टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौं । अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपाले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिए । नेपाल नेदरल्यान्ड्ससँग घरेलु मैदानमा दोस्रो पटक त्रिकोणात्मक टी-२० आई शृङ्खलाको फाइनल खेल्न लागेको हो । यसअघि सन् २०२१ मा भएको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई एक सय ४२ रनले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो । नेपाल लिग चरणमा चार अङ्कका दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने पाँच अङ्क जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल वर्षाले रद्द भएको भएपछि दुबै टोलीले एक एक अङ्क बाँडेका थिए । लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको सुरूवाती दुई खेलमा पराजित हुँदा पछिल्ला दुई खेलमा भने जित हात पारेको थियो । नेपालको प्लेइङ-११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सोमपाल कामी, गुल्सन झा, करण केसी, दीपेन्द्र सिह ऐरी, प्रतिश जिसी, आरिफ शेख र अभिनाश बोहारा छन् ।
राजनीतिक समीकरणको प्रभाव : गण्डकीका मुख्यमन्त्रीले माओवादीबाट बनेका दुई मन्त्रीलाई गरे बर्खास्त
काठमाडौं । केन्द्रीय राजनीतिमा नयाँ समीकरणको शुरुवात भएसँगै त्यसको बाछिटा प्रदेशस्तरमा पर्न शुरु भएको छ । आजै गण्डकी प्रदेशका मुख्यमन्त्री शुरेन्द्रराज पाण्डेले माओवादी पार्टीको तर्फबाट बनेका दुईजना मन्त्रीलाई बर्खास्त गरेका छन् । प्रदेश सरकार निर्माणको क्रममा गत बैशाखमा नियुक्त भएका सामाजिक विकास मन्त्री शुशिला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई मुख्यमन्त्री पाण्डेले मन्त्री पदबाट बर्खास्त गरेका हुन् ।
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २३ हजार पुग्यो
काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला दुई हजार रुपैयाँले बढेर नयाँ बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २२ हजार चार सय रुपैयाँ कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २० हजार चार सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार चार सय ४५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । यसअघि गत पुस १२ गते प्रतितोला एक लाख २२ हजार रुपैयाँको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो । त्यसपछि केही समय सामान्य रही यही फागुन २ गते एक लाख १६ हजार पाँच सयसम्म आएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै आज हालसम्मकै उच्च बनेको हो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔँसत दुई हजार एक सय १५ डलर आसपास कारोबार भइरहेको छ ।
निजामती कर्मचारीले सेयर कारोबार गर्न पाउने
काठमाडौं । नेपाल सरकारका निजामती कर्मचारीहरुले सेयर कारोबार गर्न पाउने भएका छन् । सोमबार संसदमा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा नेपाल सरकारका निजामती कर्मचारीले खुल्ला बजारबाट सेयर खरिद गर्न पाउने व्यवस्थाको प्रस्ताव गरिएको छ । ‘निजामती कर्मचारीले नेपाल सरकारको स्वीकृति बिना कुनै बैंक, कम्पनी वा सहकारी संस्था स्थापना गर्न वा सञ्चालनको काममा भाग लिन तथा कानून बमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार वा व्यवसाय गर्न हुँदैन’, विधेयकको दफा ८१ मा उल्लेख गरिएको छ । तर, निजामती कर्मचारीले खुल्ला बजारबाट सेयर खरिद गर्न र आधारभूत सेयरधनी नहुनेगरी १ प्रतिशत भन्दा कम सेयर खरिद गर्न सकिने व्यवस्था उक्त विधेयकमा गरिएको छ ।
आजको मौसम : देशभरि मौसम मुख्यतया सफा रहने
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनका अनुसार गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा आजको लागि छैन, मौसम आज सफा नै रहने छ । आज रातिबाट बादल लाग्ने छ । काठमाडौंको अहिलेको वायुको तापक्रम १४ डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता छ किलोमिटर रहेको छ । आजको न्यूनतम तापक्रम सात दशमलव छ डिग्री सेन्टिग्रेड रहेको तथा आज अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् पुडासैनीले बताए । यसैगरी आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस
दोब्बरले बढ्यो प्लाइउड निर्यात
काठमाडौं । मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला प्लाइउडको निर्यात भने दोब्बरले बढेको छ । छिमेकी मुलुक भारतमा प्लाइउडको माग बढेपछि निर्यातमा ९४ प्रतिशतले बढेको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) सम्म चार अर्ब २१ करोड १४ लाख ६४ हजार रुपैयाँको प्लाइउड निर्यात भएको छ । गत आवको सात महिनामा दुई अर्ब १६ करोड २३ लाख ६४ हजार रुपैयाँको प्लाइउड निर्यात भएको थियो । नेपाल प्लाइउड उत्पादक सङ्घका अनुसार भारतमा प्लाइउडको कच्चा पदार्थको मूल्य बढ्नु, नेपालको निर्माण क्षेत्रमा सुस्तता आउनु र प्लाइउडलाई पनि निर्यातमा नगद अनुदान पाइने वस्तुको सूचीमा समावेश गरिनुले निर्यात लगातार बढिरहेको छ । नेपालबाट जाने सस्तो मूल्यको प्लाइउडको खपत भारतका लखनऊ, कानपुर, दिल्ली, आग्रा, देहरादुनलगायतका बजारसम्म पुग्ने गरेको व्यवसायीको भनाइ छ । नेपाल वनजङ्गलको धनी देश भएपछि अर्बौको काठ, तयारी फर्निचर, जडीबुटीजन्य वस्तुलगायत सामग्री आयात हुने गरेको छ । काठ काट्न नपाइने नीतिका कारण वनमै कुहिएर खेर गइरहेका बेला बाहिरी मुलुकबाट ठुलो परिमाण काठजन्य उत्पादन आयात हुने गरेको हो । वन तथा वातावरण मन्त्रालयको एक अध्ययन अनुसार वन क्षेत्रले नेपालको कुल भूभागको ४१।९ प्रतिशत क्षेत्रफल ओगटेको तथ्याङ्क सार्वजनिक भएको थियो । चार प्रतिशत भूभाग बुट्यान क्षेत्रले गरी कल ४५ प्रतिशत भूभाग वन तथा बुट्यान क्षेत्रले ढाकिएको छ । यसबाट नेपालले बर्सेनि प्रचुर फाइदा उठाउन सक्छ । भन्सार विभागका तथ्याङ्क अनुसार विदेशबाट कच्चा काठ आयातमा बर्सेनि १८ अर्ब रुपियाँभन्दा बढी रुपियाँ बाहिरिने गरेको छ । काठमा लाग्ने पोलिस, काठ चिर्ने मेसिनलगायत वस्तुको आयात हुने गरेको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घ अनुसार नेपालमा बर्सेनि छ करोड क्युफिट काठ आवश्यक पर्छ । यसमध्ये अधिकांश काठ विदेशी मुलुकबाटै आयात हुने गरेको छ । सरकारले नेपालका वनजङ्गलमा खेर गइरहेका काठजन्य वस्तुको प्रयोगमा कडा नीति लिएपछि विदेशबाट आयात गर्नुपर्ने अवस्था आएको व्यवसायीको भनाइ छ । अमेरिका, कोरिया, नेदरल्यान्डस, इटाली, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स ९युएई० लगायतका मुलुकबाट समेत काठबाट बनेको फर्निचर नेपालमा आयात हुँदै आइरहेको छ । गोरखापत्रमा समाचार छ ।
लगानी सम्मेलनका लागि रवि सिंहका ५ सुझाव, निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्ने
काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले लगानी सम्मेलन सफल बनाउन निर्माण क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताएका छन् । अध्यक्ष सिंहले लगानी सम्मेलनमार्फत लगानी आउने क्षेत्रमा सबैभन्दा लाभ लिने निर्माण उद्योग चलायमान बनाउन आवश्यक रहेको बताएका हुन् । उनले लगानीको लाभ लिने निर्माण उद्योगमा नै निराशा छाएको अवस्थामा लगानी सम्मेलन सफल हुन नसक्ने बताए अध्यक्ष सिंहले लगानी सम्मेलन सफल बनाउनको लागि निर्माण उद्योगका समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने सुझाव दिए । निर्माण व्यवसायीहरुको हारेको मनोबलले लगानी सम्मेलनको महत्व सफल नहुने अध्यक्ष सिंहको भनाई छ । निर्माण उद्योग समस्याग्रस्त र भौतिक पूर्वाधारको काम गर्ने वातावरण नबनेको अवस्थामा सरकारले गर्ने लगानी सम्मेलन सफल हुन नसक्ने दाबी गरे । अध्यक्ष सिंहले निर्माण क्षेत्र चलायमान नभएको अवस्थामा नेपालमा लगानीकर्ता आकर्षित हुन नसक्ने बताए । उनले नेपालमा भइरहेको लगानी सुरक्षित नभएर निर्माण व्यवसायीहरु समाप्त भइरहेको अवस्थामा विदेशी लगानीकर्ताले लगानी सम्मेलनमा आएका लगानीकर्तालाई विश्वास दिलाउन सक्ने अवस्था नभएको दाबी गरे । उनले सरकारले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई प्रश्तुत गर्ने परियोजनाहरु नै नभएको बताए । नेपालमा हरेक वर्ष भएका लगानी सम्मेलनको उपलब्धी शुन्य रहेको भन्दै लगानी सम्मेलनबाट थप ऊर्जा आउने अनुभुति गर्नसक्ने अवस्था नभएको बताए । उनले २५ लाखलाई रोजगारी दिएर ८ खर्बको कारोबार गर्ने निर्माण उद्योगको नै मनोबल कमजोर अवस्थामा रहेको जिकिर गरे । लगानी गर्ने लगानीकर्ता आएपनि लगानीकर्तालाई प्रोत्साहन र आकर्षण गर्ने वातावरण बनि नसकेको बताए । नेपालमा ऐन,कानून र नियमहरु लगानी योग्य बनाउन आवश्यक रहेको बताए । विश्वमा सफल भएका निर्माण कम्पनी नेपालमा आएर असफल भएको भन्दै यो विषयमा सरकार गम्भिर हुनुपर्नेमा जोड दिए । लगानी सम्मेलनका लागि अध्यक्ष सिंहका सुझावः लगानी सम्मेलन हुँदा सबैभन्दा पहिला फाइदा हुने भनेको निर्माण व्यवसायी हुन् । कुनैपनि सडक,जलविद्युत,सैर्य ऊर्जा,अस्पताल,पर्यटनमा लगानी आएपनि सबै भन्दा बढी र पहिलो फाइदा प्राप्त गर्ने निर्माण व्यवसायीहरु नै हौं । निर्माण व्यवसायीहरुले अहिले हारेको मनोवल लिएर लगानी सम्मेलनको महत्व छैन । निर्माण उद्योग समस्याग्रस्त छ । भौतिक पूर्वाधारको काम गर्ने वातावरण नेपालमा छैन भन्दै गर्दा सरकारले गर्ने लगानी सम्मेलन कसरी सफल हुन्छ । कसरी नेपालमा लगानीकर्ता आकर्षित हुन्छन् । नेपालमा भइरहेको लगानी सुरक्षित नभएर निर्माण व्यवसायीहरु समाप्त भइरहेको अवस्थामा विदेशी लगानीकर्ताले लगानी सम्मेलनमा आएर नेपालमा लगानी गर्छु भन्नेहरुलाई लगानीको लागि उत्तम छ भनेर कसरी प्रश्तुत गर्ने ? सरकारले नेपालमा लगानी गर्ने परियोजनाहरु प्रश्तुत गर्ने ? सरकारले लगानी सम्मेलन गरेर मात्रै मुलुक सफल हुँदैन । नेपालमा हरेक वर्ष विभिन्न किसिमका लगानी सम्मेलन भइरहेका छन् । तर उपलब्धी केही छैन । यो वर्ष हुने लगानी सम्मेलनबाट थप ऊर्जा आउने अनुभुति गर्नसक्ने अवस्था छैन । नेपाल निर्माण व्यवसायीहरुले नेपालमा २५ लाखलाई रोजगारी दिएर ८ खर्बको कारोबार गर्ने भएपनि अहिले त्यो खालको मनोबल छैन । लगानी सम्मेलन लगानी गर्ने लगानीकर्ता आएपनि लगानीकर्तालाई प्रोत्साहन र आकर्षण गर्ने वातावरण बनिसकेको छैन । सरकारले नेपालमा लगानी गर्ने वातारण छ भन्दै गर्दा उठ्ने प्रश्नहरुको जवाफ दिनसक्ने क्षमता नेतृत्वमा हुनसक्छ । नेपालमा ऐन, कानून र नियमहरु लगानीयोग्य छन् । देशको सेनापतिले नेपालमा काम गर्ने वातावरण छैन भनेर सार्वजनिक रुपमा भन्ने मुलुक, विश्वमा सफल भएका निर्माण कम्पनी नेपालमा आएर असफल भएका छन् । यसलाई कसरी सफल बनाउने भन्ने सरकारको चिन्तन हुनुपर्छ । सरकारले लगानी सम्मेलन र योजना तर्जुमा गर्दैमा सफल हुने होइन । सही कार्यान्वयन भएपछि सफल हुने हो । लगानी सम्मेलन सफल बनाउन निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्छ । सरकारले तत्काल निर्माण उद्योगमा भएका समस्यालाई औल्याएर आयोजनाहरुको म्याद थप गर्नुपर्छ । बाँकी रहेको भुक्तानी ऋण लिएर भएपनि भूक्तानी गर्दै जानुपर्छ । जुन योजनाहरु प्रतिफल दिँदैन । केही समयपछि सञ्चालन गर्दा हुने आयोजनाहरुलाई स्थगन र बन्द गर्नुपर्छ । दबाबकै भरमा योजनाहरु बन्ने काम हुनुहुँदैन ।
निसेलढोरवासी भन्छन् : ‘सडक आयो, मोबाइलटावर भयो, विद्युत् सुविधा भएन ’
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका-५ निसीलढोरका स्थानीय बिरामी परे उपचारका लागि एक दिन पूरै धाएर बुर्तिबाङ बजार आउनुपर्थ्यो । आफन्तलाई फोन गर्न गाउँमाथिको अग्लो डाँडामा पुग्नुपर्थ्यो । तर अहिले त्यो दुवै समस्या समाधान भएको छ । एक दशक अगाडि नै मोटरबाटो पुगेको हुँदा यात्रामा पनि सहज नै छ । तर अहिलेसम्म अन्धकारमा बस्न बाध्य स्थानीयले गाउँमा विद्युत् ल्याइदिन माग गरेका छन् । जिल्लाको सबैभन्दा दुर्गम मानिने निसलढोरका स्थानीयले गोबरको गुइँठा, दियालो र टुकीको भरमा रात कटाउने गरेका छन् । सामान्य भए पनि स्वास्थ्य सेवा दिने हिसाबले गाउँपालिकाले गत जेठ महिनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह गर्दै आएको छ । नेपाल टेलिकमले निसीखोलाको शिरमा टावर निर्माण गरेर गत असोजबाट मोबाइल ‘नेटवर्क’ सञ्चालन गरेको छ । गाउँमा हुनेखानेले त सौर्य ऊर्जा (सोलार)को प्रयोग गरेका छन् भने सामान्य परिवार अन्धकारमै छन् । स्थानीय मनबहादुर विकले गाउँमा बिस्तारै विकासले गति लिन थाले पनि वर्षौँदेखि अन्धकारमा बस्नुपर्ने बाध्यता हट्न नसकेको गुनासो गरे । विद्युत्को सुविधा नहुँदा मोबाइल फोनमा टावरले काम गरे पनि बेँसीमा बस्ने आफन्तसँग कुराकानी गर्न नपाइने उनको भनाइ छ । एउटा मोबाइल फोन चार्ज गर्नका लागि तीन घण्टा हिँडेर ढोरपाटन उपत्यका पुग्नुपर्ने स्थिति रहेको उनले बताए । ‘गाउँका विकास नभएको होइन, बिस्तारै हुँदै छ, हाम्रो मुख्य समस्या अहिले बिजुली बत्तीको छ, सरकारलाई हाम्रो पीडा सुनाएका छौँ, कहिले आउँछ भन्ने अत्तोपत्तो छैन, आउन त आउला एक दिन तर हामीहरूलाई निकै खाँचो छ’, विकले भने, ‘पहिला–पहिले बेँसी (निसीगाउँ)मा बस्दा त बिजौलीको सुविधा थियो, यहाँ आएपछि तर अँध्यारोमा बस्नुबाहेक अरू विकल्प छैन, सानो मोबाइल चलाउँछु चार्ज गर्न ढोरपाटन पुग्नुपर्छ, कहिलेकाहीँ अतेरलाग्दा आफन्तलाई फोन गर्नुपर्छ ।’ पाँच वर्ष अगाडिसम्म निसेलढोर निसीका स्थानीय बर्खामा पुशचौपाय चरन र खेतीपातीका लाग आउने गर्थे भने हिउँदमा बेँसीमै बस्थे । तर अहिले करिब ६० घर परिवार बाह्रै महिना यही बस्न थालेका छन् । स्वास्थ्य संस्था सञ्चालनमा आएपछि बुर्तिबाङ जानुपर्ने समस्या समाधान भएको स्थानीय कलीकुमारी सुनारले बताइन् । विद्युत् नहुँदा साँझ पर्दा बित्तिकै खाना खानुपर्ने र बालबालिकाले साँझमा पढ्न नपाउने उनको भनाइ छ । उनले भनिन्, ‘यो ठाउँमा कहिले बिजुली आउँछ ?, कि हामी सधैँ यस्तै अँध्यारोमा बस्नुपर्ने हो ?, सबै ठाउँमा पुग्यो यहाँ अहिलेसम्म नआउँदा हामीहरू निकै मर्कामा छौँ, हाम्रो समस्या बुझ्ने नेता नभएर हो कि, बिजुलीबिनाको टावर छ, मोबाइल अफ छन्, बिजुली हुन्थ्यो भने टिभी चलाउन पाइन्थ्यो, टाढा-टाढाका घटना, समाचार देख्न पाइन्थ्यो, के गर्नु छैन ।’ निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले भौगोलिक विकटताका कारण अहिलेसम्म निसेलढोरमा विद्युत् पुर्याउन नसकेको बताए। विद्युत्को पहुँच पुर्याउनका लागि स्थानीय जलविद्युत र विद्युत् प्राधिकरणसँग छलफल भइरहेको उनको भनाइ छ । आफू निर्वाचित हुनु पूर्वदेखिनै यहाँ विद्युत् पुर्याउने विषयमा माथिल्लो निकायसँग माग गरेको जनाउँदै उनले अब केही समयमा यहाँका नागरिकले विद्युत् बाल्न पाउने जानकारी दिए । रासस