विकासन्युज

वीर अस्पतालले गर्यो बदमासी, बिना टेन्डर औषधि खरिद

काठमाडौं । वीर अस्पतालले फार्मेसीका लागि औषधि खरिद बिना प्रतिस्पर्धा गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिए । अस्पताल प्रशासनले भने तीन वटा फार्मेसीका लागि औषधि प्रक्रिया पूरा गरेरै खरिद गरेको दाबी गरेपनि अनुगमनका क्रममा भने २०७८ देखि पुरानै सम्झौताअनुसार खरिद भइरहेको पाइएको उनको भनाइ छ । अनुगमन टोली सदस्य समेत रहेका वरिष्ठ जनस्वास्थ्य अधिकृत मिश्रले भने, ‘विसं २०७८ देखि हालसम्म बोलपत्र आह्वान नगरी औषधि खरिद गरिरहेको अनुगमनका क्रममा देखिएको छ ।’ उनले अनुगमनका क्रममा अत्यावश्यक औषधि फार्मेसीमा नभएको, अनावश्यक औषधि स्टोरमा राखेको, म्याद सकिएको औषधि फिर्ता नगरी धेरै मात्रामा राखेको, फार्मेसीको स्टोरमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पालना नगरेको पाइएको जानकारी दिए । वीर अस्पतालका निर्देशक सन्तोष पौडेलले फार्मेसीको नेतृत्व यसबीच तीन पटक परिवर्तन भएकाले बोलपत्र आव्हानमा समस्या देखिएको बताए । उनले केही औषधि खरिदका लागि भने बोलपत्र आह्वान भइसकेको जानकारी दिए । ‘बीमाबाट आउनुपर्ने रकम छ महिनासम्म पनि नआउँदा आपूर्तिमा समस्या भएको हो । अन्यत्रबाट सोझै खरिद गरी ल्याउन सकिन्न’, उनले भने, ‘आपूर्तिकर्तासँग अत्यावश्यक औषधि खरिदका लागि पटक–पटक छलफल गर्दा पनि भुक्तानी नभएकाले आपूर्ति रोकिएको छ ।’ निर्देशक पौडेलले प्राविधिक जनशक्ति अभावले अस्पतालद्वारा सञ्चालित तीन वटा फार्मेसी चौबिस घण्टा सञ्चालन गर्न नसकिएको पनि बताए । उनले एउटा काउन्टरलाई २४ घण्टा सञ्चालन गरे पनि दुई वटा काउन्टर भने बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन भइरहेको जानकारी दिए । उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा फार्मेसी भवन निर्माणका लागि खालि ठाँउमा टहरा निर्माणको ठेक्का लगाउने प्रक्रियामा अगाडि बढाइएको जानकारी दिए । ‘केही दिनमा टहरा निर्माण र बोलपत्र आह्वान गरी औषधि आपूर्ति पनि भइसक्छ’, उनले भने, ‘जनशक्ति थप गरेपछि अहिलेको समस्या ९० प्रतिशत समाधान हुनेछ ।’ रासस

सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले माग्यो १५ दिनको समय

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले यही फागुन मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप गर्न सरकारसमक्ष अनुरोध गरेको छ । आयोगले यही फागुन १५ गतेभित्र प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग भएकाले समयावधि थपका लागि गृहमन्त्रालयमार्फत नेपाल सरकारसमक्ष अनुरोध गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट सङ्कलन भएका केही थप प्रमाण र तथ्य प्राप्त हुन आएकाले सोको अध्ययन विश्लेषण गर्न र केही निकायबाट विवरण तथा जवाफ प्राप्त भइनसकेकाले प्रतिवेदन लेखनमा ढिलाइ भएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिए । आयोग प्राप्त प्रमाणको अध्ययन, विश्लेषण र प्रतिवेदन तयारीमा रहने हुँदा यो अवधिलाई आयोगको मौन अवधिका रुपमा बुझिदिनुहुन उनले आग्रह गरे । आयोगले फागुन मसान्तभित्रै सरकारसमक्ष प्रतिवेदन पेस गर्ने उनको भनाइ छ । सरकारले गत असोज १५ गते सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० गठन गरेको थियो । आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो । तीन महिनामा अध्ययन नसकिएपछि आयोगलाई दुई महिनाको समय थप गरिएको थियो । रासस

कामना सेवा विकास बैंकका ग्राहकलाई द एसआर होटेलमा छुट

काठमाडौं । कामना सेवा विकास बैंक र द एसआर होटेल एण्ड इभेन्ट्स प्रालिबीच सम्झौता भएको छ । बैंकले तिलोत्तमा, रुपन्देही स्थित द एसआर होटेल एण्ड इभेन्ट्ससँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको हो । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको लजिङ र बिलमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

श्रीलङ्कामा पर्यटक आगमन सङ्ख्या २५ लाख नाघ्न सक्ने

श्रीलङ्का । श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी हुनसक्ने आइतबार बताएका छन् । उनले सन् २०२४ जनवरी र फेब्रुअरीमा पर्यटकको आगमनलाई ध्यानमा राखेर लक्ष्य हासिल गर्न सकिने बताए । उनले सन् २०२३ जनवरीमा मुलुकमा एक लाख मात्र पर्यटक आएको तुलनामा सन् २०२४ को जनवरीमा यो सङ्ख्या बढेर दुई लाख १० हजार पुगेको जानकारी दिए । उनका अनुसार फेब्रुअरीमा अहिलेसम्मको आगमन दर अझ धेरै छ । आधिकारिक आँकडाअनुसार सन् २०२३ फेब्रुअरीमा एक लाख सात हजार ६३९ पर्यटक आएका थिए भने सन् २०२४ को फेब्रुअरी १ देखि १८ सम्म एक लाख ३८ हजार सात सय ३६ पर्यटक आइसकेका छन् । मन्त्री साब्रीले श्रीलङ्कामा आर्थिक सङ्कट स्थिर भएको र सुधारको सङ्केत देखिन थालेको बताए । रासस

बिवाइडीले ल्यायो ‘नेपाली अब यूरो कपमा’ स्किम योजना

काठमाडौं । बिवाइडीको नेपालको लागि अधिकृत वितरक साइमेक्स इन्क प्रालिले यूईएफए (यूनियन अफ यूरोपियन फूटबल एशोसियसन) यूरो २०२४ को अवसरमा ‘नेपाली अब यूरो कपमा’ स्किम ल्याएको छ । फुटबल प्रेमी ग्राहकहरूलाई जर्मनीमा गई प्रत्यक्ष यूईएफए यूरो २०२४ का रोमाञ्चक खेलहरू हेर्ने मौका रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले बताए । उनका अनुसार बिवाइडी यूईएफए यूरो २०२४ को अधिकृत इ-मोबिलिटी पार्टनर हो । यूईएफए युरो कप सन् २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका १० वटा विश्व प्रसिद्ध स्टेडियमहरूमा आयोजना हुँदैछ । यूईएफए र न्यु इनर्जी भेहिकलको विश्वमै प्रमुख निर्माता बीवाइडीबीचको यो सम्झौता च्याम्पियनसिपको इतिहासमा पहिलोपटक भएको कम्पनीको दाबी छ । नविन प्रयोग र आविष्कारका साथ ग्राहकको सन्तुष्टिमा सदैव प्रतिवद्ध साइमेक्स प्रालिका अनुसार ११ भाग्यशाली विजेताहरुले यूईएफए यूरो २०२४ मा उपस्थित भई फुटबल खेलको प्रत्यक्ष रूपमा मनोरन्जन लिने अवसर पाउने छन् । यस स्किमले ग्राहकहरूलाई फुटबलको प्रत्यक्ष अनुभव गर्ने अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य बिवाइडीले राखेको छ । साइमेक्स प्रालि विद्युतीय सवारी साधनको क्षेत्रमा उत्कृष्टता र नवीनतालाई प्रेरित गर्दै ग्राहकहरुलाई अविस्मरणीय अनुभव प्रदान गरिरहेको छ ।

सुनसान अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम सुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो । चिसो बढेसँगै करिब दुई महिनादेखि सुनसान रहेको यस पदमार्गमा यतिबेला दैनिक २५/३० जनाको हाराहारीमा विदेशी पर्यटक आउने गरेको मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले बताए । उनले विगतमा दैनिक पाँचभन्दा बढीसम्म पर्यटक आउने गरेकामा अब अब विस्तारै बढ्दै जाने अपेक्षा रहेको बताए । चिसो मौसमका कारण पर्यटक नआउँदा सुनसान बन्दै गएको यस पदमार्गमा पर्यटक आउन थालेसँगै पर्यटन व्यवसाय चल्न थालेको उनको भनाइ थियो । चिसो छल्नका लागि मनाङवासी बाहिरी जिल्ला गए पनि उनीहरुसमेत विस्तारै आउने क्रममा छन् । मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले पर्यटकको आगमन ठप्प भएसँगै आफूहरु फुर्सदिलो बने पनि यतिबेला पर्यटक आगमन आउन थालेसँगै व्यस्त हुन थालेको बताए । पर्यटकको आगमन हुँदा धेरै थोरै भए पनि आम्दानी हुन थालेको छ । यस याममा पहिला इजरायली नागरिक सबैभन्दा बढी आउने गरे पनि यस वर्ष इजरायली र हमासबीचको युद्धका कारण इजरायली पर्यटक नदेखिएको उनले बताए । पर्यटक बढ्दा दैनिक ६० हजारभन्दा बढी हाराहारीमा व्यापार हुँदै आएको उल्लेख गर्दै पर्यटन व्यवसायी गुरुङले मार्च ३ गतेदेखि अप्रिल अन्तिमसम्मै पर्यटकले उनको होटल बुकिङ गरिसकेका छन् । पर्यटन व्यवसायीहरू मेखबहादुर गुरुङ, खुसीराम गुरुङ, देवीजङग गुरुङ, चेतबहादुर गुरुङ, बगबहादुर गुरुङ पूर्णबहादुर गुरुङ, राजमान गुरुङलगायत यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा रहेका होटल व्यवसायीले अहिले काम पाउन थालेका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङको चौतारा क्षेत्रका होटल व्यवसयामा समेत आम्दानी हुन थालेको छ । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज तथा प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । यहाँ आउने पर्यटक विशेष गरेर थोराङपास, लार्केपास, र कांलापासका साथै विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल अवलोकनका लागि आउने गरेको पाइन्छ । त्यस्तै यस क्षेत्रमा पर्ने अग्लाअग्ला हिमशृङ्खला अन्नपूर्ण दोस्रो, तेस्रो र चौथोलगायत गङ्गापूर्ण, जुलू पिक, पिसाङ पिक, नीलगिरि र तिलिचो पिकजस्ता हिमाल नजिकैबाट अवलोकन गर्न पर्यटक आउने गरेको मनाङवासीले बताए । लमजुङ बेँसीसहरबाट सुरु भई अन्नपूर्ण पदमार्गको यात्रा धारापानी र मनाङहुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, घोरेपानीबाट पोखरा पुगेर सम्पन्न हुन्छ । पाँच हजार चार सय १६ मिटरको उचाइमा रहेको थोराङ भञ्ज्याङलाई पर्यटकहरूले पास गर्ने गर्दछन् । पदयात्राका सौखिनका पारखीका लागि यस पदमार्ग महत्वपूर्ण मानिन्छ । विगतमा १८ दिनसम्म यात्रा हुने यस पदमार्गको यात्रा भने सडक विस्तारले छोटिएसँगै व्यवसायमा समेत असर परे पनि पर्यटकको आगमनले व्यवसाय चल्दा आम्दानीको बाटो भइरहेको पर्यटन व्यवसायीहरूले बताए । रासस

भरतपुरमा उद्यमशिलताको विकास गरी रोजगारी सिर्जना गर्ने छौं : रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी कार्यभार भरतपुरको उद्यमशिलताको विकास रहेको बताएकी छिन् । भरतपुर २२ को नवनिर्मित भवन, १६ शैयाको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास प्रयाप्त भएकाले आगामी कार्यभार धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गरिन्। महानगरपालिकामा विगत ७ वर्षमा पूर्वाधार विकासमा उल्लेखिय काम भइसकेकाले अब भने भरतपुरवासीलाई उद्यमशिलतामा लाग्ने उनको भनाई छ । ‘भरतपुरमा एकै वडामा ५० किमीभन्दा बढी कालोपत्रे सडक निर्माण भइसेका छन्, उनले भनिन्, ‘शिक्षा, स्वास्थ्य, पर्यटयन र कृषिमा पनि धेरै काम भएका छन् । अब भरतपुरमा रोजगारी सिर्जना गर्ने प्रमुख एजेण्डा हाम्रो छ ।’ वडा नम्बर २२ को वडा कार्यालय निर्माण भएपछि व्यवस्थित ढङ्गबाट सेवा प्रवाह हुने अपेक्षा लिएको प्रमुख दाहालले बताइन् । वडा कार्यालयसँगै निर्माण भएको १६ शैयाको अस्पताललाई विषेशज्ञ सेवासहित नगरस्तरीय वा वडास्तरीय अस्पतालको रुपमा विकास गर्न सकिने प्रमुख दाहालको भनाइ थियो । २ तल वडा कार्यालय निर्माण गर्न रु १ करोड ३२ लाख खर्च भएको वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए। यस्तै वागमती प्रदेश सरकारको रु १ करोड ५५ लाख सहयोगमा घरेलु प्रदर्शनी केन्द्र निर्माण भएको हो । केन्द्र सञ्चालनमा आएसँगै स्थानीय उत्पादनको प्रदर्शनी गर्न सहज हुने अपेक्षा लिइएको छ । एशियाली विकास बैंक÷जेएएफपिआरको अनुदान सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत कोभिड–१९ रेस्पोन्स आयोजनामार्फत रु १ करोड ६६ लाखको लागतमा १६ शैयाको अस्पताल निर्माण भएको हो । यसको स्वमित्व सोमबार नै भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले पटिहानी क्षेत्रमा विगत ७ वर्षको अवधिमा धेरै विकास निर्माणको काम भइसकेको उल्लेख गरिन् । भरतपुर वडा नम्बर २२ ले पर्यटन, खेलकुद, कृषिलगायतका क्षेत्रमा प्राथामिकताका साथ काम गरिरहेको बताइन् । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पटिहानी क्षेत्रले विषेश कामहरु अगाडि बढाइरहेको उनको भनाई थियो । कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललयागतले मन्तव्य व्यक्त गरेकी थिइन् ।

ज्योति विकास बैंकले सिराहाको श्री आधारभूत विद्यालयलाई दियो डेस्क बेञ्च

काठमाडौं । ज्योति विकास बैंकले गोलबजार वडा नं. १० धर्मपुर, सिराहास्थित श्री आधारभूत विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत २५ थान डेस्क बेञ्चहरु प्रदान गरेको छ। बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सिकाइ वातावरण अभिवृद्धि तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको हो। विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका गोलबजार शाखाका शाखा प्रबन्धक भुवन धमलाद्वारा गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठ, गोलबजार वडा नं। १० का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र मुखियाको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक मधुराम महतोलाई उक्त डेस्क बेञ्चहरु हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका कर्मचारी, शिक्षा क्षेत्रका स्थानीय पदाधिकारी, पूर्व वडा अध्यक्षहरु लगायत विद्यालयका कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले शिक्षामा गुणस्तरीय पूर्वाधारको महत्वमा जोड दिँदै सकारात्मक र समृद्ध शैक्षिक वातावरण निर्माणमा बैंकको सहयोग अत्यन्त सराहनीय भएको र बैंकको सामाजिक उत्तरदायित्वको कार्य प्रति धन्यवाद ज्ञापन गरे। साथै, विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकले डेस्क बेञ्चहरुको व्यवस्था भएसँगै कतिपय विद्यार्थीहरुलाई भुईँमा बसी अध्ययन गर्नुपर्ने बाध्यताको अन्त्य भएकोले सहयोगका लागि बैंकप्रति हार्दिक आभार व्यक्त गरे । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।