विकासन्युज

नयाँ अर्थमन्त्री : प्रचण्डको वर्षमान र ओलीको विष्णुमा अडान

काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै नयाँ अर्थमन्त्री को बन्छ भन्ने चर्चा सुरु भएको छ । यसअघिको गठबन्धनको साझेदार नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत अर्थमन्त्रीबाट बाहिरिने भएसँगै नयाँ अर्थमन्त्री को बन्छ भन्ने चासो बढेको हो । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वअर्थमन्त्री वर्षमान पुनलाई अर्थमन्त्री बनाउन चाहेका छन् । अहिले आफू सरकारको नेतृत्वमा रहेको र आफू निकटको व्यक्ति अर्थमन्त्री भएपछि आफूलाई काम गर्न सहज हुने तर्क गर्दै प्रचण्डले वर्षमानलाई अर्थमन्त्री बनाउनु पर्ने अडान राख्दै आएका छन् । सरकार यतिखेर आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा पनि छ । अधिकांश काम अगाडि बढिसकेकोले आफ्नै पार्टीबाट अर्थमन्त्री बन्नु पर्ने अडान प्रधानमन्त्री प्रचण्डको छ । तर, एमालेका अध्यक्ष ओलीले भने पूर्व अर्थमन्त्री रहेका विष्णु पौडेललाई अर्थमन्त्री बनाउन चाहेका छन् । पौडेल अर्थमन्त्री बन्ने सम्भावना धेरै छ । विष्णु पौडेलले पनि आफू अर्थमन्त्री बन्ने इच्छा देखाएका छन् । यसअघि आफूले सुरु गरेका कामहरु ‘पेण्डिङ’ मा रहेकोले अब अर्थमन्त्री बनेर ती कामहरू पूरा गर्ने पौडेलले बताइरहेका छन् । ओलीले पनि उनलाई साथ दिइरहेका छन् । आजै सानो आकारको मन्त्रिपरिषद गठन हुने बुझिएको छ । नयाँ गठबन्धनबाट मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।

गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको सञ्चालकमा राजभण्डारी नियुक्त

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको सञ्चालकमा रिमेश बहादुर राजभण्डारी नियुक्त भएका छन् । फागुन २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले राजभण्डारीलाई सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सेयर बजारमा खुसीयाली, नयाँ अर्थमन्त्रीको पर्खाइमा लगानीकर्ता

काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै सेयर बजारमा खुसीयाली छाएको छ । नयाँ गठबन्धनसँगै अर्थमन्त्री पनि परिवर्तन हुने भएपछि लगानीकर्तामा खुसीयाली छाएको हो । यसको संकेत लगानीकर्ताले हालका अर्थमन्त्री डा.प्रकाशशरण महतलाई नरुचाएको र नयाँ अर्थमन्त्री खोजेको बुझ्न सकिन्छ । सोमबार ४ प्रतिशत बढेर २० मिनेका लागि स्थगित भएको सेयर बजार पुनः ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको हो । सेयर बजार सुरुमा ४ प्रतिशत बढेर १४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसपछि ५ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबारमा रोकिएको छ । यो अवधिमा नेप्से परिसुचक ९८.६९ अंकले बढेर २०५९ बिन्दुमा कायम भएको छ भने कुल २६ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको छ । नेप्से परिसुचक ६ प्रतिशतले बढेमा दिनभरीको कारोबारमा बन्द नै हुन्छ ।

अर्थमन्त्री फेरिने हल्लाले लगानीकर्ता खुसी, सेयर बजारमा लाग्यो सर्किट

काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक सर्किट लागेको छ । गठबन्धनसँगै अर्थमन्त्री पनि परिवर्तन हुने भएपछि बजारमा सकारात्मक सर्किट लागेको हो । सोमबार कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो । कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार घटबढ भएमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।  यो समाचार तयार पार्दासम्म सेयर बजार ७९.२९ अंकले बढेको छ भने  १४ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार स्थगित भएको समयदेखि २० मिनेटपछि बजार फेरि खुल्नेछ ।

प्रधानमन्त्री निवासमा नयाँ मन्त्रिपरिषद् गठनबारे छलफल जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ मन्त्रिपरिषद् गठनको विषयमा छलफल भइरहेको छ । नयाँ मन्त्रिपरिषद् गठनको विषयमा अहिले सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र), नेकपा(एमाले) रास्वपा, नागरिक उन्मुक्ति पार्टीका शिर्ष नेतृत्व सहभागी भएका छन् । पुरानो राजनीतिक समिकरणबाट बनेका मन्त्रिहरु हटाएर प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको जनाइएको छ । नेकपा एमालेले दलको दलको तर्फबाट पदम गिरीलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ भने रास्वपाको सरकारमा सहभागी हुनेबारेमा निर्णय हुने अधिकार सभापति रवि लामिछानेले पाएका छन् । बालुवाटार बैठकमा सहभागी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले आफ्नो पार्टी नयाँ गठबन्धनप्रति सकारात्मक रहेको र आफ्ना मागहरु सम्बोधन गराएर सहभागी हुने प्रतिक्रिया दिएका छन् ।

गुणस्तरहीन भारतीय दुध भित्रिदा नेपाली किसान समस्यामा

राँझा । बाँकेमा भारतीय दुधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन् । नेपालगञ्जलगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय दुध बिक्री वितरणले नेपाली किसान मर्कामा परेको दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले बताए । उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा भारतीय दुध बिक्री वितरण हुने गरेको छ । ‘भारतीय दुध बिना रोकतोक आएपछि नेपाली दुधको बजारमा असर परेको छ । अवैध बाटोबाट भित्रिने गुणस्तरहीन भारतीय दुधका कारण नेपाली किसान मारमा परेका छन्’, अध्यक्ष भण्डारीले भने, ‘हरेक दिन ठूलो परिमाणमा भारतीय दुध आएर नेपाली किसानको व्यवसायलाई धाराशायी बनाएको छ ।’ पछिल्लो दिनमा भारतबाट भित्रिने दुधको ‘रेकर्ड’ नै छैन । पशु क्वारेन्टाइन र नेपालगञ्ज भन्सार कार्यालयले तथ्याङ्क नराखेको उनको गुनासो छ । भारतीय दुधलाई भन्सार लगाउन सकेमा मात्र नेपाली किसानले प्रतिस्पर्धा गर्नसक्ने उनको भनाइ छ । भारतबाट भित्रिएको दुध सस्तो दरमा बिक्री वितरण हुन थालेपछि स्थानीय किसानको दुधले बजार पाउन नसकेको डुडुवा गाउँपालिका–५ कम्दीका अगुवा सूर्यलाल यादवले बताए । ‘कम्दीका किसानको मुख्य आयस्रोत दुध बिक्री हो । यहाँका प्रत्येक घरबाट दुध बेच्ने गरिएको छ’, उनले भने, ‘कम्दी गाउँमा मात्रै करिब दुई हजार भैँसीपालन गरिएको छ । तर पछिल्लो समय दुध बिक्री वितरण नहुँदा समस्या भएको बढ्दै गएको छ ।’ बाँके जिल्ला दुध उत्पादनमा आत्मनिर्भर भएको हुँदा भारतबाट अवैधरुपमा आउने कच्चा दुध तथा दुग्धजन्य पदार्थले राजस्व चुहावट हुनुका साथै यहाँका किसानले उत्पादन गरेको दुध बिक्री नहुने अवस्था आएकाले नेपाल भित्रिने दुध तथा दुग्धजन्य पदार्थ तत्काल रोक्नुपर्ने माग गर्दै दुग्ध व्यवसायी सङ्घ बाँकेले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई ध्यानाकर्षण गराइएको अध्यक्ष भण्डारीले बताए । बजारमा खुलारुपमा कुनै पनि निकायमा दर्ता तथा परीक्षणसमेत नगरी भित्रिएका दुध तथा दुग्धजन्य पदार्थको गुणस्तर परीक्षण र बजार अनुगमनको लागि पनि अनुरोध गरिएको उनले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पोखरेलले दुग्ध व्यवसायी र दुध उत्पादक किसानको समस्या समाधानको लागि आवश्यक पहल गरिने बताए । रासस

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई  लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५ प्रतिशत बोनस र सोमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद गरी जम्मा ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने छ ।

चन्द्रागिरिमा १० प्रकारका जडीबुटीलाई औषधिका रुपमा प्रवर्द्धन गर्न सकिने

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटीको उद्यान एवं प्रशोशन केन्द्र निर्माण गर्ने भएको छ । हाल नगरपालिकाले चन्द्रागिरि–८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषाधालयलाई १५ श्ययामा स्तरोन्नति गरिसकेको छ । नगरपालिकाले आफ्ना सामुदायिक वनभित्र रहेका आयुर्वेदिक प्रजाति सुगन्धवाला, चिराइतो, गुर्जो, तितेपाती, टिमुर, पाखानवेद, धासिङ्गरे, लौठसल्ला, पिपला र कौलोको संरक्षण, उपयोग एवं प्रवद्र्धन गर्न लागेको हो । यसका लागि नगरपालिकाले पहिलोपटक जडीबुटीको स्रोत सर्वेक्षण सम्पन्नसमेत गराएको छ । काठमाडौं उपत्यकाभित्रका नगरपालिकामध्ये चन्द्रागिरिले सम्भवतः पहिलोपटक सङ्घीय सरकारको ‘जडीबुटी सर्वेक्षण मार्गदर्शन २०१२’ अनुसार विज्ञ टोली मार्फत ‘चन्द्रागिरि नगर क्षेत्रभित्र रहेका औषधीय तथा सुगन्धित जडीबुटीको वैज्ञानिक अध्ययन तथा लगत सङ्कलन सर्वेक्षण’ गराएको थियो । चन्द्रागिरिका १५ सामुदायिक वन मध्ये जडीबुटी क्षेत्र पहिचान गरेका विभिन्न आठ वन सो सर्वेक्षणमा समेटिएका थिए । ती वन समूहमा मसिने, चन्द्रागिरि, मच्छेनारायण, चुनदेवी, गुमालचोक सचेत महिला, काफलडाँडा, रातमाटेडाँडा, जमुनाडाँडा वनक्षेत्रमा अध्ययन टोलीले वैज्ञानिक अध्ययन गरेको थियो । अध्ययनका क्रममा जडीबुटीहरुको भौगोलिक अवस्थितिलाई ‘प्लटिङ’ समेत गरिएको थियो । ती वन क्षेत्रका सात सय १३ हेक्टरमध्ये एक सयदेखि एक सय ५० हेक्टरमा जडीबुटी पाइएको थियो । सम्भावना बोकेका एकसय जडीबुटी, खेतीयोग्य ६० प्रकारका जडीबुटी र प्रमुख दश जडीबुटी तुरुन्तै प्रशोधन गरेर बजारमा लान सकिने अध्ययनका क्रममा देखिएको थियो । पाँच प्रकारका जडीबुटी ९चिराइतो, सुगन्धवाला, टिमुर, पिपला र धासिङ्गरे० लाई खेती गर्न सकिने अनुसन्धान सर्वेक्षणले पुष्टि गरेको छ । ती जडीबुटी एउटै विधिद्वारा प्रशोधन गर्न सकिने जनाइएको छ । ती जडीबुटीबाट वार्षिक ५३ हजार केजी सङ्कलन सकिने अध्ययनले औँल्याएको छ । सर्वेक्षणले वार्षिकरुपमा कम्तीमा रु ३५ लाख बराबरको जडीबुटी सङ्कलन गर्न सकिने, यदि ती जडीबुटी सङ्कलन नगर पनि बिरुवा मरेर नजाने, कुहिएर जाने तथा कुनै क्षति नपुर्याउने जनाइएको छ । यसैबीच अध्ययन तथा लगत सङ्कलन सर्वेक्षण अध्ययन टोलीले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई आइतबार अध्ययन प्रतिवेदन हस्तान्तरण गर्यो । सो अवसरमा उनले औषधीय तथा सुगन्धित जडीबुटीको संरक्षण , सम्वद्र्धन तथा उपयोग गर्ने नीति नगरपालिकाले लिएको जानकारी दिँदै चन्द्रागिरिमा आयुर्वेद रिसर्च सेन्टर स्थापना गर्ने र मातातीर्थ आयुर्वेदिक औषधालयलाई आवश्यक पर्ने स्रोतलाई सुदृढ बनाउने बताए । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले सामुदायिक वनको दीगो व्यवस्थापन एवं सदुपयोग गर्दै यसलाई आयआर्जनसँग जोड्न र जैविक विविधता संरक्षण गर्न नगरपालिकाले सहयोग गर्ने बताए । मातातीर्थ आयुर्वेदिक औषधालयका प्रमुख डा नारायण अचार्यले पहिलोपटक गरिएको बहुआयामिक अध्ययनले चन्द्रागिरिमा प्रचुर मात्रामा औषधीय तथा सुगन्धित जडीबुटीको सम्भाव्यताको उजागर गरेको जानकारी दिए । उनले भने, ‘औषधालयको आफ्नै जडीबुटी उद्यान बनाउने, प्रशोधन केन्द्र स्थापना गर्ने तथा औषधिसमेत उत्पादन गर्ने नीतिलाई सहयोग गर्ने छ ।’ अध्ययन टोलीमा डा नवीन जोशी, स्नेहा बर्मा तथा शालिकराम कँडेल थिए । टोलीले सामुदायिक वनभित्रका जडीबुटीका स्रोत स्थानीयवासी, वनमा आश्रित समुदायका लागि नगद आम्दानीको महत्वपूर्ण स्रोत र जीविकोपार्जनको माध्यम बन्न सक्ने सुझाव दिएको छ । साथै स्थानीयस्तरमा जडीबुटीको खेती, दिगो विकास, प्रशोधन गरेर वन तथा जैविक विविधताको संरक्षण गर्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने अवसर हुने पनि टोलीले निष्कर्ष निकालेको छ । चन्द्रागिरिमा जडीबुटीका प्रजातिको व्यवस्थापन, खेती, दिगो व्यवस्थापनको सम्भावना औँल्याएको छ । यसैगरी सामुदायिक वन, निजी वन तथा निजीस्तरमा जडीबुटी खेती गर्र्ने प्रयोजनका लागि अध्ययनले थप प्रोत्साहन गरेको जनाइएको छ । रासस