दाबी भुक्तानीलाई सरलीकृत गर्दै सलिको
काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा दशकौंदेखि स्थापित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) र पिनाकल ट्रडिङ कन्सर्न प्रालि/पिनाकल सर्भिस सेन्टरबीच नगदरहित बीमा दाबीसहितको बीमा कारोबार गर्न द्विपक्षीय सम्झौता भएको छ । चैत ९ गते एक समारोहरबीच सम्झौतापछि पिनाकल ट्रडिङ कनर्सनमार्फत सवारीसाधन खरिद गर्ने सवारीधनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा आफ्ना सवारीसाधनको व्यापक बीमा गराएको अवस्थामा सो सवारीसाधन दुर्घटना परी क्षति भएमा बीमितले आफ्नो सावरी मर्मत गर्दा लाग्ने खर्चबापतको क्षतिपूर्ति रकम नगदरहित बीमा दाबी क्षतिपूर्ति सेवाअन्तर्गत प्राप्त गर्ने छन् । यसबाट ग्राहकले बिनाझनझट आफ्नो बीमालेखबाट प्राप्त हुने रकमबाहेकको रकममात्र मर्मत केन्द्रमा भुक्तानी गरी मर्मत गरिएको सवारीसाधन लिएर जान सक्ने सुविधा प्राप्त गर्नेछन् । सम्झौतापत्रमा पिनाकल ट्रडिङका तर्फबाट ईश्वरकुमार श्रेष्ठ तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
ठमेल र दरबारमार्ग २४सै घण्टा खुलाउने तयारी, एक हप्ताभित्र पूर्णता दिइने
काठमाडौं । सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २४ सै घण्टा व्यापार व्यवसायी सञ्चालन सम्बन्धी समन्वय बैठकमा सम्बन्धित सबै निकायहरु र व्यवसायीहरुसँग काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल गरेका हुन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौंले यसको तयारी थालेको छ । ठमेल र दरबारमार्ग २४ सैं घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाएको छ । सोमबार सम्बन्धित निकाय र व्यवसायीहरुसँगको छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सैं घण्टा खुलाउने तयारी रहेको बताए । उनले भने- ‘सरकारले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीमा छौं । व्यवसायीहरुले वस्तु तथा सेवामा दिउँसो र रातिको मूल्य फरक बनाउन पाइँदैन । यस्ता हरेक कुराहरुलाई व्यवसायीहरुले ख्याल गरेर जानुपर्ने हुन्छ । सुरक्षाको हिसावमा हामीले पहिलो जिम्मेवारी व्यवसाय सञ्चालकको हुनेछ । आन्तरिक सुरक्षा प्रणाली व्यवसायी आफैँले गर्नुपर्छ । दुवै क्षेत्रमा व्यवसाय व्यवस्थापन समिति बनाउने छौं । अहिले भइरहेका समितिले व्यवस्थापन गर्नसक्छ भने त्यसैलाई निरन्तरता दिन्छौं । अन्य सुरक्षाको लागि नेपाल प्रहरी र महानगर प्रहरीले हेरिरहेको छ । सबै २४ सै घण्टा खुला गरेपछि ग्राहक सेवाग्राही बढ्छन् । अपराध पनि बढ्छ भन्ने अनुमान गरिरहेका छौं । सुरक्षाको लागि थप परिचालन बढ्छ । त्यही अनुसारको एकीकृत सुरक्षा योजना बनाउँछौं । आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुनेगरी ध्वानी प्रदुषण गर्न पाइँदैन । व्यवसायी आफैँले अरुलाई असर नपर्ने गरी व्यवस्थापन गर्नुपर्छ । त्यसको लागि अन्य रेगुलेसन गर्नुपर्ने अवस्था नआओस् ।’ बैठकपछि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले लामो समयदेखि ठमेलमा २४ सै घण्टा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै आएको बताए । उनले उक्त मागलाई सुरक्षा परिषद् र जिल्ला प्रशासन कार्यालयले परिमार्जन गरी ठमेल र दरबार मार्गलाई सुरक्षित र व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने विषयमा छलफल भएको बताए । व्यवसायी र अन्य क्षेत्रले दिएका सुझावहरुको आधारमा आगामी तीन दिनभित्र टुङ्गो लगाउने विषयमा पनि छलफल भएको बताउँदै उनले अबको एक हप्ताभित्र पूर्णता पाउने विश्वास रहेको जानकारी गराए । दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले दरबार मार्गलाई २४ घण्टा खुला गर्न हरेक हिसावले उपयुक्त रहेको बताउँछन् । उनले ७० मिटरको क्षेत्रफलमा सबै संरचनाहरु तयारी अवस्थामा रहेकाले सरकारले तत्काल २४ सै घण्टा खुला गर्दा कुनै समस्या नपर्ने बताए ।
सोमबारको कारोबार साढे २ अर्बमा सीमित, सबैभन्दा बढी गोर्खाज फाइनान्सको
काठमाडौं । सोमबारको सेयर कारोबार करिब साढे २ अर्ब रुपैयाँमा सीमित भएको छ । दिनभरको कारोबारमा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । अघिल्लो कारोबार अर्थात गत बिहीबारको बजारमा ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बजारमा कूल ३०४ वटा स्क्रीप्सहरु कारोबारमा आएका थिए । त्यसमध्ये सबैभन्दा बढी गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । फाइनान्सको एकैदिन २८ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता ८७२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता १७ रुपैयाँले बढी हो । त्यस्तै, शिवम् सिमेन्ट सर्वाधिक कारोबार गर्नेको दोश्रो सूचीमा छ । जसको दिनभरमा १३ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अन्य कम्पनीहरुको भने १० करोडभन्दा कम रकमको सेयर कारोबार भएको छ । समग्रमा सोमबारको बजारमा दोहोरो अंकले घटेको छ । कारोबार खुलेदेखि निरन्तर घटेको बजार अन्त्यमा १७.०१ अंकले घटेर २०३१.५५ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.८३ प्रतिशतले कम हो । घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा बोटलर्स नेपाल (बालाजु) र सर्बोत्तम सिमेन्ट रहेका छन् । यी दुई कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेर प्रतिकित्ता क्रमशः १८ हजार २७६ र ८१३ रुपैयाँ पुगेको छ । यता टप लुजरको सूचीमा दुई कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले घटेको छ । जसमा किसान लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेका छन् । सोमबार होटल्स, उत्पादनमूलक, म्युचुअल फण्ड र ट्रेडिङ्ग समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।
टिभिएसको नयाँ बाइकमा समस्या, पीडित भन्छन्,-‘कम्पनीले फिर्ता लिओस्, म चड्दै चड्दिन’
काठमाडौं । प्रकाश श्रेष्ठ पेशाले बैंकर हुन् । बैंकिङ क्षेत्रमा काम गरेको उनले करिब एक दशक भयो । आफू बैंकिङ क्षेत्रमा काम गर्ने भएकाले उनले अन्य क्षेत्रमा पनि कर्मचारीहरूले बैंकिङ क्षेत्रको जस्तो व्यवहार गर्छन् भन्ने सोचेका छन् । उनले गत जनवरीमा टीभीएसको जमल सोरूमबाट मोटरसाइकल खरिद गरे । उनले २ लाख ६६ हजार ५ सय रुपैयाँमा टीभीएस राइडर १२५ मोडलको मोटरसाइकल खरिद गरेर घर फर्किए । अघिल्लो दिन मोटरसाइकल खरिद गरेर खुसी हुँदै घर फर्केका उनी अर्को दिन बिहानै निराश बन्नु पर्यो । खरिद गरेको दोस्रो दिनमा मोटरसाइकलमा समस्या देखियो । उनले बाइक स्टार्ट गर्न खोजे पनि स्टार्ट भएन । पटक–पटक प्रयास गर्दा बल्लतल्ल स्टार्ट भयो । उनले मनमनै सोचे, ‘चिसोको मौसम भएर ब्याट्री डाउन भएको होला ।’ तर, जमल सोरूमलाई बाइक स्टार्ट भएन भनेर जानकारी भने गराए । तेस्रो दिन पनि त्यस्तै समस्या देखियो । उनले केही दिन त बाइक तातेपछि सुधार होला भन्ने सोचे । अफिस जानु १० मिनेट अगाडि नै बाइक स्टार्ट गरेर खाना खान जान्थे । तर, पनि समस्या निरन्तर दोहोरियो । दैनिक समस्या आउन थालेपछि जमल सोरूममा गएर देखाउँदा कर्मचारीले उनलाई टेकु सर्भिस सेन्टर गएर देखाउन सुझाव दिए । सोही बमोजिम उनी टेुक सर्भिस सेन्टर पुगे । ‘मैले जनवरी फर्स्टमा जमल सोरूमबाट टीभीएसको राइडर बाइक किनेको हुँ, बाइक किनेको डे वानदेखि समस्या आयो, एक/डेढ सय किलोमिटर मात्रै कुदाएर कम्पनीलाई जानकारी गराउँदा सर्भिस सेन्टर जाउ भन्यो,’ उनले गुनासो गर्दै भने, ‘सामान्य समस्या होला भनेर सर्भिस सेन्टर गएँ, सर्भिस सेन्टरमा देखाउँदा केही भएको छैन, एकचोटी बन्द गरेर फेरी स्टार्ट गर्याे भने स्टार्ट हुन्छ भन्याे, यो समस्या सबैकोमा हुन्छ भनेर सहज उत्तर दिएर फर्काए ।’ उनका अनुसार तीन महिना नवित्दै उक्त बाइकलाई धेरै पटक सर्भिस सेन्टरमा देखाइसके । कम्पनीका धेरै व्यक्तिसँग कुरा गसिकेका छन् । उनी टेकु सर्भिस सेन्टरमा मात्रै ३/४ पटक धाइसके । बाइकमा समस्या आउँदा सानो भर्याङ सर्भिस सेन्टर पनि पुगे । तर, उनी बैंकर भएकाले सधैं सर्भिस सेन्टर धाउन सक्ने अवस्था थिएन । अफिसले पनि सधैं बिदा दिने अवस्था थिएन । ‘साढे ९ बजे अफिस आउनुपर्छ, केही दिन बिदा लिएर सर्भिस सेन्टर गएँ, इन्जिनियरले बाइक परीक्षण गरेपछि केही पनि समस्या छैन । तैपनि ब्याट्री फेरिदिन्छु भन्नुभयो, जबकी २ सय किलोमिटर पनि कुदेको थिएन,’ उनले भने, ‘२ लाख ६६ हजार रुपैयाँ नगदमा खरिद गरेको बाइकमा पहिलो दिन नै समस्या आउँदा पीडा भयो ।’ कम्पनीले ब्याट्रीमा समस्या हुन सक्ने आँकलन गर्दै ब्याट्री पनि फेर्यो । तर, समस्या पुरानै दोहोरियो । एकदिन त कम्पनीबाटै मान्छेहरू आएर बाइक लगेर गएको उनले सुनाए । तर, कम्पनीबाट फेरि कुनै समस्या छैन भन्ने कुरा आयो । उनले फेरि कम्पनीमा गएर ल्याए । तर, फेरि स्टार्ट नै नहुने समस्या देखियो । सामान्य समस्या होला भनेर एडजस्ट गरिरहेका बैंकर श्रेष्ठ बाइकको इन्जिनमा पछि समस्या आयो भनियो । ६/७ सय किलोमिटर मात्रै कुदेको बाइको इन्जिनमा समस्या देखियो भनेपछि उनी अचम्ममा परे । उनको बाइकबाट ट्रयाक्टरको जस्तै आवाज आउन थालेपछि कम्पनीले इन्जिन पनि फेरिदियो । जतिपटक समस्या आउँछ उनी कम्पनीलाई जानकारी गराउँछन् । तर, उनले फोन गर्दा कर्मचारीले पनि सहज रूपमा उत्तर नदिने, झर्किएर बोल्ने गरेको गुनासो उनको छ । ‘सोरुममा फोन गर्दा म व्यस्त छु, तपाईंको मात्रै काम होर भनेर फोन काट्नु हुन्छ, सोरुमको कर्मचारीले मलाई नराम्रो व्यवहार गरिन्, तपाईंलाई जे मन लाग्छ, त्यही गर्नुहोस् भन्ने जस्ता व्यवहार गर्नु भयो,’ श्रेष्ठले गुनासो गर्दै भने, ‘समस्यामा परेको ग्राहकको समस्या समाधान गर्नुको साँटो जे गर्न सक्छस् त्यही गर भन्ने अभिव्यक्ति दियो ।’ निरन्तर बाइकमा समस्या आएपछि उनले आफ्नो पैसा फिर्ताको माग गरेका छन् । ‘मलाई बाइक सर्भिसमा लिँदा लिँदै इरिटेड भइसकेँ, एउटा लेभलसम्म सहन सकिन्छ । तर, अब त्यो लेभल कटिसकेको छ । बाइक फिर्ता दिएर मेरो पैसा फिर्ता दिनुपर्छ,’ उनले भने । टीभीएस काठमाडौंका इन्चार्ज पुजन श्रेष्ठका अनुसार बाइकमा समस्या आएपछि कम्पनीले बनाइदिन सक्छ । बिक्री भइसकेको बाइक फिर्ता हुने अवस्था भने छैन । यस विषयमा आफूले कम्पनीको माथिल्लो तहमा जानकारी गराइसकेको जानकारी दिए । ‘उहाँको बाइकमा समस्या भएको सत्य हो, उहाँको पीडा मैले पनि महसुस गरेको छु, इन्जिनमा समस्या आउनु स्वाभाविक पनि हो । तर, उहाँले बाइक फिर्ता गर्नु पर्ने माग पूरा गर्न मेरो अथोरिटीमा छैन, उहाँले राख्नु भएको मागका लागि माथिल्लो तहमा जानकारी गरेको छु, माथिबाट जे निर्णय आउँछ मैले त्यही कार्यान्वयन गर्छु,’ उनले भने, ‘बाइक बिक्री गर्दा टम्स एण्ड कण्डिसन अनुसार वारेन्टी कार्ड दिइएको हुन्छ, त्यसमा बाइक फिर्ता गर्दैनौं । पार्टपुर्जाहरू फेरिदिने भनेर उल्लेख गरिएको हुन्छ ।’ सवारी साधनमा समस्या देखिएपछि यसअघि विद्युतीय सवारी निर्माता टेस्लाले बिक्री भइसकेको गाडी पनि फिर्ता लिएको थियो । टेस्लाको गाडीको ब्रेक, पार्क र एन्टीलक ब्रेक सिस्टम (एबीएस)को वार्निङ लाइट देखाउने इन्स्ट्रुमेन्टल प्यानलमा अक्षरको आकार सानो भएपछि कम्पनीले अमेरिकी ग्राहकबाट गाडी फिर्ता लगेको थियो । संसारमा यस्ता उदाहरण धेरै भएपनि नेपाली उपभाेक्ताले भने त्यस्ताे सुविधा पाएका छैनन् ।
जसपाका सांसद दीपक कार्की राज्यमन्त्रीमा नियुक्त, आजै शपथ
काठमाडौं । जसपाका सांसद दीपक कार्की राज्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रधानमन्त्रीको सिफारिसमा राज्यमन्त्री नियुक्त गरी वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । यससँगै नवनियुक्त राज्यमन्त्रीले आजै शपथ लिने योजना छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार कार्कीको शपथ ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा हुँदैछ । जसपाले यसअघि नै धनुषा १ बाट निर्वाचित कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
टिआरसी विधेयक अन्तिम चरणमा छ, छिट्टै संसदमा पेश गर्छौं : मन्त्री गिरी
पर्वत । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक अन्तिम चरणमा पुगेको बताएका छन् । महाशिला गाउँपालिकामा आज आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले सो विधेयक छिट्टै टुङ्गो लगाइने बताएका हुन् । उनले केही बुँदामा मात्र सहमति हुन बाँकी रहेको समेत जानकारी दिए । मन्त्री गिरीले भने, ‘विधेयकमा विभिन्न राजनीतिक दलका नेताहरुको बीचमा धेरै चरणमा छलफल भएको छ, संसद्का समितिहरुमा पनि चरणवद्ध छलफल भएको छ, अधिकांश बुँदामा सहमति भए पनि केही बुँदामा अझै छलफल गरेर टुङ्गोमा पुग्छौं ।’ खासगरी पीडितलाई न्याय दिलाउने गरी विधेयक ल्याउनुपर्ने दलहरु सहमत भएको उनले बताए । अन्तिम चरणमा रहेकाले विधेयक संसद्मा पेश गर्न लामो समय नलाग्ने उनले बताए । विधेयक पास भैसकेपछि कतैबाट बिरोधका स्वरहरु ननिस्कुन् भन्नेतर्फ सचेत हुँदै पूर्ण तयारी र सहमतिका साथ पारित गरिने समेत मन्त्री गिरीले बताए । त्यस अवसरमा उनले कानुनी साक्षरता गाउँ गाउँमा लैजानुपर्ने धारणा समेत राखे । कानुनको अज्ञानता क्षम्य नहुने भन्दै कानुनी अज्ञानताका कारण धेरैले दुःख पाएको उनको भनाइ छ । कतिपय कानुन संशोधन गर्न समेत जरुरी रहेको उल्लेख गर्दै गिरीले देश सङ्घीयतामा गए पनि अझै नयाँ कानुन बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे । उनले बदलिँदो परिवेश अनुसार कानुन बन्न नसक्दा राज्य सञ्चालनमा समस्या परिरहेको बताए । सदनमा पेस भएका कतिपय विधेयक राजनीतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकिरहेको भन्दै गिरीले देशमा स्थिर सरकारको आवश्यकता रहेको बताए । मन्त्री गिरीले सङ्घीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरु छिट्टै जारी हुने विश्वास दिलाए । उनले प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने धारणा राखे । मन्त्री गिरी आइतबारदेखि दक्षिण पर्वतको पैँयू, विहादी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा भेटघाट तथा जनसंवादमा सरिक भएका छन् । रासस
सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले एआइआइबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताए । ‘नेपाललाई अझै पनि ऋणमा अझै सहुलियत आवश्यक छ, तर एआइआइबीसँग यस्तो व्यवस्था छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बजार दरको मूल्यले बैंकको वित्तमा नेपालको पहुँचलाई सीमित गरेको छ, तपाईहरू नीति निर्माता भएका नाताले यसमा पुनःविचार गर्न आग्रह गर्दछु ।’ सरकार उच्च आर्थिक बृद्धिमार्फत सुशासन र संस्थागत विकास, सामाजिक न्याय तथा समृद्धि केन्द्रित भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस प्रक्रियामा वित्तीय व्यवस्थापन, प्राविधिक सहायता, ज्ञानको साझेदारी र नीति पुँजी परिचालनमा बैंकको सहयोगको अपेक्षा गरेको उल्लेख गरे । नेपालमा हाल एआइआइबीकाको लगानीमा ऊर्जा क्षेत्रका केही परियोजनामा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जलविद्युत्, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानी गर्न आग्रह गरे । ‘भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने र बङ्गलादेशमा समेत विद्युत् निर्यात गर्ने गर्ने ऐतिहासिक सम्झौताहरू भएका छन्, यसले नेपालको ऊर्जा व्यापारमा मार्गप्रशस्त गरेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘ऊर्जा क्षेत्रमा लगानीका लागि राम्रो सम्झावना छ, हामीले आगामी महिना लगानी सम्मेलन गर्दैछौँ, त्यसमा एआइआइबीले उच्च तहमा प्रतिनिधित्व गर्दै नेपालका प्राथमिकताका क्षेत्रमा लगानीका लागि अनुकूल वातावरण निर्माणमा सहयोग गर्ने मैले विश्वास लिएको छु ।’ नेपालमा निजी तथा वैदेशिक लगानी प्रवर्द्धनका लागि नीतिगत परिमार्जन गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ढुक्क भएर नेपालमा लगानी गर्न आह्वान गरे । उनले भने, ‘लगानीका लागि अब नेपालमा नयाँ हुन्छ, ढुक्क भएर लगानी गर्नुहोस् ।’ भेटमा एआइआइबीका निर्देशक आरएमपी रथनायकेको नेतृत्वमा निर्देशकहरू, उपाध्यक्ष एवं उच्च अधिकारीको सहभागीता रहेको थियो । सो अवसरमा प्रतिनिधिमण्डलका प्रमुख श्रीलङ्काका आरएमपी रथनायकेले नेपाल संस्थापक सदस्यको रुपमा बैंकले नेपाललाई प्राथमिकता राखेको र यहाँको विकासमा लगानी गर्न बैंक सकारात्मक रहेको बताए ।
होलीमा पक्राउ परेका २७७ जनामध्ये १०५ जना छुटे
काठमाडौं । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो । गएराति छाडिएकामा एक सय दुई पुरुष र तीन जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । ‘फागुपूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरु नियन्त्रणमा लिएका थियौँ, उनीहरुको अवस्था हेरेर एक सय पाँच जनालाई गएराति उनीहरुको परिवारको जिम्मा लगाइएको छ । राति थप केही पक्राउ परेका छन्, उनीहरु सबैको हकमा छानबिन भइरहेको छ’ उनले भने । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई पाङ्ग्रे सवारी तीन सय वटा र चारपाङ्ग्रे सात वटा सवारी साधनलाई नियन्त्रणमा लिइ ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ । लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाएको अभियोगमा उनीहरुलाई सवारी साधन नियन्त्रणमा लिइएको हो । फागुपूर्णिमा अर्थात होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले हिजो आइतबार उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागू गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको थियो । रासस