विकासन्युज

विद्युतीय हवाईजहाज यसै वर्ष तयार हुने, चार्ज गर्न १० मिनेट मात्र

काठमाडौं । एकातिर विद्युतीय कार सफल हुन्छ कि हुँदैन भन्ने कुरामा मानिसहरू अझै पक्का छैनन् भने अर्कातिर विद्युतीय हवाईजहाज निर्माण भइरहेका छन् । यो विद्युतीय हवाईजहाज आफैंमा विशेष हुनेछ किनभने उडानमा प्रयोग हुने इन्धन निकै महँगो हुन्छ । बहुब्रान्ड अटोमोटिभ कम्पनी स्टेलान्टिसले विद्युतीय विमान निर्माण गर्न अमेरिकी स्टार्टअप आर्चर एभिएसनसँग हात मिलाएको छ । यी दुवै कम्पनीले सन् २०२४ देखि विद्युतीय हवाईजहाज उत्पादन सुरु गर्नेछन् । दुवै कम्पनीले निर्माण गर्ने विमान ४ सय ४५ किलो तौलसाथ उड्न सक्नेछन् । पाइलटसहित पाँच यात्रु लिएर उडान गर्न सक्ने छ र एकैपटक चार्जमा १ सय ६० किलोमिटर दूरी तय गर्ने छ । दुई कम्पनीबीचको सम्झौताअनुसार स्टेलान्टिसले आर्चरलाई ‘मिडनाइट इलेक्ट्रिकल्ली पावर्ड भर्टिकल टेकअफ’ (ईभीटीओएल) विमान उत्पादन गर्न आफ्नो निर्माण विशेषज्ञता प्रदान गर्ने छ । यसको सहयोगमा आर्चरले यस विमानको व्यावसायिक निर्माणलाई गति दिने छ । यतिमात्र होइन, स्टेलान्टिसले अनुभवी कर्मचारी पनि उपलब्ध गराउने छ । यसले आर्चरको धेरै पैसा बचत गर्ने छ। यसबाहेक स्टेलान्टिसले आर्चरलाई १५ करोड अमेरिकी डलर पनि दिने छ । निर्माण सुरु हुने स्टेलान्टिसले कोभिङटन, जर्जियामा विमान निर्माण सुविधा बनाउन गर्न आर्चरसँग काम गर्ने छ । दुवै कम्पनीले सन् २०२४ मा मिडनाइट एयरक्राफ्ट उत्पादन सुरु गर्ने योजना बनाएका छन् । दुवै कम्पनीले निर्माण गरेको यो विद्युतीय विमानको दायरा १ सय ६० किलोमिटर भए पनि ३२ किलोमिटरसम्मको छोटो दूरीको उडानका लागि अप्टिमाइज हुनेछ । एक स्टपओभरको समयमा ब्याट्री रिचार्ज गर्न लगभग १० मिनेटमात्र पर्याप्त हुनेछ । दुवै कम्पनीले शहरी वायु गतिशीलतामा केही नयाँ गर्ने लक्ष्य राखेका छन् । त्यसैले दुवै कम्पनीले आफ्नो क्षमताको पूर्णसदुपयोग गरी नयाँ एयर मोबिलिटी भेइकललाई जतिसक्दो चाँडो बजार ल्याउन चाहन्छन् । आर्चरले ईभीटीओएलको इलेक्ट्रिक प्रोपल्सनजस्ता प्राविधिक कुराहरूमा काम गर्ने छ भने स्टेलान्टिसले ठूलो मात्रामा विद्युतीय हवाईजहाजहरू निर्माण गर्न यसको उत्पादन प्रविधि र विशेषज्ञता प्रयोग गर्ने छ । आर्चर र स्टेलान्टिसबीचको रणनीतिक सहयोग २०२० देखि चलिरहेको छ । स्टेलान्टिसले पनि २०२१ मा आर्चरमा लगानी गरेका थिए । बिटा टेक्नोलोजीले पनि बनाइरहेको छ इलेक्ट्रिक एयरक्राफ्ट अर्को कम्पनी बीटा टेक्नोलोजी पनि विद्युतीय हवाईजहाज बनाउने काममा लागेको छ । कम्पनीले आलिया नामको विमान बनाएको छ । यो ड्रोनजस्तै देखिन्छ। यो विमानमा एकैपटक १ हजार ४ सय पाउण्ड वा ६ जना मानिस बोक्ने क्षमता छ । विमान आलिया सिरियस एक्सएम संस्थापक मार्टिन रोथब्लाट र हार्वर्ड–शिक्षित इन्जिनियर काइल क्लार्कको दिमागको उपज हो । एजेन्सी

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने

काठमाडौं । एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने भएको छ । कम्पनीका अनुसार एनसेलका सबै ग्राहकले अब प्रत्येक ५० रुपैयाँवा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन् । एनसेल आजियाटाले मंगलबारदेखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ । यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा १००० एमबीसम्मको डेटा निःशुल्क प्राप्त गर्दछन् । यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुन्छ । बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहनेछ । एनसेल सापटी मार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्स बाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुने कम्पनीले जनाएको छ । यसअघि प्रत्येक रिचार्जमा ५०० एमबीसम्म डेटा पाइने गरि यो बोनस डेटा योजना मंसिर २५ बाट संचालनमा ल्याईएको थियो । अब यसै योजना अन्तर्गत दोब्बर बोनस डेटा पाइने भएकाले यसले ग्राहकहरुलाई ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।

इलामका किसान व्यावसायिक मौरीपालनमा आकर्षित

इलाम । इलामको रोङ गाउँपालिकाका किसान मौरीपालनबाट व्यावसायिक बन्न थालेका छन् । यहाँका करिब नौ सय किसान मौरीपालनमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिए । मह उत्पादनमा एक करोड लगानी गरेर किसानलाई तालिम र अनुदान उपलब्ध गराएको गाउँपालिकाले ‘हनी बैङ्क’ खोल्ने तयारी गरेसँगै मौरीपालनमा किसानको आकर्षण बढेको देखिन्छ । रोङ –१ शिरिसेका पदम  राईले आठवटा आधुनिक घार र १७ वटा परम्परागत मुडे घारमा मौरीपालन गरेका थिए। उनले आधुनिक एक घार बराबर एकपटकमा दश केजी र एउटा मुडे घारबाट तीन केजी मह उत्पादन गर्दै आएका छन् । वर्षमा दुईपटक मह काढ्ने गरेको उनले बताए । ‘चैत, वैशाखमा र मङ्सिरमा गरी दुईपटक गरेर वर्षमा दुई क्विन्टल मह उत्पादन भइरहेको छ,’ उनले भने, ‘स्थानीय बजारमा प्रतिकेजी एक हजार पाँच सयदेखि एक हजार आठ सयसम्म मह बिक्री हुने गरेको छ ।’ किसान राईले महभन्दा धेरै त मौरीको गोला बिक्री गर्छन् । गोलालाई दुई हजारदेखि तीन हजार पर्ने र रानी मात्र लैजानेलाई एक हजार रुपैयाँ पर्ने उनले बताए । गोला बिक्री गर्नेको मह कम उत्पादन हुने उनको भनाइ छ । उनीसँग अनुदानमा पाएको आधुनिक घारमात्र भएकाले घार बिक्री गर्न पाएन तर मुडे घार चाहिँ चार हजार रुपैयाँमा धमाधम बिक्री भइरहेको उनी भनाइ थियो । गाउँपालिकाले यहाँका किसानलाई गुणस्तरीय मह उत्पादन र घार व्यवस्थापन गर्ने तालिम दिएको छ । ‘अनुदानमा घार उपलब्ध गराएका छौँ, रोङ महमा दुई वर्षमा एक करोड हाराहारीको लगानी भएको छ,’ गाउँपालिका अध्यक्ष स्याङ्बोले भने, ‘वडावडामा मौरी सञ्जाल गठन गरेर, पालिकास्तरीय सञ्जाल बनाइसकेका छौँ । आगामी वर्षदेखि हनी बैङ्कको विकास गर्ने तयारी छ ।’ ‘हनी बैङ्क’मा किसानले उत्पादन गरेका गुणस्तरीय मह सङ्कलन गरिन्छ । सङ्कलन भएको महको निश्चित प्रतिशत उत्पादनपश्चात् अनुदानको व्यवस्था गरिदिने गाउँपालिकाको योजना छ । ‘केलाई गुणस्तरीय मान्ने भन्नका लागि एप्लिकेसन तयार हुँदैछ, उक्त एप्लिकेसनमा मह उत्पादन गुणस्तरीय बनाउन किसानले पूरा गर्नुपर्ने सूचकहरु राखिएको हुनेछ,’ अध्यक्ष स्याङ्बोले भने, ‘हनी बैङ्कमा आबद्ध बन्नका लागि साउनमै कृषकले आवेदन गर्नुपर्छ ।’ बैङ्कमा सङ्कलन भएको महलाई बजारीकरणका लागि गाउँपालिकाले बजारीकरण गर्ने उनले बताए । अहिले एक हजार आठ सयमा बिक्री भइरहेको मह पाँच हजार केजीमा बिक्री गर्ने तयारी गाउँपालिकाको छ । ‘सहकारीलाई हनी बैङ्क व्यवस्थापनको जिम्मेवारी दिएर त्यसका लागि आवश्यक बीउ पूँजी कुनै बैङ्कमा सहुलियत कर्जाको व्यवस्था गरिदिन्छौँ र उक्त कर्जाको ब्याज गाउँपालिकाले तिरिदिन्छौँ,’ उनले भने, ‘गाउँपालिकाले सामुदायिक वनलाई मौरीको कार्यक्रम अनिवार्य गरेको छ । मौरीको कार्यक्रम बिना सामुदायिक वनको वार्षिक योजना स्वीकृत नै हुँदैन ।’ मौरी पर्यावरणीय सन्तुलन कायम गर्ने यति महत्वपूर्ण प्रजातिमा पर्छ कि किसानको हकमा त यो परागसेचन उत्पादनसँग पनि यस्को महत्व जोडिन्छ । ‘प्रत्यक्ष हेर्दा मौरीपालनले महमात्र उत्पादन भएको देखिए पनि अप्रत्यक्ष रुपमा विषादी न्यूनीकरण, परागसेचन, इको सिस्टम, पर्यावरण आदिका लागि मौरीको महत्व रहन्छ । किसानलाई आम्दानीसँग जोड्न सकिन्छ । विषादी न्यूनीकरणमा उनीहरु नै अभियन्ताका रुपमा जन्मिन्छन् भने यसलाई कुनै पैसासँग तुलना गर्न सकिँदैन भन्ने यो परियोजनाको मेन थिम हो,’ अध्यक्ष स्याङ्बोले भने। पत्रकारिता छाडेर कृषि पेसालाई व्यावसायिक बनाउन सुरु गर्नुभएका शिरिसेका पदम राईलाई छिमेकी विष्णुप्रसाद बरालले मौरीपालनमा प्रोत्साहन गरेका रहेछन् । ‘काका विष्णु प्रसादले त वर्षमा तीन क्विन्टल जति बनाउनु हुन्छ, सुरुमा यस क्षेत्रमा तालिम लिएर मौरीपालन सुरु गर्नुभएको उहाँले नै हो,’ उनले भने। वडा नं ६ का दावा स्याङ्बोले एक सय ५० घारमा मौरीपालन गरेका छन् । करिब ४० वटाका दरले पाँचवटा छुट्टाछट्टै स्थानमा घार व्यवस्थापन गर्नुभएका स्याङ्बोले २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएको बताए । ‘मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन, उत्पादनको पाँच प्रतिशतमात्र घारका लागि खर्च गरियो भने मौरी फस्टाउँछ,’ उनले भने । मह बिक्री गर्न समस्या छैन । व्यापारी घरमै आइपुग्छन् । घरबाट नै प्रतिकिलो  एक हजार पाँच सयका दरले मह बिक्री हुँदै आएको उनले बताए । उनले वार्षिक दुई सय ५० किलोसम्म मह उत्पादन गर्दै आएका छन् । अर्का मौरीपालक किसान प्रेमबहादुर राईले वार्षिक करिब एक सय किलो मह उत्पादन गर्छन् । ३० वटा आधुनिक घारमा मौरी पालेका राईले व्यावसायिक महबाटै आत्मनिर्भर भएको बताए । रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको हो । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको उपाध्यक्ष विष्णुमाया भुजेलले बताए । गुणस्तरीय मह उत्पादन गरेर महको आफ्नै ब्रान्ड बनाउने गरी योजना ल्याएको गाउँपालिकाले मह उत्पादन गर्ने किसानको पालिकास्तरीय समिति एक साताअघि बनाएको छ । सबै वडाका मौरीपालक किसानको भेलाले केशवप्रसाद लुइँटेलको संयोजकत्वमा पालिकास्तरीय मौरीपालक कृषि सञ्जाल समिति गठन गरिएको छ । संयोजक लुइँटेलले यसअघि पालिकाका सबै वडामा मौरीपालक किसानको वडास्तरीय सञ्जालसमेत गठन भइसकेको बताए । वडा १ को संयोजकमा टीका नेचाली राई, वडा २ को संयोजक लीलाधर भण्डारी, ३ मा गीता अर्याल, ४ मा मानसिंह तामाङलगायत रहेका छन् । मह उत्पादनमा गाउँपालिका नै लागि परेपछि स्थानीय यस व्यवसायतर्फ आकर्षित भएका हुन् । सुरुमा मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि रु ११ लाख छुट्याए पालिकाले, दोस्रो वर्ष २० लाख बजेट छुट्याएको थियो । उक्त बजेटमा किसानले आधुनिक मौरीपालनको सीप सिक्ने, अनुदानमा घार प्राप्त गर्ने अवसर पाएका थिए । चालु आर्थिक वर्षमा व्यावसायिक मौरीपालनका लागि पालिकाले रु ५० लाख रकम विनियोजन गरेको छ । गाउँपालिकाले मौरी विकास केन्द्र नै स्थापना गरेर मौरीपालनको विकासमा लागेको उपाध्यक्ष भुजेले बताए । अध्यक्ष स्याङ्बो भने, ‘विषादी न्यूनीकरणका लागि राज्यले गर्न खोजेका हरेक प्रयासहरु असफल भइरहेका छन् । औसतमा धेरै दीर्घरोेगीको सङ्ख्या बढेर गएको छ । यो अवस्थामा वातावरणीय सन्तुलन कायम राख्न सक्ने मौरीपालन हाम्रो प्रकृतिप्रतिको सम्मान पनि हो ।’  महको प्रचलित मूल्यप्रति भने उनी असन्तुष्ट छन् । महलाई प्रतिकेजी पाँच हजार बनाउने उनको लक्ष्य छ ।  रासस

पशुपालक किसान घटेपछि उराठ बन्दै खर्क

ढोरपाटन । एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र  भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो । गाउँमा जनशक्ति प्रशस्तै थिए । तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ । भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन् । खास गरी बागलुङको निसीखोला, ढोरपाटन र ताराखोलाका नागरिकको मुख्य पेसा पशुपालन थियो । युवा शक्ति विदेश पलायन र बजार झर्न थालेपछि पाका पुस्ताले नै पशुपालन पेसा धान्दै आएका छन् । हरेक वर्ष भेडापालन गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । भेडाबाख्रा पालेरै परिवार धान्नेहरुलाई बुढेसकालले छोयो । नयाँ पुस्ताले बजार रोजेपछि परम्परागत पेसा नै धरापमा पर्ने चिन्ता पुराना पुस्तालाई छ । तमानखोला गाउँपालिका–५ खुङ्खानीका रनबहादुर सिर्पालीले भेडापालन गर्न थालेको ६५ वर्ष बित्यो । ७३ वर्षको उमेरमा पनि उनले दुई सय ५० भन्दा बढी भेडाबाख्रा पाल्दै आएका छन् । बाउबाजेबाट सिकेको पेसालाई सिर्पालीले अहिलेसम्म निरन्तरता दिँदै आएका छन् । १५ वर्षअगाडि गाउँमा ४० घरपरिवार भेडापालनमा आबद्ध भए पनि अहिले पाँच/सात घर मात्रै यो पेसामा रहेको उनको भनाइ छ । अधिकांश स्थानीयले पशुपाल्दा चरनका लागि सोलेडाँडा हुँदै, म्याग्दी, सैलुङ धवलागिरि हिमालको काखसम्म पुग्ने गरेको सुनाउँदै अचेल धेरै टाढा पुग्न नपर्ने सिर्पालीले सुनाउँछन् । घरै अगाडि मोटर गाडी गुड्न थालेपछि स्थानीय घाँस दाउरा गर्न जङ्गल जानुको सट्टा बजार झर्ने गरेको उनको भनाइ छ । ‘हामीहरु गोठमै जन्मेउँ, गोठमै हुर्कियौँ र गोठमै काम गर्दै आएका छौँ, हाम्रो पालामा पनि लाहुर जाने भन्ने चलन थियो, तर गइएन, आफ्नो गाउँ छोड्न सकिएन, वर्षौंदेखि पाल्दै आएका वस्तुभाउ छोड्न सकिएन, अहिलेसम्म पनि हामी पशुकै अघिपछि लेक बँेसी गरिरहेका छौँ,’ सिर्पालीले भने, ‘हामीभन्दा पाका मान्छे बितिसके, हामीपछिका गाउँमा कम बस्छन्, हाम्रै दौँतरी मात्रै भेडाबाख्रा पाल्ने गरेका छन्, युवा केटाहरु बजारमै बस्न खोज्छन्, विदेश जान्छु भनेर जान्छन्, पाँच /सात साल आउँदैनन्, आए पनि वन जङ्गलमा गएर भेडाबाख्रा पाल्दैनन्, हाम्रो परानपछि (मृत्युपछि) गाउँमा भेडाबाख्रा पाल्ने मान्छे नै हुने छैनन् ।’ ढोरपाटन नगरपालिका–९ का बुधबहादुर बिक पनि ४२ वर्षदेखि भेडाबाख्रा पालन गर्दै आएका छन् । बेलाबेला बिरामी हुने गर्दा अहिले ज्यानले त्यति साथ दिएको छैन । डेढ सय भेडाबाख्रा पाल्दै आएकोमा अहिले घटाएर पचासको हाराहारीमा मात्रै छन् । १० वर्षपहिले करिब ३० घरका छिमेकी पशुपालनमा आबद्ध भए पनि अहिले घटेर निकै कम भएको विकले सुनाए। छोरो नातिले आफूले गर्दै आएको पेसालाई साथ नदिएको भन्दै गाउँका धेरैले कम मात्रामा पशु पाल्ने गरेको उनको भनाइ छ । दशकौँदेखि सयौँको सङ्ख्यामा पशुपालन गर्दै आए पनि अहिलेसम्म राज्यको एक रुपैयाँ पनि अनुदान नलिएको बिकले बताए । उनले भने, ‘भेडाबाख्रा पाल्ने, वनजङ्गल गर्ने त टाढैको कुरा भयो, गाउँमा बस्ने मान्छे नै घट्न थालेका छन्, हाम्रो पालामा छ/सात दिन लगाएर खर्क जान्थ्यौँ, खर्कमा बर्खाको पाँच महिना उत्तिकै बिताउँथ्यौँ, रोल्पा रुकुमबाट धेरै गोठालाहरु आउँथे, डाँडापाखा सबै सेताम्य भेडाले ढाकिन्थे, गन्नै नसकिने हुन्थे, अहिले त गोठाला पनि कम भए, भेडाबाख्रा पनि थोरै भएका छन्, पहिलेको जस्तो खर्कहरु रमाइलो छैनन्, घाँसपातको पीर पनि हुँदैन ।’ तमानखोलाका रनबहादुर र ढोरपाटनका बुधबहादुर जस्ता थुप्रै गोठाला अहिले नयाँ पुस्ताले परम्परागत पेसा नअङ्गालेकामा निराश छन् । खर्क र उराठिलो बनेका बुकीले पशुचौपायाालाई कुरिरहेका छन् । तर अब तिनीहरुको पर्खाइ पर्खाइमै सीमित हुने निश्चित जस्तो बनेको छ । किनकि नयाँ पुस्ता बुकीमा पुगेर भेडा चराउनुको साटो विदेश पुगेर अनेक काम गर्न तयार छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले हरेक वर्ष पशुपालनमा किसानलाई आकर्षण गर्न विभिन्न कार्यक्रम ल्याइरहेको छ । त्यस्ता कार्यक्रमले दूरदराजका किसानलाई भने छुन सकेको छैन । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले किसानको उत्पादनले उचित मूल्य नपाउने समस्याले गर्दा पशुपालन गर्नेको सङ्ख्या घट्दै गएको बताए । केन्द्रले घाँस उत्पादन, दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने, भेडाबाख्रा पालन गर्ने किसानलाई लक्षित गरी घाँस उत्पादन बढाउनाका साथै रोगको समस्याबाट पशुचौपायाालाई बचाउन खोप कार्यक्रमलाई जोड दिएको उहाँको भनाइ छ । ‘पशुपालन गर्ने किसानको सङ्ख्या घट्दै गएको छ, खासगरी विदेश जाने ट्रेनले गर्दा घटेको हो, हामीहरुले किसानलाई प्रोहोत्सान गर्ने कार्यक्रम गरिरहेका छौँ, सानो कार्यक्रम पालिकाबाट गर्ने, ठूलो जिल्लाले गर्ने गरी योजना पनि बनाएका छौँ, नश्ल सुधार गर्ने कार्यक्रमलाई पनि जोड दिएका छौँ,’ उनले भने, ‘हाम्रो मुख्य प्राथमिकता रोग नियन्त्रण गर्नु हो, किसानले दुःख गरेर पशुचौपायाा पाल्नु हुन्छ, समय–समयमा रोगले गर्दा मर्छन् र ठूलो क्षति हुन्छ, त्यसलाई रोक्नका लागि खोप प्रभावकारी हुने हुँदा त्यसतर्फ जोड दिएका छौँ ।’ बागलुङमा हाल एक लाख पचास हजार भेडाबाख्रा, एक लाख १० हजार गाई, २४ हजार भैँसी, १० हजार बङ्गुरलगायत पशुचौपायाा रहेको प्रमुख डा सापकोटाले जानकारी दिए । अहिले जिल्लाको दशवटा पालिकामा विभिन्न रोगविरुद्ध खोप लगाउने अभियान सुरु भएको भन्दै गाउँगाउँमा पशु प्राधिकि खटाएको उनले बताए । रासस

मनोज कुमार गोयल बने एनएमबि बैंकको अध्यक्ष, को-को छन् सञ्चालक ?

काठमाडौं । एनएमबि बैंकको अध्यक्षमा मनोज कुमार गोयल नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा गोयललाई चयन गरेको हो । बैंकको बिहीबार सम्पन्न २८औँ साधारण सभाबाट सञ्चालक समितिमा ५ जना निर्वाचित भएका थिए । मनोज कुमार गोयल, जीवनकुमार कट्वाल, उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका थिए । गोयल र कट्वाल संस्थापक सेयरधनीहरूको तर्फबाट र भ्लोन, मुरारका र सुवेदी सर्वसाधारण सेयरधनीहरूको तर्फबाट निर्वाचित भएका हुन् । एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाइएको बैंकले जनाएको छ । निर्वाचन पश्चात् बसेको समितिको बैठकले गोयललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ । यसअघि बैंकको अध्यक्षमा पवन कुमार गोल्यान थिए ।

लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमण नेपाल, यस्तो बन्यो नयाँ समिति

काठमाडौं । लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल चुनिएका छन् । सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा नेपाललाई चयन गरेको हो । बैंकको बिहीबार सम्पन्न २३औँ वार्षिक साधारणसभाबाट ४ जना सञ्चालक निर्वाचित भएका थिए । बैंकको सञ्चालकमा रमण नेपाल, मनोज कुमार भट्टराई, दिनेश पौड्याल र स्वाति रुङ्गटा निर्वाचित भएका थिए । नेपाल र भट्टराई संस्थापक सेयरधनी समूहबाट निर्वाचित भएका हुन् भने पौडेयाल र रूङ्गाटा सर्वसाधारण सेयरधनी समूहबाट निर्वाचित भएका हुन् । बैंकको स्वतन्त्र सञ्चालकमा भने विद्या बस्नेतलाई नै निरन्तरता दिइएको छ । निर्वाचानपश्चात् बसेको सञ्चालकहरूको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । साविक लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपश्चात् पनि नेपाल अध्यक्ष थिए । तर, नागरिक लगानी कोषको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि बैंकको अध्यक्षबाट स्वतः बाहिरिएका थिए ।

बागमती प्रदेशका सबै सडकमा ३ वर्षभित्र कालोपत्र गरिन्छ : मुख्यमन्त्री जम्कट्टेल

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशका सबै कच्ची सडकमा तीन वर्षभित्र कालोपत्र भइसक्ने बताएका छन् । रामेछाप उद्योग वाणिज्य सङ्घले आयोजना गरेको बृहत रामेछाप महोत्सव–२०८० को उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सबै सडकमा कालोपत्र भइसक्ने बताएका हुन् । आगामी दिनमा ५० लाख रुपैयाँभन्दा कम बजेटका योजना स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी अख्तियारी दिने तयारी पनि भएको पनि उनले बताए । बागमती प्रदेशले उद्योग ग्राम बनाउने नीति लिएको र आगामी माघदेखि सोको कार्यान्वयन सुरु हुने उनको भनाइ छ ।

आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उहाँप्रति श्रद्धासुमन अर्पण गरिने छ । सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदैछ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए । उनले आफ्नो शासनकालमा दिनुभएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको सङ्ज्ञा दिएका थिए । पछिल्ला वर्षमा उनको योगदानका कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुन: सुरु गरेको छ । उनको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रका विभिन्न विशिष्ट महानुभावले शुभकामना सन्देश दिएका छन् । नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । राष्ट्रनिर्माताले त्यसबेला दिएको अर्ति मुलुकमा सुशासन कायम गर्न निकै उपयोगी रहेको जनाउँदै कैयौँ सङ्घसंस्थाले विद्यालय तथा कलेजका पाठ्यपुस्तकमा समावेश गर्न माग गरेका छन् । उनको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको हो ।