विकासन्युज

नेपालमा क्यान्सरको अवस्था र चुनौती

नेपालमा नसर्ने रोगहरूको प्रकोप बढ्दो छ । नेपालमा हुने सबै मृत्युहरूमध्ये झण्डै दुईतिहाइ मृत्यु यिनै नसर्ने रोगबाट हुने गरेको छ । नसर्ने रोगमध्येको एक महत्त्वपूर्ण रोग क्यान्सर पनि हो । नेपाललगायत अन्य विकासोन्मुख देशमा सर्नेभन्दा नसर्ने रोगको प्रकोप धेरै छ । नसर्ने रोग भन्नाले क्यान्सर, मुटुरोग, मिर्गौलाको रोग, डायबिटिज, श्वासप्रश्वासको रोग, अल्जाइमर आदि पर्दछन् । मानव जीवनमा हुने नसर्ने रोगहरूमध्ये क्यान्सर रोग जुनसुकै उमेर, लिङ्ग, जाति, वर्गलाई पनि हुनसक्छ । क्यान्सर कदापि सरुवा रोग होइन । यो एउटा निको हुने रोग हो । प्रायः क्यान्सर सुरु–सुरुको अवस्थामा पहिचान गर्न सक्यो भने नेपालमा नै निको पार्न सकिन्छ । नेपालमा पहिले सरुवा रोग र कुपोषणको समस्या बढी थियो भने वर्तमानमा क्यान्सरलगायत नसर्ने रोगहरू बढ्दै गएका छन् । क्यान्सर सरुवा रोग नभए पनि यसको प्रकोप बढ्दो छ । क्यान्सर भनेको हाम्रो जीवनशैली खानपिनमा भरपर्ने रोग हो । सबै क्यान्सर वंशानुगत हुँदैनन् । कुनै–कुनै मात्र वंशानुगत हुन्छन् । जस्तै महिलामा लाग्ने स्तन क्यान्सर, डिम्वाशयको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर ५–१० प्रतिशत वंशानुगत हुन्छन् । प्रायः सबैलाई थाहा छ, सुर्तीजन्य पदार्थको सेवनले हामीलाई क्यान्सर गर्दछ । तर धेरैलाई थाहा छैन कि, मानव शरीरमा लाग्ने हरेक अङ्गको क्यान्सरको पहिलो कारकतत्व भनेको सुर्तीजन्य पदार्थ नै हो । सुर्तीजन्य पदार्थ भन्नाले चुरोट, बिँडी, हुक्का, पाइप, चिलिम, गुटखा, खैनी, पानपराग आदि पर्दछन् । नेपालमा बर्सेनि ३० हजार क्यान्सरका नयाँ बिरामी थपिन्छन् । करिब २० हजारको क्यान्सरकै कारण ज्यान जान्छ । धूमपानबाट हुने विशेषगरी फोक्सो, नाक, कान, घाँटी, मुख तथा पिसाब थैलीको क्यान्सर मुख्य छन् । यसका साथै सङ्क्रमणले हुने क्यान्सर जस्तै– पेट, पित्तथैली, कलेजो र पाठेघरको मुखको क्यान्सर हुन्छ । अस्वस्थकर खानपिन, निष्क्रिय जीवनशैली, मोटोपन र शारीरिक व्यायामको कमीलगायत कारणले प्रोस्टेट, आन्द्रा, स्तन, प्याङ्क्रियाजलगायतका अङ्गमा पनि क्यान्सर फैलिँदै गएको छ । नेपालमा हाल करिब ७५ लाख व्यक्ति प्रत्यक्षरूपमा पान, बिँडी, खैनी, सुर्ती, पराग, हुक्का सेवन गर्दछन् । यही अवस्था रहेमा त्यसको असरबाट प्रभावित भई क्यान्सरका रोगीहरूको सङ्ख्या पनि बढ्ने देखिन्छ । नेपालमा क्यान्सर रोगीहरूको तथा यसबाट मुत्यु हुनेहरूको तथ्याङ्कहरू प्राप्त छैन, तर पनि प्रतिलाख जनसङ्ख्यामा प्रतिवर्ष एक सयजना क्यान्सर रोगी थप्ने अनुमान गरिएको पाइन्छ । सो अनुमानअनुसार हाल नेपालको जनसङ्ख्याको अनुपातमा वार्र्षिक २५–३० हजार क्यान्सर रोगीहरू थपिने हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको तथ्याङ्कले क्यान्सर रोगीहरूको सङ्ख्यामा दिनहुँ वृद्धि भइरहेको औँल्याएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज बर्सेनि ३६ हजार व्यक्ति क्यान्सर रोगबाट पीडित हुँदै आएका छन् । साथै नेपालकोे प्रमुख अस्पतालहरूको तथ्याङ्कानुसार महिलाहरूमा लाग्ने क्यान्सर रोगमध्ये पाठेघरको मुखको क्यान्सर प्रथम स्थानमा र स्तन क्यान्सर दोस्रो स्थानमा रहेको छ । विश्वलगायत नेपालमा यी दुई क्यान्सरका कारण बर्सेनि हजारौँ महिलाको मृत्युदर बढिरहेको अहिलेको अवस्था छ । क्यान्सर एउटा यस्तो रोग हो जो शरीरको कुनै पनि भागमा एक नयाँ, अनियन्त्रित तथा लगातार बढिराख्ने असामान्य कोषहरूको समूहलाई प्रतिनिधित्व गर्दछ र यो शरीरका लागि खतरनाक हुन्छ । क्यान्सर कोषहरू शरीरको सामान्य कोषभन्दा भिन्दै खालको हुन्छ । कोषहरूको आकार नाप र भित्री बनावट फरक–फरक हुन्छ । क्यान्सर आफू नजिकका तन्तुहरूलाई असर पार्नुका साथै शरीरका अरु भागमा पनि फैलिन सक्छ । क्यान्सर सरुवा रोग होइन । क्यान्सर जसलाई पनि हुनसक्ने रोग हो । क्यान्सर रोगका केही प्रमुख तत्वहरूको सेवनप्रति नेपालीहरूले प्रायः लापरवाही गरिरहेको पाइन्छ । विशेषगरी सुर्र्तीजन्य सामग्री (चुरोट, बिँडी, खैनी, गुट्खा र कक्कर), रक्सी (मद्यपान), तारेको, भुटेको र पोलेको खाद्य वस्तुलगायत अजिनोमोटो प्रयोग गरिएको क्यान फुडलगायतका खाद्य सामग्री सेवनको चलन अधिक रहेको पाइन्छ । यसलाई आधुनिक जीवनशैली भनिए पनि यसले क्यान्सरको साथै अन्य रोगहरू हुने सम्भावना बढ्न सक्छ । यसका अतिरिक्त मोटोपनाले पनि रोगको सम्भावना बढाउँछ । नेपालमा विशेषतः फोक्सोको क्यान्सर र कोलोनको क्यान्सर बढी मात्रामा देखिँदै आएको छ । विश्वकै तथ्याङ्कलाई हेर्ने हो भने लोग्नेमान्छे र स्वास्नीमान्छे दुवैमा सबैभन्दा बढी पाइने पाँच प्रमुख क्यान्सर फोक्सो, स्तन, ठूलोआन्द्रा तथा मलाशय, प्रोस्टेट र आमाशयको क्यान्सर पर्दछ । क्यान्सरबाट हुने मृत्युको सङ्ख्या केलाउँदा फोक्सो, कलेजो, आमाशय, ठूलोआन्द्रा तथा मलाशय र स्तनको क्यान्सर प्रमुख मानिन्छ । दक्षिण एसिया क्षेत्रमा सबैभन्दा बढी मुखको क्यान्सर पाइन्छ, यसको प्रमुख कारण यस क्षेत्रमा ठूलो मात्रामा पान, चुन, सुर्ती आदिको सेवनले गर्दा हो । नेपालमा क्यान्सरका बिरामीको सङ्ख्या बर्सेनि बढ्दै गएको पाइन्छ । हालको तथ्याङ्कानुसार नेपालमा प्रमुख १० क्यान्सरमा फोक्सोको क्यान्सर १२ दशमलव दुई प्रतिशत, पाठेघरको मुखकोको क्यान्सर १० दशमलव नौ, स्तन क्यान्सर नौ दशमलव छ, आमाशयको क्यान्सर सात दशमलव छ, पित्तथैलीको क्यान्सर चार दशमलव नौ, मुख तथा ओठको क्यान्सर चार दशमलव एक, थाइरायडको क्यान्सर तीन दशमलव चार, ठूलो आन्द्राको क्यान्सर तीन, रगतको क्यान्सर दुई दशमलव नौ र डिम्बाशयको क्यान्सर दुई दशमलव नौ प्रतिशत रहेको छ । क्यान्सरका केही यथार्थ र भ्रम क्यान्सरसँग जोडिएका केही यथार्थ तथा भ्रमका कुराहरू पनि समाजमा रहेको पाइन्छ । केही वर्ष पहिले आम सोचाइ के थियो भने क्यान्सर भनेको विकसित देशमा नै हुने समस्या हो, तर खासमा भन्ने हो भने क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या विकसित देशहरूमा भन्दा विकासोन्मुख देशहरूमा बढी भएको तथ्याङ्कले देखाएको पाइन्छ । यथार्थपरक रूपमा भन्नुपर्दा क्यान्सर सरुवा रोग होइन, तर क्यान्सरका कारकतत्वजस्ता सुक्ष्म जीवाणु एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । क्यान्सर जुनसुकै उमेरमा हुन रोग हो । नपालमा प्रायः ४० वर्षपछि क्यान्सर देखिन्छ । बच्चामा पनि क्यान्सर हुन्छ । क्यान्सर शरीरका जुनसुकै भागमा हुनसक्छ । सुरुका अवस्थामा निदान गरी सही उपचार गर्न सके निको हुन्छ । यो रोगको उपचार हुन्छ । क्यान्सर रोगबाट बच्ने विभिन्न उपाय छन् । क्यान्सरलाई जित्न सकिन्छ । क्यान्सरको उपचारपछि पनि जीवन हुन्छ । यस्तै यस रोगका बारेमा मानिसले विभिन्न भ्रम पालेको देखिन्छ । धेरैले यसलाई क्यान्सर सरुवा रोग हो भन्ने गर्दछन् । परिवारमा कसैलाई क्यान्सर भयो भने सबैलाई हुन्छ भन्ने भ्रम मानिसमा रहेको छ । क्यान्सर निको हुने रोग होइन, यो रोग लागेपछि बाँच्ने सम्भावना हुँदैन भन्ने विश्वास धेरैले लिएका हुन्छन् । क्यान्सर पूर्वजन्मको पाप हो भन्ने पनि गरिन्छ । शरीरमा सानो गाँठो अथवा घाउ क्यान्सर हुन सक्दैन भनेर धेरैले समयमै उपचार नगराउँदा यो रोगको सङ्क्रमण भएको छ । क्यान्सरको उपचार गर्नु बेकार हो, क्यान्सर रोगबाट बच्ने कुनै उपाय हुँदैन भन्ने सोच राख्दा धेरैले उपचार नपाएर अकालमै मृत्युको मुखमा गएको उदाहरणहरू छन् । यो कुनै धनीलाई नहुने वा गरिबलाई हुने रोग होइन । क्यान्सर एक मान्छेबाट अर्को मान्छेमा सर्दैन । हाल आएर नेपालमा बढ्दो अव्यवस्थित सहरीकरणले गर्दा वातावरणीय तथा व्यावसायिक प्रदूषण बढिरहेको देखिन्छ । यो प्रदूषणले गर्दा केही खास क्यान्सर हुनसक्छ । एकदमै चिसो वा गर्मी ठाउँमा बस्ने मान्छेहरूको खानपान, रहनहन फरक भएको हुनाले क्यान्सर पनि फरक हुन्छ । कहिलेकाहीँ वंशाणुत गुणमा पनि निर्भर गर्दछ । उदाहरणका लागि आफ्नै आमा, दिदी/बहिनीलाई स्तन क्यान्सर भयो भने त्यो महिलामा क्यान्सर हुने सम्भावना बढेर जान्छ । क्यान्सर पुनःस्थापनाको पहल क्यान्सर भनेको मृत्यु होइन । यो एउटा निको हुने रोग हो । क्यान्सरको प्रायः वातावरणीय प्रभाव र जीवनशैलीले गर्दा हुन्छ, जसमध्ये कतिपय खास कारण थाहा नभए पनि लगभग ८० प्रतिशत क्यान्सरका कारण हाम्रो प्रयासबाट हटाउन सकिन्छ । धूमपानले मात्र एकतिहाई क्यान्सर हुन्छ तथापि हामीले धूमपानमात्रै बन्द गर्न सक्याँै भने कतिपय क्यान्सरको रोकथाम सजिलैसित गर्न सकिन्छ । सायद चिकित्सा विज्ञानको विकासले नै होला, क्यान्सरका बिरामी निको हुने दर बढ्दै गएको छ । विकसित देशहरूमा त आधाभन्दा बढी मान्छे क्यान्सरबाट निको हुन्छन् र नयाँ सामान्य जीवनयापन गर्दछन् । क्यान्सरपछिको जिन्दगी सहज र सफल हुनु पर्दछ । अरुका लागि प्रेरणादायी हुनु पर्दछ । नेपालमा पनि क्यान्सर विजेताहरूको सङ्ख्या बढ्दै गएको छ । हाल आएर हाम्रो देशमा पनि क्यान्सर विजेताले सामाजिक अभियन्ता भएर कार्य गर्दैछन् । अरुको लागि प्रेरणाको स्रोत बनेको छ । केही सामाजिक संस्थाहरू गठन भएका छन् । पहिला–पहिला क्यान्सर भयो भने अरुलाई भन्दैनन् थिए र निको भएको कुरा पनि लुकाइन्थ्यो । आज क्यान्सर निको भयो, सरुवा रोग होइन, उपचार गरे बाँचिन्छ भन्ने सन्देशले अनेकौँलाई राहत दिनुका साथै प्रेरणा प्रदान गर्दछ । मान्छेहरूको मनोवल बढेर जान्छ । आफ्नो बाँकी जीवनयापन राम्रोसित गर्न सकिन्छ । आफूले भोगेका समस्या अरुले न भोगोस् र अरुलाई समाजमा सक्रिय रहन प्रोत्साहित गर्नुपर्छ । नेपालमा पनि क्यान्सर पुनःस्थापना केन्द्रहरू खोल्न जरुरी छ । हुन त क्यान्सरजस्तो जटिल रोग लागेपछि यसको उपचार प्रक्रियाले विभिन्न समाजिक, आर्थिक, घर–व्यवहारका समस्याहरू आउँछन् । ती समस्या समाधान गर्ने उपाय पनि सिकाउँछ । यो रोगसँग लड्न व्यक्ति, परिवार, समाज तथा राज्यको दायित्व महत्त्वपूर्ण हुन्छ । यो रोग निको भइसकेपछि पनि त्यो मान्छेको समाजमा पुनःस्थापित हुन जरुरी हुन्छ । उदाहरणका लागि, कुनै ठाउँमा कार्य गरिरहेको कर्मचारी रोगले गर्दा कार्य गर्न सकेन भने उसमाथि आश्रित बच्चा तथा परिवारको पालनपोषणको व्यवस्था गरिनु पर्दछ । ऊ निको भइसकेपछि गर्न सक्ने काममा लाउनुपर्छ । अहिले नेपाल सरकारले क्यान्सरलगायत केही दीर्घरोगीहरूका लागि मासिकरूपमा जीवन निर्वाह भत्ता दिनु यसैको उदाहरण हो । रासस (लेखक नेपाल क्यान्सर एजुकेशन फाउण्डेशनका संस्थापक अध्यक्ष हुन्)

महत्त्वपूर्ण विधेयक पारित गर्नुअघि दलहरूबीच सहमति आवश्यक

सरकारले संसद्लाई क्रियाशील बनाउनेगरी संसद्मा विभिन्न विधेयक, प्रस्तावहरू छलफलका लागि ल्याएको खण्डमा मात्र संसद् पनि प्रभावकारी र सक्रिय हुन्छ । गत अधिवेशनमा सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन सकेन । बजेटबाहेकका विधायिकी ‘एजेण्डा’ संसद्लाई दिइएन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का तर्फबाट कतिपय विषयमा संसद् अवरुद्ध गर्नुपर्ने बाध्यतासमेत देखापर्यो । मुलतः एक सय किलो सुन प्रकरणको विषयमा निष्पक्ष छानबिन गर्न आयोगको प्रस्ताव गरिएकामा सरकारले सुरुमा अस्वीकार गरेपछि बाध्यतावश सदन अवरुद्ध गर्नुपरेको थियो । यस घटनालाई लिएर प्रतिपक्षले संसद् चल्न दिएन भन्ने आरोप लगाइयो । पछि एउटा समझदारी कायम गरी संसद् सुरु गरियो, तर सरकारले अरु बिजनेस दिन सकेन । संसद् सञ्चालनलाई गरिमामय बनाउन गम्भीरतापूर्वक ध्यान दिइएन । गत अधिवेशन मिटरब्याजपीडितलाई राहत दिनेगरी ल्याइएको विधेयक पारित भयो । पीडित जनताको पक्षमा आएको त्यस विधेयकलाई संसद्ले पारित गरेको थियो । प्रमुख प्रतिपक्षको भूमिका सशक्त भएता पनि संसदीय अभ्यासमा कमजोरी र फितलो अनुभव रह्यो । आगामी अधिवेशनमा पनि एमालेबाट जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह हुनेछ । मुलुक र जनताको हितका लागि जिम्मेवार प्रतिपक्ष हुनुका नाताले राष्ट्रको स्वाभिमानलाई झुक्न नदिने र कानुन निर्माणमा एमालेले भूमिका खेल्नेछ । सभामुखको अग्रसरतामा आगामी संसद्ले कार्यतालिका बनाएर काम गर्ने भन्ने सुनिएको छ । सत्य निरुपण, सङ्घीय निजामती, प्रदेश प्रहरी र सम्पत्ति शुद्धीकरणसमेत संविधान, शान्ति सम्झौता र सङ्घीयता कार्यान्वयनसँग जोडिएका थुप्रै महत्त्वपूर्ण विधेयक पारित गर्नुपर्ने कार्यभार छ । यस्ता अन्तर्राष्ट्रिय सरोकार र मानवअधिकारसँग गाँसिएका विषयमा दलहरूबीच सहमति र समझदारी कायम गर्नुपर्छ, बहुमतका आधारमा टुङ्ग्याउने अवस्था आउन दिनुहुन्न । संसद्मा कोरम नपुग्नु लज्जास्पद जनप्रतिनिधिका हैसियतले गाउँटोल, निर्वाचन क्षेत्र र जिल्लाका विकास निर्माणमा सांसदले दृष्टि पुर्याउनुपर्छ भन्ने आमजनताको मत छ । यो भावनालाई सम्बोधन गर्न विकासका साथै सामाजिककार्यमा पनि जनप्रतिनिधि संलग्न हुनुपर्ने बाध्यता छ । पार्टीको विभिन्न जिम्मेवारीमा खटिनुपरेका कारण सदन र विषयगत समितिका बैठकमा कहिलेकाहीँ संसद्मा उपस्थिति कमजोर देखिएको हुनसक्छ । तथापि विधायकको जिम्मेवारी भएकाले विधायिकी कार्य र राष्ट्रिय मुद्दामा हुने बहसमा सांसद केन्द्रित हुनुपर्छ । कतिपय बैठकमा २५ प्रतिशत सांसद पनि उपस्थित नभएका कारण कोरम नपुगेर बैठक स्थगित हुनु भनेको लज्जास्पद घटनाजस्तो लाग्छ । त्यसमा पनि बैठक सञ्चालन गर्ने मुख्य जिम्मेवारी सत्तापक्षकै हुन्छ, प्रतिपक्षले त कमीकमजोरी औँल्याउने र सतर्क गराउने हो । संसद्लाई व्यवस्थित र सघनरूपमा अघि लैजाने सन्दर्भमा सत्तापक्षबाटै बेवास्ता भएको देखिन्छ । सङ्ख्याको कारण बैठक स्थगित हुनु लज्जाको विषय हो, यसबारे पटक–पटक सत्तापक्षको ध्यानाकर्षण गरिएको छ । भोजपुरको प्राथमिकता पूर्वी पहाडी जिल्ला भोजपुरलाई तराई र राष्ट्रिय सडक सञ्जालमा जोड्न सुनकोशी र दूधकोशी नदीमा ठूला पक्की पुलको आवश्यकता छ । दक्षिण र सदरमुकाम तथा दिङ्ला र सदरमुकाम जोड्ने पुल विकासका प्राथमिक आवश्यकता हुन् । मध्यपहाडी राजमार्गले भोजपुरलाई सडक सञ्जालको माध्यमबाट राजधानीलाई जोडेको छ । तराईसँग जोड्न सुनकोशीको पुल निर्माणलाई छिटो पूरा गर्नुपर्ने छ । जिल्लामा अन्य विषयहरूजस्तै शिक्षा, स्वास्थ्य, खानेपानी पनि विकासका प्राथमिकता हुन् ।पहाडी जिल्ला भएकाले सडक दुर्घटनाको जोखिम रहेकाले प्रभावकारी उपचारसहितको व्यवस्था गर्न ट्रमा अस्पतालको माग गर्दै आएका छौँ । सुन्तला उत्पादनका हिसाबले भोजपुर मुलुकै स्थापित जिल्ला हो, त्यसको विकास र विस्तारमा पनि उत्तिकै ध्यान पुर्याउनुपरेको छ भने पछिल्लो समय कफी, चिया र अलैँचीको पनि धेरै सम्भावना देखिएको छ । सरकारले पकेट क्षेत्र घोषणा गरी सहुलियत ऋण सहयोग उपलव्ध गराएमा जनताको जीवनस्तर उकास्न योगदान पुग्नेछ । भ्रष्टाचार न्यूनीकरण दलका नेता र नेतृत्व इमान्दार नहुँदाको परिणाम भ्रष्टाचार मैलाउन पुग्यो । कानुन परिपालना र व्यवहारमा इमान्दारिता देखिएन । इमान्दारिता प्रदर्शन नगरेको नेतृत्वलाई तह लगाउनेगरी कारबाही हुन सकेन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायलाई स्वतन्त्र र अधिकारसम्पन्न बनाउन कानुन निर्माणमा राज्यको सक्रियता देखिन्न । त्यहाँ हुने नियुक्तिमा स्वतन्त्र र सही व्यक्तिको चयन गर्ने संयन्त्र बनाउन सकिएन । अनुगमन र मूल्याङ्कनको बाटोलाई बलियो तुल्याउन नयाँ प्रभावकारी कानुन तर्जुमा गर्नुपर्छ । आवश्यक कानुनी व्यवस्थाको अभाव र नेतृत्वपङ्क्तिमा इमान्दारिता कायम हुन नसक्दा भ्रष्टाचार बढ्ने र सुशासन कमजोर हुने परिस्थिति सिर्जना हुन पुग्यो । निर्वाचन प्रणाली पनि अत्यन्त खर्चिलो भएको छ । यसलाई नियन्त्रण गर्ने भन्ने विषय राजनीतिक नेतृत्वसँग गाँसिन्छ । एउटा उम्मेदवारले अन्धाधुन्ध खर्च गरेपछि अर्को उम्मेदवार पनि त्यसतर्फ जानुपर्ने बाध्यकारी स्थिति छ । पैसाका आधारमा नभई नीति, विचार र कार्यक्रममार्फत मत प्राप्त गर्नेतर्फ उम्मेदवार र नेतृत्व उन्मुख हुनुपर्छ । पैसाको लोभलालच दिएर मत तान्ने देखिएको प्रवृत्ति परिवर्तन र अन्त्य हुन आवश्यक छ । पैसा खर्च गरेर होइन, उम्मेदवारले नीति, विचार र कार्यक्रम व्याख्यामार्फत मत माग्ने सोच सबैले अघि बढाउनुपर्छ । निर्वाचनमा करोडौँ खर्च भएको छ, आगामी निर्वाचनमा फेरि उठ्न गर्नुपर्ने त्यसखाले तयारीले पनि भ्रष्टाचारलाई टेवा पुर्याएको छ । यो दुर्भाग्यपूर्ण कुरा हो । मुलुकमा प्रजातन्त्र बहालीपछि यतिका अवधिसम्म उद्योगधन्दाको विकास गर्न र युवापुस्तालाई रोजगारी दिन नसक्नु राज्यको कमजोरी हो ।  सूचना तथा सञ्चार क्षेत्रमा भएको तीव्र विकासले संसार एउटा गाउँमा परिणत भई आफ्नो योग्यता, क्षमता र रुचिका आधारमा विदेश जाने तथा दैनिक रोजीरोटीको जोहो गर्न बाध्यताले विदेश पलायन हुने दुईखाले अवस्था छ । विदेश गइयो भने आर्थिक उपार्जन हुनसक्छ र देश–विदेश घुम्न पाइन्छ भन्ने बुझाई र गर्व गर्ने संस्कृतिले मलजल गरेको छ, यो गलत छ । हाम्रा पाखुरी र पसिना आफ्नै देशमा लगाउनुपर्छ भन्ने राष्ट्रियताको सञ्चार र देशभक्ति प्रत्येक नेपालीमा हुनुपर्छ, त्यो खाले सांस्कृतिक अभियान चलाउनुपर्छ । बाध्यताले विदेश पलायन हुने अवस्थालाई अन्त्य गर्न औद्योगिकीकरणको गतिलाई तीव्र तुल्याउनुपर्छ । राष्ट्रियहितप्रति राजनीतिक नेतृत्व इमान्दार र समर्पित भएर लाग्नुपर्छ । यहाँ भएका अथाह प्राकृतिक स्रोतलाई नेपाल र नेपालीको हितमा प्रयोग गर्न सक्नुपर्छ । राष्ट्रिय हित र विकासप्रतिको चिन्तन तथा चुनावी घोषणाप्रति इमान्दार भएर लाग्न सम्पूर्ण राजनीतिक दलका नेतालाई आह्वान गर्दै नेपाली समाजलाई विदेश पलायन हुने चिन्तन फेर्न आग्रह गर्छु । (सांसद राईकोसँग कुराकानीमा आधारित)

ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति

ढोरपाटन । पन्ध्र वर्ष अगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको यस वर्ष गत मङ्सिर महिनादेखि स्तारोन्नति गर्न थालिएको हो । मध्यपहाडी लोकमार्गको रङ्गेनीबाट तोरीखोला–ठान गाउँ हुँदै मजुवा जोड्ने यो सडक लामो समयसम्म स्तारोन्नति हुनसकेको थिएन । गण्डकी प्रदेश सरकारले पछिल्लो तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गरेपछि स्तारोन्नति तीव्रगतिमा हुन थालेको हो । तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको १० लाख र स्थानीयले उठाएर रु ३५ लाख गरी रु ४५ लाखमा सडक खुलाइएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । लामो समयसम्म सडक स्तरोन्नति नहुँदा नागरिकले हिउँद–बर्खा यात्रा गर्दा निकै समस्या भोग्नुपरेको भन्दै आर्थिक वर्ष २०७८/७९ देखि गण्डकी प्रदेशले बजेट विनियोजन गर्दै आएपछि सडक बन्दै गएको उनको भनाइ छ । हालसम्म प्रदेश सरकारले एक करोड ५० लाख विनियोजन गरेको भन्दै पहिलो वर्ष निर्माण कम्पनीले काम नगर्दा रु ३० लाखमात्रै खर्च भएको नगरप्रमुख गैरेले बताए । गतवर्षको सबै बजेटको काम भएको र यस वर्ष पनि निर्माण कम्पनीले धमाधम काम गरिरहेको उनको भनाइ छ । सडक स्तरोन्नति भएपछि ठाना, तोरीखोला, खसखसलगायतका गाउँका नागरिकलाई पालिका केन्द्र मजुवा र गलकोट हटिया बजारमा पुग्न सहज हुने गैरेले बताए । नगरपालिकाले यससँगै अन्य ग्रामीण सडकलाई स्तरीय बनाउन थालेको उनको भनाइ छ । नगरप्रमुख गैरेले भने, ‘यो सडक खुलाउने बेला निर्माण समितिको सचिव मै थिएँ, यहाँका नागरिकले पैसा उठाएर ट्रयाक खुलाएका हौँ, अहिलेसम्म सडकको दुरावस्था थियो, अब सुधार हुँदै जाने छ, डेढ दशकपछि सडक राम्रो बन्न थालेपछि स्थानीय पनि खुसी भएका छन्, गाउँलेले लगानी गरेको लाखौँ रुपैयाँले बनेको यो सडकमा सरकारले पनि बर्सेनि बजेट विनियोजन गरेर काम गर्दै आएको छ, केही समयपछि कालोपत्र पनि हुने छ ।’ नगरपालिकाका इन्जिनियर बलविक्रम दाहालले पक्की नाली, मेसेरेनरी वाल, ग्याबिन निर्माण र सडक फराकिलो बनाउने काम भइरहेको बताए । सडक निर्माणका लागि थ्री ब्रोदर्श कन्स्ट्रक्सनले गत मङ्सिरमा जिम्मा लिएको उहाँको भनाइ छ । असार मसान्तसम्म सक्नेगरी सम्झौता भए पनि निर्माण कम्पनीले यही महिनाको अन्तिममा सक्नेगरी काम गरेको इन्जिनियर दाहाल बताउँछन् । निर्माण कम्पनीले ४६ लाखमा सडक स्तारोन्नतिको जिम्मा लिएको उनले बताए । रासस

लक्ष्मी लघुवित्तको नाफा धनात्मक, ईपीएस ९.७५ रुपैयाँ

काठमाडौं । लक्ष्मी लघुवित्तको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा २ करोड १५ लाख रुपैयाँ धनात्मक रहेको छ । गत वर्ष २ करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको थियो । पुस मसान्तसम्म लघुवित्तको खद ब्याज आम्दानी १७ करोड ८९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २० करोड ३३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यसअवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २३ करोड ७७ लाख रुपैयाँ, सञ्चालन नाफा ३ करोड ४ लाख रुपैयाँ र वितरण योग्य नाफा १ करोड ४७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ४४ करोड १६ लाख रुपैयाँ, जगेडा कोष २७ करोड ३८ लाख रुपैयाँ, निक्षेप २ अर्ब २५ करोड रुपैयाँ, सापटी ३ अर्ब ९७ करोड रुपैयाँ र कजौ प्रवाह ६ अर्ब ७० करोड रुपैयाँ गरेको छ । लघुवित्तको नाफा धनात्मक भएसँगै प्रतिसेयर आम्दानी पनि ९.७५ रुपैयाँ रहेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ७७.७७ गुणा र प्रतिसेयर नेटवर्थ १६५.३५ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा ५.७२ प्रतिशतबाट बढेर ९.६३ प्रतिशत पुगेको छ । लघुवित्तको आधार दर १५.७२ प्रतिशत र कस्ट अफ फण्ड ९.६७ प्रतिशत रहेको छ ।

मौसममा पुन बदली, यी प्रदेशमा हल्का वर्षा हुने

काठमाडौं । दुई दिन खुलेको मौसम पुनः बदली हुने भएको छ । आइतबार बिहानैदेखि देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा, बागमती प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । उनले पश्चिमी वायुको प्रभावले अहिले सुदूरपश्चिमबाट बादल प्रवेश गरिसकेको जानकारी गराउँदै बदली हुने बताए । यसअघि शुक्रबारअघि बदली रहेको मौसम शनिबार खुलेको थियो । उनका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । आइतबार राति देशभर आंशिकदेखि साधारणतया बदली कायम नै रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । सोमबारबाट भने मौसम क्रमशः खुल्ने लामिछानेले बताए ।सोमबार कोशी प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान साथै बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

आजसम्म सेयर खरिद गर्नेले रिडी पावरको हकप्रद सेयरमा आवेदन दिन पाउने

काठमाडौं । रिडी पावर कम्पनीको आजसम्म सेयर खरिद गर्ने लगानीकर्ताले हकप्रद सेयरमा पनि आवेदन दिन पाउने छन् । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) मिति माघ २२ गते तोकेको छ । त्यसैले आज माघ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २ सय रुपैयाँ को १ः०.५० अनुपात अर्थात् ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्नेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ कित्ता बराबर ०.५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

खराब कर्जा बढेपछि ग्लोबल आइएमई लघुवित्तको नाफा घट्यो

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा २६.५७ प्रतिशत घटेर ४ करोड ७८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ५१ लख रुपैयाँ खुद नाफा गरेको थियो । लघुवित्तको खराब कर्जा ३.८४ प्रतिशतबाट बढेर ४.२१ प्रतिशत पुगेको छ । लघुवित्तको खराब कर्जा र ब्याज आम्दानी घटेका कारण नाफामा असर परेको हो । पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी २८ करोड ६३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २५ करोड ९१ लाख रुपैयाँ गरेको थियो । यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ३३ करोड ४० लाख रुपैयाँ, सञ्चालन नाफा ६ करोड ८३ लाख रुपैयाँ र वितरण योग्य नाफा ८७ लाख ९२ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ६२ करोड ८९ लाख रुपैयाँ, जगेडा कोष ५० करोड १८ लाख रुपैयाँ, निक्षेप ३ अर्ब २१ करोड ५४ लाख रुपैयाँ र कर्जा प्रवाह ७ अर्ब ५४ करोड रुपैयाँ गरेको छ । पुसमसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १५.४६ रुपैयाँ छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १८१.०९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपता ५८.२३ गुणा रहेको छ । यस्तै, आधार दर १३.६४ प्रतिशत, कस्ट अफ फण्ड ८.४० प्रतिशत छ ।

यूनाइटेड अजोडको १०.८० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि माघ २२ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा आज माघ २१ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् । इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९’८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद गरी कूल १०.८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले ३०औँ वार्षिक साधारण सभा फागुन ७ गते अनमोल ब्याङ्क्वेट शंखमूल काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । सभाले बोनस सेयर वितरणपश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्रको नियमावली संशोधन गर्नेछ । संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समितिको गठन गर्नेछ । साथै, संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्नेछ ।