विकासन्युज

रोयल्टी बाँडफाँटको लागि विद्युत उत्पादकसँग विभागद्वारा विवरण माग

काठमाडौं । रोयल्टी बाँडफाँडको लागि विद्युत आयोजना सञ्चालकहरुसँग विद्युत विकास विभागले आयोजनाको विवरण माग गरेको छ । विभागले आइतबार एक सूचना जारी गर्दै १ मेगावाट भन्दा बढी क्षमता भएका आयोजनाहरुको खण्डीकृत विवरण माग गरेको हो । ‘रोयल्टी बाँडफाँटकको हिस्सा निर्धारण गर्न १ मेगावाट भन्दा माथिका जलविद्युतसँग सम्बन्धित खण्डीकृत तथ्यांक आवश्यक परेको हुँदा आयोजनाको नाम, क्षमता र आयोजनाका संरचनाहरु रहेको स्थानीय तहको वडा समेत खुल्नेगरी ७ दिनभित्र तपशिल बमोजिमको ढाँचामा विवरणहरु विभागमा उपलब्ध गराइदिनुहुन निर्देशानुसार अनुरोध छ’, विभागको सूचनामा उल्लेख छ । विभागले तथ्यांक उपलब्ध गराउँदा अहिले भौतिक संरचनाको जीआईएस सेप फाइल र गुगल म्यापमा खुल्नेगरी र वडा समेत देखिने गरी तथ्यांक बुझाउन भनेको छ ।

ढोरपाटनका विद्यालय खुले, चिसोले शिक्षक र विद्यार्थी बिरामी

ढोरपाटन । अत्यधिक चिसो बढेपछि बन्द भएका बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय सञ्चालनमा आएका छन् । गत पुस १५ गतेदेखि बन्द भएका विद्यालय फागुन पहिलो सातादेखि सञ्चालनमा आएका हुन् । विद्यालय सञ्चालनमा आए पनि चिसोका कारण विद्यार्थी तथा शिक्षक बिरामी परेका छन् । विद्यार्थी बिरामी परेपछि पठनपाठनमा समस्या आएको छ । हरेक वर्ष हिउँदमा बन्द हुने ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय वर्षामा भने सञ्चालन हुने गर्छन् । ढोरपाटन नगरपालिका–९ स्थित पाखाथरको ज्योति विकास माध्यमिक विद्यालय, छेन्तुङको सिद्धबराह प्राथमिक विद्यालय, सहलथानस्थित सहलथान प्राथमिक विद्यालय, दिजाको बाल ज्योति प्राथमिक विद्यालय, मसस्थित ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र स्यालपाखेस्थित ढोरबहारा प्राथमिक विद्यालय गत पुस १५ गतेदेखि बन्द भएका थिए । जनवादी आधारभूत विद्यालय भने घुम्ती पढाइका लागि ढोरपाटन नगरपालिका–९ बोबाङमा झरेको थियो । ढोरपाटन उपत्यकामा विद्यालय स्थापना भएर सञ्चालनमा आएदेखि हिउँदको डेढ महिना चिसोका कारण बन्द हुने गरेको पाखाथरस्थित ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले बताए । ढोरपाटनमा अत्यधिक चिसो हुनेहुँदा पुस र माघ महिनामा पठनपाठन गर्न नसकिने भन्दै अहिले विद्यालय सञ्चालनमा आए विद्यार्थी र शिक्षक बिरामी परेको उनको भनाइ छ । विद्यार्थीको आँखाबाट आँशु बगिरहने, रुघाखोकी लाग्ने, ज्वरो आउने गरेको भन्दै शिक्षकमा पनि त्यो समस्या देखिँदा पठनपाठन प्रभावकारी बन्न नसकेको उनी बताउँछन् । जाडो बिदा भएपछि बेंसी झरेका बालबालिका एक्कासी ढोरपाटन आएर पठनपाठन गर्दा बिरामी परेको अदैको भनाइ छ । जाडोकाबेला लेक (ढोरपाटन) मा भन्दा बेंसी (बोबाङ, अधिकारीचौर)  क्षेत्रमा कम चिसो हुने हुँदा अधिकांश बालबालिका बेंसी झर्ने गरेको उनले बताए । ढोरपाटन उपत्यकाका विद्यालय बन्द हुँदा बेंसी झरेका विद्यार्थीले पाइकपर्ने विद्यालयमा गएर पढ्नेसमेत गरेको प्रधानाध्यापक अदैको भनाइ छ । आफ्नो विद्यालयमा १८१ विद्यार्थी रहेकामा अहिले १५० मात्रै आएको उनले बताए । अदैले भने, ‘दिउँसोमा जाडो केही कम छ, तर बिहान र साँझ निकै चिसो छ, बेंसीबाट आएका धेरै बालबालिकाको स्वास्थ्यमा समस्या देखिएको छ, शिक्षक पनि बिरामी पर्नु भएको छ, वर्षौंदेखि यस्तै समस्या भोग्दै आएका छौँ, मध्य पुसमा बन्द गर्नुपर्यो, फागुनमा सञ्चालन गर्नुपर्यो, दुर्गम क्षेत्रका विद्यालयमा राज्यले अन्य सुविधा दिनुपर्ने हो तर केही सुविधा छैन, बालबालिकाले निकै दुःख पाएका छन् ।’ ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले लामो समयदेखि हिउँदमा बन्द गर्ने र वर्षामा खुल्ने नीति रहेको हुँदा सोहीअनुसार ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय सञ्चालन गरिँदै आएको बताए । हिउँदमा चिसो हुने र विद्यार्थी कठ्याङ्ग्रिएर पढ्न नसक्ने हुँदा बिदा गरिने भन्दै वर्षामा भने बिदा नहुने उनको भनाइ छ । जनवादी आधारभूत विद्यालय भने बाह्रै महिना सञ्चालन हुने गरेको सापकोटाले बताए । यस विद्यालयको बोबाङमा पनि भवन रहेको हुँदा हिउँद वर्षामा पढाई हुने उनको भनाइ छ । ढोरपाटन उपत्यका क्षेत्रका विद्यालयमा ३०० बढी विद्यार्थी अध्ययनरत रहेको सापकोटले जानकारी दिए । ‘हिउँ परेको छैन, चिसो त चिसो नै छ, यद्यपि विद्यालय फागुन १ गतेदेखि खुलेका छन्, यो अहिलेदेखि सुरु गरेको होइन, धेरै वर्ष भयो, विद्यालयका भौतिक संरचना व्यवस्थित बनाउँदै शिक्षालाई गुणस्तरीय बनाउँदै गएका छौँ, विद्यार्थीको समस्या छ, जाडो छ, गतिलो कपडा छैन, यसमा माथिल्लो निकायले पनि ध्यान दिन जरुरी छ’, उनले भने, ‘विद्यालयमा तह पनि थपिरहेका छौँ, यस वर्षदेखि पाखाथरको ज्योति विकास आधारभूत विद्यालयलाई माध्यमिक तहमा स्तरोन्नति गरिएको छ, यस वर्षदेखि कक्षा ९ को पढाई सुरु भएको छ, अर्को वर्ष १० कक्षा पनि सञ्चालन हुनेछ ।’ रासस

नेपालको राष्ट्रिय स्वाधीनता दुर्घटनामा पर्ने खतरा छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राष्ट्रिय स्वाधीनता अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा कायम रहेको बताएका छन् । सोमबार समाजवादी शैक्षिक मञ्च, नेपालको उद्घाटनमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले अहिलेको राजनीतिक परिस्थिति वा शान्ति प्रक्रियामा प्रवेश गरे यताका सन्दर्भहरु, राजनीतिक, वैचारिक वर्ग संघर्षहरु सबैलाई एकै ठाउँमा राखेर हेर्दा देश समाजवादी गणतन्त्रतिर अघि बढ्ने हो की फेरि त्यही निरंकुशतातिर, फेरि दलालहरुको सम्पूर्ण हैकम कायम भएको नेपालको राष्ट्रिय स्वाधिनतामा अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा भएको गणतन्त्रतिर जाने हो ? भन्ने लडाईं कायम रहेको बताए । ठूलो र पेचिलो बहस र संघर्षपछि संविधानमा अबको राज्य समाजवादउन्मुख राज्य हुन्छ भन्नेसम्म लेख्न सफल भएको बताए । सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै समाजवादतिरको यात्रामा अघि बढिरहेको जानकारी दिए । ‘अहिलेको राजनीतिक परिस्थिति वा शान्ति प्रक्रियामा प्रवेश गरे यताका सन्दर्भहरु, राजनीतिक, वैचारिक वर्ग संघर्षहरु सबैलाई एकै ठाउँमा राखेर हेर्ने हो भने हरेक क्षेत्रमा यो परिवर्तन अब समाजवादी गणतन्त्रतिर अघि बढ्ने हो की फेरि त्यही निरंकुशतातिर, फेरि दलालहरुको सम्पूर्ण हैकम कायम भएको नेपालको राष्ट्रिय स्वाधिनतामा अझ बढी खुम्चिने वा दुर्घटनामा पर्ने खतरा भएको गणतन्त्रतिर जाने हो ? यो लडाईं सर्वत्र छ भनेर म तपाईंहरुलाई भन्न चाहन्छु । हामीले निकै ठूलो र पेचिलो बहस र संघर्षपछि संविधानमा अबको राज्य समाजवादउन्मुख राज्य हुन्छ भन्नेसम्म लेख्न सफल भएकै हो’, उनले भने । प्रधानमन्त्री दाहालले अहिले पनि एउटा पक्ष समाजवादको वातावरण बनाउन लडिरहेको र अर्को पक्ष संघीयता, गणतन्त्र ठिक छैन, समावेशी, समानुपातिकता ठिक छैन, शिक्षा सुधार ठिक छैन पुरानै ठाउँमा फर्किनुपर्छ भनेर लागेको दाबी गरे ।

आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिका भट्ट

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । डा. भट्ट यसअघि पनि नेपाल आयल निगमको कार्यकारी निर्देशकका रुपमा काम गरिसकेका छन् । उनी दुईपटक विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा समेत काम गरेका छन् । अहिले पनि उनी सेज प्राधिकरणको कार्यकारी निर्देशककै रुपमा कार्यरत छन् । इञ्जिनियर डा. भट्टले जापानको इहिमे विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । उनी काँग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । सरकारले गठन गरेको सिफारिस समितिमा १३ जनाले आवेदन दिए पनि समितिले भट्टसहित डा. डोलप्रसाद चापागाईं र शत्रुघ्नप्रसाद पुडासैनीलाई सिफारिस गरेको थियो ।

‘नेपालका बैंकिङ क्षेत्र अब्बल छन्, गलत अभिव्यक्ति दिनेलाई कारबाही गरौं’

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका चार संगठनहरूले बैंकिङ क्षेत्रको बारेमा गलत अभिव्यक्ति दिनेलाई कारबाही गर्न माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्ति बैंकर्स संघले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्रको बारेमा जथाभावी बोल्नेलाई कानूनको दायरामा ल्याई आवश्यक कारबाही गर्न सरकारी निकायहरूलाई आग्रह गरेका हुन् । पछिल्लो समयमा यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक संजालहरुमासमेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण गराउँदै चार संगठनले उक्त आग्रह गरेका हुन् । साथै, सम्बन्धित सरोकारवालाहरूलाई पनि बेलाबखतमा सामाजिक संजालहरूमा देखिने आधारहीन, गलत तथा भ्रामक टिप्पणीहरुमा ध्यान नदिन र सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचना/समाचारहरुलाई मात्र आधिकारिक रुपमा नलिन उक्त संगठनहरूले आग्रह गरेका छन् । त्यस्तै, नेपालका वित्तीय संस्थाहरु अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त (बेसल लगायत) लाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै, नेपालको बैंकिङ क्षेत्र उदाहरणको रुपमा स्थापित भएका बताउँदै चार संगठनहरूले नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीति/नियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको दावी गरेका छन् । ‘नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको व्यहोरा स्पष्ट पार्दछौं । यस संघहरुसंग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत् सुरक्षण गरिएको स्मरण गराउँदछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ । नेपालको बैंकिङ्ग क्षेत्रले समग्र अर्थतन्त्र तथा मुलुकको आर्थिक विकासमा भूमिका खेलेको बताउँदै संगठनहरुले हाल बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ३५ लाखभन्दा धेरै निक्षेप खाताहरु र १८ लाखभन्दा धेरै कर्जा खाताहरु संचालनमा रहेका जानकारी गराएका छन् । देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको कुल ग्राहस्थ उत्पादनभन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्राहस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ्ग सेवाहरु आफ्ना ६४४१ शाखाहरुमार्फत देशभर प्रदान गर्दै आइरहेका छन् । साथै, देशको दुर-दराजमा गई ५७ वटा लघुवित्त संस्थाहरुले २८ लाखभन्दा धेरै स-साना ऋणीहरुलाई ४ खर्ब रुपैयाँभन्दा धेरै ऋण प्रवाह गरी आर्थिक रुपान्तरणमा भूमिका खेलेका छन् । यी सबै संस्थाहरुले ८२ हजारभन्दा धेरै कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल सरकारलाई ३१ अर्ब रुपैयाँभन्दा धेरै राजश्व बुझाउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व बमोजिम बैंक तथा वित्तीय क्षेत्रहरुले ७७ करोड रुपैयाँभन्दा धेरै सामाजिक कार्यहरुमा खर्च गरेका बताइएको छ ।

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं ।  ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिए । ‘पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन्, शनिबार पनि परीक्षा दिने गरी व्यवस्था मिलाएका छौँ, अन्य सिफ्ट त्यसपछि तय गरिने छ’, उनले भने । परीक्षार्थीहरु परीक्षाको एक दिन अघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ । परीक्षा सुरु हुनुअघि एक घण्टा अगाडि परीक्षा हलमा ओरेन्टेसन शुरु हुनेछ साथै निर्धारित समयमा उपस्थित नभए परीक्षामा सहभागी नगराइने निर्देशक कडेलले जानकारी दिए । परीक्षामा मोबाइल फोन, स्मार्टवाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ । परीक्षामा चिट चोर्ने, नक्कल गरेकोलगायतका अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुकासाथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिने कार्यालयले जनाएको छ । सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए । रासस

उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब छ : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन् । सोमबार उनले सरकारले केही दिनभित्रै राजनीतिक भागबण्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिष्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको बताएका हुन् । उनले विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठन लगायत धेरै विषयमा सुधार गर्नुपर्ने भएपनि प्रधानमन्त्रीले पुनः गल्ती दोहार्याएको दाबी गरे । उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको नियत नै ठिक नभएको जिकिर गरे । उनले प्रधानमन्त्री दाहाललाई खुला प्रतिष्पर्धाबाट नै उपकुलपति चयन गरेको छु भन्ने सोचेर सबैलाई झुक्याएको जस्तो लागेपनि आफैँ झुक्किरहेको बताए । अहिले खुला प्रतिष्पर्धा भनिएपनि नियत भागबण्डाकै राखिएको बताए । महामन्त्री थापाले प्रधानमन्त्रीले चाहेको खण्डमा अझै पनि नयाँ प्रक्रिया थालनी गरेर योग्य व्यक्तिलाई उपकुलपति बनाउन सकिने बताए । प्रधानमन्त्रीले अहिले पाएको मौकाको सदुपयोग नगर्नु भनेको आफैँ झुक्किनु रहेको बताए । ‘हाम्रो विश्वविद्यालयको अवस्था बिजोग छ । विश्वविद्यालयको नेतृत्व चयनदेखि यसको पठनपाठन लगायतका थुप्रै विषयमा सुधार गर्नुपर्नेछ । त्रिभूवन विश्वविद्यालय मेरो दलले लिएकोले गर्दा अर्को विश्वविद्यालय अर्को दललाई दिन्छु, यसरी नै चल्दै आएको हो । अहिले खुला प्रतिष्पर्धा गर्छु भनियो तर नियत भागबण्डाकै राखियो । जसकारण परिणाम एउटै आउने भयो । मौकाको सदुपयोग नगर्नु भनेको आफैँ झुक्किनु हो’, उनले भने । महामन्त्री थापाले आफूले प्रधानमन्त्रीलाई खुला प्रतिष्पर्धाबाट योग्य व्यक्ति उपकुलपति बनाउन बारम्बार आग्रह गरे पनि प्रधानमन्त्रीले भागबण्डाकै आधारमा नै नियुक्ति गर्न लागिएको भन्दै आपत्ति जनाए ।

कोशी प्रदेश सरकारद्वारा १४ स्वास्थ्य स्वयंसेविका सम्मानित

काठमाडौं । प्रजातन्त्र दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले १४ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । सोमबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशका १४ जिल्लाबाट एक–एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेका हुन् । जनस्वास्थ्यका लागि खटिएका स्वास्थ्य स्वयंसेविकाहरूको खुट्टामा आफैँले जुत्ता लगाइदिएर मुख्यमन्त्री कार्कीले सम्मान गरे । स्वयंसेविकालाई प्रदेशको स्वास्थ्य मन्त्रालय अंकित चाँदीको सिक्का, खादा, सम्मानपत्र र नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेपछि बोल्दै मुख्यमन्त्री कार्कीले आफ्ना सन्तानको हेरचाह छोडेर अरूको सेवा गर्न दौडनेहरूलाई सम्मान गर्न पाउँदा गौरव महशुस भएको बताए । त्यसअघि ७४ औं प्रजातन्त्र दिवसको अवसर पारेर प्रदेश सरकारले विराटनगरमा प्रभातफेरिको आयोजना गरेको थियो ।