विकासन्युज

अत्यधिक चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित

बाँके । दुई दिनदेखि लगातार चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेका हो । बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ भने सडकमा सवारीसाधन कम चलेका छन् । नेपालगञ्जमा हरेक दिन बिहान दुई घण्टा शीतलहर चल्न थालेको छ । ‘बिहानैदेखिको हुस्सुले अत्यधिक चिसो भएको छ,’ नेपालगञ्जका स्थानीय रामसुहावन यादवले भने, ‘निरन्तरको चिसोले गर्दा घरभन्दा बाहिर निस्किने सकिएको छैन ।’ यहाँका मान्छेहरू अत्यावश्यक काममा बाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन् । अत्यधिक चिसोले गर्दा दैनिक ज्यालादारी काम गर्नेहरू बढी मारमा परेका छन् । उनीहरू काममा जान पाएका छैनन् । चिसोले गर्दा काममा जान नपाएको बाँके डुडुवा गाउँपलिका–४ का मजदुर रामदिन गोडियाले भने, ‘काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ, केही दिन यस्तै चिसो रह्यो भने समस्या हुने देखिन्छ ।’ दैनिक ज्यालादारी काम गर्न पहाड़ तथा भारतीय सीमावर्ती क्षेत्रबाट तराईका जिल्लामा सर्वसाधारण भर्ने गर्छन । दिनभरि एकपटक पनि घाम नलाग्दा काममा जान सक्ने अवस्था नभएको अर्का मजदुर बालकराम गोडिया बताउँछन् । आगो बालेर यहाँका नागरिकले चिसो भगाउने प्रयास गरेका छन् । ‘घरभन्दा बाहिर जान सक्ने अवस्था भएन,’ उनले भने, ‘त्यसैले घरमा आगो तापेर बसेको छु ।’ चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब, असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन । चिसोकै कारण बिरामी बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका फिजिसियन डा. संकेत रिसालले बताए । चिसोले गर्दा बालबालिका, दीर्घरोगीलाई समस्या भएको छ । केही दिनअघि बिहान बाक्लो हुस्सु लाग्ने गरेको भए पनि दिउँसो मौसम सफा हुँदै गएको थियो, तर दुई दिनदेखि निरन्तर घाम नलागेपछि  चिसो बढेको छ ।

श्रमिकका समस्या सम्बोधन गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गका हकअधिकारलाई सम्बोधन गर्न आफू क्रियाशील रहेको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले आज यहाँ आयोजना गरेको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनमा उनले वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा आफूले श्रम क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताए । उनले प्रभावकारीरूपमा श्रमिकमैत्री नीति र कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘वर्तमान सरकार सबैभन्दा बढी श्रमिकमैत्री छ, देश निर्माणका आधारभूत र निर्णायक शक्तिका रुपमा रहेका श्रमजीवी वर्ग र ट्रेड युनियनले उठाएका सवाललाई यथासम्भव सम्बोधन गर्न क्रियाशील रहनेछु,’ प्रधानमन्त्री दाहालले भने, ‘राज्यका हरेक संरचनामा १० प्रतिशत श्रमिक वर्गको प्रतिनिधित्व, अर्धन्यायिक अधिकारसहितको संवैधानिक राष्ट्रिय श्रम आयोग गठन तथा सामाजिक सुरक्षा योजनामा सूचीकृत नहुने रोजगारदातालाई कानुनी दायरामा ल्याउनुपर्नेलगायत श्रमिकका न्यायोचित माग पूरा गर्न प्रतिबद्ध छु ।’ स्वदेश तथा विदेशमा रहेका श्रमिक एवं अनौपचारिक क्षेत्रका श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले श्रमिकका जायज माग र मुद्दामा जहिले पनि सरकार साथमा रहेको विश्वास दिलाए । विदेशमा रहेका नेपाली कामदार एवं श्रमिकको हितका निम्ति सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्दै उनले विदेशस्थित सबै दूतावास र कूटनीतिक नियोगमा सहायताकक्ष स्थापनादेखि प्रवेशाज्ञा र राहदानी नवीकरणसम्मका काममा सहजीकरण गरिएको बताए । प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्षको अवधिमा राजनीतिक स्थायित्व, अर्थतन्त्रमा सुधार, सुशासनको प्रत्याभूति, सेवा प्रवाह र सामाजिक न्यायका क्षेत्रमा केही महत्वपूर्ण मानक स्थापित भएको जिकिर गरे । ‘यत्तिमै म सन्तुष्ट छैन, मैले देशवासीका नाममा सम्बोधन गर्दै आगामी वर्षका लागि केही नयाँ सङ्कल्प सार्वजनिक गरेको छु, ती सङ्कल्प दृढतापूर्वक कार्यान्वयन गर्दै देशमा आशाको रक्तसञ्चारसहित समृद्धिको आधार तयार पार्नु मेरो प्रमुख प्राथमिकता हुनेछ,’ उनले भने । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रमिक वर्गसँग समन्वय गरेर रोजगारदाता अघि बढिरहेको बताए । महासङ्घ र जेटियुसिसीबीच हालै भएको सहकार्यसम्बन्धी सम्झौताले रोजगारादता र श्रमिक पक्षबीचको सम्बन्धलाई सुमधुर बनाउने उनको विश्वास छ । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले रोजगारदाताले श्रमिकको हितलाई प्राथमिकता दिँदै आएको तथा मजदूर र मालिक नभई आर्थिक समृद्धिको सहयात्री हौँ भन्ने भावनाको विकास गरिएको बताए । जेटियुसिसीका अध्यक्ष बिनोद श्रेष्ठले श्रमजीविका समस्या समाधान तथा श्रमिकका हकहित प्रवद्र्धन गर्न आफूहरु क्रियाशील रहेको बताए । उनले श्रमिममैत्री कार्यक्रम सुरुआत गर्न सरकारसँग आग्रह गरे । ट्रेड युनियन अधिकार संस्थागत हुनुपर्नेमा झन् कटौती हुँदै गएकामा असन्तुष्टि व्यक्त गर्दै उनले मजदुरमैत्री अन्तर्राष्ट्रिय अभिसन्धि तत्काल अनुमोदन गर्न आग्रह गरे । दुई दिनसम्म चल्ने सम्मेलनमा श्रमिक वर्गको हकअधिकार कार्यान्वयनका लागि चाल्नुपर्ने कदमलगायत श्रमिककाबारेमा छलफल हुनेछ । सम्मेलनले जेटियुसिसीको नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर निर्माण गर्न खोला फर्काइयो

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको डिसेन्डर (बालुवा थिग्राउने पोखरी) निर्माणका लागि आज राहुघाट नदीलाई फर्काइएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न ५ झिँ को फेदीमा एक सय १९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउनका लागि खोला फर्काइएको हो । दग्नामतर्फको भूगोलमा डिसेन्डर बनाउन झिँतर्फको भूगोलमा निर्माण भएको एक सय १२ मिटर लामो, एक सय १९ दशमलव सात मिटर अग्लो र पाँच मिटर फराकिलो अण्डर सुलुसबाट खोला बगाइएको राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले जानकारी दिए । ‘अण्डर सुलुस र स्पिल वे निर्माण सकेर डिसेन्डर बनाउन थालिएको हो,’ उनले भने, ‘३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माण अन्तिम चरणमा पुगेको छ ।’ नदी फर्काउने काम जलविद्युत् आयोजना निर्माणका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गा र फड्को भएको विष्टले बताए । राहुघाट जलविद्युत् आयोजनाको आगामी २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको छ । विसं २०७४ मङ्सिरमा ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार भारतको जयप्रकाश एसोशियटले हालसम्म ६५ प्रतिशत काम गरेको प्रवर्द्धक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए । आयोजनाको करिब ५० प्रतिशत वित्तीय प्रगति भएको छ । सुरुङ ९० प्रतिशत र विद्युत्गृह निर्माणको काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । ६ किलोमिटर दुई सय मिटर सुरुङमध्ये पाच किलोमिटर पाँच सय ९८ मिटर सुरुङ निर्माण सकिएको जयप्रकाश एसोशियटसका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए । अब ६ सय २ मिटर मात्र सुरुङ निर्माण गर्न बाँकी छ । अबको दुई महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने लक्ष्यसहित काम भइरहेको छ । सिभिल ठेकेदारले विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । बाँध, अँधेरीखोला, पिप्ले र तिल्केनीचौरका चार अडिटबाट सुरुङ निर्माणलाई तीव्रता दिइएको छ । सुरुङबाट आउने पानीलाई रघुगङ्गा–३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधीन विद्युत्गृहमा खसाल्ने १ सय ९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । विद्युत्गृह निर्माणस्थलबाट भर्टिकल ५ सय ४१ मिटरमध्ये ४ सय ५० मिटर सुरुङ निर्माण सकिएको छ । विद्युत्गृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ । विसं २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले विद्युत्गृहका उपकरण आयात गर्न थालेको छ । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा तथा इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ । प्राकृतिक विपद्, कोरोना (भाइरस) को महामारी र कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्री उत्खनन गर्न नपाउँदा समस्या भएको निर्माण व्यवसायीले बताएका छन् । सर्वोच्च अदालतको विसं २०७८ असारको आदेशका कारण कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन गर्न नपाउँदा नदीजन्य निर्माण सामग्रीको अभाव भएको हो । यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक रु २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न ‘लुप इन लुप आउट’ (लिलो)का चार टावर तयार भएका छन् । रासस

जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै

राँझा । अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटु रोगको समस्या बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास नेपालले पहिले ५० वर्षमाथि उमेर समूहका लागि मात्रै हृदयघात हुन्छ भन्ने मान्यता रहे पनि अहिले खानपान र जीवनशैलीमा आएको परिवर्तनले युवामा समेत मुटुको समस्या देखिने गरेको बताए । ‘हार्टअट्याक हुने युवामा प्रमुख कारण तनाव र धुम्रपान रहेको पाइन्छ,’ डा. नेपालले भने, ‘मुटुरोगबाट जोगिन सावधानी नै उत्तम विकल्प हो ।’ मुटुरोग लाग्नेबित्तिकै हृदयघात नहुने भन्दै डा. नेपालले मुटुरोगसम्बन्धी लक्षण देखिएमा चिकित्सकलाई अनिवार्य देखाउनुपर्ने बताए । लक्षण देखिनेबित्तिकै उपचार सुरु गर्ने हो भने बिरामीलाई बचाउन सकिने उनको भनाइ छ । उच्च रक्तचाप, मधुमेह, शारीरिक निष्क्रियता, धुम्रपान, तनाव, अस्वस्थकर खानपान मुटुरोगको कारण रहेको उल्लेख गर्दै डा. नेपालले शरीरका प्रत्येक अङ्गको माग र वितरणमा असन्तुलन हुँदा अङ्गहरूले कुनै न कुनै लक्षण देखाउने गरेको बताए । उनले मुटुमा समस्या सुरु भएमा छाती दुख्ने, उक्त दुखाइ सरेर घाँटी तथा शरीरको पछाडिको भाग दुख्ने, चिटचिट पसिना आउने, सास फेर्दा असहज हुने, मुटुको धड्कन छिटो चल्ने, दौडिँदा सास फेर्न गाह्रो हुने लक्षण देखिने जानकारी दिए । नेपालगञ्जका स्वास्थ्यकर्मी जीवन शर्माले पछिल्लो समयमा मानिसले गर्ने काम सबै मानव निर्मित यन्त्रहरूबाटै हुने गरेका कारण मुटुलगायत रोग बढ्दै गएको उल्लेख गरे । ‘खाना मीठो, चिल्लो र मसालादार खानुपर्ने, ऐस आरामको जिन्दगी बिताउनुपर्ने र कामै नगरी वा कुनै दुःख नगरी बस्नुपर्ने मानिसको दैनिकी बनेको छ,’ उनले भने, ‘मानिसमा आएका अधिक चेतनाका कारण विकसित प्रविधिसँगै हाल सरुवा रोगहरू नियन्त्रणतर्फ गइरहेका छन्, तर नसर्ने खालका दीर्घकालीन रोगहरूले मानिसलाई ग्रस्त बनाइरहेको छ ।’ जीवनशैली, वातावरण र मानिसको स्वास्थ्य एकापसमा निकै घनिष्ठ सम्बन्ध भएको उल्लेख गर्दै शर्माले मानिसको जीवनशैलीमा आएको व्यापक परिवर्तनले गर्दा मुटु लगायतका रोग देखिने गरेकोले यसबाट छुटकारा पाउन जीवनशैलीमै पुनः परिवर्तन गरेमा मात्र सम्भव हुनेमा जोड दिए ।

बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित

काठमाडौं । सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य विकल्पहरूको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिए । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई आज यहाँ सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी उक्त क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवारीसाधन लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताए। प्रधानमन्त्रीसँगको परामर्शपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरूलाई निलम्बन गरिएको हो । ललितपुरको बालकुमारीमा शुक्रबार भएको उक्त घटनामा दुईजनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो । कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रूप लिएपछि जनधनको क्षति भएको थियो ।

चुरे उत्खननको सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ

सिरहा । चुरे तथा वन क्षेत्रमा अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेकेदारलाई सिफारिस दिएको आरोपमा डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका–१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई शुक्रबार पक्राउ गरेको छ । यही पुस ७ गते कर्जन्हा–१ बल्टियास्थित चुरे वन क्षेत्रभित्रको कमला नदीको बगरमा डोजर प्रयोग गरी अवैधरूपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्यमा ऐन, कानुन विपरीत सिफारिस सहयोग गरेको प्रमाण भेटिएपछि वनले वडाध्यक्ष पोखरेललाई पक्राउ गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए । सूचना अधिकारी चौधरीका अनुसार पक्राउ परेका अध्यक्ष पोखरेललाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयको हिरासतमा राखिएको छ । यसै मुद्दामा बिहीबार डिभिजन वन कार्यालयले कर्जन्हा–७ स्थित कमला नदी किनारमा कम्लेश्वरी कमला क्रसरका सञ्चालक मोहम्मद खलिल राइनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पुस ७ गते वन क्षेत्रमा पर्ने कमला नदी किनारबाट उत्खनन गरिरहेको अवस्थामा एक थान डोजरसहित चालक प्रदीपकुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई पनि वन कार्यालयले नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएकाहरूलाई डिभिजन वन कार्यालयको हिरासतमा राखिएको छ । उनीहररूविरुद्ध चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन गरेको कसुरमा मुद्दा चलाइने सूचना अधिकारी चौधरीले जानकारी दिए ।

बालकुमारी घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले १०/१० लाख दिने

काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको ग्वार्को–बालकुमारी घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको छ। बालकुमारी घटनामा ज्यान गुमाएका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको हो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०–१० लाख रूपैयाँ दिने निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । शुक्रबार कोरियाली भाषा परीक्षा आवेदनसम्बन्धी विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए ।

५ सय भारु लगानीमा जन्मिएको रिलायन्स ग्रुप

काठमाडौं । भारतको सबैभन्दा ठूलो व्यावसायिक घराना हो रिलायन्स ग्रुप । यो संसारका विशाल व्यापारिक समूहको सूचीमा पर्छ । यो ग्रुपका प्रमुख सञ्चालक मुकेश अम्बानी अहिले संसारका धनीमध्ये एक हुन् । उनी एसियाकै सबैभन्दा धनी व्यक्ति पनि हुन् । उनको रिलायन्स ग्रुप जम्मा ५ सय भारु बीउ पुँजीबाट स्थापना भएको थियो भन्दा अचम्म लाग्छ । जसलाई मुकेशका बुबा धीरुभाइ अम्बानीले आफूसँग भएको त्यही ५ सय रुपैयाँबाट स्थापना गरेका थिए । यो सत्यकथा उनै धीरुभाइ अम्बानीको हो । धीरुभाइ अम्बानीको जन्म २८ डिसेम्बर १९३२ मा गुजरातको एउटा सानो सहरमा भएको थियो । बुबा शिक्षक र आमा गृहिणी थिए। दुई कोठाको घरमा पाँच दाजुभाइसहित पूरै परिवार बस्थे । परिवारलाई सहयोग गर्न बाल्यकालदेखि नै काम गर्न थालेका थिए धीरुभाइले । उनले ठेलामा गांठिया बेच्न थाले र त्यसबाट आफूले कमाएको थोरै पैसा आफ्नी आमालाई दिए । १० कक्षा पास गरेपछि उनी आफ्नो भाइ रमणीकलालसँग यमन गए । त्यहाँ उनले पेट्रोल पम्पमा काम गर्न थाले । पूरा दिन काम गरेवापत उनले ३ सय रुपैयाँ तलब पाउँथे । त्यो जागिरमा उनलाई रुचि लागेन । उनी आफ्नै व्यापार गर्न चाहन्थे । यही सोचेर भारत फर्किए । बचतको नाममा उनीसँग जम्मा ५ सय रुपैयाँ थियो, जसलाई लिएर उनी मुम्बई पुगे । उनले आफ्ना भाइ चम्पकलाल दिमानीसँग मिलेर रिलायन्स कमर्सियल कर्पोरेशन कम्पनी खोले । यही कम्पनीको सहयोगमा उनी अदुवा, बेसार र अन्य मसला पश्चिमी मुलुकमा बेच्ने गर्दथे । धीरुभइलाई बजार र मागको राम्रो ज्ञान थियो । आगामी दिनमा पोलिस्टर कपडाको माग बढ्ने उनको बुझाइ थियो । उनले त्यसमा पनि जोड दिन थाले । धीरुभाइले मुम्बईमा ३ सय ५० वर्गफिटको कोठा भाडामा लिएका थिए । कार्यालयमा एउटा टेबुल र तीनवटा कुर्सीबाहेक केही थिएन । यही सानो कोठाबाट उनले रिलायन्स इन्डस्ट्रिजको यात्रा सुरु गरे । मसलासँगै पोलिस्टर कपडा बनाउने काम पनि सुरु गरे । सन् १९६६ मा उनले गुजरातको अहमदाबादमा टेक्सटाइल मिल सुरु गरे। जसको नाम रिलायन्स टेक्सटाइल थियो । बिस्तारै उनले व्यवसाय विस्तार गर्न थाले । धीरुभाइलाई व्यापारको हरेक चाल थाहा थियो। एकपटक उनले अरब देशका शेखलाई भारतीय माटो बेचेर पैसा कमाए । वास्तवमा शेखले आफ्नो बगैंचामा गुलाब उब्जाउनुपर्ने थियो, जसका लागि उनलाई उर्वर माटो चाहिन्थ्यो। धीरुभाइले आफ्ना सम्पर्कहरूमार्फत भारतबाट माटो अरब शेखलाई पठाएका थिए। बदलामा शेखले उसलाई मनपर्ने मूल्य दिए। धीरुभाइ अम्बानीको व्यापार बढ्न थाल्यो । कपडा क्षेत्रमा कम्पनीको ठूलो नाम बन्न थाल्यो । कम्पनी कपडाबाहेक दूरसञ्चार, दूरसञ्चार सूचना, ऊर्जा, विद्युत्, खुद्रा बिक्री, पूर्वाधार, पुँजीबजार र खाद्यान्न क्षेत्रमा विस्तार भइसकेको थियो । धीरुभाइले स्वतन्त्र भारतको पहिलो आईपीओ सुरु गर्ने निर्णय गरे । त्यसबेला १० रुपैयाँमा २८ लाख कित्ताको आइपीओ निष्कासन भएको थियो । त्यतिबेला यो सेयर सात गुणा ओभरसब्सक्राइब भएको थियो । धीरुभाइ अम्बानी एक प्रतिभाशाली टोली नेता थिए । आफ्नो कार्यतालिका जतिसुकै व्यस्त भए पनि कर्मचारीलाई भेट्ने, समस्या सुन्ने र समाधान गर्ने गर्थे । उनले शून्यबाट पनि उचाइमा पुग्न सकिन्छ भन्ने प्रमाणित गरे । आज उनका छोराहरू मुकेश अम्बानी र अनिल अम्बानीले रिलायन्सको व्यापारलाई अगाडि बढाइरहेका छन् । एजेन्सी