न्युरोड क्षेत्रलाई सवारीमुक्त बनाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ । काठमाडौँ महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार सुनील लम्सालले आमनागरिकको सहज आवागमन, सहरी सौन्दर्यकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना तयार गरिएको जानकारी दिए । उनका अनुसार सवारी निषेधित क्षेत्र बनाउने योजना अन्तर्गत नै पहिलो चरणमा नयाँ सडकको पार्किङ हटाइएको छ । दोस्रो चरणमा यात्रु चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) प्रणाली लागु गरिने छ र त्यसको लागि आवश्यक तयारी भइरहेको छ । नयाँ सडक क्षेत्रमा पार्किङका लागि ह्विल्स ट्रुली योर्स कम्पनीसँग २०७६ सालमा भएको सम्झौताको म्याद माघ ९ गते सकिएको थियो । उक्त कम्पनीसँग भएको सम्झौता नवीकरण नगरी म्याद सकिएकै दिनदेखि नयाँ सडक क्षेत्रको सडकमा पार्किङ निषेध गरिएको पूर्वाधार विकास सल्लाहकार लम्सालको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
नारायणगढ बुटवल सडकको कालोपत्रको काम रोकियो, दोस्रोपटक म्याद थप्दा पनि पुरा नहुने
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल खण्डमा पर्ने नवलपुरको सडकमा कालोपत्रको काम रोकिएको छ । कालोपत्रका लागि आवश्यक लकच्चा पदार्थ ‘बिटुमिन’ सकिएपछि काम रोकिएको नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डले जनाएको छ । “यस खण्डमा ८ किलोमिटर सडक कालोपत्र गर्न मिल्ने गरी तयारी भइसकेको छ”, योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने, “भारतबाट आउनुपर्ने बिटुमिन भन्सारमा रोकिएको कारण कालोपत्रको काम हुन नसकेको हो ।” बिटुमिन आएलगत्तै कालोपत्र गर्ने गरी निर्माण व्यवसायी तयारी अवस्थामा रहेको भन्दै खनालले ८ किलोमिटर कालोपत्र गर्ने बेलासम्म थप ८ किलोमिटर सडक कालोपत्र गर्ने तयारीमा पुग्ने बताए । “अहिले सडकमा बेस र सब बेस (खनिएको सडकमा माटोले पुर्दै कालोपत्र गर्ने चरणमा पुर्याउने अवस्था)को काम तथा नाली निर्माण भइरहेका छन्”, उनले भने, “निर्माण कम्पनीको मासिक प्रगति विवरण हेर्दा अहिले दैनिक १ हजार ३ सय जना कामदार लगाएर सडक विस्तार भइरहेको पाएका छौँ ।” सडक निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सह–व्यवस्थापक राकेश झाले सडक कालोपत्र गर्न प्रयोग गरिने बिटुमिन भन्सारमा आइसकेको जनाए । “हाम्रो डण्डामा रहेको अक्सपाल्ट प्लान्टमा बिटुमिन सकिएर कालोपत्र गर्नका लागि अक्सपाल्ट निर्माण गर्न सकेका छैनौँ” उनले भने, “बिटुमिन भन्सारमा आइसकेको जानकारी पाएका छौँ, केही औपचारिकता पछि नेपाल भित्रिन्छ ।” बिटुमिन आएलगत्तै कालोपत्र सुरु हुने झाको भनाइ छ । अक्सपाल्ट प्लाण्टमा बिटुमिन आएपछि एक/दुई दिन अक्सपाल्ट तताउन समय लाग्ने भन्दै झाले त्यसलगत्तै कामले तीव्रता पाउने बताए । अहिले कावासोती, प्रगतिनगरलगायतका ठाउँको सडकमा बेस र सब बेस राख्ने काम भइरहेको उनको भनाइ छ । दोस्रोपटक थप भएको म्याद सकिने बेला असार मसान्तसम्म ७० प्रतिशतभन्दा बढी सडक विस्तारको भौतिक प्रगति हुनेगरी काम भइरहेको झाको भनाइ छ । योजनाको पूर्वीखण्डमा पर्ने गैँडकोटको पुलचोकदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकमा पहिले एकतर्फी कालोपत्र गर्ने गरी काम अगाडि बढाउन निर्माण पक्षलाई निर्देशन दिइएको खनालको भनाइ छ । “एकैपटकमा दुईतर्फी कालोपत्रको काम गर्दा यात्रामा समस्या देखिएकाले पहिले एकतर्फी कालोपत्र गरेर यात्रालाई सहज बनाउन निर्देशन भएको छ”, उनले भने, “यस वर्ष एकतर्फी कालोपत्रको काम सकाउने गरी निर्माण पक्ष लागेका छन् ।” पूर्वी खण्डमा हालसम्म २१ किलोमिटरमात्र एकतर्फी सडक निर्माण सकिएको उनको भनाइ छ । सडक विस्तारका क्रममा नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डमा निर्माण हुने १२ वटा मेजर ब्रिज (ठूला पुल) मध्ये २ वटा पुल निर्माण सम्पन्न भएको छ । सूचना अधिकारी खनालका अनुसार झराही खोलाको पुल र कावासोती खोलाको पुल निर्माण सम्पन्न भएको हो । “निर्माण सम्पन्न भएका दुई वटा पुलमा सवारीसाधन सञ्चालनमा ल्याइएको छैन” उनले भने, “बाँकी १० वटा पुलमा फाउण्डेसन (जगको पिल्लर) निर्माण गर्ने काम सकिएको छ, अब बिम राख्न मात्रै बाँकी छ ।” ठूला पुलको लागि पुलभन्दा बाहिरै सडकमा बिम निर्माण गरिएको उल्लेख गर्दै खनालले बिम उठाएर पुलको फाउण्डेसनमा लगेर जोड्ने क्रेन उपलब्ध नहुँदा बिम जोड्ने काम प्रभावित भएको बताए । “पुलभन्दा बाहिर बिम निर्माण गर्दा काम चाँडो हुने भएकाले निर्माण पक्षले सडकमा बिम निर्माण गरेको छ” उनले भने, “सबै पुलको बिम निर्माण भइसकेका छन्, क्रेन ल्याएर एकैपटकमा बिम राख्ने काम हुन्छ ।” यस खण्डमा निर्माण हुने २२ वटा माइनर ब्रिज (साना पुल)मध्ये २१ वटा पुल निर्माण सम्पन्न भएको भन्दै अरुणखोलामा पर्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । यस खण्डमा पर्ने दाउन्नेमा ५ किलोमिटर सडक भौगोलिक अवस्थाका कारण तीन लेनको हुनेछ भने अन्य ठाउँमा चार लेनमा सडक विस्तार भइरहेको छ । सहरी क्षेत्रमा भने अतिरिक्त २ लेन सडक विस्तार गर्ने गरी काम अघि बढिरहेको छ । गैँडाकोट–दाउन्ने सडक खण्डमा पर्ने ६५ किलोमिटर खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ रहेको छ । एशियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा विसं २०७५ माघ २४ मा चीनको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सडक विस्तारको काम सुरु गरिएको हो ।
मुग्लिन पोखरा सडकमा कालोपत्र सुरु, फागुनसम्म एकतर्फी ५ कि.मि.सक्ने लक्ष्य
काठमाडौं । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो । पहिलो दिन बिहीबार ४२० मिटर एकतर्फी सडक कालोपत्र भएको पश्चिम खण्डका इञ्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलले जानकारी दिए । उनका अनुसार फागुनको अन्तिमसम्म एकतर्फीरुपमा ५ किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य छ । उनले आजदेखि म्याग्दे गाउँपालिकास्थित जामुने र शुक्लागण्डकी नगरपालिकास्थित बेलचौताराबाट पनि कालोपत्रको काम अगाडि बढ्ने जानकारी दिए । उनले भने, “अब कामले तीव्रता पाउँछ, निरन्तर कालोपत्रको काम अगाडि बढ्छ । आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा छन् ।” पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुने र एकतर्फीको काम अगाडि बढेपछि दुईतर्फी नै कालोपत्र गरिने उनले जानकारी दिए । सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रको कामलाई अगाडि बढाएको हो । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म वि.सं २०७८ जेठ २ गते सम्झौता भई वि.सं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको थियो । धुलो र हिलालेले आजित भएका स्थानीय बासिन्दा कालोपत्र सुरु भएपछि आशावादी बनेको स्थानीय शङ्कर पन्तले बताए । उनले भने, “सडक विस्तारको काम सुरु भएको लामो समयपछि कालोपत्रको काम अगाडि बढ्दा स्थानीयवासी खुसी छन् । धुलो, हिलो र खाल्डाखुल्डी सडकले आजित बनाएको थियो ।” उनले गुणस्तरीय काम गराउनका लागि आफूहरुले पनि निरन्तर अनुगमन गर्ने उल्लेख गरे । मुग्लिन पोखरा सडक विस्तारका लागि यो खण्डमा काम निकै सुस्त थियो । हालै भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुई पटक यो खण्डको स्थलगत अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका थिए । पश्चिम खण्डमा हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ । यसैगरी पूर्वी खण्डमा भने १९ दशमलव ५ किमी सडकखण्ड कालोपत्र भइसकेको छ । आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म उक्त दूरीमा कालोपत्र सकिएको हो । मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिए । त्यसमध्ये ७।२ किमी खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ । पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको छ । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि ‘आर्क डिजाइन’मा पुल बन्दैछ । पूर्वी खण्डको कामका लागि वि.सं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा ३ ठूला र ४ साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । रासस
३ दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना छैन : मौसम विज्ञान विभाग
काठमाडौं । आगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै छिटफुट वर्षा हुनसक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले राससलाई जानकारी दिए । काठमाडौँमा बिहीबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको भन्दै उनले विस्तारै देशभर चिसो हुने क्रम बढिरहेको बताए । उनका अनुसार काठमाडौँमा बिहीबार न्यूनतम तापक्रम ३ डिग्रीमा झरेर सोमबारको रेकर्ड तोडेको हो । यसअघि गत सोमबार ३.२ डिग्री मापन गरिएकामा ०.२ डिग्री झरेपछि बिहीबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको मौसमविद् लामिछानेले जानकारी दिए । बिहीबार अधिकतम तापक्रम १६.६ डिग्री मापन गरिएको । बिहीबार सबैभन्दा कम तापक्रम जोमसोमको रहेको लामिछानेले बताए । तराईमा बाक्लो हुस्सु र कुहिरो जारी रहने तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बादल लागेर घाम कम लाग्ने भन्दै देशभर चिसो बढ्ने क्रममा रहेको उनले बताए । यो समयमा चिसोबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ ।
विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन
काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई आगामी शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न निर्देशन गरेको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आज सूचना जारी गर्दै अहिले शैक्षिक सत्रको समय नभएकाले विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न सबै विद्यालयलाई निर्देशन गरेका हुन् । “शैक्षिक सत्रको सुरुआतको समय नभई विद्यार्थी भर्नाका लागि कुनै पनि तरिकाले सूचना प्रकाशन नगर्नरनगराउन सूचित गरिन्छ”, सूचनामा भनिएको छ । महानगर क्षेत्रभित्रका केही विद्यालयले अनलाइन तथा अन्य विभिन्न माध्यमबाट शैक्षिक सत्र २०८१ का लागि भर्नाको सूचना प्रकाशन गरेको भन्ने उजुरी प्राप्त भएको कोइरालाले बताए । उनले विद्यालयले विद्यार्थी भर्नासम्बन्धी कुनै सूचना प्रकाशित गरेको पाइएमा महानगर शिक्षा ऐन, २०७५ तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने जानकारी दिए ।
सुन तस्कर प्रकरणः महरालाई थुनामै राख्ने आदेश
काठमाडौं । उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको छ । न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले आज जिल्ला अदालतकै आदेश सदर गरेको हो । सुन तस्कर प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले पनि पुर्पक्षका लागि कारागारमा रहेका छन् । उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०ले निजलाई पक्राउ गरेको थियो । महरालाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेको थियो । जिल्ला अदालतको उक्त आदेशविरुद्ध महरा उच्च अदालतमा गए पनि जिल्लाकै आदेश सदर भएको हो । निजविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरीपैठारी र सङ्गठित अपराधमा अभियोग कसुर लगाइएको छ ।
देशबाट गाडीका डाक्टर पनि पलायन हुन थाले : नाडा अध्यक्ष चौधरी
काठमाडौं । नाडा अटोमोबाइल एशोसिएसन नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले देशबाट गाडीका उपचार गर्ने डाक्टरहरू पलायन हुन थालेको बताएका छन् । बिहीबार अटो पत्रकार संघ (जाम) ले आयोजना गरेको कार्यक्रममा बोल्दै चौधरीले ठूलो मात्रामा गाडीका मेकानिकल र इन्जिनियरहरू पलायन हुन थालेको बताएका हुन् । ‘उहाँहरू मेकानिक्स र इन्जिनियरको सिप सिक्नका लागि जानु भएको हैन, यहाँबाट उहाँहरू विदेश गएर यहाँको भन्दा तल्लो दर्जामा बसेर काम गर्न गरिराख्नु भएको छ,’ उनले भने । अटो क्षेत्र समस्याबाट गुज्री रहेको बताउँदै चौधरीले अटो क्षेत्रको लागि दीर्घकालीन नीतिको आवश्यकता रहेको पनि बताए । ‘प्रदूषणबाट मर्ने कि अर्थतन्त्रको समस्याबाट मर्ने पहिला त्यो छानाैं,’ ‘उनले भने, ‘तर दुवैबाट नमर्ने वातावरण सिर्जना गरी मिलेर अगाडी बढौं,’ उनले भने । चौधरीले नाडा युरो ६ कार्यान्वयनको विरोधी नभएको बताए । उनका अनुसार पछिल्लो समय नेपालमा ईभीको तुलनामा आइसीई गाडीहरू बिक्री हुन छाडेका छन् । उनले नेपालमा वातावरण प्रदूषणको कमी र ऊर्जाको खपत कम गर्नको लागि भए पनि ईभीको आवश्यकता रहेको बताए । ‘सरकारले विद्युतीय यातायातलाई प्राथमिकता दिएर त्यसलाई प्रोत्साहन गर्न थालेको २/३ वर्ष भयो, अहिले मान्छेहरू आइसीईका गाडी छाडेर ईभीका गाडी किन्न थालेका छन्, ईभी सञ्चालन पश्चात् वातावरणमा कस्तो सुधार आएको छ, त्यस विषयमा निहाल्न पनि आवश्यक छ,’ उनले भने । चौधरीले गाडीले भन्दा बढी उद्योगले इन्धनको खपत गरिरहेको बताउँदै उद्योगलाई विद्युतीकरण तर्फ लैजान आवश्यक रहेको पनि बताए ।
विदेशबाट फर्किएकालाई घरदैलोमै पुगेर सस्तो ब्याजमा १० करोडसम्म ऋण
काठमाडौं । पछिल्लो समय सबैको चासो र चिन्ता विदेश जाने युवाहरूको छ । दैनिक हजारौं युवाहरू विदेसिएको भन्दै सर्वत्र चिन्ता छ । तर, विदेसिएका युवाहरू स्वदेश पनि फर्किरहेका छन् । विदेशबाट नेपाल आउने जहाजहरू पनि भरिभराउ भएर नै आउँछन् । विदेश गएर नेपाल फर्किने तिनै युवाहरूलाई लक्षित गर्दै नबिल बैंकले नयाँ कर्जा प्रडक्ट सार्वजनिक गरेको छ । बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । नबिल बैंकका साना तथा मझौला उद्यम विभाग प्रमुख अमित श्रेष्ठ स्वदेशमा उद्यम गर्न चाहने प्रवासी नेपाली र उनीहरूको परिवारलाई लक्षित गरी उक्त कर्जा योजना ल्याएको बताउँछन् । उनका अनुसार स्वदेश फिर्ता भएका व्यक्तिहरूलाई डिजिटल माध्यमबाट कर्जा उपलब्ध गराइनेछ । साथै, यस प्रडक्टले विदेश गएका धेरैभन्दा धेरै व्यक्तिहरूलाई स्वदेश फिर्ता गराउन मद्दत पुग्ने उनको भनाइ छ । ‘अधिकांश युवाहरू विदेश जानु भएको छ, उहाँहरू स्वदेश फर्किदा केही न केही सीप सिकेर आउनु हुन्छ, सीपसँगै पुँजी पनि लिएर आउनु हुन्छ,’ उनले भने, ‘त्यो पुँजीलाई नबिल बैंकले जोडेर उद्यम तथा व्यवसायमा रूपान्तरण गर्छाैं, स्वदेशमै केही गर्ने सोच भएर फिर्ता भएका व्यक्तिहरूलाई यसले ठूलाे टेवा पुर्याउँछ ।’ उनले यस प्रडक्टले दीगो विकासलाई पनि जोड्ने बताए । साथै, परिवारसँगको आत्मियता पनि बढाउन मद्दत पुग्ने बताउँदै उनले भने, ‘विदेशबाट नेपाल फर्केर आउनेहरूलाई यो प्रडक्ट विशेष फोकस गरिएको हो, उहाँहरूको कोही परिवारको सदस्यले नेपालमै केही काम गर्न चाहनु हुन्छ भने नबिल बैंकले कर्जा उपलब्ध गराउने छ ।’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगाना स्वदेश फिर्ता भएका युवाहरूलाई सजिलो तरिकाबाट कर्जा प्रवाह गर्न बैंकले यस्तो प्रडक्ट ल्याएको बताउँछन् । विदेशबाट सीप सिकेर आएका युवाहरूलाई वित्तीय सहयोग गरेर कार्यान्वयनमा ल्याउन सके अर्थतन्त्रलाई ठूलो राहत हुने उनको भनाइ छ । ‘विदेशमा सीप सिकेर आएको मान्छेहरू यत्तिकै हल्लिएर बस्नु भन्दा त्याे सीपलाई नै व्यापार व्यवसायमा लगाउन सकियो भने रोजगारी सिर्जना हुन्छ, त्यसले अर्थतन्त्रलाई पनि ठूलो मद्दत गर्छ,’ उनले भने, ‘सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्दा व्यवधान भएपनि १० करोड रुपैयाँसम्मको कर्जामा सहुलियत ब्याजदर तोकेका छौं, जसले गर्दा माइग्रेन्टहरूले पनि औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन टेवा पुर्याउँछ ।’ श्रम स्वीकृति लिने र विदेश जाने ट्रेण्ड अझै बढ्ने देखिन्छ । आगामी दिनमा औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रिन थाल्यो भने यसले देशको अर्थतन्त्रमा पनि सहयोग गर्छ । कर्जा उपलब्ध गराएर उनीहरूले सिकेको सीप र प्राविधिक ज्ञानलाई उद्यममा लगानी गर्न सकिने उनले बताए । सरकारले विदेशमा सीप सिकेर स्वदेश फिर्ता भएका व्यक्तिहरूको तथ्याङ्क उपलब्ध गराउन सकेमा उनीहरूको घरदैलोमा गएर बैंकले कर्जा दिन सक्ने सीईओ ढुंगानाको भनाइ छ । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले विदेशमा धेरै प्रकारका सीप, पुँजी लिएर आएकालाई रोजगारी र उद्यमशिलतामा ल्याउन सके देशको आर्थिक अवस्था माथि उठ्ने बताए । प्रवासी नेपालीहरूले विदेशमा सिकेकाे सीप प्रयोग गरेर दिगो रूपमा रोजगारी तथा उद्यम गर्नसक्ने वातावरण बनाउनु पर्ने उनको भनाइ छ । ‘यो कर्जा योजना बैंकले व्यवसायिक रुपमा मात्र नभई स्थानीय अर्थतन्त्र र साना व्यवसायहरूलाई सहयोग तथा समर्थन गर्न डिजाइन गरिएको एक अभियानका रुपमा लिएका छौं,’ अध्यक्ष पौड्यालले भने । कसरी पाइन्छ कर्जा ? श्रेष्ठका अनुसार याे कर्जा लिन नेपाली नागरिकता, व्यवसाय दर्ता भएको प्रमाण वा व्यवसायसँग सम्बन्धित प्रमाण भए हुन्छ । यो प्रडक्ट रेगुलर बैंकिङ भन्दा फरक रहेको र स्थानीय स्रोत साधनको बढीभन्दा बढी प्रयोगमा ल्याउन मद्दत पुग्ने उनको भनाइ छ । श्रेष्ठका अनुसार यस कर्जाको अवधि १० वर्ष रहेको छ भने ब्याजदर पनि सस्ताे छ । अन्य कर्जामा ४ प्रतिशत प्रिमियम लिने गरिएको छ । तर, यस कर्जामा आधार दरमा अधिकतम १.५ प्रतिशत मात्रै प्रिमियम लिने उनको भनाइ छ । ‘बैंकले सेवा शुल्क ०.५ प्रतिशत मात्रै लिनेछ, नबिल बैंकको नेटवर्कबाट रेमिट्यान्स पठाउने व्यक्तिहरूका विशेष प्याकेज पनि छ,’ उनले भने, ‘यस प्रडक्टमा धेरै प्रमाणको पनि आवश्यक छैन, सबै प्रक्रिया डिजिटल माध्यमबाट गर्छाैं,’ उनले भने । ऋणीले आवेदन दिएको ३ देखि ५ दिनभित्र कर्जा स्वीकृत गरेर रकम उपलब्ध गराउने उनको भनाइ छ । जसका लागि प्रोजेक्ट तथा धितोमा आधारित भएर कर्जा दिने श्रेष्ठको भनाइ छ । उनका अनुसार यस प्रडक्टलाई विभिन्न ४ क्याटागोरीमा विभाजन गरिएको छ । ग्रामिण क्षेत्र वा सुरुवाती चरणका ऋणीलाई १५ लाख रुपैयाँ, व्यवसाय सुरुवात गरिसकेको वा ग्रोइङ बिजनेशलाई १ करोड रुपैयाँ, स्थापित व्यवसायलाई ५ करोड रुपैयाँ र व्यवासय विस्तार गर्न १० करोड रुपैयाँ कर्जा उपलब्ध गराउने उनले बताए । यस प्रडक्टले अर्थतन्त्रमा समेत योगदान पुर्याउने भएकाले सरकारसँग समन्वय गरेर अघि बढ्ने बैंकको तयारी रहेको उनकाे भनाइ छ । सरकारका सचिव भन्छन् : विदेश जान पनि ऋण दिनुपर्छ श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले विदेश जाने युवाहरुलाई बैंकले ऋण दिनुपर्ने धारणा राखे । ‘विभिन्न देशबाट सीप तथा प्रविधि सम्बन्धी ज्ञान सिकेर फर्किएकाहरूलाई नेपालमा व्यवसाय गर्ने वातावरण बनाउन बैंक तथा वित्तीय संस्थाहरूले सानो पुँजीको कर्जा सहजरूपमा प्रवाह गर्नुपर्छ, वैदेशिक रोजगारमा जाने अधिकांशले मिटरब्याजमा ऋण लिनुपर्ने अवस्था रहेको छ, बैंकबाट कर्जा लिएर विदेश जान सक्ने व्यवस्था गरिनुपर्छ, विदेश जानेहरूलाई बैंकले ऋण दिनुपर्छ,’ उनले भने । जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र गरिबीका कारण नेपालमा आन्तरिक तथा बाह्य बसाइसराइँ बढिरहेको बताए । अवसरका लागि युवाहरू विदेसीने मात्र नभई देशभित्रै पनि आप्रवासनको ठूलो चक्र रहेको उनको भनाइ छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बैंकको यस्तो योजनाले विदेशीएका दक्ष र बौद्धिक जनशक्तिलाई नेपालमा फर्काउन ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे । ‘सरकारले विदेसिएका नेपालीलाई नेपाल फर्किएर व्यवसाय सुरु गर्न प्रोत्साहित गरिरहेको अवस्थामा नबिल बैंकले ल्याएको यो योजनाले थप टेवा पुर्याउने मेरो विश्वास छ,’ उनले भने । वैदेशिक रोजगारीमा रहेका र फर्किएका युवालाई स्वदेशमा नै उद्यमशीलता विकास गर्ने सरकारको अभियानलाई सहयोग पुग्ने गरी बैंकले प्रडक्ट ल्याएको बताउँदै उनले भने, ‘राष्ट्रिय आप्रवासन नीति बनाउन कार्यदल गठन गरेर काम भइरहेको छ, यो कार्यदलले आन्तरिक र बाह्य आप्रवासनको स्थिति विश्लेषण गरी अबको हाम्रो आप्रवासन तथा रोजगार नीति कस्तो हुनेछ भन्ने विश्लेषण गर्नेछ, आन्तरिक रोजगारी सिर्जना गरेर हाम्रो श्रमशक्ति बाहिर जान नदिनु हाम्रो मुख्य लक्ष्य र जिम्मेवारी हो । त्यसको व्यवस्थापनका लागि अहिले आन्तरिक रोजगारी सूचना प्रणाली तयार भइरहेको छ ।’