विकासन्युज

चन्दा उठाएर विद्यार्थीलाई न्यानो कपडा

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयवासीले चन्दा संकलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् द। स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा संकलन तथा देउसीभैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षा सम्मका एक सय ६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका प्रध्यानाध्यापक हरिश्चन्द्र महतले जानकारी दिए । विद्यार्थीलाई ट्रयाक सुट, जुत्ता, मोजा, स्वीटर र टोपी उपलब्ध गराइएको हो । ‘विपन्न विद्यार्थीले विद्यालयको पोसाक खरिद गर्न सकेका थिएनन, अहिले पोसाकमा एकरुपता आएको छ,’ उनले भने । प्रध्यानाध्यापक महतले पाँच हजार एक सय ११ चन्दा दिएर पोसाक अभियान नै थालेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज तिमिल्सिनाका अनुसार लिखु तामाकोशी गाउँपालिकाका शिक्षा समिति सदस्य त्रिविक्रम महतले सबै विद्यार्थीलाई एकरएक थान ऊनीको टोपी उपलब्ध गराएका छन् । त्यस अवसरमा प्रध्यानाध्यापक महलते न्यानो कपडा उपलब्ध गराउन सहयोग गर्ने, विद्यालय व्यवस्थापन समितिका सदस्य, पूर्वविद्यार्थी, विद्यालयका शुभचिन्तक र शुभेच्छुकलाई धन्यवाद दिँदै उनीहरूको सामाजिक कार्यप्रति प्रशंसा गरे ।

बेवारिसे अवस्थामा पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गरेको ढुंगेधारा (फोटो फिचर)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा तयार भएको ढुंगेधाराको अवस्था नाजुक बनेको छ । धाराको संरक्षण नहुनु तथा अधिकांश संरचनामा खिया लागेसँगै उक्त धारा भत्कने अवस्थामा पुगेको हो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त ढुंगेधाराबाट पानी खसालेर मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गरेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गरेपश्चात् धारो सञ्चालनमा आएको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ढुङ्गेधाराको उद्घाटन गर्दै गरेको दृश्य निकै तामझामका साथ वि.सं. २०७७ चैत २० गते भण्डारीले उद्घाटन गरेको ढुंगेधारा तीन वर्ष नपुग्दै जीर्ण बन्न पुगेको हो । ढुंगेधाराको मर्मतका लागि मेलम्ची खानेपानी आयोजनाको शाखालाई पहल गरिरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए । ‘मेलम्चीको पानी नै काठमाडौंमा हाल नआएकाले ढुंगेधारामा पानी आउन छाडेको हो, त्यसको मर्मतका लागि हामीले पहल गरिरहेका छौं, तर मर्मत चाहिँ हुन सकेको छैन,’ उनले भने । मेलम्चीको पानी आउँदा २४औं घण्टा धाराबाट पानी वितरण गर्ने लक्ष्य राखी धारा निर्माण गरिएको थियो । तर, धारामा पानी आउन थालेकाे केही महिनापछि नै ढुंगेधाराबाट पानी आउन  छाडेको थियो । प्राविधिक समस्याका कारण पानी नआएको राईले बताए । सबै सर्वसाधारणको पहुँच पुग्ने ठाउँ भृकुटीमण्डप नै भएकोले त्यहाँ ढुंगेधारा निर्माण गरिएको थियो । ‘त्यो धारामा डेडिकेटेड लाइनबाट पानी जोडिएको छैन, शाखा लाइनबाट पानी जोडिएको छ,’ उनले भने, त्यसैले पानी आए पनि धारामा चाैबिसै घण्टा पानी दिन सम्भव नहुन पनि सक्छ ।’ लाखौं रुपैयाँ रकम खर्च गरेर बनाएको ढुंगेधारा अहिले बेवारिसे अवस्थामा देख्न सकिन्छ ।

देशभर चिसो बढ्यो

काठमाडौं । पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । संघीय राजधानी काठमाडौंसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ । शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम तीन डिग्रीसेल्सियस थियो । काठमाडौंमा बिहानीपख हुस्सु लागे पनि दिउँसो पारिलो घाम लाग्ने गरेको छ । ‘तापक्रम हल्का घटिरहेको छ । यही तरिकाले तापक्रम ओरालो लाग्ने हो भने माइनसमा जानसक्छ,’ मौसमविद् अधिकारीले भने । आइतबार बिहान न्यूनतम तापक्रम दुईदेखि चार डिग्रीसेल्सियस हुने पूर्वानुमान गरिएको छ । आज बिहान काठमाडौंको भिजिबिलिटी चार किलोमिटर रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भए पनि आगामी तीन दिनसम्म उल्लेखनीय मौसम प्रणाली नरहने मौसमविद् अधिकारीले जानकारी दिए । जुम्लामा सबैभन्दा धेरै तापक्रम घरेर माइनस पाँच दशमलव सात डिग्रीसेल्सियस रहेको छ । शुक्रबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्रीसेल्सियस थियो । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु÷कुहिरो लागेको छ । दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

नाडा अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन, को-को छन् कार्यसमितिमा ?

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध चयन भएका छन् । नाडाको नाडाको ४७औं वार्षिक साधारणसभाले अध्यक्षमा चौधरीलाई निर्विरोध रुपमा चयन गरेको हो । अध्यक्षसँगै कार्यसमिति पनि सर्वसम्मत रुपममा नै चयन भएका हुन् । सदस्यमा आकाश गोल्छा, राजनबाबु क्षेष्ठ, मिलनबाबु मल्ल, दीपेन्द्र कुमार मिश्रा, सुरेन्द्रकुमार उप्रेती, पंकज अग्रवाल, कपिल शिवाकोटी, नवराज भुसाल, निराकार श्रेष्ठ, विक्रम सिंघानिया, प्रदीपमान प्रधान, सञ्‍जयकुमार खेतान, सुनिल रिजाल, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध बनेका छन् । यस्तै संस्थागत तर्फबाट जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ,पश्‍चिमाञ्‍चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ निर्विरोध चयन भएका छन् । यसैगरी  लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, सुदूरपश्‍चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट पुष्कर राज ओझा र कर्णाली पश्‍चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी पनि निर्विरोध सर्वसम्त चयन भएका हुन् ।

मेरीना इम्पेक्सले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडिलाई २० जोर सुट दिने

काठमाडौं । बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडि र अफिसियलहरुलाई २० जोर सुट दिने भएको छ । मेरीना इम्पेक्स र नेपाल क्रीकेट सघंबीच शुक्रबार उक्त सम्झौता भएको हो । सम्झौतासँगै दक्षिण अफ्रिकामा आयोजना हुने यू-१९ विश्वकप क्रिकेटका जाने नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाइ मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का, अर्जुज बस्नेत र राम प्रसाद अर्यालले सम्मानसहित बिदाई गरेका छन् । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको विदाई कार्यक्रममा क्यानका सचिब पारस खड्काले खेलाडिहरुको हौसला बढाउन सहयोग गरेकोमा मेरीना इम्पेक्सलाई धन्यबाद दिएका थिए । नेपाली क्रिकेट खेलाडिहरुको हौसला बढाउन सामाजिक उत्तरदायितव अन्तर्गत उक्त सहयोग गरेको मेरीना इम्पेक्स्ले जनाएको छ । यसअघि पनि टी-२० वर्ल्ड कपमा मेरीना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई चालिस जोर सुट दिएको थियो । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सचिव टङकलाल घिसिङसहित क्यानका अध्यक्ष र अन्य पदाधिकारिहरको उपस्थिति थियो ।

साधना लघुवित्तले गोरखा दरबारलाई सहयोग गर्यो १४ थान डस्टबिन

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यालय गोरखाले गोरखा दरबार सरसफाई अभियानको विशेष अवसरमा डस्टबिन हस्तान्तरण गरेको छ । संस्थाले गोरखा जिल्लाको गोरखा नगरपालिका स्थित गोरखा दरबार परिसरमा विशेष सरसफाईको अवसरमा १४ थान डस्टबिन हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा संस्थाको संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाले गोरखा नगरपालिकाको मेयर कृष्ण बहादुर राना मगरलाई उक्त डस्टबिन गरेका हुन् । कार्यक्रममा गोरखा दरबारका कर्मचारी, सुरक्षा निकायका प्रमुख, गोरखा नगरपालिका वडा नं ६ को वडाध्यक्ष, वित्तीय संस्थाको कर्मचारीहरु, बुद्धिजिवीहरु, स्थानिय व्यक्तिहरु गरि लगभग ७० जनाको उपस्थिति थियो । संस्थाले गोरखा जिल्ला सहित देशको विभिन्न प्रदेश गरि ३१ वटा जिल्लाहरुमा ९३ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रवाह गर्दै आएको छ । संस्थाले वित्तीय सेवा मात्र नभई संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दे आएकोमा यो डस्टबीन हस्तान्तरण कार्यक्रम पनि एक रहेको छ । संस्थाले आफ्नो क्षमताले भ्याएसम्मको सहयोग तथा कार्यक्रम जारी राखेको छ । यसैगरि अध्यक्ष थापाले गोरखा दरबार सरसफाइको अवसरमा डस्टविन हस्तान्तरण कार्यक्रमको अवसर प्रदान गरिदिएकोमा गोरखा नगरपालिका,गोरखा दरबार तथा स्थानियबासीहरुलाई धन्यवाद दिए । यसैगरी, कार्यक्रमको अन्तिममा गोरखा नगरपालिकाको मेयर कृष्ण बहादुर राना मगरले यस विशेष सरसफाई अभियानमा साधना लघुवित्त वित्तीय संस्थाले सहयोग स्वरुप उपलब्ध गराएका डस्टविनले दरबार परिसरमा सरसफाइको लागि सहयोग पुग्ने बताएका छन् ।

सेबोनमा अध्यक्ष हमालको २२ महिना : पुँजी बजार र लगानीकर्ताका लागि के-के गरे ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २२ महिनाको कार्यकाल सकिएपछि अध्यक्ष रमेशकुमार हमाल बाहिरिएका छन् । बोर्डबाट बाहिरिएसँगै २२ महिनाको अवधिमा आफूले गरेका कामको सूची पनि सार्वजनिक गरेका छन् । उनले २२ महिनाको अवधिमा विभिन्न २३ वटा काम गरेका छन् भने ७ काम कार्ययोजना अनुसार हुन नसकेको बताएका छन् । सरकारी निकायमा नीति बनाउने तथा कार्य गर्ने सोच तथा शैलीमा परिर्वतन गर्दै प्रणालीगत विकासमा विशेष जोड दिएको उनले बताएका छन् । साथै बोर्डबाट विकास तथा सुधार कार्यहरू सम्पादन गरिने परिपाटीको शुरुवात गरिएको उनको भनाइ छ । अध्यक्ष हमालले दीर्घकालीन आर्थिक प्रभाव पार्ने ६ वटा काम गरेको दावी गरेका छन् । विशिष्टीकृत लगानी कोषको शुरुवात गरेको उनले बताएका छन् । यस्तै, एसएमईज प्ल्याटफर्मका लागि नियमावली तयार गरी पेश, वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण व्यवस्था, वस्तु विनिमय बजार अनुमितका लागि प्रकृया अगाडि बढेको, नयाँ स्टक एक्सचेञ्जका लागि प्रकृया र सूचीकृत कम्पनीमा क्षेत्रगत विविधीकरण भएको अध्यक्ष हमालले दावी गरेका छन् । समयसीमा तोकी विभिन्न ४ वटा सुधारका कार्यहरू भएको उनको भनाइ छ । ओपन इन्ट्रि एण्ड एक्जिट, बुक बिल्डिंग प्रणाली मार्फत अनुमति प्रदान, मर्जर तथा एक्विजिशनमा छरितो, धतोपत्र दलाल व्यवसायीको शाखा विस्तारमा चुस्तता दिएको उनले बताए । लगानीकर्ता हित संरक्षणमा विभिन्न ५ वटा कार्य गरेको अध्यक्ष हमालले बताए । लगानीकर्ताको हकहितलाई ध्यान दिदैँ बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बढीमा ५ रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ । जसबाट आईपीओमा लगानी गर्ने लगानीकर्ताहरूको लागत कमी हुन भई बजारमा लगानी गर्न प्रोत्साहन हुने अवस्था भएको हमालको दावी छ । बोर्डको ईतिहासमा पहिलोपटक धितोपत्र दर्ता गरी नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई कारोबार भईरहेका कम्पनीले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिम बुझाउनुपर्ने त्रैमासिक विवरण नबुझाउने र ढिला गरी विवरण बुझाउने ८८ वटा कम्पनीलाई स्पष्टीकरण सोधी कारवाही प्रकृया अगाडि बढेको हमालले बताए । बोर्डबाट लगानीकर्ताहरुको हक हित संरक्षणका लािग कानुन प्रबलीकरणलाई सुदृढ गर्ने क्रममा छोटो समयमा नै २० भन्दा बढी कारवाही गरिएको छ । उक्त क्रममा धितोपत्र सम्बन्धी कसूरहरुमा कारबाही, धितोपत्रको भित्री कारोबारको अनुसन्धान, धितोपत्र व्यवसायीहरुलाई कारवाही गरिएको छ । सामूहिक लगानी कोषले संगठित सार्वजनिक निष्काशनमा छुट्याएको खरिद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरी बाँडफाँट गरेको छ महिना पुरा नभएसम्म बिक्री वा हस्तान्त्ररण गर्न नपाउने व्यवस्था गरिएको छ । नेप्सेमा सूचीकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको सेयरको लक इन सम्बन्धी व्यवस्थित गर्ने क्रममा तोकिएको लक इन अवधि समाप्त हुनुभन्दा कम्तिमा ३० दिन अगाडि सरोकारवाला पक्षहरुलाई जानकारी गराउन सेयरको वर्ग तथा लक इनमा रहेको सेयर संख्या र अवधि जस्ता विषय समेटी सार्वजनिक सूचना प्रकाशन गर्न र उक्त सूचना नेप्से र सिडिएससिको वेबसाईटमा राख्ने व्यवस्था गरिएको छ । डेडिकेडेट टिएमएसका लागि व्यवस्था, धितोपत्र बजारमा गैर आवासीय नेपाली भित्र्याउन आवश्यक व्यवस्था, जलविद्युत समूहको कम्पनीहरुका लागि विशेष व्यवस्था, एप्लिकेशन प्रोग्रामिङ्ग इन्टरफेस (एपिआई) सम्बन्धी व्यवस्थाले बजार विकास तथा सुधारमा टेवा पुगेको उनको भनाइ छ । [pdf id=456540]

पशुपति आरतीको भिडियो खिच्न नपाइने सूचनाप्रति पशुपति विकास कोषको आपत्ति

काठमाडौं । बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनी प्रकाशित गरेको सूचनाप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ । विकास कोष सञ्चालक परिषद्का कार्यकारी निर्देशक लक्ष्मी पुनले आज एक सूचना प्रकाशित गर्नु भई बुढासुब्बा डिजिटल प्रालीद्वारा प्रकाशित उक्त सूचनामा कोषको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडियो सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपिराइट ऐनअन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं भन्ने सूचनामा विकास कोषको गम्भीर ध्यानाकर्षण भएको र उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकामा कोषको असहमति रहेको छ । उक्त सूचना प्रकाशितप्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउदछौं’, कोषद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ । रासस