विकासन्युज

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड’

काठमाडौं । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको छ । सोह्रौ कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्न काठमाडौंमा आयोजित समारोहमा मेरिना इम्पेक्सलाइ ‘बेष्ट टेलरिङ अवार्ड,२०८०’ प्रदान गरिएको हो । कर्पोरेट मिडिया ग्रुपले विगत सोह्र बर्षदेखि विभिन्न विधामा कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्दै आएको छ । ग्रुपले यस वर्ष ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ मा उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रका २९ जना व्यक्ति व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरेको हो । बेष्ट टेलरिङ अवार्डले ग्रहकमैत्रि सेवाका लागि थप प्रेरित गरेको मेरिना इम्पेक्सका अर्जुन बस्नेतले बताए । ग्रहकको चाहनालाइ बुझेर विगत ४० बर्षदेखी स्तरिय शर्टिङ, शुर्टिङ तथा टेलरिङ्ग सेवा दिदै आएको र गुणस्तरमा सम्झौता नगर्ने भएकोले मेरिना इम्पेक्सले ग्रहकहरुको विश्वास जितिरहेको उनले बताए । काठमाडौंको नयुरोड, बागबजार, सामाखुसि र गाबहाल पाटनमा रहेका ४ शाखाबाट सेवा दिदै आएको मेरिना इम्पेक्स विभिन्न ब्यापारिक र शैक्षिक संस्थाहरुका युनिफर्मका लागी समेत परिचित छ ।

राष्ट्रियसभाको बैठक स्थगित, बिहीबार बस्ने

काठमाडौं । सोमबारका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १ः१७ बजे बस्ने छ ।

ज्येष्ठ नागरिकको घरमै निःशुल्क स्वास्थ्य सेवा दिँदै महानगर

मोरङ । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिने काम सोमबारदेखि सुरु गरेको छ । महानगरले १९ वटा वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्ररुपमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीलाई स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण हस्तान्तरण गरे । नगरका प्रत्येक वडामा दुई नर्सिङ कर्मचारीलाई ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच तथा परामर्शका लागि खटाइएको छ । उक्त कार्यक्रममा ज्येष्ठ नागरिकको उच्च रक्तचाप, मधुमेह, अक्सिजनको तहको जाँच, नेबुलाइजेसन सेवा, सामान्य स्वास्थ्य परीक्षण तथा उपचार, ड्रेसिङ, औषधि वितरणसहित स्वास्थ्य परामर्श सेवासमेत प्रदान गरिने स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । सम्बन्धित वडाका महिला स्वयंसेविका परिचालन गरिनेछ । हरेक तीन महिनामा कम्तीमा एक पटक ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण उपचार सेवा उपलब्ध गराइनेछ । घरमा जाँदा बिरामीलाई अस्पताल प्रेषण गर्नुपरेमा महानगरको एम्बुलेन्समार्फत निःशुल्क सेवा दिनुका साथै सम्बन्धित अस्पतालमा समन्वयकारी भूमिका निर्वाह गर्नेछ । प्रमुख कोइरालाले आम विराटनगरवासीको घरमै गएर सेवा दिने प्रतिबद्धताअनुरुप निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको जनाउँदै स्वास्थ्यकर्मीलाई अनुशासित र जिम्मेवारपूर्वक ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा लाग्न निर्देशन दिए । उपप्रमुख कार्कीले यस कार्यक्रममा ८० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक समेटिने गरी काम गर्न आग्रह गरे । महानगर क्षेत्रभित्र दुई हजार तीन सय २४ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिक रहेकामध्ये सबैभन्दा बढी वडा नं ३ मा तीन ९० र सबैभन्दा कम वडा नं १८ मा २४ जना रहेको महानगरको तथ्याङ्कमा उल्लेख छ । रासस

लोकसेवा र शिक्षक सेवाका कक्षा चलाउँदै पर्वतका पालिका

पर्वत । युवायुवतीलाई निजामती सेवा र शिक्षक सेवा आयोगको रोजगारीतर्फ आकर्षित गराउने उद्देश्यले यहाँका विभिन्न स्थानीय तहले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका कक्षा सञ्चालन गर्न थालेका छन् । ग्रामीण क्षेत्रमा रहेका पालिकामा कर्मचारी सरुवा भएर आउन नमान्ने र आइहाले पनि लामो समय नबस्ने समस्या भएपछि स्थानीय जनशक्ति नै तयार गर्ने उद्देश्य यस्ता कक्षा सञ्चालन गर्न लागिएको हो । जिल्लाका विहादी गाउँपालिका र महाशिला गाउँपालिकाले शिक्षक सेवा आयोग र लोक सेवा आयोगका कक्षा सञ्चालन गर्न थालेका हुन् । महाशिला गाउँपालिकाले यसअघि नै सूचना प्रकाशन गरी गत महिनादेखि कक्षा सञ्चालनमा ल्याएको छ भने विहादी गाउँपालिकाले हालै सूचना जारी गर्दै तयारी कक्षामा सहभागी हुने पालिकाभित्रका युवायुवती, विद्यार्थी तथा योग्यता पुगेका अन्य सर्वसाधारणलाई अनुरोध गरेको छ । महाशिलामा २५ जनाले नियमित तयारी कक्षा लिइरहेका छन् । सरकारी सेवा क्षेत्रमा विहादीभित्रका युवाको न्यून उपस्थितिलाई उच्च बनाउन, आर्थिकरुपले विपन्न तथा जेहेन्दार युवालाई शैक्षिक र रोजगार क्षेत्रमा सहजीकरण गर्ने उद्देश्यले निःशुल्क तयारी कक्षाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष प्रवीन गुरुङले जानकारी दिए । लोक सेवा आयोगले लिने नायब सुब्बा र खरिदारको तयारी कक्षा पालिकाले सञ्चालन गर्न लागेको हो । निजामती सेवा अप्राविधिकतर्फका नायब सुब्वा, खरिदार तथा संस्थान तर्फका प्रथम पत्रलाई सहयोग पुग्ने उद्देश्यका साथ निःशुल्क कक्षा शुरु गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद भुषालले जानकारी दिए । ‘गाउँपालिकाले तयारी कक्षा सञ्चालन गर्न लागेको छ, पहिला प्रस्ताव आह्वान गर्छौँ, त्यसपछि कार्यविधि बनाएर युवाको मागबमोजिम लोकसेवा र शिक्षक सेवा आयोगको कक्षा सञ्चालन गर्ने तयारीमा छौँ’, उनले भने । सरकारी सेवामा प्रवेशका लागि सहयोगी बनाउन सकिनेछ भन्ने लागेर कक्षा सञ्चालन गरेको उनको भनाइ छ । उनका अनुसार गाउँपालिकाभित्र बसोबास गर्ने तथा निर्धारित योग्यता पुगेका इच्छुक व्याक्ति कक्षा लिन इच्छुक भएमा गाउँपालिकाको कार्यालयमा पुगेर निवेदन दिन सक्नेछन् । युवामा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाकारुपमा स्थापित गराउन लोक सेवा तयारी कक्षा सञ्चालन गर्न थालिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । लोकसेवा आयोगमा यस क्षेत्रका युवाको पहुँच र सहभागिता अझै पनि उल्लेख्यरुपमा हुन नसकेको भन्दै गाउँपालिकाले कक्षा सञ्चालन गर्न लागेको उनको भनाइ छ । ‘युवालाई स्वदेशमै बाँच्न सकिन्छ भन्ने मानसिकता बनाइ रोजगारी दिन सकेमा पालिकासँगै देश समृद्ध बन्न सक्छ, शिक्षित युवा बेरोजगार हुँदा विदेश पलायन दर दिनप्रतिदिन बढेको छ’, उनले भने । कक्षामा सहभागीलाई जिल्लाभित्र एवं बाहिर रहेका निजामती सेवामा आबद्ध एवं अनुभवी प्रशिक्षकबाट प्रशिक्षण दिइने पनि पालिकाले जनाएको छ । रासस

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । नयाँ वानेश्वरस्थित संसद भवनमा सङ्घीय संसद सचिवालयद्वारा साेमबार आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उनीहरुलाई सपथ दिलाएका हुन् । सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिए भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे । राष्ट्रियसभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो । समारोहमा उपप्रधानमन्धी एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।

निरन्तर सर्किट लागेपछि बन्द भयो सोमबारको सेयर बजार

काठमाडौं । सोमबारको सेयर बजार बन्द भएको छ । कारोबार खुलेदेखि निरन्तर बढेर तेश्रो सर्किट लागेसँगै सोमबारको सेयर कारोबार बन्द भएको हो । बजारमा १२ बजेर ४ मिनेटमै तेश्रो सर्किट लागेको छ । यो अवधिमा नेप्से परिसूचक ११७.७० अर्थात ६ प्रतिशतले बढेर २०७८ बिन्दुमा पुगेको छ । सेयर बजार सुरुमा ४ प्रतिशत बढेर १४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसपछि ५ प्रतिशतले बढेर ४० मिनेटका लागि बन्द भएर खुलेको बजारमा पुनः ६ प्रतिशतले बढेर सर्किट लागेको हो । सत्ता गठबन्धन फेरिने हल्लाले सोमबारको सेयर बजारमा एकाएक सकारात्मक सर्किट लागेको हो । नयाँ गठबन्धनसँगै अर्थमन्त्री पनि परिवर्तन हुने भएपछि लगानीकर्तामा खुसीयाली छाएको हो । यसको संकेत लगानीकर्ताले हालका अर्थमन्त्री डा.प्रकाशशरण महतलाई नरुचाएको र नयाँ अर्थमन्त्री खोजेको बुझ्न सकिन्छ । यससँगै सोमबारको बजारमा ३७ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने कारोबारमा आएकामध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । बजारमा २३० कम्पनीको सेयर मूल्य बढेको छ भने दुई कम्पनीको सेयर मूल्य घटेको छ । कारोबार बढ्नेमा पनि ४१ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

नयाँ अर्थमन्त्री : प्रचण्डको वर्षमान र ओलीको विष्णुमा अडान

काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै नयाँ अर्थमन्त्री को बन्छ भन्ने चर्चा सुरु भएको छ । यसअघिको गठबन्धनको साझेदार नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत अर्थमन्त्रीबाट बाहिरिने भएसँगै नयाँ अर्थमन्त्री को बन्छ भन्ने चासो बढेको हो । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वअर्थमन्त्री वर्षमान पुनलाई अर्थमन्त्री बनाउन चाहेका छन् । अहिले आफू सरकारको नेतृत्वमा रहेको र आफू निकटको व्यक्ति अर्थमन्त्री भएपछि आफूलाई काम गर्न सहज हुने तर्क गर्दै प्रचण्डले वर्षमानलाई अर्थमन्त्री बनाउनु पर्ने अडान राख्दै आएका छन् । सरकार यतिखेर आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा पनि छ । अधिकांश काम अगाडि बढिसकेकोले आफ्नै पार्टीबाट अर्थमन्त्री बन्नु पर्ने अडान प्रधानमन्त्री प्रचण्डको छ । तर, एमालेका अध्यक्ष ओलीले भने पूर्व अर्थमन्त्री रहेका विष्णु पौडेललाई अर्थमन्त्री बनाउन चाहेका छन् । पौडेल अर्थमन्त्री बन्ने सम्भावना धेरै छ । विष्णु पौडेलले पनि आफू अर्थमन्त्री बन्ने इच्छा देखाएका छन् । यसअघि आफूले सुरु गरेका कामहरु ‘पेण्डिङ’ मा रहेकोले अब अर्थमन्त्री बनेर ती कामहरू पूरा गर्ने पौडेलले बताइरहेका छन् । ओलीले पनि उनलाई साथ दिइरहेका छन् । आजै सानो आकारको मन्त्रिपरिषद गठन हुने बुझिएको छ । नयाँ गठबन्धनबाट मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।

गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको सञ्चालकमा राजभण्डारी नियुक्त

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको सञ्चालकमा रिमेश बहादुर राजभण्डारी नियुक्त भएका छन् । फागुन २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले राजभण्डारीलाई सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।