पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार दिएको जानकारी अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार बिहीबार र शुक्रबार पनि मौसममा आंशिक बदली जारी रहने र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने छ ।
श्रीलंकाले साना तथा मझौला उद्यमीलाई ऋण दिने
कोलम्बो । श्रीलंका सरकारले आर्थिक मन्दीबाट प्रभावित साना तथा मझौला उद्यमीहरू (एसएमई) र अन्य व्यवसायीहरूलाई सहयोग गर्न २० अर्ब रुपैयाँ (करिब ६४.५ मिलियन अमेरिकी डलर) ऋण उपलब्ध गराउने भएको छ । मन्त्रीपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले मंगलबार सो प्रयोजनका निम्ति एसियाली विकास बैंक (एडिबी) को सहयोग प्राप्त हुने पत्रकार सम्मेलनमा बताएका छन् । प्रवक्ता गुणवर्द्धनाले नयाँ र स्थापित दुवै व्यवसायलाई १५ अर्ब रुपैयाँ (४८.३ मिलियन डलर) ऋणमा पहुँच प्रदान गर्ने र बाँकी ५ अर्ब रुपैयाँ (१६.१ मिलियन डलर) निष्क्रिय कर्जाको मारमा परेका साना तथा मझौला उद्योगका लागि विनियोजन गरिने बताए । ऋण संस्थाहरूमार्फत वितरण गरिनेछ ।
काठमाडौंबाट सर्लाही जाँदै गरेको ट्रकबाट ६२० किलो गाँजा बरामद
मलेखु । धादिङको गजुरी गाउँपालिका–२, बिहानी पेट्रोलपम्प नजिकबाट प्रहरीले ६ सय २० किलो गाँजा बरामद गरेको छ । काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८३०९ नम्बरको ट्रकमा राखिएको ६ सय २० किलो गाँजासहित धादिङ प्रहरीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो । लागुऔषध गाँजासहित ट्रक चालक सर्लाहीको २९ वर्षीय सन्तोषकुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मङ्गलबार बिहान जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीको कमाण्डमा खटिएको टोली खटिएको टोलीले उक्त परिमााणको गाँजा बरामद गरेको हो । पृथ्वी राजमार्गबाट ठूलो परिमाणमा गाँजा लिएर एउटा ट्रक सर्लाहीतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा नियन्त्रण गर्न सफल भएको प्रहरी उपरीक्षक केसीले बताए । गाँजासहित पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
महिलालाई आत्मनिर्भर बनाउन हस्तकला तालिम
गण्डकी । हस्तकलाका माध्यमबाट महिलालाई आत्मनिर्भर तुल्याउने उद्देश्यका साथ पोखरा महानगरपालिका–१२ को आयोजना तथा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रको सहकार्यमा महिलाका लागि एकमहिने हस्तकला तालिम पोखरामा प्रारम्भ भएको छ । हस्तकलाजन्य सीप भएमा त्यसबाट उत्पादित समानको बजारीकरण गरी आयआर्जन भई आत्मनिर्भर बन्दै स्वरोजगार बन्न सहयोग पुुगोस् भन्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको पोखरा महानगरपालिका–१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । महिलालाई सीप सिक्ने अवसरका निम्ति वडा कार्यालयले गरेको लगानीलाई उपलब्धिमूलक बनाउन आग्रह गर्दै वडाध्यक्ष बास्तोलाले दत्तचित्त भई नियमितरुपमा हाजिरी गरी सीप सिक्न आग्रह गरे । विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रका सञ्चालक तथा मुख्य प्रशिक्षक सविता श्रेष्ठले यसै बितेर जाने समयमा सीप सिकेर आत्मनिर्भर हुने, आयआर्जन गर्ने र स्वरोजगार हुने अवसरलाई सदुपयोग गरेर उद्यमशील बन्ने बाटो समाउनु नै सीप हस्तान्तरणको मर्म भएको बताए । दक्षतामा आधारित तालिम लिएपछि स्वरोजगार भई उत्पादित हस्तकलाका सामग्रीको बजारीकरण गर्ने जिम्मा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रले लिने उनले प्रतिबद्धता व्यक्त गरे । तालिम संयोजक शान्ति कोइराला, गोविन्दबहादुर सिग्देल, वडा सदस्य गुुमा परियारले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गरे ।
कालीकोटका ५३ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध
कालीकोट । कालीकोटमा स्वास्थ्य बीमा लागु भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बीमा गराएका छन् । बीमा गराएका मध्ये १७ हजार ६ सय १२ जनाले शुल्क तिरेका छन् । एकतीस हजार ८४ अति गरिब, एक हजार सात सय चार अपाङ्ग, एक सय ५५ एचआइभी सङ्क्रमित, ३० कुष्ठरोगी, दुई हजार एक सय ४७ ज्येष्ठ नागरिक, एक सय ७३ महिला स्वास्थ्य स्वयमंसेविकाले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका जिल्ला संयोजक सर्पराज रोकायाले जानकारी दिए । ‘महिला स्वास्थ्य स्वयमंसेविकाले बीमा रकममा ५० प्रतिशत छुट पाउने व्यवस्था छ,’ उनले भने । हाल जिल्ला महिला स्वास्थ्य स्वयमंसेविकाको सङ्ख्या दुई सय ९८ रहेको छ । जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भए पनि ९२ हजार एक सय ५३ अर्थात् ६३ प्रतिशत नागरिकले सो कार्यक्रमबाट अझै लाभ लिन सकेका छैनन् । सरकारले अपाङ्ग, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित र ज्येष्ठ नागरिकको निःशुल्क बीमा गर्ने व्यवस्था गरेको छ । अन्यको शुल्क लिएर रु एक लाख बराबरको स्वास्थ्य बीमा गर्ने गरेको संयोजक रोकायाले बताए । ‘आर्थिक अवस्था कमजोर भएकालाई बीमाबाट लाभ हुने भए पनि त्यसबारे जानकारी नहुँदा सेवाबाट वञ्चित छन्,’ उनले भने, ‘गाउँघरमा स्वास्थ्य बीमाबारे जानकारी दिन जरुरी छ ।’ सरकारले २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको हो ।
५० हजार बढी खुद्रा बिक्रेतालाई लक्षित गर्दै एनसेलले ल्यायो देशव्यापी कार्यक्रम
काठमाडौं । एनसेलले आफुसँग आवद्ध रहेका खुद्रा बिक्रेता, साना पसल गर्ने व्यवसायीहरुलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम संचालन गरेको घोषणा गरेको छ । आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप एनसेलले देशभरका खुद्रा विक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्न एक बृहत् रिटेल इन्गेजमेन्ट प्रोग्राम लागू गरेको छ । यो कार्यक्रम देशभर रहेका ५० हजार बढि खुद्रा बिक्रेताहरूलाई लक्षित रहेको छ । कार्यक्रममा सहभागी हुने खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाउँछन् । यसरी आर्जन गरिएको प्वाइन्टहरुको आधारमा उनीहरुले टेलिभिजन, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू सहित विभिन्न आकर्षक उपहारहरू पाउन सक्छन् । खुद्रा विक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एप मार्फत एनसेलका सेवाहरू बिक्री गर्न सक्छन् । एप मार्फत सिम र प्याकहरू बेच्ने खुद्रा बिक्रेताहरूले थप प्रोत्साहन पाउनका लागि हकदार हुन्छन् । कार्यक्रम अन्तर्गत, राम्रो कार्य गर्ने १,००० भन्दा बढी उत्कृष्ट खुद्रा विक्रेताहरूले विशेष उपहार वस्तुहरू प्राप्त गर्नेछन्, जसमा एक भाग्यशाली सहभागी खुद्रा विक्रेताले कार्यक्रमको अन्त्यमा एक बाइक जित्नेछ । खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै, यो कार्यक्रम एनसेलले सेवा र सुविधाहरुको उपलब्धता सुनिश्चित गर्न र खुद्रा विक्रेताहरूलाई सहयोग प्रदान गर्न जिम्मेवार आफ्ना फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित छ । कार्यक्रममा ५०० भन्दा बढी फिल्ड फोर्स टोली सदस्यहरू संलग्न हुनेछन् र प्रत्येक महिना १५० भन्दा बढी सदस्यहरुलाई उनीहरूको उत्कृष्ट कार्यका लागि प्रोत्साहन स्वरुप विभिन्न उपहारहरु प्रदान गरिन्छ । एनसेल आफ्ना च्यानल साझेदारहरूको अमूल्य योगदानको कदर गर्दछ र उनीहरूको व्यवसायिक सफलतालाई सहयोग प्रदान गर्न समर्पित छ । हाल संचालनमा रहेको रिटेल इन्गेजमेन्ट प्रोग्राम र अरु कार्यक्रमहरुका साथ, एनसेल आफ्नो साझेदारी सुदृढ गर्ने, पारस्परिक समृद्धिका लागि काम गर्ने र आफ्ना ग्राहकहरूलाई निरन्तर गुणस्तरिय सेवा प्रदान गर्ने लक्ष्यका साथ कार्य गरिरहेको छ । ग्राहकको सेवा अनुभवलाई थप सुधार गर्न एनसेलले नेटवर्कमा निरन्तर लगानी गरिरहेको छ र ग्राहकहरूलाई कनेक्टिभिटीको पहुँचको लाभ सुनिश्चित गर्न आकर्षक अफरहरू ल्याइरहेको छ । उदाहरणका लागि, एनसेलले हालैमात्र कर सहित रु. १५० देखि सुरु हुने तीनवटा डबल मजा प्याक ल्याएको छ । यस प्याक अन्तर्गत प्याकको समयसीमा समाप्त हुनु अघि ग्राहकहरूले फेरी सोही प्याक खरिद गरेमा प्रत्येक पटकको पुनः खरिदमा बोनस स्वरुप डबल डेटाको लाभ लिन सकिन्छ ।
भूमि आयोगमा ५० हजार भूमिहीनको निवेदन दर्ता, १५७ जनाले मात्रै पाए लालपुर्जा
झापा । राष्ट्रिय भूमि आयोग जिल्ला समिति झापामा ४९ हजार सात सय ५३ भूमिहीनले जग्गा प्राप्तिका लागि निवेदन दर्ता गराएका छन् । सरकारले भूमिहीनलाई जग्गा प्रदान गर्न जारी गरेको सूचनाअनुसार जिल्लाका १५ पालिकाका सुकुम्बासी, भूमिहीन-दलित र अव्यवस्थित बसोबासीले निवेदन दिएका हुन् । आयोगका अध्यक्ष तिलक पाण्डेका अनुसार सबैभन्दा बढी अव्यवस्थित बसोबासीले पालिकामार्फत आयोगमा नाम दर्ता गराएका छन् । जिल्लाका १५ पालिकामा दुई वर्षको अवधिमा ३३ हजार ४२७ अव्यवस्थित बसोबासी, १३ हजार पाँच सय ८२ भूमिहीन सुकुम्बासी तथा दुई हजार सात सय ४४ भूमिहीन दलितले निवेदन दर्ता गराएका छन् । ‘अव्यवस्थित बसोवासीलाई पालिकाले नै निस्सा वितरण गर्छ, भूमिहीन दलित र सुकुम्बासीलाई आयोगले लालपुर्जा उपलब्ध गराउँदै आएको छ’, अध्यक्ष पाण्डेले भने । हालसम्म भद्रपुर नगरपालिकाले तीन हजार २०, दमकले पाँच हजार ६ सय, बुद्धशान्ति गाउँपालिकाले दुई हजार आठ सय ३०, कनकाई नगरपालिकाले करिब आठ हजार, मेचीनगर नगरपालिकाले १० हजार, कचनकवल गाउँपालिकाले चार हजार पाँच सय र बाह्रदशी गाउँपालिकाले दुई हजार ४० अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिसकेको छ । भूमिहीन दलित र सुकुम्बासीमध्ये हालसम्म एक सय ५७ जनालाई मात्र लालपुर्जा वितरण गरिएको उनले बताए । ‘शिवसताक्षी नगरपालिका, अर्जुनधारालगायतले पनि निस्सा वितरणको तयारी गरिरहेका छन् । पालिकाले काममा ढिलासुस्ती गर्दा निस्सा वितरणको काम प्रभावित भइरहेको छ’, अध्यक्ष पाण्डेले भने । आयोगका विज्ञ सदस्य सानुकुमार लामाका अनुसार सरकारले भूमिहीन दलित र सुकुम्बासीलाई सहरी क्षेत्रमा एक सय ३० वर्गमिटर, ग्रामीण क्षेत्रमा तीन सय ४० वर्गमिटर र कृषिका लागि दुई हजार वर्गमिटर जमिन उपलब्ध गराउँदै आएको छ । अव्यवस्थित बसोबासीले भने सम्पत्ति विवरणको आधारमा सरकारले तयार गरेको आठ प्रतिशतदेखि दुई सय प्रतिशतसम्म राजस्व तिरेर निस्सा लिन सक्ने उनले जानकारी दिए । रासस
अदालतले भन्यो : भाटभटेनी तत्काल खाली नगराउनु
काठमाडौं । उच्च अदालत पाटनले ललिता निवासस्थित रहेको भाटभटेनीको संरचना तत्काल खाली नगराउन अन्तरिम आदेश दिएको छ । अदालतले मंगलबार मात्रै काठमाडौं महानगरपालिकालाई उक्त आदेश दिएको हो । सो आदेश न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले दिएको हो ।