१५ करोड लगानीमा कृषि पेसामा रमाउँदै धर्मराज, ६५ जनालाई रोजगारी
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कका धर्मराज पोखरेलले विसं २०७८ मा ‘विजय अग्र्यानिक भिजेल कम्पनी प्रालि’ मार्फत आफ्नै गाउँमा कृषि फार्म सुरु गरेका थिए । बूढानीलकण्ठ नगरपालिका-८ काठमाडौंमा परिवारसहित बसोबास गर्दै आएका उनले आफ्नो जन्मथलो विजयखर्कका फरक-फरक १३ ठाउँ तथा बुइपा र राजापानीमासमेत बङ्गुर, बाख्रा, गाई-भैँसी, कुखुरा, माछा, फलफूल र तरकारीखेती लगाएका छन्। विजयर्खस्थित उनले आफ्नै जग्गामा १३ बङ्गुर फार्म सञ्चालन गरेका छन् । राजापानीमा दुईवटा बाख्रा फार्म छन् । बङ्गुर र बाख्राको मल प्रयोगका लागि फार्म आसपासमा फलफूल र तरकारीखेती लगाइएको छ । जस्ताले छाइएको सिमेन्टेड फार्मभित्र बँदेल पनि पालिएको छ । भूगोल, हावापानीअनुसार माटो परीक्षण गरेर व्यावसायिक कृषि फार्म सञ्चालन गरिएको उनले जानकारी दिए । विजयखर्कको रामबाडीस्थित दुईवटा बङ्गुर फार्ममा ५० का हाराहारीमा बङ्गुर र बँदेल छन् । वरपर कागती, लिची, कटहर, केरा, माछापोखरी, तरकारीखेती लगाइएको छ । विजयखर्ककै भैरमपुरबेँसीमा पाँच बङ्गुर फार्म छन् । जहाँ करिब दुई सय हाराहारीमा बङ्गुर र बँदेल छन् । त्यही सातवटा पोखरीमा माछापालन गरिएको छ । एउटा कुखुरा फार्ममा करिब पाँच सयको हाराहारीमा कुखुरा छन् । आसपासमा अनार, अङ्गुर, आँप, लिची, कटहर, सुन्तला, कागती, एभोकाडो, चेरीमैया, जापानिज कटुस, केरा, अम्बा, रुद्राक्षलगायतको व्यावसायिक खेती लगाइएको छ । बुइपाको स्वाराटोलमा चारवटा बङ्गुर फार्म छन् । जहाँ करिब दुई सयको हाराहारीमा बङ्गुर छन् । सँगै अम्बा, अमला, कागती, सुन्तला, एभोकाडो लगाइएको छ । बुइपाकै तमरुङमा एउटा बङ्गुर फार्म राखिएको छ । सो फार्ममा ५० वटाको हाराहारीमा बङ्गुर छन् । सँगै सिताके च्याउ, किबी, अनार, कागती, सुन्तला, स्याउ, अङ्गुर, कुरिलो र तरकारीखेती लगाइएको छ । बुइपाकै दम्कुमा भैँसीगोठ, सुँगुर खोर, कुखुरा फार्मसँगै कागती, सुन्तला, लिचीलगायतको खेती लगाइएको छ । हरेक ठाउँमा सञ्चालित फार्मबाट उत्पादनसमेत दिन थालेको पाइएको छ । यस्तै राजापानीको खाम्तेलडाँडामा एउटा बङ्गुर फार्ममा ६० बङ्गुर छन् । बङ्गुरसँगै गाई र भैँसीपालन गरिएको व्यवसायी पोखरेल बताउँछन् । राजापानीकै तल्लोबडकामा दुईवटा बाख्रा फार्ममा करिब चार सयको हाराहारीमा बाख्रापालन गरिएको छ । पाँचवटा गाईपालन गरिएको छ । गाई बाख्राका लागि डाले र भुइँघाँस लगाइएको छ । फार्म आसपासमा कागती, सुन्तला, लिची, तरकारीखेती लगाइएको छ । हरेक ठाउँका फार्ममा एक-एक परिवारलाई पारिश्रमिकसहित सेयर सदस्यका रूपमा राखिएको छ । सेयर सदस्यका रूपमा राखिएका नौ घरपरिवारका ६५ जनाले फार्मको हेरचाह गर्ने गरेका छन् । फार्ममा तयार भएका बङ्गुरको मासु बिक्री वितरणका लागि उनले बुइपाको पञ्चदोबाटोमा खानेबस्ने व्यवस्थासहितको होटल र कोल्डस्टोरसहितको मासु कटिङ सेन्टर खोलेका छन् । फार्ममा पाल्नका लागि धरान र चितवनबाट बँदेलको पाठा ल्याइएको हो । प्रतिकेजी एक हजार दुई सयका दरले फार्मबाटै ५६ बँदेल बिक्री भइसकेको उनी बताउँछन् । राजनीतिमा समेत सक्रिय रहेका पोखरेलले काठमाडौँमा विजय इन्जिनियरिङ कन्सल्ट्यान्सी सञ्चालन गर्दै आएका छन् । बहुउद्देश्यीय तरिकाले स्थापना गरिएको कृषि फार्मका लागि संरचना निर्माण तथा सञ्चालनमा अहिलेसम्म एकोहोरो लगानीमात्र भइरहेको पोखरेलले बताए । ‘कृषिमा वास्तविक किसानले अनुदान पाउँदैनन् । अहिले व्यक्तिगतरूपमा लगानीमात्र भइरहेको छ । आम्दानी सुरु भएको छैन । अहिलेसम्म १५ करोडभन्दा बढी लगानी गरिसकेको छ’, उनले भने, ‘जिम्मेवार निकायमा बसेकाहरू कृषिमा सम्भावना छ भनेर गफमात्रै गर्ने गरेका छन् । मैलेचाहिँ आफैँ गरेर देखाऔँ भन्ने हो । फार्मले आम्दानीसमेत दिन थालेको छ । मेरो कृषि फार्म देखेर यहाँका धेरैजना स्थानीय बासिन्दाले आ-आफ्नो क्षेत्रमा व्यावसायिक खेती सुरु गरेका छन् । कृषि पेसालाई व्यावसायिक तथा आधुनिक तरिकाले अपनाउन अभियानसमेत चलाइरहेको छु ।’ फार्ममा उत्पादित अधिकांश कृषि उपज तथा पशुपक्षी काठमाडौं निर्यात हुने गरेको जनाइएको छ । केही समयपछि काठमाडौंको विभिन्न ठाउँमा आफ्नै बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरिएको पोखरेलले जानकारी दिए । कृषि पेसामा ठूलो धनराशि लगानी गरेका उनले विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस प्रदेश समितिबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुखको टिकट पाए पनि अन्तिममा उनले आफ्नो उम्मेदवारी फिर्ता लिएर तीर्थराज भट्टराईलाई सघाए । प्रदेशसभा निर्वाचनमा पनि पोखरेलले खोटाङ प्रदेशसभा (क)मा वाम-लोकतान्त्रिक गठबन्धनको उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका थिए । निर्वाचन परिणामअनुसार गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी)का वीरबलकाजी राई पराजित भए भने, नेकपा एमालेका पाँचकर्ण राई विजयी भए । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेएका पोखरेललाई केन्द्रीय अनुशासन समितिले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेपछि अहिले आफ्नै गाउँमा आएर कृषि कर्ममा रमिरहेका छन् । रासस
पुँजी पुर्याउन ४२ प्रतिशत हकप्रद जारी गर्दै एशियन लाइफ इन्स्योरेन्स
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले चुक्ता पुँजी ५ अर्ब पुर्याउन लाभांश पश्चात ४२ प्रतिशत अर्थात एक बराबर ०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । माघ १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि अर्थात माघ १२ गते मात्रै बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनससहित ८.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त ७.७५ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ कायम हुन्छ । उक्त पुँजीको ४२ प्रतिशत हकप्रद सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८१ करोड रुपैयाँ नाघ्ने छ ।
पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचना हटाइने
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ । कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौं महानगरको प्राविधिक टोली जग्गाको सिमाङ्कनसहित खोजी कार्यमा जुटेको हो । कोषका प्रवक्ता रेवतीरवण अधिकारीले भने, ‘शुक्रबारदेखि महानगरको प्राविधिक टोलीको सहयोगमा हामीले जग्गा हडपेर बनाएका व्यक्तिगत घर तथा संरचनाको सीमाङ्कनसहित खोजी कार्य सुरु गरेका छौँ । एकरदुई दिनमा सीमाङ्कन र जग्गा खोजी काम सकेर त्यस्ता संरचनालाई भत्काइने छ ।’ कामपा–८ गाँचा पोखरीमा तीन रोपनी छ आना एक पैसा, वडा नं ३ भगवानस्थानमा तीन रोपनी आठ आना जग्गा र सिफलस्थित लामा पोखरीमा अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएको प्रवक्ता अधिकारीले जानकारी दिए । कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिक्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचना खाली गराउन विकास कोषसहित महानगरलाई निर्देशन दिएका छन् । रासस
क्यामरुनले इन्धनको मूल्य बढायो
काठमाडौं । क्यामरुन सरकारले इन्धनको मूल्य बढाएको छ । शनिबारदेखि लागू हुने गरेर सरकारले इन्धनको मूल्य बढाएको हो । प्रधानमन्त्री कार्यालयका महासचिव सेराफिन म्याग्लोइर फौडाले यसबारेमा जानकारी दिएका हुन् । प्रतिलिटर १.२१ अमेरिकी डलरबाट १.३९ अमेरिकी डलर सम्मको मूल्य बढाएको हो । राज्यले सामना गरिरहेको बढ्दो बजेटको अवरोधलाई आत्मसाथ गर्न र देशको बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा दबाब हुन नदिन मूल्यवृद्धि गरिएको बताए । मूल्यवृद्धिसँगै निजामती कर्मचारीको आधारभूत तलब ५ प्रतिशतले बढाइने र सडक यातायात क्षेत्रमा लाग्ने ‘निश्चित’ कर तथा भन्सार महसुल घटाइने अधिकारीहरूले बताएका छन् ।
निजी सवारीको आयु २५ वर्ष, सवारीधनीको माग बमोजिम रुट परमिट
गण्डकी । यातायात क्षेत्रमा जकडिएर रहेका समस्याको हल दिन गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली-२०८० लाई यातायात क्षेत्र सुधारमा नीतिगत फड्कोका रुपमा अर्थ्याइएको छ । गत पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको उक्त नियमावली गत बिहीबार प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । एक सय तीन वटा नियम र १३ परिच्छेद रहेको सो नियमावलीमा ३२ अनुसूची रहेको मन्त्रालयका कानुन अधिकृत जीतबहादुर बस्यालले जानकारी दिए । प्रदेश सरकारले सार्वजनिक यातायात सञ्चालन र यातायात क्षेत्रको सेवा प्रवाहसम्बन्धी आफ्नै नियम बनाएको उनको भनाइ छ । सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐन २०४९, नियमावली २०५४ र सङ्घबाट विभिन्न समयमा प्राप्त निर्देशन, परिपत्रलगायतलाई आधार मानेर नियमावली तयार पारिएको अधिकृत बस्यालले बताए । नियमावली बनेसँगै विसं २०७६ मा जारी भएको गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयनमा आएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सार्वजनिक यातायात सेवालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन नियमावली महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे । ‘राजस्वको स्रोत बढाउन, सेवा प्रवाहलाई चुस्त, छिटोछरितो र सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन नियमावली सहयोगी बन्नेमा प्रदेश सरकार र मन्त्रालय विश्वस्त छ’, उनले भने, ‘यो नियमावली गण्डकी प्रदेशको यातायात क्षेत्र सुधारका लागि कोशेढुङ्गा सावित हुनेछ ।’ मार्ग इजाजत प्रदेशभर सार्वजनिक सवारीलाई सम्बन्धित सवारी धनी वा व्यवसायी कम्पनीको माग बमोजिम प्रदेशभित्रको मार्ग इजाजत (रुट परमिट) दिइने नियमावलीमा व्यवस्था गरिएको छ । विसं २०७४ यता गण्डकी प्रदेशमा सञ्चालन हुने जिप र ट्याक्सीलाई दुई जिल्लाको मात्र स्थायी मार्ग इजाजत दिइएको थियो । नियमावलीले गरेको व्यवस्था अनुसार अब प्रदेशभर, बहुजिल्ला, एक जिल्ला, निश्चित स्थानीय तह वा क्षेत्र तोकी मार्ग इजाजतपत्र जारी गर्न लागिएको हो । यातायात व्यवसायीलाई एकै ठाउँमा मात्र केन्द्रित हुन नदिन मापदण्ड बनाइने मन्त्रालयले जनाएको छ । नियमावलीमा रहेको सो व्यवस्थाले बागलुङस्थित यातायात व्यवस्था कार्यालयको सेवा लिनसमेत पटके काटेर जानुपर्ने म्याग्दीका ट्याक्सी चालकको बाध्यता पनि हट्ने भएको हो । ट्याक्सीलाई दुई जिल्ला मात्र चल्ने अनुमतिका कारण छिमेकी जिल्लाको सडक प्रयोग गर्दा पनि पटकैपिच्छे अस्थायी मार्ग इजाजत (रुट परमिट) लिनुपर्ने बाध्यता थियो । प्रदेश राजधानी पोखरा गुड्ने म्याग्दीका अधिकांश ट्याक्सीको स्थायी रुट इजाजत हाललाई पर्वतसम्म मात्र छ । म्याग्दी, गोरखा, बागलुङलगायत जिल्लाका ट्याक्सी व्यवसायीले दुई जिल्लामा मार्ग स्थायी इजाजत दिने व्यवस्था हटाइ प्रदेशभरलाई इजाजत खुला गर्न माग गर्दै आएका थिए । म्याग्दीको बेनी यातायात प्रालिका अध्यक्ष कुमार थापाले सार्वजनिक सवारीसाधनको मार्ग इजाजतका सम्बन्धमा नियम खुकुलो पार्न लागिएका खुसी व्यक्त गरे । ‘ट्याक्सी व्यवसायीले पटकपटक उठाउँदै आएको माग हो यो, दुई जिल्ले रुट परमिटका कारण प्रदेश राजधानी पोखरा जानका लागि पनि पटके काट्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘प्रदेश सरकारले ल्याएको नियमावली कार्यान्वयनमा सबै पक्ष गम्भीर र जिम्मेवार भएर लाग्नुपर्छ, यातायात क्षेत्रको सुधार र व्यवस्थापनमा व्यवसायी पनि सहयोगी बन्न चाहान्छौँ ।’ म्याग्दी सदरमुकाम बेनीदेखि पोखरासम्म चल्न पाउने गरी ट्याक्सी दर्ता गरेपनि मार्ग इजाजतलाई दुई जिल्लामा सीमित बनाउने नीतिका कारण ट्याक्सी चालककले अनावश्यक झण्झट बेहार्दै आएका थिए । म्याग्दीदेखि पोखरा चल्ने अधिकांश ट्याक्सीले आकस्मिक बिरामी र पर्यटकलाई सेवा पुर्याउँदै आएका छन् । बिदाका दिन र कार्यालय बाहेकको समयमा अस्थायी मार्ग इजाजतपत्र दिने कर्मचारी नहुुने, यात्रुु बोकेर कर्मचारी खोज्न र कार्यालय जाँदा ढिला भएर यात्रु समयमा गन्तब्यमा पुर्याउन नसक्ने जस्ता समस्या ट्याक्सी चालकले भोग्दै आएका थिए । सवारी धनी र व्यवसायी कम्पनीको माग बमोजिम अब मार्ग इजाजत दिइने भएपछि उक्त समस्या सँधैका लागि अन्त्य हुने भएको हो । मुख्य गरी पोखरा पुग्न अर्को जिल्लाको सडक प्रयोग गर्ने गोरखा, लमजुुङ, मुुस्ताङ, म्याग्दी, नवलपुर, मनाङ र बागलुुङ जिल्लाका ट्याक्सी व्यवसायीले दुई जिल्लामा मात्र स्थायी मार्ग इजाजत दिने व्यवस्था हटाउनुपर्ने माग गर्दै आएका थिए । निजी सवारीसाधनको आयु २५ वर्ष नियमावलीमा नेपालमै पहिलोपटक निजी सवारीसाधनको पनि २५ वर्ष आयु तोकिएको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताए । उनका अनुसार नेपालमा हालसम्म निजी सवारीसाधनको आयु तोकिएको थिएन । सार्वजनिक सवारी साधनको २० वर्षमै पत्रु कायम गरेर लगत कट्टा गर्नुपर्ने व्यवस्था राख्ने तर निजी सवारीसाधन जति वर्ष पनि चलाउन पाउने व्यवस्था असमान पनि देखिएकाले नेपालमै पहिलोपटक निजी सवारीसाधनको आयु तोकिएको मन्त्रालयले जनाएको छ । विद्युतीय सार्वजनिक सवारीसाधनको भने तीस वर्षमा पत्रु कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक तथा अन्य सवारीसाधनलाई विद्युत्मैत्री सवारीसाधनमा रुपान्तरण गर्न मन्त्रालयले आवश्यक मापदण्ड बनाइ जारी गर्न सक्ने नियमावलीमा उल्लेख छ । पत्रु कायम हुने ट्याक्सीको लगतकट्टा गरेर अर्को दर्ता गर्दा अनिवार्य रुपमा विद्युतीय हुनुपर्ने गरी मापदण्ड बनाउने तयारी मन्त्रालयले गरेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीसाधनको २० वर्षमा पत्रु कायम हुने र अनिवार्य लगत कट्टा गर्नुपर्ने व्यवस्था सङ्घीय ऐनमा छ । गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनको हकमा २५ वर्षमा अनिवार्य लगतकट्टा गरेपछि मात्रै अर्को दर्ता हुने र बाहिर दर्ता भएकाको हकमा २५ वर्ष पुगेका सवारीसाधनलाई चल्न नदिने नीति अपनाइने प्रवक्ता पौडेलले बताए । ‘राइड सेयरिङ’लाई वैधानिकता निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनले ‘राइड सेयरिङ’ एपमार्फत दिने यातायात सेवालाई नियमन गर्ने र वैधानिक बनाउन कानुनी बाटो नियमावलीले खुलाएको छ । नियमावलीको दफा १३ मा उल्लेख भएको निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङग्रे तथा दुईपाङग्रे सवारीसाधनले आवश्यक प्रक्रिया पूरा गरी तोकिएका भाडामा यात्रु बीमा गरेर यात्रु बोक्न पाउने व्यवस्था कार्यान्वयनका लागि मापदण्ड बनाउने तयारी गरिएको प्रवत्ता पौडेलले बताए । मोबाइल एपको प्रयोगमार्फत यातायात सेवा लिन सकिने ‘राइड सेयरिङ’ यात्रुमाझ लोकप्रिय बन्दै गएपनि नियमन गर्न र वैधानिक बनाउन कानुनको अभाव थियो । नेपालमा पठाओ, टुटल, इनड्राइभ, सहारा, सजिलो, ट्याक्सीमान्डू, क्याब ट्याक्सीलगायत ‘राइड सेयरिङ’ एप सञ्चालनमा छन् । सार्वजनिक सवारीसाधन दर्ताका लागि कम्पनी अनिवार्य नहुने गण्डकीमा कम्पनीमा नगइ पनि व्यक्तिले सार्वजनिक सवारीसाधन चलाउन पाउने भएका छन् । यातायात व्यवसायीले समितिको नाममा एकाधिकार जमाएको भन्दै सरकारले त्यही ऐनको दफालाई टेकेर कम्पनीमा जाने व्यवस्था गरेको थियो । समितिहरुले हाल कम्पनीमार्फत चक्रीय प्रणाली ९आलोपालो० कायमै राखेका छन् । व्यक्तिले मार्गको इजाजत लिन कम्पनीकै सिफारिस लिनुपर्ने व्यवस्थालाई नियमावलीबाट हटाइएको छ । कम्पनीमा जानैपर्ने व्यवस्थाका कारण चर्को मूल्य लिएर ‘रुट’ बिक्री र सिफारिस गर्ने गुनासो यातायात व्यवसायीहरुले गरेका थिए । “सवारी धनीले सार्वजनिक सवारी सञ्चालन गर्न कम्पनीमा आबद्ध नभइकन यातायात कार्यालयमा सवारीसाधन पञ्जिकृत गरी आएमा माग बमोजिमको मार्ग इजाजत जारी गर्न सकिनेछू, नियमावलीमा उल्लेख गरिएको छ । व्यक्तिले स्वतन्त्र रुपमा एक/दुई वटा सावारीसाधन किनेर सार्वजनिक यातायातका रुपमा सञ्चालन गर्न पाउने भएका हुन् । नवीकरणका क्रममा अनिवार्य राजस्व यातायात कार्यालयमा एकै आर्थिक वर्षमा कर तिर्न र नवीकरण गर्न दुई पटक धाउनुपर्ने व्यवस्थाका कारण सेवाग्राहीलाई भएको सास्ती नियमावलीले हटाएको छ । नवीकरण र राजश्व तिर्न दुई पटक आउने सेवाग्राहीलाई भएको झञ्झट र कार्यालयको भिड हटाउन सवारीसाधन नवीकरण गर्दा नै अनिवार्य रुपमा त्यो वर्षको राजश्व तिर्नुपर्ने व्यवस्था ल्याइएको छ । सवारीसाधनको नामसारी गर्दा अनिवार्य रुपमा नागरिकता नै चाहिने व्यवस्था भएकामा नियमावलीले अब राज्यका निकायबाट जारी भएका अन्य परिचयपत्रबाट पनि नामसारी हुने सुविधा दिइएको छ । सार्वजनिक सवारीसाधनको जाँचपास प्रमाणपत्र दिँदा अन्य प्राविधिक परीक्षणका अतिरिक्त अनिवार्य रुपमा प्रदुषण चेकजाँच पनि गर्नुपर्ने व्यवस्था गरिएको छ । सेवा प्रवाहमा विद्युतीय माध्यमको प्रयोग सङ्घीय सरकारको सरकारी कार्यालय तथा यातायात क्षेत्रका अभिलेखलाई विद्युतीय माध्यममा लैजाने नीतिअनुसार गण्डकी प्रदेशको यातायात कार्यालयका सेवालाई छिटो छरितो बनाउन विद्युतीय माध्यमको प्रयोग गर्न नियमावलीमा आवश्यक नीतिगत व्यवस्था गरिएको छ । यातायात कार्यालयमार्फत कागजातका आधारमा प्रवाह हुने सबै सेवाहरु क्रमशः कागजविहीन सेवाका रुपमा रुपान्तरण गर्दै डिजिटल प्रणालीमार्फत सेवा प्रवाह गर्ने नियमावलीमा उल्लेख गरिएको छ । मिटरमा नचल्ने ट्याक्सीको जरिवाना बढाइयो मिटर प्रणालीमा नचल्ने ट्याक्सीले तिर्नुपर्ने जरिवानालाई रु दुई हजारबाट बढाएर रु १० हजार पुर्याइएकामा ६ महिना निलम्बनसम्म गर्न सक्ने व्यवस्था नियमावलीले गरेको प्रवक्ता पौडेलले बताए । हालसम्म मिटरमा चल्न नमान्ने ट्याक्सीलाई रु दुई हजार एक सयका दरले जरिवाना तिराउने गरिएको थियो । अबदेखि जरिवानाको न्यूनतम दर रु १० हजार पुर्याउने र छ महिनासम्म मार्ग इजाजत रद्ध गर्ने नियम बनाइएको हो । पोखराका यातायात व्यवसायीसँग भएको छलफलपछि मन्त्रालयले गत गत भदौ १ गतेदेखि ट्याक्सी मिटर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको थियो । ट्याक्सी व्यवसायीले मिटरमा उठे बराबरको भाडा लिएर यात्रु बोक्ने पटक–पटकको प्रतिबद्धता कार्यान्वयन नगरेपछि मन्त्रालयले नियम थप कसिलो बनाएको हो । हाल पोखरामा दुई हजार पाँच सयसहित गण्डकी प्रदेशभर करिब तीन हजार पाँच सय ट्याक्सी सञ्चालनमा छन् । रासस
फेसबुकको सेयर मूल्यमा उछाल, एकैदिन झन्डै २ खर्ब डलरले बढ्यो
एजेन्सी। शुक्रबार फेसबुकको मुख्य कम्पनी मेटाको सेयर बजार मूल्यमा उछाल आएकाे छ । शुक्रबार एकैदिन मेटाको सेयर बजार मूल्यमा १९६ अर्ब डलर अर्थात् २०.३ प्रतिशतले वृद्धि भएको हाे । यो सेयर उछालसँगै मेटा कम्पनीको बजारमूल्य बढेर १२ खर्ब २० अर्ब अमेरिकी डलर पुगेको छ । यो अमेरिकी सेयर बजारको इतिहासमा कुनै पनि कम्पनीले गरेको सबैभन्दा ठूलो एकदिवसीय नाफा हो । योसँगै मेटा विश्वकै सातौं मूल्यवान कम्पनी बन्न पुगेको छ । मेटाका संस्थापक मार्क जुकरबर्ग अर्नल्ट, मस्क र बेजोसपछि विश्वकै धनाढ्यहरूको चौथो स्थानमा उक्लिएका छन् । शुक्रबार कारोबारका क्रममा प्रतिसेयर ४८५ डलरसम्म पुगेको मेटाको सेयर बजार बन्द हुँदा ४७४ अमेरिकी डलर रहेको थियो । ३१ अगस्ट २०२१ मा १० खर्ब रहेको मेटाको बजार मूल्य कोभिड–१९ र आर्थिक मन्दीका कारण सुस्ताएको अनलाइन बजारका कारण ओरालो लागेको थियो । वर्ष २०२२ को अन्त्यसम्ममा झन्डै एक चौथाइमा झरेको थियो । त्यतिबेला मेटाको सेयर मूल्य प्रतिकित्ता ९० डलरमा पनि कारोबार भएको थियो । आइतबारमात्रै फेसबुक स्थापनाको झन्डै २० वर्ष पुगेको छ । कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स उत्पादनहरूमा बढ्दो सफल प्रयोग, एक्सलगायत प्रतिस्पर्धी कम्पनीहरूको विज्ञापन बजारमा थपिँदो समस्यालगायतका कारण मेटाको सफलता बढेको अनुमान गरिएको छ । वर्ष २०२२ मा झन्डै ६५ प्रतिशतले बजार मूल्यको मेटाले वर्ष २०२३ भरिमा आफ्नो मूल्य झन्डै १८५ प्रतिशतले बढाउन सफल भएको छ ।
सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार
नवलपरासी । बर्दघाट नगरपालिका-४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ । सुस्ता गाउँपालिका-१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकै हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । गोली लागेर घाइते भएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ । उनको पाखुरामा गोली लागेको छ । गोली प्रहार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घाइते विश्वकर्माको लु७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा फेला परेको छ । रासस
होटलमा बोलाएर प्रहरी जवानले श्रीमती र छोराको गरे हत्या
घोराही । दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाइ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए । नेपालगञ्जबाट श्रीमती आएकी छिन् भनी शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा बास बसेका थिए । आज बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीमती र छोराको हत्यापछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मल्लले बताए । नेपालीको घर रुन्टिगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो । मल्लका अनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । उनले प्रहरीमा जागिर खाएको १० वर्ष भइसकेको मल्लले बताए । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस