सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि तिर्यो प्रिमियम रकम बापतको कर
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि प्रिमियम रकम वापतको कर तिरेको छ । कम्पनीले सेयर प्रिमियमको रकमलाई निकायको आयमा समावेश गरी कर वापत १६ करोड १४ लाख ३६ हजार ६६६ रुपैयाँ ठूला करदाता कार्यालयमा दाखिला गरेको हो । सरकारको निर्णयलाई सर्वोच्च अदालतले सफाई दिएपछि कम्पनीले फर्दर पब्लिक अफरिङ (एफपीओ) मार्फत जारी गरेको सेयरबाट प्राप्त प्रिमियमको रकम र हकप्रद सेयर लिलामबाट प्राप्त भएको प्रिमियम रकमलाई आयकार मानि उक्त रकम कर बापत दाखिला गरेको हो । सरकारले आर्थिक ऐन, २०५० को दफा २६ मा एफपीओबाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकमबाट हिताधिकारीमा बोनस सेयर वितरण गर्दा आयमा समावेश गरी कर लाग्ने व्यवस्था गरेको छ । र, सो कर २०८० मंसिर मसान्तसम्म भुक्तानी गरेमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने शुल्क तथा ब्याज छुट सुविधा हुने व्यवस्था भएको र सर्वोच्च अदालतको सो सम्बन्धी बैंक तथा बीमा कम्पनीको रिट खारेजीको निर्णयका आधारमा कम्पनीले उक्त रकम बराबरको कर तिरेको हो ।
गुणस्तरीय बीमा व्यवसाय गर्न कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दिगो हुनेगरी गुणस्तरीय बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा सोमबार विराटनगरमा बीमा कम्पनीका कोशी प्रदेशस्थित प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुखहरुसँग आयोजित अन्तर्क्रियालाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा ऐन, नियम र निर्देशिका बमोजिम काम गर्न निर्देशन दिएका हुन् । ‘बीमा कम्पनीका कर्मचारी र बीमा अभिकर्ताहरुले बैंक र बीमाबीचको फरक नागरिकलाई बुझाउनुपर्छ’, उनले भने, ‘कागजको पूर्णता, ग्राहकको पहिचान र बीमितको स्रोत सुनिश्चितता भएपछि मात्र बीमा गर्नुपर्छ ।’ सम्पत्ति शुद्धीकरण गर्ने गरी बीमा गरेको पाइएमा कारबाही गरिने चेतावनी पनि अध्यक्ष सिलवालले दिए। ‘बीमकहरुले संस्थागत सामाजिक उत्तरदायित्व र कर्मचारीहरुको तालिमका लागि रकम छुट्याउनुपर्छ, कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम दिनुपर्छ’, उनले भने, ‘बीमकका कर्मचारीहरुले पनि बजारको अध्ययन अनुसन्धान गरेर नयाँ नयाँ बीमालेख ल्याउन माग गर्नुपर्छ ।’ अध्यक्ष सिलवालले बीमकका संचालक समिति र व्यवस्थापनबाट कर्मचारीहरुको हितविपरीत कार्य भएमा त्यसका बारेमा गोप्य रुपमा जानकारी दिन सुझाव दिए । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाप्रति नागरिकको विश्वास बढ्ने गरी स्वच्छ रुपमा बीमा व्यवसाय गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिए । कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र सानिमा जीआईसी इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले कार्यक्रममा उठेका प्रश्नहरुको जबाफ दिएका थिए । कार्यक्रममा सहभागीहरुले बीमकका प्रदेश तथा शाखा कार्यालयलाई सुविधा सम्पन्न बनाउन, अधिकार प्रत्योजन गर्न, जोखिमाङ्कन, दावी व्यवस्थापन र बजारीकरण सम्बन्धी तालिम दिन, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गको पाठ्यक्रममा बीमा विषय समावेश गराउनका लागि पहल गर्न, सञ्चालक र व्यवस्थापकको मात्र नभई कर्मचारीहरुको समेत वृत्ति विकासको व्यवस्था गर्न आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले गरेका थिए। कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख, बीमा कम्पनीका कोशी प्रदेशस्थित प्रदेश कार्यालय, शाखा कार्यालय र उपशाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।
सबस्टेशन निर्माणमा ढिलाइ, विद्युत् अनियमितताले व्यापार-व्यवसायमा समस्या
काठमाडौं । प्यूठानमा सबस्टेशन सञ्चालनमा ढिलाइ भएको छ । विद्युतको अनियमितता कम गर्ने उद्देश्यले प्यूठान नगरपालिका–८ दम्तीमा सबस्टेशन निर्माण सुरु गरिए पनि लामो समयसम्म काम थालिएको छैन । सबस्टेशन नहुँदा विद्युत् अनियमितताले व्यापार–व्यवसायमा समस्या भइरहेको स्थानीय व्यवसायी शिशिर थापाले गुनासो गरे । सबस्टेशनसम्म ३३ केभीको प्रसारण लाइन विस्तार गर्न लागिएको वर्षौ बित्दा पनि सबस्टेशन सञ्चालनमा ल्याइएको छैन । विसं २०७३ देखि निर्माण थालिएको सबस्टेशन २०७४ असार मसान्तसम्म सम्पन्न गरी सञ्चालन गरिनुपर्ने भए पनि छ वर्षसम्म निर्माण सम्पन्न हुनसकेको छैन । दम्तीमा ११ रोपनी जग्गामा एक ‘कन्ट्रोल भवन’ र दुईवटा ‘स्टाप क्वार्टर’ निर्माण गरिएको छ । सबस्टेशनसम्म ३३ केभीको प्रसारण लाइन विस्तार गर्न तार टाँग्ने काम अधुरै छ । सबस्टेशनसम्म विद्युतीय लाइन विस्तार नहुँदा सबस्टेशन सञ्चालनमा ढिलाइ भएको नेपालगञ्जस्थित नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख ई हरिप्रसाद पाण्डेले बताए । उनले भने, ‘धेरै ठाउँमा तार टाँगिएको छ, पुलमा जमिनमुनिबाट तार बिछ्याउने ठाउँमा ढुङ्गा भेटिएकाले समय लागेको छ ।’ सात करोड ५० लाखको लागतमा सबस्टेशन निर्माणको काम काठमाडौँको आरके इन्टरनेसनलले र रु पाँच करोड ३३ लाखको लागतमा लाइन विस्तारको ठेक्का त्रिपुरेश्वर–जयदुर्गा जेभीले जिम्मा लिएका थिए । प्रमुख पाण्डेले सबस्टेशन शीघ्र सञ्चालनका लागि प्रयास भइरहेको जानकारी दिए । सबस्टेशन सञ्चालन र सडकमा टाँगिएको अव्यवस्थित तार व्यवस्थापन गर्नुपर्नेमा स्थानीयवासीले जोड दिँदै आएका छन् । सबस्टेशन नजिकैका सडकमा होचा पोलमा भएका तार व्यवस्थित गर्न अतिआवश्यक भएको स्थानीयवासी शशिधर पण्डितले बताए । विद्युत् प्रसारण लाइनका लागि नदी किनारमा बाँध नहुँदा बगाउने जोखिम र सडकमा होचा तारले अग्ला गाडीमा करेन्टको जोमिख रहेको भन्दै लाइन सुरक्षित गर्न समेत आग्रह गर्दै आएका उनको भनाइ थियो । रासस
एनसेलको सेयर खरिदबिक्री ठीक ढंगबाट भएको छैन, सरकारले एक्सन लिन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको खरिदबिक्री ठीक ढंगबाट नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘मैले एनसेलको सेयर खरिद बिक्री प्रकरणको विश्लेषण गरिरहेको पनि मैले बुझेको छु । समितिको एकिन राय प्राप्त भएपछि सरकारले मुद्रा सटही, कर प्रशासन लगायतका विषयमा नयाँ कदम चाल्नेछ, मलाई शुरुमा नै यो ठिक ढंगले भएको छैन भन्ने लागेको हो,’ उनले भने । त्यस्तै, सरकार यो विषयमा गम्भीर र संवेदनशील रुपमा लागेको र कानुन तथा कर प्रणाली अनुसार छ खरिद बिक्री भएको छ वा छैन भन्ने विषयमा लागि परेको उनले बताए । ‘विभिन्न क्षेत्रबाट चासो व्यक्त गरिएको छ । यसको कारोबार भएको बेलामा म देशबाहिर थिएँ । सोही समयमा मैले यो समाचार दुबैइमा सुने, फर्कनेबित्तिकै सञ्चार मन्त्रालय, प्राधिकरणलाई निर्देशन दिन मुख्यसचिवलाई ड्राफ्ट गर्न लगाएर निर्देशन दिएँ,’ उनले भने । पछि सञ्चार मन्त्रालयलसँग छलफल गरि मंसिर २१ गते छानबिन समिति गठन गरिएको समेत उनले जानकारी गराए । प्राधानमन्त्री प्रचण्डले यो प्रकरण कसैलाई ओभरल्याप गर्ने गरी नगरिएको, छानबिनबाट नेपालको दूरसञ्चार क्षेत्रमा पर्ने प्रभाव, विदेशी लगानिमा पर्नसक्ने प्रभाव र नेपालको कर क्षेत्रमा पर्न सक्ने प्रभावको बारेमा अध्ययन गर्न निदेशन दिइएको बताए ।
पुस ५ गतेदेखि नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनी हुँदै
काठमाडौं । ‘नेपाल फर्मा एन्ड हेल्थ’ नामक औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी हुँदै छ । पुस ५ देखि ७ गतेसम्मभृकुटी मण्डप प्रदर्शनीस्थलमा ‘नेपाल फर्मा एन्ड हेल्थ अन्तरास्ट्रिय प्रदर्शनी’ जुन मिडिया स्पेस सोलुसन्सका साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् संयोजकत्वमा प्रदर्शनी आयोजना हुन लागेको हो। उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहने छन् । नेपाल फर्मा एन्ड हेल्थ अन्तर्रास्ट्रिय प्रदर्शनीमा प्रदर्शनी, सम्मेलन र साझेदारी रहनेछन् । यी तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने जनाइएको छ। नेपालले औषधि तथा स्वास्थ्य उद्योगको विकासमा एउटा निश्चित गति लिएको आयोजनकले जनाएको छ । यी क्षेत्रहरूबाट विशेष गरी देशको विस्तारित अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुन्छ र स्वास्थ्य सेवामा सरकारी लगानी बढ्नुका साथै नेपालको औषधि तथा स्वास्थ्य सेवा उद्योगले दिगो विकास पनि ल्याउन सक्ने सम्भावना रहेको बताइएको छ । नेपालमा भित्रिने औषधोपचारका सामग्रीहरूमा भारत लगभग ८०५ आयातको साझेदार हो, तसर्थ यो अन्तर्राष्ट्रिय प्रदर्शनीले भारतीय उपमहाद्वीपका विभिन्न सरोकारवालाहरूको ध्यानाकर्षण गर्न निकै मद्दत गर्दछ । नेपाली चिकित्साप्रणालीमा वैदेशिक योगदान तथा लगानीका लागि विभिन्न उत्कृष्ट अवसरहरू सिर्जना गर्नका लागि पनि यो प्रदर्शनीले उल्लेखनीय भूमिका निर्वाह गर्नेछ । नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम पनि गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने बागडोर पनि बन्नेछ। यस प्रकारका सहकार्यहरूले नेपालमा गुणस्तरीय औषधि र स्वास्थ्य उद्योगको विकासलाई सक्षम बनाउन व्यापक स्थान प्रदान गर्ने उद्देश्यलाई सकार्दै मानिसहरूको स्वास्थ्य सेवा आवश्यकताहरूमा प्रतिस्पर्धात्मक रूपमा योगदान पुर्याउने आयोजनकले विश्वास लिएको छ। यो प्रदर्शनीले विभिन्न देशका कम्पनिहरू र ब्राण्डहरू सहित बिजिनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने छ । यो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लिएर जानेछ भन्ने कुरामा आयोजक विश्वस्त छन् । नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा आउने चाहने इच्छुकहरूलाई प्रवेश निःशुल्क गरिएको छ भने प्रदर्शनीमा सहभागी हुन चाहने सम्पूर्णमा दर्ता खुला भएको आयोजकले जानकारी दिएका छन् ।
शिवम् सिमेन्टले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?
काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले वार्षिक साधारण सभा समेत डाकेको छ । कम्पनीले आगामी पुस २७ गते शुक्रबारको दिन आफ्नो आठौं वार्षिक साधारण सभा डाकेको छ । र, सभामा जाने प्रयोजनको लागि आगामी पुस १९ गते एक दिन बुक क्लोज गर्दै छ । यससँगै पुस १८ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन् ।
तीन दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती
इलाम । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । फाल्गुनन्द माग निर्माणका लागि अर्बौँ लगानी भइसक्यो तर यो लगानी बालुवामा पानीझैँ भएको छ भने आवागमन सहज नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । तीन दशक बितिसक्दासमेत सडक निर्माणले पूर्णता पाउन सकेको छैन । रतुवाखोला किनारमा खुलेको ट्रयाकमा सवारी साधन सञ्चानबाहेक केही प्रगति भएको छैन । दमकबाट घर्ती दोभानसम्म सोही खोलको ट्रयाकमा गाडी चलेका छन् तर सामान्य वर्षा हुनासाथ आवतजावत नै ठप्प हुन्छ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमक (झापा) र पूर्व संविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र माङसेबुङ (इलाम) जोड्ने सडक निर्माणले पूर्णता पाउन नसकेपछि एमाले नेतृत्वको तीव्र आलोचना हुँदै आएको छ । ठेकेदार कम्पनीको लापरवाहीका कारण सडक निर्माणले गति लिन नसकेको हो । तेत्तीस किलोमिटर दूरीको सो सडक कालोपत्रका लागि ठेक्का लागेको पनि पाँच वर्ष बितिसक्यो । ठेक्काको समय बारम्बार थपिँदासमेत काम भएको छैन । सडक चौडा गर्दै कालोपत्र गर्नुपर्नेमा त्यसो गरिएको छैन । तीन खण्डमा विभाजन गरेर पाँच वर्षअघि तीन वर्षमा काम पूरा गर्नेगरी ठेक्का लागेको थियो । पहिलो खण्डअन्तर्गत दमकको पहिलो बिन्दुबाट सात किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का महालक्ष्मी–किरातेश्वर जेभीले ३० महिनाभित्र सक्नेगरी २०७५ साल साउन अन्तिममा सम्झौता गरेको थियो । उक्त कम्पनीले रु २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लिएर काम नगरेको हो । चारपटक म्याद थप भएको र अन्तिमपटक थपिएको म्याद गत असार मसान्तमा सकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । राजमार्गको दोस्रो खण्ड १५ किलोमिटर सडक रु ५४ करोड ४४ लाख ८७ हजारमा र तेस्रो खण्ड ११ किलोमिटर सडक रु ५९ करोड १५ लाख ३५ हजारमा निर्माणको ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो । दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा २८ प्रतिशत काम भएको सडक डिभिजन कार्यालय इन्जिनियर गौतमकुमार देवले राससलाई जानकारी दिए । समग्रमा ३३ किलोमिटर सडकमा ५० प्रतिशतमात्र काम भएको उनले बताए । काम चाँडो गर्न सरोकारवालाको ताकेता निर्माणकार्य अधुरै छाडेपछि सवारीसाधन सञ्चालनमै समस्या भएको भन्दै काम चाँडो गर्न सरोकारवालाले ताकेता गरेका छन् । घर्ती दोभानबाट चिसोपानीसम्मको सडकखण्ड सवारी चल्न नसक्ने गरी बिग्रिएको भन्दै चाँडो मर्मत गर्न निर्माण कम्पनीलाई ताकेता गरेका हुन् । जिल्ला प्रशासन कार्यालय इलाममा सोमबार भएको सर्वदलीय बैठकले सडक निर्माणको गति अत्यन्त सुस्त भएको निष्कर्ष निकाल्दै चाँडो गर्न ताकेता गरेको हो । बैठकले चार बुँदे निर्णय गर्दै तोकिएको गुणस्तरमा आउँदो वर्षायाम अगाडि नै निर्माण सम्पन्न गर्न अनुरोध गरेको छ । बैठकले सडक निर्माणमा भएको प्रगतिको तत्काल अनुगमन गर्ने निर्णय पनि गरेको छ । बैठकले घर्ती दोभानबाट चिसोपानीसम्मको सडकखण्ड पुस १० भित्र मर्मत गर्न प्रशासनले निर्माण कम्पनीलाई सचेत गराउने निर्णय गरेको छ । ठेकेदार कम्पनीले ढिलासुस्ती गरेपछि माङसेबुङ गाउँपालिकाले तीन महिनाअघि जिल्ला प्रशासन कार्यालय इलाममा समन्वय गराउन पत्रचार गरेको थियो । तीन महिनापछि प्रशासनले बोलाएको सर्वदलीय बैठकमा निर्माण कम्पनीका प्रतिनिधिमाथि सरोकारवालाले चर्को असन्तुष्टि र गुनासो राखेका थिए । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले ठेकेदार कम्पनीको लापरवाहीले सडक निर्माण गति सुस्त भएको बताए । ‘ठेकेदारको लापारवाहीले काममा ढिलाइ भएको छ । त्यसको दोष भने हामी जनप्रतिनिधिले खेप्नु परिरहेको छ’, अध्यक्ष राईले भने, ‘सडकको काम सहज बनाउन ढुङ्गा, गिट्टी, बालुवाको ठेक्कासमेत नलगाएर सहयोग गरेका छौँ तर ठेकेदारले जिम्मेवार भएर काम गर्नुपर्यो ।’ उनले ठेकेदार कम्पनीबाट जनप्रतिनिधि र नागरिकलाई पटक–पटक ढाँट्ने काम भएको भन्दै अब पनि ढाँट्ने काम भए जनप्रतिनिधि नै आन्दोलनमा उत्रनुपर्ने अवस्था आउने चेतावनी दिए । निर्माण कम्पनी प्रतिनिधिले भने कोभिडको पहिलो र दोस्रो लहर नै सबैभन्दा ठूलो कारण देखाएर जोगिने प्रयास गरेका थिए । पटक–पटक म्याद थप्दासमेत काम गर्न नसकेको कमजोरी भने दुवै कम्पनीका प्रतिनिधिले स्वीकार गरेका थिए । रासस
लाभांश पारित गर्न मञ्जुश्री फाइनान्सले बोलायो १६औं साधारणसभा
काठमाडौं । मञ्जुश्री फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न साधारणसभा आह्वान गरेको छ । फाइनान्स सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पुस २५ गते काठमाडौंमा १६औं वार्षिक साधारणसभा बोलाएको हो । फाइनान्सको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको ५.२६३ प्रतिशत अर्थात् ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस ११ गत बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा पुस १० गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।