एनआईसी एशिया क्यापिटलले कतारमा गर्‍यो लगानी सचेतना कार्यक्रम

काठमाडौं । एनआईसी एशिया क्यापिटलले कतारमा रहेका नेपालीलाई लक्षित गर्दै ‘पर्सनल फाइनान्स एन्ड इन्भेष्टमेन्ट मास्टरक्लास’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको कार्यक्रममा प्रवासी नेपालीलाई वित्तीय व्यवस्थापन र नेपालको पुँजी बजारमा लगानीका अवसरबारे जानकारी दिइएको हो ।

कम्पनीका अनुसार ‘विदेशमा कमाऔं, नेपालमा सम्पत्ति बनाऔं’ भन्ने नारासहित ‘वे टु सक्सेस, इभेन्ट एन्ड ट्रेनिङ प्रोग्राम’को सहकार्यमा असार २६ गते कतारको दोहास्थित ग्लोरिया होटल एन्ड सुइट्समा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा एनआईसी एशिया क्यापिटलका उच्च व्यवस्थापन तहका अधिकारीहरूले डायस्पोरा खाता, एसआईपी, आईपीओ, सेयर, डिम्याट तथा मेरोसेयर खाता, नेपालका पुँजी बजारमा सम्पत्ति व्यवस्थापन, प्रवासी नेपालीलाई लगानीका अवसरसँग जोड्ने विषय तथा ‘आइडिया टु आईपीओ’ लगायतका विषयमा प्रस्तुति दिएका थिए ।

यसका साथै वैदेशिक रोजगारीमा रहेका नेपालीले प्राथमिक सेयरमा आवेदन दिने प्रक्रिया, सामूहिक लगानी कोष, दोस्रो बजारमा लगानी गर्दा अपनाउनुपर्ने सावधानी, विदेशमा आर्जन गरेको रकम वैधानिक माध्यमबाट नेपाल पठाउने उपाय तथा नेपालमा उपलब्ध लगानीका विभिन्न अवसरबारे विस्तृत छलफल गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कतारमा वैदेशिक रोजगारी र व्यवसायमा संलग्न १४० भन्दा बढी नेपालीको सहभागिता रहेको थियो । कम्पनीले यस्ता कार्यक्रममार्फत प्रवासी नेपालीमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै नेपालको पुँजी बजारमा लगानी आकर्षित गर्ने उद्देश्य राखेको जनाएको छ । 

Share News