बैंकमा खुद तरल सम्पत्ति थुप्रिँदै, नियामकीय व्यवस्थाभन्दा दोब्बरको अनुपात
काठमाडौं । कुनै समय तरलताको सकस भोगिरहेको बैंकिङ क्षेत्र अहिले ‘ओभर लिक्विड’को अवस्थामा छ । अहिले बैंकिङ क्षेत्रमा तरलता बढेर बैंकहरू लगानी गर्न चाहे पनि ऋण प्रवाह गर्न सकिरहेका छैनन् । ग्राहकबाट गुणस्तरीय कर्जाको माग नहुँदा बैंक तथा वित्तीय क्षेत्रले कर्जा प्रवाह गर्न सकेका छैनन् । सोही कारण अहिले बैंकिङ क्षेत्रमा खुद तरल सम्पत्ति (एनएलए) बढ्दै गएको छ । कुनै बेला तरलता अभावको कारण बैंकहरूको खुद तरल सम्पत्ति (एनएलए) २० प्रतिशतभन्दा पनि कम हुने अवस्था पुग्थ्यो । नियामक नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले २० प्रतिशतको एनएलए कायम गर्नुपर्ने प्रावधान छ । तर, बैंकहरूको एनएलए भने नियामकीय व्यवस्थाभन्दा दोब्बर पुगेको छ । बैंकहरूले चेक साट्न आउनेलाई भुक्तानी दिने प्रयोजनको लागि कम्तिमा २० प्रतिशत एनएलए राख्नुपर्ने व्यवस्था छ । तरल सम्पत्तिलाई बैंकहरूले सहजै रूपमा बिक्री गर्न वा कारोबार गर्न सक्छन् । कुनै सम्पत्ति जुन सहजरूपमा कारोबार गरेर नगदमा परिणत गर्न सकिन्छ त्यो खुद तरल सम्पत्ति हो । अहिले बैंकमा सोही तरल सम्पत्तिको अनुपात बढेको हो । तरल सम्पत्तिको रूपमा सामान्यता बण्ड, सेयर, बैंक निक्षेप, डिबेन्चर लगायत समावेश हुन्छन् । पुससम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकको खुद तरल सम्पत्ति अधिकतम् ३९ प्रतिशत छ । सबैभन्दा बढी एनएलए स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । यस बैंकको एनएलए ३९ प्रतिशत छ । यस्तै, नेपाल एसबिआई बैंकको ३८ प्रतिशत, एभरेष्टको ३६ प्रतिशत, एनएमबिको ३२ प्रतिशत, ग्लोबल आइएमईको ३१ प्रतिशत र हिमालयन, प्राइम र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३० प्रतिशत एनएलए छ । यस्तै, लक्ष्मी सनराइज बैंकको २९ प्रतिशत, सानिमाको २८ प्रतिशत, एनआइसी एशिया र कुमारीको २७ प्रतिशत, माछापुच्छ्रे, प्रभु र सिद्धार्थको २६ प्रतिशत र नबिल र सिटिजन्स बैंकको एनएलए २५ प्रतिशत छ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकसँग प्रयाप्त खुद तरल सम्पत्ति रहेकोले बैंकिङ क्षेत्र सहज अवस्थामा रहेको धारणा दिए । उनका अनुसार हाल बैंकिङ क्षेत्रमा १८ खर्बसम्म तरल सम्पत्ति छ । ‘बैंकहरूले सरकारी ऋणपत्र र बन्डहरूमा साढे १२ खर्बभन्दा बढी लगानी गरेका छन्, यसबाहेक सीआरआर र एसएलआर गरेर १७/१८ खर्ब तरल सम्पत्ति छ,’ उनले भने, ‘पछिल्लो समय बैंकहरू डुब्ने लागेको केही व्यक्तिको अभिव्यक्तिले सर्वसाधारण निक्षेपकर्ता आत्तिएका छन् । तर, बैंकहरूसँग औसतमा निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति रहेकाले कुनै पनि बैंकमा समस्या छैन ।’ उनले पछिल्लो १० वर्षको तुलनामा बैंकिङ प्रणालीमा तरलता सबैभन्दा सहज अवस्था पुगेको तर्क दिए । ‘प्रायः बैंक क्षेत्र तरलताका कारण डुब्ने अवस्थामा पुग्छ । तर, हामी एकदमै सबल अवस्थामा छौं,’ उनले भने, ‘अहिले बैंकिङ प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको अवस्था छ, २८ प्रतिशत खुद तरल सम्पत्ति छ, यसले बैंकहरू तरलताको आधारमा सुरक्षित रहेको देखाउँछ ।’ सस्तो ब्याजमा राख्दै पैसा बैंकमा अधिक तरलता हुँदा बैंकहरू सस्तो ब्याजमा पैसा राष्ट्र बैंकमा राखिरहेका छन् । नेपाल राष्ट्र बैंकले फागुनबाट स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएसँगै बैंक तथा वित्तीय संस्थाहरूले साढे २ खर्ब रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् । दुई सातामा बैंकहरूले चार पटक पैसा राष्ट्र बैंकमा राखेका छन् । यो पैसा बैंकहरूले चार दिनसम्मको लागि रकम राख्न पाइन्छ । यो पैसा बैंकहरूले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न सक्छन् । बैंकहरूको कर्जा लगानी बढ्न नसकेकै कारण स्थायी निक्षेप संकलन सुविधाको प्रयोग बढ्न थालेको बैंकरहरू बताउँछन् । बैंकहरू तीन प्रतिशत प्रिमियममै पैसा राखिरहेका छन् ।
साविक ज्योति लाइफको लक इन पिरियड सकिँदै, कारोबारमा आउँदै साढे एक करोड कित्ता सेयर
काठमाडौं । साविक ज्योति लाइफ इन्स्योरेन्सको सेयरको लक इन पिरियड चैत २० गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको इन्स्योरेन्सले जनाएको छ । संस्थापक समूहको, संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको र कर्मचारीहरुलाई सुरक्षित गरिएको गरि कूल सो मात्राको सेयरको लक इन अवधि समाप्त भई कारोबारमा आउन लागेका हुन् । जसमध्ये संस्थापक समूहको एक करोड एक लाख ७५ हजार, संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार र कर्मचारीहरुलाई सुरक्षित गरिएको २ लाख ९९ हजार कित्ता सेयर रहेका छन् । उक्त सेयर साविक सूर्या लाइफसँग मर्जर भएपश्चातको कायम हो । साविकको ज्योति लाइफ इन्स्यारेन्स साविक सूर्या लाइफ इन्स्योरेन्ससँग गाभिई सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट २०७९ पुस ७ गतेदेखि नै एकीकृत कारोबार सुरु गरिसकेका छन् ।
औद्योगिक क्षेत्रको संस्थागत ऐक्यबद्धताका लागि उद्योग परिसंघको अनुरोध
काठमाडौं । उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रको हितका लागि संस्थागत ऐक्यबद्धताका लागि अनुरोध गरेको छ । परिसंघले कोशी प्रदेश र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिको स्वागत तथा भेटघाट गरी औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यबद्धताका लागि अनुरोध गरेको हाे । भेटघाटमा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरु मिलेर अघि वढी यस क्षेत्रको भोग्दै आएका समस्या समाधानका लागि सामुहिक पहल गर्नुपर्ने धारणा राखे । उनले वर्तमान समयमा उद्योग व्यापार क्षेत्र सबैभन्दा बढी प्रताडित भएको वताउँदै समस्या समाधानका लागि संस्थागत एकवद्धतता लागि आग्रह गरे । अध्यक्ष सुरानाले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्र औद्योगिक विकासले गतिलिने भएकाले दुवै निकायबीच सकारात्मक सम्बन्ध विकास गर्न निजी क्षेत्रका संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विचार राखे । नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन शारडाले मौजूदा समयमा उद्योग व्यवसायमा छाएको सुस्तताको अन्त्यका लागि औद्योगिक क्षेत्रसँग सम्वन्धित व्यवसायीक संस्थाहरुको एकजुट हुनुपर्ने आवश्यकता औल्याए । उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको विकास अपरिहार्य रहेको वताए । आर्थिक विकासका सन्दर्भमा देखिएका नीतिगत समस्याहरु समाधानका लागि निजी क्षेत्रका संस्थाहरुले गर्दै आएको पैरवीलाई आगामी दिनमा सामुहिक रुपमा गरी राज्यको ध्यानाकर्षण गर्नुपर्नेजोड अध्यक्ष शारडाले दिए । विराट ब्यापार संघका अध्यक्ष अंशु बन्जाराले ब्यापार व्यवसाय दयनीय अवस्थामा भएकाले यसको निकासको बाटो पहिल्याउने विषयमा विराट व्यापार संघ संस्थागत रुपमा सदैव तत्पर रहेको वताए । उनले समस्यै समस्याको भुमरीमा जेलिएका व्यवसायीक क्षेत्रबीचको आपसी सम्बन्ध थप प्रगाढ वनाउनु पर्नेमा जोड दिए । संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रको सवलीकरणका लागि सामुहिक रुपमा पहलगरी व्यवसायीक विकासको पक्षका सकारात्मक वातावरण बनाउनुपर्ने बताए । कार्यक्रममा उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश र विराट व्यापार संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुका साथै महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।
वायुको गुणस्तर सुधार गर्न ‘हावाको कुरा गरौँ’ अभियान सुरु
काठमाडौं । सहरी क्षेत्रमा बढ्दै गएको वायुको गुणस्तर सुधारका लागि समुदायको सहभागिता र सचेतना बढाउन आज हाँडीगाउँबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ । काठमाडौं महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो । यस अभियानमा सवारी साधनको प्रयोगलाई कम गराउने, सवारी प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने, यसको सट्टा हिँड्ने संस्कृति बढाउँदै लैजाने लगायत क्रियाकलाप हुनेछन् । यो सांस्कृतिक विकासका लागि आवश्यक पर्ने सहरी पूर्वाधार निर्माण गर्ने, सामाजिक र सांस्कृतिक क्रियाकलापलाई पर्यटन व्यवस्थापनसँग जोडेर स्थानीयबासीको आयमा टेवा पुर्याउने, परम्परागत उद्यम तथा उद्यमशीलताको विकासलाई प्रवद्र्धन गरिनेछ । यस प्रकारका क्रियाकलापबाट काठमाडौंका सम्पदाहरुको संरक्षण र प्रवर्धन तथा वातावरणीय सुधारमा टेवा पुग्नेछ । मौलिकपन र जीवन्तता पुनःस्थापना हुनेछ । यस अघि हाँडीगाउँमा यस प्रकारका क्रियाकलाप सञ्चालन गरिएका छन् । सवारी प्रवेश निषेध गरिएका ठाउँमा हाँडीगाउँको मौलिक जीवन पद्धतिसँग सम्बन्धित कला तथा सिप (सुकुल बुन्ने, काष्ठकला, माटोका भाँडा बनाउने), रञ्जना लिपी लेखन सिप, मौलिक खाना, परम्परागत वाद्यबादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव गर्ने गरिएको छ । कला, साहित्य, सिर्जना र सहरी वातावरण सुधारका लागि काम गर्ने विभिन्न संघ संस्थाहरुले सूचना तथा जानकारीमूलक प्रदर्शनी गर्ने गरिएको छ । यी क्रियाकलापबाट सामाजिक सद्भाव वृद्धि, मौलिकताको जगेर्ना र वायुको गुणस्तर सुधारमा सहयोग पुगेको छ । यस कार्यक्रममा स्थानीयहरुको अपनत्व वृद्धि भएको छ । काठमाडौंको मौलिकता पुनःस्थापनामा हाँडीगाउँबाट थालिएको अभियान महानगरका अन्य स्थान तथा क्षेत्रसँगै उपत्यकाभित्र विस्तार हुनेछ । यो प्राचीन सहरको मौलिकपन फिर्ता गराउने प्रयासको प्रारम्भ हो । यसका सवल पक्ष अन्य स्थानका लागि सिकाइ बन्न सक्छन् ।
संखुवासभाको पोखरीबजारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न.३ पोखरीबजार स्थित २८७ औं शाखा कार्यालय पोखरीबजार विस्तार गरी कारोबार शुभारम्भ गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले आइतबार उक्त शाखाको उदघाट्न गरेका हुन् । उक्त अवसरमा न्यायाधीश हरिप्रसाद फुयालले बैंकहरुले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्नुपर्ने र ग्राहकहरुले पनि बैंकिङ्ग अनुशासन भित्र रही बैंकिङ्ग कारोबार गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताउँदै बैंकको बर्तमान अवस्थाको बारेमा प्रकाश पारे । शाखा कार्यालय पोखरीबजारको उद्घाटन पूर्व वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्णकुमार तामाङ्ग, उप्रप्रमुख एलिना श्रेष्ठ, चैनपु न.पा. वडा नं ३ का वडा अध्यक्ष बलबहादुर अधिकारी, पूर्व नगर प्रमुख भरतकुमार खत्री, पूर्व गाविस अध्यक्ष ज्ञानबहादरु कार्की, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका विभागीय प्रमुख आनन्द सुवेदी, कोशी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिपकराज न्यौपाने, शाखा प्रबन्धकहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
टोटल इनर्जीको रिटेलर मिट सम्पन्न
काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको संस्था लक्ष्मी ल्युब आयल प्रालि र काठमाडौं उपत्यकाको चाबहिल जोरपाटी एरियाको टोटल इनर्जिजको आधिकारिक बिक्रेता शँकर यमुना अटो पार्टसको सहकार्यमा रिटेलर मिट सम्पन्न भएको छ । फागुन ११ गते टोटल इनर्जिजको रिटेलर मिट सम्पन्न भएको हो । कार्यक्रममा काठमाडौंका १५० जनाभन्दा बढि रिटेलरहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ । शँकर यमुना अटो पार्टसका म्यानेजिङ्ग डाईरेक्टर शँकर राज कारजितको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल वर्क शप ब्यवसायी संघका बेन्द्रीय अध्यक्ष शरण कुमार गुरुङ्ग, बिशेष अतिथिका रुपमा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका पुर्व अध्यक्ष माधव प्रसाद पाण्डे र अन्य अतिथिहरुमा नेपाल वर्क शप ब्यवसायी सँघका सह–कोषाध्यक्ष श्री प्रसाद ग्रुङ्ग, टोटल इनर्जिज इण्डियाका एक्सपोर्ट एक्सपर्ट पुरुषोतम नएमएस र लक्ष्मी ल्युब आयलका सेल्स मेनेजर उमेश घिमिरेको सहभागीता रहेको थियो । कार्यक्रममा टोटल इनर्जिज इण्डियाका पुरुषोतम नएमएसले टोटल इनर्जिजमा उपलब्ध प्रडक्ट रेञ्ज र यसका विशेषताको बारेमा सहभागी रिटलर्सहरुलाई जानकारी गराएका थिए ।
फागुन १७ गतेदेखि नेपाल मेडिकल तथा ल्याब एक्स्पो हुँदै
काठमाडौं । एस. डि. प्रोमो मिडियाले ईईपीसी भारत र केमसान नेपालसँगको सहकार्यमा सातौँ नेपाल मेडिकल तथा ल्याब एक्स्पोको यही फागुन १७ देखि १९ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ । आइतबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा एस.डि. प्रोमो मिडियाका प्रोजेक्ट प्रमुख अनुरोध परासरले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो आयोजना हुन लागेको बताए । उनले एक्स्पोमा सबैभन्दा ठूलो बि टु बि मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुनुका साथै यस प्रदर्शनीले विभिन्न मूल्यका नवीन प्रयोगहरू तथा विविध उत्पादनहरू देखाउने छ जसले देशैभरिका विभिन्न ग्राहकहरूको माग सम्बोधन गर्ने यसका साथै यस एक्स्पोले साना तथा ठूला कम्पनीहरूलाई एक अर्कासँग परिचय तथा सम्बन्ध बढाउँदै आफ्ना सृजनाहरू परिचित गराउने सुनौलो अवसर दिने बताएका छन् । उक्त कार्यक्रममा बोल्दै केमसान नेपालका अध्यक्ष भक्तबहादुर हमालले स्वास्थ्य क्षेत्रमा हरेक बर्ष नयाँ आविष्कार हुने भएकाले ति कुरा अस्पतालसम्म पुर्याउने उद्देश्यले उक्त एक्स्पो गर्न लागेको बताएका छन् । उनले यस प्रदर्शनीबाट नयाँ कम्पनीहरूका लागि स्थापित संस्था तथा ब्रान्डसँग परिचय तथा चिनजानका लागि महत्त्वपूर्ण अवसर हुने बताएका छन् । उनले प्रदर्शनीमा नेपाल र भारतसहित विभिन्न ८ देशका उत्पादकले आफ्ना ८०० बढी ब्राण्ड र १००० बढी उत्पादन प्रदर्शनीमा राख्ने बताए । मेडिकल तथा ल्याबको सबैभन्दा बृहत् प्रदर्शनी नेपाल मेडिकल तथा ल्याब एक्स्पो हो जसले उल्लेखनीय बिक्रेता तथा क्रेताहरूलाई साझा हितका लागि एउटै मञ्चमा ल्याउने गर्दछ । यस प्रदर्शनीमा अस्पतालहरूका प्रमुख , डाक्टरहरू, रोग विशेषज्ञहरू, सर्जिकल, निदान र अनुसन्धान प्रयोगशालाका विज्ञ, वैज्ञानिक, डिलर, वितरक, आयातकर्ता, खुद्रा विक्रेता र अन्य खरिददार समूहहरूका लागि मुख्य आकर्षण हुने हमालले बताएका छन् ।
प्रदेश लोक सेवा आयोगले माग्यो २२१ जना कर्मचारी
काठमाडौं । प्रदेश लोक सेवा आयोगले २२१ जना कर्मचारी मागेको छ । सोमबार सूचना प्रकाशित गर्दै कोशी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत आधारभूत तहमा वन रक्षक पदमा २२१ जना कर्मचारी मागेको हो । आयोगले खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन मागेको हो । परीक्षामा शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता लिइनेछ । शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा तथा लिखित परीक्षाको परीक्षा केन्द्र आयोगले पछि सूचना प्रकाशन गरे बमोजिम हुनेछ । आयोगले तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले अनलाइन प्रणालीमार्फत दरखास्त दिन सक्ने जनाएको छ । इच्छुक योग्यता पुगेका व्यक्तिहरूले चैत ४ गतेसम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।