विकासन्युज

सानिमा रिलायन्स लाईफको अध्यक्षमा रतन लाल केडिया नियुक्त

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् । माघ ११ गते बसेको इन्स्योरेन्सको छैटौँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरु  रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का मध्येबाट माघ १२ को सञ्चालक समिति बैठकले रतन लाल केडियालाई सञ्चालक समितिको अध्यक्षको रुपमा नियुक्त गरेको हो । आईतबार अध्यक्ष केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी अध्यक्षको पदभार ग्रहण गरेका छन् । साथै अन्य सञ्चालकहरुले सञ्चालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी सञ्चालकको पदभार ग्रहण गरे ।

इतिहासमा पहिलो पटक इरानले अन्तरिक्षमा ३ वटा उपग्रह एकसाथ प्रक्षेपण गर्यो

काठमाडौं । इरानले आईतबार आफ्नो अन्तरिक्ष इतिहासमा पहिलो पटक एकैसाथ तीनवटा घरेलु विकसित उपग्रहहरू अन्तरिक्षमा पठाएको छ । उपग्रहहरूलाई पृथ्वीको सतहबाट न्युनतम ४५० किलोमिटर उचाईमा अण्डाकार कक्षमा प्रक्षेपण गरिएको जनाइएको छ । ती तीनवटा भूउपग्रहमा एउटा सञ्चार तथा अनुसन्धान उपग्रह महदा र दुईवटा नानोस्याटलाइट केहान–२ र हतेफ–१ समावेश छन् । स्वदेशी निर्मित प्रक्षेपण यान सिमोर्ग (फिनिक्स) सेमनान प्रान्तबाट प्रक्षेपण गरिएको हो । महदाको प्राथमिक मिसन भनेको धेरै कार्यहरूमा सिमोर्गको कार्यसम्पादनको मूल्याङ्कन गर्नु र अन्तरिक्षमा नयाँ डिजाइन र प्रविधिहरूको मूल्याङ्कन गर्नु हो ।

आजको मौसम : हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । देशका तराईका अधिकांश भागमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति पनि पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरोले ढाक्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाईसेवा प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

श्वेत-गंगा हाइड्रोको साढे ३८ लाख कित्ता सेयरको लक इन अवधि फागुन २ गते सकिने

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको संस्थापक सेयरको लक इन अवधि फागुन २ गतेदेखि सकिने भएको छ । कम्पनीको संस्थापक सेयरधनी समूहको ३८ लाख ५१ हजार कित्ता सेयरको लक इन अवधि फागुन २ गते सकिन लागेको हो । यस कम्पनीमा संस्थापक समूहको तर्फबाट विदेशी लगानीकर्ता डोल्मा इम्प्याक्ट–आईको ३८ लाख ५१ हजार कित्ता सेयर स्वामित्व छ । डोल्मा इम्प्याक्ट–आईको प्रतिनिधिले दिएको राजीनामा वि.सं २०७९ फागुन ३ गतेदेखि लागू हुने गरी स्वीकृत भएको थियो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१) र (१क) बमोजिम उक्त सेयरधनी संस्थाको नाममा रहेको खरिद बिक्री वा हस्तान्तरण वा लेनदेन गर्न नसक्ने गरी रोक्का रहेको थियो । एक वर्षको लक इन अवधि फागुन २ गते समाप्त हुने कम्पनीले जनाएको छ ।

समयमा काम सम्पन्न नगर्ने २२ ठेकेदार कम्पनी परे कालोसूचीमा

काठमाडौं । सरकारले एकैपटक २२ कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूको सिफारिसमा ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनी कालोसूचीमा राखेको हो । सडक डिभिजन कार्यालय दमौलीले सिफारिस गरेअनुसार ८ निर्माण कम्पनी कालो सूचीमा परेका छन् । ललितपुरको देवी रमण कन्स्ट्रक्सन कम्पनी, बन्दीपुरको खड्गदेवी कन्स्ट्रक्सन, बन्दीपुरकै खड्गदेवी कन्स्ट्रक्सन, भिमादको आयुष एन्ड अनुष कन्स्ट्रक्सन कालोसूचीमा परेका हुन् । यस्तै, गोरखाको अनुपमा निर्माण सेवा, अन्नपूर्ण निर्माण सेवा, लक्ष्मी कन्स्ट्रक्सन र कास्कीको त्रिवेणी निर्माण सेवा कालोसूचीमा परेका हुन् । विभिन्न निकायहरूले नाम पठाए अनुसार विभिन्न निर्माण कम्पनीहरूलाई साढे १ वर्षदेखि ३ वर्षदेखि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

७१ मेगावाटको क्यासकेड जलविद्युत् आयोजना निर्माण सम्पन्न, आजदेखि परीक्षण गरिने

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । आयोजनाको प्रवद्र्धक कम्पनी नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रतिनिधि उपेन्द्रराज गौतमले आजदेखि टनेलमा पानी हालेर परीक्षण गरिने जानकारी दिए । उनले भने, “टनेलमा पानी पठाउने क्रममा छोटेपादेखि दोविल्नासम्म खोलाको पानीको बहाव थपघट हुने भएकाले माछा मार्ने, नुहाउने, गाईवस्तु, चौपाया छाड्ने र आवतजावत गर्ने कार्य नगराउन अनुरोध गरेका छौँ ।” बाँध, सुरुङ, विद्युत गृह, प्रसारण लाइन, स्विचार्ड निर्माण सकेपछि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर प्रतिनिधिको रोहवरमा परीक्षणको तयारी गरिएको हो । छोटेपामा निर्माण भएको डिसेन्डर (बालुवा थिग्र्याउने पोखरी)मा यसअघि नै पानी हालेर परीक्षण गरिएको थियो । छोटेपादेखि दोभिल्नामा रहेको विद्युत गृहसम्म ४ हजार २७५ मिटर लामो सुरुङ निर्माण भएको छ । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । विद्युत्गृहको भवन निर्माण सकेर उपकरण जडान थालिएको छ । नीलिगिरि पहिलोको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । दुईवटै आयोजनाको विद्युत्गृह परिसरमा स्विचार्ड बनाइएको छ । नीलगिरि पहिलोको स्विचार्डमा गत बर्खामा पहिराले क्षति पुर्याएको थियो । १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएका दुवै आयोजना रन अफ रिभर प्रकृतिका हुन् । नीलिगिरि खोलाबाट उत्पादन भएको बिजुली २२० केभी क्षमताको दाना सबस्टेसनबाट केन्द्रीय ग्रिडमा जोडिन्छ । छोटेपा–दोबिल्ना हुँदै दाना सबस्टेसन जोड्ने ७.४ किलोमिटर दूरीको २२० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ । नारच्याङमा यसअघि ५ मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण भएको थियो । ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको छ । ९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माणको तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युत् गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ । मिस्त्री खोलाको प्रवद्र्धक माउन्टेन इनर्जी नेपालले १२ मेगावाटको मिस्ट्री खोला–२ आयोजना निर्माण गर्दैछ । रासस

पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट १ खर्ब २५ अर्ब रुपैयाँ सङ्कलन

काठमाडौं । पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट आठ वर्षमा १ खर्ब २५ अर्ब रुपैयाँ सङ्कलन भएको छ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब ३५ करोड रुपैयाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको हो । सरकारले आर्थिक वर्ष २०७२/७३ को बजेटमार्फत एक हजार दुई सय मेगावाटको बुढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणका लागि भन्सार बिन्दुमै पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको थियो । सरकारले आव २०७७/७८ को बजेटबाट पाँच रुपैयाँबाट डिजेल, पेट्रोल र हवाई इन्धनमा सङ्कलन गर्दै आएको कर बढाएर १० रुपैयाँ पुर्याएको थियो । इन्धन आयात गरेबापत मासिक रूपमा भन्सार बिन्दुमै पूर्वाधार करबापत डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटरमा १० रुपैयाँ शुल्क सङ्कलन हुँदै आएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भन्सारबिन्दुमै पूर्वाधार कर सङ्कलन गरी सरकारको खातामा जम्मा हुने गरेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

मिस्ट्री जलविद्युत्को भौतिक संरचना निर्माण तत्काल नगर्न सर्वोच्चद्वारा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले म्यादी मिस्ट्री खोला–२ जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण तत्काल नगर्न परमादेश गरेको छ । न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले आइतबार उक्त जलविद्युत् आयोजनाका कारण म्यादीमा रहेको तातोपानी कुण्ड सुकेर अपूरणीय क्षति पुग्ने उल्लेख गर्दै परमादेश दिएको हो । तातोपानी कुण्डको प्राकृतिक स्रोतलाई प्रत्यक्ष असर पर्ने गरी मिस्ट्री खोला–२ जलविद्युत् आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन मिति २०७८ फागुन २२ गते र २०७९ साउन २३ गते प्रारम्भिक वातावरणीय परीक्षणलाई पनि अदालतले बदर गरेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन संशोधन, भू–गर्भविज्ञको प्रतिवेदनसहितको प्रतिबद्धताको माग गरेकामा जबर्जस्ती साबिक पारित प्रतिवेदनबमोजिम निर्माण गर्ने भनी रेखाङ्गकन गर्न थालेकाले सोही बमोजिम कार्यान्वयन भएमा पहिचान बोकेको तातोपानी कुण्ड नै सुकी अपूरणीय क्षति हुने उल्लेख गर्दै सो क्षेत्रका स्थानीय बासिन्दा रुमलाल पुन, खिममाया लिलिजासहित १८ जनाले रिट निवेदन दायर गरेका थिए । उक्त जलविद्युत् आयोजना अन्नपूर्ण संरक्षित क्षेत्रभित्र पर्ने भएकाले संरक्षण क्षेत्रभित्र कस्तो कस्तो प्रकारको विकास–निर्माण गर्ने, विकासका लागि संरक्षित क्षेत्रभित्र प्रयोग गर्न दिदाँ सम्बन्धित विज्ञहरुसँग छलफल गरी एक वैज्ञानिक किसिमको गुरुयोजना तथा एकीकृत परियोजनाको कार्यविधि तत्काल कार्यान्ववयन नगर्न परमादेशमा भनिएको छ । सो आयोजना अन्नपूर्ण संरक्षित क्षेत्रभित्र पर्ने भएको हुँदा सो क्षेत्रमा आदिम समयदेखि पिछडिएको जनजातिको बासस्थान भएको र उक्त क्षेत्रमा सार्वजनिक पाटीपौवा भएको उतm संरक्षण गर्न, कृषि पेसा र तातोपानी कुण्डको कारण नै पर्यटन व्यवसाय सञ्चालन गरी जीविका चल्दै आएकाले उतm आयोजनाले असर गर्ने आदेशमा छ । उक्त विषयमा अधिवक्ताहरु पदमबहादुर श्रेष्ठ, शुभराज आचार्य, राज फुयाल, दिलराज खनाल, षटकोष श्रेष्ठ, आरजु कार्की, राकेशकुमार साह र विष्णुकुमार थोकरले बहस गरेका थिए ।