विकासन्युज

ब्रिटिस काउन्सिलले सांस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढिकरणको ६५औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले साँस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढिकरणको ६५औँ वार्षिकोत्सव मनाउने भएको छ । काउन्सिलले आफ्नो मूख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावबारे ६५औँ वर्ष स्मरण गर्नेछ । बेलायत नेपालमैत्री सन्धिको शतवार्षिकी उत्सबकै आएको यो विशिष्ठ अवसरले दुई मुलुकहरूबीच सदियौंदेखि चलिआएको कुटनैतिक सम्वन्धलाई प्रष्ट पार्ने बताइएको छ ।नेपालका लागि बेलायती राजदूत रब फेनले यस अवसरलाई कोषेढुङ्गाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गरे । सो अवसरमा उनले भने, ‘बेलायत र नेपालबीचको सम्बन्ध चीरस्थायी रहेको छ र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकहरूबीचको सास्कृतिक तथा शैक्षिक सम्बन्धहरूलाई सुदृढ बनाउन उल्लेख्य भूमिका खेलेको छ ।’ त्यसैगरी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भने, ‘ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको साँस्कृतिक तथा शैक्षिक आदान प्रदानलाई उजागर गर्दछ, बिगतलाई झल्काउँछ र भविष्यमा हुन सक्ने सहकार्यहरूलाई सङ्केत गर्दछ । दुई शताब्दीभन्दा लामो द्विपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकहरूबीच रही आएको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुदृढ बनाउन सघाउँदछ ।’ बेलायत र नेपाल बीच कूटनैतिक सम्वन्धको एक अशंका रूपमा ६५ वर्ष अघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो । त्यसयता, नेपाल सरकारको शैक्षिक तथा साँस्कृतिक सुधारका पहलहरूमा यो भरपर्दो साझेदारका रूपमा बिकास भएको छ, जसका प्रभाव लाखौँ जनताहरूबीच पुगेका छन् । ब्रिटिस काउन्सिल नेपालको देशीय निर्देशक, शाहिदा म्याकडुगले पहिलो ब्रिटिस पुस्तकालयको स्थापनादेखि हालसम्मको यात्राको चर्चा गरे । ‘विगतका ६ दशकहरूमा हामीले थुप्रै व्यक्तित्व र संघसंस्थाहरूसँग मिलेर लाखौँबीच पुग्न सकेका छौँ । साथै ब्रिटिस काउन्सिल नेपालले नेपालको शैक्षिक तथा साँस्कृतिक फाँटमा रूपान्तरणकारी प्रभाव छोड्न सफल भएको छ,’ उनले जोड दिए । लण्डनस्थित मूख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा साँस्कृतिक क्षेत्रहरूमा गरेका प्रयासहरू र उल्लेख्य योगदानहरूलाई प्रष्टाएको छ । विगतका ६५ बर्षहरूमा ब्रिटिस काउन्सिलले साझेदारीहरूलाई अभिबृद्धि गर्दै, सहकार्यलाई सहजीकरण गर्दै विभिन्न कार्यक्रमहरूमार्फत समुदायमा गतिलो छाप छोड्न सम्भव तुल्याएको छ । प्रदर्शनी लण्डनको रेडम्यान पी एल, इ २० १ जेक्यू, बेलायतमा सर्बसाधारणका लागि १ अप्रिल, २०२४ सम्म खुला रहनेछ ।

१० हजार किसानलाई दुधमा अनुदान दिँदै भरतपुर महानगरपालिका

चितवन । भरतपुर महानगरपालिकाले पशुपालक १० हजार किसानलाई दुधमा अनुदान दिने भएको छ । महानगरले गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दुध बिक्री गरेका ती किसानलाई ६ करोड ३७ लाख अनुदान दिन लागेको हो । उनीहरुले दुई करोड १० लाख लिटर दुध बिक्री गरेबापत यो अनुदान पाउने छन् । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल पहिलोपटक निर्वाचित भएपछि दुधमा अनुदान दिन थालिएको हो । उनका अनुसार पहिलो वर्ष प्रतिलिटर २५ पैसा अनुदान दिइएको थियो । त्यसपछिका दुई वर्ष प्रतिलिटर एक र त्यसपछिका योसहित तेस्रो वर्ष प्रतिलिटर तीन अनुदान दिइँदै छ । गत वर्षको दुधको अनुदान रकम यो वर्ष दिइँदै छ । बजेटमा पाँच करोड ५० लाख दुधको अनुदानमा विनियोजन गरिएकामा अपुग भएपछि पुरक बजेटमार्फत ८७ लाख थप गरिएको प्रमुख दाहालले जानकारी दिइन् । उनका अनुसार यति ठूलो रकम दुधमा अनुदान दिने स्थानीय तह भरतपुर हो । किसानलाई दुधमा अनुदान दिएसँगै दुध उत्पादन बढेको छ । अघिल्लो वर्ष दुधमा अनुदान पाँच करोड १० लाख दिइएको थियो । दुधको उत्पादन बढेसँगै अनुदान रकम थपिएको हो । ‘अन्य क्षेत्रसँगै कृषि र पशुपालनमा महानगरले प्राथमिकता दिएर काम गरिरहेको छ,’ उनले भनिन् । महानगर उपप्रमुख चित्रसेन अधिकारीका अनुसार सहकारीमार्फत कृषकको बैंक खातामा अनुदान रकम पुर्‍याइनेछ । अनुदान पाउने भएसँगै कृषक उत्साहित भएको उनले बताए । ‘हामीले बाँड्ने रकम ठूलो छ । धेरै कृषक यसबाट लाभान्वित हुनुभएको छ,’ उनले भने । कृषि र पशुपालनमा कसरी राम्रो गर्न सकिन्छ भन्नेमा महानगर रहेको उनले बताए । महानगरका पशुसेवा शाखा प्रमुख श्यामराज देवकोटाका अनुसार सहकारी र फार्मबाट आवेदन आइसकेकाले माघको पहिलो सातादेखि अनुगमन थालिँदै छ । यससँगै प्रक्रिया अघि बढाएर वैशाखसम्ममा अनुदान रकम कृषकको खातामा पुर्‍याइने उनले बताए । चालु आर्थिक वर्षमा महानगरपालिकाले कृषिमा अनुदानका लागि आठ करोड विनियोजन गरेको थियो । पुरक बजेटमार्फत ८७ लाख थप गरिएको हो । यससँगै महानगरपालिकाले माछा पोखरीमा विद्युतको ५० प्रतिशत अनुदान दिँदै आएको छ । पशुचौपायालाई नाम्ले जुकाको औषधि निःशुल्क वितरण, घरमा गएर बाँझोपन परीक्षण, काउ म्याट वितरण, पशु स्वास्थ्य शिविर गर्दै आएको छ । निर्वाहमुखी कार्यक्रमअन्तर्गत, बाख्रा, बङ्गुर, कुखुरा, हाँसमा अनुदान दिँदै आएको छ । रासस

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौत

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता भएको छ । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेजबीच शैक्षिक सिकाइ र उद्योग अनुभवबीचको अन्तरलाई कम गर्नको लागि, दीर्घकालीन रणनीतिक विकास गर्न सहकार्य गर्ने सम्बन्धी १० जनवरी २०२४ मा सम्झौता भएको हो । सो सम्झौतापत्रमा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारी र कम्पनी सचिव अल्पना शर्मा तथा मल्पी इन्टरनेशनल कलेजको तर्फबाट प्रिन्सिपल दिपक अधिकारी र विधार्थी संलग्नता अधिकृत प्राप्ती वि।सी शर्मा बीच भएको कम्पनीले जनाएको छ । यस सम्झौताले बिमा क्षेत्रमा भएको क्षमता अभावको अन्तरलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्दछ । यस साझेदारी मार्फत फेडेरलले मल्पीका विद्यार्थीहरूलाई विशेषज्ञ प्रशिक्षण, इन्टर्नशिपका अवसरहरु तथा आवश्यकता अनुसार भविष्यमा रोजगारीको अवसरहरु प्रदान गर्न मदत गर्नेछ । साथै, यस सम्झौताले फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सका कर्मचारीहरूलाई सम्मेलन, कार्यशाला र कलेजद्वारा आयोजित अन्य कार्यक्रमहरूमा भाग लिएर नेटवर्किङ बढाउने अवसरहरू प्राप्त गर्न मद्दत गर्नेछ । दुवै संस्थाहरूले बीमा क्षेत्रसँग सम्बन्धित अनुसन्धान तथा अन्य गतिविधीका लागि आवश्यकता अनुसार सहकार्य गर्नेछ । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड २०२२ मा पब्लिक लिमिटेडको रुपमा स्थापित भई नेपालमा पुनर्बीमा दलाली सम्बन्धी सेवा तथा आवश्यक प्ररामर्श प्रदान गर्न नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र लिई कार्य प्रारम्भ गरी नेपालमै पहिलो र एकमात्र  ISO 9001:2015  सर्टिफाइड पुनर्बीमा दलाल कम्पनी बन्न सफल भएको छ ।

स्मार्ट सेलका प्रयोगकर्ताले नयाँ नम्बर अध्यावधिक गराउनु पर्ने

काठमाडौं । स्मार्ट सेलको नम्बर प्रयोग गरिरहेका ग्राहकहरूले नयाँ नम्बर अध्यावधिक गराउनु पर्ने भएको छ । स्मार्ट सेलको लाइसेन्स रद्द भएपछि नयाँ नम्बर अध्यावधिक गराउन बैंकहरूले ग्राहकहरूलाई आग्रह गरेका हुन् । एभरेष्ट बैंकले एक सूचना प्रकाशन गरी स्मार्ट सेलको नम्बर प्रयोग गरिरहेका ग्राहकहरूलाई नयाँ नम्बर अध्यावधिक गराउन भनेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स रद्द गरेपछि स्मार्ट सेल प्रयोग गरिरहेका ग्राहकहरूको मोबाइल नम्बरमा अब उपरान्त एसएमएस अलर्ट नोटिफिकेसन नआउने बैंकको भनाइ छ । एसएमएस अलर्ट नोटिफिकेसन बन्द हुने भएकाले स्मार्ट सेलको नम्बर परिवर्तन गरी नयाँ नम्बर अध्यावधिक गराई सेवा सूचारु गर्न बैंकले आग्रह गरेको हो ।

नेपाल क्रिकेट सङ्घद्वारा सन्दीप लामिछाने निलम्बित

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा निजलाई दोषी ठहर गरी सजाय निर्धारण गरेकाले घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आज एक विज्ञप्ति निकालेर बताएका छन् । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई बुधबार आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँच लाख रुपैयाँ भराउने फैसला सुनाएको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले  उक्त सजाय सुनाएको हो । यही पुस १३ गते ‘गौशाला–२६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई अदालतले दोषी ठहर गरेको थियो । अदालतले लामिछानेलाई आठ वर्ष कैद तीन लाख जरिवाना र दुई लाख रुपैयाँ क्षतिपूर्ति निर्धारण गरेको छ । रासस

दुर्घटना गरेर चालक भाग्यो भने ट्राफिकले तत्काल समात्ने, यसरी हुन्छ निगरानी

काठमाडौं ।  नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ । जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ । अब भने त्यसको पनि निगरानी गरी पहिचान गर्न सकिने नयाँ प्रविधि काठमाडौं उपत्यकामा भित्रिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा उपत्यका प्रहरीले त्यसरी भागेका गाडीका नम्बरप्लेट र चालकले गाडी चलाउँदा कस्ता गतिविधि गरिरहेको छ भनेर रिड गर्ने क्षमताको अत्याधुनिक क्यामेराको प्रयोग थालिएको छ । जसलाई ‘अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा’ (एएनपीआर) भनिन्छ । मुख्यगरी यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्नेछ । सिटबेल्ट लगाएको छ कि छैन, चालकले धूमपान गरेर गाडी चलाएको छ कि ? फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि रु भनेर पत्ता लगाउन उक्त क्यामेराले सहयोग गर्छ । अनि नम्बरप्लेटलाई पनि रिड गरेर पठाउँछ । आधुनिक प्रविधियुक्त उक्त क्यामेराले गाडीको नम्बरप्लेट र चालकको सिटसम्मकै गतिविधि फोटो खिचेर सर्बरमा पठाउने हुँदा ट्राफिकिङमा यसले ठूलो सहयोग गर्ने विश्वास गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए । ‘मानौँ कुनै गाडी दुर्घटना गराएर भाग्यो, त्यसको रङमात्रै थाहा भयो, तर नम्बरप्लेट पहिचान भएन भने उक्त क्यामेराले त्यो बाटो भएर गएको गाडीको नम्बरप्लेट रिड गरेर राख्छ र सर्वरमा पठाउँछ । त्यसपछि त्यो रङको सबै गाडीको नम्बर पहिचान हुन्छ, अनि यातायातसँग समन्वय गरेर गाडीधनीसम्म पुग्न सकिन्छ’, मैनालीलेसँग भने । ‘मनिसले सत्य नबक्न पनि सक्छ, तर प्रविधि र प्रमाणले सत्य बक्नै पर्छ, त्यसकारण तथ्यमा आधारित भएर प्रमाण जुटाउन यसले सहयोग गर्छ’, प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले थपे, ‘अहिले हामीले कोटेश्वरको मुनिभैरव, नयाँ बसपार्क र महाराजगञ्ज क्षेत्रमा जडान गरेका छौँ ।’ आधुनिक प्रविधि भएकाले नेपाली र इम्बोष्ट नम्बरलाई पनि क्याप्चर गर्छ । उनका अनुसार चारवटा मुनिभैरवमा, चारवटा महाराजगञ्ज क्षेत्रमा र दुई बसपार्क क्षेत्रमा जडान गरिएको छ । त्यसले सूचनाहरू उपत्यका प्रहरीको कन्ट्रोलमा पठाउँछ । त्यसबाट विश्लेषण गरेर आवश्यक काम गर्न सकिन्छ । यसअघि प्रहरीलाई ‘हिट एण्ड रन’ का घटनामा व्यक्ति र गाडी पहिचान गर्न गाह्रो हुन्थ्यो, अब यो राखेपछि दुर्घटनाबाट भागेको गाडी पत्ता लगाउन सकिन्छ । कालो गाडी थियो भनेर पत्ता लागेपछि कालो गाडी जतिको नम्बरप्लेट क्यामेराले पहिचान गर्छ, त्यसपछि यातायातसँग समन्वय गरेर धनी पत्ता लगाउन सकिन्छ । केही दिनअघि जडान गरिएको उक्त क्यामेराका लागि काठमाडौं महानगरपालिकाको सहयोग रहेको छ । यसलाई अब विस्तार गर्दै लैजान जरुरी रहेको उपत्यका प्रहरीले जनाएको छ । अरु पालिकाले पनि सहकार्य गर्ने कुरा भइरहेको छ, अब यो आर्थिक वर्षभरिमा काठमाडौंका नाकामा राख्ने योजना रहेको मैनालीले जानकारी दिए । रातिको समयका लागि समेत यसले काम गर्छ । गाडीको लाइट काटेर नम्बर क्याप्चर गर्ने क्षमता यसको रहने बताइन्छ । उपत्यकामा यस्ता विभिन्न प्रविधियुक्त क्यामेरा एक सय ७० वटा राख्न लागिएको छ । फेसरिड क्यामेरा १० ठाउँमा, अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा १० ठाउँमा र भिडियो म्यानेजमेन्टसहितको क्यामेरा (एआई प्रविधिमा आधारित) एक सय ५० स्थानमा जडान गर्न लागिएको छ । उक्त प्रविधि जडानमा सिनर्जी आइटी सोलुसन काठमाडौंको प्राविधिक सहयोग रहेको छ ।  सोलुसनका कार्यकारी निर्देशक मनोज खड्काले विभिन्न प्रविधियुक्त ती क्यामेराले फरक-फरकरूपमा काम गर्ने बताए । उनले फेसरिड क्यामेराले अपराधी पत्ता लगाउन सहज हुने बताए । हराएको कुनै व्यक्तिको फोटो सेट गरेको खण्डमा उक्त क्यामेराले त्यो व्यक्ति त्यस क्षेत्रमा पुगेको फेला पारेमा रिड गरेर पठाउँछ । भीडभाडमा यसले व्यक्ति पत्ता लगाउन सजिलो हुने उनले बताए । रासस

एनएमबि बैंकको अध्यक्षबाट बाहिरिए पवन गोल्यान

काठमाडौं । एनएमबि बैंकको सञ्चालक समिति अध्यक्षबाट पवन गोल्यान बाहिरिएका छन् । बिहीबार सम्पन्न २८औं वार्षिक साधारणसभाबाट अध्यक्ष गोल्यान बाहिरिएका हुन् । २ दशकभन्दा बढी बैंकको सञ्चालकको भूमिकामा रहेका गोल्यान आजदेखि बाहिरिएका हुन् । बैंकबाट बाहिरिएसँगै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षबाट समेत गोल्यानले राजीनामा दिएका छन् । जुत्ता, धागो, होटल, हाइड्रोपावर र कृषि व्यवसाय संलग्न गोल्यानले अब आफ्नै व्यवसायमा बढी समय दिने छन् ।

गोकर्णेश्वरमा तीर्थ श्राद्ध गर्नेको भीड

काठमाडौं । प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भीड लागेको छ । गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा बिहानैदेखि भक्तजनको भीड लागेको गोकर्णेश्वर नगरपालिका वडा नंं ४ को अध्यक्षसमेत रहेका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिए । पौषकृष्ण औँसीमा विगतका वर्षमाभन्दा यस वर्ष भक्तजनको बढी भीड लागेकाले नेपाल मेडिकल कलेजबाट माथि जाने सवारी पनि जाममा परेको उनले सुनाए । दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए । सौरमासअनुसार माघेसङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ । उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम छ । यसै आधारमा आज राजधानीको गोकर्णेश्वर उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित बेत्रावतीलगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ । दक्षिणायनको अन्तिम बिदाइका रुपमा आजको श्राद्ध गर्ने गरिएको हो । दर्शश्राद्ध अर्थात् घरतिरका तीन पुस्ता र मामाघरतिरका तीन पुस्तालाई पिण्ड दिइ गरिने श्राद्ध शास्त्रीयरुपमा गर्नुपर्ने दिन पौष कृष्ण औँसी हो । तर व्यवहारमा सोह्रश्राद्धमै यो श्राद्ध गर्न थालिएको सहप्राध्यापक सापकोटा बताउँछन् । ‘महालय परपक्ष र पितृपक्षसमेत भनिने सोह्रश्राद्धमा नै दर्शश्राद्ध गर्न थालिएको छ, महालयमा सबै पितृलाई पिण्ड दिनुपर्छ, दर्श श्राद्धमा छ जनालाई दिनुपर्छ, घर र मामाघरतिरका तीन तीन पुस्तालाई गरी छ वटा पिण्डदान गर्ने श्राद्ध नै दर्श श्राद्ध हो, एकोद्दिष्ट गणका सबैलाई पिण्ड दिने श्राद्ध महालय श्राद्ध हो, शब्दमा सोह्र श्राद्धलाई महालय श्राद्ध भनिए पनि व्यवहारमा लोप भएको छ’, उनले भने । श्राद्ध भनेको श्रद्धा हो । शास्त्रअनुसारको व्यवहार कार्यान्वयनमा आएको छैन । महालयमा कसैकसैले सबै पितृलाई पिण्ड दिए पनि छुट्टै ब्राह्मण स्थापना गर्नुपर्ने विधि भने पूरा हुने गरेको छैन । यसरी श्राद्ध गर्दा घरमा नित्य कागलाई भात खुवाएजस्तो मात्र भई विधि नपुगेको धर्मशास्त्रविद्को तर्क छ । रासस