अब रफ्तारमा अघि बढ्न सक्छ विनोद चौधरीमाथिको अनुसन्धान
काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएसँगै अब विनोद चौधरीमाथिको अनुसन्धानले पनि व्यापकता पाउने देखिएको छ । तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा किर्ते गरेको आरोपमा विनोद चौधरीसहित उनको परिवारमाथिकाे अनुसन्धानले अब व्यापकता पाउने देखिएको हो । बाँसबारी छाला जुत्ता उद्योग जग्गा हिनामिना गरेको आरोपमा गत माघ १८ गते सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेका थिए । तर, काठमाडौं जिल्ला अदालतले उनीहरूलाई छोड्न आदेश दिएको थियो । अरुण चौधरी विनोद चौधरीका भाइ हुन् । उद्योगी विनोद नेपाली काँग्रेसका सांसद समेत हुन् । स्रोतका अनुसार सीआईबीले विनोद चौधरी र उनको परिवारलाई समेत अनुसन्धानको दायरामा ल्याउन चाहेको थियो । तर, शक्तिशाली चौधरीलाई सजिलै अनुसन्धानको दायरामा ल्याउन सीआईबीलाई मुस्किल पर्यो । यो प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौधरीको परिवारमाथि अनुसन्धान गर्नका लागि तत् निकायमा निर्देशन दिए पनि त्यसमा काँग्रेसको साथ नमिलेपछि उनी पछि हटेको स्रोतको दाबी छ । नेपाली काँग्रेसका केही पदाधिकारीहरूको माओवादी र गठबन्धप्रतिको अभिव्यक्ति, अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रधानमन्त्रीमाथिको अवज्ञा र सरकारको महत्वपूर्ण कदममा काँग्रेसले गरेको असयोगले रुष्ट बन्दै अन्ततः प्रचण्ड गठबन्धन नै परिवर्तन गर्ने योजनामा पुगेको बुझिएको छ । पक्राउ परिसकेका अरुण चौधरीलाई समेत अदालतले छुटाउन आदेश दिएपछि प्रचण्ड काँग्रेसप्रति थप सशंकित बनेको स्रोतको दाबी छ काँग्रेससँग गठबन्धन हुँदा बाँसबारी छाला जुत्ता प्रकरणको अनुसन्धानलाई चाहेर पनि अगाडि बढाउन नसकेका प्रधानमन्त्री प्रचण्डले अब एमालेसँगको गठबन्धनमा यो प्रकरणलाई रफ्तारमा अगाडि बढाउने निश्चित भएको स्रोतको दाबी छ । सीआईबीले पनि यो प्रकरणमा जोडिएका सबैलाई अनुसन्धानमा ल्याउने बताएको छ । सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले यो प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताए । ‘हामी प्रमाण जुटाउने क्रममा छौं, जुटेका प्रमाणलाई थप विश्लेषण गरिरहेका छौं, यो प्रकरणमा संलग्न सबैको बयान लिन्छौं, अब चाँडै हामी बयान लिँदैछौं,’ बोगटीले विकासन्युजसँग भने । सीआईबी स्रोतका अनुसार विनोद चौधरी, उनका भाई वसन्त चौधरी, आमा गंगादेवी चौधरी र भिनाजु महेशकुमार अग्रवालको पनि चाँडै बयान लिइँदैछ ।
बिना विभागीय तीन मन्त्रीले लिए शपथ
काठमाडौं । शितलनिवासमा बिना विभागीय तीन जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् । कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीको सत्ता गठबन्धन भत्किएर एमाले-माओवादी-राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको नयाँ गठनबन्धन बनेपछि पुनगर्ठित मन्त्रिपरिषद्मा ३ जनाले बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन् । शपथ लिने तीनै जना प्रतिनिधिसभाका सांसदहरू पूर्वमन्त्रीसमेत हुन् । प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।
भूकम्प प्रभावित क्षेत्रका महिला तथा बालबालिकामा कुपोषणको जोखिम
जाजरकोट । भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो । भूकम्प प्रभावित क्षेत्रमा तीन महिनासम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट उक्त कुरा पत्ता लागेको नेपाल परिवार नियोजन सङ्घले जनाएको छ । सङ्घकाअनुसार महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको छ । गत मङ्सिरदेखि माघसम्म परिवार नियोजन सङ्घले सञ्चालन गरेको ‘आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’ शिविरमा सेवा लिन आएका अधिकांश महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको पाइएको कार्यक्रमका संयोजक वसन्त खनालले बताए । उनका अनुसार कार्यक्रमअन्तर्गत जाजरकोट र रुकुमपश्चिममा ४६ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । विपद्का समयमा पोषिलो खानेकुरा खान नपाएकाले पनि कुपोषणको जोखिम बढेको उनको भनाइ छ । उक्त शिविरमा सात हजार तीन सयभन्दा बढी भूकम्प प्रभावितलाई सेवा दिइएको खनालले जानकारी दिए । उनका अनुसार सेवा लिनेमा पुरुष नौ सय ४४, महिला छ हजार तीन सय ५५ महिला छन् । संयोजक खनालले चार हजार एक सय नौ पाठेघरको मुखको क्यान्सरको जाँच गरिएकामा एक सय छ जनामा क्यान्सरको सुरुआती अवस्था पत्ता लागेको जानकारी दिए । पाँच सय ४५ महिलालाई गर्भपतन सेवा उपलब्ध गराएको थियो । भूकम्पपछि महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको उनले बताए । भूकम्पपछि यौन हिंसा कम गर्न, परिवार नियोजनको सेवा, एचआइभीबारे सचेतना अभिवृद्धि गर्न, अनिच्छुक गर्भधारण घटाउन सङ्घ कार्यक्रम गरेको संयोजक खनालले बताए । कार्यक्रम जाजरकोटको भेरी र नलगाड नगरपालिका तथा बारेकोट र कुसे गाउँपालिकाका साथै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकामा सञ्चालन गरिएको थियो । प्रभावित जिल्लामा बाह्रै महिना खान नपुग्ने, भूकम्पपछि खाना र बस्नको समस्या, सन्तुलित खानाको अभावले यहाँका महिला र बालबालिकामा कुपोषणको जोखिम बढेको कार्यक्रम संयोजक खनालको भनाइ छ । उनका अनुसार जाजरकोटको कुशे र बारेकोट गाउँपालिकामा कुपोषणको समस्या सबैभन्दा बढी पाइएको छ । त्यस्तै प्रभावित जिल्लामा अनिच्छुक गर्भधारणको समस्या पनि बढ्दै गएकाले सुरक्षित परिवार नियोजनका बारेमा जनचेतना जगाउनुपर्ने खनालले बताए । नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले पालिकामा अझै लगानी बढाएर प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेको बताए । ‘उत्पादनशील क्षेत्रमा घरटहरा निर्माण भएका छन् । खाद्यान्नको पनि समस्या भएकाले स्वास्थ्य समस्या देखिएको हो’, उनले भने । बारेकोट गाउँपालिकामा स्वास्थ्य, खाद्यान्नको समस्या रहेको भन्दै साझेदार निकायले सहयोग गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले विपद्का समयमा सबैले एकजुट भएर काममा लाग्नुपर्नेमा जोड दिए । रासस
घर कर्जा ८.९९ प्रतिशतमा, अवधि ३० वर्षसम्म
काठमाडौं । पछिल्लो समय घरजग्गा व्यवसायमा मन्दी छाएको छ । घरजग्गाको कारोबारमा कमी आउँदा सरकारले समेत लक्ष्य अनुरुपको राजश्व संकलन गर्न सकेन । घरजग्गाको कित्ताकाट रोकेका कारण कारोबार हुन नसकेको व्यवसायीहरूको गुनासो छ । साथै, नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायमा जाने कर्जामा कडाई गरेपछि कारोबार सुस्ताएको उनीहरूको तर्क छ । मन्दीकै बीच बैंकहरूले घर कर्जा प्रवाह गरिरहेका छन् । तरलता प्रयाप्त भएकाले बैंकहरू घर कर्जाको ब्याजदर पनि घटाइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले घर कर्जालाई उच्च प्राथमिकतामा राखेर कम ब्याजदरमा कर्जा योजना अगाडि सारिरहेका छन् । केही महिना अघिसम्म बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा १५ प्रतिशतसम्म ब्याज लिइरहेका थिए । तर, नबिल बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने भएको छ । बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ८.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको हो । बैंकले फागुन महिनाका लागि ८.८६ प्रतिशत आधार दर निर्धारण गरेको छ । आधार दरमा १.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम थप लिने गरिएको बैंकले जनाएको छ । सो आधारमा घर कर्जाको ब्याजदर न्यूनतम १०.१६ प्रतिशत र अधिकतम ११.६६ प्रतिशत ब्याजदर हुन आउँछ । तर, सो योजनाअन्तर्गत बैंकले ८.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने बैैंकको भनाइ छ । बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि घर कर्जा दिनेछ । ८.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मका लागि स्थिर हो । यदि १०/१५ वर्षसम्मका लागि कर्जा लियो भने नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार फ्लटिङ रेटमा प्रिमियम परिवर्तन हुने बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) सुजित शाक्य बताउँछन् । उनका अनुसार एकल अंकको घर कर्जा प्रडक्टले बजारमा आर्थिक गतिविधि चलायमान भइरहेको सन्देश दिन खोजिएको हो । साथै, यसअघि घरकर्जाको ब्याजदर ९.९९ प्रतिशत तोकेर एकल अंकमा ब्याजदर झरिरहेको भन्ने सन्देश प्रवाह गरेको उनको भनाइ छ । ‘ब्याजदर निरन्तर घटिरहेको छ । मार्केट लिक्वीडिटी फ्लस छ । बैंकको आधार दर पनि निरन्तर घटिरहेको छ । आधार दर घटिरहेका बेला एउटा क्षेत्रलाई तोक्यो भने त्यसले समग्र अर्थतन्त्रलाई चलायमान वा प्रभाव पार्ने प्रडक्ट आवासीय घर कर्जा हो,’ उनले भने, ‘घर बनाउन आवश्यक पर्ने स्टिल, सिमेन्ट लगायत क्षेत्र पनि चलायमान हुन्छ, मजदूरहरूले पनि काम पाउनु हुन्छ । त्यो क्षेत्र चलायमान होस् भनेर बैंकले सुलभ दरमा घर कर्जा प्रडक्ट ल्याएको हो ।’
दुध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान
चितवन । दुध बिक्री घटेपछि चितवनका दुग्ध उत्पादक किसानहरुले दैनिक रु ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दुधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति बेहोर्न किसान बाध्य भएका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आबद्ध ४० हजारभन्दा बढी शेयर सदस्यहरूले सो मात्रामा दुध बिक्री गर्न नपाएको सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार विगत १५ दिनदेखि दुध नउठ्दा किसानले समस्या झेल्नु परेको हो । उनले दुध नउठ्दा समस्या भएको बताए । साउन यताको भुक्तानी रु ५२ करोड पाउन बाँकी भए पनि अहिले बिक्री हुन छाडेपछि किसान मारमा परेको उनको भनाइ छ । दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुने चितवनबाट जिल्ला बाहिर दैनिक एक लाख ५० हजार लिटर दुध जाने गरेको छ । जसमध्ये ६० हजार लिटर दुध बिक्री हुन नसकेको हो । सरकारले किसानको पैसा दिने सहमति गरे पनि अहिलेसम्म किसनाले पैसा नपाएको र दुध समेत उठ्न छाडेको उनले गुनसो गरे । ‘सहमति भएको छ । तर कार्यान्वयनमा आएको छैन’, उनले भने, ‘सहमतिअनुसार आइतबारबाट दुध उठ्नु पर्ने भए पनि आजसम्म दुध उठेको छैन ।’ दुध लैजाने उद्योगहरुले समर्थन मूल्यभन्दा कममा लैजाने गरेको भन्दै उनले उपभोक्ताले महङ्गो मूल्यमा दुध खानु परेको बताए । बगालेले भने, ‘दुध नउठ्ने र पैसा पनि नपाउने समस्या रहिरहे आन्दोलनमा जानुको विकल्प छैन ।’ चितवनसहित पाँच जिल्लाका किसानले एक साथ आन्दोलनमा जाने तयारी गरेको उनको भनाइ छ । रासस
सरकार पुनःगठन हुँदै, नयाँ मन्त्रीको सपथ आजै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार आज पुनःगठन हुने भएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा आजै नयाँ मन्त्रीहरुले सपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका हुन् । उनका अनुसार नयाँ मन्त्रीहरुको सपथ आज साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ । आज सपथ लिने मन्त्रीहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का हितबहादुर तामाङ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पदम गिरी रहेका बताएका छन् । उनीहरूकाे मन्त्रालय भने तोकिएको छैन ।
अमेरिका-बेलायत पुग्छ धराने खुकुरी
सुनसरी । एउटा उखान छ, ‘जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली ।’ संसारमा नेपालीलाई चिनाउने ‘वीर गोर्खाली’ सँगै गोर्खाली हतियार ‘खुकुरी’ पनि हो । गोर्खाली र खुकुरी एक अर्काका परिपुरक हुन् भन्ने माथिको उखानबाट पनि बुझ्न सकिन्छ । अहिले यो खुकुरी गोर्खालीको पहिचान र सानमा मात्र सीमित छैन, यो एउटा गतिलो व्यापार पनि बनेको छ । मुलुकमै सबैभन्दा धेरै खुकुरी उत्पादन लामो धरानमा समयदेखि हुने गरेको छ । धरानमा बनेका खुकुरी नेपालमा मात्र होइन,अन्तराष्ट्रिय बजार अमेरिका, बेलायत, चीन, भारत, सिंङगापुरलगायत धेरै वटा देशमा पुग्ने गरेका छन् । त्यसबाट खुकुरी व्यवसायीले मासिक लाखौं रुपैयाँ नेपाल भित्र्याइ रहेका छन् । धरानमा व्यावसायिक रुपमा खुकुरी उद्योग सञ्चालन गर्ने धेरैजना छन् । त्यसैमध्येका एक हुनुहुन्छ, घमान सिंह विश्वकर्मा । वैदेशिक रोजगारीमा सात वर्ष बिताएपछि स्वदेशमै केही गर्ने सोंचले फर्किनु भएको विश्वकर्माले आफ्नै पुख्यौली पेशालाई व्यावसायिक रुप दिने योजना बनाए । त्यसपछि करिब एक दशकअघि धरान–१५ मा सुस्मिता खुकुरी उद्योग खोले । सुरुमा तीन लाख रुपैयाँ लगानी गरेर आफ्नै घरमा लघु उद्योग खोल्नु भएको विश्वकर्मा आफैँ खुकुरी बनाउँछन् । माग धेरै भएका बेला अन्य कालीगढलाई पनि लगाएर खुकुरी बनाउँछन् । उनका अनुसार धरान नेपालमै सबैभन्दा धेरै खुकुरी उत्पादन हुने ठाउँ हो । उनी भन्छन्, ‘यहाँ उत्पादन भएका खुकुरीहरु भारत, चीन, क्यानाडा, सिङ्गापुर, दुबई, अमेरिकादेखि बेलायतसम्म पुग्छन् ।’ धरानकै गोविन्द दर्नाल पनि विगत १२ वर्षदेखि धरान खुकुरी उद्योग सञ्चालन गर्छन् । दर्नालका बावु छोराले सञ्चालन गरेको खुकुरी उद्योगमा एक जना कालीगढ पनि छन् । उनीहरुले उत्पादन गरेका खुकुरी पनि देशदेखि विदेशसम्म पुग्ने गरेका छन् । घरेलु उद्योगका रुपमा मात्र होइन, ठूलो व्यवसायका रुपमा खुकुरी उद्योग सञ्चालन गर्नेहरु पनि धेरैजना छन् धरानमा । दुई दशकदेखि न्यू गोर्खाली खुकुरी इण्डष्ट्रिज सञ्चालन गर्दै आएका दीपक दर्नाल त्यसको एक उदाहरण छन् । उनले अहिले ३० जना कालीगढ राखेर उद्योग सञ्चालन गरिरहेका छन् । कोरोना महामारी भन्दा अगाडि त उहाँको उद्योगमा ६० जना कालीगढ थिए । उद्योग सञ्चालक दर्नालका अनुसार पहिला विदेशमा निर्यात हुने खुकुरीमध्ये रुसमा झाडी फाँड्न, सिंगापुर र बेलायतमा सुरक्षागार्डले प्रयोग गर्नका लागि खुकुरीको माग हुने गरेको थियो । अहिले भने अन्तराष्ट्रिय बजारमा सामान्य गुणस्तरका खुकुरीको माग हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी अमेरिका जाने गरेको उनी बताउँछन् । खुकुरी उद्योगबाट हाल मासिक रु ९० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘पहिला धेरै राम्रो थियो । अहिले बजार खस्किएको छ । विस्तारै राम्रो होला भन्ने आशामा छौँ ।’ उद्योग सञ्चालकहरुका अनुसार खुकुरीको मूल्य गुणस्तर अनुसार फरक हुन्छ । स्थानीय बजारमा सामान्य घरेलु प्रयोजनमा प्रयोग हुने खुकुरी तीन सयदेखि तीन हजारसम्ममा पाइन्छ । पछिल्लो समय नेपालमा भन्दा विदेशमा बढी खुकुरी निर्यात हुन थालेपछि बनावट र गुणस्तरमा परिवर्तन गरिएपछि डिजाइन गरिएको खुकुरीको मूल्य अहिले स्थानीय बजारमा पाँचदेखि सात हजार रुपैयाँसम्म पर्ने गरेको उद्योग सञ्चालक दर्नालको भनाइ छ । उद्योग सञ्चालकहरुले उपलब्ध गराएको विवरणअनुसार धरानमा साना ठूला गरी ४० देखि ५० वटा खुकुरी उद्योग सञ्चालनमा छन् । ती उद्योगबाट दैनिक रुपमा तीन सय वटा खुकुरी उत्पादन हुन्छ । सबै उद्योगबाट गरी धरानमा दैनिक सरदर सातदेखि १० लाखसम्म आम्दानी हुने गरेको खुकुरी व्यवसायीहरुको भनाइ छ । उनीहरुका अनुसार हाल धरानमा खुकुरी बनाउने नेपाली कालीगढ ५० देखि ६० जनाको हाराहारीमा छन् । खुकुरीसँग खुकुरीको दाप बनाउनेहरुले पनि रोजगारी पाएका छन् । धरानमा खुकुरीको दाप बनाउने करिब २५ वटा परिवार छन् । उनीहरुको यसैबाट जीवनयापन हुने गरेको उद्योग सञ्चालक विश्वकर्मा बताउँछन् । धरानमा उत्पादन हुने खुकुरीको मूल्य कम्तिमा दुई सय रुपैयाँदेखि बढीमा १५ हजार रुपैयाँसम्म पर्छ । खुकुरी उद्योग सङ्घ धरानका अध्यक्ष समेत रहेका न्यू गोर्खाली खुकुरी इण्डष्ट्रिजका सञ्चालक दीपक दर्नाल खुकुरी उद्योगबाट धेरै फाइदा लिन सरकारको सहयोग आवश्यक रहेको बताउँछन् । ‘अहिले अन्तरराष्ट्रिय बजारबाट खुकुरीको माग धेरै भएपनि हामीले विदेश पठाउँदा धेरै कर लाग्ने भएकाले समस्या छ’, उनी भन्छन्, ‘नेपाल सरकारले करमा सहुलियत दिने व्यवस्था गरिदिए खुकुरी उद्योग सञ्चालन गर्नेहरुको हौसला बढ्ने थियो । उनीहरुले विदेशमा खुकुरी निर्यात गर्दा राज्यलाई नै आम्दानी बढ्ने थियो । सरकारलाई हाम्रो यही आग्रह छ ।’ बजार खस्किएकोमा चिन्ता कोरोना महामारीपछि समग्र बजारको अवस्था खस्किएको छ । खुकुरीको व्यवसायमा पनि त्यसको असर पर्ने नै भयो । धरानका खुकुरी व्यवसायीहरुका अनुसार विगतभन्दा खुकुरीको माग पनि घटेको छ । एकातिर खुकुरी बनाउने फलामको भाउ बढेको र अर्कातिर माग घटेकाले समस्या भएको सुस्मिता खुकुरी उद्योगका सञ्चालक घमानसिंह विश्वकर्मा बताउँछन् । उनका अनुसार पहिला ७० देखि ८० रुपैयाँ प्रति केजीमा पाइने फलाम अहिले एक सयदेखि १२० रुपैयाँ प्रतिकेजी पर्छ । उनी भन्छन्, ‘महँगी बढेपछि पहिला जत्ति खुकुरी उत्पादन गर्न सकिएको छैन । बजार पनि खस्किएको छ ।’ अहिले माग र उत्पादन बराबरी अवस्थामा रहेको व्यवसायीहरु बताउँछन् । विगतमा हातले नै खुकुरी बनाउने सबै काम गर्नु पर्ने अवस्था थियो, अहिले भने प्रविधिको विकाससँगै मेसिनहरुको प्रयोग पनि हुने गरेको छ । यसबाट केही सहज पनि भएको व्यवसायीको भनाइ छ । आधुनिक प्रविधिलाई प्रयोग गरेर अझै खुकुरीको उत्पादन बढाउन र अन्तरराष्ट्रिय बजारमा पठाउन सक्ने सम्भावना प्रसस्त रहेको व्यवसायी विश्वकर्माको भनाइ छ । उनी भन्छन्, ‘सरकारबाट सहयोग पाउने हो भने खुकुरी उद्योगहरु फस्टाउन सक्छन्, यसले नेपालीको सान र पहिचान संसार सामु फैलाउने मात्र होइन, विदेशी रुपैयाँ पनि राम्रोसँग आम्दानी गर्ने सम्भावना छ ।’ संस्कृति र इतिहासमा खुकुरी खुकुरीको सम्बन्ध नेपालका विभिन्न जातीको संस्कार संस्कृतिसँग पनि जोडिन्छ । खुकुरीलाई देवताको थानमा राखेर पुज्ने चलन विभिन्न समुदायमा पाइन्छ । दशैं र विभिन्न चाडपर्वमा पनि हतियारका रुपमा खुकुरीको पूजा गर्ने प्रचलन छ । इतिहासमा पनि खुकुरीको उत्तिकै महत्व छ । नेपालीलाई विश्वमा गोर्खालीका रुपमा परिचित गराउन खुकुरीले ठूलो भूमिका खेलेको इतिहास अध्ययनका क्रममा बुझ्न सकिन्छ । नेपालीलाई वीर जातिका रुपमा चिनाउने काममा खुकुरीको भूमिका छ । गोर्खाली सैनिकहरुले खुकुरीकै भरमा नेपालमा विभिन्न युद्ध लडेका थिए । त्यसबेलाको सैनिक हतियारमा खुकुरी र तरबार नै प्रमुख थिए । अहिले पनि प्रहरी, सैनिकलगायत सुरक्षाकर्मीहरुले कम्मरमा खुकुरी भिर्ने चलन छ भने सुरक्षाकर्मीका पोसाकमा पनि खुकुरी चिन्ह अङ्कित गर्ने गरिएको छ । त्यसबाहेक सुरक्षासँग सम्बन्धित तक्मा, पुरस्कारमा पनि खुकुरीको चिन्ह प्रयोग गर्ने गरिएको छ । यसरी नेपालीको संस्कृति र इतिहासमा गहिरो प्रभाव पारेको खुकुरीले पछिल्लो समय व्यापारमा पनि राम्रो प्रभाव जमाउँदै गरेको देखिन्छ । खुकुरी जस्ता हतियार बनाउने काम विश्वकर्मा समुदायको पुख्र्यौली पेशाका रुपमा चिनिन्छ । दलित समुदायका पुख्र्यौली पेशाहरु सङ्कटमा पर्दै गएको बेला खुकुरी बनाउने पेशामा भने युवा पुस्ताको पनि आकर्षण देखिएको छ । धरानका उद्योगहरुमा खुकुरी बनाउने अधिकांश युवा पुस्ताका छन् । खुकुरी व्यवसाय युवा पुस्ताको रोजगारीको राम्रो अवसर पनि बनिरहेको छ । विश्व बजारमा माग बढिरहेको खुकुरी व्यवसायलाई वृद्धि गर्न स्थानीय तह र प्रदेश सरकारले पनि नीतिगतरुपमा काम गर्नुपर्ने खुकुरी उद्योग संघका अध्यक्ष दर्नालको भनाइ छ । उनी भन्छन्, ‘स्थानीय तह र प्रदेश सरकारले हाम्रो पुख्र्यौली पेसा बचाउने सहयोग गरिदिए, अझै धेरै रोजगारी पनि सृजना हुन्थ्यो, राज्यलाई पनि फाईदा पुग्थ्यो ।’ रासस
मुगुका तत्कालीन कार्यालय प्रमुखसहित १० जनाविरुद्ध मुद्दा दायर, भ्रष्टाचार गरेको आरोप
काठमाडौं । मुगुका सोरु गाउँपालिकाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (सीआईबी) ले उक्त गाउँपालिकास्थित तन्दवाडा छडा सिँचाई आयोजनामा गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै १० जनाविरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायर हुनेमा मुगुका जिल्ला प्राविधिक कार्यायका तत्काकलीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डे, सामुदायिक सिँचाई आयोजना (सीआईपी) का इन्जिनियर महेशसिंह कठायत, सव इन्जिनियर भिमबहादुर रोकाया, आयोजनामा खटिएका सर्जन बहादुर शाही, वडा नं. ९ का तत्कालीन वडा अध्यक्ष परुनाथ योगी, कालै गाविसका गाविस सचिव नव गिरी, आयोजना उपभोक्ता समितिका अध्यक्ष लोक भन्ने लोग बहादुर शाही, सचिव र्बैदेवी शाही र कोषाध्यक्ष रुपा भन्ने रत्न रुपा शाही र उक्त आयोजनामा खटिएका सामाजिक परिचालन संयोजक प्रकाश बुढथापा रहेका छन् । उक्त आयोजनाका अध्यक्ष र कर्मचारीको मिलेमतोमा लागत अनुमान लुकाई इष्टिमेटअनुसार काम नगरी सरिया र सिमेन्ट पनि कम प्रयोग गरी न्यून गुणस्तरको काम गरी रकम हिनामिना गरेको आयोगको आरोप छ । उपभोक्ता समिति र आयोजनाबीच गत २०७२ मंसिर १३ मा एक वर्षभित्रै सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर उक्त निर्माण कार्य शर्त एवं सम्झौता विपरीत भएको र समयमै सम्पन्न नभएको बताइएको छ । साथै, प्राविधिक मूल्यांकन प्रतिवेदनमा पनि नभएको वा नगरेको कामको समेत पहिलो, दोश्रो र अन्तिम रनिङ बिलहरु प्रमाणित गरी उपभोक्ता समितिलाई वास्तविकभन्दा २६ लाख ८२ हजार रुपैयाँ बढी भुक्तानी लिई सरकारी संस्थालाई गैरकानूनी हानिनोक्सानी पुर्याउने काम भएको पुष्टि भएको अख्तियारले जानकारी गराएको छ । यससँगै आयोगले १० जनालाई भ्रष्टाचार कसुरमा सजाय र बिगो बमोजिमको जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिई सोमबार काठामाडौंको विशेष अदालतमा आरोपत्र दायर गरेको छ ।