कारोबार रकम बढ्दा पाँच कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । बुधबारको सेयर बजारमा कारोबार रकम बढेको छ । मंगलबार एक अर्ब ८६ करोडको कारोबार भएको बजारमा बुधबार भने २ अर्ब ३ करोड बढीको सेयर किनबेच भएको छ । कारोबारमा आएका ३०८ स्क्रीप्समध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन १२ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता ४५८.५० रुपैयाँ पुगेको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रोमा हिमालयन रि इन्स्योरेन्स र तेश्रोमा बोटलर्स नेपाल (तराई) रहेका छन् । बजारमा कारोबार रकम बढेपनि नेप्से परिसूचक भने घटेको छ । परिसूचक ०.८७ अंक अर्थात ०.०४ प्रतिशतले घटेर २०००.७७ बिन्दुमा अडिएको छ । तीव्र उतारचढाव देखिएको बजारमा ५ कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । विशाल बजार कम्पनी, बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) को सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशत र चिर्ख्वा हाइड्रोपावरको सेयर मूल्य ९.६४ प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता १२६९ र ६६१ रुपैयाँ पुगेको छ । यता टप लुजरको शीर्ष स्थानमा सामलिङ पावर कम्पनी रहेको छ । जसको सेयर मूल्य ६.६६ प्रतिशतले घटेर ६१७ रुपैयाँमा झरेको छ । १३ वटा समूह कारोबार आएको बजारमा ६ वटा समूह हरिया देखिएका छन् भने बाँकी ७ वटा समूह राताम्मे देखिएका छन् ।
नबिल बैंकको ऋणपत्र सूचीकृत, बिहीबारदेखि किनबेच गर्न मिल्ने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ३० लाख थान ऋणपत्र फागुन १६ नेप्सेमा सूचीकृत भएको हो । ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै फागुन १७ गतेदेखि उक्त ऋणपत्र दोश्रो बजारमा किनबेच गर्न पाइने छ । बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।
हाथवे इन्भेष्टमेन्ट नेपालको १० प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । यससँगै संस्थाको २३ लाख ४० हजार बोनस सेयर नेप्सेमा थपिएको छ ।
निसानले जापानमा चालकविहीन सवारी सेवा सञ्चालन गर्ने
काठमाडौं । निसानले सन् २०२७ को अप्रिलदेखि जापानमा सेल्फ ड्राइभिङ ट्याक्सी सेवा सुरु गर्ने भएको छ । कम्पनीले टोकियोको दक्षिणमा रहेको योकोहामाको क्षेत्रमा सानो भ्यानको प्रयोग गरी आगामी आर्थिक वर्षको अप्रिलदेखि व्यावसायिक सेवाको परीक्षण सुरु गर्ने जनाएको छ । निसानले एक विज्ञप्तिमा भनेको छ, ‘वृद्ध जनसंख्याको कारण जापानका स्थानीय समुदायले गाडी चालकको कमीलगायत धेरै गतिशीलता चुनौतीहरूको सामना गरिरहेका छन् ।’ कम्पनीले भनेको छ, ‘नयाँ सेवाहरूको विस्तृत दायरा प्रदान गर्न र निः शुल्क आवागमन सुनिश्चित गर्न कम्पनीमा स्थानीय अधिकारीहरू र यातायात सञ्चालकहरूसँग काम गर्ने योजना बनाएको छ ।’ निसानले सन् २०१७ देखि जापान र विदेशमा ‘सेल्फ ड्राइभिङ मोबिलिटी’ सेवाका लागि व्यवसायिक नमूनाको परीक्षण गरिरहेको जनाएको छ । गत वर्ष यसको प्रतिद्वन्द्वी होन्डा, अमेरिकी विशाल कार कम्पनी जनरल मोटर्स र जीएमको अटोनोमस ड्राइभिङ युनिट क्रुजले संयुक्त उद्यम स्थापना गर्ने घोषणा गरेका थिए । उनीहरूले सन् २०२६ को सुरुमा जापानमा चालकविहीन सवारी सेवा सुरु गर्नेछन् । टोयोटाले यसै वर्षको अन्त्यतिर टोकियोको सीमित क्षेत्रमा लेभेल–४ सवारी सेवा सुरु गर्ने योजना बनाएको छ । रासस
भक्तपुरका निजी विद्यालयले फागुनमै सुरु गरे भर्ना अभियान
भक्तपुर । सरकारले वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ । चैतमा कक्षागत अन्तिम परीक्षा र त्यसको नतिजा सार्वजनिक गरेपछि बल्ल वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरेर नयाँ भर्ना गर्नुपर्ने हो । सरकारले हरेक वर्ष वैशाख १ देखि नै सरकारी र निजी विद्यालयका लागि विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि आह्वान गर्दैछ । विद्यालयले अन्तिम परीक्षाको अन्तिम नतिजा सार्वजनिक नगरेसम्म विद्यार्थी भर्ना गर्न पाइँदैन । यहाँका निजी विद्यालयले भने सो अन्तिम परीक्षा सञ्चालन हुनु एक महिनाअगाडि नै विद्यार्थी भर्ना अभियान सञ्चालन गरेका छन् । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमी जातिगालस्थित मातृभूमि माध्यमिक विद्यालयले कक्षा नर्सरीदेखि कक्षा ८ सम्म भर्ना खोलेको छ । सीमित सिटमा केही दिनका लागि भन्दै विद्यालयको पेज, सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट विद्यार्थी भर्नाका लागि आह्वान गरेको छ । विद्यार्थीसँग चर्को शुल्क असुल्ने गरेको भन्दै विवादमा पर्दै आएको यो विद्यालयले फागुन १० गतेदेखि नै भर्ना खुल्ला गरेको छ । आलोक विद्याश्रम काठमाडौंंदेखि भक्तपुर, ललितपुर र काठमाडौंका सयौँ संस्थागत विद्यालयले यतिखेर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेका छन् । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले फागुनमै विद्यार्थी भर्ना गरेर गलत गरेको बताए । उनले सङ्घीयताको मर्मअनुसार शिक्षाको सम्पूर्ण जिम्मेवारी विद्यालय दर्ता गर्ने, व्यवस्थापन गर्ने, कक्षा सञ्चालन अनुमति दिने, अनुगमन गर्नेदेखि कारबाही गर्नेसम्मको अधिकार स्थानीय सरकारलाई दिएकाले स्थानीय सरकार सक्रिय हुनुपर्ने बताए । प्रवक्ता सापकोटाले भने, ‘शिक्षाका सबै विषय स्थानीय सरकारको अधिकारभित्र पर्छ, त्यसको नियमन स्थानीय सरकारले गर्नुपर्ने हो । चैत त नियमित र जिल्लास्तरीय पुराना कक्षाको परीक्षा सञ्चालन र नतिजा प्रकाशनमै बित्छ । परीक्षाको नतिजा नआई नयाँ भर्ना लिन पाइँदैन । यसमा स्थानीय तहले कडाइ गर्नुप¥यो अन्यथा सङ्घीय सरकार बाध्य भएर अगाडि बढ्नुपर्ने हुन्छ ।’ निजी तथा आवासीय माध्यमिक विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले सरस्वती पूजादेखि विद्यालयहरुले विद्यार्थी भर्ना अभियान सुरु गरेको बताए । उनले भने, ‘सरस्वती पूजादेखि कक्षा प्ले ग्रुप, नर्सरीदेखि कक्षा १ सम्म विद्यार्थी भर्ना लिनु सामान्य हो तर कक्षा २ देखि भर्ना लिनु चाहिँ गलत हो । केही विद्यालयले अहिले नै नर्सरीदेखि कक्षा ९ सम्म भर्ना खुल्ला गरेको पाइएको छ । त्यसो नगर्न हामी तत्कालै प्याब्सनबाट आधिकारिक रुपमा पत्राचार तथा आह्वान गर्छौं ।’ एन प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले केही ठूला र नाम चलेका विद्यालयले जथाभावी रुपमा नियम विपरीत फागुन पहिलो सातादेखि नै माथिल्लो कक्षामा विद्यार्थी भर्नाको आह्वान गरेको बताए । उनले आफ्ना मातहतका विद्यालयलाई त्यसो नगर्न भनेको बताउँदै स्थानीयदेखि केन्द्रीय सरकारसम्मले यस्ता विषयमा ध्यान दिन नसकेको बताए । एनप्याब्सन अध्यक्ष खड्काले भने, ‘केही नाम चलेका र ठूला भनिने विद्यालयले जे गरे पनि सरकारले देख्दैन । उनीहरुले परीक्षा सञ्चालन नहुदै माथिल्लो कक्षामा भर्ना खोल्न थालिसके । मनोमानी चर्को शुल्क निर्धारण गरिसके तर हाम्राजस्ता साना विद्यालयमाथि भने शुल्कदेखि हरेक कार्यमा सरकार अङ्कुश लगाउन खोज्छ । सरकार नै विभेद गर्छ ।’ हाल अध्ययनरत कक्षामा विद्यार्थी उत्तीर्ण हुने हो कि होइन र उसको नतिजा कस्तो आउने हो त्यो थाहा नै नभई माथिल्लो कक्षाका लागि विद्यार्थी भर्ना गर्नु अवैध भएको अभिभावकहरु बताउँछन् । अभिभावक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले सरकार मौन बस्दा जे गरे पनि हुन्छ भन्ने मान्यता संस्थागत विद्यालय सञ्चालकहरुलाई पर्दा मनोमानी बढेको बताए । उनले भने, ‘कक्षा ९ सम्म विद्यार्थी भर्ना खुलेको पोष्टर, ब्यानर र विज्ञापनहरु जताततै देखिन थालेका छन् । परीक्षा नसकिँदै नतिजा नआउँदै विद्यार्थी भर्ना गर्ने अधिकार उनीहरुलाई कसले दियो ? विद्यार्थी भर्नाको सरकारी शैक्षिक तालिका उल्लङ्घन गर्दा सरकार किन मौन छ रु अधिकारप्राप्त स्थानीय तह किन नियमन गर्दैन ? सरकारी निकायका कमजोरीको मारमा अभिभावक र विद्यार्थी पर्नु परेको छ ।’ रासस
विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड, बिजुली बेचेरै उठायो साढे ४५ अर्ब
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिना (साउनदेखि पुससम्म)मा सो मात्राको नाफा कमाएको हो । गत आर्थिक वर्ष २०७९/८०को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो । गत आवको पहिलो ६ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा ४ अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रुपमा तथा भारतर्फको विद्युत निर्यात बढ्दा आम्दानीमा भएको बृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो ६ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए । प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, आयोजनाहरुलगायतमा जम्मा ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमश : विद्युत बिक्री र खरिद तथा आयोजनाहरुमा हुने गरेको छ । ‘बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौं, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनाहरुमा हरेक वर्ष अरबौं रुपैयाँ लगानी गरिरहेका छौं’,कार्यकारी निर्देशक घिसिङले भने । ‘विद्युत्मा आत्मनिर्भर बन्न, आन्तरिक रुपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो विद्युत् उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुमा आगामी वर्षहरुमा १०/१२ खर्ब रुपैयाँभन्दा बढीको लगानी आवश्यक पर्छ, नगद प्रवाहका लागि संस्थाको नाफाले मात्र पुग्दैन ।’ प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरुबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको विद्युत् खरिद गरिएको छ । प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको हो । समीक्षा अवधिमा नेपाल सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ ९ अर्ब ३ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ । १३ अर्बको विद्युत निर्यात, २ अर्बको आयात नेपाल विद्युत प्राधिकरणको चालु आवको पहिलो ६ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको छ । सोही अवधिमा १ अर्व ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि-एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । समीक्षा अवधिमा १ अर्व ४७ करोड ६४ लाख युनिट विद्युत निर्यात गरिएको छ । सुख्खायाम सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घटेर जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन घटेपछि अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात भइरहेको छ । समीक्षा अवधिमा २२ करोड ५ लाख युनिट विद्युत् आयात गरिएको छ । वर्षायाम सुरुभएसँग फेरि विद्युत् निर्यात सुरु हुने छ । ्
बैंकर्स संघको निष्कर्ष : प्रहरीको गलत बुझाइले बैंकरले दुःख पाए, भेटेरै बुझाउँछौं
काठमाडौं । पूर्व बैंकरदेखि बहालवाला बैंकरलाई प्रहरीले पक्राउ गरेपछि नेपाल बैंकर्स संघले सम्बन्धित निकायलाई बैंकिङ बुझाई कम भएको निष्कर्ष निकालेको छ । नेपाल बैंकर्स संघको बुधबार बसेको आकस्मिक बैठकले बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाका बारेमा गृह मन्त्रालयसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई जानकारी गराई बैंकिङबारे सिकाउने निर्णय गरेको हो । संघको बैठकले धितोको विषयमा प्रहरीको बुझाइ गलत र बैंकरहरूले दु:ख पाएको निष्कर्ष निकालेको छ भने राष्ट्र बैंकलाई वर्तमान घटनाक्रमबारे जानकारी गराउने निर्णय गरेको बैठकमा सहभागी एक सीईओले जानकारी दिए । साथै, गृहमन्त्रालयसहित प्रहरीलाई बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाका विषयमा बुझाउने भएको हो । मंगलबार केन्द्रिय अनुसन्धान ब्यूरोले प्रभु बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मनोज न्यौपाने, साविक सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम लगायत १० जना बैंकरलाई पक्राउ गरेको थियो । बैंकरलाई पक्राउ गरेपछि बैंकर्स संघले आकस्मिक बैठक बोलाएका हो ।
युवायुवतीदेखि वृद्धवृद्धासम्मको रोजाइको केन्द्र बन्दै ‘रत्नपार्क’
काठमाडौं । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित रत्नपार्कको परिचय अहिले फेरिएको छ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा करिब ८० लाख रुपैयाँको लागतमा पुनःनिर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको हो । अहिले रत्नपार्कमा वृद्धवृद्धा घाम ताप्नदेखि युवायुवती तस्बिर खिच्न र रमाउन पुग्ने गरेका छन् । रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययरत विवेक अधिकारी रत्नापार्कभित्र घुम्न र तस्बिर खिच्न आएको बताउँछन् । ‘विद्यार्थी कार्ड देखाएपछि २० मा पार्कभित्र छिर्न पाइन्छ, यहाँ आएपछि बाहिर निस्कन मन नै लाग्दैन’, उनी भन्छन् । यस्तै बागबजारमा बस्ने ६७ वर्षीय सुकदेव श्रेष्ठ पनि घाम ताप्नका लागि पार्कभित्र आएको बताउँछन् । ‘घरमा कति बस्ने, पार्कभित्र बस्ने ठाउँ पनि छ, घाम ताप्न पनि पाइयो, रुखबिरुवाको स्वच्छ हावा पनि खान पाइन्छ, त्यसैले फुर्सद भएको बेलामा रत्नापार्क आउने गरेको छु’, उनी भन्छन् । यस्तै असनका सानुकाजी ताम्राकार पनि घाम ताप्न र दिन काट्नका लागि रत्नापार्कभित्र आएको बताउँछन् । माथिका केही प्रतिनिधिमूलक पात्रमात्र हुन् दैनिक हजारौँ व्यक्ति रत्नापार्कभित्र घुम्न र आनन्द लिनका लागि छिर्ने गर्छन् । काठमाडौं महानगरपालिकाअन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाद्वारा हाल सञ्चालनमा रहँदै आएको रत्नापार्कलाई शङ्खधर पार्कका रूपमा समेत चिनिँदै आएको छ । काठमाडौं महानगरपालिकाले विसं २०७२ असार १५ देखि रत्नपार्क प्रवेशमा शुल्क लिने व्यवस्था गरेको थियो । महानगरपालिकाले रत्नापार्कबाट हाल वार्षिक झण्डै एक करोड रुपैयाँ आम्दानी गर्दै आएको छ । शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ (रत्नापार्क)का प्रमुख उमेश भण्डारी रत्नपार्कबाट चालु आवको फागुन १४ सम्म ५७ लाख ९१ हजार सात सय ६० शुल्क आम्दानी गरेको बताउँछन् । रत्नापार्कभित्र प्रवेश गर्नका लागि विद्यार्थीले २०, सर्वसाधारणले ३० रुपैयाँ शुल्क तिनुपर्ने हुन्छ । यस्तै व्यक्तिगत क्यामेरा लिएर भित्र प्रवेश गर्नेले एक सय, विदेशी पर्यटक जाँदा एक सय रुपैयाँ, दोहोरी गीत म्युजिक भिडियो सुटिङ गर्न जानुपरेमा पाँच हजार रुपैयाँ, विवाह फोटो सुटका लागि पाँच सय रुपैयाँ, व्यावसायिकरूपमा फोटो खिच्नेले एक हजार पाँच सय रुपैयाँ र सांस्कृतिक पोशाक झल्काउन जानेले एक सय रुपैयाँ शुल्क तिनुपर्ने व्यवस्था रहेको छ । चालु आवको साउनदेखि पुस मसान्तसम्म रत्नापार्कमा ४२ हजार छ सय ४२ विद्यार्थी, एक लाख २१ हजार तीन सय नौ सर्वसाधारण, तीन सय ३३ विदेशी पर्यटक, नौ म्युजिक भिडियो सुटिङ, तीन सय ८७ व्यावसायिक क्यामेरा, चार विवाह फोटो सुट र तीन सांस्कृतिक पोशाक झल्काउने व्यक्ति रत्नापार्कभित्र प्रवेश गरेका छन् । शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ (रत्नापार्क) का अनुसार साउन महिनामा ३० हजार एक सय ४६, भदौमा २७ हजार एक सय ४३, असोजमा २२ हजार दुई सय २९, कात्तिकमा १६ हजार दुई सय ४५, मङ्सिरमा १९ हजार आठ सय ५०, पुसमा २४ हजार एक सय ८९, माघमा २६ हजार १५ र फागुन १४ गतेसम्म १६ हजार एक सय ४१ जना प्रवेश गरेका छन् । रत्नापार्कको सुरक्षाका लागि खटिएकी नगर प्रहरी नायब निरीक्षक ज्योति पोखरेल रत्नापार्कभित्र दैनिक आठदेखि एक हजार दुई सय व्यक्ति घुम्न आउने गरेको बताउँछिन् । ‘सार्वजनिक बिदाको दिनमा दैनिक तीनदेखि चार हजारसम्म रत्नापार्क घुम्न आउनुहुन्छ’, पोखरेल भन्छन् । रत्नापार्कभित्र मानिस घाम तापेर सुखदुःखका गफ गर्ने, स्कुलका विद्यार्थीले खेल्ने, युवायुवती फोटो खिच्न तथा रमाउनका लागि आउने गरेको उनको भनाइ छ । रत्नापार्कभित्र बस्नका लागि सेट बक्स र कुर्चीको व्यवस्था गरिएको छ । यहाँ सार्वजनिक शौचालयसमेत रहेको छ । यस्तै पार्कभित्र शङ्खधरको सालिक, पद्मरत्न तुलाधरको सालिक, युनिगार्डेनलगायत रहेको शङ्खधर उद्यान तथा रानीपोखरी एकाइ ९रत्नापार्क० ले जनाएको छ । रासस