विकासन्युज

माता पाथिभरा बचत तथा ऋण सहकारीका अध्यक्ष श्रेष्ठ जेल चलान

पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको श्रेस्तेदार राजु ढुङ्गानाले जानकारी दिए । श्रेष्ठसँगै कपास सफ्टवेयरका सञ्चालक प्रतिमान पौडेललाई पनि पुर्पक्षका लागि जेल चालन गर्न आदेश भएको छ । सहकारी ठगीमा श्रेष्ठ २० दिनदेखि प्रहरी हिरासतमा रहेका थिए भने यसअघि तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी र ग्रामीण विकास कृषि सहकारी संस्थाको ठगी प्रकरणमा प्रतिमान पौडेल पुर्पक्षका लागि थुनामै थिए । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार माता पाथिभरा बचत तथा ऋण सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको जनाउँदै बचतकर्ता अर्जुनकुमार श्रेष्ठलगायतले मुद्दा दायर गरेका थिए । सहकारी रजिष्ट्रार कार्यालयले अनुसन्धान गर्दा उक्त सहकारीमा ११ करोड ११ लाख ९० हजार तीन सय २२ रुपैयाँ हिनामिना गरेको आरोप बचतकर्ताको छ । सहकारीका अन्य २३ जना सञ्चालक भने फरार सूचीमा छन् । यसअघि कुश्माको तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका दुईजना र ग्रामीण विकास कृषि सहकारी संस्थाका छजना पुर्पक्षका लागि थुनामा रहेका छन् । रासस

नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् रोजिता बुद्धाचार्य

काठमाडौं । सगरमाथी आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला भएकी छिन् । नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै बुधवार अध्ययनका लागि नासा प्रस्थान गरेकी हुन् । यसअघि पनि रोजिताले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरस्थित स्पेस टेलिस्कोप साइन्स इन्स्ट्च्यिुटमा छात्रवृत्तिमा अध्ययन गरिसकेकी छिन् । सन् २०१६ मा केन्द्रिय भौतिकशास्त्र विभाग, त्रिभूवन विश्वविद्यालयमा भएको एस्ट्रोफिजिक्स स्कुल कार्यक्रममा भाग लिएसँगै युनिभर्सिटी अफ मेलबर्नका सहप्राध्यापक मिकेला टेन्टी र क्लेयर केनयन, युरोपियन स्पेस एजेन्सीका वैज्ञानिक नोरा लुत्जन्डर्फ र निकोलस कोपर्निकस एस्ट्रोनोमिकल सेन्टर, पोल्याण्डका प्राध्यापक आन्द्रे जियास्कीको उत्कृष्ट विद्यार्थीको नजरमा परेसँगै छात्रवृत्तिमा बाल्टिमोर अध्ययनका लागि छनोट भइन् । विश्वभरबाट पाँच सय आवेदकमध्ये १४ जनामा छनौट भएसँगै स्पेस टेलिस्कोप साइन्स इन्स्ट्च्यिुटमा अध्ययन गर्ने अवसर मिलेको थियो । उनलाई अहिले नासामा पनि पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि अवसर मिलेको छ । काठमाडौंमा एक कार्यक्रमबीच उनलाई मोतीदेवी स्मृति केन्द्रले शाहसिक महिला, सगरमाथा आरोही तथा युवा वैज्ञानिक सम्मान कार्यक्रम गरेको हो । कार्यक्रमको अवसरमा बोल्दै उनले विगतको आफ्नो आर्थिक अवस्था कमजोर हुँदा खेप्नुपरेको समस्या र दुःखको स्मरण गरिन् । उनले आफूले स्पेस टेलिस्कोप साइन्स इन्स्ट्च्यिुटमा अध्ययनका क्रममा प्रश्न, प्रश्न सोध्ने बानी, प्रश्नलाई कसरी समाधान गर्ने र त्यसको उत्तर के भन्नेकुरा नै वैज्ञानिक हुनुको आत्मा रहेको आफूले बुझेको बताइन् । ‘बाङ्गेमुडामा एउटा अध्याँरो कोठा, त्यसमाथि जिरो वाडको चिम भन्छ, जिरो वाडको चिम बालेर हामी पढ्थ्यौँ । त्यत्ति बचाउन पनि जति बेलासम्म अध्याँरो हुँदैन, त्यति बेलासम्म कोठामा बत्ती बल्दैन थियो । दिदिको विवाह भइसकेपछि पनि बुवाले बोल्नुभएको थिएन राम्रोसँग । दिदिहरुको त्याग तपस्या र प्रतिफलले गर्दा पढ्नैपर्छ भन्ने भयो । त्यहाँ प्रश्न गर्ने बानीलाई यति धेरै मलजल गर्ने रहेछ की, त्यही प्रश्न, प्रश्न सोध्ने बानी, प्रश्नलाई कसरी समाधान गर्ने र त्यसको उत्तर के होला भन्नेकुरा नै खास वैज्ञनिक हुनुको आत्मा रहेछ’, उनले भनिन् । नासामा अध्ययन गर्ने पहिलो नेपाली महिला वैज्ञानिकलाई मोतीदेवी स्मृति केन्द्र, शाहसिक महिला, सगरमाथा आरोही तथा युवा वैज्ञानिक सम्मान गरिएको थियो । उनले अन्तरिक्षयात्री बन्ने लक्ष्यसहित नासामा अध्ययन गर्ने बताएकी छिन् ।

सबैभन्दा पातलो स्मार्टफोन भी३० ल्याउँदै भिभो

काठमाडौं । भिभोले भिभो भी३० रिलिज गर्न लागेको छ । यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता गरेको कम्पनीले बताएको छ । भिभो भी३० ले भी सिरिजको सिग्नेचर औरा लाइट र स्लिम डिजाइनलाई समेत जारी राखेको छ । यो स्मार्टफोन भिभोको ५००० एमएएचको विशाल ब्याट्री भएको सबैभन्दा पातलो स्मार्टफोन हो । भी३० ले ड्रप सिमुलेशन र चरम तापक्रम परीक्षणहरू सहित ७० भन्दा बढी कठोर परीक्षणहरू सफलतापूर्वक पार गरेको कम्पनीले जनाएको छ । साथमा थ्रीडी कर्भ स्क्रिनले यसलाई हाइ एन्ड स्र्माटफोनको अनुभूति दिनेछ । उत्कृष्ट १२० हर्ट्ज रिफ्रेस रेटको साथमा भी३० ले स्टनिङ भिजुअल प्रदान गर्नेछ । पारिवारिक जमघटहरू र चाडपर्वहरूमा प्राय ग्रुप फोटो नै रुचाउने गरिन्छ । यही मागलाई सम्बोधन गर्दै भी३०ले वाइड–एंगल क्यामेरालाई अपग्रेड गरेको छ । भी३०मा ५० एमपी एएफ अल्ट्रा वाइड–एंगल क्यामेरा फिचर रहेको छ । भी३० मा ८० वाटको फास्ट चार्जिङ पनि उपलब्ध हुनेछ ।

पुलको काम थालिएपछि महोत्तरीका बासिन्दा भन्छन् : हाम्रो वर्षौँको सपना पूरा हुने भयो

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका स्थित चुरे काछका बासिन्दा पुल बन्ने आशामा  खुसी भएका छन् ।  बर्दिबास–४ काछकै वरडाँडा बस्तीका श्याम थिङ भन्छन्, ‘हेर्नोस् न, अहिले जङ्घाखोलामा पुल बन्न थालेपछि खोला वारिपारिका काछवासीलाई के–के न हुँदैछ भन्ने परेको छ । मान्छे खुसी हुन धेरै ठूलो काम चाहिने होइन रहेछ, मनले चिताएको  कुरा भए पुग्यो ।’ चुरे शृङ्खलाको काछैकाछको आउजाउमा जङ्घाखोलाले दिएको दुःख सम्झँदै यहाँका बासिन्दा पुल निर्माण सम्पन्न भएपछि बर्दिबासचोक, बजार आवत जावत गर्न सजिलो हुने बताउँछन् । ‘बर्खे भेलको मात्रै कुरा होइन, वारिपारि गर्न करकरे बालुले नै डेग रोक्छ’, बर्दिबास-४ वरडाँडा सिरानबस्तीकी मनमाया तामाङ भन्छिन्, ‘खै पुल बन्ने भनेर काम थालेका देख्छन्, अब हाटबजार, ओल्लोपल्लो गाउँ आउजाउ निकै सजिलो हुने भयो ।’ गर्मीयाममा खोलाको भासिने तातो बालु छिचोल्न पर्ने दुःखका दिन पनि भेल पछिपछिको सास्ती रहेको उनको भनाइ छ । बर्दिबासका चुरे काछवासीको हाटबजार बर्दिबास, सर्लाहीको लालबन्दी र धनुषाको ढल्केवर रहँदै आएको छ । खासगरी तरकारीखेती गर्ने  यहाँका किसान कृषि उपजको थोक किनबेच हुने हुँदा ढल्केबर र लालबन्दी बाक्लै पुग्छन् । हिउँदमा भासिने बालुमा कसैगरी ठेलठाल पारेर मोटरसाइकल र साना भ्यान निकालिए पनि बर्खाभरि भने वारिपारि गर्न पैदल पाँच मिनेट लाग्ने ठाउँमा १० किलोमिटर छिचोल्नुपर्ने दिक्दारी व्यहोर्दै आइएको बर्दिबास-४ र ५ का काछवासी बताउँछन् । पुल बन्न थालेको जङ्घाखोलाको यो ठाउँ बर्दिबास-४ र ५ को निकट भए पनि बर्दिबास-११, १० खयरमाराका १० भन्दा बढी बस्ती, बर्दिबास-३ का चार-पाँच र वडा नं १ को सिरान बस्तीका बासिन्दाको बाक्लो आउजाउको अत्यन्त चल्तीको सडकमा पर्छ । बर्खामा ओल्लोपल्लो बस्ती आउजाउ गर्नुपर्ने जरुरी पर्दा पूर्वपश्चिम राजमार्ग पुगेर फेरि सिरान उक्लनुपर्ने स्थिति पुल बनेपछि हट्ने बर्दिबास-५ चेरुका सामाजिक कार्यकर्ता भवानी पोखरेल बताउछन्। काछवासीको हाटबजार पुग्न, ओल्लोपल्लो बस्ती आउजाउ सहज हुन पुल अब वरदान हुने यहाँका बासिन्दाको सपना छ । ‘हाम्रो वर्षौँको सपना अब पूरा हुने भयो’, पुल निर्माणको काम थालिदा दङ्ग परेकी बर्दिबास-४ नयाँटोलकी तारा मोक्तान भन्छिन्, ‘अब पुल बनेपछि वारिपारिका आफन्त प्रत्येक दुःखसुखमा सजिलै सामेल हुन सक्नेछन् ।’ विगतमा  पाँच-सात  मिनेटको दूरीका जङ्घा वारिपारिका बस्तीमा मरनहरन पर्दा बर्खेभेलले छेकेर ठिक समयमा सामेल हुन नसकेको अवस्था पुल बनेपछि हट्ने उनको भनाइ छ । गत शनिबार पूर्वमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का उपमहासचिव गिरिराजमणि पोखरेलले शिलान्यास गरेसँगै पुल निर्माणको काममा सम्बद्ध निर्माण कम्पनीका कामदार निरन्तर लागेपछि यो निर्माण निश्चित समयमै सकिने चुरे काछवासीले आश सँगालेका छन् ।सरकारको रु १४ करोड ५९ लाख विनियोजित बजेटमा निर्माण थालिएको पुलको काम ठेक्का बन्दोबस्तबाट मेरना कन्स्ट्रक्सनले गर्दैछ । काम थालिएको एक वर्षभित्र निर्माण सम्पन्न गरिने सर्तअनुसार नै काम हुने निर्माण कम्पनीले जनाएको छ । पुल निर्माणले कृषि उपज हाटबजार पुर्‍याउन काछवासीलाई सहज हुनेछ । यसैगरी ओल्लोपल्लो बस्तीबीच जस्तोसुकै भेलमा पनि आउजाउ खुल्ने बर्दिबास–५ चेरुकी सविना थापा बताउछिन् । पुल बनेपछि वारिपारिका नानीहरूको विद्यालय आउजाउ पनि सजिलो हुँदा पायक विद्यालय पढ्ने थप अवसर बन्ने थापाको भनाइ छ । ‘पुल निर्माण थालिदा एकैचोटी कैयौँ कुराले नयाँ आश जगायो’, बर्दिबास-४ माईस्थानको माथ्लो भब्सीका रामजी पौडेल भन्छन्,’हाटबजारको सुगमता, दुःखसुखमा सामेल हुन सहजता र नानीहरूको विद्यालय आउजाउमा अहिलेको डर हट्ने भयो ।’ पुलले वन्यजन्तुबाट हुने आक्रमण र तिनको आवागमन पनि सुरक्षित बनाउने काछवासी बताउँछन् । पुल निर्माणसँगै चुरेकाछ र राजमार्ग मास्तिरका करिब २५ हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने माओवादी केन्द्रका उपमहासचिव पोखरेलको विश्वास छ । निर्माण कार्य स्टिमेटअनुसार गुणस्तरीय र निश्चित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई झकझक्याइने र आवश्यक सामाजिक सहयोग गरिने स्थानीय मोहनबहादुर कार्कीको भनाइ छ । रासस

लेबनानलाई पराजित गर्दै नेपाल वाफ च्याम्पियनशिपको फाइनलमा

काठमाडौं । साउदी अरेबियामा भएको वेष्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपमा नेपालले लेबनानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्टस् सिटी स्टेडिययमा गए राति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा प्रवेश गरेको हो । नेपालले पहिलोपटक वाफ च्याम्पियनसिपमा सहभागिता जनाएको हो । नेपालको जितमा सावित्रा भण्डारी र प्रीति राईले समान एक–एक गोल गरे । खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा प्रीतिले गोल गरेपछि नेपालको जित सुनिश्चित भएको हो । त्यसअघि खेलको ३८औँ मिनेटमा नेपालकी रक्षक पूजा रानाले आत्माघाती गोल गरेपछि नेपाल दबाबमा परेको थियो । पूजाले गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा अगाडि बढेको अवस्थामा दिएको ब्याकपासले जाली चुम्न पुगेको थियो । त्यस्तै खेलको ७५औँ मिनेटमा नेपालले बराबरी गोल गर्यो । लेबनानको रक्षकले गरेको गल्ती फाइदा उठाउँदै सावित्राले बराबरी गोल फर्काएपछि खेल एक–एक गोलको बराबरीमा पुगेको थियो । त्यसपछि नेपालकी प्रीतिले दोस्रो हाफको अत्तिरिक्त समयमा एक गोल थपेपछि नेपालको फाइनल यात्रा तय भयो । यस जितसँगै अब उपाधिका लागि नेपाल जोर्डनसँगको भिड्नेछ । पहिलो सेमिफाइनल खेलमा जोर्डनले प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फाइनल खेल भोलि हुनेछ । यसअघि समूह ‘बी’ मा रहेको नेपालले सिरिया, इराक र प्यालेस्टाइनलाई पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।

अनुकरणीय बैंकर, बुढेसकालमा दाग

काठमाडौं । मंगलबार नेपाली सञ्चारमाध्यममा बैंकरहरूलाई प्रहरीले पक्राउ गरेको विषयले निकै प्राथमिकता पायो । त्यसमा पनि तत्कालीन सेञ्चुरी बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीराम गौतम र उनीपछि सोही बैंकमा सीईओ भएर हाल प्रभु बैंकको वरिष्ठ डीसीईओका रूपमा काम गरिरहेका मनोज न्यौपानेसहित १० जना बैंकर पक्राउ परेको विषयले बैंकिङ क्षेत्र पनि तरंगित बन्यो । हालसम्म कुनै पनि विवादमा नमुछिएका अनुभवी बैंकर गौतम र न्याैपाने नेपाली बैंकिङ क्षेत्रको नेतृत्व गर्न सक्ने सम्भावित पात्रका रूपमा हेरिएकाले पनि उनीहरू  पक्राउको विषयले बैंकिङ क्षेत्रलाई आश्चर्यमा पार्यो । यसले जीवनभर बैकिङ गरेर दाह्री कमाल फुलेका बैंकर्सलाई चिन्तित बनायो भने बैंकिङमा करिअर बनाउँछु भनेर बैकिङमा सक्रिय रहेको पुस्तालाई त्रसित बनायो । एक जना युवा बैंकर्सले विकासन्युजसँग भने -‘जतिसक्दो चाँडो बैंकिङबाट बाहिरिनु नै बुद्धिमानी ठानेको छु ।’ उमेरले ६७ वर्ष नाघेका गौतमले सेञ्चुरी कमर्सियल बैंक छाडेको दुई वर्षपछि प्रहरीको हिरासतमा पुग्नुपर्यो । बैंकिङ क्षेत्रमा करिब चार दशक बिताएका गौतमलाई चिन्ने सबैले भन्छन्- ‘उनी निर्विवादित र स्वच्छ बैंकिङ गर्ने एउटा अनुभवी र परिपक्व बैंकर हुन् ।’ सनराईज बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत सुमन शर्माले भने-‘मैले चिनेका तुलसीराम गौतम, अजय श्रेष्ठ दुई बैंकर्स १०० प्रतिशत इन्ट्रिग्रिटी भएको बैंकर्स हुन् । तर, दुबै जना बैंकिङ करिअरको अन्तिममा प्रहरी हिरासतमा पुगे ।’ बैकिङ कसुरसम्बन्धी मुमुद्दामा केही वर्षअघि तत्कालीन बैंक अफ काठमाण्डूमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका अजय श्रेष्ठलाई पनि प्रहरीले थुनामा राखेर अनुसन्धान गरेको थियो । पछि उनले अदालतबाट सफाई पाए । ‘अनुसन्धान गर्ने अधिकारीलाई बैंकिङ अभ्यासबारे पूर्ण जानकारीको कमीले पनि समस्या भएको हुन सक्छ । कानुनमा रहेका कमजोरीले निर्देश व्यक्तिहरू प्रहरीको हिरासतमा बस्नुपर्ने अवस्था आउन सक्छ,’ पूर्व बैंकर्स शर्माले भने । शर्माले नेपाल एसबीआई बैंक र माछापुच्छ्रे बैंकमा गौतमसँग काम गरेको थिए । नेपाल बैंकबाट बैंकिङ करिअर सुरु गरेका गौतमले १३ वर्ष त्यहाँ काम गरेपछि तत्कालीन इण्डोस्विज बैंकमा ७ वर्ष काम गरे । त्यसपछि नेपाल एसबीआई बैंकमा कर्जा प्रमुख भएर १० वर्ष काम गरेका उनी चार वर्ष माछापुच्छ्रे बैंकको सीईओ भएर पनि काम गरे । माछापुच्छ्रे बैंकको खराब कर्जा घटाउनमा उनको विशेष भूमिका रहेको थियो । पछि उनी इक्रा नेपाल (रेटिङ एजेन्सी) को सीईओसमेत बने । त्यहाँ उनले केही महिना काम गरेपछि तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको नेतृत्व गरे । २०७५ बैशाखमा सो बैंकको सीईओ बनेका उनले कार्यकाल सकिने ९ महिना बाँकी हुँदै राजीनामा दिए । बैंकिङ क्षेत्रमा गौतमको पहिचान बेग्लै छ । जोखिम व्यवस्थापन र कर्जा लगानीमा उनको विज्ञतालाई बैंकिङ क्षेत्रले पछ्याउने गरेको थियो । धेरैले उनलाई अनुसरण गर्छन् । ‘गौतम विषयमा विज्ञ थिए, इमान्तारिताको कुरा गर्ने हो भने गौप्राणी हुन्,’ नेपाल एसबीआई बैंकमा ९ वर्षसँगै काम गरेको उनका एक सहकर्मीले विकासन्युजसँग भने । गौतम इमान्दार बैंकर्स हुन् भन्ने छाप बैकिङ बजारमा रहेको र राष्ट्र बैंकको बुझाई पनि उनी असल मान्छे हुन् भन्ने नै रहेको राष्ट्र बैंकका उच्च अधिकारीले टिप्पणी गरे । मंगलबार यस विषयमा के भएको भन्ने विषयमा राष्ट्र बैंकको उच्च नेतृत्वमा पनि सामान्य छलफल भएको थियो । प्रहरीले अनुसन्धान गरिरहेको विषयमा राष्ट्र बैंकले बोल्नु राम्रो नहुने विचार गभर्नर महाप्रसाद अधिकारीले राखेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सहकारीका समस्याबारे अध्ययन गर्ने क्रममा सेन्चुरीबाट प्रवाह भएको करिब सवा २ अर्ब रुपैयाँको ऋण फाइलमा प्रहरीको अनुन्धानले प्रवेश पाएको स्रोतले बतायो । बैंकिङ क्षेत्रमा करिब चार दशक काम गरेका उनी कुनै पनि संस्थाको कुनै पनि निणर्यमा विवादित बनेनन् । सकेसम्म आफ्नो विज्ञतालाई व्यवहारमा उतार्ने प्रयास उनले गरिरहे । सेञ्चुरी बैंकबाट राजनीनामा दिनुको कारण पनि त्यही थियो कि उनी कसैको कुनै दबाब र प्रभावमा काम गर्थेनन् । तत्कालीन सेञ्चुरी बैंकको सञ्चालक समितिले उनलाई अनावश्यक दबाब तथा काममा चाप गरेपछि उनले पदबाटै राजीनामा दिएका थिए । त्यस्ता बैंकर आज कसरी कर्जाभन्दा कम मूल्यको धितो राखेको आरोपमा पक्राउ परेका भन्ने प्रश्न छ। कर्जा लगानी तथा जोखिम व्यवस्थापनमै दक्खलता भएका उनी कम मूल्यको धितो राखेर कर्जा दिएको आरोपमा पक्राउ परे । ४० वर्षको अवधिमा कुनै पनि विवादमा नआएका बैंकर गौतमको जीवनमा अवकाश जिन्दगी जिइरहेको बुढेसकालमा भने दाग लागेको छ । बैंकिङ क्षेत्रमै हुँदा एक अन्तार्वार्तामा गौतमले भनेका थिए, ‘बैंकिङ क्षेत्रमा अपराधी पनि छन्, भ्रष्टाचारी पनि छन्, काम बिगार्नेहरू पनि छन्, नराम्रो काम गर्ने जेलमा जान्छन्, जनताको निक्षेपमा मनोमानी गर्नेमाथि कारबाही हुनैपर्छ ।’ बैंकिङमै हुँदा निक्षेपकर्ताको भलाइका लागि बोल्ने तिनै गौतमको हातमा प्रहरीको हतकडी लागेको छ । उनीमाथि लागेको आरोप सही सावित हुन्छ वा उनी निर्दोष ठहरिन्छन्, त्यो विषय अदालतको हातमा पर्यो । तर, ४० वर्षसम्म स्वच्छ बैंकिङ गरेर सबैका वाहवाही पाएका पात्र अवकाश जिन्दगी जिइरहेका बेला प्रहरीको हिरासतमा पुग्नुले पनि बैंकिङ क्षेत्रमाथि त्रास उत्पन्न गराएको छ ।

वित्तीय सुशासन जोखिम मूल्यांकनमा खैरहनीको ९९ अंक

चितवन । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) मा देशभरका पालिकामध्ये खैरहनी नगरपालिकाले उच्चतम अंक प्राप्त गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्यांकन खैरहनीले ९९ अंक प्राप्त गरेर उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको हो । मूल्यांकनका विभिन्न विषय क्षेत्रका सूचकहरू पूरा गर्दै खैरहनीले उच्चतम अंक प्राप्त गर्न सफल भएको नगरप्रमुख शशि खनियाले जानकारी दिए । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षण, राजस्व व्यवस्थापनजस्ता मूल्यांकनका विषयक्षेत्रमा खैरहनीले उत्कष्ट अंक ल्याउन सफल भएको बताइएको छ । एक सय पूर्णांकमा खैरहनी नगरपालिकाले ९९ अंक ल्याएको छ । अघिल्ला वर्षहरूमा जिल्लाको प्रथम हुँदै आएकामा यस वर्ष देशको प्रथम हुन सफल भएको उनले बताए। अनियमितता कम भएका कारण यस पालिका पहिलो भएको उनले बताए । उनले भने, ‘सबै कुराको व्यवस्थापन गर्न कठिन छ । त्यसलाई व्यवस्थापन गर्दै अघि बढ्नसके र कानुनसम्मत चल्नसके सफल भइँदोरहेछ ।’ राजनीतिक दल र जनताको भावना बुझेर काम गर्दा यो परिणाम प्राप्त गर्न सफल भएको उनको भनाइ छ । स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन गरिँदै आएको छ ।

काठमाडौंका यी स्थानमा एक सातासम्म विद्युत सेवा प्रभावित हुने

काठमाडौं । काठमाडौंमा बुधबारदेखि विभिन्न स्थानमा सात दिन विद्युत सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै आजदेखि एक सातासम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ । प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले आगामी फागुन २२ गतेसम्म विद्युत लाइन अवरुद्ध हुने जनाइएको छ । बुधबार बालुवाटार फिडबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुनेछ । महाराजगन्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा विद्युत् सेवा उपलब्ध हुने छैन । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । मौसम प्रतिकुल रहेमा भने विद्युत् नियमित आउने प्राधिकरणले जनाएको छ ।