहेको विचार प्रकट गरे । संसद्मा विधेयक विचाराधीन भएका अवस्थामा एउटा दफासँग जोडेर केही नेपाल ऐन भनेर ल्याएर पारित गर्नेजस्ता गतिविधि बढेको बताउँदै उनले सरकारले लामो समयसम्म सशस्त्र द्वन्द्वका पीडितलाई सङ्क्रमणकालीन न्याय दिन नखोजेको आरोप लगाए । नेता बैरागीले भने, ‘यतिका वर्ष बित्यो, संविधान पनि कार्यान्वयन भएर हामी दोस्रो कार्यकालमा आएका छौँ  तर सङ्क्रमणकालीन न्याय दिने कुरा आजसम्म भएको छैन । द्वन्द्वमा परेको मानिसका एक पुस्ता मरेर गइसके । बीस वर्षभनेको थोरै समय होइन, एक पुस्ताले आशै मारिसक्यो न्याय पाउँछौँ भनेर ।’ जनताले सुशासनको अनुुभूूति गर्न नसक्दा निराश बनेको बताउँदै सांसद बैरागीले सुशासनको अनुभूति नहुँदा युवा जनशक्ति पलायन भएको जनाए । उनले उनीहरूलाई स्वदेशमै बस्ने किसिमको वातावरण तयार गर्ने गरी लाग्न जरुरी भएको सुझाव दिए । नेता बैरागीका अनुसार दक्ष जनशक्ति, युवा र विद्यार्थी देशबाट पलायन हुने खतरा बढेको छ । त्यसलाई रोक्नका लागि सरकारले सुशासनसँगै उनीहरूलाई यहीँ बस्ने वातावरण तयार गर्नुपर्छ । प्राविधिक जनशक्ति तयार भएमा यहीँ उनीहरूको श्रम र सीपको उपयोग हुन्छ । त्यसका लागि प्राविधिक क्याम्पसहरू सञ्चालनमा ल्याउनुपर्छ । आफ्नो निर्वाचन क्षेत्र प्रकृति र संस्कृतिले सम्पन्न भएको बताउँदै उहाँले तीनको संरक्षण र उपयोगमार्फत समृद्धि हासिल गर्न सकिने धेरै सम्भावना रहेका बताए । सांसद बैरागी भन्छन्, ‘पर्यटकीयरूपमा अन्नपूर्ण, माछापुच्छ्रे, मर्दी, तातोपानी, सेती गण्डकी, फेवाताल, विन्ध्यवासिनी, नारायणस्थान, बाराही, शान्तिस्तुप, महादेव मन्दिर, पञ्चासे, कास्कीकोट, सराङकोट, उल्लेरी, विरेठाटी, मेश्रम बराहजस्ता धेरै पर्यटकीयस्थल यही छन् ।’ पुुष्पलाल मध्यपहाडी लोकमार्ग पनि त्यहीबाट गएकाले धेरै सम्भावना रहेता पनि कतै कानुनको अभाव त कतै सरकारको कमजोरीका कारण उपयोग हुनसकेको उनको बुझाइ छ । आफूसम्बद्ध पार्टी नेतृत्वको सरकारले राजनीतिक स्थायित्व र  समृद्धि तथा  सङ्क्रमणकालीन न्यायमार्फत जनताका आकाङ्क्षालाई सम्बोधन गर्ने ध्येयका साथ अघि बढेको दाबी उहाँले गरे। उनले भने, ‘मध्यपहाडी लोकमार्गमा समृद्धिका लागि सङ्कल्प यात्रामार्फत ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नाराका साथ सञ्चालन भएको जनताका समस्याबारे जानकारी लिने अभियान सफल भएको छ ।’ रासस

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

मन्थली (रामेछाप) । लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए । पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए । प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा छात्रामाथि यौन दुर्व्यवहार गरेका थिए । रासस

हस्तकला व्यापार मेलामा दुई करोडको कारोबार

काठमाडौं । गत मङ्सिर २८ गतेदेखिसोमबारसम्म यहाँ  सञ्चालन भएको हस्तकला व्यापार मेलामा रु दुई करोडको कारोबार भएको नेपाल हस्तकला महासङ्घले जनाएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी ती वस्तुलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्र्ने उद्देश्यले आयोजित मेलामा महासङ्घका सदस्य तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला हस्तकला सङ्घ र वस्तुगत सङ्घहरूसमेतको सहभागिता थियो भने मेलामा धातुकला, सुनचाँदीका गरगहना, सुती एवं ढाकाका लुगा, पश्मिना, छालाजन्य सामग्री, प्राकृतिक रेसा, बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्री गरिएको थियो । हस्तकलाका वस्तुका करिब एक सय २० वटा विक्री तथा प्रदर्शनी कक्ष राखिएको थियो भने  स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई छलफल गरिएको थियो । बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकारले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने यस क्षेत्रबाट देशमा वैदेशिक मुद्रा आर्जनका लागि टेवा पुगेको बताउँदै हस्तकलाले उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्ने हुँदा यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । महासङ्घका अनुसार नेपाली हस्तकलाका सामग्री विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छन् । स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कुल बजार रु २४ अर्ब हाराहारीमा रहेको तथा हस्तकला व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा संलग्न छन् । वार्षिक रु १२ अर्ब बराबरका सामग्री निर्यात हुने गरेका छन् ।रासस

कर्जा सूचना केन्द्रले प्रतिसेयर २० रुपैयाँ लाभांश बाँड्ने

काठमाडौं । कर्जा सूचना केन्द्रले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कर्जा सूचना केन्द्रको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कर्जा सूचना केन्द्रले प्रतिसेयर २० रुपैयाँ अर्थात् चुक्ता पुँजीको २० प्रतिशतका दरले ८ करोड ७२ लाख ५० हजार ७६० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न पुस २३ गते १९ औँ वार्षिक साधारणसभा काठमाडौंमा बिहान साढे १० बजे डाकेको छ । सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक १ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको प्रस्ताव अनुमोदन गर्नेछ ।

नबिल बैंकमा नेप्सेको पनि लगानी, यी हुन् ५ ठूला सेयरधनी

काठमाडौं । नबिल बैंकमा विभिन्न ५ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ५ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ । बैंकमा सबैभन्दा ठूला सेयरधनी एन.बी.(ईन्टरनेशनल)लिमिटेड हो । एन.बी. इन्टरनेशनलको ३९.४४ प्रतिशत अर्थात् १० अर्ब ६७ करोड ६ लाख २४ हजार २८४ रुपैयाँको रहेको छ । यस्तै, आई.एफ.आई.सी. पी.एल.सी. बङ्गलादेशको ७.७७ प्रतिशत अर्थात् २ अर्ब १० करोड १७ लाख २६ हजार ४०६ रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै राष्ट्रिय बीमा कम्पनीको ७.६३ प्रतिशत अर्थात् २ अर्ब ६ करोड ३६ लाख ९८ हजार ६८१ रुपैयाँ सेयर स्वामित्व छ । यस्तै, निर्वाणकुमार चौधरीको ०.७० प्रतिशत अर्थात् १८ करोड ९७ लाख ४५ हजार ९ सय रुपैयाँ र वरुण चौधरीको ०.६७ प्रतिशत अर्थात् १८ करोड ८ लाख ९८ हजार सय रुपैयाँ सेयर स्वामित्व रहेको बैंकले जनाएको छ । बैंकका अनुसार स्वदेशी स्वामित्व ५२.३५ प्रतिशत अर्थात् १४ अर्ब १६ करोड ४७ लाख ९२ हजार ९११ रुपैयाँ र विदेशी लगानीकर्ताको स्वामित्व ४७.६५ प्रतिशत अर्थात् १२ अर्ब ८९ करोड २२ लाख ३ हजार ८१८ रुपैयाँ रहेको छ । बैंकका अनुसार मुथुट फाइनान्सको ०.४४ प्रतिशत, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को ०.२६ प्रतिशत र एम.ए.डब्ल्यु इन्टरप्राइजेज् प्राइभेट लिमिटेडको ०.२२ प्रतिशत सेयर स्वामित्व छ । बैंकको सञ्चालक अनन्त पौड्यालको २६ हजार १८८ कित्ता, प्रविन टिवडेवालाको १ हजार ५६ कित्ता र प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाको १० हजार ५९ कित्ता सेयर स्वामित्व रहेको छ ।

१ लाख १४ हजार कित्ता सेयर बेच्दै कर्पाेरेट डेभलपमेन्ट बैंक

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको १ लाख बढी कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख १४ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालय बिरगन्ज पर्सामा निवेदन दिनुपर्नेछ । बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।

बैंकहरूले कमाए ४ महिनामा पौने २१ अर्ब नाफा, नबिलले सबैलाई टप्दा प्राइम चौथोमा उक्लियो

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा वाणिज्य बैंकहरूले झण्डै २१ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत कार्तिकसम्म २० वटा वाणिज्य बैंकहरूले २० अर्ब ७३ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । ४ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा गर्नेमा नबिल बैंक रहेको छ । यस बैंकले कात्तिकसम्म २ अर्ब १६ करोड रुपैयाँ नाफा गरेको हो । यस्तै, ग्लोबल आइएमई बैंकले १ अर्ब ९४ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ र प्राइम बैंकले १ अर्ब ५३ करोड रुपैयाँ नाफा गरेका हुन् । यस्तै, हिमालयन बैंकले १ अर्ब ५० करोड ६६ लाख रुपैयाँ, एनआइसी एशिया बैंकले १ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड ६७ लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ८ करोड २ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९८ करोड १९ लाख रुपैयाँ, कुमारी बैंकले ८८ करोड ८० लाख रुपैयाँ, सानिमा बैंकले ७७ करोड ७८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ६७ करोड १५ लाख रुपैयाँ, नेपाल बैंकले ६६ करोड ८१ लख रुपैयाँ नाफा गरेका हुन् । यस्तै, नेपाल एसबिआई बैंकले ६० करोड ५६ लाख रुपैयाँ, सिटिजन्स बैंकले ५८ करोड २४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ५१ करोड ५९ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ३३ करोड ३८ लाख रुपैयाँ नाफा गरेका हुन् । गत कात्तिकसम्मको तथ्याङ्क अनुसार कृषि विकास बैंकले भने नोक्सानी बेहोर्नु परेको छ । बैंक २७ करोड ८८ लाख रुपैयाँ नोक्सानीमा छ ।

हिमालयन लघुवित्तले पुस २५ गते डाक्यो १२औँ साधारणसभा

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको पुस २ गते बसेको बैठकले १२औं वार्षिक साधारणसभा पुस २५ गते त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । लघुवित्तको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्नेछ । साथै, संस्थापक सेयरधनीहरुकोतर्फबाट प्रतिनिधित्व गरेका सञ्चालकहरुको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ । लघुवित्तले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस ६ गते सेयरधनी बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा पुस १६ गतेभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरु मात्रै साधारणसभामा सहभागी हुन सक्ने छन् ।