कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभामा निर्वाचित भएका छन् । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको लागि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थनमा उम्मेदवार बनेका सिटौलाले एमाले राप्रपा गठबन्धनका उद्धब पौडेलले भन्दा ७३० मतभार बढी मतभार ल्याएर निर्वाचित भएका हुन् । कुल खसेको मतमा सिटौलाले ५२९२ र प्रतिस्पर्धी पौडेलले ४५६२ मत प्राप्त गरेका छन् ।
सवारीसाधनमा यूरो ६ : ‘आयातको प्रक्रियामा रहेका गाडीलाई सरकारले समय दिनुपर्छ’
काठमाडौं । सवारी प्रदूषणको नयाँ मापदण्ड बिएस/यूरो ६ कार्यान्वयनका लागि सरकारले व्यवसायीलाई निश्चित समय दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बिहीबार अटो पत्रकार संघ (जाम)ले आयोजना गरेको एक कार्यक्रमा विज्ञ तथा व्यवसायीहरूले यूरो ६को कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताएका हुन् । कार्यक्रममा वातावरण विज्ञ भूषण तुलाधरले ३० प्रतिशत प्रदूषण सवारीसधानबाटै हुने भएकाले नेपाल जतिसक्दो छिटो यूरो ६मा जानुपर्ने बताए । ‘नेपालमा अहिले आउने नयाँ प्यासेन्जर गाडीहरू यूरो सिक्समै आधारीत छन्, तर समस्या भने पुराना सवारीको व्यवस्थापन अहिलेको आवश्यकता हो, ‘तुलाधरले भने, ‘विश्वमा यूरो सिक्स विश्वमा २०१४ देखि नै सुरु भएको हो, यूरो थ्रि लागू गरेको १२ वर्ष भइसकेको हुनाले तत्काल नेपालमा यूरो सिक्समा जानु आवश्यक छ ।’ उनले डिजेल गाडीलाई प्राथामिकतामा बिएस सिक्समा जान जरुरी रहेको बताउँदै यूरो सिक्स नीतिमा सरकारले स्पष्ट नीति ल्याउनुपर्ने बताए । नाडा अटोमोबाइल एसोसियसन नेपाल (नाडा)का करण चौधरीले आईसीई गाडी छोडेर पछिल्लो समय विद्युतीय गाडी किन्नुपर्छ भन्ने भास्य बनाइएको बताएका छन् । उनका अनुसार आईसिई इन्जिन भएका गाडी नबिकेर यो अवस्था आएको हो । ‘हामीले एउटा प्लानिङमा काम गरिरहेका हुन्छौं, सरकारले यूरो सिक्स लागू गर्ने निर्णय गरेको छ, तर सरकारले व्यवसायीलाई पनि समय दिनुपर्छ, सरकारले पाँच वर्षको योजना निकालेर नीति बनाओस् त्यसमा व्यवसायीले साथ दिन्छन्,’ उनले भने । देशमा गाडी मेकानिक्स र इन्जिनियर पलाएन भइरहेको उनको भनाइ छ । अटोमेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर न्यौपानेले अटोमेकानिक्सहरु राज्यको प्राथामिकतामा नपरेको बताए । ‘अर्बाैंकाे लगानी सवारीसाधन व्यवसायमा छ तर, नयाँ सवारी प्रदूषण मापदण्डका लागि केहि वर्ष समय दिनुपर्छ,’ उनले भने । यस्तै, वन तथा वातावरण मन्त्रालयका सिडि शिवराज शर्माले नाडा लगाएत सवारी बिक्रेता कम्पनीलाई यूरो सिक्सको विषयमा एलसी खुलिसकेको र आयातका लागि प्रक्रिया अगाडि बढीसकेका गाडीहरुको लागि केहि समय दिने मन्त्रालयको तयारी रहेको बताए । उनका अनुसार मन्त्रालय दुई वर्ष अघि नै यूरो सिक्समा जाने विषयमा तयार थियो । तर, सरकारलाई बुझाउन समय लागेको उनको भनाइ छ । ‘अटोमेकानिक्सलाई तालिम दिनुपर्छ र यूरो सिक्स परीक्षण गर्ने उपकरणलाई भन्सार छुट दिनुपर्ने विषयमा पनि छलफल भएको छ र यो विषयमा अर्थमन्त्री पनि सकारात्मक भएको हामीले पाएका छौं,’ उनले भने । यसै गरी वातावरण विभागका दिपक ज्ञवाली यूरो सिक्सलाई लागू गराउन व्यवस्थापकीय भूमिकामा सबै व्यवसायी, सरकारले याेजना तय गरेर अगाडि बढ्नुपर्ने बताए । ‘पछिल्लो केहि समयदेखि ट्राफिक प्रहरी, वातावरण विभाग र यातायात विभागको सहकार्यमा प्रदूषण मापदण्ड चेकजाँच भइरहेको छ, ‘उनले भने, ‘सवारी मेकानिक्स व्यावसायीहरुसँग पनि सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक्ता छ’ । अहिले चलिरहेको पुराना गाडीहरुलाई पनि फेजआउट गर्न पनि एउटा याेजना बनाएर जानुपर्ने उनको भनाइ छ । यसैगरी सवारी प्रदूषण जाँच केन्द्र टेकुका कार्यालय प्रमुख मणिराम भुसालले यूरो २को टुल अनुसार नै सवारी प्रदूषण चेकजाँच भइरहेको बताए । ‘अहिले मालवाहक, सरकारी निकाय र संस्थानका गाडीहररू सवारी प्रदूषणमा फेल हुने गरेको देखिन्छ, ‘उनले भने, ‘डिजेलबाट चल्ने गाडीहरुले नै प्रदूषण धेरै गर्ने गरेको पाइएको छ’ । २० बर्षे पुराना गाडी प्रतिस्थापन गर्ने विषयमा पनि सरकारले नीति पुनरावलोकन गर्नुपर्ने देखिएको उनले बताए । ‘पुराना गाडीहरूको विषयमा एक समिति बनाएरै जानुपर्ने अवस्था देखिएको छ, ‘उनले भने, ‘सवारी प्रदूषण चेकजाँचलाई प्रभावकारी रुपमा अघि बढाउन सरकारले पनि सहयोग गर्नुपर्छ’ । अटो पत्रकार संघका अध्यक्ष सागर गजुरेलले २० वर्ष पुराना सार्वजनिक सवारीलाई हटाउने नीति कार्यान्वयन हुनुपर्ने बताएका छन् । उनले भने ‘नेपालमा भएको प्रदूषणलाई हटाउन युरो सिक्स लागू गर्नुपर्छ ।
‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त कतारबाट पक्राउ
काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुनसरी बराहक्षेत्र नगरपालिका–११ मधुवनका २५ वर्षीय सेहमान खाँ पक्राउ परेका छन् । दोहास्थित नेशनल क्राइम ब्युरोसँगको समन्वयमा कतारमा पक्राउ परेका निजलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । अभियुक्त खाँविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको जानकारी प्राप्त भएको थियो । अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोललाई अनुरोध गरेअनुरुप इन्टरपोलले यही माघ २ गते उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो । रासस
तनहुँ जलविद्युत् आयोजनामा २८ वटा सुरुङ खनियो
दमौली । एक सय४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको हालसम्म २८ वटा सुरुङ खन्ने काम सकिएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको प्याकेज एक र प्याकेज दुईतर्फ गरी कुल २८ वटा सुरुङ खन्ने काम सकिएको हो । प्याकेज एकतर्फ १० वटा तथा प्याकेज दुईतर्फ १८ वटा सुरुङ खनिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । त्यस्तै प्याकेज एकतर्फ दुईवटा र प्याकेज दुईतर्फ एउटा सुरुङ खन्ने काम जारी छ । एक हजार चार सय ५६ मिटरको हेडरेस सुरुङमध्ये हालसम्म एक हजार दुई सय २० मिटर सुरुङ खनिसकिएको छ भने बाँकी खन्नेकार्य जारी रहेको आयोजनाले जनाएको छ । सोही प्याकेजअन्तर्गतको विद्युत्गृह कङ्क्रिटिङ, ट्रेलरेस कङ्क्रिटिङ, केबल सुरुङ कङ्क्रिटिङ, ड्राफ्ट ट्युव सुरुङ कङ्क्रिटिङको काम चलिरहेको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत नै हाइड्रोमेकानिकल कार्यअन्तर्गत ठाडो सुरुङमा पेनस्टक पाइप जडान काम भइरहेको छ । हालसम्म दुई सय १२ दबमलव तीन सय नौ मिटरमध्ये एक सय पाँच दशमलव २० मिटर पाइप जडान गरिएको आयोजना प्रमुख शिल्पकारले बताए । प्याकेज दुईअन्तर्गत चीनको सिनो हाइड्रो कर्पोरेसनले भूमिगत विद्युत्गृहमा मुख्य सुरुङ र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कार्यहरू गरिरहेको छ । यो प्याकेजको निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसनसँग विसं २०७५ असोज १५ गते गरिएको खरिद सम्झौताबमोजिम सिनोले विसं २०७५ माघ ६ गतेदेखि आयोजनास्थलमा निर्माणकार्य जारी राखेको छ । प्याकेज-तीनअन्तर्गत प्रसारण लाइन निर्माणका क्रममा हालसम्म ७० वटा टावरको जग हाल्ने कार्य सकिएको छ । तेत्तीसवटा टावर जडान गरिएको छ भने १३ वटा टावरको जग संरक्षण गरिएको आयोजनाले जनाएको छ । आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर लाग्नेमा एसियाली विकास बैंकले १५ करोड डलर, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले १८ करोड ४० लाख डलर, युरोपेली लगानी बैंकले आठ करोड ५० लाख डलर र नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्नेगरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस
भ्रष्टाचारको अभियोगमा १३ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा १३ जना विरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगले डोल्पाको मुड्केचुला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, डोल्पाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, इन्जिनियर देवराज रावत, सब–इन्जिनियर दिप नारायण यादवसहित आठ जनाविरुद्ध सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतलमा आज आरोपपत्र दायर गरेको हो । आयोगले सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका ललिताकुमारी साहसमेत पाँच जनाविरुद्ध आजै आरोपपत्र दायर गरेको छ । अभियुक्तहरूले खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरेर १७ लाखभन्दा बढी रकम हिनामिना गरेकाले उनीहरूविरुद्ध मुद्दा आयोगले मुद्दा दायर गरेको हो । यसैगरी, डोल्पा मुड्केचुला गाउँपालिका–८ स्थित घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण योजनामा उपभोक्ता समिति र गाउँपालिकाबिच सम्झौता भई सम्झौता बमोजिम स्वीकृत गरेअनुसारको लागत अनुमान बमोजिम कार्य नगरी कम काम गरेर अधिक गरेको प्राविधिक मूल्याङ्कन गराइ भ्रष्टाचार गरेकाले निजहरूमाथि कैद र जरिवानाको सजायको माग गरिएको छ । निजहरूले ११ लाख भ्रष्टाचार गरेका अख्तियारले आज एक विज्ञप्ति निकालेर बताएको छ । अनियमितताका दुवै घटनामा गाउँपालिकालाई हानिनोक्सानी पुर्याउने बद्नियतले देखिएकाले आरोपितलाई कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको आयोगले जनाएको छ । रासस
ह्याम्स अस्पतालले निसन्तान दम्पतीका लागि निशुल्क परामर्श सेवा दिने
काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालले निसन्तान दम्पतीका लागि निशुल्क परामर्श सेवा दिने भएको छ । माघ १३ गते शनिबार बिहान १० बजेबाट दिउँसो २ बजेसम्म अस्पतालको आइभिएफ केन्द्रमा परामर्श दिइने अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले जानकारी दिए । लामो समयसम्म पनि सन्तान नहुँदा सयौं दम्पती पीडामा रहेकाले उनीहरूका लागि उचित परामर्श दिन लागिएको उनको भनाइ छ । पछिल्लो समय प्रविधिको विकाससँगै सन्तान उत्पादनका उपचार पद्धतीले निसन्तान दम्पतीको पीडालाई कम गरिरहेको सन्दर्भमा उचित परामर्शले दम्पतीलाई खुशी दिलाउन सहयोग पुग्ने अस्पतालले जनाएको छ । सो कार्यक्रममा निशुल्क परामर्श सेवाका साथै अस्पतालको प्रयोगशाला परिक्षणमा २० प्रतिशत तथा पाठेघर जाँचमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ । अनुभवी र दक्ष चिकित्सकद्वारा स्त्रीरोगको परिक्षण गरिने अस्पतालले जनाएको छ ।
इसेवा १६ औं वर्षमा प्रवेश, यस्ता छन् १५ दिनका लागि पन्ध्रै अफर
काठमाडौं । इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा आम ग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियमक निकाय तथा शुभचिन्तकहरूमा आभार व्यक्त गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा १५ वर्ष पुरा गरि १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा सबै सरोकारवाला र शुभचिन्तक प्रति आभार व्यक्त गरेको हो । नगदरहित ९क्यासलेस० अर्थतन्त्र निर्माणको बाटोमा नेतृत्वदायी भूमिका खेल्दै लाइनबाट अनलाइन भुक्तानी गर्ने प्रणालीको विकास गर्न इसेवाले महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ । १५ औँ वार्षिक उत्सवको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, ‘हामीलाई यो अवस्थामा आउन सहयोग गर्नुहुने आम इसेवा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, पाटनर्स बैंक, नियामक निकाय, कर्मचारी साथी,प्रेस र सम्पूर्ण शुभचिन्तकलाई हार्दिक आभार प्रकट गर्न चाहान्छु । हामीले आगामी दिनमा इसेवाको मोबाईल एप्स्लाई आम मानिसको हरेक क्रियाकलापमा साथ दिएर सुपर एप्स्को रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ, मलाई आशा छ‘ डिजिटल नेपालको यो यात्रामा आम नेपालीले साथ दिनुहुनेछ ।’ १५ वर्षको अवधिमा इसेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८१ लाख पुगेको छ । यसैगरी परोक्ष रूपमा करिब दुई करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल देशभर करिब २ लाख ३० हजारको संख्यामा इसेवा एजेन्टहरू रहेका छन् । इसेवाले केन्द्रिय कार्यालय सहित सातै प्रदेशबाट सेवा दिइरहेको छ । आजको दिनमा इसेवा प्रायकसो प्रत्येक गाउँपालिकाका, हरेक वडामा पुग्न सफल भइसकेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ । आम मानिसलाई जुनसुकै सेवाको लागि लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झने अवस्थामा ल्याउन सफल भएको छ । आगामी दिनमा इसेवाले बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा वित्तीय पहुँच वृद्धि गरि प्रत्येक नेपाली नागरिकलाई नविनतम प्रविधि र सेवाहरू प्रदान गर्ने योजना बनाएको छ । यस्ता छन् १५ औँ वार्षिक उत्सवका १५ अफर यसैबीच इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्बजनिक गरेको छ । यो अफर माघ ११ ९जनवरी २५० देखि माघ २५ ९फेब्रुअरी ८० सञ्चालनमा रहनेछ । अफर अन्तरगत इसेवा मार्फत कुनैपनि कारोबार गर्ने एक जना भाग्यशाली व्यक्तिले आइफोन १५ जित्न सक्नेछन् । यसैगरी एयरलाइन्स् टिकट काट्ने १५ जनाले मात्र रु १५ सय १५ मा आन्तरिक हवाई टिकट पाउन सक्नेछन् । यस्तै इसेवा केयर खरिद गर्ने मध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउनेछन् भने होटल बुकिङ गर्नेले १५ सय रूपैयाँ क्यासब्याक पाउन सकिनेछ । यस्तै मोबाईल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतको दरले रू १५० सम्मको क्यासब्याक पाइने तथा स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीन जनाले रू ५ हजारसम्मको क्यासब्याक पाउन सक्नेछन् । इसेवाले यी लगायत विभिन्न अफरहरू सार्बजनिक गरेको छ । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
भन्सार विभागका निर्देशक हरिहर पौडेललाई चेम्बरद्वारा सम्मान
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक हरिहर पौडेललाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक पौडेललाई सम्मान गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र राजश्व सचिव रामप्रसाद घिमिरेले प्रमाणपत्र सहित निर्देशक पौडेललाई सम्मान गरेका थिए । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले पौडेललाई ७२औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताए । भन्सार प्रशासन सुधारमा उल्लेख्य भूमिका निर्वाह गरेका पौडेललाई सम्मान गरिएको अध्यक्ष मल्लले बताए । सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लले आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरी व्यापार सहजीकरण हुनुपर्ने बताएका थिए । उनले भन्सारमा सन्दर्भ मूल्य भन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिए । भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने मल्लको भनाइ छ । भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ ।