हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित
इलाम । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन । ‘हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएलाजस्तो, चिसो हावाको स्पर्श कति आनन्द,’ उनले भने । तुम्लिङ मात्र होइन नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपोखरीलगायत इलामका उत्तरी भेगका लेकाली क्षेत्र नेपाल भारत सीमामा पर्ने पर्यटकीयस्थल हुन् । हिमाल हेर्न, झुल्के घामको दृश्यावलोकन गर्न, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा हेर्न र औषधीय गुण भएका जडीबुटी खोज्न पाइने भएपछि खोज, अनुसन्धान र अवलोकन गर्न नेपालसहित भारत, भुटान, बङ्गलादेशलगायतका मुलुकबाट पर्यटक आउने गरेका छन् । प्रदेश सरकारले मेची राजमार्गमा पर्ने सूर्योदय नगरपालिकाको फिक्कल बजारदेखि माइजोगमाईको केन्द्र नयाँबजारसम्म जोडिने २० किलोमिटर सडक कालोपत्रे गरिदिएपछि सडक सहजताका कारण पर्यटक भित्रिने क्रम वृद्धि भएको गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले बताए । ‘सडक बनिएपछि सजिलो भएको छ, तराईबाट आउने पर्यटक कन्याम, फिक्कल हुँदै सिधै नयाँबजार आएर हिमाल हेर्न, रेडपाण्डाबारे बुझ्न र जडीबुटी खोजी गर्न तुम्लिङतिर जाने गर्नुभएको छ,’ उनले भने । जैविक विविधताले भरिएको माइजोगमाई प्रचारप्रसारको अभावमा ओझेल परेपछि गाउँपालिकाले पर्यटन प्रवर्द्धनको काम सुरु गरेको छ । पर्यटकीयस्थललाई प्रवर्द्धन गर्न ‘टुरिज्म एप्स’ सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको अध्यक्ष थेबेले बताए । ‘एप्समा यहाँका पर्यटकीयस्थल समेटिने छन् । उनले भने, ‘त्यसका साथै कृषिका कुरा, धार्मिक, सांस्कृतिक एवं यहाँका पुरातात्विक सम्पदाका कुरा समावेश हुन्छ ।’ देश विदेशमा बसेर पनि माइजोगमाईमा कहाँ–कहाँ पर्यटकीय क्षेत्र छन् भन्नेबारे जानकारी लिन सकियोस् भनेर एप्स सार्वजनिक गर्न लागिएको उनले बताए । पालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखेर गत वर्ष थुम्केरानीमा तीन दिने थुम्केरानी महोत्सव आयोजना गरेको थियो । थुम्केरानी तुम्लिङ मेग्मा संरक्षण तथा पर्यटन प्रवर्द्धन समितिको आयोजनामा महोत्सव भएको थियो । थुम्केरानीबाट झुल्के घामको दृश्यावलोकनका साथै १० वटै स्थानीय तह, भारतका विभिन्न ठाउँ र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ । पर्यटकले गाउँपालिकाको केन्द्र नयाँबजारदेखि थुम्केरानी, जौबारी, तुम्लिङ, टङ्लु, मेग्मासम्मको पैदलयात्रा गर्छन् । जङ्गल सफारी र दुर्लभ रेडपाण्डाको अवलोकन पर्यटकका लागि यहाँँ थप आकर्षक बनेका छन् । विश्वको तेस्रो अग्लो हिमशृङ्खला, दुर्लभ वन्यजन्तु हाब्रे रेडपान्ड, एसियाको दोस्रो पुरानो मेग्मा गुम्बा अवलोकन गर्न सकिने अध्यक्ष थेबेले बताए । माइजोगमाई गाउँपालिका २ र ६ को सङ्गमस्थलमा पर्ने थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको हो । लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक दर्जनौँ पर्यटक पुग्ने गरेका छन् । थुम्के र जौवारीमा गरिएको केसर खेतीले समेत पर्यटकलाई तान्न थालेको छ । अध्यक्ष थेवेले गाउँपालिकाको थुम्केसहित माथिल्लो लेकाली क्षेत्रको विस्तृत अध्ययन गरी पर्यटन पूर्वाधारका काम थालिएको बताए । पालिकामा उत्तरे पोखरी, शिव मन्दिर बौद्धगुम्बासहित विभिन्न देवस्थलसहितका धार्मिक पर्यटकीयस्थल रहेका छन् । ‘नयाँबजारस्थित उत्तरे पोखरीमा पानीको सतह घटेपछि हामीले सहयात्रा नेपाल इलामसँगको साझेदारीमा पोखरीमा पानी पहिलाकै अवस्थामा फर्काउन प्रयास सुरु गरेका छौँ ।त्यसलाई ब्युटिफिकेसनको काम गर्नेछौँ,’ उनले भने, ‘तुम्लिङ, थुम्केरानी, उत्तरे पोखरी, साततले झरनालगायतका ठाउँ हाम्रा प्रमुख पर्यटकीय गन्तव्य हुन् । करिब ३१ सय मिटरको उचाइमा रहेको तुम्लिङलगायत यहाँको उच्च हिमाली क्षेत्रमा धेरै जैविक विविधता पाइन्छ । हाम्रो ठाउँ लोपोन्मुख वन्यजन्तु रेडपाण्डा पाइने क्षेत्र हो । औषधीय गुण भएका जडीबुटी प्रशस्त पाइन्छन् । यी कुराको संरक्षणमा हामी जुटेका छौँ । यस्तै कुराको प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धनमा हाम्रो ध्यान गएको छ ।’ पर्यटन पूर्वाधारका काम केही भएका छन् भने बाँकी काम निर्माणाधीन रहेको थेबेको भनाइ छ । ‘भगवान् गौतमबुद्धको सालिक, गणेशको मूर्ति, राजा यलम्बरको सालिक र लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको मूर्ति बनिएका छन्,’ उनले भने । पाँच सय ६१ मिटरदेखि तीन हजार एक सय मिटरसम्मको उचाइमा माइजोगमाईको भूगोल पर्दछ । यो क्षेत्र कृषि उत्पादनको उर्वर भूमि भएकाले कृषि पर्यटनलाई विकास गर्ने पालिकाको तयारी छ । धान, अलैँची, आलु, एभोकार्डो, किवी, खेतीदेखि केशर, चिराइतोलगायतको उच्च हिमाली जडीबुटीसमेत पाइने भएकाले खेतीबाट नै आर्थिक समृद्धि हासिल गर्ने यात्रामा पालिका अघि बढेको पालिका उपाध्यक्ष प्रवीना राईले बताइन्। ‘किसानलाई खेतीमा प्रोत्साहन दिन कृषि शाखामार्फत बजेट छुट्याएर लगानी गरेका छौँ । किसानलाई व्यावसायिक बनाउन र उत्पादनलाई गुणस्तरीय बनाउन विगत वर्षदेखि नै हाम्रो प्रयत्न जारी छ,’ उपाध्यक्ष राईले भनिन्, ‘युवापुस्तालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाएर गाउँमा नै खेतीबाट आर्थिक समृद्धि ल्याउन पालिकाले सहयोग गर्नेछ । उहाँहरूलाई अभिमुखीकरण तालिम, कृषिमा अनुदान र कृषि सामग्री वितरण गरिरहेका छौँ । सिँचाइ नपुगेर खेतीमा समस्या भएपछि प्रदेश र सङ्घीय सरकारसँगको साझेदारीमा विभिन्न क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराइरहेका छौँ ।’ थुम्केरानी जोड्ने सडक स्तरोन्नतिको काम सम्पन्न भएकाले यहाँ आउने पर्यटकलाई सहज भएको गाउँपालिका उपाध्यक्ष राईले बताइन् । यस क्षेत्रमा ऐतिहासिक जौवारी बजारसहित नेपालकै ठूलो आलु विकास केन्द्र रहेको छ । रासस
राजधानीका विभिन्न क्षेत्रमा दैनिक चार घण्टा विद्युत आपूर्ति बन्द हुने
काठमाडौं । बिहीबार पनि काठमाडौंको महाराजगञ्ज क्षेत्रका केही ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने भएकाले ४ घण्टा विद्युत आपूर्ति बन्द गर्न लागिएको हो । बिहीबार महाराजगञ्जको गोंगबु, सामाखुसी, टाउन प्लानिङ क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसमम् विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरणले जनाएको छ । यस्तै, १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्र, १९ गते हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको क्षेत्रमा ४ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुनेछ। त्यसैगरी २० गते लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवीसम्मको क्षेत्र, २१ र २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बोलायो साधारण सभा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैत २० गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे साधारण सभा बोलाएको छ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । साथै, साधारण सभाले संस्थापकतर्फ ४ जना र सर्वसाधारण २ जना सञ्चालक निवार्चन गर्नेछ । सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ फागुन २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
बेनी नगरपालिकाभित्र हुक्का निषेध
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु) ले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधबारदेखि हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो । गत माघ २५ गतेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार हुक्कालाई पूर्णरुपमा बिक्री वितरण र सेवनमा निषेध गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिए । पछिल्लो समय बजार क्षेत्रमा युवायुवती हुक्का सेवनका कुलतमा फस्दै गएका थिए । युवायुवतीलाई कुलतमा लैजान हुक्काले प्रत्यक्ष प्रभाव पारेपछि नगरपालिकाले नीतिगत निर्णय गरी आवश्यक छलफल र तयारीका साथ हुक्का सेवन र बिक्री वितरणमा निषेध गरिएको उनले बताए । नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर हुक्का सेवन एवं बिक्री वितरणमा रोक लगाएको जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को नगरपालिकाको काम, कर्तव्य र अधिकारमध्ये दफा ११ को उपदफा २ खण्ड (ञ) बमोजिम आधारभूत स्वास्थ्य र सरसफाइअन्तर्गत रही स्थानीय वातावरणमा र मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले हुक्कालाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको नगरपालिकाले जारी सूचनामा उल्लेख छ । कसैले अवज्ञा गरी हुक्का बिक्री वितरण गरेको पाइएमा सुरक्षा निकाय र नगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम कारबाही गरिने व्यवस्थासमेत गरिएको प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले जानकारी दिए । नगरपालिकामा हुक्का निषेधसँगै जिल्ला प्रशासन, प्रहरीसहितको अनुगमन र समुदायस्तरमा समेत हुक्काको प्रयोगलाई निरुत्साहितसहितको सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले जनप्रतिनिधि, नगरभित्रका होटल तथा रेष्टुराँ व्यवसायीसँग समेत छलफल गरेर हुक्कालाई प्रतिबन्ध लगाउने योजनालाई अघि बढाएको थियो ।
सर्वोत्तम सिमेन्टको आईपीओमा मागभन्दा १९ गुणा बढी आवेदन
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले जारी गरेकाे आईपीओका लागि मागभन्दा १९ गुणा बढीको आवेदन परेको छ । सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने हिजो अन्तिम दिन थियो । १० लाख १२ हजार ३ सय ८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । यो कम्पनीको सेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले सेयर पाउँदैनन् । कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता मात्रै बाँडफाँट गर्नेछ । न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ ।
अरुण भ्याली हाइड्रोको हकप्रद निष्काशन तथा बिक्री खुला
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बिहीबार (फागुन १७) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले चुक्ता पुँजीको १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ १५ गते बुकक्लोज गरेको थियो । यसअनुसार माघ १४ गतेसम्म नेप्सेमा कारोबार ईइ कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ । हकम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
गण्डकीका ६५ पूर्वाधार आयोजना बहुवर्षीय ठेक्कामा, ५५ परियाेजनामा पैसा अपुग
गण्डकी । गण्डकी प्रदेशका ६५ सडक तथा पुल आयोजनालाई बहुवर्षीय ठेक्कामा लैजान आर्थिक मामिला मन्त्रालयले स्वीकृति प्रदान गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले १ सय २० पूर्वाधार आयोजनालाई बहुवर्षीय आयोजनामा समेटी स्रोत सुनिश्चित गर्न सो मन्त्रालयमा प्रस्ताव गरेको थियो । मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले बहुवर्षीयमा छानिएका आयोजनाको ठेक्का प्रक्रिया सुरु भइसकेको जानकारी दिए । ‘मन्त्रालयले प्रस्ताव गरेका १ सय २० आयोजनामध्ये ६५ आयोजनाको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनश्चित भइसकेको छ, बाँकी आर्थिक मामिला मन्त्रालयमा अध्ययनको क्रममा छन्,’ उनले भने । बढीमा २५ करोड रुपैयाँ लागतसम्मका आयोजना बहुवर्षीय ठेक्काका लागि स्वीकृत भएको प्रवक्ता पौडेलले बताए । उनका अनुसार ५ करोडभन्दा कम लागतका ३३.५ करोडभन्दा धेरै लागतका आयोजनाको संख्या ३२ रहेको छ । बहुवर्षीय ठेक्काका लागि कास्कीका आठ, गोरखाका ६, तनहुँका आठ, नवलपुरका १०, पर्वतका चार, बागलुङका आठ, मुस्ताङको एक, मनाङका दुई, लमजुङका ६, स्याङ्जाका आठ र म्याग्दीका चार आयोजना छनोटमा परेका हुन् । ‘आगामी तीन आर्थिक वर्षसम्मका लागि आयोजनाको बजेट सुनिश्चित गरिएको छ, यसबाट आयोजना निर्माणले गति लिने र समयमै सम्पन्न हुने विश्वास लिइएको छ,’ प्रवक्ता पौडेलले भने, ‘थप आयोजनालाई पनि बहुवर्षीय ठेक्कामा लैजाने गरी तयारी भइरहेको छ, आर्थिक मामिला मन्त्रालयबाट स्वीकृत भएर आउन बाँकी छ ।’ बहुवर्षीय ठेक्काका लागि स्वीकृत भएका सडक, पक्की पुल र झोलुंगे पुलका लागि ५ अर्ब ४९ करोड ६४ लाख ५१ हजार रुपैयाँबराबरको बजेट सुनिश्चित भएको मन्त्रालयले जनाएको छ । अधिकांश तीन वर्षका र केही दुई वर्षका आयोजना बहुवर्षीय ठेक्कामा जाने प्रवक्ता पौडेलले जानकारी दिए । चालु आवमा टुक्रे योजना कटौती गरेको मन्त्रालयले बहुवर्षीय आयोजना छनोट प्रक्रियालाई पनि थप व्यवस्थित बनाएको उनको भनाइ छ । संघ सरकारले पठाएका टुक्रे प्रकृतिका योजनासमेत फिर्ता गरेर त्यहाँको बजेट दायित्व सिर्जना भइसकेका ठूला आयोजना लागि व्यवस्थापन गरिने भएको छ । संघ सरकारले चालु आवमा ३० लाखभन्दा कम बजेटका १ सय ७४ वटा योजनाका लागि १६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त बजेट दायित्व सिर्जना भएका संघीयका आठ वटा सडक आयोजनामा रकामान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं महानगरमा २ लाख करदाताले तिर्दैनन् नियमित कर
काठमाडौं । काठमाडौं महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ । लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएर कर तिर्नका लागि आलटाल गरिरहेका करदातालाई नियमअनुसार समावेश गर्नका लागि कामपाले वडास्तरीय अनुगमन गरी नियमसंगतरूपमा ल्याउने तयारी गरेको कामपा राजस्व विभाग जनाएको छ । यसरी कर तिर्नका लागि आलटाल गर्नेमा सबैभन्दा धेरै बहाल करमा करिब एक लाख करदाता रहेका छन् । त्यस्तै व्यवसाय कर, मनोरञ्जन कर र विज्ञापन करमा एक लाखको हाराहारीमा रहेको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । उनका अनुसार दर्ता प्रक्रियामा नआएका सबै शीर्षकका करदातालाई नियमअनुसार बनाउनका लागि यसै महिनादेखि कामपाको ३२ वटै वडाबाट नियमित अनुगमन गरी प्रक्रियामा ल्याउने तयारी कामपाको रहेको छ । कामपामा कर तिर्नका लागि दर्ता प्रक्रियामा आएका तर नियमित कर नबुझाउने करदाताबाट पनि दुई अर्ब बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख काफ्लेले जानकारी दिए । उक्त रकम विगत १२ वर्षदेखिको रहेको कामपाको भनाइ छ । दर्ता गरेर पनि नियमअनुसार कर नतिरेका करदाताका लागि कामपाले चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म तिर्नुपर्ने रकममा केही छुट दिएको थियो । सोही अवधिमा दर्ता प्रक्रियामा रहेको केही करदाताले कर तिरेका भए पनि अझै धेरै करदाताले तिर्नका लागि आलटाल गरिरहेका छन् । दुई वर्षअघि पनि कामपाले २८ वर्षदेखिको बक्यौता रकम असुल गर्न भन्दै त्यस्ता करदाताको नाम नै सार्वजनिक गरेको थियो । उक्त समयमा घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने र बक्यौता तिर्ने क्रम बढेको भए पनि अहिले बक्यौता तीर्ने क्रम ठप्पजस्तै रहेको काफ्लेको भनाइ छ । चालु आवका लागि जम्मा १० अर्ब ८० करोड रुपैयाँ वार्षिक लक्ष्य लिएको कामपाले चालु आर्थिक महिनाको अवधि पार गरिसक्दा ५ अर्ब ८० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व असुल गरेको छ । चालु आवको अर्ध वार्षिक अवधिसम्म कामपाको राजस्व संकलन अवस्था राम्रो रहे पनि पछिल्लो माघ महिनामा कामपाको आम्दानी अन्य महिनाको तुलनामा घटेको छ ।