एक सहकारी संस्थाले १५.५ प्रतिशत लाभांश बाँड्ने
काठमाडौं । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाले १५.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सहकारीले गत वर्षको नाफाबाट १५.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको संस्थाका सचिव हरिकृष्ण थेकेले जानकारी दिए । सहकारीले प्रस्ताव गरेको उक्त लाभांश शनिवार सम्पन्न २४औँ वार्षिक साधारणसभाले पारित गरिसकेको छ । वि.सं २०५६ माघ २१ गते ३० जना सदस्यले ३१ हजार ९ सय सेयर पुँजी जम्मा गरी सुरु भएको सहकारीमा हाल २ हजार ४ सयभन्दा बढी सेयर सदस्य छन् । आर्थिक वर्ष २०७३/७४ मा यस संस्थाको सेयर पुँजी ४ करोड २६ लाख ६ सय रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७९÷८० मा सेयर पुँजी रकम वृद्धि भई ६ करोड ९५ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा सेयर सदस्य बचत रकम ४४ करोड ६५ लाख ३२ हजार ३३४ रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा आउँदा ४६ करोड १ लाख ९८ हजार ८४२ रुपैयाँ ऋण लगानी भएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ करोड ५४ लाख ६ हजार २५४ रुपैयाँ सञ्चालन मुनाफा पुगेको संस्थाले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले ११ वटा शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा राख्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखा कार्यालयमा रहेका स्थिर सम्पत्तिहरु बिक्री गर्ने भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात् कायम नरहेका शाखा कार्यालयहरूको स्थिर सम्पत्ति बिक्री गर्ने भएको हो । विभिन्न स्थानहरुमा दोहोरिएका शाखा कार्यालयहरूमध्ये एक शाखा कार्यालयलाई निरन्तरता दिईएको हुँदा नदोहारीएका ११ वटा कार्यालयहरूको सम्पत्ति बिक्रीमा राखेको हो । बैंकले उक्त शाखा कार्यालयहरुको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरू यथास्थितिमा बिक्री गर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि समेत उपयुक्त तथा तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक संघ संस्थाले ७ दिन (पुस १७ गते)भित्र खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ । साविक बैंक अफ काठमाण्डूका सुर्खेत, बागलुङ्ग आवा रोड, पोखरा, हेटौंडा मेनरोड, वीरगन्ज र सामाखुसी शाखा कार्यालयमा रहेका स्थिर सम्पत्ति बिक्रीमा राखेको हो । यस्तै, ग्लोबल आइएमई बैंकका साविक शाखा कार्यालय रामपुर, ताप्लेजुङ्ग, इटहरी, दोगडाकेदार बिजुवारका शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा राखिएको बैंकले जनाएको छ ।
कालीगण्डकी करिडोरको नागढुङ्गा-काभ्रे खण्डको काम ४ वर्षपछि सुरु
काठमाडौं । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा ४ वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो । नागढुङ्गा–काभ्रे खण्डको सडक विस्तार र कालोपत्रका लागि सञ्चालित योजनाका ठेकेदार ४ वर्षपछि काममा फर्किएका अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले राससलाई जानकारी दिए । उनले भने, “लामो समयको प्रतीक्षापछि ठेकेदार काममा फर्किएकाले सडकको अवस्था सुधार हुने अपेक्षा गरेका छौँ । निर्माणलाई गति दिन सहजीकरण र समन्वय गरिरहेका छौँ ।” विसं २०७४ मा निर्माण कम्पनी शर्मा–गजुरमुखी नागढुङ्गा–कैकुखोला खण्डको १६.५ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न ठेक्का सम्झौता गरेको थियो । विसं २०७७ असार र साउन महिनाको पहिरोको तथा कालीगण्डकी नदीको कटानका कारण नागढुङ्गा–काभ्रे खण्डको सडकमा क्षति भएको थियो । पहिरोपछि बीमा दाबी प्रक्रियामा भएको ढिलाइले रोकिएको सडक निर्माणलाई पुनः थालिएको शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताए । “आगामी जेठ महिनाभित्र सडक निर्माणलाई पूर्णता दिने कार्ययोजनाका लागि उपकरण, मजदुर परिचालन गरेका छौँ”, उनले भने, “हाल ११० जना मजदुर, ४ वटा ब्रेकरसहितको डोजरलगायत आवश्यक उपकरण निर्माणस्थलमा ल्याइएको छ ।” विसं २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको निर्माण अवधिसँगै लागत पनि बढेको छ । पछिल्लोपटक भएको ‘भेरियसन अर्डर’सहित लागत ६३ करोड रुपैयाँ पुगेको छ । हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक योजनाका इञ्जिनियर विष्णु चापागाईले बताए । घाँसा–कैकुखोला खण्डको दुई किलोमिटर सडकमा डिबिएसडी प्रविधिको कालोपत्र गर्ने काम सकिएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे र बाँदरजुङभिर क्षेत्रमा करिब १ किलोमिटर दूरीमा विस्फोटक पदार्थको प्रयोग गरी सडकलाई ८ मिटर फराकिलो बनाएर ढलान गरिएको छ । सोही सडकमा ६ सय मिटर ढलानको तयारी गरिएको छ । पहिरो र कटानको उच्च जोखिमका कारण विभिन्न ठाउँमा २.५ किलोमिटर सडकलाई कालोपत्रबाट झिकिएको छ । नागढुङ्गा–काभ्रे खण्डमा ८.५ किलोमिटर दूरीमा डिबिएसडी प्रविधिको कालोपत्र गर्ने तयारी भएको हो । बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको बेगखोला–नागढुङ्गा खण्डको करिब १० किलोमिटर सडक पनि कालोपत्र सुरु भएको छ । शर्मा–युनाइटेड कम्पनीले ठेक्का लिएको यो सडकको नागढुङ्गादेखि बेगखोलातर्फ ‘प्राइम कोड’ बिछ्याउन थालिएको हो । यो खण्डमा सडक विस्तार, नाली, पर्खाल निर्माण सकेर ‘बेस’ र ‘सब बेस’सँगै प्राइम कोड बिछ्याउने काम भइरहेको आयोजनाले जनाएको छ । राहुघाट–बेगखोला खण्डको राहुपारेदेखि कुनौटासम्म ६ किलोमिटर सडक ४ वर्षअघिनै कालोपत्र भए पनि धेरै ठाउँमा जीर्ण बनिसकेको छ । राहुघाट–बेगखोला खण्डको बाँकी भाग स्तरोन्नति र कालोपत्रको कामलाई नागढुङ्गा–बेगखोलाको काम सकेपछि पूर्णता दिने निर्माण कम्पनीले जनाएको छ । भारत र चीनलाई जोड्ने ४३५ किलोमिटर लामो कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने २०२ किलोमिटरसडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३÷०७४ देखि सुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । उक्त सडकको ६ खण्डमा ८५ किलोमिटर ग्राभेल र ३ खण्डमा १९ किलोमिटर कालोपत्र गरिएको छ । उक्त सडक योजनाअन्तर्गत १३ वटा पक्की पुल र ३ वटा बेलिब्रिज निर्माण भएका छन् ।
शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ । शितगङ्गा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना वापतको ४७ करोड रुपैयाँ वक्यौता नतिरेपछि गत रातिदेखि लाइन काटिएको विद्युत प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए । डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरे वापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ ।
पुरानै लयमा पर्यटन फर्केपछि थप १५ ठूला तारे होटल खुल्दै
काठमाडौं । सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार शनिवार बिहान ५ बजेसम्म १० लाख ८ हजार ६१४ पर्यटक भित्रिएका हुन् । योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सन् २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुर्याइने उल्लेख गरेको थियो । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन करिब पुनःरुत्थान भएको हो । पर्यटन बोर्डका अनुसार महामारीपछि यो वर्ष ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको छ । सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक आएका थिए । सोही आधारमा सन् २०२३ मा ८५ प्रतिशत पर्यटन पुनःरुत्थान भएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले भने, “यसवर्ष पर्यटक आगमन उत्साहवर्द्धक छ । आगामी दिनमा पर्यटक बढाउन भैरहवा र पोखरामा रहेका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन र पर्यटक स्रोत बजारमा प्रभावकारी बजारीकरणका लागि बोर्डले रणनीतिक कार्ययोजना बनाउनेछ ।” पर्यटक आगमन उत्साहवद्र्धक रहेको र आगामी दिनमा थप वृद्धि हुने होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहका अपेक्षा छ । “सरकारको १० लाख पर्यटक पुर्याउने लक्ष्य पूरा भएको छ, यो नै उपलब्धि हो”, उनले भने, “एकपछि अर्को ठूला तारे होटल खुल्नेक्रम जारी छ । २०८१ सालसम्म थप १५ बढी होटल थपिदैछन् । सरकारले निजी क्षेत्रसँगको साझेदारितालाई फराकिलो बनाएर लगेको खण्डमा आगामी दिनमा पर्यटक बढ्छन् ।” काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर १० लाख बढी पर्यटक भित्रिएको भन्दै उनले थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरालाई प्रभावकारी सञ्चालन गर्नसकेको खण्डमा अर्को वर्ष दोब्बर सङ्ख्यामा पर्यटकलाई स्वागत गर्न कुनै कठिनाइ नहुने उनको विश्वास छ । पर्यटकको सङ्ख्या कीर्तिमानकै रूपमा वृद्धि सरकारले अर्को वर्ष विदेशी पर्यटकको सङ्ख्या झण्डै दोब्बर बनाउने लक्ष्य लिएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा पुस १० गते देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पर्यटकको सङ्ख्या लगभग कीर्तिमानकै रूपमा वृद्धि भएको बताएका थिए । “अहिले सुन्दा अपत्यारिलो लाग्ला तर क्षेत्रगत तयारी र योजनाबाट अर्को वर्ष हामी पर्यटकको सङ्ख्या झण्डै दोब्बर बनाउँछौँ भन्ने मेरो विश्वास छ”, प्रधानमन्त्री दाहालले भनेका थिए । सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ । साथै सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकका रुपमा मनाएर ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । चालु आव २०८०/८१ को बजेटमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनुका साथै पर्यटन प्रवद्र्धन र पूर्वाधार विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गरिने उल्लेख गरिएको थियो । नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीयस्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचारप्रसार गरिने उल्लेख गरिएको छ । भारतीय पर्यटक बढे पर्यटन बोर्डका निर्देशक लामिछानेका अनुसार यसवर्ष भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । सन् २०१९ मा २ लाख ५४ हजार १५० भारतीय पर्यटक नेपाल आएकामा यस वर्ष ३ लाख १७ हजार ४८१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारतपछि अमेरिकी पर्यटक बढेका छन् । अमेरिकी पर्यटकको सङ्ख्या यसवर्ष ९९ हजार ९८५ एक लाख पुगेको छ । सन् २०१९ मा ९३ हजार २४१ अमेरिकी पर्यटक आएका थिए । बङ्गलादेशबाट पनि नेपाल आउने पर्यटक बढेका छन् । सन् २०१९ मा २४ हजार हाराहारी आएका बङ्गलादेशी पर्यटकको सङ्ख्या यस वर्ष ३६ हजार १९१ पुगेको छ । त्यसैगरी चिनियाँ पर्यटकको सङ्ख्या पनि क्रमशः बढिरहेको छ । यस वर्ष ६० हजार १६० चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१९ मा १ लाख ६९ हजार ५४३ चिनियाँ पर्यटक नेपाल आएका थिए । कोभिडपछि सीमा नाका खुलेका र चिनियाँ एयरलाइन्सको उडान पनि बढिरहेकाले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने बोर्डको विश्वास छ । यस अवधिमा म्यानमारबाट १२ हजार ६८८, श्रीलङ्काबाट २१ हजार ८४४, संयुक्त अधिराज्य बेलायतबाट ५२ हजार ७९१ विदेशी पर्यटक भित्रिएका छन् । कुन महिनामा कति पर्यटक ? पर्यटन बोर्डका अनुसार यस वर्षको अक्टोबरमा सबैभन्दा बढी १ लाख १७ हजार ३०६ पर्यटक आएका थिए । जुन आँकडा कुनै एक महिनामा भित्रिने विदेशी पर्यटकको सङ्ख्या हालसम्मकै बढी हो । वर्षको सुरु जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२८, अप्रिलमा ९८ हजार ७७४, मेमा ७७ हजार ७०२, जुनमा ७२ हजार २४८, जुलाईमा ५७ हजार ७२५, अगष्टमा ६७ हजार १५३, सेप्टेम्बरमा ९१ हजार १२, नोभेम्बरमा १ लाख ८६ हजार २८ र डिसेम्भरमा ९० हजार ३०९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज र भोलि वर्षको अन्तिम दिनसम्म यो सङ्ख्या केही बढ्ने अनुमान गरिएको छ । पर्यटन पुरानै लयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोभिड–महामारीपछि मुलुकको पर्यटन करिब पुरानै लयमा फर्किएको बताए । उनले सरकारको लक्ष्यअनुरुप विदेशी पर्यटक भित्रिएको र अगामी वर्ष विदेशी पर्यटकको सङ्ख्या दोब्बर बनाउन प्रभावकारी कार्यक्रमअघि बढाइने बताए । पर्यटनमन्त्री किरातीले भने, “देशको पर्यटन करिब पुरानै लयमा फर्किएको छ । यो वर्ष १० लाख बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल वायुसेवा निगम सुधार्न र जहाज थपेर सेवा प्रभावकारी बनाउन रणनीतिक महत्वका काम अघि बढाइएको छ । हवाई क्षेत्रको सुधारका लागि धेरै काम भएका छन् । यसले पनि पर्यटन बढोत्तरीमा मद्दत पुग्नेछ ।” प्रधानमन्त्री दाहालको सम्बोधनमा ठूलो खर्च भएका पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी मुलुकका नजिकका विमानस्थलसम्म कम उचाइमा उडान गर्ने साना विमान सञ्चालनको पहल भइरहेको उल्लेख छ । भैरहवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र अवतरण गर्ने विमानलाई इन्धन, टर्मिनल, ग्राउण्ड ह्याण्डलिङ र अन्य सेवा शुल्कमा सहुलियत दिएर प्रोत्साहन गरिने उनको भनाइ छ । साथै, निजगढ विमानस्थलको निर्माण सुनिश्चित गरी काठमाडौँ, भैरहवा र पोखरा विमानस्थलको विस्तार तथा सञ्चालन पनि सार्वजनिक–निजी साझेदारी मोडेलमा अघि बढाउने विकल्पमा छलफल भएको जानकारी दिएका थिए ।
‘सबै सहकारी खराब छैनन्’
काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सबै सहकारी संस्था खराब नरहेको बताएकी छिन् । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाको २४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले पछिल्लो समय केही सहकारी सङ्घ संस्थाका विकृति विसङ्गति समाचार माध्यममा आइरहे पनि सबै सहकारी खराब नरहेको बताइन् । कालिमाटी तरकारी बजारका व्यवसायीले सञ्चालन गरेको तरकारी फलफूल साकोसबारे आफू राम्रो जानकार रहेको भन्दै उपसभामुख रानाले उक्त सहकारी सुशासनमा सञ्चालन भइरहेको आफूले पाएको बताइन् । तरकारी बजारका व्यवसायीसँग कोभिड–१९ का बेला दुई वर्षसम्म सहकार्य गर्ने अवसर पाएको स्मरण गर्दै सहकारीले पनि आफ्ना सेयर सदस्यलाई धेरै किसिमका सेवा दिएको आफूले पाएको चर्चा उनले गरिन् । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले तरकारी फलफूल साकोस सुशासनमा चलेको आफूले पाएको बताए । सहकारीका सूचकाङ्कहरुको अध्ययन गर्दा यसले आफ्ना सेयर सदस्यलाई केन्द्रमा राखेर धेरै सिर्जनशील काम गरेको, शेयर सदस्यको आर्थिक विकासमा टेवा र्पुयाएको आफूले पाएको उनको भनाइ छ । सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेले तरकारी फलफूल साकोसको आर्थिक विवरण हेर्दा सुशासनमा सञ्चालन भइरहेको आफूले पाएको बताए । सञ्चालक समितिका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उक्त सहकारी संस्था स्थापनामा उल्लेख्य भूमिका निर्वाह गरेका सहकारी विभागका पूर्वरजिस्ट्रार केशवबहादुर थापा र वरिष्ठ बजारविज्ञ उद्धव ढुङ्गानालाई सम्मान गरिएको थियो । सहकारी संस्थाका शेयर सदस्यका छोराछोरीमध्येबाट गत वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको थियो । नियमित बचतकर्ता, असल ऋणी र उत्कृष्ट कर्मचारी सम्मानसमेत प्रदान गरिएको व्यवस्थापक सृष्टि श्रेष्ठले जानकारी दिए ।
नेपाललाई १० वर्षभित्र एशियाकै समृद्ध मुलुक बनाउन सकिन्छ : नेता कार्की
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इमान्दार भएर काम गरे नेपाललाई १० वर्षभित्र एसियाको समृद्ध मुलुक बनाउन सकिने धारणा राखेका छन् । नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेशको दोस्रो प्रदेशस्तरीय मुस्लिम भेला तथा सम्मान कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उनले सरकारले अब कुरा भन्दा पनि जनताको हितमा काम गरेर देखाउनुपर्ने बताए । उनले जलस्रोत, कृषि, पर्यटनलगायतका क्षेत्रमा पर्याप्त सम्भावना भएकाले ती क्षेत्रमा लगानी बढाउन सके नेपाल सम्पन्न राष्ट्र बन्न समय नलाग्ने बताए । गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्यालले राजनीतिक परिवर्तनका लागि हुने प्रत्येक आन्दोलनमा मुस्लिम समुदायको भूमिका उल्लेखनीय रहेकोे बताउँदै मुस्लिम समुदायका महिलालाई पनि राजनीतिक क्षेत्रमा अगाडि सार्नुपर्ने बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम सङ्घका केन्द्रीय सभापति हाजी अब्दुल सतारले नेपाली कांग्रेसले मुस्लिम समुदायका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले संविधानले दिएको अधिकारसमेत मुस्लिम समुदायले उपयोग गर्नबाट वञ्चित भएको गुनासो उक्तः अवसरमा राखे । राज्यका हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्व हुनुपर्नेमा उनको जोड थियो । नेपाल मुस्लिम सङ्घ गण्डकी प्रदेशका अध्यक्ष हाजशाह महम्मदको अध्यक्षातामा भएको उक्त भेलामा विसं २०७९ को एसइईमा उत्कृष्ट अङ्क ल्याउने मुस्लिम समुदायका छात्रछात्रा र समितिमा योगदान पुर्याउने सदस्यलाई सम्मान गरिएको थियो ।
गैरिटाँड-कमलबजार-बासकाँडा सडकको शिलान्यास
अछाम । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले कैलाली–चिसापानी–जङ्गलघाट–बडिमालिका–गैरिटाँड–कमलबजार–बास्काँडा सडकअन्तर्गत (गैरिटाँड–कमलबजार बासकाँडा खण्डको २३ किलोमिटर) सडक कालोपत्र आयोजनाको शिलान्यास गरेका छन् । डडेल्धुरा, डोटी, अछाम र बाजुरा जिल्लामा सुदूरपश्चिम प्रदेश सरकारबाट सञ्चालित विकास निर्माण आयोजनाको स्थलगत निरीक्षण गर्ने कार्यक्रमअनुसार आज अछाम आइपुगेका मन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना उक्त सडकको शिलान्यास गर्दै उक्त आयोजना अछामका बासिन्दाको समृद्धिसँग जोडिएको बताए । उनले सबै आयोजना निर्धारित समयभित्रै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । गैरिटाँड–कमलबजार–बासकाँडा सडक खण्डको २३ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा पिके निर्माण सेवाले पाएको छ । उक्त आयोजनाको लागत ६९ करोड ४३ लाख ५३ हजार रुपैयाँ छ ।