काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले डर, त्रास तथा धम्की दिई ५० लाख रुपैयाँ माग गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका-१ बस्ने ३६ वर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला तथा नुवाकोट ककनी नगरपालिका-३ बस्ने ३६ वर्षीय नरहरि ढुङगाना उपनाम रमेश रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनले भने, ‘केही व्यक्तिले योजनाबद्ध तरिकाले पीडितलाई पटक-पटक फोनमार्फत तथा प्रत्यक्ष भेट गरी डर, धम्की तथा त्रास देखाई ५० लाख रुपैयाँ माग गरेको भन्ने गोप्य सूचनाका आधारमा हाम्रो कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले चन्द्रगिरि नगरपालिका-९ मच्छेगाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।’
पक्राउ परेकाहरुलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि मङ्गलबार जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको र निजहरुका साथबाट प्रहरीले मोटरसाइकल (सु.प.प्र.-०१००९ प ६६१) एक थान, विभिन्न कम्पनीका मोबाइलहरु चार थान तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सहयोग रसिद एक ठेली बरामद गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए । रासस