दोर्दी खोलालाई शतप्रतिशत हकप्रद जारी गर्न स्वीकृति, चुक्ता पुँजी २.१० अर्ब हुने
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै अब कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि कम्पनीले सो मात्राको हकप्रद सेयर जारी गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ ।
इन्जाको अन्तर्राष्ट्रिय सम्मेलन टोकियोमा सुरु
टोकियो । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)को अन्तर्राष्टिय सम्मेलन २०२४ आज यहाँ सुरु भएको छ । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उद्घाटन गर्दै नेपाल र जापानबीच रही आएको सम्बन्धलाई थप सुदृढ तुल्याउने कार्यमा योगदान पुर्याउन पत्रकारहरुलाई आह्वान गरे । उनले इन्जाले अप्ठ्यारोमा परेका पत्रकारहरुलाई गर्दै आइरहेको सहयोग तथा नेपालीपन र नेपाली मन बचाउने कार्यमा पुर्याएको योगदान आदरणीय र उदाहरणीय रहेको बताए । इन्जाको उद्देश्य, एकता र सत्कार्यमा योगदान पुर्याउन अन्य संघसंस्थाहरुलाई राजदूत सुवेदीले आग्रह गरे । नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, विद्युत्, सडक, विमानस्थल, सञ्चारलगायतका क्षेत्रमा निःस्वार्थरुपले जापानले गर्दै आइरहेको सहयोगको उच्च मूल्याङ्कन गर्दै उनले जनस्तरमा समेत सम्बन्ध विस्तार हुँदै गइरहेको धारणा व्यक्त गरे । विश्वभर रहेको पत्रकारहरुबीच इन्जाले समन्वय र सहकार्य गरिरहेको सन्दर्भमा यसको दृष्टिकोण र लक्ष्यअनुरुपको योजनालाई प्राथमिकतामा राखी काम गर्न आग्रह गरे । नेपालमा पत्रकारिताको अध्ययन र श्रीवृद्धिका लागि नेपाल पत्रकार महासङ्घसँगको सहकार्यमा विश्वभरिका पत्रकार पत्रकारको क्षमता र दक्षता अभिवृद्धिका लागि इन्जाले काम गरिरहेको उनले उल्लेख गरे । इन्जा मुख्यालयका वरिष्ठ उपाध्यक्ष विष्णु शीतल, सचिव दीपक रिजाल, केन्द्रीय सदस्य रीता सापकोटा, एसिया शाखाका अध्यक्ष टङ्क पन्त, उपाध्यक्ष आनन्द कोइराला, एनआरएनए एसिया च्याप्टरका उपाध्यक्ष दीपक कँडेल, जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुङ, लेखन कुञ्ज नेपालका अध्यक्ष कमल ढकाललगायतले नेपाल जापानबीचको सम्बन्ध र इन्जाले पत्रकारिताका माध्यमबाट विश्वभरका पत्रकारहरुलाई गोलबद्ध गर्न पुर्याइरहेको योगदानका विभिन्न पक्षबारे चर्चा गरे । सन् २०१८ मा स्थापित इन्जाको अमेरिकामा मुख्यालय रहेको छ भने हरेक महादेशमा शाखाहरु स्थापना गरी समस्यामा परेका नेपालका पत्रकारलाई उपचारलगायतमा सहयोग गर्दै आइरहेको छ । पत्रकारिताका विभिन्न विधामा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आइरहेको इन्जाले कोभिड १९ महामारीका बेला आर्थिक सहयोगका लागि नेपालका एक सय पत्रकारहरुलाई फेलोसिप प्रदान गरेको थियो । तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालबाट इन्जाका केन्द्रीय सदस्य ध्रुव पौडेल, बिनेश खनाल, इन्जा एसियाका सदस्यहरु भगवती तिमिल्सिना, कृष्णा पौडेल, सिर्जना ढकाल, काजीराम पियालगायतको सहभागी छ । रासस
निर्णयकर्तालाई उन्मुक्ति, फाइल बोक्ने हातमा हतकडी
काठमाडौं । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीराम गौतम र उनीपछि सीईओ भएका मनोज न्यौपाने (हाल प्रभु बैंकका डीसीईओ) सहित १० जना बैंकर पक्राउ परेको विषयले अहिले बैंकिङ क्षेत्र तरंगित छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबीले) कम मूल्यको धितो राखेर बढी कर्जा प्रवाह गरेको भन्दै त्यसमा संलग्न भएको आरोपमा १० जना बैंकरलाई पक्राउ गरेको हो । बैंकले धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख रुपैयाँ बढी कर्जा प्रवाह गरेको भन्दै सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो । गौतम र न्यौपानेसहित तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरू राजेश भण्डारी, दिलिप बराल, सुबास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत पक्राउ परेका छन् । सीआईबीले उनीहरूविरूद्द बैंकिङ् कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कसुरमा अनुसन्धान भइरहेको बताएको छ । नियामक नेपाल राष्ट्र बैंकलाई वेवास्ता गर्दै सीआईबीले बैंकरलाई पक्राउ गरेर बैंकिङ क्षेत्रमाथि नै धाबा बोलेको धारणा बैंकर्सले राख्न थालेका छन् । सीआईबीले बैंकिङ नबुझ्दा बैंकरले दुःख पाएको धारणा बैंक तथा वित्तीय संस्थाहरूको छाता संस्थाहरूको छ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वर्तमान घटनाक्रमका विषयमा सम्बन्धित निकायलाई पढाउनु पर्ने आवश्यकता रहेको धारणा राखे । यो घटनाले बैंकिङ क्षेत्र नै त्रसित बनेको गुनासो उनको छ । बैंक तथा वित्तीय क्षेत्रका छाता संस्थाहरूले विज्ञप्ति जारी गरेर यो घटनाले बैंकरलाई आतंकित बनाएको धारणा राखेको छ । ‘बैंकरले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाइनु हुँदैन, कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरूलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण पक्राउ गर्नु हुँदैन’ यसले बैंकिङ क्षेत्र आतंकित बनेको छ,’ बैंक तथा वित्तीय क्षेत्रका छाता संस्थाले विज्ञप्ति नै जारी गरेर भनेका छन् । निर्णयकर्तालाई उन्मुक्ति सीआईबीले कम मूल्यको धितोमा बढी कर्जा प्रवाह गरेको भन्दै उनीहरूलाई पक्राउ गरेको बताएको छ । कर्जा प्रवाह गर्दा सुरक्षण बापत राखिने धितोको मूल्यांकन १ अर्ब १४ करोड २३ लाख ८४ हजार रुपैयाँबराबरको भए पनि बैंकका कर्मचारीले ऋणीलाई २ अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको सीआईबीको दाबी छ । धितोको मूल्यभन्दा ९७ करोड ४१ लाख ७० हजार रुपैयाँ बढी ऋण लगानी भएको ठहर सीआईबीको छ । यो मुद्दाको अनुसन्धान गर्ने जिम्मेवारी समेत पाएका सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले पक्राउ परेकाहरूको बयान समेत सुरु भइसकेको बताए । बैैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंले नेतृत्व गरेको चार कम्पनीलाई सो ऋण दिएको बोगटीको भनाइ छ । सीआईबीले नेपाल राष्ट्र बैंकको नियामकीय स्वायत्तताभित्र छिरेर गलत गरेको भन्ने टिकाटिप्पणी भइरहेको बेला सामान्य फाइल बोक्ने कर्माचारीको हातमा हतकडी लगाएर अर्को ठूलो कमजोरी प्रदर्शन गरेको प्रष्ट बुझ्न सकिन्छ । कुनै पनि बैंक तथा वित्तीय संस्थामा कर्जा विभागको नेतृत्व गर्ने कर्मचारी, डीसीईओ तथा सीईओलाई निश्चित रकमको ऋण प्रवाह गर्ने पाउने गरी सीमा तोकिएको हुन्छ । वाणिज्य बैंकको सञ्चालक समितिले बैंकका सीईओलाई न्यूनतम २५ करोडदेखि १ अर्ब रुपैयाँसम्म ऋण दिन सक्ने अख्तियारी प्रदान गर्ने अभ्यास छ । तत्कालीन सेञ्चुरी बैंकका एक स्रोतकाअनुसार सो बैंकमा सीईओलाई अधिकतम् ७५ करोड रुपैयाँसम्म कर्जा लगानी गर्न सक्ने अख्तियारी सञ्चालक समितिले दिएको थियो । सञ्चालक समितिले सीईओलाई ४५ करोड रुपैयाँ फण्डेड र ३० करोड रुपैयाँ नन फण्डेड अन्तर्गत गरी कुल ७५ करोड रुपैयाँ ऋण लगानी गर्न सक्ने अख्तियारी प्रदान गरेको थियो । सो सीमाभन्दा बढी ऋण प्रवाह गर्नु परेमा सीईओले सञ्चालक समितिमा प्रस्ताव पेस गर्नुपर्ने हुन्छ । ‘२ अर्ब ऋण एउटै सीईओ वा डीसीईओले प्रवाह गर्दैनन्, यसमा सञ्चालक समितिको निर्णय नै आवश्यक हुन्छ, यो ऋण सञ्चालक समितिको बैठकको निर्णयबाटै गएको हो,’ तत्कालीन सेञ्चुरी बैंक सम्बद्ध स्रोतले भन्यो । यो प्रकरणमा ऋण प्रवाह गर्नका लागि निर्णय गर्ने बैंकका सञ्चालकहरू तानिनु पर्नेमा कर्मचारीहरू पक्राउ पर्नु विडम्बना भएको उनको भनाइ छ । सेञ्चुरी बैंकका एक पूर्व सञ्चालकले यो ऋण सञ्चालक समितिको निर्णयबाटै भएको स्वीकार गरे । ती सञ्चालकका अनुसार आफू यो निर्णयमा सहभागी नभए पनि आफू सञ्चालक बन्नुअघिको समितिले यो ऋण प्रवाह गर्ने निर्णय गरेको हो । ‘यो विषयमा बैंकर पक्राउ पर्नु बैंकिङ क्षेत्रमाथिको प्रहार हो, अब कुनै पनि बैंकर सुरक्षित छैनन् भन्ने संकेत यो विषयले देखाएको छ, अब बैंकहरू प्रोजेक्ट फाइनान्सिङ गर्न पनि डराउँछन्, अनुसन्धानबिना बैंकरको हातमा हतकडी लगाउनु यो क्षेत्रलाई नै ध्वस्त पार्ने खेल हो,’ आक्रोशित हुँदै तत्कालीन सेञ्चुरी बैंकका ती सञ्चालकले भने । यो ऋण सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको नेतृत्वमा प्रवाह भएको बुझिएको छ । सो बेला बैंकको सञ्चालक समितिमा सुनिल न्यौपाने, अभिशेक बज्राचार्य, उमा श्रेष्ठ, महेश कुमार अग्रवाल, लक्ष्मण कुमार श्रेष्ठ र राजेशराज डाली सञ्चालक थिए । चौलागाईंलाई २ अर्ब ऋण लगानीका लागि निर्णय गरेर हस्ताक्षर गर्ने सञ्चालकहरूलाई छायामा पार्दै सीआईबीले बैंकका सामान्य कर्मचारीदेखि ऋणकाको फाइल पेस गर्ने सीईओको हातमा हतकडी लगाएको छ । अब हरेक बैंकरले ऋण दिनुअघि लामो स्वास फेर्नु पर्ने वातावरणको सिर्जना भएको छ । सीआईबीका प्रवक्ता बोगटी भने अहिले पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेकोले अनुसन्धानबाट संलग्न सबैलाई कानुनी दायरामा ल्याउने बताउँछन् । ‘हामीले अनुसन्धान सुरु गरिसकेका छौं, यो ऋण बैंकरकै तहबाट प्रवाह भएको होकि सञ्चालक समितिबाट गएको हो भन्ने विषय पनि बुझिरहेका छौं, संलग्न सबैलाई कानुनी कारवाही हुन्छ,’ उनले भने । नियामक नेपाल राष्ट्र बैंकको क्षेत्राधिकारभित्रको विषयमा सीआईबीले किन हस्तक्षेप गरेको भन्ने प्रश्नमा प्रवक्ता बोगटीले सहकारीको प्रकरणमा अनुसन्धान गर्दा बैंकसँग जोडिएको र नियामककै सहयोगमा यो अनुसन्धानलाई पनि अगाडि बढाएको तर्क दिएका छन् । कम्पनीलाई ऋण दिँदा घरजग्गा चाहिँदैन देउराली सहकारीका अध्यक्ष चौलागाईंले आफ्नो चार कम्पनीको नाममा २ अर्ब ऋण लिएको देखिएको छ । तर, कम्पनी वा फर्मको नाममा ऋण लिनका लागि घरजग्गा वा स्थिर सम्पत्ति धितो राख्नु पर्ने अनिवार्य व्यवस्था राष्ट्र बैंकको छैन । बैंकले ऋणीबाट धितो राख्ने भनेको विश्वासका लागि हो । ऋण लिएपछि ऋणी नभागोस् भन्ने आत्मविश्वासका लागि बैंकले धितो राख्छन् । नेपाल राष्ट्र बैंकको चालु पुँजी कर्जा मार्गदर्शनले पनि चालु पुँजी कर्जाका लागि अचल सम्पत्ति धितो राख्नु पर्ने बाध्यकारी नीति बनाएको छैन । बैंकले चालु सम्पत्तिको मूल्यांकन गरेरमात्रै स्थिर सम्पत्तिबिना कर्जा लगानी गर्न सक्छन् । चालु पुँजी कर्जा मार्गदर्शनको दफा ५ को उपदफा ३ ले चालु पुँजी कर्जाका लागि चल सम्पत्ति बाहेक अन्य कुनै पनि प्रकारको स्थिर वा अचल सम्पत्ति (जस्तै, घर, जग्गा) सुरक्षण आवश्यक नहुने उल्लेख गरेको छ । यसका लागि चल सम्पत्ति अर्थात् ऋणीले ऋण लिने कम्पनीको वित्तीय विवरणको क्षमताको आधारमा नै बैकले कर्जा लगानी गर्न पाउँछन् । उदाहरणका लागि कुनै कम्पनीको कुल चल सम्पत्ति १ करोड रुपैयाँबराबरको छ भने बैंकहरूले त्यसको आधारमा ८० लाख रुपैयाँ ऋण लगानी गर्न पाउँछन् । त्यसमा स्थिर वा अचल सम्पत्ति धितो अनिवार्य छैन । तर, बैंकर पूर्ण विश्वस्त हुनका लागि वा ऋणी आफ्नो ऋणप्रति बफादार बनोस् भन्नका लागि बैंकले चल सम्पत्तिसँगै मूल्यको ३०÷४० प्रतिशतसम्म को स्थिर सम्पत्ति पनि धितो राख्ने गरेका छन् । यो ऋणको विषयमा बैंकले हरेक तीन/तीन महिनामा मनिटरिङ गर्नु पर्ने व्यवस्था छ । अहिले सीआईबीले कम मूल्यको धितो राखेको भनिएको सोही तेस्रो पक्षको सुरक्षणको विषय हो । तर, कर्जा प्रवाह गर्दा बैंकले चल सम्पत्तिको मूल्यांकनका आधारमा लगानी गरेको हुन सक्ने बुझाइ बैंकरहरूको छ । एक बैंकरले भने, ‘तत्कालीन सेञ्चुरी बैंकले कम्पनीको वित्तीय विवरण तथा चल सम्पत्तिको मूल्यांकन गरेर ऋण दिएको हुन सक्छ, कम मूल्यको धितो भनेको ब्याकअपका लागि वा तेस्रो पक्षको सुरक्षण हुन सक्छ ।’ व्यक्तिगत ऋणको हकमा भने बैंकले धितोको कुल मूल्यको ५० देखि ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने गरेका छन् । व्यक्तिगत ऋणमा बैंकले घरजग्गा नै धितो राख्ने गरेका छन् । तर, कम्पनी वा फर्मका लागि भने अचल सम्पत्ति धितो राख्नु पर्ने प्रावधान नियामक नेपाल राष्ट्र बैंकले गरेको छैन । यस विषयमा राष्ट्र बैंकले थप प्रष्ट पार्नु पर्ने धारणा बैंकर्सको छ । सो कर्जाको प्रकृति ट्रेडिङ हो, म्यानुफ्याक्चर हो वा परियोजना हो भन्ने विषयलाई अनुसन्धान गरेर एक्सन लिनु पर्नेमा बैंकका कर्मचारीको मिलेमतो छ वा छैन भन्ने विषय यकिन नभई ‘पहिले थुन अनि सुन’ को प्रवृत्तिले बैंकिङ क्षेत्रलाई नै आतंकित बनाएको धारणा बैंकरले राखेका छन् । सीआईबीले देखाएको यो प्रवृत्तिले अब बैंकका कर्मचारीहरूलाई कर्जाका कागजातमा हस्ताक्षर गर्न पनि डराउने स्थिति सिर्जना भएको उनीहरूको गुनासो छ । अब बैंकरहरू कर्जा र जोखिम विभागमै बस्न डराउनु पर्ने वातावरणको सिर्जना भएको छ । अर्को महत्वपूर्ण विषय भनेको धितोको मूल्यांकनका लागि पनि बैंकले बाहिरी स्रोत अर्थात् भ्यालुएटरको सहायता लिनु पर्ने हुन्छ । भ्यालुएटरले गरेको धितोको मूल्यांकनका आधारमा नै बैंकरले ऋण लगानी गर्ने हो । तर, ती अनेक विषयहरूको अध्ययन अनुसन्धान नगरी सीआईबीले एक्कासी बैंकका कर्मचारीको हातमा हतकडी लगाउनुले पृथक किसिमको शंसय सिर्जना गरेको छ ।
अधिकांश व्यवसायमा मन्दी आउँदा ई-कमर्समा बहार
काठमाडौं । बुद्धनगर बस्ने सञ्जु श्रेष्ठ पेसाले नर्स हुन् । फुर्सदको समयमा उनलाई सपिङ गर्न खुबै मन पर्छ । तर, उनलाई आफूलाई चाहिने सामान किन्न पसल-पसल चहार्न भने दिक्क लाग्छ । ‘अहिले आफूलाई मन परेका र आफूले अफोर्ड गर्न सक्ने मूल्यका सबै सामान घरै आइपुग्छन्,’ उनी भन्छिन्, ‘अनलाइन सपिङ साइटहरू प्रशस्तै छन्, जे चाहिए पनि म त्यही साइटमा हेर्छु र अर्डर गर्छु, आधा एक घन्टामा त घरमै सामान आइपुग्छ, यसले धेरै सजिलो बनाएको छ र समयको बचत पनि भएको छ ।’ उनले धेरैजसो ‘दराज’ अनलाइन सपिङ प्लेटफर्मबाट सामान मगाउने गरेको बताइन् । ‘अनलाइन सपिङ गर्दा उल्टो सामान आउने, साइज नमिल्ने समस्या परेको र ठगी भएको पनि समाचार सुन्नमा आउँछन्,’ उनी भन्छिन्, ‘तर, मैले अनलाइन सपिङ गर्न थालेको चार वर्ष भइसक्यो अहिलेसम्म कुनै समस्या आइपरेको भने छैन ।’ अहिले अनलाइन साइटमा विभिन्न ब्राण्डमा अनेकथरी उत्पादन आफैं हेरेर, छानेर किन्न पाइन्छ । सामान किन्दा भरपर्दो अनलाइन साइट नियाल्ने र किन्न लागेको सामान र त्यसले पाएको रेटिङलाई ध्यानमा राख्ने हो भने सजिलै ठगीमा नपरिने श्रेष्ठ बताउँछिन् । पछिल्लो समय नेपाली बजारमा अनलाइन सपिङ विश्वासिलो र भरपर्दो माध्यमका रूपमा तीव्र विकास भइरहेकाले अनलाइनबाट आफूले चाहेको ब्राण्ड, डिजाइन, रङ र फेसनदेखि ग्रोसरीका सामग्री सहज र सुलभ मूल्यमा उपभोक्ताले उपभोग गर्न पाएको अनुभव नयाँ बानेश्वरकी शशी सापकोटाको छ । ‘अहिले प्रविधिले पनि धेरै कुरामा सहज बनाएको छ, सबैको घरघरमा इन्टरनेट पहुँच छ,’ सापकोटा भन्छिन्, ‘घरमै बसेर बजारमा कस्ता-कस्ता फेसनका लुगा ब्याग, कस्मेटिक्सदेखि गरगहनासम्म सबै सर्च गरेर हेर्न पाइन्छ, मैले ब्यागदेखि कस्मेटिकका सामान दराज र सस्तो डिलबाट मगाउँछु, ती समानको मूल्य, साइज र गुणस्तर सबै इन्टरनेटमा हेर्न पाइन्छ, मलाई एकदमै सहज लाग्छ ।’ अनलाइनबाट विभिन्न सामग्री खरिद गर्दा सधैं जोखिम हुन्छ वा ठगीमा परिन्छ भन्ने पनि नभएको उनको तर्क छ । इन्टरनेटमा थुप्रै आधिकारिक तथा अनाधिकारिक साइट हुने भएकाले केही विशेष ख्याल गर्नुपर्ने उनी बताउँछिन् । ‘इन्टरनेटमा देखापरेका जुनसुकै साइटलाई विश्वास गरेर अनलाइन सपिङ गर्दा थुप्रै जोखिम हुन्छन्,’ उनी भन्छिन्, ‘त्यसले अनलाइनप्रति विश्वास घट्ने, समय तथा पैसा खर्च गराउने भएकाले त्यस्ता विषय ध्यानमा राख्न सकियो भने प्रविधिको सही सदुपयोग चाहिँ हुन्छ ।’ यसैगरी बुद्धनगरकै सञ्जोक महर्जन पनि हतारका बेला पठाओ फुड, फुडमान्डु, भोक लाग्यो लगायत एपबाट खाना तथा खाजा अर्डर गर्ने गर्छन् । ‘खाना, खाजा घरमै बनेको खानु राम्रो हो तर कहिले हतार हुन्छ त कहिले एक्लै हुन्छ, त्यस्तो बेला खाना अर्डर गर्छु,’ उनी भन्छन्, ‘मुखको स्वाद पनि फेरिने भयो, अनि बाहिरको खानाले बानी बिगारे पनि पकाउन झर्को लाग्दा सहज नै हुन्छ ।’ अनलाइन कारोबारले जीवन सहज बनेको उनको भनाइ छ । समयको पनि सदुयोग पनि हुने र आफूले चाहेका सामग्री घरमै आइपुग्ने हुँदा भौँतारिइरहनु नपर्ने उनी बताउँछन् । पछिल्लो पटक अनलाइन सपिङ प्लेटफर्महरूबाट सामान र खाना मगाउने ट्रेन्ड नेपालमा ह्वात्तै बढेको छ । घर वा कार्यालय वा बाहिर जता भए पनि इन्टरेनट उपलब्ध भएका ठाउँबाट अनलाइन अर्डर गर्नासाथ आफूले चाहेको सामान आइपुग्छ । माथिका तीन उपभोक्ता नेपालमा ‘ई–कमर्स बिजनेस’ कसरी फस्टाइरहेको छ भन्ने उदाहरणका प्रतिनिधि पात्र हुन् । उनीहरू जस्तै पछिल्लो पटक हजारौं, लाखौं उपभोक्ता अनलाइन सपिङ प्लेटफर्म उपयोग गरी समय र पैसा बचत गरिरहेका छन् । पैसा यस मानेमा कि सामान किन्न बजार जाँदा हुने यातायातदेखि अन्य खर्च जोगिने गरेको छ । कोरोना भाइरस महामारीले देशमा ‘लकडाउन’ भएका बेला नेपालमा अनलाइन बिजनेसले व्यापक बजार समातेको थियो । त्यो बजार वर्तमानमा ई-पसल सञ्चालन गर्नेको होडबाजी नै चलेको छ । सामाजिक सञ्जालदेखि विभिन्न वेबसाइट माध्यमबाट चलिरहेका अनलाइन शपिङ साइटहरूले भिन्न–भिन्न सेवा दिइरहेका छन् । ई-कमर्स बिजनेसले छोटो समयमै राम्रो लय समातेपछि विश्वस्तरीय कम्पनी अलिबाबा, स्न्यापडिलले अनलाइन बजारमा लगानी गरेर सेवा दिइरहेका छन् । चीन, भारत, अमेरिकालगायत अन्य विकसित देशमा जस्तै अनलाइन बिजनेस नेपालमा पनि विस्तार भइरहेको छ । अनलाइन सपिङमा ‘बार्गेनिङ’ गर्न पनि नपर्ने र अनलाइनबाटै पैसा भुक्तानी गर्ने सुविधाले पनि खरीद–बिक्री शैलीमा धेरै परिवर्तन आएको छ । केहीले अनलाइन सपिङ साइटलाई अनुचित ठाने पनि धेरैले यस प्लेटफर्मको भरपुर फाइदा उठाएका छन् । अब, नेपालमा चलेका केही अनलाइन सपिङ प्लेटफर्मबारे चर्चा गरौं । दराज, दराज दक्षिणपूर्वी एसियाको बहुराष्ट्रिय कम्पनी हो । यसले नेपालसँगै पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराइरहेको छ । ‘दराज नेपाल’ मा उल्लेख्य संख्यामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड र कम्पनीहरू आबद्ध छन् । दराजमार्फत व्यापारी÷बिक्रेताले नेपालका जुनसुकै कुनामा पनि विविध सामग्री बिक्री गर्न र किन्न सक्छन् । दराजले नेपालका १ सयभन्दा बढी सहरमा सेवा दिइरहेको छ । नयाँ व्यवसाय सुरु गरेका उद्यमीहरूको सामग्री बिक्री गर्न दराज एक राम्रो प्लेटफर्म पनि साबित भएको छ । महिनाको ३० लाखभन्दा बढी सक्रिय ग्राहकहरू र दैनिक २ लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेको दराजको दाबी छ । फुडमान्डु, नेपालमा खानेकुार डेलिभरी गर्ने पहिलो अननलाइन प्लेटफर्म हो फुडमान्डु । यसले ग्राहकका अर्डर बमोजिम रेस्टुुरेन्टले तयार गरेका परिकार घरसम्मै पु¥याइदिन्छ । अनलाइन फुड अर्डर गर्न चाहने जो कोहीका लागि पहिलो रोजाइ बन्न पुगेको छ फुडमान्डु । कम्पनीका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारी अहिले अनलाइन बिजनेस राम्रो चलिरहेको बताउँछन् । ‘पहिलाभन्दा अहिले बिजनेसले राम्रो ग्रो गरिरहेको अवस्था छ,’ अधिकारीले विकासन्युजसँग भने, ‘फुडमान्डु मल्टी रेस्टुरेन्ट फुड डेलिभरी सर्भिस हो, विभिन्न अफिस तथा घरमा ग्राहकले खाना तथा खाजा अर्डर गर्नुहुन्छ, हामी विभिन्न रेस्टुरेन्टले बनाएका खाना तथा खाजाका परिकार उहाँहरूको अर्डर अनुसार पु¥याउँछौं, राम्रै चलिरहेको छ ।’ अबको भविष्य भनेकै ई-कमर्स वा अनलाइन व्यवसाय नै भएको अधिकारी बताउँछन् । ‘यो बिजनेस प्रवर्द्दन गर्न राज्यले पनि सोही अनुरूपका नीति नियम बनाउनुपर्छ,’ उनी भन्छन्, ‘जसले उपभोक्तालाई सहज र सरल मूल्यमा घरघरमै वस्तु तथा सेवा डेलिभरी गरिदिने छ ।’ अनलाइनबाट वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताको समय बचत हुनुका साथै अनावश्यक झन्झटबाट पनि मुक्त भइने उनको भनाइ छ । १० रेस्टुरेन्टहरू मात्र आबद्ध भएर सुरु गरेको फुडमान्डुमा हाल १ हजार ४ सय बढी रेस्टुरेन्टहरू आबद्ध भएको उनले बताए । उनका अनुसार कम्पनीमा २ सय ५० भन्दा बढी फुलटाइम राइडरहरू कार्यरत छन् । फुडमान्डुले काठमाडौं बाहेक पोखरामा पनि आफ्नो सेवा दिँदै आइरहेको छ । यो वर्ष अझै देशका दुई–तीन स्थानमा सेवा दिने फुडमान्डुको योजना छ । कम्पनीको सेवालाई थप परिष्कृत गर्दै अन्तर्राष्ट्रिय स्तरको बनाउने र देशभित्र थप रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको अधिकारीले बताए । अहिले फुडमान्डुमा दैनिक ७ देखि ८ हजार सक्रिय ग्राहक छन् । पछिल्लो समये सपिङ सेन्टर, मल, मार्केट, पसलको लाइक पेज, वेबसाइटसँगै फेसबुकले समेत ग्राहकको ध्यानाकर्षण गर्ने गरेको छ । ग्राहकले सामान्यतः भान्छाका सामानदेखि फर्निचर र सवारीसाधन समेत अनलाइनबाटै माग गर्ने गरेको ई-कमर्स साइट सञ्चालकहरू बताउँछन् । सरकारले पनि अनलाइन व्यापार (विद्युतीय माध्यमबाट हुने व्यापार) लाई नियमन गर्न कानुन निर्माण प्रक्रिया अघि बढाएको छ । गएको असार १२ मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभामा दर्ता गरेका थिए । अनलाइन व्यापारलाई कानुनी मान्यता दिने र त्यसलाई करको दायरामा ल्याउने उद्देश्यले विधेयक ल्याइएको मन्त्री रिजालले उल्लेख गरेका छन् । ‘सूचना प्रविधिका माध्यमबाट हुने वस्तु वा सेवाको व्यापारिक कारोबारलाई नियमन गरी व्यवस्थित र विश्वसनीय बनाउने सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक भएकाले विधेयक पेस गरेको छु,’ उनले भनेका थिए । प्रस्तावित विधेयकमा सूचना प्रविधिका माध्यमबाट हुने वस्तु वा सेवाको व्यापारिक कारोबारलाई विद्युतीय व्यापार भनिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूका अनुसार यसमा विज्ञापन, चलचित्र, टेलिभिजन, संगीत, ओभर द टप (ओटीटी), तथ्यांक संग्रह, क्लाउड सेवा, गेमिङ, मोबाइल एप, अनलाइन मार्केट, सफ्टवेयर आपूर्ति, तथ्यांक, तस्वीर डाउनलोड सेवा, शिक्षा, परामर्श, सीप विकास तथा तालिम सेवा, ई–बुक, ई-पुस्तकालय, ई–पत्रिका आदि विद्युतीय व्यापार अन्तर्गत पर्छन् । नेपालमा सन् २००० मा अनलाइन सपिङ प्लेटफर्म ‘ठमेल डटकम’ सुरु भएको थियो । अहिलेसम्म सयौं अनलाइन सपिङ वेबसाइटहरू सञ्चालनमा आइसकेका छन् । मुन्चा डटकम, हरिलो डटकम, ई झोला डटकम, भाटभटेनी अनलाइन डटकम, थ्रेडपेन्ट्स डटकम, सस्तो डिल डटकम, सपमान्डु डटकम, मेट्रो तरकारी डटकम, सपिङ नेपाल डटकम, फुडमान्डु डटकम, नेपाली बजार डटकम, पसल डटकम, किनमेल डटकम, केमुलगायत दर्जनौं वेबसाइटमार्फत व्यापार भइरहेको छ ।
ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रेष्ठ नियुक्त
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् । फागुन १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हलगोरु पाल्ने किसानलाई जैमिनी नगरपालिकाले दियो दश हजार अनुदान
बलेवा । बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । यसका लागि नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रस्ताव आह्वान समेत गरेको थियो । गोरु पाल्ने र गोरुसँग खेतीपातीमा लाग्ने किसानको पहिचान गरेर प्रोत्साहन उपलव्ध गराउन लागिएको पशु शाखा प्रमुख कृष्णप्रसाद ढकालले बताए । दश वडा रहेको नगरपालिकाभरिबाट तीन सय किसानले प्रस्ताव पेश गरेका थिए । पेश भएका प्रस्तावमध्येबाट चालु आर्थिक वर्षमा ३० जना किसानलाई जनही रु दश हजारका दरले प्रोत्सान उपलब्ध गराइने भएको हो । ‘कृषिमा आधुनिक हाते ट्र्याक्टर भित्रिँदा स्थानीय स्रोत साधनको प्रयोग नै हरायो’, उनले भने, ‘गोरु पाल्ने संस्कृति घट्दा बालीका लागि आवश्यक मलमूत्र कमी हुने, बाहिरबाट ल्याएको तेलको प्रयोग बढ्ने भएकाले पनि गोरु पाल्न प्रोत्साहन गर्नुपरेको हो ।’ आधुनिक मेसिनको प्रयोगमा किसानको धेरै पैसा विदेशिने भएकाले गोरु पाल्दा त्यो रोकिने नगरपालिकाको विश्वास छ । उनले ‘गोरुको प्रयोगले ढिला होला तर अनुत्पादक हुँदैन्, व्यावसायिक किसानलाई भन्दा आफ्नो लागिमात्रै उत्पादन गर्ने किसानका लागि मेसिनभन्दा गोरुको प्रयोग उपलब्धीमूलक हुन्छ ।’ नगरपालिकाभित्र झण्डै तीन सय बढी हाते ट्र्याक्टरलगायत सामग्री खनजोतका लागि प्रयोगमा छन् । आवश्यक ठाउँमा प्रविधिको प्रयोग र रैथाने तथा मितव्ययी परम्परागत शैलीलाई सँगसँगै लैजाने नीति नगरपालिकाले बनाएको छ । त्यस्तै जैमिनी नगरपालिकाले बीउको रुपमा राँगा पाल्ने किसानलाई समेत प्रोत्साहन गर्न थालेको छ । मासु र दूधमा नगरलाई आत्मनिर्भर बनाउने लक्ष राखेको नगरपालिकाले बीउका लागि राँगा पाल्ने किसानलाई प्रोत्साहन उपलब्ध गराउने भएको हो । चालु आवमा नगरभरिका २० जना किसानलाई जनही १० हजार रुपैयाँका दरले प्रोत्साहनउपलब्ध गराउन लागिएको ढकालले बताए । हलगोरु र राँगा पाल्ने किसानको तथ्याङ्क तयार गरेर कार्यक्रमलाई निरन्तरता दिने योजना छ । जैमिनी नगरपालिकाका बेँसी फाँटमा हाते ट्र्याक्टरको प्रयोग बढ्दो भए पनि लेकका खेतबारीमा गोरुले जोत्ने प्रचलन कायम छ । पछिल्लो समय रैथाने स्थानीय जातका गाई पाल्नेको सङ्ख्यामा कमी आउँदा गोरु पाउनसमेत कठिन हुने गरेको किसान रुद्रप्रसाद शर्माले बताए । रासस
बीवाईडी ‘वर्ल्ड कार अफ दी इयर २०२४’को टप तीनमा छनोट
काठमाडौं । जेनेभा मोटर शोको अवसरमा वर्ल्ड कार अवार्ड २०२४ का लागि शीर्ष तीन अन्तिम प्रतियोगीहरूको घोषणा गरिएको छ। यस अनुसार बीवाईडीका दुई गाडीहरुले टप ३ स्थान हासिल गरेका छन् । बीवाईडी सिलले ‘वर्ल्ड कार अफ द इयर’ र बीवाईडी डल्फिनले ‘वर्ल्ड अरबन कार’ श्रेणीहरूमा टप ३ स्थान हासिल गर्दै, क्रमशः प्रतिस्पर्धामा अगाडि बढेका छन्। यसरी वर्ल्ड कार अवार्ड’ श्रेणीको शीर्ष तीनमा सुचिकृत हुने पहिलो र एक मात्र चिनियाँ कार निर्माताको इतिहास बीवाईडीले बनाएको छ। अटोमोटिभ क्षेत्रमा महत्वपूर्ण पुरस्कारको रुपमा चिनिएका वर्ल्ड कार अवार्ड, युरोपियन कार अफ द इयर र नर्थ अमेरिकन कार अफ द इयर अत्यधिक रुपमा प्रशंसित छन् । विश्वमा ‘अटोमोटिभ ओस्कार’ को नाममा प्रसिद्ध भएको वर्ल्ड कार अवार्ड विश्वभरको अटोमोटिभ उद्योगमा धेरै प्रतिक्षित कार्यक्रमको रूपमा बिशेष चर्चा गरिने गरिन्छ। बीवाईडीका यी दुई मोडलमा भएका विशेष डिजाइन, असाधारण प्रविधि र मजबुत सुरक्षा विशेषताहरुले सो कार अवार्डका लागि २९ देशमा १०० अटोमोटिभ मिडिया तथा विश्वभरका विशेषज्ञहरूको ध्यान आकर्षित गरेको छ। २०२३ मा बीवाईडी सिल र बीवाईडी डल्फिनले युरो एनक्याप र एएनएक्याप परीक्षणमा पनि फाइभ स्टार रेटिङ प्राप्त गरेका थिए । विशेषतः बीवाईडी सिललाई ‘युरोपियन कार अफ द इयर २०२४’ को अन्तिम चरणका लागि पनि नामांकित गरिएको थियो । २०२३ मा बीवाईडीले ३० लाख विद्युतीय सवारी साधन बिक्री गर्दै शीर्ष स्थान हासिल गरेको थियो भने ग्लोबल अटोमोटिभ ब्रान्डहरूको शीर्ष दशमा समेत प्रवेश गरेको थियो जुन चाहि चिनिया अटोमोटिभ निर्माताको लागि इतिहासमै पहिलो हासिल थियो । नेपाली बजारमा पनि साइमेक्स इंकले बीवाईडीका सिल र डल्फिन दुवै मोडल बिक्री–वितरण गरिरहेको छ ।
एलन मस्कले प्रतिसेकेन्ड ६० किलोमिटर दौडिने ‘टेस्ला रोडस्टर’ कार ल्याउँदै
एजेन्सी । अमेरिकी व्यवसायी एलन मस्कको कम्पनी टेस्लाले यस वर्षको अन्त्यसम्ममा विश्वको सबैभन्दा तीव्र गतिमा दौडिने कार ‘टेस्ला रोडस्टर’ सार्वजनिक गर्ने भएको छ । कारमा १० वटा साना आकारका रकेट थ्रस्टर्स छन्, जसले एक सेकेन्डभन्दा कम समयमा ० देखि ६० किलोमिटर प्रतिघण्टा ‘किमी प्रतिघण्टा’ को गति लिन सक्ने जनाइएको छ । यो कारको डेलिभरी अर्को वर्ष अर्थात् सन् २०२५ देखि सुरु हुने बताइएको छ । एलन मस्कले आफ्नो एक्स पोस्टमा यो जानकारी दिएका हुन् । रोडस्टरको उत्पादन डिजाइन यस वर्षको अन्त्यसम्ममा पूरा हुने र सार्वजनिक गरिने बताइएको छ । सामाजिक सञ्जाल एक्समा मस्कले भनेका छन्, ‘मलाई लाग्छ यो अहिलेसम्मकै सबैभन्दा दिमागी उत्पादन डेमो हुनेछ, टेस्लाले स्पेस एक्ससँगको सहकार्यमा यसको निर्माण गरिरहेको छ ।