विकासन्युज

महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा

कञ्चनपुर । सुदूरपश्मिमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा सुरुवात भएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ डा. इच्छा ढकालले सेवा प्रदान गर्न थालेसँगै सुदूरपश्चिममै पहिलोपटक बाल क्यान्सर रोग विशेषज्ञ सेवा सुरु भएको हो । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अर्जुन भट्टले भने, ‘अस्पतालमा पहिलोपटक बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ आउनुभएको छ । बालबालिकामा हुने क्यान्सरको पहिचान गर्न र समयमै उपचार गरी निको पार्न सकिन्छ ।’ रक्तरोग विशेषज्ञ डा. ढकालले बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव रहे पनि बाल क्यान्सर हुनै नदिने गरी रोकथाम गर्न कठिन हुने बताइन् । ‘वयस्कहरूले धूमपान तथा मद्यपान सेवन नगर्ने र स्वस्थ जीवनशैली अपनाउने हो भने क्यान्सरबाट जोगिन सकिन्छ,’ उनले भनिन्, ‘बालबालिकामा हुने क्यान्सर अलि फरक छ, वयस्कलाई झैँ रोकथामका उपाय अपनाउन सकिँदैन ।’ उनका अनुसार बालबालिकामा रक्त क्यान्सर (ब्लडक्यान्सर), ग्रन्थी आँखाको क्यान्सर, मिर्गौलामा क्यान्सर आदि हुन् । सामान्यतया बालबालिकालाई लामो समयसम्म ज्वरो आउने तर ज्वरोको कतिपय अवस्थामा रगत बग्ने, शरीरमा निलो डाम देखापर्ने गर्छ । उनले क्यान्सरका बिरामी अन्तिम समयमा अस्पतालमा पुग्ने गरेका कारण उपचारका कठिनाइ हुने गरेको बताइन् । ‘क्यान्सरका बिरामी ढिलोगरी अस्पतालमा उपचारका लागि आउने गरेका छन्,’ डा. ढकालले भनिन्, ‘समयमै उपचार गर्नसके क्यान्सर निको पार्न सकिन्छ ।’ महाकाली अस्पतालमा जनशक्ति र उकरण अभावले क्यान्सरको उपचार सम्भव नभए पनि क्यान्सरको पहिचान गरी समयमै उपचार गर्नसके यसको निदान सम्भव रहेको उनले बताइन् । प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले पछिल्लो समय अस्पतालमा विशेषज्ञ सेवा थपिँदै गएको बताए । ‘अस्पतालमा २८ विषेशज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले १३ विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन्,’ उनले भने, ‘अस्पतालले गाइनोलगायतका विशेषज्ञ सेवा थप्दै छ ।’ पछिल्लो समय अस्पतालले डायलायसिस सेवासमेत सुरु गरेपछि यहाँका सेवाग्राहीलाई सहज भएको छ ।

बन्द भए उत्तर इलामका विद्यालय, पढ्न भारत जानुपर्ने बाध्यता

इलाम । सन्दकपुर गाउँपालिका-५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छन् । ‘भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु,’ उनले भने । विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ । पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट पढाउन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताए । जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको आठ वर्ष भयो । कक्षा १ देखि ५ सम्म पढाइ हुँदै आएको उक्त विद्यालय विद्यार्थी अभावका नाममा २०७२ सालमा बन्द भएको थियो । ‘सीमा क्षेत्रका धेरै बालबालिकालाई भारतीय विद्यालयमा पढ्न पठाउन थालेपछि यहाँका विद्यालयमा विद्यार्थी अभाव भयो, उक्त विद्यालय ८० जनासम्म बालबालिका अध्ययन गर्न आउने गर्थे । त्यसपछि उक्त विद्यालय स्थापनाको कुनै पहल भएको छैन’, उनले भने । अहिले यस क्षेत्रबाट मात्रै करिब १५ जना बालबालिका मानेभञ्ज्याङको रिब्स विद्यालयमा पढ्छन् । महिनाको भारु १५ देखि १८ हजार खर्च हुने गरेको मानेभञ्ज्याङमा कोठा लिएर नानी पढाउन बस्नुभएकी डोमा शेर्पाले बताए । डोमाले भने, ‘आफ्नै देशमा बच्चा पढाउन पाएको भए सहज हुन्थ्यो, विद्यालय छैन, कामकुरो सबै बर्बाद भएको छ ।’ जौबारीको मात्रै होइन, माइजोगमाई–२ को मेग्मामा रहेको सरस्वती प्राथमिक विद्यालय, सन्दकपुर–५ कालपोखरीमा रहेको प्राथमिक विद्यालय, सन्दकपुर–५ को मजुवामा रहेको अर्को प्राथमिक विद्यालय बन्द भइसकेको राष्ट्रिय प्रावि जौबारीका पूर्वप्रधानाध्यापक पासाङछिरिङ शेर्पाले जानकारी दिए । जसका कारण उक्त क्षेत्रका नानीबाबुलाई अध्ययनका लागि नजिकैका भारतीय बजार लैजानुपरेको उनले जानकारी दिए । लेकाली क्षेत्रमा विद्यालय नहुँदा जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबासलगायतका सबै बालबालिका भारतीय विद्यालय लैजानुपरेको छ । सीमाक्षेत्रका कतिपय बालबालिका घरबाटै धाएर विद्यालय जाने गरेका हुन् । कतिपयको भने पढ्नका लागि महँगो शुल्क र अभिभावकसहित भारतीय बजारमा बास हुने गरेको छ । यहाँ लेकाली क्षेत्र भएका कारण पातलो बस्ती र जनघनत्व पनि कम छ । इलामको जौबारी, मेग्मा, कालपोखरीलगायत धेरै स्थानका सामुदायिक विद्यालय विद्यार्थी अभावमा बन्द भइसकेका छन् । भारतीय विद्यालयमा आफ्ना नानीबाबु भर्ना गरेपछि नेपालतर्फका विद्यालय विद्यार्थी अभावकै कारण बन्द भएको जौबारीका थुक्तेन लामाले जानकारी दिए । सीमा क्षेत्रका नेपाली विद्यार्थी भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा पढ्न जाने गरेको लामाले जानकारी दिए । ‘नेपालतर्फ विद्यालय छैन, नानीहरूलाई जति महँगो भए पनि पढाउनु त पर्छ नि, यो सीमावासीको रहरभन्दा पनि बाध्यता हो,’ उनले भने । यसरी विद्यार्थी भारत लैजाँदा पैसा त खर्च हुन्छ नै नेपालको राष्ट्रियता, स्वाभिमानजस्ता विषयसमेत नेपाली बालबालिकाले थाहा नपाउने गरेको शेर्पाको भनाइ छ । बन्द भएका विद्यालय जीर्ण बनिसकेका छन् । जौबारीको राष्ट्रिय प्राविमा भने केही समयअघि सशस्त्र प्रहरी बसेको थियो । उक्त विद्यालयमा बसेरै सशस्त्रले विद्यालय नजिकै आफ्नो भवन निर्माण गरेको छ । सीमा क्षेत्रमा विद्यालय सञ्चालन गर्न हालसम्म सरोकारवाला निकायले चासो देखाएका छैनन् ।

धितोपत्र बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान, अन्तिम मिति फागुन ३०

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । धितोपत्र बोर्डले बुधबार एक सूचना जारी गरी अध्यक्ष पदको पूर्तिका लागि ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’को दफा ७ बमोजिम सिफारिस गर्ने प्रयोजनको लागि गठित समितिले खुल्ला प्रतियोगिताद्वारा दरखास्त आह्वान गरेको हो । योग्य नेपाली नागरिकले ५ हजार दस्तुर तिरेर फागुन ३० गतेभित्र अर्थात आगामी १५ दिनसम्म आवेदन दिन सक्नेछन् । पुस २२ गतेदेखि बोर्ड अध्यक्षको पद खाली थियो । अध्यक्ष चयनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव कृष्णहरि पुष्कर र उदय निरौला सदस्यीय रहेको छनौट समिति छ । समितिले तयार पारेको कार्यविधी अनुसार बोर्ड अध्यक्ष बन्नका लागि धितोपत्र सम्बद्ध विभिन्न क्षेत्रमा कम्तीमा सात वर्षको पेसागत अनुभव र स्नातकोत्तर उतिर्ण भएको हुनुपर्ने छ । वाणिज्य, कानुन, धितोपत्र बजार र व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय क्षेत्रमा अनुभव हुनेले आवेदन दिन सक्नेछन् । विद्यावारिधी गरेका उम्मेदवारले अतिरिक्त ३ अंक पाउनेछन् । शैक्षिक योग्यताका लागि १२ अंक, व्यावसायिक कार्ययोजना ४०, कार्ययोजना प्रस्तुतिकरण १८ र अन्तर्वार्ताका लागि ३० अंक तोकिएको छ ।

पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार दिएको जानकारी अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार बिहीबार र शुक्रबार पनि मौसममा आंशिक बदली जारी रहने र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने छ ।

श्रीलंकाले साना तथा मझौला उद्यमीलाई ऋण दिने

कोलम्बो । श्रीलंका सरकारले आर्थिक मन्दीबाट प्रभावित साना तथा मझौला उद्यमीहरू (एसएमई) र अन्य व्यवसायीहरूलाई सहयोग गर्न २० अर्ब रुपैयाँ (करिब ६४.५ मिलियन अमेरिकी डलर) ऋण उपलब्ध गराउने भएको छ । मन्त्रीपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले मंगलबार सो प्रयोजनका निम्ति एसियाली विकास बैंक (एडिबी) को सहयोग प्राप्त हुने पत्रकार सम्मेलनमा बताएका छन् । प्रवक्ता गुणवर्द्धनाले नयाँ र स्थापित दुवै व्यवसायलाई १५ अर्ब रुपैयाँ (४८.३ मिलियन डलर) ऋणमा पहुँच प्रदान गर्ने र बाँकी ५ अर्ब रुपैयाँ (१६.१ मिलियन डलर) निष्क्रिय कर्जाको मारमा परेका साना तथा मझौला उद्योगका लागि विनियोजन गरिने बताए । ऋण संस्थाहरूमार्फत वितरण गरिनेछ ।

काठमाडौंबाट सर्लाही जाँदै गरेको ट्रकबाट ६२० किलो गाँजा बरामद

मलेखु । धादिङको गजुरी गाउँपालिका–२, बिहानी पेट्रोलपम्प नजिकबाट प्रहरीले ६ सय २० किलो गाँजा बरामद गरेको छ । काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८३०९ नम्बरको ट्रकमा राखिएको ६ सय २० किलो गाँजासहित धादिङ प्रहरीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो । लागुऔषध गाँजासहित ट्रक चालक सर्लाहीको २९ वर्षीय सन्तोषकुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मङ्गलबार बिहान जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीको कमाण्डमा खटिएको टोली खटिएको टोलीले उक्त परिमााणको गाँजा बरामद गरेको हो । पृथ्वी राजमार्गबाट ठूलो परिमाणमा गाँजा लिएर एउटा ट्रक सर्लाहीतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा नियन्त्रण गर्न सफल भएको प्रहरी उपरीक्षक केसीले बताए । गाँजासहित पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

महिलालाई आत्मनिर्भर बनाउन हस्तकला तालिम

गण्डकी । हस्तकलाका माध्यमबाट महिलालाई आत्मनिर्भर तुल्याउने उद्देश्यका साथ पोखरा महानगरपालिका–१२ को आयोजना तथा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रको सहकार्यमा महिलाका लागि एकमहिने हस्तकला तालिम पोखरामा प्रारम्भ भएको छ । हस्तकलाजन्य सीप भएमा त्यसबाट उत्पादित समानको बजारीकरण गरी आयआर्जन भई आत्मनिर्भर बन्दै स्वरोजगार बन्न सहयोग पुुगोस् भन्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको पोखरा महानगरपालिका–१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । महिलालाई सीप सिक्ने अवसरका निम्ति वडा कार्यालयले गरेको लगानीलाई उपलब्धिमूलक बनाउन आग्रह गर्दै वडाध्यक्ष बास्तोलाले दत्तचित्त भई नियमितरुपमा हाजिरी गरी सीप सिक्न आग्रह गरे । विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रका सञ्चालक तथा मुख्य प्रशिक्षक सविता श्रेष्ठले यसै बितेर जाने समयमा सीप सिकेर आत्मनिर्भर हुने, आयआर्जन गर्ने र स्वरोजगार हुने अवसरलाई सदुपयोग गरेर उद्यमशील बन्ने बाटो समाउनु नै सीप हस्तान्तरणको मर्म भएको बताए । दक्षतामा आधारित तालिम लिएपछि स्वरोजगार भई उत्पादित हस्तकलाका सामग्रीको बजारीकरण गर्ने जिम्मा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रले लिने उनले प्रतिबद्धता व्यक्त गरे । तालिम संयोजक शान्ति कोइराला, गोविन्दबहादुर सिग्देल, वडा सदस्य गुुमा परियारले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गरे ।

कालीकोटका ५३ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

कालीकोट । कालीकोटमा स्वास्थ्य बीमा लागु भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बीमा गराएका छन् । बीमा गराएका मध्ये १७ हजार ६ सय १२ जनाले शुल्क तिरेका छन् । एकतीस हजार ८४ अति गरिब, एक हजार सात सय चार अपाङ्ग, एक सय ५५ एचआइभी सङ्क्रमित, ३० कुष्ठरोगी, दुई हजार एक सय ४७ ज्येष्ठ नागरिक, एक सय ७३ महिला स्वास्थ्य स्वयमंसेविकाले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका जिल्ला संयोजक सर्पराज रोकायाले जानकारी दिए । ‘महिला स्वास्थ्य स्वयमंसेविकाले बीमा रकममा ५० प्रतिशत छुट पाउने व्यवस्था छ,’ उनले भने । हाल जिल्ला महिला स्वास्थ्य स्वयमंसेविकाको सङ्ख्या दुई सय ९८ रहेको छ । जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भए पनि ९२ हजार एक सय ५३ अर्थात् ६३ प्रतिशत नागरिकले सो कार्यक्रमबाट अझै लाभ लिन सकेका छैनन् । सरकारले अपाङ्ग, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित र ज्येष्ठ नागरिकको निःशुल्क बीमा गर्ने व्यवस्था गरेको छ । अन्यको शुल्क लिएर रु एक लाख बराबरको स्वास्थ्य बीमा गर्ने गरेको संयोजक रोकायाले बताए । ‘आर्थिक अवस्था कमजोर भएकालाई बीमाबाट लाभ हुने भए पनि त्यसबारे जानकारी नहुँदा सेवाबाट वञ्चित छन्,’ उनले भने, ‘गाउँघरमा स्वास्थ्य बीमाबारे जानकारी दिन जरुरी छ ।’ सरकारले २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको हो ।