पाँच महिनामा २७.६ प्रतिशतले बढ्यो रेमिट्यान्स, पौने दुई लाखले लिए श्रम स्वीकृति
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार गत साउनदेखि मंसिरसम्ममा सो रकम बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो । जुन २७.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । त्यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या एक लाख ७३ हजार ५५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख चार हजार ३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २३६,७७९ र ११५,९४८ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २६.३ प्रतिशतले वृद्धि भई ६ खर्ब ६९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.६ प्रतिशतले बढेको थियो ।
विदेशी मुद्रा सञ्चिति साढे १७ खर्बभन्दा बढी, १४.१ महिनाको वस्तु आयात धान्ने
काठमाडौं । विदेशी मुद्राको सञ्चिति साढे १७ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मंसिरसम्म विदेशी मुद्राको सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । २०८० असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति थियो । तर, ५ महिनामा १४.८ प्रतिशत वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.१ महिनाको वस्तु आयात र ११.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा १३.६ प्रतिशत वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ । राष्ट्र बैंकमा १५ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग २ खर्ब १० अर्ब ७९ करोड रुपैयाँ विदेशी मुद्रा रहेको राष्ट्र बैंकले जनाएको छ । मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ । मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ९८.३ प्रतिशत र २७.५ प्रतिशत रहेका छन् ।
वैदेशिक व्यापार थप खुम्चियो, आयात ३.४ र निर्यात ६.१ प्रतिशतले कमि
काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक व्यापार खुम्चिदै गएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले मुलुकको आयात निर्यात दुवै खुम्चिएको देखाएको हो । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले कमी आई ६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३४.६ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ११.३ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३२२.३ प्रतिशत र २.३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल वस्तु आयात ३.४ प्रतिशतले कमी आई ६४२ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः १.३ प्रतिशत र २८.४ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३२.८ प्रतिशतले बढेको छ ।
राजस्व संकलनमा आयल निगमको ३५ प्रतिशत योगदान
काठमाडौं । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले सरकारको राजस्व संकलनमा निगमको ३० देखि ३५ प्रतिशत हिस्सा ओगटेको बताएका छन् । आयल निगमको ५४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै साहले सरकारको बजेटमा समेत निगमको ठूलो योगदान रहेको बताए । ‘आर्थिक वर्ष २०७९/८० मा ३ खर्ब ८३ अर्ब रुपैयाँ कारोबार गरेको छ, जसबाट सरकारलाई १ खर्ब १५ अर्ब रुपैयाँ राजस्व तिरेका छौं, यसले सरकारको बजेटमा ३० देखि ३५ प्रतिशत योगदान पुर्याएको छ,’ उनले भने । उनका अनुसार भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म १०५ किलोमिटर दुरीको पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । चालु आर्थिक वर्षभित्रै पाइपलाइनको माध्यमबाट पेट्रोल पनि आयात गर्ने तयारी रहेको उनले बताए । ‘अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ मूल्य बढेका कारण नेपाललाई पनि असर गर्याे,जसले गर्दा दायित्व बढेर ४६ अर्ब रुपैयाँ पुग्यो तर, निगमले चालेको कदमले ऋणमुक्त हुन पुगेको छ,’ उनले भने । निगमको आन्तरिक दायित्वको व्यवस्थापनमा विभिन्न प्रयास भइरहेको उनले बताए । निगमले सातै प्रदेशमा आफ्नो कार्यालय सञ्चालन गरी सेवा दिइरहेको उनले बताए । चालु आर्थिक वर्षमा निगमले ५ पटक पेट्रोल र डिजेलको मूल्य घटाएको छ । यसले उपभोक्तालाई सहुलियत दिनुका साथै निगमको वित्तीय अवस्थामा सुधार आएको उनको भनाइ छ । निगमले इन्डियन आयल निगमबाट वार्षिक ३० लाख किलोलिटर पेट्रोल आयात गर्दै आएको छ भने हाल निगमसँग ८० हजार किलो लिटर प्रेटोल भण्डारण छ । अहिलेको माग र खपत हेर्दा १३ दिनसम्म पुग्ने पेट्रोलियम पदार्थ निगमसँग रहेको उनले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आयल निगममा देखिएका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए । आमउपभोक्ताले गुणस्तरीय पेट्रोलियम पदार्थ उपलब्ध गराउन सरकार तत्पर रहेको उनको भनाइ छ । पेट्रोलियम पदार्थको आयातलाई कम गर्ने उद्देश्यले नेपालमै उत्खनन कार्यको तयारी भइरहेको मन्त्री रिजालले जानकारी दिए । निगमका अध्यक्ष नारायण प्रसाद शर्माले निजी क्षेत्रको महत्वपुर्ण योगदानले निगम नाफामा गएको बताए । निगम ऋणमुक्त भयो भनेर खुसी हुनु पर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘सरकारले इन्धनको आयत गरी बिक्री गर्नु रहर हैन बाध्यता हो, अहिले हामी ऋणमुक्त भयौं भनेर सन्तुष्ट हुने बेला भएको छैन, यसलाई कसरी कायम राख्न सकिन्छ भनेर पनि ध्यान पुर्याउन आवश्यक छ,’ उनले भने ।
नेपाली युवा विदेशमा, विदेशी विद्यार्थी धमाधम नेपालमा
काठमाडौं । अहिले सबैको चासो र चिन्ता विदेसिरहेका युवाहरूको छ । दैनिक हजारौं युवाहरू पढ्न र कामका लागि विदेश जाँदा त्यसले देशलाई पार्ने प्रभावका विषयमा पनि विभिन्न कोणबाट टिकाटिप्पणी र बहस हुन थालेको छ । तर, नेपालीहरू नै जाने ती सुविधा सम्पन्न देशबाट पनि विद्यार्थीहरू नेपालमै आएर पढिरहेका छन् । उनीहरू नेपालमा आएर त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय लगायतका कलेजमा अध्ययन गरिरहेका छन् । डेभिड सिल्भा अहिले काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा स्नातक तहमा अध्ययन गर्दैछन् । ब्राजिलका उनी नर्सरीदेखि नै नेपालमा पढ्दै आएका थिए । डेभिडका बुवा पहिले नेपालमै रहेर होप माेविलाइजेशन (आइएनजीओ) काम गर्थे । त्यो क्रममा उनकी आमासहित उनी र उनकी बहिनी पनि नेपालमै बस्न थाले । बुवा जागिरे हुँदा उनी र बहिनी नेपालमै पढ्न थाले । अहिले उनका बुवाआमा आफ्नै देश फर्किसकेका छन् । कक्षा १ देखि १० सम्म नेपालमै पढेका उनी प्लसटु गर्न भने आयरल्याण्ड गए । दुई वर्ष विदेश गएर पढेका उनी फेरि प्लसटु गरिसकेपछि फर्केर नेपालमै पढ्न आए । अहिले उनी ग्वार्कोमा रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा कम्युनिटी डेभलपमेन्ट विषय अध्ययन गरिरहेका छन् । ‘नेपालमै बसेर होला, मलाई यतै राम्रो लाग्छ, जनवरीमा नेपाल आएर पढ्न थालेँ, अब यतै पढ्छु,’ उनले भने । सानैदेखि नेपालमै अध्ययन गर्दै आएका उनी एसईईपछि फेरि विदेश गएर पढ्न थाले । उनी आएरल्याण्डमा प्लसटु सकेर स्नातक पढ्न फेरि नेपाल आएका छन् । ‘नेपालमा जस्तो विद्यार्थी र शिक्षकको सम्बन्ध हुन्छ, त्यस्तो बाहिर हुँदैन रहेछ । कक्षा बाहिर हुँदा पनि शिक्षकले फोन गर्ने, भेट्ने यहाँ विद्यार्थी र शिक्षकबिच राम्रो सम्बन्ध हुन्छ । तर, आयरल्याण्डमा मैले यस्तो भेटिनँ ।’ डेभिडलाई नेपालको शिक्षा र सिकाइ राम्रो लाग्छ । ‘मैले बाहिर गएर अध्ययन पनि गरेँ, उताका साथिहरूसँग पनि कुराकानी गरेँ, सबै ठाउँको बुझ्दा शिक्षा नेपालकै राम्रो लाग्यो,विदेशका धेरैजसो कलेज भन्दा नेपालमै राम्रो पढाइ हुन्छ,’ उनले भने । उनी आफूलाई नेपालको शैक्षिक वातावरण नै राम्रो लाग्ने बताउँछन् । डेभिडलाई पढाइ सकेर भने आफ्नै देश फर्कन मन छ । ‘राम्रो काम पाइयो भने यतै बस्छु, काम पाइएन भने आफ्नै देश फर्किन्छु, उनले भने । नेपालीहरू धमाधम बाहिर गइरहेको बेला डेभिडजस्ता केही विद्यार्थी भने नेपाल आइरहेका छन् । उनीहरू नेपाल आएर विभिन्न विषयहरूमा अध्ययन गरिरहेका छन् । कोही आमाबुवाको जागिर यतै हुँदा यही पढ्न थालेका हुन् भने कतिपय भने पढ्नकै लागि मात्र आउने गरेका छन् । नेपालमा कति विदेशी विद्यार्थी अध्ययन गरिरहेका छन् भनेर एकिन तथ्यांक कुनै पनि निकायसँग नभए पनि नेपालका केही कलेजहरूमा विदेशी विद्यार्थीहरू पढिरहेका छन् । नेपालमा अध्ययनको लागि आउने विद्यार्थी मेडिकल र इन्जिनियरिङ क्षेत्रमा बढी आउने गरेको जानकारहरू बताउँछन् । चार वर्षमा कति आए ? चार वर्षको अवधिमा विदेशबाट ३ हजार ६ सय ४० विदेशी विद्यार्थी अध्ययनको लागि नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार सन् २०२१ सालदेखि सन् २०२३ को नोभेम्बरसम्म यतिको संख्या विदेशी विद्यार्थी नेपाल आएका हुन् । जसमा सबैभन्दा बढी दक्षिण कोरिया र चीनका विद्यार्थी छन् । सन् २०२३ सालको जनवरीदेखि नोभेम्बरसम्म अस्ट्रेलियाबाट २८ जना, अमेरिकाबाट ११९ जना, जापानबाट १०३, जर्मनबाट २९, साउथ कोरियाबाट १०६, श्रीलंकाबाट ४३, चाइनाबाट ९५, म्यानमारबाट ४३, भुटानबाट १४, फ्रान्सबाट ३०, युकेबाट ३९ गरी कुल ९७८ जना विदेशी वद्यार्थी नेपाल आएका छन् । सन् २०२२ सालमा अस्ट्रेलियाबाट १६ जना, चाइनाबाट ११७, जापानबाट ७५, अमेरिकाबाट ८४, जर्मनबाट ३३, क्यानडाबाट २१, दक्षिण कोरियाबाट ११३ गरी कुल ९२५ विद्यार्थी नेपाल आएका छन् । यस्तै, सन् २०२१ सालमा अस्ट्रेलियाबाट १४, जापानबाट २४, युकेबाट १०१, अमेरिकाबाट ९४, दक्षिण कोरियाबाट ७७, चीनबाट १०३ र श्रीलंकाबाट ६२ जना गरी कुल ८५९ जना विद्यार्थी आएका छन् । सन् २०२० सालमा जापानबाट ७७, अस्ट्रेलियाबाट १४, युकेबाट ५८, अमेरिकाबाट १०७, क्यानडाबाट १९, भुटानबाट ४, चीनबाट ११०, श्रीलंकाबाट ५१ र साउथकोरियाबाट १३० गरी कुल ८७८ जना विद्यार्थी नेपाल आएका छन् । यो तथ्यांक हेर्दा जापान र अमेरिकाबाट पनि विद्यार्थीहरू नेपाल आइरहेका छन् । नेपालीहरू धमाधम जापान, अमेरिका, कोरिया लगायत सुविधा सम्पन्न देशमा पढ्न गइरहेको बेला तिनै देशबाट पनि नेपाल आउने विद्यार्थीको संख्या पनि बढ्दै गएको छ । विश्वभाषा क्याम्पसका प्रमुख डा.यादवराज पन्त अधिकांश विदेशी विद्यार्थीहरू नेपालमा चिकित्सा र इन्जिनियरिङ पढ्न आउने गरेको बताउँछन् । उनका अनुसार विश्वभाषा क्याम्पसमा पनि हाल ३१८ जना विदेशी विद्यार्थीले नेपाली भाषा सिकिरहेका छन् । विदेशी विद्यार्थीले सुरुमा नेपाली भाषा सिक्ने र पछि पढ्न विभिन्न कलेजमा जाने गरेको उनी बताउँछन् । ‘जति विद्यार्थी पढ्न भनेर आउँछन्, ती सबै पढ्छन् भन्ने पनि हुँदैन, कोही पढछ्न, कोही घुम्छन्, जान्छन्, त्यसैले पनि एकिन तथ्यांक हामीसँग हुँदैन,’ उनले भने । ८ सय विद्यार्थी चिकित्सा शिक्षामा विदेशबाट अध्ययनको लागि आएका ८ सय बढी विद्यार्थी यो वर्ष चिकित्सा क्षेत्रमा अध्ययन गरिरहेका छन् । चिकित्सा शिक्षा आयोगका अनुसार ८०९ जनाले चिकित्सा क्षेत्रमा अध्यनको लागि आयोगमा नाम दर्ता गराएका छन् । जसमा सबैभन्दा धेरै भारतका विद्यार्थी रहेका छन् । आयोगका अनुसार हरेक वर्ष यही संख्याको हाराहारीमा नेपालमा पढ्न आउने गरेका छन् । त्रिभुवन विश्व विद्यालयसँग भने कति विदेशी विद्यार्थी नेपाल पढिरहेका छन् भन्ने एकिन तथ्यांक छैन । त्रिभुवन विश्व विद्यालयका सूचना अधिकारी योगेन्द्र दाहाल त्रिविसँग यकिन तथ्यांक नभएको बताउँछन् । उनका अनुसार केही विदेशी विद्यार्थीहरू त्रिविमा पढिरहेका छन् । ‘यहाँ विभिन्न संकायका छुटछुटटै डिन कार्यालय हुन्छन्, यो विषयमा सायद उनीहरुले छुट्याएको हुनसक्छ । तर, अहिले यति विदेशी विद्यार्थी पढ्छन् भन्ने तथ्यांक तयार गरेका छैनौं,’ उनले भने । केयूमा १३ प्रतिशत विदेशी विद्यार्थी गत वर्ष काठमाडौं विश्वविद्यालयबाट १३ प्रतिशत विदेशी विद्यार्थीहरू दिक्षित भएका छन् । अहिले ६ प्रतिशत विद्यार्थी अध्ययन गरिरहेका छन् । काठमाडौँ विश्व विद्यालयका उपकुलपति डा. भोला थापा केयुमा ६ प्रतिशत विद्यार्थी अध्ययनरतत रहेको बताउँछन् । उनका अनुसार करिव ४२ हजार विद्यार्थी ग्रेजुएट हुँदा १३ प्रतिश विदेशी विद्यार्थी दीक्षित भएका छन् । ‘नेपाली विद्यार्थीको लहरो बाहिर लाग्दा नेपाली इन्सिच्युट कमजोर हुन कि भन्ने प्रश्न उठेको बेला यो तथ्यांक राम्रो हो, केयूमा अहिले पनि अफ्रिका, क्यानडा, श्रीलंका भारत लगायतका देशका विद्यार्थी इन्जिनियर, एमबीबीएस, सामाजिक र विज्ञान लगायतका विषयहरू अध्ययन गरिरहेका छन्,’ उनले भने । केयूको २९औं दिक्षान्त समारोहमा भारतबाट आएका मा ४ हजार ४ सय ४४ विद्यार्थी दीक्षीत भएको उनको भनाइ छ । श्रीलंकन झण्डै चार सय, अमेरिकन १ सय गरी विभिन्न देशका विद्यार्थी दीक्षित भएका छन् । उनका अनुसार केयूमा साउथ एसिया मेडिकल क्षेत्रबाट अध्ययन गर्नेहरू बढी आउँछन् । अस्ट्रेलिया, अफ्रिका लगायत देशका विद्यार्थीहरू इन्जिनियरिङ र युरोप, अमेरिका, क्यानडा लगायत देशका विद्यार्थी सामाजिक विज्ञानमा बढी चाँसो राख्ने गर्दछन् । किन आउँछन नेपालमा ? यो जिज्ञासामा विज्ञहरूका आ-आफ्नै तर्क छन् । शिक्षाविद् विनय कुसियत प्राविधिक शिक्षा नेपालमा सस्तो र राम्रो हुँदा विदेशी विद्यार्थी नेपाल आउने गरेको बताउँछन् । ‘नेपालमा एन्जिनियरिङ शिक्षा र मेडीकल शिक्षा राम्रो हुन्छ, त्यसैले पनि विदेशी विद्यार्थी आएको हुनुपर्छ,’ उनी भन्छन्, ‘ जति विदेशी विद्यार्थी आउनुपथ्र्याे त्यति भने आएको पाइँदैन ।’ काठमाडौं विश्व विद्यालयका प्राध्यापक संघका महासचिव विकास अधिकारीको भनाइ पनि विनयको जस्तै छ । भारत, अफ्रिका लगायतका न्यून स्तरका विद्यार्थीलाई अन्य देशमा महँगोमा पढ्नुभन्दा नेपालमा पढ्न सस्तो हुने भएकाले पनि उनीहरू नेपाल रोज्ने गरेका छन् । ‘नेपाल राम्रो नभएको राजनीतिक हिसावले होला । तर, सामाजिक, भौगोलिकरूपमा निकै सुन्दर छ, यहाँ संस्कृति विविधता छ, यही विषयमा अध्ययन गर्न पनि केही विद्यार्थीहरू नेपाल आउँछन्,’ उनले भने । काठमाडौं विश्व विद्यालयका प्राध्यापक डा.उद्धब प्याकुरेल नेपालमा बहुल जाती, भाषा, धर्म रहेकाले सामाजिक विज्ञानको रूपमा अध्ययन गर्न विदेशी विद्यार्थीहरू नेपाल आउने गरेको बताउँछन् । ‘नेपालमा धेरै कुरा छ, एउटा सामाजिक विविधता छ, अर्को सस्तो पनि छ, जुन उनीहरूलाई अमेरिका अस्ट्रेलिया पढ्न गएर प्राप्त गर्न सकिँदैन,’ उनले भने ।
लुम्बिनी विकास बैंकको साढे ८ प्रतिशत लाभांश पारित
काठमाडौं । लुम्बिनी विकास बैंकको ८.५० प्रतिशत लाभांश पारित भएको छ । बैंकको १६औं वार्षिक साधारण सभाले ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कूल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष चन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको बैंकको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ । यस बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती निक्षेप खातामा ‘मासिक’ रुपमा ब्याज प्रदान गर्ने विशेष योजना कार्यान्वयनमा ल्याएको छ ।
झापामा सहकारीको ७० अर्ब पुँजी परिचालन, ५ हजारलाई रोजगारी
झापा । झापामा सहकारीमार्फत ७० अर्ब रुपैयाँभन्दा बढी पुँजी परिचालन भएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ । ‘सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ,’ उनले भने, ‘यसले स्वरोजगार सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’ सहकारीमार्फत परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दुध उत्पादन, वैकल्पिक ऊर्जालगायतका क्षेत्रमा लगानी भएको अध्यक्ष ढकालले बताए । झापाका सहकारीमा ऋण असुलीमा समस्या देखिएको छ । सहकारीबाट लिएको ऋण तिर्न आनाकानी गर्दा सहकारी संस्थाको ऋण असुलीमा समस्या देखिएको हो । अध्यक्ष ढकालले भने, ‘ऋण तिर्न प्रेरित गर्न राष्ट्रिय अभियान नै चलाउनुपर्ने देखिन्छ, यसमा राज्यको सहयोग अपरिहार्य छ ।’ झापामा आठ सय दुई सहकारी दर्ता भएकामा ५८ वटा खारेज भएका छन् । ‘स्थानीय तहले सहकारीको नियमन गर्न थालेयता र मर्ज हुने क्रम बढेसँगै सहकारीको सङ्ख्या घटबढ भइरहेको छ,’ संघका सचिव भवानीप्रसाद दंगालले भने । झापा जिल्ला सहकारी संघमा ४९२ सहकारी संस्था आबद्ध छन् । यसमा बहुद्देश्यीय ७४, बचत तथा ऋण एक सय ९३, कृषि सहकारी १९३, दुग्ध र सुपारी ६/६, चिया र उपभोक्ता चार/चार, विविध आठ र संघ चार आबद्ध रहेको सचिव दंगालले बताए । झापाका सहकारीमा ५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । रासस
पञ्चकन्या माई हाइड्रोपावरको साधारण सभा सम्पन्न, दुई सञ्चालक निर्वाचित
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरको सातौं र आठौं वार्षिक साधारण सभा अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सभा मंगलबार कोपुण्डोल, ललितपुरमा सफलता पुर्वक सम्पन्न भएको हो । उक्त सभामा संस्थापक सेयर सदस्य, सर्व साधारण सेयर सदस्य, कम्पनीका कर्मचारी, पत्रकारहरु तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त सभाबाट सर्वसाधारण सेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक र स्वतन्त्र सञ्चालक १ जनाको निर्वाचन तथा मनोनयन कार्यक्रम रहेकोमा सर्वसाधारण सेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र संचालकमा बरदान गिरी निर्वाचित तथा मनोनय गरी नयाँ कार्य समितिको गठन गरिएको थियो । साथै कार्यक्रममा कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका सञ्चालक र सेयर सदस्यहरुबाट मन्तव्य तथा सञ्चालक तथा सेयर सदस्यबीच गहन अन्तकृया समेत भएको थियो ।