विकासन्युज

बिवाइडीले ल्यायो ‘नेपाली अब यूरो कपमा’ स्किम योजना

काठमाडौं । बिवाइडीको नेपालको लागि अधिकृत वितरक साइमेक्स इन्क प्रालिले यूईएफए (यूनियन अफ यूरोपियन फूटबल एशोसियसन) यूरो २०२४ को अवसरमा ‘नेपाली अब यूरो कपमा’ स्किम ल्याएको छ । फुटबल प्रेमी ग्राहकहरूलाई जर्मनीमा गई प्रत्यक्ष यूईएफए यूरो २०२४ का रोमाञ्चक खेलहरू हेर्ने मौका रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले बताए । उनका अनुसार बिवाइडी यूईएफए यूरो २०२४ को अधिकृत इ-मोबिलिटी पार्टनर हो । यूईएफए युरो कप सन् २०२४ जुन १४ देखि जुलाई १४ सम्म जर्मनीका १० वटा विश्व प्रसिद्ध स्टेडियमहरूमा आयोजना हुँदैछ । यूईएफए र न्यु इनर्जी भेहिकलको विश्वमै प्रमुख निर्माता बीवाइडीबीचको यो सम्झौता च्याम्पियनसिपको इतिहासमा पहिलोपटक भएको कम्पनीको दाबी छ । नविन प्रयोग र आविष्कारका साथ ग्राहकको सन्तुष्टिमा सदैव प्रतिवद्ध साइमेक्स प्रालिका अनुसार ११ भाग्यशाली विजेताहरुले यूईएफए यूरो २०२४ मा उपस्थित भई फुटबल खेलको प्रत्यक्ष रूपमा मनोरन्जन लिने अवसर पाउने छन् । यस स्किमले ग्राहकहरूलाई फुटबलको प्रत्यक्ष अनुभव गर्ने अविस्मरणीय अनुभव प्रदान गर्ने लक्ष्य बिवाइडीले राखेको छ । साइमेक्स प्रालि विद्युतीय सवारी साधनको क्षेत्रमा उत्कृष्टता र नवीनतालाई प्रेरित गर्दै ग्राहकहरुलाई अविस्मरणीय अनुभव प्रदान गरिरहेको छ ।

सुनसान अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम सुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो । चिसो बढेसँगै करिब दुई महिनादेखि सुनसान रहेको यस पदमार्गमा यतिबेला दैनिक २५/३० जनाको हाराहारीमा विदेशी पर्यटक आउने गरेको मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले बताए । उनले विगतमा दैनिक पाँचभन्दा बढीसम्म पर्यटक आउने गरेकामा अब अब विस्तारै बढ्दै जाने अपेक्षा रहेको बताए । चिसो मौसमका कारण पर्यटक नआउँदा सुनसान बन्दै गएको यस पदमार्गमा पर्यटक आउन थालेसँगै पर्यटन व्यवसाय चल्न थालेको उनको भनाइ थियो । चिसो छल्नका लागि मनाङवासी बाहिरी जिल्ला गए पनि उनीहरुसमेत विस्तारै आउने क्रममा छन् । मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले पर्यटकको आगमन ठप्प भएसँगै आफूहरु फुर्सदिलो बने पनि यतिबेला पर्यटक आगमन आउन थालेसँगै व्यस्त हुन थालेको बताए । पर्यटकको आगमन हुँदा धेरै थोरै भए पनि आम्दानी हुन थालेको छ । यस याममा पहिला इजरायली नागरिक सबैभन्दा बढी आउने गरे पनि यस वर्ष इजरायली र हमासबीचको युद्धका कारण इजरायली पर्यटक नदेखिएको उनले बताए । पर्यटक बढ्दा दैनिक ६० हजारभन्दा बढी हाराहारीमा व्यापार हुँदै आएको उल्लेख गर्दै पर्यटन व्यवसायी गुरुङले मार्च ३ गतेदेखि अप्रिल अन्तिमसम्मै पर्यटकले उनको होटल बुकिङ गरिसकेका छन् । पर्यटन व्यवसायीहरू मेखबहादुर गुरुङ, खुसीराम गुरुङ, देवीजङग गुरुङ, चेतबहादुर गुरुङ, बगबहादुर गुरुङ पूर्णबहादुर गुरुङ, राजमान गुरुङलगायत यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा रहेका होटल व्यवसायीले अहिले काम पाउन थालेका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङको चौतारा क्षेत्रका होटल व्यवसयामा समेत आम्दानी हुन थालेको छ । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज तथा प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । यहाँ आउने पर्यटक विशेष गरेर थोराङपास, लार्केपास, र कांलापासका साथै विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल अवलोकनका लागि आउने गरेको पाइन्छ । त्यस्तै यस क्षेत्रमा पर्ने अग्लाअग्ला हिमशृङ्खला अन्नपूर्ण दोस्रो, तेस्रो र चौथोलगायत गङ्गापूर्ण, जुलू पिक, पिसाङ पिक, नीलगिरि र तिलिचो पिकजस्ता हिमाल नजिकैबाट अवलोकन गर्न पर्यटक आउने गरेको मनाङवासीले बताए । लमजुङ बेँसीसहरबाट सुरु भई अन्नपूर्ण पदमार्गको यात्रा धारापानी र मनाङहुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, घोरेपानीबाट पोखरा पुगेर सम्पन्न हुन्छ । पाँच हजार चार सय १६ मिटरको उचाइमा रहेको थोराङ भञ्ज्याङलाई पर्यटकहरूले पास गर्ने गर्दछन् । पदयात्राका सौखिनका पारखीका लागि यस पदमार्ग महत्वपूर्ण मानिन्छ । विगतमा १८ दिनसम्म यात्रा हुने यस पदमार्गको यात्रा भने सडक विस्तारले छोटिएसँगै व्यवसायमा समेत असर परे पनि पर्यटकको आगमनले व्यवसाय चल्दा आम्दानीको बाटो भइरहेको पर्यटन व्यवसायीहरूले बताए । रासस

भरतपुरमा उद्यमशिलताको विकास गरी रोजगारी सिर्जना गर्ने छौं : रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी कार्यभार भरतपुरको उद्यमशिलताको विकास रहेको बताएकी छिन् । भरतपुर २२ को नवनिर्मित भवन, १६ शैयाको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास प्रयाप्त भएकाले आगामी कार्यभार धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गरिन्। महानगरपालिकामा विगत ७ वर्षमा पूर्वाधार विकासमा उल्लेखिय काम भइसकेकाले अब भने भरतपुरवासीलाई उद्यमशिलतामा लाग्ने उनको भनाई छ । ‘भरतपुरमा एकै वडामा ५० किमीभन्दा बढी कालोपत्रे सडक निर्माण भइसेका छन्, उनले भनिन्, ‘शिक्षा, स्वास्थ्य, पर्यटयन र कृषिमा पनि धेरै काम भएका छन् । अब भरतपुरमा रोजगारी सिर्जना गर्ने प्रमुख एजेण्डा हाम्रो छ ।’ वडा नम्बर २२ को वडा कार्यालय निर्माण भएपछि व्यवस्थित ढङ्गबाट सेवा प्रवाह हुने अपेक्षा लिएको प्रमुख दाहालले बताइन् । वडा कार्यालयसँगै निर्माण भएको १६ शैयाको अस्पताललाई विषेशज्ञ सेवासहित नगरस्तरीय वा वडास्तरीय अस्पतालको रुपमा विकास गर्न सकिने प्रमुख दाहालको भनाइ थियो । २ तल वडा कार्यालय निर्माण गर्न रु १ करोड ३२ लाख खर्च भएको वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए। यस्तै वागमती प्रदेश सरकारको रु १ करोड ५५ लाख सहयोगमा घरेलु प्रदर्शनी केन्द्र निर्माण भएको हो । केन्द्र सञ्चालनमा आएसँगै स्थानीय उत्पादनको प्रदर्शनी गर्न सहज हुने अपेक्षा लिइएको छ । एशियाली विकास बैंक÷जेएएफपिआरको अनुदान सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत कोभिड–१९ रेस्पोन्स आयोजनामार्फत रु १ करोड ६६ लाखको लागतमा १६ शैयाको अस्पताल निर्माण भएको हो । यसको स्वमित्व सोमबार नै भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले पटिहानी क्षेत्रमा विगत ७ वर्षको अवधिमा धेरै विकास निर्माणको काम भइसकेको उल्लेख गरिन् । भरतपुर वडा नम्बर २२ ले पर्यटन, खेलकुद, कृषिलगायतका क्षेत्रमा प्राथामिकताका साथ काम गरिरहेको बताइन् । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पटिहानी क्षेत्रले विषेश कामहरु अगाडि बढाइरहेको उनको भनाई थियो । कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललयागतले मन्तव्य व्यक्त गरेकी थिइन् ।

ज्योति विकास बैंकले सिराहाको श्री आधारभूत विद्यालयलाई दियो डेस्क बेञ्च

काठमाडौं । ज्योति विकास बैंकले गोलबजार वडा नं. १० धर्मपुर, सिराहास्थित श्री आधारभूत विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत २५ थान डेस्क बेञ्चहरु प्रदान गरेको छ। बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सिकाइ वातावरण अभिवृद्धि तथा समग्र शैक्षिक अनुभवमा सुधार ल्याउने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको हो। विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका गोलबजार शाखाका शाखा प्रबन्धक भुवन धमलाद्वारा गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठ, गोलबजार वडा नं। १० का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र मुखियाको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक मधुराम महतोलाई उक्त डेस्क बेञ्चहरु हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका कर्मचारी, शिक्षा क्षेत्रका स्थानीय पदाधिकारी, पूर्व वडा अध्यक्षहरु लगायत विद्यालयका कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले शिक्षामा गुणस्तरीय पूर्वाधारको महत्वमा जोड दिँदै सकारात्मक र समृद्ध शैक्षिक वातावरण निर्माणमा बैंकको सहयोग अत्यन्त सराहनीय भएको र बैंकको सामाजिक उत्तरदायित्वको कार्य प्रति धन्यवाद ज्ञापन गरे। साथै, विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकले डेस्क बेञ्चहरुको व्यवस्था भएसँगै कतिपय विद्यार्थीहरुलाई भुईँमा बसी अध्ययन गर्नुपर्ने बाध्यताको अन्त्य भएकोले सहयोगका लागि बैंकप्रति हार्दिक आभार व्यक्त गरे । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।

मेरोमाइक्रोफाइनान्सले गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेवा विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत आफ्ना ग्राहकहरुलाई चितवन र तनहुँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यत्रमहरुमा ग्राहकहरुको आवस्यकतालाई ध्यानमा राखी प्रबिधिमैत्री लघुबित्त सेवा सुविधा ,एसएमएस तथा मोबाइल बैंकिङ्ग , बचत खाता, कर्जा तथा बिमालगायत बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधा बारे चेतना तथा पहुँच पुर्‍याउने उद्देश्य रहेको चैनपुर अनुगमन कार्यालय चितवनका प्रमुख सरोज पण्डितले बताए । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड देशका गणनीय ७ वटा बाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

साधना लघुवित्तद्धारा ९ वटा नगरपालिका तथा गाउँपालिकामा वित्तीय सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । साधना लघुवित्तद्धारा ९ वटा नगरपालिका तथा गाउँपालिकामा वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाले ५ प्रदेशका ३१ जिल्लामा ९३ बटा शाखा कार्यालयबाट बचत,कर्जा विमा,तालिम तथा विप्रेशण लगाएतका वित्तीय सेवाहरु प्रत्यक्ष रुपमा प्रदान गरिरहेको छ । स्थानिय स्तरमा रोजगारीको सिर्जना गर्दै लघुउद्यम ब्यबसायको प्रवर्दन, बिस्तार र सबलीकरण, ग्राहक सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरण, महिला शसक्तिकरण, वित्तीय सचेतना बिस्तारमा अग्रणी भूमिका निर्वाह गरेको छ । गोरखामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले १ लाख ६ हजार घरधुरीलाई बित्तीय सेवा प्रदान गरी ५७ हजार सदस्यलाई रु ५ अर्ब ५० करोड कर्जा लगानी गरी लघुउद्यम ब्यबसायको प्रवर्दन संगै आर्थिक रुपान्तरण र उद्यमशीलताको बिकास गरी आवद्ध ग्राहक सदस्यको जिबनस्तरमा सकारात्मक परिवर्तन गर्दे आएको छ । लघुवित्त कार्यक्रमले ग्राहक सदस्यहरुमा बचत गर्ने बानीको बिकास गर्ने, फजुल खर्च घटाउन प्रेरणा दिने,स्थानिय स्तरमा नै लघुउद्यमी बनाउन प्रेरित गर्छ । वर्तमान अबस्थामा वित्तीय क्षेत्रहरुमा देखिएको समस्यालाई दिगो रुपमा समाधान गर्न ग्रामीण क्षेत्रमा कृषीमा आधुनिकीकरण र ब्यबसायीकरण, पर्यटन पूर्बाधारको बिकास गरी स्थानिय स्तरमा नै सक्रिय आर्थिक क्रियाकलाप गर्न लघुवित्त कार्यक्रमले महत्बपूर्ण भूमिका निर्बाह गरेको छ । बिशेषतः बिपन्न र गरिबीको रेखामुनि रहेका नागरिकको जीबनशैली र वित्तीय अबस्थामा सुधार गरी गरिबी न्यूनीकरण गर्ने, प्रत्यक्ष, परोक्ष रुपमा ग्रामीण र दुरदराजमा वित्तीय सेवाहरु प्रबाह गर्ने पबित्र उद्देश्य राखेर सञ्चालीत हने लघुवित्त वित्तीय संस्थाहरुमा कहिले काँही हुने अस्भाबिक घटनाहरुले लघुवित्त वित्तीय संस्थाहरुले गरेका सकारात्मक कार्यहरु ओझेलमा परि नकारात्मक धारणको विकास भएको छ ।

जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया : पुराना बाइक वा स्कुटरसँग नयाँ स्कुटर साट्ने अवसर

काठमाडौं । जीहो इलेक्ट्रीक स्कुटरले एक्सचेन्ज स्कीम ल्याएको छ । सीएफ मोटो मोटरसाइकल तथा स्कुटर जीहो इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले एक्सचेन्ज एण्ड अपग्रेड मेनिया योजना ल्याएको हो । कम्पनीका अनुसार उक्त एक्सचेन्ज मेला नक्साल शोरुममा मंगलबारदेखि ४ दिनसम्म संचालन हुनेछ । यस योजनामा ग्राहकले आफूसँग भएका जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग जीहोका नयाँ स्कुटर साट्न सक्नेछन् । यो योजनामा जीहोको एई ६ मा २० हजार रुपैयाँ र एई ८ मा २५ हजार रुपैयाँ थप मूल्याङ्कन दिने कम्पनीले जनाएको छ । कम्पनीले ‘जिहो एई ६ प्लस’ प्रिमियम स्कुटर ३ लाख ४४ हजार ९०० रुपैयाँ र एई ८ को मूल्य ४ लाख ९० हजार रुपैयाँमा बिक्री गर्दै आएको छ । जीहो एई६ प्लसमा १.८ किलोवाटको ब्याट्री, ५.५ किलोवाट पिक पावरको साइड मोटर छ भने जम्मा ३.५ घण्टा चार्ज गरी अधिकतम ९० किलोमिटरको रेन्ज पाउन सक्ने छन् । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा छ । त्यसैगरी एई ८ मोडलको सकुटरमा १२.५ किलोवाटको पिक पावर रहेको मिड-माउन्टेड मोटर र ४.४ किलोवाट आवरको डबल ब्याट्री पाउन सकिन्छ । यसलाई ४ घण्टा चार्ज गर्दा अधिकतम १६० किलोमिटरको रेन्ज पाउन सकिन्छ । यसको टप स्पीड १२० किलोमिटर प्रतिघण्टा छ ।

सरकारको ३१ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत, ब्याजदर कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको ३१ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेका सो रकम बराबरको विभिन्न ४ वटा ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा ७ अर्ब रुपैयाँको २०८८ ‘च’ नामक विकास ऋणपत्र सूचीकृत भएको छ । ८ वर्षे अवधि रहेको उक्त ऋणपत्रको ब्याजदर ६ प्रतिशत रहेको छ । गत मंसिर २० गते निष्काशन भएको यो ऋणपत्रको भुक्तानी २०८८ मंसिर २० गते हुने छ । त्यस्तै, ७ अर्ब रुपैयाँको २०८५ ‘ट’ नामक विकास ऋणपत्र सूचीकृत भएको हो । उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको छ भने ब्याजदर ५.५६ प्रतिशत रहेको छ । यो ऋणपत्र गत पुस ६ गते निष्काशन भएको हो । त्यसैगरी, ७ अर्ब रुपैयाँ बराबरको अर्को अर्थात २०८८ ‘छ’ नामको विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । जसको ब्याजदर ५.९६ प्रतिशत रहेको छ । ८ वर्षे अवधि रहेको यस विकास ऋणपत्रको भुक्तानी २०८८ पुस २३ गते हुने छ । विभिन्न ४ वटा ऋणपत्रमध्ये नेप्सेमा सबैभन्दा बढी अर्थात १० अर्ब रुपैयाँ बराबरको २०८५ ‘ठ’ नामको विकास ऋणपत्र सूचीकृत भएका छन् । ५ वर्षे अवधि रहेको उक्त ऋणपत्रको ब्याजदर ५.८४ प्रतिशत रहेको छ । गत माघ १२ गते निष्काशन भएको यो ऋणपत्रको भुक्तानी २०८५ माघ १२ गते हुने जनाइएको छ ।