काठमाडौंमा मिटरब्याजी पीडितको विरोध प्रदर्शन
काठमाडौं । न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उनीहरुले त्रिभूवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् । भृकुटीमण्डपबाट सिंहदरबार जाने क्रममा भृकुटीमण्डप क्षेत्रमै प्रहरीले रोकेपछि उनीहरुले सोही स्थानमा सडकमा बसेर विरोध जनाए । प्रदर्शनकारीहरुले किसानको भूमि फिर्ता गर, पीडितहरु एक हौँ, हाम्रो आन्दोलन जारी छ, मेची, महाकाली, काठमाडौं पैदल यात्रा सफल पारौँ, पीडितलाई न्याय दे लगायतका नारा लगाएर विरोध जनाएका छन् । उनीहरु बुधवार साँझ पैदल यात्रा गरेर काठमाडौं आइपुगेका थिए ।
दादुरा-रुबेला खोप : ५७ लाख बालबालिकालाई लगाइने, लागत १ अर्ब बढी लाग्ने
काठमाडौं । सरकारले फागुन १३ गतेदेखि दादुरा-रुबेला खोप अभियानमा सञ्चालन गर्ने भएको छ । चैत ७ गतेसम्म सञ्चालन हुने अभियानमा सरकारले ५७ लाख बढीलाई खोप लगाउने उद्देश्यले लिएको छ । अभियानमा दादुरा-रुबेलाको बढी संक्रमण भेटिएको २४ जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मकालाई दादुरा-रुबेलाको खोप लगाइने छ भने अन्य ५१ जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने भएको हो । भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका बालबालिकालाई भने दादुरा रुबेला सम्बन्धी खोप लगाइसकेको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए । उनका अनुसार ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा-रुबेलासँगै पीसीभी, आइपीभी, डीपीटी-हेप वी.हिव लगायतका खोप लगाइनेछ । खोप अभियानका लागि देशभर ४० हजार खोप केन्द्र सञ्चालन गरिनेछ भने कतिपय ठाउँमा विद्यालय, स्वास्थ्य संस्थामापनि खोप लगाइने छ । यसका लागि देशभरका महिला स्वास्थ्य स्वयमसेविकालाई प्रयोग गरिनेछ भने ३० हजार बढी स्वास्थ्यकर्मी परिचालन गरिने खोप शाखाले जनाएको छ । यो अभियानका लागि १ अर्ब ३५ करोड रुपैयाँ लागत लाग्ने छ भने ६३ लाख मात्रा खोप सबै जिल्लामा वितरण गरिसकेको जनाइएको छ । कुनैपनि बालबालिका दादुरा-रुबेलाका कारण जोखिममा नपरुन् भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।
अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपाली स्वदेश फर्काइए
काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । ‘अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौं फिर्ता पठाएको छ’, उनले भने, ‘हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ ।’ रासस
अमेरिकी निजी यान ५० वर्षभन्दा बढी समयपछि पहिलोपटक चन्द्रमामा अवतरण
अमेरिका । एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले राम्रो सम्पर्क प्राप्त गर्नका लागि सङ्घर्ष नगरेसम्म कमजोर सङ्केत मात्र प्राप्त गर्न सकेका थिए । खराब सञ्चार भए पनि यानको निर्माण तथा व्यवस्थापन गर्ने कम्पनी इन्ट्युटिभ मसिन्सले यानले सिधै अवतरण गरेको पुष्टि गरेको छ । यद्यपि यान चन्द्रमाको दक्षिणी ध्रुव नजिक आफ्नो इच्छित गन्तव्यमा पुगेको थियो वा थिएन भन्नेबारे कम्पनीले कुनै थप विवरण दिएको छैन । यानबाट कमजोर सङ्केत प्राप्त हुने बित्तिकै कम्पनीले आफ्नो लाइभ वेबकास्ट बन्द गरेको थियो । मिसन निर्देशक टिम क्रेनले कम्पनीको ह्युस्टन नियन्त्रण केन्द्रमा तनावको स्थितिको बारेमा भने, ‘निस्सन्देह हाम्रो उपकरणहरू चन्द्रमाको सतहमा भएको हामी पुष्टि गर्न सक्छौँ ।’ इन्ट्युटिभ मसिन्सका कार्यकारी प्रमुख स्टिभ अल्टेमसले भने, ‘मलाई थाहा थियो यो ठूलो चिन्तापूर्ण र तनावपूर्ण थियो तर हामी सतहमा छौँ र प्रसारण गर्दैछौँ, चन्द्रमामा तपाईंलाई स्वागत छ ।’ टचडाउनको दुई घन्टापछि कम्पनीको घोषणाअनुसार अन्ततः डाटा प्रवाह सुरु भएको छ । नासाको प्रसिद्ध अपोलो मुनवाकर्सपछि पहिलो पटक अवतरणले अमेरिकालाई सतहमा फर्काएको छ । इन्ट्युटिभ मसिन्स चन्द्रमामा अवतरण गर्ने पहिलो निजी व्यवसाय पनि बनेको छ । यो उपलब्धि केवल पाँच मुलुकले मात्र हासिल गरेका छन् । अर्को अमेरिकी कम्पनी एस्ट्रोबोटिक टेक्नोलोजीले गत महिना यसलाई सट दिएको थियो तर चन्द्रमामा पुग्न सकेन र यान पृथ्वीमा फर्कँदा दुर्घटनाग्रस्त भयो । दुवै कम्पनी चन्द्र अर्थतन्त्रलाई गति दिनका लागि नासा समर्थित कार्यक्रमका हिस्सा हुन् । एस्ट्रोबोटिक सबैभन्दा पहिला बधाई दिने मध्येको एक थियो । ‘एउटा अविश्वसनीय उपलब्धि, हामी निकट भविष्यमा चन्द्रमाको सतहमा तपाईंसँग सामेल हुनका लागि प्रतीक्षा गर्न सक्तैनौँ’, कम्पनीले सामाजिक सञ्जाल एक्समा भनेको छ । नासाका प्रशासक बिल नेल्सनले ट्विट गर्नुभयो, ‘इन्ट्युटिभ मसिन्सले जीवनभरको अवतरणलाई गति दियो ।’ यानको नेभिगेसन प्रणाली विफल हुँदा अवतरणअघिको अन्तिम केही घन्टा थप तनावपूर्ण बनेको थियो । कम्पनीको उडान नियन्त्रण टोलीले प्रगोगात्मक नासा लेजर प्रणालीलाई कार्यान्वयनमा ल्याउनुपर्यो । यानले अन्तिम मिनेटको स्विचका लागि समयको अनुमति दिनका लागि चन्द्रमाको चारैतिर थप एउटा चक्कर लगाउनुपर्यो । अन्ततः उक्त परिवर्तनसँगै ओडिसियस चन्द्रमा–स्किमिङ कक्षबाट उत्रियो र दक्षिणी ध्रुवनजिकै सबै चट्टान र क्रेटरहरूको बीचको तुलनात्मकरूपमा समतल स्थानलाई लक्ष्य बनाउँदै सतहतर्फ निर्देशित भयो । निर्दिष्ट टचडाउनको समय आयो र गयो, कम्पनीको कमान्ड सेन्टरका नियन्त्रकहरू उत्सुकतापूर्वक करिब चार लाख किलोमिटर टाढा अन्तरिक्ष यानबाट सङ्केतको प्रतीक्षा गरिरहेका थिए । करिब १५ मिनेटपछि कम्पनीले यानबाट कमजोर सङ्केत प्राप्त भएको घोषणा गर्यो । गत सात प्रक्षेपण गरिएको छ फुटको कार्बन फाइबर र टाइटेनियम यान (१४ फिट अग्लो) नासका लागि छ वटा प्रयोग थिए । केही वर्षमा अन्तरिक्ष याात्रीहरूको योजनाबद्ध फिर्ता हुनुअघि पहिलो चन्द्रमा डेलिभरीको व्यावसायिकरण गर्ने प्रयासको हिस्सास्वरूप अन्तरिक्ष एजेन्सीले कम्पनीलाई यान बनाउन र उडानका लागि ११ करोड ८० लाख डलर दिएको थियो । रासस
शैक्षिक क्यालेण्डर बनाइ कार्यान्वयन गर्छु : उपकुलपति बराल
र्कीतिपुर । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताएका छन् । विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएपछि बिहीबार साँझ कुरा गर्दै उनले भने, ‘विश्वविद्यालयमा वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी त्यसको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता हो । यो मेरो पहिलो प्राथमिकतामा हुनेछ ।’ उनले त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था भएको र यसको सुधारका असङ्ख्य काम भएको भन्दै उनले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनका लागि पनि आफूले काम गर्नेसमेत उल्लेख गरे । ‘विश्वविद्यालयले परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गर्नु निकै आवश्यक छ’, उनले भने, ‘यसका अलवा विश्वविद्यालयको पाठयक्रम अद्यावधिक पनि मेरो प्राथमिकतामा हुनेछ ।’ विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको रिक्त उपकुलपति पदमा नियुक्त गरेका थिए । नवनियुक्त उपकुलपति प्रा डा बरालले आज नियुक्तिपत्र बुझिसकेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले शुक्रबार कीर्तिपुरस्थित कार्यालय पुगी पदबहाली गर्ने कार्यक्रम छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री दाहालले अध्ययन गरेका थिए । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहालसमक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो । उनलाई नियुक्ति गर्नुअघि प्रधानमन्त्री दाहालले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उनको ‘करिअर’का विषयमा जानकारीसमेत लिएका थिए । उपकुलपति पदका लागि दर्खास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ । रासस
गृहमन्त्री श्रेष्ठ र यातायातमन्त्री ज्वालाले तत्काल राजीनामा दिनुपर्छः सांसद दाहाल
काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेकी छिन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आरती साह र मिटरब्याज पीडितलाई न्याय दिन नसकेको भन्दै गृहमन्त्री श्रेष्ठ र बालकुमारी घटनाका दोषी ठहर भएको हुनाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेकी हुन् । सांसद दाहालले वर्तमान सरकार पूर्णत असफल भएको जिकिर समेत गरे । ‘सरकार आलटाल गरिरहेको छ । माननीय मन्त्रीज्युले राजीनामा दिनु पर्दैन ? आज आरती साहको परिवारले न्याय पाउन सकेका छैनन । आज न आरतीय साहको परिवारले न्याय पाउन सक्यो, न मिटरब्याजीहरुले न्याय पाउन सके । न बालकुमारी घटनाका पीडतले न्याय पाउने सके । हिजो विगतलाई कोट्याएर घायल बन्नभन्दा अब के गर्ने हो, सुनौलो मौका छ । असफल सरकारका गृहमन्त्रीको राजीनामा माग्दछु । र बालकुमारी घटनाका दोषी मन्त्रीज्युलाई स्पष्टिकरण पनि सोधिँदैन, जवाफ पनि दिनुहुन्न । उहाँले पनि म राजीनामाको माग गर्न चाहन्छु’, उनले भनिन् । सांसद दाहालले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई स्पष्टिकरण नलिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालको पनि आलोचना गरिन् ।
सिटिजन्स बैंकद्वारा सत्य साई बृद्धाश्रम भैरहवालाई सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बसन्तपुर– ८ बालापुर, रुपन्देहीमा अवस्थित सत्य साई बृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीहरु उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट बृद्धाश्रम संचालन भइरहेको छ । बृद्धाश्रममा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरे । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बृद्धाश्रममा आश्रित व्यक्तिहरुको जिविकोपार्जन तथा सहजिकरणको निमित्त उक्त सामाग्रीहरु संस्थालाई हस्तान्तरण गरि मानवसेवामा समर्पित हुन पाँउदा हर्षित भएको बताए । संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वाट जिल्लामा सेवा प्रदान गर्नेछ ।
ठूला दलका आन्तरिक छलफलमा के भयो ?
काठमाडौं । सङ्घीय सङ्घीय संसद्को हिउँदे अधिवेशन चलिरहेकै बेला प्रमुख राजनीतिक दलले बैठक र भेला सम्पन्न गरेका छन् । ती बैठक तथा भेलामा उनीहरूले मुख्यतयः २०८४ को संसदीय निर्वाचनमा बहुमत ल्याउने र राजनीतिक स्थायित्व प्रदान गर्दै मुलुकलाई समृद्धितर्फ लैजाने सङ्कल्प पारित गरेका छन् । प्रमुख तीन दलले मुलुक र पार्टीलाई सुस्पष्ट दिशानिर्देशन गर्ने राजनीतिक, साङ्गठानिक, नीतिगत र आर्थिक प्रस्ताव पारित गर्दै तय गरिएका कार्यक्रममार्फत आगामी निर्वाचनमा बहुमत प्राप्त गरी पहिलो बन्ने महत्त्वकाङ्क्षी योजना प्रमुख तीन दलले अघि बढाएका हुन् । त्यति मात्रै होइन, नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीले मिसन–८४ अघि बढाइसकेको छ । उसले त्यसमा निम्ति विभिन्न परियोजना निर्माणमा भइरहेका ढिलासुस्तीबारे दबाब अभियान नै सुरु गरिसकेको छ । नेपाली कांग्रेसको बिहीबार सम्पन्न महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाले महासमिति बैठकले पारित गरे बमोजिम १२ लाख नयाँ सदस्य थप्दै आगामी निर्वाचनमा कांग्रेसकै इतिहासमा सबैभन्दा बढी मत प्राप्त गरेको दलका रूपमा स्थापित गर्ने विश्वास प्रकट गरे । त्यसका लागि भेला र बैठकले तय गरेका दलका रणनीति, कार्यनीति, कार्यक्रम र अभियान प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, गाउँ, टोल र जनताका घरदैलोमा पुर्याउने अठोट गरिएको छ । प्रमुख पार्टीका बैठक र भेलामा दलभित्रको आन्तरिक जीवन, अनुशासन, जनअपेक्षा, पार्टीप्रतिको बुझाइ, क्रियाशीलता र आगामी कार्यदिशाबारे विस्तृत र गहन छलफल भएको छ । ती राजनीतिक दलबाट अघिल्ला बैठकमा जस्तै यसपटक पनि मुलुकको राजनीतिलाई थप स्थिरता प्रदान गर्दै कानुन निर्माण र जनहितका कार्यक्रम प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ । त्यस्ता बैठक र भेलामा सत्ता गठबन्धनप्रतिको दृष्टिकोण र राजनीतिक आगामी ‘कोर्स’बारे पनि छलफल गरिएको छ । नेकपा(एमाले) नेता हेमराज राईले भने जनताको समस्याप्रति सरकार केन्द्रित नभएको आरोप लगाए । सरकारले महँगी र कालोबजारी नियन्त्रण गर्न नसकेको तथा राष्ट्रियता, लोकतन्त्र, विकास र अर्थतन्त्रको पाटोमा सरकारले लिएका नीति र निर्णय कमजोर देखिएको भन्ने पार्टीको बुझाइ रहेको उनले बताए । नेता राईले पार्टी सुदृढीकरण र शुद्धीकरणको अभियान अघि बढाउन तथा पार्टीभित्रका संगठनात्मक अराजकतालाई अन्त्य गर्न केकस्ता उपाय र कार्यक्रमसहित अघि बढनुपर्छ भन्ने सुझाव समूहगत रूपमा प्राप्त भएको बताए । उनले भने, ‘प्राप्त सुझावलाई अध्यक्ष र महासचिवबाट दिशानिर्देशन हुने ढङ्गबाट सम्बोधन भयो । आगामी सचिवालयको बैठकमा प्राप्त सुझावलाई संश्लेषण गरी प्रस्तुत गरिने छ ।’ पार्टीको वैचारिक र सङ्गठनात्मक क्षेत्रमा देखापरेका समस्या निधान गर्ने सन्दर्भमा गर्नुपर्ने कामबारे छलफल चलेकाले पार्टीलाई आगामी दिशामा कुन ढङ्गले अघि बढाउने भन्नेमा स्पष्ट पार्ने तथा तलसम्मका विचार र बुझाइलाई एकरुपता कायम गर्ने भन्ने छ । दशौँ महाधिवेशनले पारित गरेको र निर्देशित गरेका विचारलाई कार्यान्वयनमा लैजान योजना बनाउने र आन्तरिक जीवनमा देखिएको अनुशासनहिनता र अराजकस्थिति सुधार गर्ने विषयमा निर्मम हुने भनिएको छ । पार्टीले दिएको निर्देशनलाई ठीक ढङ्गबाट नबुझ्ने, कार्यान्वनमा आलटाल र ढिलासुस्तीलाई अन्त्य गर्ने विषय हुन् । कार्यान्वयनमा देखिएको लटरपटरलाई अन्त्य गर्ने र ‘मिसन ग्रासरुट’लाई प्रभावकारी तुल्याउने भन्ने छ । ‘मिसन ८४ को उद्देश्य प्राप्त गर्न राजनीति, वैचारिक सुस्पष्टताका साथ लक्ष्यको बुझाइमा एकरुपता हुन आवश्यक छ । वामपन्थी एकताको विषय एकपक्षीय मात्रै हुन सक्दैन’, उनले भने । एमालेले केही समय अघि मात्रै मध्यपहाडी लोकमार्गलाई आधार बनाइ अभियान सञ्चालन गरेको थियो । नेकपा (माओवादी केन्द्र) ले पनि गत भदौ १६ देखि देशव्यापी रूपमा चार महिने जनतासँग माओवादी रुपान्तरण अभियान सञ्चालन गरेको थियो । सो पार्टीका मुख्य सचेतक हितराज पाण्डेले पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानबारे हालैको बैठकमा निर्मम समीक्षा गरिएको प्रतिक्रिया दिए । माओवादी केन्द्रको विधान अधिवेशन र केन्द्रीय समिति बैठक केही दिन अघि सम्पन्न भइसकेको छ भने हाल स्थायी समिति बैठक चलिरहेको छ । उनले भने, ‘पार्टी जीवनमा यो खालको निर्मम समीक्षा आजसम्म कहिल्यै भएको थिएन । समीक्षामा अभियानका क्रममा सहभागी संरचनाको जिम्मेवारीमा रहेका निकायलाई चार भागमा विभाजन गरी सबैभन्दा उत्कृष्ट कार्यसम्पादन गर्नेलाई पुरस्कृत गर्ने निर्णय भएको छ ।’ मध्यमस्तरको कार्य सम्पादन गर्नेलाई प्रोत्साहन गर्ने तथा सुम्पिएको जिम्मेवारी सन्तोषजनक नगर्नेलाई स्पष्टीकरण सोध्ने र कारबाहीको दायरामा ल्याउने निर्णयसमेत बैठकले गरेको उनले बताए । विधान अधिवेशन नियमित काम भए पनि यस अधिवेशनले कमिटीमा रहने सङ्ख्या स्वाट्टै घटाउने निर्णय गरेको छ । पार्टीका नेता तथा कार्यकता माथिल्ला कमिटीमा बस्न रुचाउने तर जनतातिर गएर काम गर्न गाह्रो मान्ने चरित्रलाई सुधार ल्याउन कमिटीको सङ्ख्या घटाउने निर्णय गरेको हो । माओवादीले खासगरी तराई मधेशमा धेरै सम्भावना बोकेको, घना जनसङ्ख्या रहेको र थुप्रै शहर भए पनि विकास स्थिति कमजोर रहेकाले पार्टी नेतृत्वसहितका पदाधिकारीकै सहभागीतामा आगामी चैत १ देखि १५ सम्म हुलाकी राजमार्गलाई केन्द्रित गरी तराई–मधेश जागरण अभियान गर्न लागेको छ । अध्यक्षसहित पदाधिकारीको सहभागितामा झापाबाट सुरु हुने अभियान कञ्चारपुरसम्म सञ्चालन हुने मुख्य सचेतक पाण्डेले जानकारी दिए । माओवादी केन्द्रले अर्को हिमाल–पहाड–तराईमधेश राष्ट्रिय एकता अभियान पनि सञ्चालन गर्दैछ । यसमा खासगरी नदी प्रणालीलाई आधार मानेर अभियान सञ्चालन हुनेछ । पार्टी पङ्तिलाई जिम्मेवार भई जनतामा पुग्ने विषयलाई जोड दिइनेछ । यसबाट जनताले प्रत्यक्ष अपेक्षा गर्ने भनेको बजेट निर्माणमा जनताका प्राथमिकता र अपेक्षा सम्बोधन विषय भएको मुख्य सचेतक पाण्डे भन्छन् । अभियानको मुख्य लक्ष्य भनेकै समस्या पहिचान गरी पार्टी जनतासँग जोडिँदै आवश्यकता सम्बोधन गर्नु हो । नेपाली समाजमा सबै राजनीतिक पार्टी र नेता उस्तै हुन भन्ने भाष्यलाई अन्त्य गर्न अभियानले सहयोग पुर्याउने उनको भनाइ छ । ‘जनयुद्धमा रहँदा जनताकै सामिप्यमा रही वर्गीय, उत्पीडित जाति, पछि परेको समुदाय, पिछडिएको भूगोलसगै अनुशासन र कर्तव्य विषय प्रखररुपमा उठाइए र अभ्यासमा ल्याइएकै कारण २०६४ मा जनताले अपार विश्वासका साथ मत जाहेर गरेका थिए । तर अहिले पार्टीभित्रको अनुशासन र टुटफूटको अवस्थालाई सच्याउन र सुधार्न अभियान सार्थक हुने विश्वास लिएको छ,’ उनले भने । नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसीले पार्टीले महासमितिमार्फत मुलुकमा समसामयिक राजनीतिमा देखा परेका समस्या समाधान, जनताबीचमा प्रिय पार्टीका रूपमा स्थापित गर्न लिनुपर्ने आगामी नीति र रणनीतिबारे सुझाव र सल्लाह प्राप्त गरेको प्रतिक्रिया दिए । उनले भने, ‘लोकतान्त्रिक पार्टीभित्र विचारको द्वन्द्व र मन्थन हुनु स्वभाविक छ । सदस्यहरूले आगामी दिनमा केकस्ता रणनीति र कार्यक्रम अघि बढाउँदा पार्टी बलियो हुन्छ भन्ने कोणबाट विचार प्रस्तुत भए ।’ आर्थिक हिसाबाट सङ्कटमा रहेको मुलुकलाई पार्टीका तर्फबाट समृद्धि र सुशासनका लागि चल्न पर्ने कदमबारे पनि विभिन्न कोणबाट छलफल भएको बताउँदै नेता केसीले भेलामा कृषि, जनजीविका, रोजगारी, अर्थतन्त्र सुदृढीकरणलगायतका विषयमा धेरै छलफल भएको जानकारी दिए । उनले कृषिलाई आधार बनेर मुलुकमा भएका प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै जलस्रोत, पर्यटनको विकासका लागि स्रोत परिचालन गरी विदेश गएका युवालाई काम लगाउने एजेण्डा कार्यान्वयनमा कांग्रेस निर्मम भएर अघि बढ्नुपर्ने सुझाव प्राप्त भएको बताए । बैठकमा पार्टीले पनि त्यसखाले नीति बनाएर जाने र वर्तमान सरकारलाई पनि त्यसतर्फ अघि बढ्न निर्देशन गर्ने निर्णय भएको उनको प्रतिक्रिया थियो । मुलुकमा राजनीतिक स्थिरतका लागि २०७९ मंसिर ४ गते चुनावी गठवन्धनको सरकारलाई आगामी चारवर्ष टिकाएर स्थिर सरकार दिनुपर्छ भन्ने पार्टीको निष्कर्ष रहेको उनको भनाइ छ । महासमिति बैठकले मुलुकमा सुशासनको प्रत्याभूति दिलाउन र समृद्धि प्राप्त गर्न वर्तमान सरकारलाई निरन्तर सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाएको छ । प्रमुख तीन राजनीतिक दलले आगामी निर्वाचनलाई केन्द्रित गरी विभिन्न अभियान सञ्चालन गरी जनतमाझ पुग्ने रणनीति बनाएका छन् । जनता समाजवादी पार्टीका नेता नवलकिशोर साह सुडीले बिहीबारको बैठकमा पार्टीको महाधिवेशन आगामी जेठमा मधेस प्रदेशको राजधानी जनकपुरमा गर्नेलगायतका पार्टीको आन्तरिक जीवन र जनतासँग जोडिएका मुख्य विषयवस्तुमा छलफल भएको बताए । रासस