बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको करिब साढे ९ खर्बको सम्पत्ति जफत
काठमाडौं । बंगलादेश सरकारले शेख हसिनासँग सम्बन्धित ६.२ अर्ब डलर (९ खर्ब ४२ अर्ब नेपाली रुपैयाँ) बराबरको सम्पत्ति जफत गरेको छ । बंगलादेशी मुद्रामा यसको मूल्य करिब ७६० अर्ब टका बराबर रहेको बताइएको छ । हसिनाले यसै वर्षको अन्त्यसम्म बंगलादेश फर्किने घोषणा गरेको केही दिनपछि यो कदम चालिएको हो । सरकारका अनुसार हसिनाको स्वदेश फिर्तालाई स्वागत गरिनेछ, तर उनले कानुनी प्रक्रियाको भने सामना गर्नुपर्नेछ । यस वर्ष फेब्रुअरीमा सम्पन्न आमनिर्वाचनपछि सत्तामा आएको तारिक रहमान नेतृत्वको सरकारले शेख हसिनामाथि आफ्नो १५ वर्षे शासनकालमा भ्रष्टाचार गरी अवैध रूपमा ठूलो सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ । सरकारले हसिनाले गैरकानुनी माध्यमबाट सम्पत्ति जोडेको र आफ्ना आफन्त तथा उनीसँग सम्बन्धित व्यावसायिक समूहलाई अनुचित लाभ पु‍र्याएको दाबी गरेको छ । बंगलादेशको फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआईयू) का अनुसार देशभित्र रहेको ५७० अर्ब टका र विदेशमा रहेको १९० अर्ब टका बराबरको सम्पत्ति जफत गरिएको छ । एजेन्सीका प्रमुख इख्तियार मोहम्मद मामुन ले विदेशमा पठाइएको सम्पत्ति फिर्ता ल्याउने प्रक्रिया जारी रहेको जानकारी दिँदै यसै वर्षको अन्त्यसम्म सकारात्मक प्रगति हुने अपेक्षा व्यक्त गरेका छन् । हसिनाले आन्दोलनपछि देश छाडेकी थिइन् विद्यार्थी समूह, जमात–ए–इस्लामी तथा अन्य कट्टरपन्थी समूहहरूको हिंसात्मक आन्दोलनपछि अगस्ट २०२४ मा शेख हसिनाको सरकार पतन भएको थियो । त्यसपछि उनी भारत पुगेकी थिइन् र हालसम्म निर्वासनमै बसिरहेकी छन् । त्यसपछि मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकार गठन भएको थियो । अन्तरिम सरकारको कार्यकालमा इन्टरनेशनल क्राइम्स ट्राइब्युनलमा हसिनाविरुद्ध मुद्दा दायर गरिएको थियो । हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाइएको बताइएको छ । साथै अन्तरिम सरकारले बंगलादेशको सबैभन्दा पुरानो र ठूलो राजनीतिक दल अवामी लिग माथि पनि प्रतिबन्ध लगाएको थियो । हसिनाले भने आफू स्वदेश फर्केर आत्मसमर्पण गर्ने, आफूमाथि र आफ्नो पार्टीमाथि लगाइएका आरोपहरूको कानुनी रूपमा सामना गर्ने बताएका छन् । उनले ती आरोपहरूलाई झुटा र राजनीतिक उद्देश्यले प्रेरित भएको दाबीसमेत गरेकी छन् ।
एनआईसी एशिया क्यापिटलले कतारमा गर्यो लगानी सचेतना कार्यक्रम
काठमाडौं । एनआईसी एशिया क्यापिटलले कतारमा रहेका नेपालीलाई लक्षित गर्दै ‘पर्सनल फाइनान्स एन्ड इन्भेष्टमेन्ट मास्टरक्लास’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको कार्यक्रममा प्रवासी नेपालीलाई वित्तीय व्यवस्थापन र नेपालको पुँजी बजारमा लगानीका अवसरबारे जानकारी दिइएको हो । कम्पनीका अनुसार ‘विदेशमा कमाऔं, नेपालमा सम्पत्ति बनाऔं’ भन्ने नारासहित ‘वे टु सक्सेस, इभेन्ट एन्ड ट्रेनिङ प्रोग्राम’को सहकार्यमा असार २६ गते कतारको दोहास्थित ग्लोरिया होटल एन्ड सुइट्समा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा एनआईसी एशिया क्यापिटलका उच्च व्यवस्थापन तहका अधिकारीहरूले डायस्पोरा खाता, एसआईपी, आईपीओ, सेयर, डिम्याट तथा मेरोसेयर खाता, नेपालका पुँजी बजारमा सम्पत्ति व्यवस्थापन, प्रवासी नेपालीलाई लगानीका अवसरसँग जोड्ने विषय तथा ‘आइडिया टु आईपीओ’ लगायतका विषयमा प्रस्तुति दिएका थिए । यसका साथै वैदेशिक रोजगारीमा रहेका नेपालीले प्राथमिक सेयरमा आवेदन दिने प्रक्रिया, सामूहिक लगानी कोष, दोस्रो बजारमा लगानी गर्दा अपनाउनुपर्ने सावधानी, विदेशमा आर्जन गरेको रकम वैधानिक माध्यमबाट नेपाल पठाउने उपाय तथा नेपालमा उपलब्ध लगानीका विभिन्न अवसरबारे विस्तृत छलफल गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा कतारमा वैदेशिक रोजगारी र व्यवसायमा संलग्न १४० भन्दा बढी नेपालीको सहभागिता रहेको थियो । कम्पनीले यस्ता कार्यक्रममार्फत प्रवासी नेपालीमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै नेपालको पुँजी बजारमा लगानी आकर्षित गर्ने उद्देश्य राखेको जनाएको छ ।
विद्युतीय सार्वजनिक बस किन्दा ८० प्रतिशतसम्म ऋण पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक यातायातका रूपमा प्रयोग हुने ठूला विद्युतीय बस खरिदका लागि अधिकतम ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार सार्वजनिक यात्रुबाहक ठूला विद्युतीय सवारी साधन खरिद गर्दा ऋण-मूल्य अनुपात (लोन टू भ्यालू) अधिकतम ८० प्रतिशतसम्म कायम गर्न सकिनेछ । यही सुविधा जेनजी आन्दोलनबाट प्रत्यक्ष प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानका व्यावसायिक सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्नुपर्ने अवस्थामा पनि लागू हुनेछ । अन्य सवारी साधन खरिदका लागि भने बैंक तथा वित्तीय संस्थाले अधिकतम ६० प्रतिशतसम्म मात्र ऋण प्रवाह गर्न पाउनेछन् ।
सुनको मूल्य तोलामा दुई लाख ८५ हजार २०० रुपैयाँ पुग्यो
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले बढेको छ भने चाँदी ९० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मोल दुई लाख ८५ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३२५ रुपैयाँ निर्धारण भएको छ । हिजो एक तोला सुन दुई लाख ८४ हजार ८०० रुपैयाँ र चाँदी चार हजार ४१५ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५९ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
उच्च अदालत जनकपुरको उत्कृष्ट कार्यसम्पादन, लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट
काठमाडौं । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२/०८३ मा तोकिएको लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट गर्दै न्याय सम्पादनमा उल्लेखनीय सफलता हासिल गरेको छ । अदालतले वार्षिक लक्ष्यको तुलनामा १०१.६० प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवरका अनुसार गत आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका २ हजार २ सय ६७ र नयाँ दर्ता भएका ४ हजार २ सय ४९ गरी कुल ६ हजार ५ सय १६ मुद्दा अदालतको जिम्मेवारीमा थिए । तीमध्ये ४ हजार ६ सय १९ मुद्दा फर्स्यौट गरिएको छ, जुन कुल मुद्दाको ७०.८८ प्रतिशत हो । अदालतले आर्थिक वर्षभर ४ हजार ५ सय ४६ मुद्दा फैसला गर्ने लक्ष्य राखेको थियो । तर प्रभावकारी व्यवस्थापन, नियमित सुनुवाइ र पुराना मुद्दालाई प्राथमिकतामा राखिएको रणनीतिका कारण लक्ष्यभन्दा ७३ मुद्दा बढी फर्स्यौट गर्न सफल भएको हो । अदालतले विशेष अभियानकै रूपमा पुराना मुद्दा टुंग्याएकाले १८ महिना तथा दुई वर्षभन्दा बढी समयदेखि विचाराधीन रहेका सबै मुद्दा शून्यमा झारेको जनाएको छ । हाल अदालतमा १ हजार ८ सय ९७ मुद्दा मात्र विचाराधीन छन् । उच्च अदालत जनकपुरले आगामी आर्थिक वर्षमा ६ हजार ८ सय २६ नयाँ मुद्दा दर्ता हुनसक्ने अनुमान गर्दै न्याय सम्पादनलाई अझ छिटो, प्रभावकारी र सेवामुखी बनाउने प्रतिबद्धता पनि जनाएको छ ।
लोकल गोलभेँडा किलोको १२ रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २१, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४८, आलु रातो (गोलो) प्रतिकिलो रु ४५, आलु रातो (मुढे) प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३७, सेतो आलु प्रतिकेजी ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ। यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ। समितिका अनुसार बोडी तने प्रतिकिलो रु ५०, मकै बोडी प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ९०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो रु ४५, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ। रायोसाग प्रतिकिलो रु १२०, पालुङ्गो प्रतिकिलो रु १००, चमसुरको साग प्रतिकिलो रु १००, तोरीको साग प्रतिकिलो रु ७०, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ। कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकेजी रु ३००, ब्रोकाउली प्रतिकिलो रु १००, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु २५०, गान्टेमूला प्रतिकिलो रु ७०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ। स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १५०, आँप (दशहरी) प्रतिकिलो रु १६०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ८०, रूखकटहर प्रतिकिलो रु ५०, नासपती प्रतिकिलो रु १३०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ। अदुवा प्रतिकिलो रु २००, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु ४०, खुर्सानी भेडे प्रतिकिलो रु ६०, अकबरे प्रतिकिलो रु २५०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ।
आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन, विदेशमा प्रतिकेजी एक लाखसम्ममा बिक्री
इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो उत्पादन क्षमतालाई तीन गुणाले विस्तार गरेको छ । दुई वर्षअघि सो उद्योग आगलागीबाट क्षति समेत भएको थियो । उद्योग सञ्चालक गृष्म सुब्बाले उद्योगद्वारा उत्पादित अर्गानिक अर्थोडक्स ‘स्पेशल टी’ अमेरिका, जापान र जर्मनीका बजारमा बिक्री हुने गरेको जानकारी दिए । इलाम नगरपालिका–४ जस्बिरे गाउँका १८५ घरपरिवारले उत्पादन गर्ने हरियोपत्ती र उद्योगको ६० रोपनी तथा भाडामा लिएको ४०० रोपनी जमिनमा उत्पादन हुने हरियोपत्ती प्रशोधन भइरहेको उनले बताए । ‘वार्षिक ३० हजार केजी अर्गानिक अर्थोडक्स चिया उत्पादन भइरहेको थियो । यस वर्षदेखि उत्पादन क्षमता बढाएर एक लाख केजी पुर्याउने तयारी छ’, सञ्चालक सुब्बाले भने, ‘दुई वर्षअघि भएको आगलागीमा रु आठ करोड बराबरको क्षति बेहोरेर फेरि शून्यबाट यात्रा सुरु गरेका हौँ ।’ एक दशकअघि १४ लाखको लगानीबाट सुरु गरिएको जस्बिरे चिया प्रशोधन उद्योग अहिले आठ करोडको लगानीमा विस्तार भएको छ । उद्योगको सबैभन्दा ठूलो विशेषता ‘स्पेशल टी’ हो । वार्षिक सात हजार केजी उत्पादन हुने यो चियामध्ये करिब दुई हजार केजी सुइरोबाट मात्र तयार गरिन्छ । उद्योगले प्रतिकेजी १५ हजारमा बिक्री गर्ने यही चिया विदेशी बजारमा एक लाखसम्ममा पुग्ने उद्योगका अर्का सञ्चालक शरद सुब्बाले बताए । ‘नेपालसँगै अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्यान्ड्स, डेनमार्क र जर्मनीसम्म जस्बिरे चियाले बजार बनाएको छ ।’ शरदले भने, ‘विदेशमा पुगेपछि हामीले १५ हजार रुपैयाँ प्रतिकेजी बेचेको चिया एक लाखसम्ममा बिक्री भएको छ ।’ उद्योगको सफलतामा सुब्बा परिवारका सबै सदस्यको भूमिका छ । ‘नेपाल टी च्यालेन्ज–२०२४’ का ‘बेस्ट टी मेकर’ शरद सुब्बाले चियाको गुणस्तर सम्हालिरहेका छन् भने अन्य सदस्यले बजार व्यवस्थापन, प्राविधिक पक्ष र अन्तर्राष्ट्रिय प्रवर्द्धनमा जिम्मेवारी पाएका छन् । २०४२ मा स्वर्गीय भैरव रिसालले सुरु गराएको चियाखेती विस्तारको अभियान आज फैलिरहेको हो । रिसालले यहाँ आउँदा आलुखेती मात्र होइन, चिया रोप्न पनि सिकाएका थिए । त्यतिखेर चियाखेतीबारे ज्ञान आर्जन गरेका स्थानीय सूर्य सुब्बालाई कुनै दिन आफ्ना छोराहरूले चिया उद्योग नै सञ्चालन गर्लान् भन्ने लागेको थिएन । तर, अहिले उनका छोराहरूले सञ्चालन गरेको ‘जस्बिरे चिया प्रशोधन उद्योग’ चिया उद्योगका क्षेत्रमा ‘ब्रान्ड’ बनेको हो । सूर्यका चार भाइ छोरा छन् । त्यसमध्येका जेठो र माइलो शरद र गृष्मले १० वर्षअघि जम्मा १४ लाख लगानीमा उद्योग सुरु गरेका थिए । गृष्मले उद्योगको बजार व्यवस्थापन गर्छन् । शरद नेपालकै ‘बेस्ट टी मेकर’ हुन् । उनले चिया बनाउन थालेको २० वर्ष भइसकेको छ । उद्योगमा उत्पादन हुने सबै किसिमका चिया शरदले बनाउँछन् । साहिँला छोरा निर्विकल्पको काम उद्योगको प्राविधिक पाटो हेर्ने हो । कान्छा छोरा विकल्प अस्ट्रेलियामा मार्केटिङ अध्ययनरत छन् । गृष्मका छोरा कर्म पनि भर्खरै पढाइ सकेर उद्योगमा काम गर्न आएका हुन् । उनको काम विदेशी पाहुनालाई चियाका बारेमा जानकारी दिनु हो । यहाँ सुनकेसरी, रेड पान्डा, कोठीडाँडा ब्यूटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । एक वर्षमा ‘स्पेशल टी’ मात्र सात हजार केजी उत्पादन हुन्छ । रासस
६ बैंकले घटाउँदा साउनमा झन् सस्तो भयो बैंकको ब्याज, कुनको कति ?
काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । साउन १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपमा ब्याजदर घटाएको जनाएका हुन् । वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर साउन महिनाका लागि ०.०९ प्रतिशत बिन्दुले घटेर ४.१७ प्रतिशतमा झरेको छ । असार महिनामा यो दर ४.२६ प्रतिशत थियो । त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर पनि ०.०६ प्रतिशत बिन्दुले घटेर ३.१२ प्रतिशत कायम भएको छ । असारमा यो दर ३.१८ प्रतिशत थियो । असार महिनाका लागि ६ बैंकले ब्याजदर घटाएका छन् भने १४ बैंकले दर यथावत् राखेका छन् । ब्याजदर घटाउने बैंकहरूमा कुमारी बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । त्यस्तै, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र एनआईसी एशिया बैंकले ब्याजदर यथावत् राखेका छन् ।