अध्ययन नगरी धरानमा हवाई मैदान बनाउन सकिँदैन : मन्त्री किराती
धरान । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढंगले अध्ययन नगरी धरानमा तत्काल हवाई मैदान बनाउन नसकिने बताएका छन् । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको धरान एक्स्पो, २०८० को उद्घाटन गर्दै मन्त्री किरातीले राम्रोसँग अध्ययन नगरी बनाइएका कारण देशभर २२ हवाईमैदान अलपत्र अवस्थामा रहेका कारण धरानमा पनि हवाई मैदानको सम्भाव्यताका लागि मिहिन ढंगले अध्ययन भइरहेको बताए । प्राविधिकले धरानमा हवाईमैदानका लागि अध्ययन भइरहेको स्थानमा एकतर्फी मात्र उडान अवतरण गर्न मिल्ने जानकारी दिएको उल्लेख गरे । मन्त्री किरातीले भने, ‘जहाज उडान भर्न सकिन्छ कि सकिँदैन भन्ने बुझेर मात्र हवाई मैदान बनाउनुपर्छ ।’ उनले धरानमा स्थानीय उत्पादन, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि धरान एक्स्पो आयोजना गरिएकाले सहभागी हुन सबैमा आग्रह गरे । विकासका लागि धरान एक्लै अघि बढ्न नसक्ने उल्लेख गर्दै मन्त्री किरातीले धरानले चतरा, बराहक्षेत्र, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायत ठाउँका धार्मिक तथा पर्यटकीयस्थललाई ध्यानमा राखेर सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्डीराज ढकालले पछिल्लो समय व्यापार व्यवसाय धरासायी बनेकाले नीजि क्षेत्रलाई उकास्न राज्यले सहयोग गर्नुपर्ने जोड दिए । कार्यक्रममा कोशी प्रदेशसभा सदस्य विजयकुमार राई र रमेश बस्नेत, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईलगायतले शुभकामना व्यक्त गरेका थिए । एक्स्पोका आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठका अनुसार हस्तकला, स्थानीय साधनस्रोतबाट उत्पादित वस्तु निकासी र पैठारी गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । यही फागुन २३ गतेसम्म सञ्चालन हुने सो एक्स्पोमा एक सय ५० कक्ष राखिएका छन् ।
अधिकांश पीएसपी र पीएसओ घाटामा छन् : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अधिकांश पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) र पेमेन्ट सर्भिस अपरेटर (पीएसओ) घाटामा रहेका बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित फिनटेक कन्भर्सेसन मा बोल्दै उनले सो बताएका हुन् । ‘राष्ट्र बैंकबाट इजाजत पाएका अधिकांश पीएसपी र पीएसओ घाटामा चलिरहेका छन्,’ उनले भने । राष्ट्र बैंकले डिजिटललाई जोड दिइरहेको बताउँदै गभर्नर अधिकारीले फिनटेकले यसलाई थप विस्तार गर्न भूमिका निर्वाह गरेको बताएका छन् । ‘कुनै बेला चेक साट्न वा सेटलमेण्ट हुन महिना दिन लाग्थ्यो । दार्चुलाको चेक त झन् बढी समय लाग्थ्यो । तर अहिले धेरै परिवर्तन भएको छ,’ उनले भने । साथै, उनले अर्थतन्त्रलाई डिजिटल बनाउन नीतिगत सुधार गर्नुपर्ने भएमा राष्ट्र बैंकलाई सुझाव दिन आग्रह गरेका छन् । त्यस्तै, गर्भनर अधिकारीले व्यक्तिहरुले आफ्नो पासवर्डदेखि आफ्नो गोपनियतामा ध्यान दिन नसक्दा सिस्टमलाई दोष दिने चलन रहेको समेत बताए । ‘अब क्रस बोर्डर डिजिटल कारोबार गर्न सक्ने गरि भारतमा पनि क्यूआरको माध्यमबाट कारोबार गर्न सकिनेछ । एक डेढ महिनाभित्र कारोबार गर्न सकिने गरि काम गरिरहेका छौं । नेपालको प्रविधि विदेश लैजान पहल भइरहेका छन् । नेशनल आइडिलाई डिजिटल कार्ड बनाउन राष्ट्र बैंकको सुझाव छ,’ कार्यक्रममा बोल्दै गभर्नरले भने । पर्यटकहरूलाई डिजिटल कारोबारका लागि पर्यटन मन्त्रालय र विभागसँग छलफल भइरहेको बताउँदै गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलमै अस्थायी रूपमा पर्यटकहरूलाई निश्चित अवधिका लागि क्यूआर कोड दिने तयारी थालिएको जानकारी गराए । त्यस्तै, गभर्नर अधिकारीले राष्ट्र बैंकको गुनासो पोर्टलमा आउने गुनासाहरुमध्ये ९८ प्रतिशत सेटल भइसकेको बताउँदै भने- ‘पछिल्लो समयमा लघुवित्त र बैंक सम्बन्धी गुनासो धेरै आएका छन् । विदेशको तुलनामा नेपालमा डिजिटल कारोबारको शुल्क न्यून छ तर यसैसम्बन्धी गुनासो धेरै आउने गरेका छन् ।’
सेरेसले बुटवलको कालीका नगरमा खोल्यो थ्री एस सुविधासहितको शोरुम
बुटवल । विद्युतीय सवारी साधनको क्षेत्रको सेरेसले बुटवलको कालीका नगरमा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले बुटवलमा थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुमको स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि इएम मोटर्ससँग साझेदारी गरेको हो । शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ । उक्त शोरुमको उद्घाटन बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई, एमएडब्लू वृद्धि अटोकोर्पका बिजनेस हेड प्रशन्न पन्त, इएम मोटर्सका डाईरेक्टर राजेश घिमिरे लगायतले संयुक्त रुपमा गरेका थिए । रुपन्देहीमा इलेक्ट्रिक चारपाग्रे सवारी साधनको माग बढदै गएको भन्दै रुपन्देहीमा सेरेस गाडी लोकप्रिय हुने कम्पनीको विश्वास छ । शोरुम उद्घाटनको अवसरमा एक जना ग्राहकलाई इएम मोटर्सले सेरेस थ्री इभी गाडी हस्तान्तरण गरेको छ । सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा दु्रत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिवद्धता देखाएको छ । हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ । सेरेसको बारेमा सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ । सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ गौरवशाली स्थान बनेको छ । सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ । संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीको मुटुमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गर्दछ । नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराउँछ । सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार रुपैयाँबाट सुरु रहेको कम्पनीले जानकारी गराएको छ । सेरेस मिनी ईभी तीन भेरियन्टमा उपलब्ध छन् । लो ट्रिम १८० किमी बेस अप्सन, मिड ट्रिम १८० किमी फुल अप्सन, र टप ट्रिम २२० किमी फुल अप्सन, जसको मूल्य क्रमशः १३ लाख ९९ हजार, १६ लाख ४९ हजार र १७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
ललितपुर मालपोत र नापीका पाँच जनाविरुद्ध मुद्दा दायर, घूस लिएको आरोप
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेल पाँचजनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख ५० हजार रुपैयाँ बराबर घूस लिँदै गरेको अवस्थामा गत माघ ९ गते पक्राउ गरिएको थियो । आयोगले सर्वेक्षक बस्नेत र नासु अधिकारीविरुद्ध दुई लाख ५० हजार रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । त्यसैगरी, आयोगले विचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशीषराज बस्नेत र दिनेश बञ्जाराविरुद्ध पनि मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । रासस
१५ वर्षपछि सहकारीमा छिर्यो राष्ट्र बैंक, आइतबारदेखि यी ठूला सहकारीको अनुगमन
काठमाडौं । नेपाल राष्ट्र बैंक र सहकारी विभागको समन्वयमा सहकारी अनुगमन हुने भएको छ । विभाग र राष्ट्र बैंकको सहकार्य तथा समन्वयमा ५० करोड रुपैयाँ बढी सेयर पुँजी भएका सहकारी संघ संस्थाहरूको अनुगमन आइतबारदेखि हुने भएको हो । त्यसका लागि छलफल भइसकेको बताइएको छ । यसअघि ठूला सहकारीको नियमनका लागि मन्त्रालयले राष्ट्र बैंकलाई आग्रह गरेपनि राष्ट्र बैंकले एक्लै अनुगमन नगर्ने भनेपछि दुइटैको सहकार्यमा अनुगमन हुने भएको हो । राष्ट्र बैंकले सहकारीको अनुगमनमा प्राविधिक सहयोगका लागि उपनिर्देशक डा. रमेश चौलागाईं, गैर बैंकिङ वित्तीय संस्थाका रामकृष्ण राई र लघुवित्त विभागका रमेश पौडेललाई पठाएको छ । यस्तै, विभागले पनि उपनिर्देशक टोलराज उपाध्यायको संयोजकत्वमा टोली पठाउने छ । सो समूहले पहिलो चरण अन्तर्गत काठमाडौं उपत्यकाका ठूला सहकारीहरूको अनुगमन गर्ने विभागका सूचना अधिकारी टोलराज उपाध्यायले बताए । उनका अनुसार राष्ट्र बैंकका कर्मचारीको सहकार्यमा अनुगमन हुन लागेको हो । ‘राष्ट्रलाई ठूला सहकारीको अनुगमनका लागि अनुरोध गरेका थियौं । तर, राष्ट्र बैंकले जनशक्तिको अभाव भन्दै एक्लै अनुगमन गरेन, अब हामीले सहकार्यमा आइतबारदेखि अनुगमन गर्छौं, राष्ट्र बैंकबाट आएका कर्मचारीले वित्तीय विवरण विश्लेषणको पाटो हेर्नु हुन्छ,’ उनले भने । उनका अनुसार अनुगमन टोलीले राम्रा र नराम्रा दुइटै किसिमका सहकारीको अनुगमन गर्नेछ । ‘सहकारीमा केही समस्या छ भने सुधारका लागि निर्देशन दिन्छौं, ठूलो गल्ति गरेको छ भने कारबाहीका लागि सिफारिस गर्छौं, राम्रा सहकारीको पनि अनुगमन गरेर तिनको अभ्यास अन्य सहकारीलाई पनि यस्तो गर भनेर सल्लाह दिन्छौं,’ उपाध्यायले भने । यो अनुगमनको मोडालिटी बनाउने, संस्थाहरू छनोट गर्ने काम भने विभागले नै गर्नेछ । अनुगमनको मोडालिटीको विषयमा बुधबार र बिहीबार छलफल भएको उपाध्यायले बताए । यस्तै, राष्ट्र बैंकका उपनिर्देशक रमेश चौलागाईंले आफूमा भएको विज्ञताको प्रयोग गरेर ठूला सहकारीको अनुगमन गर्ने बताए । उनका अनुसार ५० करोडभन्दा बढी पुँजी भएका उपत्यकाका सहकारीको अनुगमन आइतबारदेखि हुनेछ । ‘विभागले छनोट गरेका संघ संस्थाहरूमा हामीले जाने हो, संस्थाहरूको वित्तीय विवरण के कस्तो छ ? वित्तीय विवरणमा कम्प्लायन्स के कसरी पालना गरेका छन् ? केही सुझाव मात्रै दिन मिल्ने छ वा ठूलो कैफियत छ, यी सबै विषयहरू हेर्छौं,’ डा. चौलागाईंले भने । हाल ५० करोड बढी पुँजी भएका सहकारीको नियमन राष्ट्र बैंकले गर्नुपर्ने व्यवस्था छ । तर, राष्ट्र बैंकले सहकारीको नियमन एक्लैले गर्न नसक्ने भने पछि संयुक्तरूपमा अनुगमन हुने भएको हो । यसअघि सहकारीको समस्या पहिचान र समाधानका लागि भनेर सरकारले बनाएको कार्यदलले राष्ट्र बैंकले ठूला सहकारीको नियमन गर्नु पर्ने सुझाव दिएको थियो । सोही सुझाव अनुसार केही साताअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ठूला सहकारीको अनुगमन निरीक्षणका लागि राष्ट्र बैंकलाई सिफारिस पनि गरेको थियो । मन्त्रालयले श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी, गोर्खा सेभिङ एन्ड क्रेडिट, आइडियल यमुना, हाम्रो बहुउद्देश्यीय, कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, गौतम श्री बहुउद्देश्यीय, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था, शुभरत्न बचत तथा ऋण सहकारी संस्था र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको अनुगमन गर्न मन्त्रालयले राष्ट्र बैंकलाई आग्रह गरेको थियो । तर, राष्ट्र बैंकले यी सहकारीको एक्लै अनुगमन गर्न नसक्ने भनेपछि संयुक्त अनुगमन हुने भएको हो । आइतबारदेखि यिनै सहकारीको अनुगमन हुने बताइएको छ । सहकारी ऐन, २०७४ अनुसार ५० करोड रुपैयाँभन्दा माथि पुँजी भएका सहकारीको नियमन राष्ट्र बैंकले गर्नुपर्ने व्यवस्था छ । तर, राष्ट्र बैंकले सहकारी आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै पन्छिँदै आएको हो । यस्तै, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका २०७७ को दफा ४८ मा संयुक्त अनुगमन टोली गठन गर्न सकिने व्यवस्था छ । सोही व्यवस्था अनुसार अहिलेको अनुगमन टोली गठन गरिएको हो । सो निर्देशिकाको दफा ३१ ले ५० करोडदेखि एक अर्ब रुपैयाँ बढी सेयरपुँजी भएका सहकारीको अनुगमन १० दिनभित्र र १ अर्बभन्दा बढी सेयरपुँजी तथा जायजेथा भएको सहकारी संस्थाका लागि १२ दिनको समय कार्यविधि तोकेको छ । डेढ दशकपछि अनुगमन नेपाल राष्ट्र बैंकले सहकारीमा अनुगमन गर्न लागेको यो दोस्रो पटक हो । सहकारी विभागले बेला बखत सहकारी संस्थाहरूमा अनुगमन गर्दै आएको भएपनि विभाग र राष्ट्र बैंकको सहकार्यमा गर्न लागेको अनुगमन भने यो दोस्रो पटक हो । सहकारी ऐन र नियमावलीमा ५० करोडभन्दा बढी कारोबार गर्ने बचत तथा ऋण कारोबार गर्ने सहकारीको अनुगमन बैंकले गर्नसक्ने व्यवस्था भएपनि राष्ट्र बैंकले विभिन्न कारण देखाउँदै सहकारीको अनुगमन गर्नबाट पछि हटिरहेको थियो । तर, अहिले भने विज्ञ उपलब्ध गराएको हो । यसअघि अर्थात् वि.सं. २०६५/६६ तिर नेपालको वित्तीय बजारमा अल्पकालिन बैंकिङ तरलता संकट सिर्जना भएको र सो हुनुमा नेपालका सहकारीको जिम्मेवारी कति भन्ने विषयलाई लिएर नेपाल सरकारले राष्ट्र बैंकलाई अध्ययन गर्न आग्रह गरेको थियो । राष्ट्र बैंक ऐन, २०५८ लागू हुनुपूर्व करिब ४३ वटा सहकारीहरूलाई राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने स्वीकृति दिएको थियो भने ती सहकारीहरूको अनुगमन पनि गर्दै आएको थियो । आर्थिक वर्ष २०६१/६२ को मौद्रिक नीतिमा राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त सहकारी संस्थाहरूको निरीक्षण एवम् सुपरिवेक्षणको कार्य हाल यस बैंकबाट भइरहेकोमा यी संस्थाहरूको सुपरिवेक्षकीय निकायको रूपमा एउटा छुट्टै सेकेण्ड टायर इन्स्टिच्युट (एसटीआई) स्थापना गर्नेतर्फ आवश्यक व्यवस्था गरिने व्यवस्था उल्लेख थियो । त्यसपछि राष्ट्र बैंक विस्तारै सहकारीको नियमन तथा सुपरिवेक्षणबाट बाहिरियो । आर्थिक वर्ष २०७०/७१ को मौद्रिक नीतिमा पहिलो पटक वार्षिक ५० करोडभन्दा बढीको कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थाहरूको अनुगमनमा सहकारी विभागलाई राष्ट्र बैंकबाट विशेषज्ञ सेवा उपलब्ध गराइने गरिने उल्लेख गर्यो । यस्तै, आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमा बचत तथा ऋण सहकारी संस्थाहरूका साथै लघुवित्त कारोबार गर्ने संस्थाहरूको संख्यामा उल्लेख्य वृद्धि भइरहेको र यी संस्थाहरूको प्रभावकारी नियमन तथा सुपरीवेक्षण गर्न एउटा छुट्टै सबल निकायको आवश्यकता रहेको कुरा पुनः उल्लेख गर्यो । तर, त्यसको प्रभावकारी काम भने राष्ट्र बैंकले गर्न सकेन । कारण थियो, जनशक्ति अभाव र सरकारको सुस्तता । १५ वर्षपछि राष्ट्र बैंक सहकारीमा छिरेको हो । धेरैले सहकारीमा राष्ट्र बैंकको अनुगमन अपरिहार्य रहेको बताउँदै आएका छन् । भारतले यसरी गरेको थियो ‘सेफ ल्याण्डिङ’ सहकारीमा समस्या आउनु नेपालको मात्रै समस्या होइन । बेला बखत विभिन्न देशमा समस्या आउने गरेका छन् । छिमेकी देश भारतमको सहकारी क्षेत्रमा पनि यो समस्या आएको थियो । भारतमा समेत सहकारीलाई केन्द्रीय बैंकले कानुन बमोजिम सुपरीवेक्षण गर्दै आएको छ । सन् २०१९ मा करिब ९ करोड जनताको साँढे पाँच लाख करोड भारतीय रूपैयाँको निक्षेप कारोवार गरिरहेका साढे एक हजार सहकारीहरू समस्यामा परेपछि भारत सरकारले ती संस्थाहरूको सुपरीवेक्षण तथा नियमनको जिम्मा केन्द्रिय बैंकलाई दिएको थियो । अहिले नेपालमा जसरी सर्वसाधारणको बचत डुब्ने चिन्ता भइरहेको छ, यस्तै चिन्ता सो समयमा भारतमा पनि थियो । बचतकर्ताको निक्षेपको असुरक्षा बढ्दै गएपछि भारत सरकारले ती सहकारीहरूको व्यवसायिकता अभिवृद्धि समेत गर्ने उद्देश्यले एक कानुन पारित गरी ती सहकारीहरूमा केन्द्रीय बैंकले अनुगमन गर्ने व्यवस्था गरेको गरेको थियो । पछि भारतको केन्द्रिय बैंकले नियमनको जिम्मा पाएपछि विस्तारै सहकारीहरू सहज भए र बचतकर्ताहरुको निक्षेप पनि सुरक्षित बन्दै गएको थियो । अहिले नेपालमा पनि एकपछि अर्को सहकारी समस्यामा परिरहेका छन् । अहिले अधिकांश सहकारीका सञ्चालकहरू धमाधम फरार भइरहेका छन् । यसले सहकारीका बचतकर्ताको बचत डुब्न सक्ने चिन्ता एकातर्फ छ भने सहकारी क्षेत्र नै ठूलो संकटमा परेर देशकै अर्थतन्त्रमा त्यसको नकारात्मक प्रभाव पर्ने होकि भन्ने टिकाटिप्पणी पनि हुन थालेका छन् । सम्बन्धित सामग्री : ५० करोड बढी पुँजी भएका सहकारीको नियमन राष्ट्र बैंकले नगर्ने, विज्ञ उपलब्ध गराउने राष्ट्र बैंकलाई सकस पर्न सक्छ सहकारीको नियमन, भारतले यसरी गरेको थियो ‘सेफ ल्याण्डिङ’
काठमाडौंको थापाथलीबाट चोरी भयो २६ दिनको शिशु, प्रहरी भन्छ : खोजी गर्दैर्छौं
काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाटबाट जन्मेको २६ दिन भएकी नवजात शिशु चोरी भएको छ । शुक्रबार थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाट बच्चा बालिका चोरी भएको हो । काभ्रेको चौरी देउराली गाउँपालिका-३ घर भएर कपन बस्ने २२ वर्षिया सविना श्रेष्ठले आफ्नो बच्चा हराएको भन्दै दिउँसो साढे १२ बजेतिर प्रहरी कहाँ खबर गरेकी काठमाडौं जिल्ला प्रहरी परिसरले जानकारी दियो । ‘चिनजान नभएको महिलालाई एकछिन बच्चा हेरिदिनु भन्दै रिपोर्ट लिन जानुभएको रहेछ’, एक प्रहरीले भने, ‘आउँदा महिला हिँडिसक्नु भएको रहेछ ।’ अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर छोरी लिएर फरार भएको पीडित महिलाले प्रहरीलाई बताएकी छन् । क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा भने बच्चा लिएर फरार भएकी महिला कैद भएकी अनुसन्धान अधिकृतहरुले बताएका छन् । उनीहरूका अनुसार बच्चा लैजाने आरोपीको हुलिया पहिचान भएको छ । यद्पि, काठमाडौं प्रहरी परिसरले भने खोजी कार्य जारी भइरहेको बताएको छ ।
अब देशभरका विमानस्थलमा फ्री वाइफाई
काठमाडौं । नेपालभित्र सञ्चालित विमानस्थलहरुमा नेपाल टेलिकमले फ्री वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच ३४ विमानस्थलहरुमा फ्री वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउनेगरी सम्झौता भएको हो । सो सहमति पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका छन् । सहमतिपत्र अनुसार नेपाल टेलिकमले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलतर्फ आगमन र प्रस्थान कक्षमा फ्री वाइफाई नेटवर्क जडान गर्नेछ भने नेपालभित्र सञ्चालित अन्य विमानस्थलहरुमा समेत चरणबद्ध रुपमा फ्री वाइफाई इन्टरनेट सेवा सञ्चालन गर्नेछ । त्यसैगरी विमानस्थलभित्र यात्रुहरुलाई सजिलो हुने गरी उपयुक्त स्थानमा कम्पनीका सेवा सम्बन्धी जानकारी उपलब्ध गराउनका लागि सूचना तथा सहायता कक्ष स्थापना गरिने छ । कम्पनीका अनुसार फ्री वाइफाई नेटवर्क सेवा सञ्चालन तथा व्यवस्थापनको लागि उपकरणहरु जडान गर्न आवश्यक उपयुक्त स्थान उपलब्ध गराउने र अन्य व्यवस्थापनका लागि आवश्यक कार्य नागरिक उड्डयन प्राधिकरणले गनेछ । त्यसैगरी यात्रुहरुलाई सुविधा हुने गरी मोबाइल चार्जिङ स्टेसन राख्ने स्थान समेत प्राधिकरणले उपलब्ध गराउने छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्रि वाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुनेछ ।
एनसेल सामाजिक पहलका लागि १६५ भन्दा बढी प्रस्तावहरु प्राप्त
काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात १८ का लागि १८ विकास कार्यका लागि देशका सातै प्रदेशबाट १६५ भन्दा बढी प्रस्तावहरु प्राप्त गरेको छ । कम्पनीले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा समुदाय स्तरमा लागु हुने गरि यो कार्यक्रम संचालन गरेको हो । हाल एनसेलले प्राप्त प्रस्ताव तथा आवेदनहरुको मुल्याङ्कन गरिरेहको जनाएको छ । एनसेलले माघ १७ गतेसम्मको समय दिएर ७ वटै प्रदेशका ईच्छुक गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको थियो । एनसेलका अनुसार देशैभरीबाट शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य र जिविकोपार्जन सहयोग लगायतका क्षेत्रहरुमा विकास कार्य गर्न उत्साहजनकरुपमा प्रस्तावहरु प्राप्त भएका छन् । लागु हुने आयोजनाले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने संभावना लगायतका आधारहरुमा कार्यक्रमहरु छानिने कम्पनीले बताएको छ । तोकिएको मापदण्ड र प्रक्रिया पुर्याएर छानिने विकास आयोजनाका लागि कम्पनीले प्रति कार्यक्रम रु १० लाख रुपैयाँ प्रदान गर्नेछ । यस सामाजिक पहल अन्तर्गत कुल १८ आयोजानाहरु छानिने छन् र प्रत्येक एक प्रदेशमा दुई आयोजना लागु गरिनेछन् । बाँकी चार आयोजनाहरु प्राप्त प्रस्तावको महत्व र प्रभावका आधारमा छानिएका प्रदेशमा कार्यन्वयन गरिने छन् । दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरुप एनसेलले लामो समयदेखि सीएसआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा रु १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । एनसेलले सबै भन्दा ठूलो करदाता मध्ये एकका रूपमा अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्याउँदै आएको छ । आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीले कर तथा गैरकरहरु गरी रु ३ खर्ब भन्दा बढि राजश्व सरकारलाई तिरी सकेको छ ।